साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वर्तमान नेपाली समाज बस्ने कुटी

मणि अर्यालका निबन्ध सरल र सुरम्य भाषामा गासिएका छन् । विभिन्न साहित्यिक विम्ब र मिठा वाक्य संरचनाले मिठास थपेको छ । काल्पनिक पात्र र घटनालाई नाटकीकरण गरेर निबन्धमा आफू बाँचेको परिवेशलाई उतारेका छन् । उनका हरेक निबन्धमा विकृतिसँगसँगै त्यसलाई आदर्शवादको सिद्धान्तबाट हेर्न खोजिएको छ ।

Chovar Blues Mobile Size

गीतका माध्यमबाट साहित्यमा उपस्तिथि जनाएका मणि अर्यालले साहित्यका विभिन्न विधा मध्य कविता, निबन्ध र समीक्षामा पनि कलम चलाउछ्न् । `कुटी´ उनको पहिलो निबन्ध सङ्ग्रह हो । एघारवटा आत्मपरक निबन्ध समेटिएको `कुटी´ मा आफ्ना निजि विचारद्वारा समाजको ढोका उघारिएको छ ।

कुटी शब्द सुन्नेबित्तिकै हाम्रो मनमा ऋषिको आलय, शान्त वातावरण, सामान्य भौतिक पूर्वाधार प्रयोग गरिएर बनाइएको सरल र पवित्र दृश्य मस्तिष्कको बगैंचामा फुल्न सुरु हुन्छ । यसै निबन्ध सङ्ग्रहमा संङग्रहीत एघारवटा निबन्ध सङ्ग्रह मध्यको एउटा निबन्धको शीर्षकबाट यो सङ्ग्रहको नाम जुराइएको छ ।

निलो पृष्ठभुमि(आकाश) मा एउटा घरको छानो ओढेर बसेको माटोको घरतर्फ लालटिनको उज्यालो बोकेर हिँडदै गरेको एक मानव पुस्तकको कभरमा देख्न सकिन्छ । कभरको डिजाइन सरल र कुटीलाई न्याय गर्ने खालको भएपनि डिजाएनरले कल्पना गर्दा अँध्यारो समयको कल्पना गरेको हुनुपर्छ भन्ने लाग्छ किन कि लालटिन बालिएको छ । तर आकाश निलो भएकोले त्यो कालो रात हो भनेर सजिलै पत्याउन ग्राहो हुन्छ । यहाँनेर पुस्तक कभर डिजाइनमा असान्दर्भिक लाग्न सक्छ ।

समाजलाई नछोएको लेखन कमै मात्र हुन्छन् वा हुँदै हुन्नन भन्न पनि सकिएला । काल्पनिकताको उडान जति नै उडे पनि कल्पनाले अवतरण गर्न समाजको साहरा लिइ नै हाल्छ । `कुटी´ निबन्ध सङ्ग्रह पनि समाजको विभिन्न रंगलाई निचोरेर एउटा साधा क्यानभासमा चित्र भर्ने कोसिस हो । सामाजिक, आर्थिक, राजनीतिक, साहित्यिक आदि क्षेत्रलाई स्पर्श गरेर कथ्य शैलीमा कल्पनिक पात्र र घटना बुनेर समाजलाई जस्ताको त्यस्तै देखाएर आदर्श समाजको परिकल्पना निबन्धकारले गर्न खोजेका छन् । विसङ्गति, वेथिती,अराजकता,अनैतिकता , अमनावता जस्ता समाजलाई फोहोरी बनाउँदै गएका तत्वहरूलाई उजागर गरि खबरदारीको सन्देश प्रवाह पनि गरेका छन् ।

जनक कार्की
sagarmani mobile size

रिस:

यो निबन्ध मानिसको प्राकृतिक भाव रिसमा केन्द्रित छ । रिसलाई उर्जाको स्रोत मान्न सकिने कुरालाई ओशोले आफ्नो प्रवचनमा बताएका छन् । रिसलाई सिर्जनात्मक रुपान्तरण गर्ने हो भने रिस निकै लाभदायक हुने कुरा पनि ओशोले भनेकै छन् । यस निबन्धमा रिसको विभिन्न रूप, मनोविश्लेषण र प्रभावको बारेमा निबन्धकारले आफ्ना धारणा राखेका छन् । रिसलाई विनासको एउटा कारणको रुपमा बताएका छन् । रिसले सम्बन्धलाई पार्ने असर र रिसका बेफाइदालाई केलाएका छन् । समग्रमा रिसले रिसाउने कार्य कम गराउन सक्छ, पाठकलाई ।

पसिनाको स्वाद:

यो निबन्धमा दुईवटा पात्रको रचना गरेर निबन्धकारले पसिनाको मूल्यलाई प्र्ष्ट्याउन खोजेका छन् । हाम्रो समाजमा दुईथरीका पसिना बगाउने मान्छे छन्, एउटा जो कर्म गरेर पसिना बगाउँछ अर्को कसरत गरेर पसिना बगाउँछ । किसानको पसिनाले उत्पादनमा टेवा दिन्छ भने शौखिन पसिनाका रचनाकारले आफ्नो शरीर मेन्टेन गर्न पसिना बगाउँछ्न् । अन्ततः परिश्रमी किसानले बगाएको पसिनाबाट शौखिन पसिनाधारी प्रभावित भएर खेतमा पसिना बगाउन सुरु गर्छ । यो निबन्धले मेहनत गर्न सिकाउँछ ।

प्यान्थर:

प्यान्थर नेपाली बजारमा पाइने एउटा कन्डमको ब्रान्ड हो । एकताका नेपालमा यसको बिज्ञापन सञ्चारका विभिन्न माध्यमबाट निकै प्रवाह गरिन्थ्यो । यसको बिज्ञापन बज्दा मान्छेहरू लाजले आँखा झुकाउँथे । यस्तै संकिर्ण सोचका बिचमा प्यान्थरको महत्व र फाइदा निर्धक्कसँग बुझाउने एउटा पात्रले प्यान्थरलाई अनैतिक यौन सम्पर्कमा लगेर टुंगाइएको छ । प्यान्थरको जनहितको सन्देशसँगै दुरुपयोग यो निबन्धले दिन खोजेको सन्देश हो ।

नेपालगञ्ज:

पाठकलाई नेपालगञ्जको साहित्यिक व्यक्तितब र उनीहरूको योगदानको बारेमा संक्षिप्त परिचय गराउने निबन्ध हो यो । यसले नेपालगञ्जमा विगतदेखि वर्तमानसम्मका वाङ्मयका क्षेत्रको काम र योगदानको बारेमा बोलेको छ । नेपालगञ्ज मिश्रित संस्कृतिको सहर भएकोले अवधी र उर्दु साहित्यको योगदानलाई पनि यसले समेटेको छ । नेपालगञ्जको साहित्य, कला र संगीतको बारेमा अध्यन गर्ने र चासो राख्नेको लागि यो निबन्ध उपयोगी छ ।

गुरु भेट:

यो निबन्ध एउटा आदर्श र भिजन भएको मान्छेले सामुदायिक पाठशालालाई कसरी स्तरोन्नति गर्न सक्छ भन्ने विषयमा छ । शिक्षकको विगतको रूप र अहिलेको रुपलाई पनि चित्रण गरिएको छ । लठ्ठी लिएर विद्यार्थी तर्साउने शिक्षकको व्यङ्ग्य पनि गरिएको छ । गुरु अर्थात अध्यारोदेखि उज्यालोको बाटोतर्फ पथ प्रदशकको भूमिका निभाउने महान् व्यक्ति । त्यस्ता गुरुहरू आज आएर आफ्नो कर्तव्य बिर्सिएको र उनीहरूलाई सहि मार्गमा ल्याउन गरिएको एउटा प्रयास पनि हो । यसले सम्पूर्ण गुरुलाई आफ्नो कर्तव्यबोध गराउन सक्छ ।

होटल हाइवे:

यो निबन्ध हाम्रो साझा समस्याको प्रतिनिधि कथा हो । हामीलाई हाइवेमा खान खानु पर्‍यो भने त्यो जत्तिको समस्या अरु केही हुँदैन । हाइवे होटल व्यवसायीहरूको मनपरी मूल्य निर्धारण,अस्वस्थ परिकार, गैर जिम्मेवारीले यात्रुहरूले ठूलै समस्या झेलिरहेका छन् । यहि समस्याको चिरफार नै हाइवे निबन्धको उद्धेश्य हो ।

कुटी:

मानिसको लागि घर एउटा महत्वपूर्ण स्थल हो । असल घरले मानिसलाई सकारात्मक उर्जा र सिर्जनशील बनाउन सहयोग गर्दछ । आजभोलिको युगमा त मानिसले एउटा घर बनाउन पुरै जिन्दगी पसिनासँग पैसा साट्न पर्ने देखिन्छ । जति पहिले हाम्रा घरका प्रांगण खुल्ला र स्वच्छ थिए, अहिलेका घर खुम्चिएका छन्, प्रदुषित छन् । निबन्धकारले यस निबन्धमा आफ्नो घरलाई कुटीसँग तुलना गरेका छन् । कुटी जस्तै शान्त,पवित्र र हरियाली वातावरणमा अवस्थित उनको घरको व्याख्याले पाठकलाई उक्त कुटीमा एकपटक पुगौंपुगौं बनाउँछ । घरलाई स्वर्ग बनाउन के गर्नुपर्छ भन्ने कुराको बोध पनि यो निबन्धले गराएको छ । हामी आजभोलि शहरमा थुक्न समेत नमिल्ने ठाउँमा जग्गा लिएर घर बनाउन लालायित छौँ, गाउँमा भएका फराकिला र स्वच्छ वातावरको जग्गाजमिनलाई अवमूल्यन गरिरहेका छौँ । यो निबन्धले घरलाई मन्दिर बनाउने सन्देश दिएको छ ।

सम्झनामा इन्द्रबहादुर राई:

निबन्धकारको साहित्यिक यात्राको क्रममा भएको इन्द्रबहादुर राईसँगको भेटलाई यस निबन्धले बोकेको छ । इन्द्रबहादुर राई विद्धान साहित्यकार हुन् । उनी नेपाली साहित्यमा नयाँ प्रयोग र स्वाद भित्र्याउन सफल छन् । इन्द्रबहादुर राईको निधनको खबर जब पत्रपत्रिकामा फैलियो अनि निबन्धकारले यो निबन्ध लेखेर उनलाई श्रद्धाञ्जलीको शाव्दिक फूल अर्पण गरेको कुरा अनुमान गर्न सकिन्छ । इन्द्रबहादुर राईका गहकिला विचारको श्रवणले निबन्धकारलाई प्रभावित गरेका कुरा पनि समेटिएको छ । समग्रमा यो निबन्ध संस्मरणात्मक निबन्ध पनि हो । जसमा निबन्धकारले उनीसँगका स्मृति प्रस्तुत गरेका छन् ।

मेरो गाउँ:

यो निबन्धमा अनैतिक पत्रकारको चित्रण गरिएको छ । कसरी पत्रकारले आफ्ना फाइदाको लागि सेतोलाई कालो र कालोलाई सेतो बनाइदिन्छ्न भन्ने विकृतिलाई व्याख्या गरेको छ । हाम्रो गाउँठाउँमा पत्रकारीताको खोल ओढेर कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा पनि देखाइएको छ । एउटा भ्रष्ट पत्रकारबाट समाजले के पाउन सक्ला र चौथो अंग मानिने पत्रकारीताका अनैतिक कलमलाई प्रश्न उठाइएको छ । इमानलाई पैसामा बेंचिदिने पत्रकारको रहस्योदघाट्न गरेको छ ।

मित्र संवाद:

मित्र संवाद निबन्ध दार्शनिक झिल्को बाल्ने निबन्ध हो । यसमा दुईमित्रको संवादद्वारा जीवन दर्शनका गहिरा कुरा खोतलिएका छन् । समयको गतिशील चरित्रलाई दर्साइएको छ । मूल्य तिरेका कुराको मात्र महत्व हुने भन्ने दर्शनलाई उक्काइएको छ । समालोचना र सिर्जनाका गहिरा पक्षलाई संवोधन गरिएको छ । सिर्जना आफ्नै सन्तुष्टिका लागि पहिलो प्राथमिकताका लागि लेखिने सत्यसँग शल्यक्रिया गरेका छन् । उचित विषयमा गरिने वाद-प्रतिवाद र संवादले मान्छेलाई खार्ने कुरा पनि यसमा गरिएको छ । समग्रमा जीवन दर्शनदेखि निवन्धकार साहित्य सिर्जना र त्यसका विविध विषयलाई यो निबन्धमा स्थान दिएका छन् ।

मधुशाला:

हरिवंशराय बच्चनको मधुशाला कृतिको श्लोकबाट सुरु गरिएको यो निबन्ध रोचक, समाजिक व्यङ्ग्य र बाध्यताको संगम हो । कसैलाई मधुशाला महको आलय लाग्छ त कसैलाई करेलाको पेय पदार्थ । प्राय सर्जकको मधुशालाको बिजुली पानी मोहलाई प्रश्न चिन्ह लगाइएको छ । दोहोरी साझमा काम गर्नेको बाध्यतालाई पनि दर्साइएको छ । समग्रमा रक्सी र मनोरञ्जन उद्योगको वास्तविकता झल्काइएको छ ।

मणि अर्यालका निबन्ध सरल र सुरम्य भाषामा गासिएका छन् । विभिन्न साहित्यिक विम्ब र मिठा वाक्य संरचनाले मिठास थपेको छ । काल्पनिक पात्र र घटनालाई नाटकीकरण गरेर निबन्धमा आफू बाँचेको परिवेशलाई उतारेका छन् । उनका हरेक निबन्धमा विकृतिसँगसँगै त्यसलाई आदर्शवादको सिद्धान्तबाट हेर्न खोजिएको छ । नैतिकता र मानवताको पाठ भुलिरहेको आजको मान्छेलाई एकपटक घोत्लिन मजबुर गराउँछ । काल्पिनक घटनाको साहारा लिएर निबन्ध सिर्जना गरिएकाले पाठकलाई कति ठाउँमा कथा पढे जस्तो पनि अनुभूति नहुने होइन । प्रस्तुतिका हिसाबले यसलाई फरक प्रयोग पनि भन्न सकिन्छ । मणि अर्यालको साहित्यिक लगावलाई राम्रैसँग चित्रण गरेता पनि मणिका निबन्धमा परिष्कृत हुने ठाउँ पनि प्रशस्तै छन् । उनको साहित्यिक जीवनको सफलताको कामना ।

लेखक परिचय
जनक कार्की
प्रतिक्रिया
Loading...