I don’t feel that it is necessary to know exactly what I am. The main interest in life and work is to become someone else that you were not in the beginning. – Michel Foucault.
हामी हाम्रा आराध्यका पूजा मूलत: दुई प्रकारले गर्दा रहेछौँ- कि त श्रद्धाले कि त परम्पराले। पहिलो पूजा चिनेर, जानेर अनि बुझेर गरिने पूजा हो भने दोस्रो पूजा देखेर, सिकेर अनि लोकाचारको निम्ति मात्र गरिन्छ। पहिलो पूजामा केही प्रश्न, तर्क र कारणहरू हुनसक्छन् तर दोस्रो पूजामा केवल विश्वास र आस्थाले मात्र काम गरिरहेको हुन्छ। तर दुवैमा यदि पुजारीको इमान्दारी र निष्ठा छ भने पूजाको सार्थकतामा कसैले प्रश्न नउठाउँदो रहेछ।पूजा र भक्ति यसैले सापेक्षित कुरो रहेछ। आस्थाले ढुङ्गालई देवता मान्नेहरू यो संसारमा कम छैनन्।
साहित्यमा पूजा तर सधैँ चिनेर, जानेर, बुझेर मात्र गरिन्छ। त्यसैले त्यहाँ भक्तिभन्दा धेर श्रद्धा हुन्छ। श्रद्धामा भक्तको साँचो निष्ठा देखिन्छ किनभने त्यो श्रद्धा निष्काम कर्म हुन्छ । फलको कुनै अपेक्षा हुन्न । राधा अनि मीराको कृष्ण-प्रेमजस्तो । बाबु-छोरीको वात्सल्य जस्तो। आमाको मातृत्व जस्तो। निख्लम समर्पण। सम्पूर्ण विलयन। आज हामी त्यस्तै अनुष्ठानमा छौँ। एउटा श्रद्धामय पूजाको साक्षी बन्न आएका छौँ।
सन्दर्भमा छ- सर्जक कमला तामाङको नवीनतम कृति”‘सिर्जनवृत्तमा मोहन ठकुरी”। मूलत: कवि, कथाकार, निबन्धकार, संस्मरण-लेखक, परिचयाङ्कन सर्जक भनेर लोकले जानेका अनि चिनेका सर्जक मोहन ठकुरीलाई केन्द्रमा राखेर उनको परिचय, सिर्जना, अनि सिर्जनामाथिका विमर्श अनि एकतीस जना विमर्शकहरूका परिचय समाहित गर्दै सर्जक कमला तामाङले तयार गरेकी छन् यो महत्त्वपूर्ण कृति। यसमा थप भूमिका लेखक, नाटककार, गीत-गजलका सर्जक, अनुवादक आदि खुद्राखुद्री प्रक्षेप लगायत वंशावली-वृक्ष चार्ट अनि स्मरणीय तस्वीरहरूसमेत समेटिएको हुनाले यसबाट सर्जक मोहन ठकुरीको अद्योपान्त परिचय छ्याङ्ग खुलेर आएको अनुभूत हुन्छ।
साहित्यकर्म दुई प्रकारका हुन्छ भनिन्छ (अरू पनि होलान्)- पहिलो वास्तुकार (आर्किटेक्ट)को जस्तो अनि दोस्रो माली (गार्डर्नर)को जस्तो। पहिलो कार्यमा लेखन वास्तुकारले डिजाईन गरेजस्तो पूर्ण शिल्पकारिक र संरचनात्मक हुन्छ।त्यो पूर्वतयारी र नियोजित हुन्छ। त्यसले त्यो कृति वा सिर्जना कस्तो स्वरूप र आकारको हुन्छ त्यसको ज्ञान पहिल्यै थाहा हुन्छ। दोस्रो लेखनमा पनि केही पूर्वतयारी र नियोजन त हुन्छ तर त्यसको प्राप्ति कस्तो र कति हुन्छ ज्ञात हुँदैन। जसरी मालीले मिहेनत गरेर बिजन लगाउँछ तर उनलाई थाहा हुँदैन त्यस बालीको फसल कस्तो र कति हुन्छ भनेर। हामीसित धेरैजसो सर्जक यसरी मालीजस्ता छन्। वास्तुकारजस्ता सर्जक थोरै मात्र छन्।तर त्यसमा पनि संख्या क्रमश: बढ्दो छ। सङ्गीत र चित्रकलामा त यो तक्निकी अनिवार्य हुन्छ। केही साहित्यकारहरू पनि यसरी सचेत बन्दै कृति डिजाइन गर्ने दिशामा लागिपरेका देख्छौँ। यो युक्तिमा संज्ञान लागिपर्ने यताका साहित्य महारथी इन्द्रबहादुर राईदेखि जुमेली र पुनियानीसम्म आइपुग्दा निकै ठूलो हुद्दा भेट्न सक्छौँ। यसै लहरमा सर्जक कमला तामाङको यो नवीनतम कृतिलाई पनि लिन सकिन्छ जहाँ सर्जक मोहन ठकुरीको जीवनवृत्त र सिर्जनकार्यलाई सविस्तार पस्कन अत्यन्त सचेतता र दक्षता अप्नाउँदै यो कृतिलाई वास्तुकारीय डिजाईन गरिएको पाउँछौँ।
प्रतिभाको पूजनकार्यमा कमला तामाङको निष्ठा र लगन स्पष्ट देखिन्छ। उनले यो कृतिमा आफूलाई थोरै दृश्यमा राखेर नेपथ्यबाटै धेरै काम गरेकी छन्। अत्यन्त कौशलपूर्वक सर्जक ठकुरीलाई उनका पूर्वप्रकाशित कृति, फुटकर रचना तथा अन्तरवार्ताहरूका माध्यमले आफ्नो बाल्यकाल, युवाकाल, जागीरे जीवन, साहित्यकर्म, सिर्जना, आध्यात्म, केही वैंशालु उपद्रव, असफल प्रेम, विवाह, साथी-सङ्गी, गुरू-गुरूमा, सफल वैवाहिक जीवन, साहित्यिक भ्रमण, जीवन-बोध र दर्शन हरेक पक्षलाई खोतल्ने उद्यम गरेकी छन् अनि आवश्यक ठाउँमा सर्जक ठकुरीलाई नै मुख खोल्न लगाएकी छन्। यस दृष्टिले हेर्दा यो कृतिमा सर्जक ठकुरीको आत्मवृतान्त नै धेर भेटिन्छ। यसैले यसमा व्याप्त सत्यता र तथ्यात्मकतामाथि प्रश्न उठाउने स्पेश एकदमै न्यून भेटिन्छ। हामीले व्यक्ति मोहन ठकुरीदेखि सर्जक मोहन ठकुरीसम्मलाई चिन्न यताउति भौँतारिनु जरूरी रहेन अब भनेर ठानेपनि यो नै सम्पूर्ण हो भन्नु भने अनुचित हुनेछ किनकि सर्जक ठकुरी महोदयले अझ धेरै केही गर्नेछन्। किनकि उनी थपक्क बस्ने स्रष्टा पटक्क होइनन् जो सर्वविदित छ।
कृति “सिर्नवृत्तमा मोहन ठकुरी”को संरचना उत्तरआधुनिक पेस्टिश्च शैलीले निर्मित छ। कृति “सर्जक सन्दर्भ”कै प्रभाव यस कृतिमा पनि देख्नसकिन्छ।आत्मकथ्य, संस्मरण, अन्तरवार्ता, निबन्ध, कथा, कविता, नाटक, समालोचना आदि सबै विधालाई सम्मिलन गराएर सर्जक ठकुरीको सर्जक व्यक्तित्वलाई अझ झलमल्ल पार्ने कार्य गरिएको छ भने उनको सिर्जनयात्राका घुम्ति, आरोह र सोपानलाई पाठकीय मूल्याङ्कनले थप पालिस लाउने कार्य गरिएको पाउँदा हामी पाठकलाई सर्जक ठकुरी किन यति प्रिय र पूज्य छन् भन्ने कुरो यस कृतिमार्फत स्पष्ट हुन्छ।
कृति हातमा लिएपछि तपाईँ-हामीलाई सबैभन्दा पहिले यसको भूमिकाले आकर्षित गर्नेछ। भूमिकाकार अध्येता पेम्पा तामाङले प्रस्तुत कृति, कृतिकार अनि कृतिकेन्द्र सर्जक मोहन ठकुरीका सिर्जना र विचारलाई आजको नवीनतम वैचारिकता, लेखनकला अनि प्रस्तुति कौशलको आधारमा सिङ्गोपाङ्गो समालोचना नै गरिदिएका छन्। सर्जक कमला तामाङले प्रस्तुत कृति तयार गर्न अप्नाएका प्रविधि र औजारहरूलाई निफन्दै कृतिको गरिमा र महत्त्वलाई छर्लङ्ग पारिदिएका छन्। यो लेखमा विद्वान तामाङले विशेष सर्जक ठकुरीका सिर्जनाहरूमाथि लेखिएका समालोचनाहरूमाथि थप व्याख्या, विश्लेषण र मूल्याङ्कन गरेका छन्। समालोचनाको समालोचना भएको यो एक अधिसमालोचनात्मक कार्य हो। अर्थात मेटाक्रिटिसिजम। सबैभन्दा धेर सर्जक कमला तामाङको ध्येय, लगन र सोंचको परिणतिमा निर्मित यो पुस्तककै सठीक मूल्याङ्कन अध्येता पेम्पा तामाङबाट भएको छ।
यसै सन्दर्भलाई अघि लिएर जाँदा सर्जक मोहन ठकुरीको जीवनवृत्त र सिर्जनामाथि सर्जक ठकुरी, कृतिकार कमला तामाङ लगायत सर्जक ठकुरीका समीक्षक तथा टिप्पणीकारहरूले विविध कोणबाट आ-आफ्ना इतिवृत्तलाई पस्कने काम गरेका छन् जो यस कृतिमा टेक्स्टको रूपमा विभिन्न स्रोतबाट टिपिल्याइएका छन्। सर्जक कमला तामाङले ती इतिवृत्तलाई आफ्नो पारखी आँखाले केलाउँदै त्यसमाथि आफ्नो वैचारिक किटान र समर्थनलाई प्रस्तुत गरेकी छन्। यो अर्थमा इतिवृत्तहरूमाथि थप आफ्नो इतिवृत्त पस्काइ राख्ने सर्जक कमला तामाङको यो कृति समायोजनलाई हामी ठकुरी विषयक माइक्रोन्यारेटिब्सको सन्दर्भमा हेर्न सकिन्छ कि भन्ने मलाई लागेको छ। किनकि यहाँ सर्जक ठकुरीको व्यक्तित्व र प्रतिभाका विविध आयामलाई रौँचिरा अध्ययन र विश्लेषण गरेको पाइन्छ। एकै व्यक्ति अनि कृतिलाई अनेक व्याख्या वा पठनसित पस्कने क्रममा माइक्रो न्यारेटिब्सहरूका समायोजन भएको पनि मान्न सकिन्छ। कृति निर्माणको यो पद्धत्तिले उत्तरसंरचनात्मकताको अन्तरपाठात्मकता पनि निर्वाहन गरेको छ भनेर तोक्न सकिन्छ।
कृतिमा व्यक्ति मोहन ठकुरीलाई चिनाउने परिवार, जन्म, बाल्यकाल, शिक्षा, नोकरी आदिको वृतान्त अधिकजसो उनको संस्मरण सङ्गालो ‘अविस्मृत क्षणहरू”लाई आधार गरेको पाइन्छ।स्रष्टा मोहन ठकुरीलाई चिनाउन भने उनका “प्रकाशनमा प्रथमहरू” सिर्जनात्मक कृतिहरूमा कथा सङ्ग्रहहरू “मेरो अङ्गालोको रात” र “ह्याङओभर” कविता सङ्ग्रहहरू “निशब्द” र “अभिन्न अक्षर”, परिचयाङ्कन कृति “सर्जक सन्दर्भ” र डा. कुमार प्रधानमाथिको “मोनोग्राफ” आदि कृतिलाई पृष्ठभूमिमा राखी भारतीय नेपाली साहित्यका सुपरिचित समीक्षकहरूका आलेख, टिप्पणी र प्रश्नोत्तरभित्र केन्द्रीत बन्दै सर्जक कमला तामाङले यो कृतिलाई नयाँ स्वरूपमा प्रस्तुत गरेकी छन्। थप सर्जक ठकुरीका सिर्जनाका नमूनाहरू, सम्पादित पत्र-पत्रिका अनि कृतिका विवरणहरू, प्रकाशित भूमिकाहरू समाविष्ट गरी सर्जक ठकुरीका लेखन नमूनाहरू समेत पस्कने काम गरिएकोले कृति आधिकारिक रूपले सर्जक ठकुरी अनि उनका सिर्जनाहरूका सन्दर्भ ग्रन्थ नै बन्न सकेको छ।
कृतिगत रूपमा साहित्यसन्दर्भलाई हेर्दा सर्जक ठकुरीको अधिकाधिक प्रक्षेपलाई समेटिएको भए पनि मलाई खट्केको कुरो के रह्यो भने यहाँ सर्जक ठकुरीको आध्यत्म पक्ष अझै ओझलमा रहेको पाइयो। उनी व्यवहार, चिन्तन र कर्मले निकै धार्मिक व्यक्ति रहेको सर्वविदित छ। उनी दिव्यावतार भगवान श्री सत्य साई बाबाका अनन्य भक्त पनि हुन्। आध्यात्म र दर्शनमा उनको निकै गहिरो दखल छ भन्ने उनका कतिपय सिर्जनाबाट ज्ञात हुन्छ। यसैले साहित्य र आध्यात्मसित उनको लेखन पनि कतै न कतै जडित अवश्यै छ। हामीले उनको साई-साहित्यसितै उनका कवितामा, अनि गद्य लेखनमा लुकेर बसेका दर्शन, आध्यात्मिक चेत र चिन्तनको पनि अध्ययन अनि अनुशीलन गर्नुपर्ने रहेछ। उनको यो पक्ष निकै विराट र विस्तृत छ भन्ने मलाई विश्वास छ जसलाई भविष्यमा हामीले उनका सिर्जना स्रोत, लेखन प्रभान्विति अनि प्रवृत्ति केलाउँदा थप खुल्नसक्ने सम्भावना देखेको छु।
अन्तमा कमला तामाङबारे अलिकति थप्छु, सर्जक कमला तामाङलाई पहिले अलिकति राजनैतिक कार्यकर्ता चिन्यौँ। राजनीति उनको व्यक्तिगत रूची र महत्त्वाकाँक्षाको विषय नहोला। “लोकको गरूँ हित भनी” भनेरै सायद उनी मिरिक नगरपालिकाका अध्यक्षा बनिन् । उनी आफ्नो तामाङ सम्प्रदायको उन्नतिको निम्ति लगातार खटिरहन्छिन्। यो उनको धर्म-संस्कार, रीतिरिवाजप्रतिको श्रद्धा र सचेतताले होला। तर उनी साहित्यकर्ममा निरन्तर लागिपरिरहन्छिन् यो भने उनको रूची, महत्त्वाकाँक्षा र सपनाको संसार होला। उनले जुन स्नेह, माया, सम्मान र सत्कार पाइरहेकी छन् त्यो यसै साहित्यकर्मले उनलाई प्राप्त छ। मिरिकका नारी स्रष्टाहरूमा कमला राई, शीला लामा र कमला तामाङ आजको समयमा सबैतिर पुग्ने साहित्य स्रष्टा रूपमा हामीले पाएका हौँ। आज म स्व. कमला गुरूमालाई सश्रद्धा स्मरण गरिरहेछु जसले कमला तामाङको सिर्जनात्मक दीयोमा तेल थप्दै आइरहेकी थिइन्।
कमला तामाङ मिरिकलाई मुटुभित्र बोकेर बाँचिरहेकी सर्जक हुन् यसैले त उनले आफ्नो कविता कृति अक्षर यात्रामा पहिलो अनि अन्तिम कविता क्रमैले “मिरिक, तिमीलाई म साह्रै माया गर्छु” र “सहमेन्दु धाप” शिर्षकमा काव्यिक अभिव्यक्तिले सुसज्जित कविताले कृतिलाई सजाएकी छन्। मिरिक अनि मिरिक साहित्य सुनौँ परिवारका पर्याय बनिसकेकी सर्जक कमला तामाङ स्व. कमला राईले लेख्नुभए झैँ “सुन्दर आकर्षक व्यक्तित्व, मीठो बोली-वचन, सहयोगी र परिश्रमी हातहरू र सबैलाई मोहनी लाउने मोहक चरित्र” भएकी शालीन व्यक्ति भनेर सर्वपरिचित छिन्। बाहिर जति कोमल र नम्र देखिए पनि उनी सांसारिकतासित लड्न उत्तिकै कठोर पनि बन्न सक्छिन् भन्ने सत्य उनको यो अभिव्यक्तिबाट स्पष्ट हुन्छ:
असफल भएको समय
स्वभाविक थियो निराशा
तर थियो प्रयास अनवरत
अनि मन-व्याप्त आशा
तोड्ने कोशिश नगरेका पनि होइनन्
मान्छेहरूले, परिस्थितिहरूले
तर हिम्मत हारिनँ मैले कहिल्यै
किनभने झुक्नु सिकेकी छैन मैले
हो, थाक्नु सिकेकी छैन मैले!
-थाक्नु सिकेकी छैन मैले, अक्षर यात्रा पृ. २४।
सम्भवत: यो कृति तयारीसित पनि यी अभिव्यक्तिले सान्दर्भिकता र अर्थ बोक्दछ । सर्जक कमला तामाङलाई यति महत्त्वपूर्ण, उपयोगी र पठनीय कृति तयारीको निम्ति हार्दिक बधाई अनि शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।