दिलिप बान्तावा राई ! “ताल्चा” हातपर्नु पहिल्यै कतै देखेको र पढेको नाम । उहाँसँग मेरो कुनै हिमचिम वा निकटता छैन । केही समयअघि उहाँले साहित्यपोस्टमा “‘केटीहरू किन रूख चढ्दैनन् ?’ – कवि पराजुलीले लेखेका हाेइनन्, लेखाइएकाे हाे” शीर्षकको विचारोत्तेजक लेख सामाजिक सञ्जालमा पढेपछि निकै छोएको थियो । यस अघि र पछि उहाँको कुनै विचार कथा पढ्ने अवसर मिलेन । अझ भनौं पढ्ने समय जुरेन । समय आफ्नै रफ्तारमा चलिरह्यो । केही महिना अघि मात्र फेरि सामाजिक सन्जाल फेसबुकमा बान्तावा जीको “ताल्चा” कथासङ्ग्रह आउँदैछ भन्ने आवरण तस्वीर सार्वजनिक भयो । विमोचन भएपछि धेरै जनाले आवरण तस्वीर पोस्ट गरेको देख्दै थिएँ । यही शिलशिलामा “ताल्चा” कथासङ्ग्रह भित्रको एउटा कथा “स्कुल”को नाटक मन्चन हुँदैछ भन्ने पनि सामाजिक सन्जाल मार्फत थाहा पाइयो । अनि मेरो ध्यान उही अपरिचित कथाकार बान्तावा र ताल्चामाथि पर्न गयो । मन एकतमासले अधैर्य बन्न पुग्यो । यसको मूल कारण ताल्चाभित्रको मञ्चन हुँदै गरेको नाटक स्कुल हो । म आफू स्वयं स्कुल पढाउने शिक्षक भएको कारण पनि हुन सक्छ । फेसबुकमा साथी त रहेछौं तर बोलचालको सुरूवात नै भएको थिएन । एका बिहानै मेरो फेसबुक स्टाटसमा उहाँले प्रतिक्रिया दिनु भएपछि आँट बटुलेर म्यासेन्जरमा सिधै, “तपाईं ताल्चा कृतिको लेखक दिलिप जि हो ?” लेखेँ । उहाँले “हो ” भन्नू भएपछि खुसी लाग्यो । उहाँले ताल्चा कथासङ्ग्रह भन्नू भएपछि मञ्चन भइरहेको स्कुल हेर्न जान मनले झकझकाइ रह्यो । समय मिलाउनै सकिएन ।
नाटक स्कुल र मेरो कर्मथलो स्कुल दुबै एकै समयमा चलिरह्यो । नाटक हेर्न छुट्ने पक्कापक्की भयो । ताल्चा हात पार्नको लागि अनेक उपाय खोजिरहेँ । अन्तिममा उहाँलाई नै गुहार्न पुगेँ । कुरियरमार्फत् ताल्चा हात पार्न सकेँ । जब मैले ताल्चालाई खोल्न थालेँ, हरेक कथाहरूले छोएको, चिमोटेको अनुभूति गरें ।
अबचाहिँ ताल्चाभित्र प्रवेश गरूँ । नेपाली साहित्यको विद्यार्थी भएको नाताले पनि इन्द्रबहादुर राई, पारिजात , गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालाको कथाहरूले अति नै छुने गर्थ्यो । यस्तै कथाकारभित्र थपिएको एक कथाकार बान्तावा । उहाँको कथासंग्रहमा जम्मा दसवटा कथाहरू छन् । कथा केही लामा र केही छोटा पनि छन् । सबै कथाहरूमा सामाजिक परिवेश यथार्थपरक घटनाक्रम, पात्र र चरित्रहरुमा जातीय पहिचान, भाषिक सौन्दर्य कोहीभन्दा कोहीमा कम छैनन् । बान्तावाका कथाहरुमा गाउँ , सहर, आफूले बाँचेको भूगोल र समकालीन र कालक्रमिक परिवेशमा रहेर जातीय रीतिरिवाज , रहनसहनमा पुग्न सफल भएको छ । ताल्चा संग्रहभित्रको केही कथाका पात्रहरुमा स्वयं मलाई पनि देखें । राज्यद्वारा आतंककारीको बिल्ला भिराई पीडित बनाइएको जब्बरेसँग मेरो बुबाले भोगेको दु:ख देखेँ । अनि धनुको अनुहारमा काभ्रेको माउरे भञ्ज्याङमा पानी लिन जाने सासू बुहारीलाई गोली ठोकी मारेर दोहोरो भिडन्तमा मारेको आतंककारीको बिल्ला भिराइएको यथार्थ घटनाक्रम आँखा अगाडि दर्पणझैं देख्न थालेँ । बाध्यताले युद्ध मैदानमा होमिएको कबिरभित्र मैले मेरा समाकालीन थुप्रै योद्धाहरुको अनुहार सम्झेँ । यसै कारण ताल्चा मेरो प्रिय पुस्तक हो । यो कृति धेरै मन पर्नुको कारण जनयुद्धमा लडेको योद्धा म आफू पनि भएको र कथाकारले जनयुद्धको घटनाक्रमलाई आफ्नो कथामा सजीव ढङ्गले उतार्न सक्नु पनि हो। सातौं इमोजी, आमूल र रामप्रसादमा जनयुद्ध र जन आन्दोलनको यथार्थ कहानीहरुलाई सरल तरिकाले पस्केको छ । बन्दुकको लडाइँ रोकिए सँगै माओवादी नेतृत्वमा आएको वैचारिक विचलन र त्यसले निम्त्याएको निराशतालाई सातौ इमोजी र आमूल कथामा उजागर गरेको छ । द्वन्द्वको बेला मृत्युलाइ जित्दै लडाइँको मैदानमा साहसिक रुपमा होमिएको योद्धाहरु बिस्तारै ओझेलमा परेको अनि शान्ती प्रक्रियापछि युद्धको बेला तोकिएको समयमा आफ्नो आर्कमा नपुग्ने कमरेड नवीनजस्ता कायरहरुले नै अवसर लिएको, कमरेड नवीनजस्तै अवसरवादीहरुले मौकाको फाइदा उठाउँदै स्वार्थ पूरा गरेको यथार्थलाई उठाउँदै विचारमा आएको विचलन र नेतृत्वले आफ्नो असली कार्यकर्ता नचिनिएको बेला कथाकारले छर्लङ्ग पारेर लेखकीय धर्म निर्वाह गरेका छन् । सातौं इमोजीको पात्र रमिलाको माध्यमबाट योद्धा कार्यकर्ताले बाँचेको जिन्दगीलाई मिहिन ढङ्गले पस्किन सफल भएका छन् ।
कैदी नम्बर ३५४ मा नारी पात्र निरीह नभई शक्तिशाली आँटिलो अनि हिम्मतवाली हुन सक्छन् भन्ने सङ्गी दिदी र तायाको संघर्ष र हिम्मतबाट प्रस्ट हुन्छ । यी दुई पात्रहरूलाई पढिरहँदा आदिवासी महिलाहरू साहसिलो र हिम्मतिलो हुन्छन् भन्न खोजिएको छ । अपरिपक्व उमेरमा प्रेम नामक गुलियो सम्बन्धमा फँसेर जीवन नै तहसनहस पारेर जेलमा सजाय काटिरहेका तायाले जिउँने हजार विकल्प मध्ये पढेर बिबिएस पास गर्नेजस्ता उदाहरणीय सन्देश दिएको छ । स्वअध्ययनको महत्त्व तायाले पास गरेको बिबिएसले प्रस्ट दिन्छ। सङ्गी दिदी जो आफ्नो श्रीमान् विदेश हुँदा आफूलाई बलात्कार गर्न आउँने देवरलाई हत्या गरी स्त्रीत्व रक्षाको लागि बलिलो कदम चालिएकोले आदिवासी महिला साहस र हिम्मत दिने पात्र हुन् । बलात्कारीको विरुद्धमा जस्तो सुकै कदम चाल्नुपर्ने सन्देश सङ्गी दिदीको माध्यमबाट दिएको छ । “झ्यालखाना भनेको आफ्नै जिन्दगीलाई पढ्ने स्कुल रैछ ” भन्ने दृढ आत्मा विश्वास व्यक्त गर्ने सङ्गी दिदीको हिम्मतिलो सुझावले बिबिएस उत्तीर्ण गर्न सफल ताया आफूलाई बिहेको नाटक गरी आफ्नो अस्तित्व लुटेर धोका दिने पूर्व प्रेमीको समाचारमा आनन्द र बन्धन मुक्त भएको अनुभव गर्नु पाठकहरुको निम्ति सुखान्त कथा बनेको छ ।
हल्लावा कथामा छोरा जन्माउनको निम्ति भनौ वा वंश जोगाउनको निम्ति बहु विवाह गर्ने सामाजिक घटनाक्रमलाई उठाएको छ । आफूभन्दा दोब्बर उमेरको पुरुषले भर्खरको केटी मान्छेलाई इच्छा विपरीत जबर्जस्ती तानेर श्रीमती बनाउने प्रतिकार गर्न नसकी निरीह भई श्रीमान् स्वीकार गर्नुपर्ने यथार्थलाई औैल्याएको छ भने धर्म संस्कृति संस्कारलाई आ-आफ्नै जात अनुसार हुन्छ भनेर सशक्त पहिचान देखाएको छ । यस कथाको पात्र बसुहाङ्ले युवा पुस्तालाई “आबो उइले हाम्रो जस्तो जमना छैन काँइला । जुग जमना छिप्पिदै छ । आबो हाम्ले जस्तो घरमा मान्छे बटुलेर मत्तै हुँदैन । यताउता देश समाज घुम्नुपर्छ, चिन्नुपर्छ। मान्छे भनेको ठोक्किनुपर्छ , जोतिनुपर्छ, लड्नुपर्छ , चेप्टिनुपर्छ अनि उठेर हिन्न सक्नुपर्छ । त्यत्ती र मत्तै चेत आउँछ । ऐलेको समयमा चेत नआइ घरबार थुनियो भने देश दुन्याँ थाहै नपाइ जुनि बित्छ । हामीले मत्तै जानेर ऐलेकालाई पुग्दैन हेर।” भन्ने विचारमा भाषिक लवजको साथै उपदेशमूलक अर्ति दिएकोले कथा झन् सशक्त बनेको छ । यही हिम्मतिलो विचारले मान्छेलाई रोजगारीको शिलशिलामा देश विदेश पुग्न हौसिएको छ । गोर्खा सैनिक भएर लडाइँ लड्दा भोगेको हजार ठक्करहरुले पाठकहरुलाई दु:खी बनाउनुको साथै गोर्खे सैनिक हुँदा हुन सक्ने दु:खद घटनाक्रमलाई उजागर गरेको छ । युगौँदेखि गाडेर बसेको पुरातन सोचअनुसार मृतकको आत्मा भड्किएको छ है जस्ता संवादले जातीय संस्कार र पुरानो मूल्य मान्यतालाई भरपूर प्रेम दर्शाएको छ ।
“नागरिक” आम नागरिकले भोगेको कथा हो । यहाँ देशको मूल कानुन संविधानमै उल्लेख भएको अधिकार पाउन पनि एउटा कर्मचारीको कारण आम सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको छ । आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउँछ भन्ने संविधानमै व्यवस्था भए पनि अड्डा, अदालत, मुद्दा खेप्नुपर्ने जस्तो कष्ट झेलेर बल्ल नागरिकता पाउन सकिन्छ भन्ने तीतो यथार्थ यस कथामा देखाइएको छ । राधिका जसको आमाले एक्लै हुर्काइन्, एक्लै बढाइन् अनि पढाइन् । जागिरको शिलशिलामा योग्यता पुगेको क्षमतावान् नारी भए पनि नागरिकता नभएकै कारण प्रतिस्पर्धामा उत्रिन नपाएको दु:खद घट्नाले पाठकको मनमा दु:खको अनुभूत दिलाएको छ । हरेक पटक गाविसको सचिव फेर्दा नागरिकता पाउने आशा लाग्दो नजर बिछ्याउने आशावादी पात्रलाई सबै कर्मचारीले बुबाको नागरिकता नभएकै कारण आमाको बिहे दर्ता नभएकै कारण नागरिकता दिन इन्कार गरिरहन्छ । कानुनी विधि र पद्धति अनुसार सर्जमिन गरी मुचुल्का उठाई गाविस सचिवले नागरिकताको लागि सिफारिस पठाउँदा समेत प्रक्रिया नपुगेको ( आमाको बिहे दर्ता र बुबाको नागरिकता) भन्दै नागरिकता नदिएर निराश बनाउने र मुद्दा हाल्न जा भन्ने प्रवृत्तिको सिडियो हुँदासम्म आमाको नामबाट नागरिकता लिन चाहने राधिकाहरुले दु:ख पाइरहन्छ भन्ने सत्यता दर्शाएको छ। महिलालाई दोस्रो दर्जाको नागरिक समेत नगनेकोले “महिला भएर बाँच्नुभन्दा घर पालुवा जनावर भएर बाँच्न सजिलो छ” जस्ता निराशजनक अभिव्यक्तिहरु कर्मचारीहरुको मनपरी तन्त्रका कारण उब्जिएको हो भन्ने ठम्याइ छ । कानुनी झमेला र कर्मचारीहरुको कारण अनेकौं कामहरु असरल्ल त छँदैछ तैपनि राधिकाले नागरिकता पाएको क्षणले भने निराशतालाई हटाएर कथालाई उचाइमा पुर्याई आम पाठकलाई सन्तुष्ट बनाएको छ ।
“श्रद्धा” कथाले ग्रामीण भेग र सहरलाई कलेज पढ्ने विद्यार्थीको माध्यमबाट जोड्ने काम गरेको छ । एस एल सि पासपछि उच्च शिक्षा हासिल गर्ने सपना बोकी राजधानी केन्द्रीत कलेजहरुमा हुने अध्ययन र डेरा लिई पढ्नुपर्ने विद्यार्थीले भोग्नुपरेको समस्याहरूलाई पस्किने कार्य भएको छ । राजधानीको बसाइँमा किचकिचे घरबेटी , पानीको समस्यालाई कथामा खुसुक्क घुसाउन सकेको छ । कोलाहल सहरमा हतार, चिन्ता, त्रास , अभावहरुलाई देख्दा सिङ्गै देशको चित्र राजधानीमा भेटिन्छ । कथाकार बान्तावाजीले कथा सरल भाषामा आम पाठकले रुचाउने शैलीमा देखाउन सफल भएको छ । यही कथामा कथाका पात्र श्रद्धाको माध्यमबाट नारीहरु लजालु , कमजोर हुन्छन् भन्ने पितृसत्तात्मक सोचलाई ठाडै चुनौती दिँदै हक्की स्वभाव , निडर हुन्छन भनेर चिनाएका छन् । अब्बल , हक्की स्वभाव मनमा लागेको कुरा राख्न सक्ने महिला पनि हुन्छन् भन्ने सकारात्मक सन्देश यस कथाले दिनुको साथै २०७२ सालको भूकम्पले म पात्र र श्रद्धाजस्ता कयौंले आफन्तको ज्यान गुमाएको यथार्थ पस्केर कथा दुखान्तमा अन्त्य भएको आभाष हुन्छ ।
रामप्रसाद कथाले गाउँले सामन्तीहरुले सोझा र निमुखा गरिबलाई कसरी ठगिरहेको छ भन्ने उदाहरण दलजीत र बमबहादुर मुखियाको प्रवृत्तिबाट देखाइएको छ भने कथाको पात्र रामप्रसादले सामन्ती अन्याय अत्याचारको विरोध गर्नुपर्छ भन्ने सन्देश दिएको छ । न्यायको पक्षमा लड्नको लागि रामप्रसादको साहसले हौस्याएको छ । यो कथाभन्दा पनि सामन्ती प्रवृत्तिको विरुद्ध विद्रोह बनेर उभिएको छ । परिवर्तनको संवाहक दस वर्षे जनयुद्ध र १९ दिने जन आन्दोलनमा राजनीतिक चेत बोकेको विद्रोही बाहेक सामान्य ज्यामी काम गरी हातमुख जोड्ने ठूलीजस्ता अनेकौंले आन्दोलनको चेपमा परी ज्यान गुमाएको छ भन्ने देखाउदै कथा दुखान्तमा अन्त्य भएको आभाष पाइन्छ ।
“आमूल” परिवर्तन ल्याउनको निम्ति लडेको दस वर्षे जनयुद्धमा होमिएको योद्धाहरु बाहेकको घटनालाई पनि वास्तविकतामा उनिएको छ । जनयुद्धको बेला राज्यतर्फबाट कसरी सर्वसाधारण नागरिकहरु युद्धको सिकार भएका छन् भन्ने घटनालाई यथार्थपरक ढङ्गले उजागर गरिएको छ । कुनै एक व्यक्तिको रिसिबीको कारण मरेको गोरुलाई मारेको भनी आरोप लगाई दुख दिने फटाह प्रवृत्ति जीवितै छ भनेर सचेत बनाउन सफल भएको छ । गोरु मारेको आरोपमा हत्कडी लगाई चौकी पुर्याइएको कविरलाई एकाएक आतंककारी घोषणा गरी सोझो कविरकै योजनामा चौकी आक्रमण गरेको भनी भ्रम फैलाउने फटाह चरित्र बोकेको पूर्व अध्यक्षको छोरोको कारण कबिरको परिवार तहसनहस पारेको छ । सामान्य गृहिणी धनुलाई झुटो आरोप लगाई आतंककारीलाई सहयोग गरेको नाममा घरबाटै समातेर जङ्गलमा लगेर बलात्कारपछि हत्या गरेको दर्दनाक घट्नाक्रमले राज्यसत्ताको बर्बरतापूर्ण चरित्रलाई उदाङ्गो पारी दिएको छ । जब्बरे जो आरा काटेर आफ्नो र परिवारको छाक टारिरहेको श्रमजीवी इमान्दार व्यक्तिलाई काम गर्दा हातमा उठेको ठेला र चर्को घामको कारण कालो डढेको छाला हुँदैमा आतंककारी, कहाँ पुगेर तालिम लिइस् भन्दै कठोर शारीरिक र मानसिक यातना दिएको घट्नाक्रम पढिरहँदा आम पाठकको आँखामा आँसु र राज्यसत्ताप्रति आक्रोश पैदा गरिदिन्छ । बाध्यताले आमूल परिवर्तनमा लाग्नुपर्ने कबिर जो घाइते अवस्थामा पनि जिउने आशा बोकिरहने एक बहादुर योद्धाको रुपमा उभ्याएको छ भने जब्बरे जो आफू खतरामा रहेर पनि घाइते योद्धालाई सुरक्षित किसिमले उपचार गर्न सहर पठाउने एक दयालु र साहसिक पात्र भएकोले अझै समाजमा दयालु व्यक्ति छ है भनी सन्देश दिएको छ । राज्य व्यवस्थामा केही परिवर्तनपछि हिजोको फटाहा पूर्वअध्यक्षको छोरो एकाएक स्थानीय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भइरहँदा सत्ता र शक्तिको बाहेक अन्यको हैन भन्ने यथार्थ सन्देश दिएको छ ।
“चिनो” कथा समाजको यथार्थ चरित्र देखाउने ऐना हो । यस कथामा सामाजिक रीतिरिवाज , मेलापात, शिक्षित र अशिक्षित बिचको चेतनाको फरक दृष्टिकोण पाइन्छ । ठूलो जात र सानो जात बिचमा भएको विभेदले समाज परिवर्तन हुन अझै बाँकी छ भन्ने प्रष्ट देख्न सकिन्छ । प्रेमको कुनै जात हुन्न भनी चाबुङ कान्छा र फर्कीको प्रेम सम्बन्धबाट देख्न सकिन्छ । आत्मैदेखि प्रेम गरेको प्रेमिल जोडीले जस्तोसुकै आपत् र विपतको बेला पनि धैर्य नगुमाई जटिल परिस्थितिको पनि सामना गर्न हौसला प्रदान गरेको छ । गाउँले सबैले अघोषित रुपमा पानी काढ्दा ,आफ्नै जन्मदाता बुबाले रुखो बारी, वस्तुभाउ बाँध्ने गरेको गोठमा बास पुर्याउँदा पनि हतोत्साहित नभई आफ्नी प्रेमिकालाई साथ दिएर आफूले गरेको प्रेमको चरमोत्कर्ष यति कठोर हुँदा पनि सामना गर्नुले आशावादी र परिवर्तनकामी व्यक्ति समाजमा हुर्कदै गरेको देखाएको छ । बुबा र आमाको मन धेरै फरक छ भन्ने चित्रण पनि पाइन्छ । आफ्नी प्रेमिका अझ भनौँ श्रीमतीले दु:ख नपाओस् भनी माइतको जिम्मामा छोडी लाहुर हिँडेका युवा पुस्ताको श्रीमतीहरुको आफ्नो बुद्धिले भनौँ या माइतीको दबाबमा आफ्नो श्रीमानलाई छोड्नुको घट्नाले भने पाठक वर्गको मन अमिलो बनाएको छ । प्रेम आफूले गरे जसरी नै गर्नुपर्छ भन्ने मान्यताको ठिक उल्टो उसले जेसुकै गरे पनि म भने प्रेम गरिरहन्छु भन्ने उदाहरण चाबुङ कान्छाको माध्यमबाट दिन सफल भएको छ । अन्तमा समाजमा शिक्षकले खेल्ने भूमिका ठूलो हुने सन्देश दिएको छ । जात खसेको चाबुङ कान्छाको लास छुँदा आफ्नो पनि जात खस्ने होकि ? भनेर लास समेत नछुने समाजमा हाङसरको नेतृत्वले सकारात्मक सन्देश दिएको छ ।
“स्कुल” आफू अशिक्षित भएपनि छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने चेत बोकेको आमाबाहरुबाट शुरु भएको कथा हो । भाषा बोल्न नजान्दैमा साथी बनाउन सकिँदैन भन्ने मान्यतालाई तोडेको छ । एकले अर्कोको भाषा बोल्न नजाने पनि बुझ्दा धेरै सहज हुन्छ भनेर देखाउन कथाकार सफल देखिन्छन् । मोटे खस भाषा बोल्न जान्दैन । तीर्थे बान्तावा भाषा बोल्न जान्दैन तैपनि दुवै आ-आफ्नै भाषामा संवाद गर्दै नजिकको साथी हुन्छ । सुन्दर भविष्यको कल्पना गर्दै मोटे र तिर्थे स्कुलमा भर्ना हुन पुग्छ । जनजातिको छोराछोरी पनि पढाइमा कमजोर हुन्न भन्ने मोटेबाट लिन सकिन्छ । मातृभाषाको प्रभावले खस भाषामा भाषिक लवज नमिल्नु उच्चारणमा व्याकरणगत त्रुटि हुनु स्वाभाविक पक्ष हो भन्ने कुरालाई स्कुलमा स्वीकार्न नसक्दा मोटेजस्तै असल विद्यार्थीले स्कुल छोडेको तितो यथार्थ पस्की दिएको छ । बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने स्कुलको शिक्षकले जातीय रुपमै विभेद गर्नु आदरसङ्गत ढङ्गले बोल्न नजान्दा गालामा थप्पड लाउनुजस्ता कार्यले बालबालिकाहरुको मनोविज्ञानमा प्रभाव पारेर स्कुल छोडेको वा छोड्न सक्ने सङ्केत दिएको छ । खस नेपाली भाषा बोल्न नजानेकै कारण मातृभाषा बोल्नेहरु शिक्षा र यसको प्रणालीबाट पछाडि परेका छन् । ‘भाषाकै कारण स्कुलभित्र हुने विभेदपूर्ण परिवेशले बालबालिकाहरुमा हुने मनोवैज्ञानिक असरलाई यस कथाभित्र सजीव चित्रण गरेको छ । कुनै पनि भाषा समुदाय र संस्कृतिका लागि बलियो आधार भएकाले सबै भाषालाई उत्तिकै मान्यताका साथ समान प्रणालीमा ल्याउनुपर्छ भन्ने कुरालाई मूल विषयका रूपमा उठान गरिएको छ । खस भाषाको प्रभावले हाम्रो मातृभाषा लाई लोप बनाइरहेको छ भने जबर्जस्ति खस भाषा लादिँदा परिणाम कस्तो निस्किँदो रहेछ भन्ने पनि देखाइएको छ । हामीले मातृभाषामा शिक्षा हुनुपर्छ भनिरहँदा , मातृभाषामा भाषिक अभियान चलाइरहँदा हामीलाई जातीवादीको आरोप नलागेको पनि हैन । हामी हाम्रो आन्दोलन र संघर्षको कारण आज संविधानमै उल्लेख आधारभूत तहसम्म मातृभाषामा शिक्षा पाउन सफल भएका छौँ । यसको ज्वलन्त उदाहरण हो हिजो खस भाषा नजानेर स्कुल छोड्न बाध्य हुने मोटे आज आफ्नो छोरोले स्कुलमा मातृभाषाको पढाइ हुँदा मातृभाषा सिकाउन नसकेको हैरान । भाषिक एकरुपता नहुँदा हुने कठिनाइहरुलाई उत्कर्षमा पुर्याउन सक्नु कथाको सबल पक्ष हो । अन्तमा हिजो मोटेलाई जात नै तोकेर “तँ जाँड खाने किरुवा” भनेर दुवै गालामा झापट लगाएको सर , बाँसको खिरिलो छडीले हत्केला फुट्ने गरी पिटेको हेडसर , तिमी भने बापत घुँडा टेकाउने सरहरु सबै मोटेले आयोजना गरेको रक्सी पार्टीमा देख्दा भने शिक्षकहरू चेतना र ज्ञानको संवाहक नभई ढोगी भन्ने गतिलो प्रहार पाइन्छ ।
“खास कथा”मा कथाकार दिलिप जीले आफूले भोगेको देखेको समाज र आफ्नो अध्ययन लेखन यात्रा कसरी अगाडि बढ्यो भन्ने देखाएका छन् भने आफू हुनुको बोध अर्थात् आफ्नो परिचय खोज्न थालेको आम पाठकलाई जानकारी दिएका छन् । आफूलाई पुस्तक पढ्न लत बसाइदिने प्रधानाध्यापकलाई शिक्षक, शिक्षिकाप्रति कृतज्ञ हुनुको साथै आफूलाई कथा लेखनमा हौसला दिनुहुने अग्रजहरुमा आभारी प्रकट गरेका छन् ।
समग्रमा भन्नुपर्दा यस कथासङ्ग्रह जाति, भाषा, भाषिक पहिचान, संस्कृतिक र सौन्दर्यको चेत बोकेको एक दस्तावेज हो । पछिल्लो पुस्ताले यसलाई एक इतिहासको रुपमा लिन सक्ने कुरामा कुनै द्विविधा छैन । यति मीठो अनि सशक्त कथासंग्रहको लागि दिलिपजीलाई बधाई अनि थप सफलताको कामनासहित अन्य कथाहरूसँग साक्षात्कार गर्ने वाचाका साथ ओझेल पर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।