पृष्ठभूमिः
व्यक्तिको विगतका महत्वपूर्ण कार्यहरूका बारेमा प्रकाश पार्दै लेखिएको साहित्यलाई जीवनी भनिन्छ भने व्यक्तिविशेष स्वयंले आफ्नो जीवनका बारेमा प्रकाश पार्दै लेखिएको साहित्यलाई आत्मकथा भनिन्छ । आत्मकथामा व्यक्तिको जीवनका घटनाक्रम, संस्मरण, दैनिकीहरू समेटिएका हुन्छन् । जीवनी लेखन पनि गद्य साहित्यको एउटा स्वरूप हो । यसमा व्यक्तिको जीवनका तथ्यपूर्ण घटनाहरू, अनुभव र उनले गरेका महत्त्वपूर्ण क्रियाकलापहरूलाई समेटिएको हुन्छ । विश्व वा राष्ट्रका महान् व्यक्तिहरूका बारेमा उनीहरूले गरेका उदाहरणीय, अतुलनीय, प्रशंसनीय र महान् कार्यका बारेमा जनमानसका बीच जानकारी गराउन व्यक्तिको देहवासानपछि जीवनी साहित्य लेख्ने परम्परा रहँदै आएको छ ।
तर आजको सन्दर्भमा आफ्नो जीवनमा देखा परेका उतारचढाउँ र आफुले गरेका जीवन संघर्ष र कार्यका बारेमा सबैमा जानकारी गराउन व्यक्ति आफैंले तयार पारेको जीवनीलाई आत्मकथा पनि भनिन्छ । आजको मितिमा आत्मकथा लेखन एउटा फेसनको रूपमा देखा पर्न थालेको छ । यसको लेखनबाट व्यक्ति सन्तुष्टिभन्दा बढी आफुले गरेका संघर्षका विगतलाई शब्दका माध्यमबाट वर्तमानमा ल्याएर जनमानसमा परिचय गराउने चाहना पनि हो । यस्तो लेखनबाट व्यक्तिका परिवारजनले उनले गरेका जीवन संघर्षका बारेमा र आफ्ना पूर्खाहरूका बारेमा धेरै कुरा थाहा पाउन सक्छन् भने पाठकले लेखकको जीवन संघर्ष विचरण गर्दै धेरै नयाँ जानकारीहरू बटुल्न सक्छन् । आत्मकथामा यात्रा साहित्यको झलक पनि पाउने गर्छ । आत्मकथा लेखनका माध्यमबाट हामीले आफु पुगेका देश, शहर, तत्कालीन समाज, सामाजिक अवस्था, सरकारी व्यवस्था, रीति रिवाज, संस्कार, शिक्षा, संस्कृति, परम्परा आदिका बारेमा जानकारी गराउन सक्छौं भने पाठकले त्यसबेलाको अवस्थाका बारेमा थाहा पाउन सक्छन् । आज हामी संचारसँगै हिँडिरहेका हुन्छौं । तर हिजोका दिनमा फोन वा आवा (आकाश वाणी- लिखित समाचार पठाउन) गर्न सदरमुकाम आउनु पर्थ्यो । हाम्रो बेलामा खेलिने खोलामा पौडी, सडकमा खेल्ने गुच्चा, लट्टू, पाङ्ग्रा, सात ढुङ्गा, लङ्डी, चङ्गा, चोरपुलिस आदिबाट लिएर कथा सुन्ने सुनाउने चलन र नेपालको एक ठाँउबाट अर्को ठाँउ पुग्न भारतको भुभाग भएर जानु पर्ने र धेरै गाँउमा पुग्न एकदेखि पाँच-सात दिनसम्म लाग्न सक्नेका बारेमा भन्दा, सुन्दा वा पढ्दा आजको सन्ततीलाई अचम्म लाग्ने गर्छ । यो अचम्म लाग्नु पर्ने एक प्रकारको आनन्दको अनुभव गर्ने जस्तै पनि हो ।
हिजोका दिनमा महान् वा विशिष्ट व्यक्तिहरूको मात्रै जीवनी लेख्ने/लेखाउने चलन थियो । तर आजको मितिमा यसतर्फ सबैको चाहना रहेको देखिन्छ । आफूले लेख्न नसके पनि अरूलाई लेखाउन लगाएर प्रकाशन गराइन्छ । जीवनी वा आत्मकथा पनि साहित्यिक लेखन विधा भएकोले आत्मकथा लेखनमा छद्म लेखक (घोष्ट राइटर) को आवश्यकताका बारे विश्व साहित्यको अध्ययनबाट थाहा पाउन सकिन्छ । यसको लेखनमा लेखकले पाँच तत्त्वहरूलाई माध्यम बनाउनु पर्दछ । पहिलो व्यक्तिको बारेमा अध्ययन अनुसन्धान गर्नु । दोस्रो समय तालिका बनाउनु । तेस्रो व्यक्तिको विगतका झल्कोहरूलाई (फ्लेसब्याक) समेट्नु । चौथो लेखाइको प्रक्रिया रोज्नु र पाँचौं आफ्ना विचारहरू राख्नु । जीवनका उतार चढावका बारेमा जानकारी गराएर आफ्नो जीवनका संघर्षबाट वर्तमानका लागि प्रभावित पार्न सक्नु हो । यसबाट पाठकलाई ठिक बेठिकका बारेमा समेत जानकारी मिल्न सक्छ । त्यसैले आत्मकथा लेखनमा छद्म लेखकको प्रयोग हुने गर्दछ ।
जीवनी साहित्यबाट हामी अरुका बारेमा जानकारी पाउने गर्छौँ । प्रारम्भिक चरणमा धर्मप्रति मानिसको बढी आस्था र विश्वास हुनाले ईश्वरका बारेमा सबैलाई जानकारी गराउन ईश्वरको चरित्रमा आधारित गद्यात्मक कथा सुन्ने सुनाउने चलन रहेको थियो । अक्षरको थालनीअघि ईश्वरका लीलाहरू अङ्कित भएका चित्रहरू बनाउने र यस्ता चित्रहरू ढुङ्गामा समेत बनाइएका उदाहरणहरू हामी देख्ने गर्छौँ । इन्डोनेसियाको बालीमा रहेको बोरोबुदुर बुद्ध विहारमा रामायण र महाभारतको कथा चित्र ढुङ्गामा कुँदेर बनाइएको बारे यसै पुस्तकबाट थाहा पाए । त्यस्तै पाटनको कृष्ण मन्दिरमा पनि रामायणको कथाचित्र कुँदेर बनाइएको छ । कालान्तरमा पूजनीय प्रभुहरूको लिला र जीवनसम्बन्धी पुस्तकहरूको प्रकाशन हुन थाल्यो । आठौं शताब्दीमा अरबी भाषामा लेखिएको ‘मोहम्मद पैगाम्बर’को जीवनीलाई पहिलो जीवनी लेखन मान्निछ । तर पहिलो जीवन लेखनका रूपमा कोर्नेलियस नेपोसले ईशापूर्व ४४ मा लेखिएको ‘लाफ अफ आउटस्टेण्डिङ्ग जेनेरल्स’लाई पनि मानिँदै आएको छ । त्यस्तै सेन्ट अगस्ताइनले सन् ४०० मा जीवनी लेखेको मानिन्छ । उनले ‘कोनफेसन्स’ मा आफ्नो आत्मकथा लेखेका छन् । सन् १७९१ मा जेम्स बोस्वेलले बेलायती साहित्यकार डा. साम्युल जोनसनका बारेमा ‘द लाईफ अफ साम्युल जोनसन’ शीर्षकमा उनको जीवनी लेखेका थिए । यसलाई अंग्रेजी भाषामा लेखिएको उत्कृष्ट जीवनी पनि मान्निछ ।
नेपाली साहित्यको इतिहास नियालेर हेर्ने हो भने प्रारम्भिक चरणमा अभिलेखहरूमा त्यसबेलाका राजाको जीवनीमाथि प्रकाश पारेर संक्षिप्त जानकारी कुँदिएको हुन्थ्यो । वि.सं. ५२१ मा चाँगुनारायणको राजा मानदेवको अभिलेख र वि.सं. ७८८ को पशुपतिको द्वितीय जयदेवको अभिलेखलाई जीवनी लेखनको प्रयासका रुपमा लिन सकिन्छ । (नेपाली साहित्यको संक्षिप्त इतिहास, साझा प्र. २०६१) त्यसपछि राजा महाराजा, वीर र पराक्रमीहरूको वीरता र साहसका कथाहरू मैखिकरूपमा सुन्ने सुनाउने लोककथाहरूलाई पनि मौखिक जीवनी साहित्यका रूपमा लिन सकिन्छ । लोकसाहित्यमा पश्चिमका भारत, चैत, धमारी, भैनी, चाँचरी, ढुस्को, पडेली, पैकेलो, ढुस्को; पूर्वको सवाई र काठमाडौँ उपत्यकाको रामायणमा पनि जीवनीको झलक भेटिन्छ तर ती पद्य गायन विधा भएकाले र जीवनी गद्य विधा भएकाले त्यसलाई मानिसमा रहेको जीवनी स्मरणको चेतना मात्र भन्न सकिन्छ जीवनी नै भन्न सकिन्न । (नेपाली जीवनी आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, प्रज्ञा, वि.सं.२०४४) । विशुद्ध साहित्यिक जीवनीको रचनाको थालनी मोतिराम भट्ट लिखित ‘आदिकवि भानुभक्तको जीवनचरित्र’ (वि.सं. १९४८) बाट नै हो ।
त्यसअघि अज्ञात लेखकहरूका ‘रामशाहको जीवनी’ र ‘पृथ्वीनारायण शाहको जीवन’ तथा सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’लेखिएको भए पनि ती विशुद्ध जीवनी नभई जीवनीका छनक पाइने रचना मात्र हुनाका साथै मोतिरामको जीवनीभन्दा पछि मात्र आम मानिसका लागि प्रकाशनमा आयो । (नेपाली जीवनी आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, ऐ.) । आत्मकथाको हकमा पनि आत्मकथाको बान्की पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’मा पाइए तापनि यो विशुद्ध आत्मकथा होइन साथै यो पनि आम जनताको माझ धेरैपछि मात्र प्रकाशमा आयो (नेपाली साहित्यको संक्षिप्त इतिहास, ऐं) । वनारसबाट वि.सं. १९४८ मा प्रकाशित ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’लाई पहिलो समीक्षात्मक जीवनी भएकोले यसैबाट नेपाली समालोचना लेखनको पनि थालनी भएको मानिन्छ । त्यसपछिका दिनहरूमा विभिन्न पत्रपत्रिकाहरूमा महापुरुष, साहित्यानुरागी, वीर योद्धा, समाज सेवक आदिका बारेमा जीवनी लेखन प्रकाशित भएको देखिन्छ । जीवनी साहित्यमाथि धेरै अध्ययन अनुसन्धान पनि भएका छन् । प्रा. भिक्टर प्रधानको “नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना ”(वि.सं.२०४४) अहिलेसम्म भएगरिएका अनुसन्धान मध्येका उत्कृष्ट ग्रन्थ मानिन्छ । हाल प्रज्ञा प्रतिष्ठानले यसबारे अर्को पुस्तक लेखाइरहेको छ ।
पुस्तकभित्र घोत्लिदाः
क्यानडा आएपछि नयाँ जीवनको थालनीसँगै नयाँ बन्धुबान्धबहरू बनिँदै जान थाल्यो । विदेशमा नेपालीहरूको बेग्लै समुदाय बनाएर हामीहरू रमाउँदै जान थाल्यौं । यसै क्रममा डा. ध्रुव कोइरालाका परिवारसँग परिचित हुन पुग्यौं । उनको जेठी छोरी दीविशाको विवाहको क्रममा नाताले काका पर्ने रामप्रसाद कोइराला पनि अस्ट्रेलियाबाट आउनु भएको थियो । डा. ध्रुव र उनका पितादेखि हजुरआमा बुवाको नाम यस कृतिमा पनि पाउने छौं । रामप्रसादजीसँग क्यानडामा परिचित भएपछि फेसबुकले हामीबीच नजिकता बढाउँदै गयो । आफु साहित्यको विद्यार्थी भएको नाताले उनको आत्मकथाको पहिलो पाठक बन्ने र आफ्नो केही विचार पोख्ने अवसर पनि पाए ।
एकसय बाइसवटा विभिन्न र्शीषक राखेर रामप्रसाद कोइरालाले ‘मेरी उनी र म’ आत्मकथा तयार पार्नु भएको छ । उनले आफ्नो जीवनगाथाको खण्ड एकलाई ‘मेरी उनी’ मूल शीर्षकभित्र सत्रवटा विभिन्न शीर्षकमा प्रारम्भिक जीवनका उतार चढाउँको शाब्दिक बयान गरेको छन् भने खण्ड दुईमा ‘म’ मूल शीर्षकभित्र एक सय पाँचवटा विभिन्न शीर्षकमा संघर्षमय जीवनको व्याख्या गरेका छन् । यो आत्मकथा महिलाप्रति सम्मान गर्न लेखिएको महिलाहरूको योगदानको कथा हो । महिलाहरूको संघर्ष र बलिदानको कथा हो । हजुरआमाको वात्सल्यबाट सुरु भएर आफ्नो छोरीप्रतिको पितृ वात्सल्यमा गएर कथा टुङ्गिन्छ । आफ्नो जीवन यात्राको बयानमा उनले एक्काइसवटा कवितालाई पनि माध्यम बनाएका छन् । पद्य साहित्यमा माधुर्यलाई काव्यात्मक गुण चाहिन्छ भने गद्य साहित्यमा कौतुहलता चाहिन्छ । यही कौतुहलताले पाठकलाई डोर्याउँदै लिएर जान्छ । यही कौतुहलता उनको आत्मकथाको विशेषता रहेको छ ।
यस कृतिले महिलामाथिको सम्मानलाई अझ बढाउने काम गरेको छ । उसले यसमा महिलाका दुई रूप देखाएर महिला बलिदानका कुराहरूलाई नै अगाडि सारेका छन् । त्यसैले पुस्तकको शुभारम्भ नै महिलाप्रति आस्थावान् कविता राखेर गरेका छन् ।
उनी एक आमा हुन् उनको पूजा गर्नु पर्दछ ।
उनी एक बहिनी हुन् उनलाई स्नेह गर्नु पर्दछ ।
उनी एक भाउजू हुन् उनको आदर गर्नु पर्दछ ।
उनी एक पत्नी हुन् उनलाई प्रेम गर्नु पर्दछ ।
उनी एक धर्ती हुन् उनलाई सम्मान गर्नु पर्दछ ।
उनी एक छोरी हुन् उनलाई वात्सल्यले भर्नु पर्दछ ।
घरको सान, मान र नाम हो उनी उनलाई सम्मान गर्नु पर्दछ ।
आमाको एउटा गल्तीबाट सुरु भएको उनको जीवन छ महिनाको शिशु उमेरमा नै मातृत्वविहीन हुन पुग्यो । त्यसपछि उनको जीवनयात्रा दारुङ्गाबाट सुरु भएर अस्ट्रेलियामा गएर टुङ्गिन्छ । यही दारुङ्गादेखि अस्ट्रेलियासम्मको ५८ वर्षको जीवनयात्रा यसमा समेटिएको छ । जीवनको प्रारम्भमा संयुक्त परिवारमा काटेका मीठा समय पछि गएर अंशवण्डामा बाडिएता पनि पारिवारिक सम्बन्ध र सहयोग सबैतिरबाट निरन्तर बनिरहेको थियो र सम्बन्ध अहिलेसम्म बलियो छ । जागिरे बुवासँगै नेपालको विभिन्न जिल्ला चहारेर आफु सरकारी जागिरे भएपछि पनि नेपालका विभिन्न जिल्लामा जागिरे भएर जानु परेको र जीवनको मध्यार्थबाट सुरु भएको वैदेशिक रोजगारको क्रममा लाओस, ईण्डोनेसिया, टिमोर टेस्टे, एरिट्रिया, सुडान, भियतनाम आदि द्वन्द्वग्रस्त क्षेत्रमा २८ वर्ष बिताएपछि मात्र जीवनको उत्तरार्धमा पूणर्विराम लाग्छ । पुस्तकमा उनले आफुसँगै त्यसबेलाको नेपाल र जागिरे भएर विचरण गरेका विभिन्न युद्धबाट थकित अविकसित राष्ट्रको वस्तुस्थितिमाथि प्रकाश पारेका छन् ।
उनले बाल अवस्थामा भोग्नु परेको पीडालाई यसमा सहज तरीकाबाट उतारेका छन् । उनको साहित्यप्रतिको झुकाउँमा सहपाठी अविरल स्थापित र ससुरा विनोदप्रसाद धितालको प्रभावको आँकलन गर्न सकिन्छ ।
जीवनको एउटा मोडमा मान्छेको मन पनि विपरित लिङ्गप्रतिको आकर्षक हुनु स्वभाविक नै मानिन्छ । यो मानवीय गुण हो । लेखकको जीवनमा पनि प्रेमका त्यस्ता तरङ्गहरूको आरोह अवरोहहरू रहेको देखिन्छ । अनुपमा, गरीमा र यास्मिनसँगको कतै एकहोरो प्रेम त कतै बिहेको चाहना र त कतै जाति र धर्म अनि कतै आमाको पलायन तगारो बनेर बिथोलिदिएको अवस्थाको रोचक वणर्न भएको छ । अझ त्यसबेला छोरीचेलीको बिहेका लागि व्याकुल अभिभावकहरु सदरमुकाममा कोही नयाँ जात मिलेका अविवाहित कर्मचारी आउनासाथ घरमा खान बोलाएर छोरी देखाउने चलनमा लेखक पनि परेको रोचकसँगै मार्मिक प्रसङ्गको चर्चा गरिएको छ । डा. बाबुराम भट्टराईका सहपाठीसमेत रहनु भएका लेखक प्रारम्भदेखि नै आफ्नो संस्कार, पराम्परा र संस्कृतिप्रति सचेत भएको देखिन्छ । यास्मिनसँग बिहे गर्न मुसालमान हुनु पर्ने प्रसङ्गमा हजुरआमाको संस्कार सम्झेर बाटो नै फेर्नु जस्ता धेरै ठाँउमा यस्तो उदाहरण देखाएका छन् ।
विद्यार्थीकालमा गरिएको शैक्षिक भ्रमणलाई पनि उनको देशाटनको थालनी मान्न सकिन्छ । भनिन्छ पाइतलामा कोठी हुनेहरूले धेरै भ्रमण गर्छन् रे । त्यसैले लेखकको जीवन यात्रामय बनी रह्यो । यही यात्राको क्रममा पुस्तकको मध्यमा आएपछि पाठकमा एक प्रकारको कौतुहलता बढ्दै जान थाल्छ । भ्रमण गर्दै मुम्बई (पहिलेको बम्बई) पुगेका लेखकको छ महिनामा छोडेर गएको आमासँग २३ वर्षको उमेरमा अचानक भेट हुनुले एउटा बेग्लै अनुभव दिएको छ । चलचित्र हेर्न भारत पुग्ने र एकै दिनमा चार-पाँच सो हेर्न रुचाउने लेखकको आफ्नै जीवन पनि कुनै चलचित्रभन्दा कम नभएको अनुमान पाठकले लगाउन थाल्छन् । यो घटना र लेखकसँग बाँधिएको आमाको पलायनको कथा कुनै चलचित्रभन्दा कम थिएन । विछोडमा आमाको बाध्यता र मिलनमा एकजना टेक्सी ड्राइभरको अचानक संलग्नता एकदम चलचित्रात्मक प्रस्तुतिमा भएको छ । तर यर्थाथ शैलीमा ।
पुस्तकमा लेखकले नेपालको यथार्थ चित्रण गरेका छन् । जलस्रोतको देश नेपालमा विद्युतको बढी सम्भावना भएकोले दाइले इलेक्ट्रिक इञ्जिनियर पढ्न प्रोत्साहित गर्ने, महेन्द्रनगर सिँचाइ आयोजनाबाट ९० प्रतिशत पानी भारतमा जाने, नेपालको परियोजनामा ठेकेदार र कर्मचारी बीचको मिलेमतोमा कमसल सामानको निर्यात गर्ने चलन र विरोध गर्नेलाई माथिबाट सरुवा गराइदिने प्रक्रिया आदिबाट त्यस बेलादेखि नै भ्रष्टाचारले देशलाई गाँजेको यथार्थ र आजसम्म पनि त्यसले निरन्तरता पाएको बारे हामी आफैं अनुमान लगाउन सक्छौं ।
लेखकले नेपालको पुरुषप्रधान समाजमा महिलाको सदैव अवमूल्यन हुने गरेको र छोरा पाउने चाहनामा दोस्रो तेस्रो विवाह गर्ने र महिलाले छोरा पाउन नसक्दा श्रीमानलाई रिझाउन आफैंले अर्को महिला खोजेर विवाह गराइदिने परम्पराप्रति तीखो व्यंग्य कसेका छन् । दिनेश दाइले छोरा पाउने रहरमा ५ वटी छोरी पाएपछि ठुली भाउजुले श्रीमानको लागि आफ्नै भदैंनीसँग बिहे गराइदिएको प्रसङ्ग र उनीबाट पनि दुई छोरीपछिमात्र छोरा पाएको घटनाले त्यसबेलाको तथाकथित समाजको महिलाप्रतिको शोषणीय मनस्थितिलाई प्रष्ट्याएको छ । तर यस पुस्तकमा आमा, हजुरआमा, दिदी, बहिनी, श्रीमती, छोरी, बुहारीको परिभाषामा आएका यिनै पात्रहरूले उनको जीवनलाई भने गतिशिल बनाउँदै लगेको यर्थाथ पनि छ । लेखकको भाग्य भनौं वा दैवको लेखा, छोरीको श्रवण शक्ति गुमेपछि निराश भएका लेखकमा बैंकक गएपछि छोरी पनि सुन्ने हुन्छे भन्ने अभिलाषा पुरा हुने आसमा संयुक्त राज्य संघमा प्रवेश पाउनु र पहिलो कार्यस्थल बैंकक नजिकै रहेको लाओसमा हुनुले पनि छोरी र बुवाको भाग्य बलियै रहेको अनुमान पाठक सहजै लगाउन सक्छन् । अझ अरुले दिएको फारम भरेर बुझाएर युएनको जागिर पाउनुलाई पनि ठूलै भाग्य मान्नु पर्छ । डिसेम्बर १९८२ देखि सुरु भएको लेखकको विदेश यात्रा ४ अप्रिल, २०१४ मा आएर तगारो लाग्छ । ६० वर्ष उमेरका कारण रिटायर्ड भएपछि उनी यसलाई आफु लामो छुट्टीमा हिँडेको भन्न रुचाउछन् । आफ्नो कार्यदक्षता र शैक्षिक योग्यताका आधारमा परदेशमा गएर विकास गराउने दक्षहरूलाई हाम्रो देशको विकास कार्यमा संलग्न गराउन कहिल्यै सकेनौं । मन्त्रीले मेट्रिक गरेको आफन्त र कार्यकर्तालाई कमिसन कमाउन दक्ष विशेषज्ञ बनाएर परियोजनाको सल्लाहकार बनाएर राख्छन् ।
तर परदेशमा काम गरेर दक्षता पाएको लेखकजस्ता हजारौं दक्ष जनशक्ति६० वर्षको उमेरमा अवकास लिन बाध्य हुन्छन् । विदेशीहरुले कामप्रति इमान्दारिता देखाएरै विकास गरेको भन्दै आएका लेखकले पनि कामप्रतिको इमान्दारितालाई नै आफ्नो सफलता मान्दै आएका छन् ।
लेखकको आत्मकथामा छोरीका लागि युएनको जागिर रोजे, छोरीका लागि बेलायत रोजे र छोरीकै लागि आफ्नो अन्तिम गन्तव्य अष्ट्रेलियालाई बनाएको विवरण पाइन्छ । यहाँ एउटा बाको छोरीप्रतिको दायित्वसँगै पितृ वात्सल्य झल्किएको छ । हामी आमालाई सृष्टिको पहिलो रङ्ग भन्न रुचाउँछौं र आमाको योगदानलाई ईश्वरभन्दा पनि माथि राख्न चाहन्छौं । तर बाको सन्तानप्रतिको कर्तव्यबोध अतुलनीय हुने गर्दछ भन्ने वास्तविक तथ्य यस पुस्तकबाट थाहा पाउन सकिन्छ । आफ्नो जीवनका हरेक अप्ठ्यारा गल्छेडोहरू छिचोल्दै अगाडि बढ्दै गएका लेखकले ‘जिन्दगी सिकाइरहेछ, एकपछि अर्को गरेर सिक्दै जाने….’ (पृ.२८४) भनेर जिन्दगीलाई एउटा विद्यालयका रूपमा चित्रण गरेको देखिन्छ । धेरै ठाँउमा उनलाई भाग्यले साथ दिएको छ भने धेरै ठाँउमा उनले भाग्यलाई साथ दिएका छन् । त्यसमा पनि बैंककबाट काठमाडौं फिर्ता जाने सन्दर्भमा आफ्ना पुराना हाकिमलाई एकपटक भेट्ने ईच्छा गरेर उनको कार्यालय पुग्नु तर भेटका लागि त्यहाँ कुर्दा आफ्नो फ्लाइट छुट्न सक्ने भएर फकर्ने क्रममा अचानक हाकिमको कार्यालयबाट एकजना मानिस निस्कँदा कोठाको ढोका खुल्ने र बन्द हुने समयको अन्तरालमा हाकिमको नगर उनमा पर्नु गजबको कागतालीको बयान भएको छ । यो घटनाले पनि आत्मकथामा नयाँ मोड थपेको छ । त्यस्ता धेरै किस्साहरू यस पुस्तकमा हामी पाउने गर्छौ जसले पाठकमा अब के होला भन्ने कौतुहलता जगाउँदै जान्छ ।
युनिसेफमा आबद्ध भएपछि लेखक प्रायः युद्धग्रस्त क्षेत्रमा नै कार्यरत भएर गएका छन् । कतै जातीय दङ्गा त कतै धार्मिक दङ्गाले देशलाई नै खोक्रो बनाउँदै गएको वास्तविक तस्वीर उतार्दै विकास कार्यसँगै मानवीयताको पाठ सिकाउने प्रयास गर्दै अगाडि बढ्दै गएका छन् । यस पुस्तकबाट युनिसेफको काम कर्तव्यका बारेमा धेरै कुराहरूको जानकारी पाउन सकिन्छ । युएनमा काम गर्नेले डलरमात्र कमाएको देख्नेहरूले यो पुस्तक पढ्नुपर्छ अनिमात्र थाहा पाउने छन् कार्यस्थलमा भए गरिएका जीवन संघर्ष र आन्तरिक द्वन्द्वका बीच बचेर र बाँचेर काम गर्नु पर्नेको बाध्यता र आफु बसेको घरमा आगो लगाइदिएको जस्ता डरलाग्दो घटनाहरुका बारेमा पढ्न पाइन्छ ।
युद्धबाट पीडित रुग्ण अवस्थामा पुगेका देशहरूको पूनः स्थापनाका लागि कार्यरत रहँदा पनि संयमतापूर्वक काम गर्नु पर्नेजस्ता विभिन्न अवस्थाका बारेमा पुस्तकबाट थाहा पाउन सकिन्छ । एउटा प्राविधिज्ञ व्यक्तिले गाँउमा सरसफाइका लागि जनचेतना जगाउन स्थानानुररूप धर्मगत कुरालाई आधार बनाएर सरसफाइ कार्यमा अशिक्षित ग्रामीण जनतालाई प्रेरित गरेको कार्य उदाहरणीय छ । यसका अतिरिक्त पुस्तकबाट पाठकले विभिन्न राष्ट्रको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका बारेमा जानकारी पाउन सक्नेछन् । लेखकले इण्डोसियाका बारेमा राम्ररी बयान गरेका छन् । यो पढ्ने पाठक एकपटक त्यहाँ पक्कै जान चाहन्छन् । इजिप्टभन्दा पनि पुरानो पिरामिड सुडानमा रहेको बारे ऐतिहासिक जानकारी पनि पुस्तकमा रहेको छ । भियतनामले अमेरिकालाई हराएको सन्दर्भमा सुरूङ्गको प्रयोगका बारेमा राम्रो जानकारी पाइन्छ । २५०० मिटर उचाइमा रहेको एरिट्रियामा वर्षको पानी संचित गर्ने सहज तरिकाका बारेमा जानकारी पाइन्छ । त्यसरी नै लेखकले आफु बसेर काम गरेका अन्य देशहरूका बारेमा पनि संक्षिप्त परिचय राख्दा राम्रो हुने थियो ।
पुस्तकको पूर्वाधमा तत्कालीन ग्रामीण रुढीवादी समाजको चित्रण पाइन्छ । पुरुषले बहुविवाह गरेर समाजमा ठाडो शिर पारेर हिँडेका हुन्छन् भने त्यहीँ एघार वर्षको उमेरमा श्रीमानको देहवसानपछि श्रीमती बालविधुवा बनेर जीवन बिताउनु पर्ने बाध्यता र पूनः विवाहका लागि महिलाले सोच्नुलाई पनि अपराध मानिने गरिन्थ्यो । परपुरुषसँग सम्बन्ध राखेकोमा अदालतबाट श्रीमतीलाई जेल सजाय हुने गर्थ्यो भने पुरुषलाई भने कुनै कानून लाग्दैन्थ्यो । त्यसबेलाको मुलुकी ऐनमाथि पनि पुस्तकले प्रश्न उठाएको छ । साना साना रोचक घटनाहरू जस्तै जनमत संग्रहमा जनता चुनावप्रति सचेत नभएकोले मत कम खस्नु, बुवा बैंककमा हराउनु, नेपाली टोपीले गर्दा विदेशमा पनि एउटा नेपालीले अर्को नेपालीलाई चिनेर सहयोग गर्नु , नेपाली भएकोले भुटानमा जागिर खान जान नपाउनु आदि ससाना रोचक प्रसङ्गहरूले पुस्तकमा रोचकता थप्ने काम गरेको छ ।
हजुरआमालाई केन्द्रबिन्दु बनाएर लेखिएको यस पुस्तकमा उनका तीन पुत्रहरूमा महिलो छोरा जनार्दनको दोस्रो श्रीमतीको सन्तानका रुपमा लेखक प्रस्तुत भएका छन् । सगोल परिवारको परम्परा र समयानुरुप परिवर्तनसँगै अंशबण्डामा हजुरआमाको वात्सल्य पनि बाडिनुको कारुणिक कथाको बयान यसमा पाइन्छ । यही अंशबण्डापछि आफु हजुरआमासँग बस्न नपाए मर्ने कुरा गर्नु मातृत्वप्रतिको आस्था र लगावसँगै बालहठको मीठो उदाहरण आएको छ । पुस्तकले हामीलाई कहिले बाल्यकालमा गरेका उट्पट्याङ क्रियाकलापको सम्झना गराउँछ भने कहिले विद्यार्थीकालमा भए गरिएका संघर्ष तथा चुनौतिहरूको संस्मरण गराउँछ । कहिले हामीलाई जागिरे जीवनको दायित्व बोध गरउँछ भने कहिले परिवार विस्तारको क्रममा चढ्दै गएका खुड्किलाहरूको बोध गराउँछ । कहिले हामीलाई पारिवारिक दायित्वमा बाधिएको अनुभव गराउँछ भने कहिले अभिभावक भएर कर्तव्य परायणको बोध गराउँछ । लेखकले आफ्नो जीवनको कथाका आरोह अवरोहमा हामीलाई पनि सँगसँगै संस्मरणत्मक यात्रामा लिएर जाँदै गरेका हुन्छन् । यसलाई लेखनको सफलता मान्न सकिन्छ । तर लेखनमा भएका गल्तीहरूलाई नजरअन्दाज भने गर्न मिल्दैन । अनावश्यक रूपमा एकसय बाइसवटा शीर्षकको आवश्यकता देखिँदैन । कतै विस्तृत विवरण त कतै संक्षिप्त जानकारी । यसलाई जीवनको पूर्वार्ध र उत्तरार्ध गरी दुई खण्डमा बाँडेर पूर्वार्धमा पारिवारिक बयान र शिक्षा आर्जनका प्रसङ्ग अनि उत्तरार्धमा नेपाल र नेपालबाहिरको जागिरे जीवनका उतारचढाऊँलाई विभिन्न शीर्षकमा राख्दा हुथ्न्थ्यो कि जस्तो लाग्छ ।
लेखकले इमान्दारीपूर्वक भनेका छन् “जीवनमा जे गरे आफ्नो मनमा लागेको गरेँ । मनदेखि नै गरेँ । जीवनमा जे भोगेँ, केही नियतिले भोगेँ केही आफ्ना कर्मले । हजुरआमाको अन्तिम समयमा सँगै हुन नपाएको बाहेक फर्केर हेर्दा जीवनसँग त्यस्तो खास गुनासो छैन । सम्भवतः जीवनसँगै दौडिरहँदा पनि त्यति धेरै गुनासो गरिनँ । जे पाएँ त्यसैमा खुसी भएर रमाएको छु । जे पाएँ त्यसैमा सन्तुष्ट छु । जन्मसँगै रुमल्लिएका खुसीका लागि पनि त्यति गुनासो गरिनँ । मेरी हजुरआमाले गरेको माया र स्नेहले मलाई कहिल्यै रित्तो महसुस गर्ने मौकै दिएन । म भरिपूर्ण भइराखेँ, गुनासो गर्ने ठाउँ नै नराखिकन ।” लेखकको इमान्दारिता आमाको परपुरुष गमनपछि नाबालक छोरालाई छोडेर गएकी आमालाई २३ वर्षको उमेरमा एकपटकमात्र देख्न पाउनु र पत्राचार पनि रोकिएर आमाबाट टाढिए पनि जन्मदिने आमालाई एकपटक विदेश डुलाउने छोराको रहर आमाको देहावशानको खबरले स्तब्ध पार्नु । तर पनि छोरामा हुनु पर्ने कर्तव्यबोध देखाएर उनले नियमानुसार अन्त्यष्टि गरेको र भारतमा रहेको आमाको सम्पत्तिमा हकदाबीको भन्दा ती सम्पत्ति (घरहरू) सबै गरीबहरूलाई दिएको प्रसङ्ग मार्मिक छ ।
तिर्खाएको यात्रुलाई पानी खुवाउनु बाबु भनेर हजुरआमाले सिकाएको प्रेरणाबाट अगाडि बढेका लेखक कामको सन्दर्भमा जहाँ जहाँ जानु भयो, त्यहाँ त्यहाँ पानी नै खुवाउँदै हिँड्नु भयो । त्यसैले उनले हजुरआमाको नामबाट डाँडा मिडिल स्कूलमा ‘तीनलाख पचासहजारको कोष खडा गरी कुविजादेवी ट्रस्ट’ खोलेर त्यसबाट प्राप्त व्याजबाट चारजना छात्राहरूलाई छात्रवृति दिँदै आएका छन् । छोरीलाई प्रोत्साहित गर्न आफ्नै गाँउका दलित छात्राहरूलाई प्रदान गरेको यो छात्रावृतिको स्थापनाबाटै लेखकको छोरीप्रतिको वात्सल्यतालाई उजगार पारिदिएको छ । उनी जस्ता प्राविधिक र पानीको महत्त्व बुझेका व्यक्तिलाई नेपाल सरकारले विकासको पथमा संलग्न गर्न गराउन सके तिर्खाएको यात्रुलाई पानी खुवाउनु बाबु भनेर हजुरआमाले भनेको कुराको कार्यान्वयन हुन सक्थ्यो होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।