अनेकौं कथाहरूको सङ्गालो हो जीवन, हरेक जीवनका परिघटना हुन् कथा । कथा पढ्ने, भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ । कथा मन नपर्ने सायदै होलान् । कथाको कुरा गरिरहँदा हालको समयमा धेरै पढिने विधाका रूपमा लघुकथालाई लिइन्छ । लघुकथा छोटो आयाममा रचना गरिएको चोटिलो विधा हो । पछिल्लो समयको लोकप्रिय विधा पनि भएको छ । एकपटक पढेर किताब थन्क्याउने मेरो बानीलाई लघुकथा ‘बार्दली’ले बदलिदियो । दोस्रोपटक नपढेसम्म जानीनजानी भए पनि केही नलेखेसम्म धित नै मरेन । यतिबेला नेपाली साहित्य आकाशमा उदाएकी पोख्रेली लघुकथाकार टुकादेवी पौडेल आचार्यले जन्माएको “बार्दली” नामक लघुकथासङ्ग्रह २०७८ को लागि गहन उपहार भएको महसुस गरेकी छु । यो सङ्ग्रह ५१ वटा लघुकथामा संरचित छ । सङ्ग्रहकै बार्दली शीर्षकको कथाबाट कृतिको नामाकरण गरिएको यो कृतिको शीर्षक सार्थक र सान्दर्भिक रहेको छ । यसको आकर्षक आवारण कवि तथा चित्रकार बहिनी सुनिता देवकोटाले गरेकी छिन् ।

यस लघुकथामा विविध विषयलाई समेटेर तयार पारिएको महको चाकाजस्तो कृतिका कथाहरू मह जतिकै मिठा र पोसिला रहेका छन् । पढ्दै जाँदा प्रत्येक कथाले कतै न कतै स्पर्शानुभूति गर्दै जान्छन् । पहिलो कथा `अभिमान´ले सामाजिक विषयवस्तुलाई उठान गरेको गरिब एकल महिलाको आवाज सुनुवाइ नभएको गाउँका ठालुको सक्कली रूपको पर्दाफास गरेको छ। `अधुरो सपना´कथामा अरुको भरमा पलाएको खुसी क्षणभरमै उडेर जाने हुँदा आफ्नै परिश्रममा रमाउनु पर्ने सन्देश सहितको मार्मिक विषयको उठान गरिएको छ। `अव्यक्त प्रेम´संवादात्मक शैलीमा लेखिएको धेरै कुरा व्यक्त भएर पनि अधुरो रहेको प्रेम कथा हो । `आघात´पितृवियोगमा आमाको स्वरुपलाई स्वीकार गर्न नसकेको बालकले परिवर्तनको अपेक्षा राखेको बालमनोवैज्ञानिक कथा हो । `आमा´कथा बलात्कृत नारीबाट जन्मिएको सन्तानलाई बाबुको चिनारी दिन नसक्नुको कारुणिक व्यथामा आमा नै उसको चिनारी हो भन्ने भाव व्यक्त भएको छ । `उपहार´ दुर्घटनामा परेर मृत्यु उपहार पाएको प्रेम कथा हो । छोटो आयामको यो कथा पढ्दा मन चसक चसक चस्किएर आँखामा आद्रता पलाउँछ । `उसको प्रेम´ सामाजिक विसङ्गतिप्रतिको तीखो प्रहार हो , आर्थिक प्रलोभनमा डुबेर देखाइएको मायाले बर्बादी बनाउँछ भन्ने चोटिलो कथा हो। `कमाउने तरिका´मा सबै माग्ने गरिब हुँदैनन् भनेर देखाइएको छ । `कारण´ कथासंग्रहकै छोटो तर अति मार्मिक कथा हो । धार्मिक विषयवस्तुको प्रस्तुति दिँदै सुरु भएको यो कथाको अन्त्य : “महाराज !म पछुतोमा छैन, यहाँ कत्ति न पीडादायी सजाय होला र ! आफ्ना सन्तानले लगाएको वचनभन्दा त कम होला नि ।” (पृष्ठ १६)

यो गहन वाक्यले एउटा उपन्यास बोलेको छ । लाग्छ, यस सङ्ग्रहमा यस्ता अनेकौं वाक्य छन् ।

लिली अधिकारी

`कुण्ठा, कथामा प्राकृतिक प्रकोपको कारण पर्न गएको मर्मलाई मिडियाकर्मीले आफ्नो अखबारको विज्ञापन गर्न र चर्चा कमाउन पीडितलाई प्रश्नको वर्षा बर्साएको यथार्थ चित्रण गरिएको छ। `को जिम्मेवार ?´मा शैक्षिक क्षेत्रमा देखा परेको बालबालिकाको अवस्थालाई प्रस्तुत गर्दै समाज, अभिभावक र विद्यालय सचेत हुनुपर्ने कुरा उल्लेख गरिएको छ । `चीत्कार´कथा पारिवारिक दु:खान्त देखाइएको अव्यवस्थित, अव्यवहारिक अभिभावकत्वलाई प्रस्तुत गरिएको हृदयविदारक कथा हो ।

`चुनौती कि अवसर´मा परदेशिएका छोरा बुहारीको कार्ड बनेपछिको मनस्थिति र एक्लो अनुभूति गरेका बाआमाको विरही भावलाई निकै कलात्मक शैलीले प्रस्तुत गरेर आदर्श देखाउन खोज्नु कथाकारको निखारिएको कलम हो भन्ने बुझिन्छ ।

`च्यालेन्ज´ कथामा आधुनिक प्रविधिले निम्त्याएको प्रभावका कारण ज्यान गुमाउनुको तितो यथार्थलाई प्रस्तुत गरेकी छिन् । यो कथा पढ्दा आँखामा सचित्र पौडी खेल्छ । राष्ट्र रक्षकको दायित्वबोधलाई उल्लेख गरिएको कथा हो `दायित्वबोध´। `दुईटा अनुहार´कथाले हाम्रो कुरुप संस्कृतिको यथार्थ ओकलेको छ । वृद्धावस्थामा पाल्न हुने छोरीले र छोरीतिरका नातिनातिनाले तर मर्नेबेला नपाल्ने र दु:ख दिने छोरो चाहिने यदि छोरा नभए देवर जेठाजुको छोरा खोज्ने कुराको मर्मस्पर्शी तरिकाले उठान गरिएको यो कथाले कुरूप संस्कृतिको विरोध गरेको छ । यो कथा सामाजिक विषयवस्तुमा लेखिएको उत्कृष्ट कथा हो ।

`दुर्घटना´ कथा-एक्लै बस्न मन लाग्यो, अलि पर: गएँ । चितामा मुर्दा शरीर राखियो, आँखा धमिला भए ।(पृष्ठ ३०)

यस्ता मार्मिक वाक्यहरूको यो कथाले सामाजिक मनोविज्ञानलाई देखाएर पर्दा खोलिदिएको छ । पढ्दै गर्दा आँखा भरिएर आउने अर्को कथा छ -`नफापेको खुसी´छोरीछोरी जन्माई भनेर अझैसम्म पनि अन्धो समाज नारीलाई आगोको भुङ्ग्रोमा पट्काइरन्छन्, त्यही विषयलाई टपक्क टिपेर कलात्मक शैलीमा कथाकारले पस्किएकी छिन्र । यो लैङ्गिक विरोधको कथा हो । `निरुत्तर´कथाले सामाजिक बेमेलका कारण हुने घटनाको शङ्खघोष गरेको छ । `परिभाषा´ कथाले नारीको बाध्यतालाई पुरुषले लगाएको लाञ्छना असह्य भएर नारीले ऊ को हो भनेर परिभाषा मागेको प्रश्नात्मक कथा हो । `पुस्तान्तरण ´कथामा संस्कार जस्तो सिकायो त्यस्तै सिक्छ्न् भन्ने कुराको बाबू छोराको संवादबाट प्रस्टिन्छ । `पोखिएर छालभरि´ कथामा प्रकृतिको विनाश मानवहित विपरीत भएको कुरा उल्लेख गरिएको मिठो कथा हो । `प्रस्ताव´कथाले घाँटी हेरी हाड निल्नु उखानलाई चरितार्थ गरेको छ । आफ्नो क्षमताको पहिचान गरेर रहरको जन्मदिनुपर्छ नत्र आफैँलाई क्षति हुने भावले ओतप्रोत कथा हो ।` फुर्ति ´कथामा सदाबहार हुन नजान्दा रिमाको फुर्ति एकाएक हराएको छ । यस्तै कोरोनाकालमा लापरबाहीले भोग्नुपरेको यथार्थ मर्मलाई `फैसला ´कथाले चित्रित गरेको छ । बिम्बात्मक र प्रतीकात्मक कथा हो `बाख्रा चोर´। बार्दलीको प्रेम `बार्दली´बाटै समाप्त भएको कारुणिक कथा हो बार्दली कथा । ´ब्रान्डेड {कथामा -माटोको ब्राण्ड पो गुणस्तरीय रहेछ त मुन्छेले कुरो किन नबुझेका होलान् ?(पृष्ठ नं ५१)

यस्तो गहन विषय रहेको छ । `भिजेको सपना´ कथा शीर्षक नै बिम्बात्मक छ । मिठो छ उस्तै । कथावस्तुले आँखा रसाएर आउँछ । छोरोको उज्ज्वल भविष्यका लागि छोरोको फि तिरेर घर आइननुग्दै सडक दुर्घटनाले सपना भिजेको छ । अति कारुणिक दुखान्त कथा हो यो । `भ्रम ´कथा विकृतिको पर्दा उघारेको अमानवीय व्यवहारको ऎना हो । `मनको बह´कथाभित्रकी पात्र अनामिका बोल्न नसक्ने बलात्कृत आमाबाट जन्मिएकी अबोध छोरी हो जसलाई कुशेऔंशीले मन बिझाएको छ । “एउटी अपाङ्ग महिलामाथि हिंसा गरेको भए पनि गुनासो छैन मेरो हजुरसँग !आखिर मानव भएर धर्तीमा पाइला टेक्ने अवसर त दिनुभयो । म हजुरप्रति ॠणी छु । म हजुरको तस्वीर राखेर श्रद्धासुमन प्रकट गर्न पनि त सक्दिनँ । आखिर हजुर को हुनुहुन्छ ?/( पृष्ठ ५५)

`महङ्गो ओत´ रहस्यमय कथा हो भने मेरो `च्याट ब्वाय´ मनोविज्ञानमा आधारित कथा हो । `यो कस्तो संवेदना´कथामा बालबालिकालाई छुट्टी अति प्यारो भन्ने संकेतसँगै ज्ञान र विवेकले ओरालो लागेको प्रस्तुति रहेको छ । `रहस्य´ कथा जातीयताको विरोधमा रचिएको कथा हो ।

शुद्ध आत्माले जातभात, रङ्को विभेद गर्दैन तर मानिस जन्मेपछि लगाइने लेपनले उसको शुद्ध आत्मालाई रङ्गीन बनाइदिन्छ । (पृष्ठ ६३) यस्ता बलिया वाक्यांशले यो कृति अति सुन्दर बनेको छ । `रानीहार ´नामक कथा नाटकीय प्रेमको रहस्य खोलिएको सशक्त कथा हो । `लोभको परिणाम´ कथामा लोभको भकारी जति ठूलो बनायो उति सानो डाली पनि भरिँदैन भन्ने भाव बोकेको छ । `वाचा ´कथा पनि सामाजिक कथा हो जँड्याहाले गरेको वाचाले एकैछिनलाई हो दीर्घकालीन हुन नसक्ने यथार्थ देखाइएको छ । `विडम्बना´ कथा कारुणिक कथा हो । `विज्ञापन ´कथाले शिक्षकको भूमिकाको सुन्दर वर्णन गरेको छ ।`विनिमय´ कथामा धनले गरेको चमत्कार देखाएर विकृतिको विरोध गरेको गहन कथा हो । `व्यथा मनको´कथामा एकल महिलाको कहानी परदेशमा रुमलिएका सन्तानको आश गर्नु निराशाको बीउ उमार्नु भएको कुरा देखाइएको छ । `शङ्का´ कथा मानवीय कपटलाई देखाइएको छ । `शुभकामना´ कथा हाम्रो देशको शिक्षा प्रणाली र विद्यार्थीले गरेको अपमानलाई यथार्थरुपमा देखाइएको छ ।`समयको माग´मा वर्तमान समयमा टिकटकले जमाएको स्थानलाई उतारिएको छ । राजनीतिक कथा हो समिति गठन । `सम्बोधन´ कथा मातृत्वसँग निकट रहेको छ । `सहयात्रा´ कथा जीवन दर्शन बोकेको साथै लेखकीय मर्म बोकेको सुन्दर कथा हो ।` साइत´कथामा गरिबका रहर बगरभरि पोखिएकी तितो यथार्थपरक कथा हो । अन्तिम कथा हो `हिसाब´ ,यसमा नीजि विद्यालयका शिक्षकको अवस्थालाई यति गहनरूपले प्रस्तुत गर्नु कथाकारको क्षमता, दृष्टिकोण निकै शक्तिशाली देखिन्छ । यस्ता जीवन जगत् बोलेका कथा पढ्न पाएकोमा निकै आनन्द लागेको छ । कथाकार टुकादेवी पौडेलले कथाका तत्त्व, आयम, उद्देश्य, पात्रविधान सबै कुरामा सन्तुलन मिलाएर लेखेकी छिन् । उनको यो पहिलो कृति हो जस्तो नलाग्ने गरी लेखेकी छिन्, यस अर्थमा उनी भविष्यकी अब्बल कथाकार हुने कुरामा कुनै शङ्कै छैन । यस सङ्ग्रहमा प्रेमका सुखान्त दुखान्त पक्ष, बालमनोविज्ञान आधुनिक प्राविधिक कथा, सामाजिक यथार्थता, आदर्शता आदि विषयलाई विषयवस्तुको रूपमा उठान गरिएको छ ! बार्दलीमा सङ्क्षिप्तता, सूक्ष्मता, व्याङ्ग्यात्मकता र प्रतीकात्मकजस्ता विशेषताहरूलाई प्रष्टसँग देख्न सकिन्छ भने बदलिँदो आधुनिक समाज र देखिएका विकृति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य गरिएको पढ्दा मिठो रसानुभूति हुन्छ । यस कृतिको पाठकीय धर्म निभाइरहँदा तल उल्लेखित बुँदामा निहित भएर विश्लेषण गर्न उपयुक्त देखिन्छ ।

१) आयाम

यस सङ्ग्रहभित्रका लघुकथा आयामका दृष्टिले उपयुक्त देखिन्छन् । लघुकथाको संरचनाका हिसाबले `कारण´लघुकथा संक्षिप्त एवम् बलियो देखिन्छ भने `शुभकामना´ लघुकथा अलिकति बृहत् देखिए तापनि नियम विपरीत भने देखिँदैन । सङ्ग्रहभित्रका लगभग सबैजसो कथा उपयुक्त संरचनाका देखिन्छन् ।

२) विषयवस्तु

यस बार्दलीभित्रका लघुकथाका विषयवस्तुमा विविधता भेटिन्छन् । यसभित्र धर्म ,संस्कृति ,प्रेम,मनोविज्ञान ,दु:ख ,पीडा,सामाजिक विकृति ,विसङ्गति आदिलाई विषयवस्तु बनाइएको छ। जसरी बहुरङ्गी फूलहरुको सङ्गमले बगैंचा सुन्दर देखिन्छ, त्यसरी नै विविधतायुक्त विषयवस्तुको सम्पादनले सङ्ग्रह सुन्दर बनेको देखिन्छ ।

३) शीर्षकीय सार्थकता

यस लघुकथा सङ्ग्रहभित्रका कथाहरुको शीर्षक र विषयवस्तुबिच तादाम्यता देखिन्छ । `पोखिएर छालभरि´ हिसाब जस्ता प्रतिकात्मक लघुकथा र आमा , अधुरो सपना जस्ता कारुणिक लघुकथा सङ्ग्रहका गहना सावित देखिन्छन् ।

४) उद्देश्य

यस लघुकथा सङ्ग्रहभित्र सङ्गृहित लघुकथा सबैका आआफ्नै उद्देश्य देखिन्छन् । सामाजिक परिवेशमा रचना गरिएका सबैजसो लघुकथाका उद्देश्य समाज चित्रण एवम् रुपान्तरण नै हो । सामाजिक विषयलाई टपक्क टिपेर समाजको सुन्दर चित्र उतार्दै पाठक मनलाई स्पर्श गर्नु नै यस सङ्ग्रहभित्रका कथाहरुको उद्देश्य हो ।

५) पात्र विधान

यस लघुलथा सङ्ग्रहभित्रका कथाहरूमा पात्र सम्पादनलाई विशेष ख्याल गरेको देखिन्छ । विषयवस्तु सुहाउँदा सामाजिक पात्रहरुको सम्पादन गरेर कथा रच्नु नै लघुकथाकारको शिल्प देखिन्छ । जस्तै, हैने हे मुने !मैले खाएँ त मेरै सम्पत्ति खाएँ, तेरो बाउको खाएको छैन ( वाचा)

६) संवादात्मता

लघुकथाको बलियो पक्ष भनेको कथाभित्र सम्पादन गरिने छोटा छोटा संवादहरु पनि हुन् । यस सन्दर्भमा लेखकको सजकता देखिन्छ । सबैजसो कथाहरूमा छोटाछोटा संवादहरु सम्पादन गरिएको छ । संवाद शैलीमा कथाकारको प्रस्तुतीकरण थप बलियो देखिन्छ ।

समग्रमा यस कृतिको भावपक्ष अब्बल रहेको छ । कृतिभित्रको कथानकलाई हेर्दा धेरै कथाहरू एक घटनामा संरचित छन् भने थोरै कथामात्र दुई घटनामा घटित रहेका छन् । मानवीय जीवन-जगतका भोगाइ समेटेर बिम्बात्मक रूपमा कथालाई टुङ्याउनु कथाकारको खुबी र कथाप्रतिको गहन अध्ययन भएको कुरा प्रस्टिन्छ । आवश्यकताअनुसार सहरी वातावरण भए तापनि कथाको मूल परिवेश ग्रामीण नै बढी रहेको छ । हाम्रै समाजमा देखिएका ग्रामीण परिवेशका पात्रहरूलाई टिपेर सरल र सहज बोलीचालीको भाषा प्रयोग गर्दै लेखिएका कथामा कहिँकतै काव्यात्मक भाषा शैली कतै बिम्बात्मक चोटिलो भाषा प्रयोग गरिएको छ । समाज सुधारको उद्देश्य लिएर लेखिएको यो कथासङ्ग्रहमा धेरैका शुभकामना राखिएका छन् । एक दुइटा कथाबाहेक अरु कथा निकै घतलाग्दा छन् । यस्तै कृतिहरू निस्किरहून् शुभकामना स्रष्टालाई ! उत्तरोत्तर प्रगतिको कामना !!