समाजिक, राजनीतिक, भूगोल र मनोविज्ञानको कथा त कति पढियो पढियो तर कविताको कथा, गीतको कथाचाहिँ भर्खरै पढ्न पाएँ । कवि तथा गीतकार दिनेश अधिकारीले नेपाली साहित्य जगत्मा भर्खरै नवीन कृति भित्र्याउनु भएको छ । स्रष्टाको जस्तै जीवन सिर्जनाले पनि भोगेको हुन्छ भन्ने मान्यतालाई साहित्यकार अधिकारीले साँच्चै चरितार्थ पार्नुभएको छ ।

कविता र गीतका पनि आफ्नै कथाव्यथा हुँदोरहेछ । मलाई लाग्छ, नेपाली साहित्य इतिहासमा आजसम्म यस्तो कृति कसैले लेखेको थिएन । यदाकदा अन्तर्वाताहरूमा कुनै गीत र कविताको कहानी सुनिए पनि लिखित दस्तावेजको रूपमा आएका थिएनन् । कालजयी गीत र कवितालाई जीवन्त राख्न यो कृतिले अझ अहम् भूमिका निभाउने छ ।

गीतमा जब संगीत भरेर स्वरबद्ध गरिन्छ तब मात्र प्रसारण हुन्छ । अनि स्रोताहरूको कान र मस्तिष्कमा केवल स्वरको जादू अमीट छाप भएर बस्दोरहेछ । संगीतको त्रीवेणीमा सबैभन्दा बढी स्वर र संगीतले राज गर्दोरहेछ । जब शब्दले हृदय छुन्छ अनि ओहो ! यो गीत कसले लेख्यो होला भन्ने कुतूहल सृजना हुन्छ । अनि मात्र गीतकारलाई खोज्ने गरिन्छ । त्यो पनि थोरै सचेत स्रोताहरूले मात्र । धेरै जना त आवाजमा मात्र हराउँदा रहेछन् ।

यस्ता जीवन्त गीत लेख्ने स्रष्टाहरू किन सँधै छायाँमा पर्छन् ? जसको आवाजमा गीत रेकर्ड गरिएको हुन्छ गीत उसैको भन्ने चलन हाबी छ । गीतकारको मर्म नबुझेर नै त होला ? गीत बज्नु अगाडि संगीतकार र गीतकारको पनि नाम त लिएकै हुन्छ तर किन बिर्सिन्छौं चाँडै ? वास्तवमा हामी स्रोताहरू अध्यनशील र संवेदनशील नभएर नै हो जस्तो लाग्यो ।

मैले पनि अस्ति एउटा गल्ती गरेछु । प्रसङ्गवश एउटा लेखमा तारा देवी र अरुणा लामाको गीत भनेर लेखेछु । गीत गीतकारको हो भन्ने थाहा हुँदाहुँदै पनि मबाट गल्ती भयो । एक जना शुभचिन्तकले म्यासेन्जरमा तुरुन्तै सम्झाउनु भयो । मैले गल्ती स्वीकारें । गीत दिनेश अधिकारी र नरेन्द्र राज प्रसाईंको नै थियो । साँच्चै स्रष्टाप्रति अन्याय हुने देखेर ती संवेदनशील पाठकले मेरो आँखा खोलिदिनु भयो । मलाई निकै खुसी लाग्यो ।

साँच्चै पाठकहरू संवेदनशील हुने हो भने सबै सचेत हुने रहेछौँ । लेख्दा बोल्दा होस् पुर्‍याउन पर्ने रहेछ । जसले गायो त्यसैको मात्र गीत भन्न म मात्र होइन हामी धेरैजसो अभ्यस्त छौँ । दिनेश अधिकारीका गीतहरूलाई पनि मैले स्वरको आधारमा मात्र चिनेको थिएँ । तर आज आफ्नो नादानी सम्झेर गीतकारप्रति नतमस्तक हुँदै सम्मान चुलिएको छ ।

अनिता काेइराला

नेपाली साहित्यमा दिनेश अधिकारीज्यूको जस्तो कृतिहरू अझ लेखिनु पर्छ । सामाजिक, धार्मिक र राजनीति क्षेत्रमा जसरी कलम चल्छ त्यसै गरी कविता र गीतको पनि इतिहास लेखिनु पर्ने रहेछ । यो विधाको श्रीगणेश कविज्यूले गरिदिनु भएको छ । अरूलाई पनि यो कृति नजिर बनोस् । यस्तो कृतिले समाजमा विशेष टेवा पुर्‍याउने छ । रेडियो र एफएमका कार्यक्रम प्रस्तोताहरूका लागि निकै सहयोगी हुनुका साथै ज्ञानवर्धक र अध्यन गर्न सकिने विषय हुनेछ ।

साङ्गीतिक कार्यक्रम सञ्चालन गर्दा गायक, सङ्गीतकार र गीतकारको छुट्टाछुट्टै परिचय दिनु पर्दा । कार्यक्रम प्रस्तोताले गीत सँगसँगै गीतको इतिहास पस्किन सक्दा त्यो कार्यक्रम रोचक हुनुका साथै मनोरञ्जनात्मक र ज्ञानवर्धक हुनेछ । अझ कथाबाट प्राप्त गरेको ज्ञान चिरस्थायी हुन्छ ।

यो कृतिमा गीतकारले इतिहासको गर्तमा लुकेर बसेका कैयौं कथाहरूलाई उजागर गरिदिनुभएको छ । कविले नखोतलेको भए सायद गर्भगृहमा नै छोपिएर जान्थे होलान् यस्ता दमदार कथाहरू । गीत र कविताका कैयौं महत्त्वपूर्ण कथाहरूलाई अधिकारीले जीवन्त पारिदिनु भएको छ । जुन कथाहरू पठनीय र पाठनीय छन् ।
भनिन्छ नि “गागरमा सागर” हो यो कृति त्यस्तै छ । इतिहासलाई अक्षरको सीमामा बाँध्ने कोसिस गर्नु चानचुने कुरा होइन, लेखकलाई सलाम छ । अझ कविको सम्झनाका गोरेटोहरूमा कति इतिहास लुकेका होलान् । अझ ती तमाम कथाहरू हामीमाझ आउनु पर्छ ।

अध्ययन र अध्यापन गर्नका लागि पनि यो कृति उतिकै महत्त्वपूर्ण हुनेछ । अनुसन्धान तहका विद्यार्थीहरूको लागि त सुनमा सुगन्ध हुनेछ । अधिकारीको कविता वा गीतमा शोध गर्नु पर्ने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण दस्तावेज बन्ने छ । यो कृति सत्य र तथ्यपरक भएकाले विश्वसनीय छ । यथार्थको धरातलमा उभिएर साहित्यकारले नै कलम चलाएको हुँदा आधिकारिक छ । गीतकारहरू जति अगाडि आउनु पर्ने हो त्यो हुन सकेको छैन । मेरी सानी छोरी पनि “यो सम्झिने मन छ ,म बिर्सुँ कसोरी ” नारायण गोपालको गीत भन्छे । उसलाई थाहा छैन को हो दिनेश अधिकारी । नयाँ पुस्ताहरूलाई कसरी सचेत र जागरुक बनाउने भन्ने गम्भीर प्रश्न छ । यस्ता कृतिहरूको पठनपाठनले केही हदसम्म भए पनि यस्ता समस्या हल हुन्छन् ।

कस्तो बिडम्बना आजसम्म पनि धेरैलाई गीतहरू कसले लेखेको पत्तै छैन । गायकको नामबाट मात्र गीत चिन्ने स्रोताको संख्या कम छैन । त्यस कारण पनि यो कृति एक पुस्ताबाट अर्को पुस्तामाझ इतिहास हस्तान्तरण गर्न सहयोगी हुनेछ । कविताको कथा गीतको कथा पढ्दा पाठकले नौलो उर्जा, अनुभूति र उत्साह प्राप्त गर्छन् । गीत र कविताको जन्मको रोचक कथाहरू, कृतिले भोगेका आरोह अवरोह, त्यो परिवेशहरूलाई आफ्नै आँखाले पढ्न पाउनु हाम्रो अहोभाग्य हो । गर्भगृहका ती रहस्यहरू खोतल्न पाउँदा कथाहरू पढ्दै जाँदा हामी निकै गौरवान्वित हुनेछौँ ।

म सानो हुँदा गाउँमा मनोरञ्जनको कुनै साधन थिएनन् । रेडियोमा पनि ब्याट्री किन्नु पर्ने हुँदा मन लाग्दा खोल्न पाइँदैन थियो। आफूलाई मन परेको गीत रेडियोबाट बज्दा खुसीको सीमा नै हुँदैन थियो । रेडियो तनातान गर्दा कतिचोटि दिदीबहिनीको कपाल लुछालुछ भएको घटना ताजा भएर आउँछ । आफूलाई मन परेको गीतको शब्दहरू कापीमा टिप्न प्रलय नै हुन्थ्यो पुनः बजाउन सकिँदैन थियो । आज छोरीहरूलाई सुनाउँदा हाँस्छन् । अनि एउटा गीतको शब्द टिप्न महिनौ लागेको कथा उनीहरूलाई हास्यकथाजस्तो लाग्छ ।

अबोध बालापन सरलताको पराकाष्ठा नाघेको समय थियो । हाम्रो पुस्ता सार्‍है सोझो पुस्ता । गीत, संगीत र स्वर पृथक् हुन् भन्ने ज्ञान प्रकट भैसकेको थिएन । सिनेमामा गीत घन्किँदा जसरी बाजा बज्छन्, यथार्थमा पनि त्यस्तै होला जस्तो लाग्थ्यो । अनि कतिचोटि आफूले गीत गाउँदा बाजा नबजेको देखेर आत्तिएको थिएँ । अहिले सम्झेर हाँसो उठ्छ । संगीतले कति गहिरो प्रभाव पार्दोरहेछ ? त्यो अबोधतामा पनि संगीत सत्य थियो र त आज लेख्दै छु ।

गीत, संगीत र स्वरको त्रीकोणात्मक संगमको हो संगीत भन्ने बुद्धि बंगारो आइसकेको थिएन । यसै सन्दर्भमा एक जना साथीले बाल्यकालमा भनेको सम्झन्छु – “सपना! सपना! मेरै हो सपना, माया राखिदियो उसको नाम सपना ” भन्ने गीत खुब चलेको थियो । साथीको दिदीको नाम सपना थियो । यो गीत त उसको भिनाजुले दिदीको लागि गाएको भन्दा म पत्याउथें । आज सम्झेर एक्लै मुर्च्छा परेर हाँस्छु । कस्तो निर्दोषपन ? कति कंचन उमेर थियो त्यो ।

मैले साँच्चिकै धेरै गनगन त गरिन् नि ?

ए साँच्चै ! चुरोकुरो त गर्नै बिर्सिएको । तपाईंलाई कथा कतिको मन पर्छ ? मन पर्छ भनेँ । कविताको कथा र गीतको कथा पढ्नु भयो ? पढ्नु भएको छैन भने आजै पढ्नुस् है त ।

“मान्छेको जस्तै जीवन सृजनाले पनि भोग्छ । यसले पनि यात्रा गर्छ । यात्रामा यसले पनि कतै आँधी हुरी खप्नुपर्छ त, कतै शारदीय घाम ताप्दाको आनन्द पनि यसलाई प्राप्त हुन्छ ।” कवि आफ्ना कृतिमा लेख्नु हुन्छ ।

किताब हातमा आएपछि छोड्न मन नलाग्ने गजबको चुम्बकीय शक्ति पनि छ कलममा । एघारवटा निकै उत्कृष्ट कविताहरू र सत्रवटा कालजयी र मार्मिक गीतहरूको कथाहरूलाई शब्दहरूको सुन्दर फूलहरूले मिलाएर उन्नु भएको छ । कथाहरू पढ्दै जाँदा कैयौँचोटि भावुक भइन्छ। त्यो नदेखेको स्वर्णीम युग कविको कलमबाट सिनेमा हेरेझैँ हेर्न सकिन्छ ।

“हर्कबहादुर” कविताको कथाले हृदय छुन्छ । कविता आफैँमा उम्दा भएर त होला इतिहास पनि बेजोडकै रहेछ । भनिन्छ नि लटरम्म फलेको वृक्षमा झटारो पनि ज्यादै हानिन्छ । हो हर्कबहादुर पनि त्यही वृक्ष भएको कारण अलि बढी नै चोट खाएको रहेछ । कविताको उचाइ र बोधगम्यताले गर्दा यो कविता निकै विवादमा परेको रहेछ ।

“नीलो” बहको कथा उस्तै मार्मिक लाग्यो । कविको कोमल हृदय र विराट् सोचलाई छताछुल्ल परेको छ यो कविताले । यो लाइनले कसको हृदय आकुलव्याकुल हुँदैन होला ?

पानी पर्दा तपाईंको छाता भिज्यो
मेरो भने
फेरि घामले नसुकाएसम्म
भएको आङको तातो पनि हराएको छ

“बिहे” शीर्षकको कविताको कथा उतिकै रमाइलो छ । बिहेको प्रसङ्ग १ मा मिलेर छाता ओडाउने श्रीमती, प्रसङ्ग २ मा छाता खोस्ने श्रीमतीमा रुपान्तरण भएको प्रसङ्गले स्रष्टाको श्रीमतीलाई पनि कैयौँ पटक अफ्ठ्यारो पारेको कुरा बडो आकर्षक तरिकाले कविले प्रस्तुत गर्नु भएको छ ।

“नि: शब्द अभिव्यक्ति” कविताको कथाले जो कोहीलाई भावविह्वल बनाउँछ । त्यो सुड्केसमा देखिएको लोग्ने र स्वास्नीको सम्बन्धलाई एक ग्रामीण महिलाले प्रकट गरेको प्रेम विश्वविद्यालयबाट प्राप्त गर्ने ज्ञानभन्दा कम छैन । यो कथा पढ्दा मैले पनि मेरै आँखाले ती दृश्य देखेंको अनुभूत गरें । कवि मन त झन् कोमल हुने नै भयो । अनि यो कविताको जन्मको कथाले कविप्रतिको सम्मान सगरमाथाको उचाइमा पुग्यो ।
“खुसी” कविताको कथा पढ्दा पाषण हृदयमा पनि आँघी आउँछ । कवि लेख्नु हुन्छ, “कसैको बाबु, दाजु, भाइ, छोरा वा आमा, दिदी, बहिनी वा छोरीको मृत्यु भएको जानकारी छ, तर लास आउने टुंगो छैन । उफ्! कसरी बित्दो हो त्यो परिवारको दिन/ रात ? प्रश्नको रूपमा पिल्सिएको यो सत्यले मलाई लामै समयसम्म चिमोटिरहेको थियो ।” आँखाबाट झरेका आँसुका थोपाले झन्डै अक्षरहरू मेटेको कति मार्मिक विचार ।

सरल भाषामा लेख्ने कवि कुनै सन्दर्भलाई टाउको माथिको समय हेरेर “सेतो सिंह” पनि जन्मिएछ । “घर” कविताको कथा उतिकै रोचक छ ।

अब गीतको कथा थोरै कोट्याउनु पर्‍यो ।

“तिमी जुन रहरले ममा फुल्न आयौ”। १९ वर्षको उमेरमा सृजना गरेको गीत । २०३६ सालमा परिमार्जन गरी अन्तिम रूप दिएको रहेछ । मेरो जन्म र कविता सँगसँगैका भएकाले हो कि ? यो गीत असाध्यै मन पर्छ । सानैदेखि यो गीत मन पर्थ्यो । यसको भाव केही थाहा नहुँदा पनि छुन्थ्यो । जब गीत,संगीत र स्वरको विज्ञान थाहा भयो अनि त झन् मज्जाले छोयो । हुन त यो गीतले कसलाई मोहनी लगाउँदैन होला र ? झन् यसको कथा पढिसकेपछि मनै फुरुङ्ग भएको छ । गीतको पनि आफ्नै कथा र व्यथा पो हुँदो रहेछ ।

“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ” भन्ने गीतको कथा पढ्दा शरीरभरि जुरूङ्ग काँडा उम्रिए । यो गीतका शब्दहरू निकै मार्मिक र सोझै हृदयलाई छुने खालको छ ।

“जीवन भनूँ त घात छ” गीतको कथा भक्तराज आचार्यको जीवन्त पत्रबाट नै आरम्भ भएको छ, जुन आफैँमा एक गहकिलो दस्तावेज हो । यो गीत भित्रको कथाले पनि निकै मन पोल्यो अनि छोयो ।

“आफ्नै लागि ज्यून गार्‍हो तिम्रो भई के गरूँ म” गीतको कथा पढ्दा थाह भयो । साना दु:खले आर्ज्याको गीत होनन् भन्ने कुरा । गीतलाई जीवन्त पार्न संगीतकार र गायकले गर्नु परेको मिहिनेतलाई गीतकारले स्पष्ट पार्नु भएको छ ।

“पहाड झुक्नु पर्छ, आँधी रूक्नु पर्छ” गीतको कथा झन् रोचक छ । कवि तत्कालीन श्री ५ को सरकारको सह- सचिव हुँदा, यो गीत माओवादी लडाकुहरूले परेड खेल्ने लोकप्रिय गीत थियो रे । शान्ति सम्झौतापछिका रोचक कथाहरू निकै रमाइला छन् ।

“लैजा चरी मेरो खबर”को कथा बेजोडको लाग्यो । योगेश्वर अमात्यको कुराकानी अनि गीतको कथा पढिरहुँझैँ छ ।

सम्पूर्णता पछिको परिस्कृत गीत तथा कविता पिएर हामी आनन्द उठाइरहेका थियौं । तर आज गीतकारले आफ्ना गीत तथा कविता जन्मनुभन्दा अगाडिको इतिहास हामी माझ पस्किदिँदा हामी धन्य भएका छौं । मख्ख परेका छौं । अनि अझ ती कृतिहरूका उत्पत्तिको कथा व्यथा, इतिहास, भूगोल र विज्ञान थाहा पाएर तिनीहरूको महत्त्वले अझ गगन छोएको छ ।

गीतको कथा कविताको कथा अनि गीतकारको संघर्ष पढ्दा साँच्चै साहित्यमा नौलो स्वाद चाख्न पाइन्छ । गीतकार दिनेश अधिकारीले यो कृतिबाट इतिहासको महत्त्वलाई अझ स्पष्ट पार्नु भएको छ।

कवि हरिभक्त कटुवालको “बा पाठशाला जान्न म” भन्ने कवितालाई परिमार्जन गरेर यसरी भन्न पो मन लाग्यो त मलाई –

बा पाठशाला जान्छु म,
त्यहाँ इतिहास पढाइन्छ
कविता र गीतको !

यो कृति वहाँका कविता अनि गीतजस्तै अमर बनोस् । अनि अरू पनि यस्तै यस्तै कोसेलीहरू हामीहरूलाई खोल्ने मौको मिलोस् ।