विगत केही महिनामा मेरा शुभचिन्तकहरूले मुलुकभित्र र बाहिरबाट सप्रेम केही पुस्तकहरू उपहार पठाइदिए । कति पुस्तकहरू पढ्न भ्याए, कति पढ्न बाँकी नै छ, कति रुचिकर लाग्यो, कति पुस्तकको विषय वस्तुले तानेनन्, कतिको लेखनशैलीमा नयाँपन पाइनँ । नेपाली साहित्यवृत्तमा पुस्तकहरू धेरै प्रकाशित हुन्छ आजकाल तर बिक्री कति हुन्छ, त्यो अर्कै आर्थिक पाटो हो । पुस्तकमा लगानीले मुनाफा नदिए पनि आत्मसन्तुष्टि चाहिँ पक्कै दिन्छ, यसमा दुई मत छैन । यो निरूपणात्मक लेखमा मैले प्राप्त गरेको चार पुस्तकको सामान्य चर्चा गर्न चाहन्छु । यो समीक्षा होइन न कि समालोचना । एउटा सामान्य पाठकको प्रतिक्रियामा नै यसलाई सीमित राख्न चाहन्छु । अहिले नेपाली साहित्यको सबैभन्दा उर्वरा विधा हो कविता । किन कविता धेरै लेखिन्छ ? कुनै विस्तृत अध्ययन भए जस्तो लाग्दैन । सायद कुनै दश साहित्यकारहरूमा ६ जना त कवि नै हुन्छन् होला । कविता लेखनमा जति सहजता छ त्यतिकै गहनता पनि छ । अचेल  कविता लेखनमा पृथक्ता ल्याउन यसलाई सीमितमा बाँधेर लेख्ने प्रचलन सुरू भएको छ । त्यो भनेको बगिरहेको पानीलाई बाँध बाधेर छेके जस्तो हो । तर कुनै दिन यसको बृहत् चर्चा गरौँला ।

मैले प्राप्त गरेको चारवटा पुस्तकहरूमा दुईवटा मुलुकबाहिर भारतको असमबाट र दुईवटा नेपालभित्रैबाट छन् ।  असमका कवि रूद्र बराल एक सिद्धहस्त कवि मात्रै होइनन् आख्यानकार, समालोचक एंव अनुवादक पनि हुन् । उनको ‘कागजको नाउ’ कवितासङ्ग्रह सन् २०२२ मा प्रकाशित भएको । ४३ वटा लामा र छोटा कविताहरू समाहित उक्त पुस्तकले युगचेतनालाई बिम्ब र प्रतीकमार्फत प्रस्फुटित गरेको छ । ‘कविताको पाण्डुलिपि हराएर धुइँपत्ताल गरिरहेछु’ शीर्षकको कवितामा बरालले अन्तर्राष्ट्रिय मानव संवेदनालाई अँगालेको छ । उनी लेख्छन् –

के के थियो होला कवितामा ? वैश्विक सङ्कट कि देशको आर्तनाद ?

सोमालियाको दुर्भिक्ष कि सुडानको भोक ?

गाजापट्टी र वेस्टब्याङ्कका नसुकेको घाउ कुन बाँदरले कोट्ट्याइदिन्छ,

एउटै धर्मले किन एक पार्न सकेन अशान्त खाडीलाई ?

 ओपेकले दर घटाउँदा किन बढ्छ यहाँ तेलको भाउ

कोरोनाको खोप विदेश पुग्दा किन लाइनमा रुन्छ मेरो गाउँ ?

 यी कुराहरू थिए कि थिएनन् होला ?

 मेरो कवितामा फूलको कथा थियो कि हुलका आँसु ?

आकाश हाँस्थ्यो खित्तिती कि खेत रुन्थ्यो धुरुरु…

कल्पनाको उडान र मनको गहिराइमा अल्मलिन्थ्यो कि प्रेयसीका

बाहुपाशमा रुमलिन्थ्यो ?

यो सङ्ग्रहको शक्तिशाली कवितामध्येमा यो प्रथम श्रेणीमा पर्छ । यो कविता पढ्दा कतै अखबार पढे जस्तो पनि लाग्छ ।  यो कविता जागरूक पाठकलाई आकृष्ट गर्छ । कविको चेतना विश्वव्यापी छ, अनि यो हुनु राम्रो पनि हो । कविले नेपाली समाजलाई केन्द्रित बनाएर नेपाली बिम्ब र प्रतीकहरू प्रयोग गरी यस्तै युगबोधात्मक  कविता लेख्न जरूरी छ जस्तो लाग्छ । कवि बरालको कवितामा हरिभक्तीय लालित्य, माधुर्य र वेदना पनि पाउँछौ । ‘हामी गाँको मान्छे’ कवितामा हरिभक्तको प्रतिबिम्ब पाउँछु । कविताको मूल्य र मान्यतामा ह्रास आइरहेको बेला कवि बरालको कविताहरू निकै आशलाग्दो छ । उनका छोटा कविताहरूभन्दा लामा कविताहरूमा  अभिव्यञ्जना निकै सशक्त छ ।

यस कवितासङ्ग्रह बारेमा डा. वासुदेव पुलमी लेख्छन्, “सन् २०२०मा ‘तेस्रो आँखो’ काव्यकृतिको प्रकाशनपछि डेढ-दुई सालको अन्तरालमा कवि रुद्र बरालजीले आफ्नो दोस्रो काव्यकृति ‘कागजको नाउ’ खुबै उत्साहित भई प्रकाशनमा ल्याएका छन् । यसभित्रका कविताहरूमा कविले आजको मानिसको जटिल र विषम परिस्थितिको पोट्रेट गरेको झैँ लाग्छ । मानिसमा देखिएका अनेक क्षोभ, भय र आशङ्काहरूको रङ्गलाई कतै प्रत्यक्ष रूपमा कटाक्षसहित, कतै परोक्ष रूपमा व्यङ्ग्यसहित अभिव्यक्त गरेको पाइन्छ । आजका मान्छे मान्छेबिच उत्पन्न वैमनस्य र त्यसले सिर्जना गरेका सामाजिक, सांस्कृतिक, राजनैतिक सङ्कटहरूमा मानवीय मूल्य र दायित्वको खोजी पनि यसभित्रका कविताहरूमा प्रष्ट देख्न सकिन्छ।”

कवि बरालबाट भविष्यमा अझै राम्रा कविताहरूको अपेक्षा गर्नु अनुचित नहोला ।

पर्याकवितालाई नेपाली साहित्यको मूलधारामा ल्याउन भागीरथ प्रयास गर्ने कवि हुन असम निवासी डा. देवेन सापकोटा । साहित्यको विविध क्षेत्रमा सक्रिय रहेका कवि सापकोटाको कवितासङ्ग्रह हो – परिश्रान्त पृथिवी । नेपाल साहित्यमा पर्याचेतना पुरानो नै हो । लक्ष्मीप्रसाद देवकोटाको ‘जिन्दगीको मौसम’ र ‘नटिप्नु हेर कोपिला’ कविता यसकै दृष्टान्त हुन् । माधवप्रसाद घिमिरे, लेखनाथलगायत कैयन् कविहरूमा त्योबेला पनि पर्याचेत पाउछौँ । नेपाली साहित्यमा पर्यावरण विषयमा एक दुई जनाले विद्यावारिधि गरिसकेको जानकारी आएको छ। राजेन्द्र भण्डारीले ‘साहित्य र पर्यावरण” शीर्षकमा एउटा लेख कालेबुङबाट प्रकाशित हुने साहित्य सङ्केतमा सन् १९९० मा नै प्रकाशित गरिसेका छन् । उक्त लेखमा राजेन्द्र भण्डारी लेख्छन्, “कवि विजय मल्लका कवितामा वनप्रदूषणको यस्तो अभिव्यक्ति देखिन्छ-

किन आकाशका ताराहरू

हेर्दैनन् अहिले अनुहार आफ्नो

यस धरतीको पानीमा ?

किन नासिसस् हुदैन मोहित

आफ्नो छायाँको सौन्दर्यमा ?

नुहाउदिनन् सुनकेशरी मैया अब

यस बीसौं शताब्दीको जलमा ।

——————————

‘गुलाफको फूलमा किन अहिले

बारूदको गन्ध आउँछ ?

यस पुस्तकको भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्, “विषयवस्तु र पात्रहरू अत्यन्त सामान्य छन्, तर तिनको व्यापकता छ। आदिम ग्राम्य जीवन एकातिर छ; अर्कातिर छ साइबेरीय चेतना, रोबोटिक्स र सेन्सरहरू। एक युगपछि ब्युँझँदा देखिने चित्रको परिकल्पना छ कवितामा । जीवश्रेष्ठ जाति मानिसका अनेक रूप छन्, ‘फोहोर बटुल्ने केटोलाई सलाम’ कवितामा देखिन्छ पृथ्वी बचाउनेहरू कति निन्दित र परित्यक्त जीवन भोग्दैछन् । समाज अन्धो छ, स्वार्थी छ । यत्रो समाजलाई देवेन सापकोटाले आँखा देखाउने वैज्ञानिक प्रयत्न गरेका छन् । प्रत्येक कविता पर्यावरणीय चेतनामा समर्पित छ। प्रत्येक कविता पर्यावरण विषयक जीवका खोपीदेखि आहारा सिक्री, प्राणी वनस्पतिको अन्तर्सम्बन्ध, प्राणी वनस्पति र जलवायुको आकाश र ग्रह नक्षत्रको अन्तर्सम्बन्ध एकएक वैज्ञानिक कविताले झिल्कामा बुझाउन खोजेका छन्।”

कवि सापकोटाको पर्यावरणीय चेतना र चिन्ता विशाल छ । कविमा पर्यावरणको बृहत ज्ञान भएको उनको कवितामा प्रष्ट देख्न सकिन्छ । उनका कविता एक किसिमले पर्याविज्ञानको सानो पाठ्यपुस्तक छ ।

प्रतिसाता

एउटा एटिएमजत्रो प्लास्टिक

तिमीले खाँदैछौ भन्दा

छक्क नपर्नु है साथी

यही नै यथार्थ हो

तिमीले फालेका असङ्ख्य प्लास्टिकमा

 कुनै दबिएर बस्छन् जमिनभित्रै

भीष्मको शरशैय्यामा

 कुनै पुग्छन् समुद्रको सतहमा

चिप्लिँदै, बग्दै, लडीबडी खेल्दै नदीको बिचैविच ।

 प्रकृतिको जाँतोमा पिसिएर

कण कण माइक्रोप्लास्टिक भई

छोप्न सिन्धु तह

 निसासिएर मार्न लाखौँ जीव

 सखाप पार्न तृणहरू

बनाउन समुद्र भूमी उजाड ।

४१ वटा कविताहरू समाहित भएको यो कविता पुस्तकमा पर्यावरणको विभिन्न पाटोहरू केलाएको पाउँछौ । पर्यावरणलाई विषयवस्तु बनाएर कवितामार्फत जनचेतना ल्याउनु स्वागतयोग्य कुरा हो । तर कहिले काँही ठाडो अभिव्यक्तिले कवितालाई उपदेशात्मक पर्चाको रूपमा परिणत हुने आशङ्का बढेर जान्छ । कविले यसलाई ध्यानमा राखेरै लेखे पनि  कतै कतै उपदेशात्मकताको गन्ध आउँछ । कविताले समाजमा धेरै जागरूकता ल्याउन सक्छ । लेखनाथको पिँजडाको सुगा, सिद्धिचरणको परिचय, गोपालप्रसाद रिमालको आमाको सपना, अगमसिंह गिरीको युद्ध र योद्धा, भूपिको हामी, श्रवण मुकारुङको बिसे नगर्चीको बयान आदि कविताले नेपाली समाजमा युगान्तकारी परिवर्तन ल्याउन ठुलो सहयोग गरेका छन् । कवि सापकोटाको कविता सामान्य नेपाली पाठकलाई छुने खालको छ तर कतिपय शब्दहरूले उनीहरुलाई अन्योलमा पार्न सक्छ । कवितामा दुरूहताले पाठकलाई आकर्षण गर्न गाह्रो छ। नेपाली आमपाठक अहिले पनि उखानटुक्का जस्तो कवितामा रमाउने भएकोले उनीहरुलाई कवि बराल र सापकोटाहरूको बौद्धिक कविताहरुमा अभ्यस्त हुन समय लाग्न सक्छ । तर सरल र सरस भाषामा पनि विश्वचेतना, वेदनाको अभिव्यक्ति, मानवीय संवेदना प्रकट गर्न सकिन्छ भन्ने कुरा हरिभक्त कटुवाल र भूपि शेरचनका कविताहरू प्रष्ट पार्छ । कवि सापकोटाको पर्या-आन्दोलनले नेपाली साहित्यलाई नयाँ गति दिने आशा राख्न सक्छौ ।

हालैमा प्राप्त पुस्तक हो राधिका कल्पितद्वारा लिखित, ‘बरफका कोइलाहरू’ । कविता लेखनमा महिला हस्ताक्षरहरूको वृद्धि हुनु नेपाल साहित्यको निम्ति अत्यन्त सुखद कुरा हो । केही सीमित कवयित्रिहरूले मात्र नेपाली साहित्यमा ठूलो प्रभाव पारेको छ भन्दा अतिशयोक्ति नहोला ।  गोमा, सानुमति राई, पारिजात, वानिरा गिरीलगायत केही कवयित्रिहरूले राष्ट्रिय स्तरमा नै चर्चा र प्रशंसा पाए पनि अधिकांश कवयित्रिहरू ओझेलमा परेको छ  । नयाँ पुस्तामा धेरै उर्जाशील कवयित्रीहरू देखापरिरहेको छ भारतमा, नेपालमा अनि अन्य मुलुकमा पनि । भारतको दार्जीलिङ, सिक्किम, असममा हप्तैपिच्छे कवयित्रीहरूको कवितासङ्ग्रह विमोचनको समाचार पढ्दा आनन्द लागेर आउँछ । महिला र पुरुषले भोग्ने धेरैजसो समस्या प्रायः एउटै भए पनि अनुभूति फरक फरक हुन्छ । विशेषगरी नेपाली महिलाहरू अहिले पनि पुरुष जस्तो स्वतन्त्र छैनन् । लैङ्गिक विभेदको शिकारमा छन् उनीहरू । यसैले उनीहरूको कवितामा मुक्ति आवाज हुन्छ, असीम पिढाका कुरा हुन्छ, सामाजिक कुरीतिको विरुद्ध लडाइँ हुन्छ । यही कुराले महिला र पुरुषको कवितामा फरक ल्याउँछ । अनि राधिका कल्पित पनि यो कुराबाट अछुतो रहन सक्दैन । काठमाडौँलाई कर्म थलो बनाएर शिक्षण पेसा र कविता कर्ममा तल्लीन कवयित्री कल्पित आशलाग्दो प्रतिनिधि पात्र हुन् ।

उनको ‘मेरो सहरमा एउटा यस्तो मान्छे छ’ कविताले मलाई कता कता भूपि शेरचनको ‘मेरो चोक’ कविताको याद दिलाउँछ-

मेरो यो सहरमा एउटा यस्तो मान्छे छ

 जो लगाएर विभूति र गेरूवस्त्र

बोकेर चन्दन, अक्षता र फूलको झोली

हानिन्छ एकाबिहानै पशुपतितिर

 फलैचामा बसेर फलाकिरहन्छ

शास्त्रका नबुझिने श्लोक

ग्रहदशा र भाग्यरेखा हेर्ने निहुँमा

मुसारिरहन्छ युवतीका नरम हत्केला

अनि हेरेर टुँडालहरूमा रतिक्रिया

बाफिंदै ओर्लन्छ गौरीघाटतिर

र नाङ्गो लास हेर्दै

गर्छ हस्तमैथुन

 पोलेको मासुको गन्धको लामो सास तान्दै

 उक्लन्छ गौशालाको महम्मद महसुरको होटल

 दन्काउँछ बिफ बिरयानी र फर्कन्छ कोठामा ।

मानिसको बहुरूपीपनलाई कवयित्री कल्पितले व्यङ्गात्मक रूप चित्रण गरेका छ, यस कवितामा । हुन त मान्छेहरू काठमाडौँमा बाँच्नलाई अनेकथरी गर्न बाध्य छ । कवयित्री कल्पितको कवितामा पनि महिलाको पिडाले बाहुल्यता पाएको छ, पाउनु स्वाभाविक पनि हो । जीवनको विभिन्न आयामहरूलाई राधिकाले कवितामार्फत् अभिव्यक्त गरेका छन् – चाहे त्यो मृत्यु होस् या जन्म । अरू कवयित्रीहरूको कवितामा जस्तो राधिकाको कविता पनि कतै कतै जीवनको निस्सारता प्रकट हुन्छ । सङ्ग्रहको भूमिकामा हरि अधिकारी लेख्छन्, “राधिका आफ्नो अन्तर्दृष्टिको राडारमा आएका कुराहरूलाई बढी उजागर गरे र विभिन्न वस्तु तथा स्थितिमाथिको आफ्नो विमर्शलाई अझ बलियोसँग राख्ने कवितालाई पुनरूक्ति दोषको घेराभित्र पुन्याउने गरी तन्काउने गर्छिन् जुन कविताको संरचनागत वैशिष्ठ्यका दृष्टिले हेर्दा सामर्थ्यको विषय नभएर एउटा कमजोरी नै हाे । उनका कतिपय कविताको विषय पनि अतिसामान्य अथवा धेरै नै प्रचलित (अङ्ग्रेजीमा क्लिसे) हुने गरेको देखिन्छ । त्यस्ता क्लिसे विषयमाथि लेखिएका नै पनि दुई वा तीनश्या बढी कविताहरू सङ्ग्रहमा समेटिएको देखिनुले यसको सम्पादनमा आवश्यक साम्यमता अपनाउन नसकिएको कुरालाई पुष्टि गरेको छ भन्न सकिन्छ । राधिकाका कविताहरू कविको राजनीतिक पक्षधरता सुप्रष्टताका साथ प्रकाशमा आएको छ जुन कविको वैचारिक दृढताको परिचायक हो । उनका कतिपय कविताहरूमा उनको नारीवादी सोच पनि उजागर भएको छ । तर त्यस्ता राजनीतिक र नारीवादी कविताहरू काव्यिक साहित्यका कसीमा भने त्यति धेरै प्रशंसा निम्त्याउन सक्ने खालका नहुनु चिन्ताको विषय हो ।”

हरि अधिकारीले भनेझैँ कतिपय कविताहरू विशेष दृष्टिले निर्देशित भएकोले यसले कविताको काव्यिक गुणलाई ओझेलमा पारेको देखिन्छ । कवितामा बिम्बहरू प्रयोग गर्ने ठाउँहरू प्रशस्त देखिएका छन् । बिम्ब र प्रतीक भनेको कविताको गहना हो । यसले धेरै शब्दमा भन्ने कुरालाई एक शब्दमा वर्णन गर्न सक्ने क्षमता राख्छ । राधिकाको आगामी कविताहरूमा अझै निक्खरता र तिक्खरता आउने विश्वस्त छु ।

रोजीरोटीको सिलसिलामा इजरायल  पुगेकी सुनिता राई कन्दङ्वाको ‘एक जुवा घाम’ कवितासङ्ग्रहसँग उनको नवीनतम कथासङ्ग्रह ‘तउरी’ प्राप्त गरे । विश्व नेपाली साहित्य महासङ्घमा निकै सक्रिय भूमिका खेलिरहेकी सुनिता नेपाली साहित्य भनेपछि हुरूकै हुनेमध्येमा एक हुन् । उनको काव्य प्रवृतिमाथि डा. गोविन्दराज भट्टराईले भूमिकामा लेखेका हरपहरू यँहा साभार गर्न उपयुक्त हुन्छ । डा. भट्टराई लेख्छन्, “एक जुवा घाम शीर्षक कविता यसमा प्रयुक्त उपमा र बिम्बहरू साँच्चै लोभलाग्दा लेकाली फूल बसाउने छन् । जन्मभूमिको जलवायुले सुनितालाई सिकाएका कलाबिम्ब छन्- एक जुवा घाम, खकन, तोक्मा, टेकन, थाप्लो, मैले पनि मनमा लुकाइरहेका स्मृतिबिम्ब हुन् । यस्ता प्रयोग गरेर उनी जीवनयात्राको निरन्तरता त्यसका यावत् कविता अथवा विश्रामको लक्षतिर सङ्केत गर्दछिन् –

जिन्दगीको दहमा पौडिरहेको रहेछु

तिता मिठा भोगाइका अध्यायहरू कति लामा

धुरीको पुरानि डाँडाभाटा जस्तै मनोदशा

नबोलेरै सबै बयान गरिरहेको

सुनिताको कवितामा गाँउघरको माटोको सुगन्धदेखि देश दुखेको पिढाको आभास पाइन्छ । इजराइलमा एक दशक लामो प्रवासी जीवन बिताइरहेकी भए पनि सुनिताको कविताहरूमा आफ्नै गाँउको कथा छ, मान्छेको व्यथा छ । सामाजिक विसङ्गतिलाई तिखो व्यङ्ग उनको कविताको विशेषता हो । रूमानी भावका कविताहरू कमै छन् यो सङ्ग्रहमा । कतै कतै निराशापन छन् भने कतै समाज र देशलाई केही गर्नु पर्छ भन्ने भावका कविताहरू पढ्न पाइन्छ ।  नारी कवयित्रिहरुले प्रायः नछुटाउने नारीको वेदनाको व्यथाबाट सुनिता पनि अछुतो रहन सकेन ।

‘यो समाज’ कवितामा उनी लेख्छिन् –

छोरी मान्छे भएर

ठूलो स्वरले बोल्नुहुन्न

 बिस्तारै विनम्र भएर बोल्नुपर्छ

हिँड्दा बिरालाको चालमा हिँड्नुपर्छ

हाँस्दा खित्का छोडेर हाँस्नुहुन्न

कसैसँग नजर जुधाउनु हुँदैन

शिर उठाएर हेर्नुहुन्न

छोरी हुनुमा शङ्कोच लाग्ने

यस्तै उपदेश सुनेर

बित्यो त्यो बाल्यकाल

सत्य कल्पदै छु म

छोरी भर जन्मनु के अभिशाप हो ?

नभए एउटी छोरी र नारीमाथि

किन यति धेरै बार र बन्देजहरू ?

नारी नै नहुँदा कस्तो हुँदो हो

एक पिता पुत्र प्राप्तिका निम्ति

जब पत्नीमाथि अमानवीय व्यवहार गर्छ

 त्यतिखेर उसलाई भन्न मन लाग्छ

तिमी एकपटक नारी भएर बाँची त हेर ।

प्रसिद्ध साहित्यकार पारिजातले चालीस वर्षअगाडि मलाई दिएको एउटा अन्तर्वार्तामा नेपाली साहित्यकारहरूमा अध्ययनको कमी छ भन्नुभएको कुराले मलाई सधैँ पनि झकझकाइरहेको छ । हामी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुराउने कुरा गर्छौँ तर अन्तर्राष्ट्रिय स्तरका साहित्य कस्तो छ, ती साहित्यहरुमा कस्तो प्रयोगधर्मिता अपनाइरहेको छ, विषयवस्तुको चयन कसरी गरिरहेको छ, शैलीमा कसरी नयाँपन भित्राइरहेको छ भन्ने विषयमा प्रायजसो अनभिज्ञ  छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्युशैय्यामा एक जना बाइस वर्षको भारतीय अङ्ग्रेजी कवि डोम मोरेसको कविता सुनेर भनेका थिए मेरो कविता साह्रै भौतिकवादी र तकनिकी छ, तपाईँको निकै रोमान्टिक छ । देवकोटाले उनका छोराभन्दा सानो उमेरको कविलाई पढिसकेको रहेछ त्यसबखत । हाम्रा साहित्यकारहरूले पनि अरू भाषामा लेखिएको साहित्यको अध्ययन गर्नु आवश्यक छ । विगतमा देवकोटा, सम, शङ्कर लामिछाने, रमेश विकल, लैनसिंह बाङ्गदेललाई चोरीको आरोप लगाए पनि उनीहरूमा विश्व साहित्यको अध्ययन देखिएको थियो जसले गर्दा उनीहरूको लेखनमा गतिशीलता र नयाँ पनि देखिए । उनीहरूको बृहत् अध्ययनले नेपाली साहित्य लाभान्वित भए ।

विभिन्न भूगोलमा बसेर सिर्जना गरिएको कविताहरूको आफ्नै महत्त्व छ । कोही कविता उत्कृष्ट होलान्, कोही सामान्य – सिर्जना सबै एकैखाले हुँदैन, खोज्नु मूर्खता हो । कवि रूद्र बरालका कवितामा अन्तर्राष्ट्रिय चेत छ भने देवेन सापकोटाकामा पर्या-सचेतना । राधिका कवितामा मानवीय समवेदना छ भने सुनिताकामा माटोको गन्ध । यी कवितासङ्ग्रहहरू नेपाली साहित्यमा कोशेढुङ्गा साबित हुन नसके पनि साहित्यलाई केहीहदसम्म धनी बनाएको छ । विशेष गरी महिला साहित्यकारहरुले पुरूषहरूसँग प्रतिस्पर्धामा आउने हो भने आफ्नो क्षितिज फराकिलो बनाउन जरूरी छ । आफ्नो ‘कमफट जोन’बाट बाहिर निस्केर विविध विषयमा कलम चलाउन पर्छ । सधैँभरि नारीलाई मात्रै केन्द्रबिन्दु नबनाएर समसामायिक विषयवस्तुलाई प्राथमिकता दिनु आवश्यक छ ।

सबैको सिर्जनाशीलता उर्वर रहोस्, हार्दिक शुभकामना ।