शशी भट्टराई श्रेष्ठ साहित्यिक जगत्मा आफ्नो नाम स्थापित गर्न सफल भइसकेको सर्जकको नाम हो जसको कलम निरन्तर चलिरहेको छ कहिले कविता लेखनमा त कहिले समालोचनामा । समालोचकको रुपमा उहाँले कथा, कविता, निबन्ध, मुक्तक, गीतीसंग्रह, यात्रा संस्मरण, नियात्राजस्ता विभिन्न विधाका उत्कृष्ट कृतिहरुमा कलम चलाइसक्नु भएको छ ।

एउटा गायकले त प्रत्यक्ष अगाडि प्रस्तुति दिएर आवाजको धुनमा दर्शकलाई नचाउँछ तर उहाँको लेखाइमा नै त्यो दम छ कि गायकले यसरी नचाउँदै थियो, दर्शकलाई भनेर लेख्नु भएको छ भने त्यो लेखले नै पाठकलाई नचाउँछ । यस्तै अनुभूति भएको थियो मलाई उहाँले ‘लोकगीत अर्थात अग्र्यानिक ओखती’ भन्ने शीर्षकमा लेख्नुभएको समीक्षा पढ्दा । उहाँले गरेको वणर्नले यसरी तान्छ कि पाठक एकचोटी त्यसको गहिराइमा डुबेरै निस्कन्छ ।
प्रायः जसो कवितामा उद्देश्य गौण रहन्छ र अन्त्यतिर कुनै रहस्य खुलेको जस्तै खुल्छ जो कटुसत्य हुन्छ, मार्मिक हुन्छ, तार्किक हुन्छ । त्यसैले मलाई भन्न मन लाग्छ ,

ग्रह र नक्षत्र आकाशमा सारा
शशीको आफ्नै ज्योति र पारा ।

उहाँको कवितासंग्रह ‘निर्मल तलाउमा तरङ्ग’ मलाई प्राप्तभएको छ , म यिनै तरंगहरुमा हराइरहेको छु , यिनैसँग तरंगित भइरहेको छु । तलाउको पानीमा इन्द्रेणीका रंगहरु प्रतिबम्बित भएझंै यी कविताहरुमा जीवनका सबै रंगहरु प्रतिबिम्बित भएका पाइरहेको छु् । प्रत्येक कविताले छुट्टै भाव बोकेका छन् , कतै आमा नहुनुको रिक्तता छ , कसैका लागि जीवनभरि खटिएर सुख चैन नपाएपछि आफ्नै लागि बाँच्ने इच्छा हुन्छ भन्ने छ, अभावले खेप्नु परेको सास्ती छ, सभ्यताको इतिहास छ, चिन्तन छ , विभिन्न किसिमका विकृतिहरु सम्झँदै गर्दा अर्धचेतनमनले देखेको भयानक सपना छ , विभिन्न खाले विभेदको चित्रण छ, आक्रोश छ , देशको चिन्ता छ, समाजको दृष्टिकोण छ , जीवनदर्शन छ । ३५ वटा कविताहरुको यस संग्रहमा एक कविता एक गहन अर्थले भरिएका छन्, आफँैमा पूणर् छन् र पाठकलाई साहित्य रसमा चुर्लुम्म डुबाउन सफल छन् ।

तिम्रो कविता यस्तो होस्
नारी र पुरुषको ट्याग नलगाई
स्वच्छन्द उडेका चराहरु जस्तै
विचलित मनलाई शब्दले स्पर्श गर्दै
उडोस् मन्दमन्द पवनसँगै ।
(तिम्रो कविता यस्तो होस् )

कविले बगरको छेउमा गिट्टी कुट्ने एउटा कान्छाको मनोविज्ञानलाई यसरी प्रष्ट्याउनु भएको छ ।

कहिले ,
भ्रष्टाचार सबै निर्मुल पार्छु भन्छ ,
कहिले ,
मजदुर र मालिकको
पिउने पानी र भातका सिताहरु
एउटै बनाउछु भन्छ ।
कहिले फेरि ,
यो लेक मैन भएको मानवता र विश्वास
चिहानतिर गइखोज्छु भन्छ ।
(कान्छाको योजना )

सुमन

यहाँ यस्ता धेरै कान्छाहरुको जीवन यस्तै छ । भ्रष्टाचार गर्नेहरु सुख शैलमा रमाइरहेका छन् , गरीबहरु निकृष्ट जीवन जीउन बाध्य छन् । धनी र गरीब बिचको गहिरो खाडलले विद्रोह जगाइरहेको छ । अब मानवता र विश्वास चिहानमा गइखोज्नु पर्ने भएको छ ।

हाम्रो देशमा गरिबीको पराकाष्ठ बेहोरेर बाँचिरहेका मानिसहरु थुप्रै छन्, त्यसमाथि पनि देशको भौगोलिक विकटताले गर्दा मर्नु र बाँच्नुको दोसाँधमा रहेर काम गर्नु पर्ने बाध्यता धेरैको छ । यसको प्रत्यक्ष चित्रण तलको कवितांशले गरेको छ ।

बिरामी छोराको दबाइ खर्च जुटाउन
तुइनको लठ्ठामा झुन्डिएर ,
साहुको नुन बोकी ,
तमोर खोला काट्नै लाग्दा
तिम्रो जीणर् शरीर ,झ्वाम्म खोलामा
नुनको ढाकरसँगै बिलायो ,
प्रत्यक्षदर्शी म ।
( साहुको ऋण )

प्रेम विभिन्न रूप र भावमा छचल्किन्छ – आमाबुबासँगको प्रेम, सन्तानसँगको प्रेम, प्रेमीसँगको प्रेम । आमा भन्ने शब्दमा अथाह प्रेमको सागर उर्लेर आउँछ किनकि आमाले अनगिन्ती त्याग गरेकी हुन्छिन् । तिनै आमाले आफूलाई सधैँका निम्ति छोडेर जाँदा जीवनले सुर, लय र ताल बिग्रिन्छ, जीवनमा अँध्यारो लाग्छ ।

त्यो रात हाम्रो कथा अधुरै राखेर
तिमी अनन्त यात्रामा निक्लेपछि
लाग्छ ,आजसम्म उज्यालो भएकै छैन ।
तिमीले छोडेर गएपछि ,
मेरा सबै कथाहरु टुक्रिए
ताल र लयहरु बिग्रिए ।
आज उप्रान्त सायदै म केही लेख्न सक्छु होला ।
(म कसरी लेख्न सक्छु तिम्रो कविता )

आफन्तको मृत्युको शोकले विह्वल बनाएको बेला कविले बुद्धकै सहारा लिएको देखिन्छ । यसको कारण बुद्ध शान्तिको द्योतक भएर हो वा कविको आस्था बुद्धमा रहेर हो, जे भए पनि त्यो शक्तिले सधैं बाटो देखाइरहोस् ।

एउटा रिमझिमे साँझले
तिमी नरहेको खबर
आकाश पाताल छेड्दै
मसम्म लिएर आयो
पर गुम्बाको उज्यालोमा
लुड्दरको फरफर आवाजसँगै
ओम् मणि पद्मे हूँ मन्त्र गुन्जिरहेको छ ।
मृत्यु सत्य हो ।
(सम्सरा)

केही कविताहरुले देशको वर्तमान स्वार्थपूणर् राजनीति र फितलो कानूनमाथि चोटिलो प्रहार गरेका छन् ।

मिचिएका साँध-सिमाना
उखेलिएका जंगे पिलरहरु ,
लडाइएका शालिकहरु ,
बेचिएका खोलाहरु,
यी सबैको सम्झनाले मलाई दुख्छ ।
तिम्रो भागबण्डा र लुछाचुँडी देख्दा
मेरो देश दुख्छ ।
(मलाई दुख्छ)
नाङ्लोमा खैनी र सुपारी किनेझँै
कति सजिलो रहेछ यहाँ
हत्यारालाई आफ्नो बाँकी जिन्दगी किन्न ।
त्यसैले त
पैसा र पावरसँग
जीवनको किनबेच हुन्छ यहाँ ।
(कठै नेपाली कानून )

त्यसै गरी केही कविताहरुले कोरोनाकालको आतंक र भयलाई सम्झाएका छन् । कोरोनाले संक्रमित मान्छेहरु जनावरसरि क्वारेन्टाइनमा थुनिएका हुन्थे । संक्रमण नभएकाहरु सर्ला भन्ने त्रासले घरमा छुट्टै थुनिएका हुन्थे । केवल बाँच्नको लागि बन्दीजीवन रोज्नु परेको थियो, मान्छेका सबै घमण्डले घुँडा टेकेको थियो ।

मृत्युलाई जित्न मान्छे
घरभित्रको बन्दीजीवन बाँचिरहेछ ,
अल्जाइमरले ग्रस्त बिरामीझंै
अहिले ऊ शून्य छ ।
दम्भले भरिएका हुँकारहरु
मृत्युको छायाँसँगै बिलिन हँुदैछन् ।
(अन्तिम क्यान्भास )

नारी र पुरुषबीच देखिएको भिन्नता र नारी अस्मिताको असुरक्षालाई लिएर पनि केही कविताहरु लेखिएका छन् । हाम्रो समाजको सामाजिक संरचना नै यस्तो छ जहाँ नारी जति सक्षम भए तापनि पुरुषको मायाले घेरिएर होस् वा उसको सुरक्षाको दृष्टिकोणले होस्, नारी सधँै पुरुषत्वको पर्खालभित्रै रहन्छे ।

एउटा ,
निश्चल र अबोध प्राणमा उसले
रुप रंग र आकार भरिदियो
एकदिन, बिस्तारै
त्यो भिल्लले मेरो जीवनमा
पर्खाल लगायो ,
पुरुषत्वको पर्खाल ।
(नारी र पुरुष)
ती मान्छे मान्छेको भिडमा
म पुग्न बाध्य भएँ ।
उनीहरु मलाई सम्झाउँदै थिए,
मृत्यु समस्याको समाधान होइन ,
म आफँैलाई सम्झाउँदै थिए ,
नारी स्वतन्त्र थिइन
छैन
र ,कहिल्यै हुन्न ।
(खोलासँगको त्यो एक रात)

जीवन यस्तै मिठा नमिठा सत्यहरुको संगालो हो, जीवन बित्दै जान्छ, अनुभवहरु संगालिँदै जान्छन् । जीवनले थुप्रै उकाली ओरालीहरु पार गर्नुपर्छ । देखेका सपनाहरु तुहिन सक्छन् , फेरि नयाँ सपनाहरु लिएर उठ्नुपर्छ , जसरी फेरि पलाउँदै जान्छन् सुकेका सुनगाभाहरु ।

जिन्दगी यस्तै यस्तै हो ,
आकाशको रंग फेरिएसरि
फेरिइरहन्छ जिन्दगीको रंग ,
उदाउँदै अस्ताउँदै गर्छन् अनेक सुइनाहरु
मर्दै पलाउँदै गर्छन् थुप्रै सुनगाभाहरु ।
(सुइना)

क्यान्भासको चित्रमा चित्रकारले रंग भरेसरि शब्दशब्दमा भाव र मिठास भर्दै यी बेजोड कविताहरु रच्न सफल कवि दिदी शशी भट्टराई श्रेष्ठज्युको काव्यिक यात्राले सफलताको शिखर चुमोस् भन्ने कामना गर्दछु । साथै यो कलिलै उमेरमा आमाको किताबमा यति उत्कृष्ट भूमिका लेखेर आफ्नो साहित्यिक दक्षता प्रमाणित गर्न सफल बहिनी सिन्धियाको यो प्रखरताले निरन्तरता पाओस्, उनको विधाको अंकहरुको जोड-घटाउ र उनको हृदयमा मच्चिने भावनाको पिङ दुवै सँगसँगै चलिरहन सकोस् । शुभकामना ।