साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आकाशकाे उडाइ धर्तीको डुलाइ

नियात्राकार गीता खत्रीलाई जापान भ्रमणको मौका जुरेको छ । उनी त्यहाँ पुगेपछि भावुक बनेकी छिन् । जापानको इतिहास, संस्कृति, सभ्यता, शान्ति—सुरक्षा, विकास, रेलसेवा, पुरातत्त्विक दरबार आदिको चिनारीसँगै हिरोसिमा र नागासाकीसम्म पाठकलाई डुलाउन सफल भएकी छिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र (अनेसास) एवं बोर्ड अफ ट्रष्टीमार्फत आफ्नो साहित्यिक गतिविधि गर्ने साहित्यकार गीता खत्रीले विभिन्न विधामा कलम चलाई नेपाली भाषासाहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ । डायस्पोरामा बसेर नेपाली साहित्य सेवामा निरन्तर लागिरहने खत्रीले वि.सं. २०७८ मा ‘उडेको आकाशः डुलेको धर्ती’ नामक नियात्रासङ्ग्रह प्रकाशन गराएकी छिन्, रत्न पुस्तक भण्डारमार्फत । विविध विधामा कलम चलाई सिर्जनक्षमता प्रस्तुत गर्न सक्ने खत्रीका गीत—गजल, कविता, नियात्रा, खण्डकाव्य, कथाका कृतिहरू प्रकाशित भइसकेका छन् । नेपाली साहित्यिक क्षेत्रमा अनेसासमार्फत प्रसिद्धितर्फ अघि बढिरहेकी गीता खत्री जहाँ पुग्छिन् त्यस ठाउँको प्लट बटुल्छिन् । त्यही प्लटलाई बुनेर एक गतिलो साहित्यिक कृति तयार गर्छिन् । कवि हृदय स्वभावकी खत्री आफ्ना भावनाहरूलाई भ्रमणमा मात्र सिमित नगरी त्यसलाई लिपिबद्ध गर्छिन् । र, विधागत कृतिहरु नेपाली साहित्यको भण्डारलाई उपहार दिन्छिन् । यायावर बन्दै जनजीवनको अध्ययन, चिन्तन, मननमा एकोहोरिने खत्रीका गीति एल्बम, पुस्तकाकार कृतिहरु एवं सम्पादित पुस्तकहरुले उनी एक सक्रिय साहित्यकार भएको पुष्टि गर्छ । अनेसासमार्फत नेपाली साहित्यको प्रवद्र्धन कार्य पनि तारिफयोग्य छ ।

सन् २०१५/१६ मा नियात्राकार गीता खत्रीले जापान, क्यालिफोर्निया, लस भेगास, मेक्सिको एवं अफ्रिकाको भ्रमण गरेकी छिन् । कवि मन न हो ! कल्पना, भावनामा डुब्नु उनको स्वभाव हुन्छ । कवि हृदय स्वभावकी गीता खत्रीले आफ्ना सम्पूर्ण भ्रमणका अनुभूतिलाई दिमागको डायरीमा टिप्छिन्, प्लट बनाउँछिन् । र, त्यही प्लटलाई बुनेर विभिन्न शीर्षकमा नियात्रा लेख्छिन् । त्यही ५० नियात्राहरुको सङ्ग्रह बन्छ ‘उडेको आकाशः डुलेको धर्ती’ । भ्रमणलाई जीवन्त पार्छिन् । सार्थक बनाउँछिन् । गैरसाहित्यिक व्यक्तिले दिमागको डायरीमा परिवेश र अनुभूति टिप्न सक्दैनन् । तर साहित्यकार गीता खत्रीले एक पुस्तकाकार कृति नै नेपाली साहित्यको भण्डारमा उपलब्ध गराएकी छिन् । जुन स्रष्टा यायावरीय वृत्ति अपनाउँदै देश परदेशको भ्रमण गर्छ उसको विशिष्ट सिर्जनक्षमता हुन्छ भन्ने कुराको उदाहरण बन्न खोजेकी छिन् नियात्राकार । जे होस्, खत्रीले सामान्य भाषामार्फत आफ्नो लेखकीय क्षमता प्रकट गरे्की छिन् ।

bahulako diary small and inside post

करिब दुई दशकदेखि संयुक्त राज्य अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै परिवारसँग रमाउँदै साहित्यिक गतिविधिमा सक्रिय हुँदै साहित्य लेखनमा एकोहोरिने गीता खत्रीको ‘उडेको आकाशः डुलेको धर्ती’ नियात्रासङ्ग्रहभित्र छोटा मझौला खाले नियात्राहरु समेटिएका छन् । उक्त ५० नियात्राहरु पढिसकेपछि जापान, अमेरिका, मेक्सिको र अफ्रिका गरी चार खण्डमा अध्ययन गर्न सकिन्छ । यो स्तम्भकारको उद्देश्य कृतिको परिचयात्मक टिप्पणीमात्र गर्ने रहेको छ । यस कृतिका बारे गम्भीर अध्ययन चाहिँ शोधार्थीले गरून् । गम्भीर समालोचना अग्रज समालोचकले गरून् ।

विमल अधिकारी

नियात्राकार गीता खत्रीलाई जापान भ्रमणको मौका जुरेको छ । उनी त्यहाँ पुगेपछि भावुक बनेकी छिन् । जापानको इतिहास, संस्कृति, सभ्यता, शान्ति—सुरक्षा, विकास, रेलसेवा, पुरातत्त्विक दरबार आदिको चिनारीसँगै हिरोसिमा र नागासाकीसम्म पाठकलाई डुलाउन सफल भएकी छिन् । गुम्बा, धर्म—परम्परा जनजीवन एवं रेलयात्राका रोचक पक्ष पनि नियात्रामार्फत देखाएकी छिन् । जापानको विकास समृद्धि र संस्कृतिलाई हेरेर नेपाललाई पटकपटक सम्झिएकी छिन् । कौतुहल र रोचकता नियात्रामा थपिएको छ । जापानको भ्रमणको क्रममा टेम्पल नामक एक रेष्टुरेण्ट छिरेपछि सम्पूर्ण नेपालको झाँकी देख्दा नियात्राकार छक्क पर्छिन् । यसले पाठकलाई रोचकता थपेको छ । यस्ता कतिपय रोचक पक्ष र रेलयात्राका अनुभव सुनाउँदा पाठक झनै कौतुहल मान्छन् । अचम्म र रोचक मान्छन् । जापान खण्डमार्फत पनि नियात्राकार गीता खत्री आफूलाई एक देशभक्त राष्ट्रवादी एवं विकासप्रेमी स्रष्टा भएको पुष्टि गर्न खोज्छिन् ।

नियात्राकार जापान भ्रमणपछि क्यालिफोर्निया पुगेकी छिन् । क्यालिफोर्नियाको भौगोलिक अवस्थाको वणर्न गर्छिन् । त्यहाँको मुख्यमुख्य पर्यटकीय स्थलमा पुग्छिन् । पुल पहाड, समुद्री तट आदिको दृश्यमा रमाउँछिन् । एक से एक तस्वीरलाई आफ्नो क्यामेरामा कैद गर्छिन् । सहासिक यात्रा गर्छिन् । पर्यटकीय स्थलहरुको भ्रमणले नियात्राकारको टोलीमात्र होइन पाठक पनि रोमाञ्चित बन्छन् । भूगोल एवं प्रकृतिचित्रण यो खण्डको विशेषता हो । भौगोलिक अवस्थितिले पाठकलाई अत्यास लाग्छ । भ्रमण टोली सहासिक पर्यटकीय यात्रामा रमाएको देखिन्छ । क्यालिफोर्नियाका त्यस्ता पर्यटकीय स्थलको भ्रमण नगरेका सम्भावित पाठकलाई समेत त्यहाँको अनुभूति दिलाएकी छिन् । पाठक आफू नियात्राकारसँग डुलेको महसुस गर्छन् । समुद्री तटको अनुभूतिलगायत अग्लाअग्ला पहाडको अनुभूति यस अध्यायका रोचक पक्ष हुन् ।

अमेरिकाकै चर्चित पर्यटकीय स्थल लस भेगास हो । जुवा तथा क्यासिनोका लागि प्रसिद्ध छ उक्त ठाउँ । नियात्राकारको टोली त्यहाँ पुगेको छ । लस भेगासको झिलिमिली रमझम एवं रङ्गीन दुनियाँ देखेर नियात्राकार छक्क परेकी छिन् । दिनरात जुवामा रम्ने भेगासको रङ्गीन दुनियाँ पाठकलाई समेत देखाउन सफल भएकी छिन् गीता खत्री । आफ्नो टोली पनि छक्क परेको छ । लस भेगास क्यासिनो गेमका लागि विश्व प्रसिद्ध छ । पर्यटकीय गन्तव्य र देशको आयस्रोत देखेर नियात्राकार छक्क परेकी छिन् । अमेरिका बसेर पनि लस भेगास नपुगेकाहरुलाई लस भेगासको संक्षिप्त चिनारी दिन सफल भएकी छिन् ।

सम्बन्धित पोस्टहरु

नियात्राकार टोली लस भेगासको भ्रमणपछि मेक्सिको पुगेको छ । त्यहाँ भोगेका तीतामीठा अनुभूतिलाई राम्ररी उतारेकी छिन् मेक्सिको खण्डका नियात्रामार्फत । ट्याक्सी तथा बसवालाहरुको दलालीपनले नियात्राकार टोली दिक्क बनेको छ । ट्क्यासीवालाले सहरभरि ड्राइभ गरेर घुमाउँदा नियात्राकार छक्क पर्छिन् । जहाँतहीँ बार्गेनिङ भएको देख्दा नियात्राकारको मन कुँडिएको छ । मेक्सिकोको एक समुद्री तटमा नियात्राकार टोली (वृद्ध—वृद्धासहित)लाइभ ज्याकेट लगाएर समुद्रमा पौडिएको प्रसङ्ग रोचक लाग्छ । आफ्नो जेठो छोराको रसियन आमाबुबाकी छोरीसँग मेक्सिकोको समुद्री तट कोजुमेलमा बालुवामाथि विवाह सम्पन्न भएको परिवेश पनि कम्ताको रोचक छैन । पाठक नियात्राकार दुबैलाई उक्त घटना परिवेशले नौलो र अनौठो कुराको अनुभूति दिलाउँछ । छोराको बिहे अन्तर्राष्ट्रिय तथा आफ्नो चलनअनुसार दुई पटक भएकोमा नियात्राकार स्वयम् नौलो कुराको अनुभूत गर्छिन् । बालुवामाथि भएको वैवाहिक समारोह, परिवेश तथा सजावट व्यवस्थापन शान्तपन देख्दा स्रष्टा खत्री मात्र होइन पाठक र समीक्षकसमेत छक्क पर्छन् । देशगुनाको भेष भनेको यही हो भन्ने हुन्छ । सबैले स्वनिणर्य गर्न सक्छन्, आत्मनिर्भर हुन सक्छन् । नेपाल र विदेशको चालचलन तुलना गर्छिन् । अहिलेको युग उत्तरआधुनिक युग हो । चलनअनुसार चल्नु पर्ने ठान्छिन् । तनाव लिएर जीवनमा केही नहुने महसुस गर्छिन् । यो अध्याय पनि रोचकरोचक प्रसङ्गले भरिएको छ । पाठकलाई निकै रोचक लाग्छ । यही लेखकको खुबी मानिन्छ नियात्रामा । नियात्राको एक विशेषता रोचकता पनि हो । यसमा नियात्राकार सफल छिन् ।

सन् २०१६ मा नियात्राकारलाई अफ्रिकी देश केन्याको भ्रमण जुरेको छ । हवाइजहाजको लामो यात्रापछि उनी त्यहाँ पुगेकी छिन् । केन्या पुगेर जङ्गल सफारी र प्रकृतिमा पाइने विभिन्न जङ्गली जनावरहरुसँग रमाएकी छिन् । नैरोबी पनि पुगेकी छिन् उनी । त्यहाँको सामाजिक जनजीवन, भौगोलिक अवस्थिति, परिवेश देखेर नौलो अनुभूति गरेकी छिन् । आफन्तको आतिथ्य सत्कारले उनी फुरुङ्ग भएकी छिन् । मसाइमारा राष्ट्रिय निकुञ्ज, घना जङ्गली परिवेशमा भ्रमण टोली रमाएको छ । नियात्राकार रमाएकी छिन्, आनन्दित भएकी छिन् । अफ्रिका महादेशमा देखिएका घर परिवेश आदि देखेर नेपाल सम्झेकी छिन् । प्रकृति पशुपन्छीसँग खेल्दै रमाउन खोजेकी छिन् । उक्त स्थानका हाटबजार माछा रेष्टुरेण्ट, रुखमा झुन्डिएका रेष्टुरेण्ट देखेर छक्क परेकी छिन् । जङ्गली जनावर बाँदर गोही अष्ट्रिच, जिराफ आदिसँग बसेर फोटो खिचाएकी छिन् । ईश्वरको सृष्टि सुन्दर अनुहारलाई सबैले माया गर्दा रहेछन् तर बँदेललाई किन माया नगरिएको होला भन्दै कल्पना गर्छिन् । प्रकृतिका रचना सबै बराबर हुन्, सबैलाई उत्तिकै सम्मान र माया गर्नुपर्छ भन्दै बँदेलको पनि फोटो आफ्नो क्यामरामा कैद गर्छिन् । प्रकृति, पशुपन्छी आदिलाई औधी प्यार गर्ने खाले स्रष्टा हुँ भनी आफ्नो परिचय दिन खोज्छिन् नियात्राकार । मसाइमारा राष्ट्रिय निकुञ्जमा कालको मुख (तीनवटा चितुवा)बाट जोगिएको प्रसङ्ग र भ्रमण टोलीका एक सदस्यको वालेट हराउँदाको मनोविज्ञान रोचक लाग्छ । राष्ट्रिय निकुञ्जको वणर्न निकै रोचक लाग्छ । एक से एक पशुपन्छीसँग तस्वीर खिचाएर नियात्राकारले अफ्रिकी महादेशको यात्रालाई रोचक बनाएकी छिन्, यादगार बनाएकी छिन् । प्रत्येक घटना परिवेश रोचक, नौला र अनौठा लाग्छन् । यो लेखकीय विशेषता हो । आफूसँगसँगै पाठकलाई समेत डुलाउन सक्नु क्षमता हो । यसमा उनी सफल छिन् । प्रत्येक घटना परिवेशका मुख्य तस्वीर राखिदिएर पाठकलाई सिनेमाझैँ छर्लङ्ग पारिदिएकी छिन् ।

नियात्राकार गीता खत्रीको ‘उडेको आकाश डुलेको धर्ती’ नियात्रासङ्ग्रह पढिसकेपछि उनमा लेखकीय क्षमता भएको पुष्टि हुन्छ । वणर्नात्मक, विवरणात्मक शैलीको नियात्रा कृतिमा भूतकालिक क्रियापदको प्रयोग देखिन्छ । रोचकता, गम्भीरता, राष्ट्रियता, मानवता, प्रकृतिप्रेम भावना, कल्पना यस कृतिका विशेषता बनेका छन् । सामान्य भाषाको प्रयोग मार्फत सरल ढङ्गले पाठकलाई जापान अमेरिका मेक्सिको अफ्रिका बुझाएकी छिन् । विभिन्न स्थल घुमाएकी छिन् । सरल भाषामा लेखिए पनि प्रस्तुत नियात्रात्मक कृति स्तरीय बनेको छ । यसले गीता खत्रीको स्थानधर्मिता निर्धारण गर्छ भन्ने कुरामा शङ्का छैन । जुनसुकै भूगोलमा पुगे पनि नियात्राकार आफू जन्मिएको, हुर्किएको नेपालको माटो सम्झिरहन्छिन् । नेपाल आमालाई नमन गरिरहन्छिन् । अफ्रिकाको एक राष्ट्रिय निकुञ्जमा नाम लेखाउनु पर्दा नेपालबाट आएको नेपाली भएको भनी लेखाउँछिन् । आफू न्युयोर्कबासी भए पनि गीताको मन त नेपालको माटोमा नै रहेको बुझ्न सकिन्छ । नेपाल आमाको दीर्घसेवा गर्न समयले नदिए पनि गीता खत्रीले साहित्य सिर्जनामार्फत सेवा गरिरहेकी छिन् ।

कृतिमा सरलता, रोचकता, कोतुहल भए पनि भावना, कल्पना, तथा केही अनुभूतिको अभाव खड्किन्छ । नियात्रामा डायरी शैलीको पनि प्रयोग उचित मानिन्छ । यसको कमी हो कि भन्ने महसुस हुन्छ । तिथिमिति, स्थानलाई प्रस्ट पार्नुपथ्र्योे । प्रायः नियात्रामा यसको अभाव देखिन्छ । कल्पना र मनोवादलाई पनि नियात्राभित्र प्रयोग गर्नुपथ्र्यो तर यसो भएको खासै पाइँदैन । पुस्तकको आवरण स्तरमा कुनै खोट लगाउने ठाउँ छैन । सम्पादन पक्षमा पनि खासै कमजोरी देखिन्न तर शुद्धीपनमा चाहिँ खासै विचार गरेको पाइँदैन । आगामी संस्करणमा यसलाई सुधार्नुपर्ने हुन्छ । समग्रमा कृति पठनीय छ । डायस्पोराको जीवन बुझ्न यसले ठूलो मद्दत गर्छ ।

निष्कर्षमा भन्नुपर्दा, नेपाली नियात्रा साहित्यको इतिहासमा गीता खत्रीको यस कृतिले उच्च स्थान प्राप्त गर्न सक्छ भन्ने प्रशस्त आधार भेटिन्छन् । डायस्पोरिक नियात्राकारका रूपमा गीताको नाम आउने छ । उनी प्रसिद्धितर्फ अघि बढेकी छिन् । साहित्यिक प्रवद्र्धन तथा लेखनमार्फत गीता खत्रीले नेपाली साहित्यको सेवा गरी महत्त्वपूर्ण योगदान दिइरहेकी छिन् । अन्य विधाका पनि डायस्पोरिक रचनातर्फ यिनले कलम कुदाइन् भने पाठकले डायस्पोराको संसार बुझ्न पाउँथे । गीताको सत्कर्मलाई सलाम । नेपाली साहित्यको इतिहासले काठमाण्डाैँकी गीतालाई डायस्पोराकी गीता खत्री भनी चिन्नेछ । उनको साहित्यक भविष्य उज्ज्वल छ । उमेरले साथ दिएसम्म गीता खत्रीले साहित्यिक चिन्तन गरी थप गतिला कृतिहरु नेपाली साहित्यको भण्डारमा प्रदान गरून् भनी शुभकामना ।

लेखक परिचय
वअ
विमल अधिकारी
प्रतिक्रिया
Loading...