उपन्यास-ऐना
लेख- समीक्षा
डी. रोहित बम्जन, दार्जिलिङ निवासी हालैमा नयाँ दिल्लीमा कार्यरत छन् जसले यही साता ‘ऐना’ शीर्षकको उपन्यास विमोचन गरेर साहित्यिक परिधिमा प्रवेश गरेको आफ्नो उपस्थिति जनाएका छन्। पछिल्लो पच्चिस वर्षयता दिल्लीमा बसे तापनि उहाँको मन-मतिष्क, विचार, कल्पना एवं सपना आफ्नै पहाड, गाउँ-घरतिर कै सेरोफेरो विचरण गरिरहन्छ। आफूले जन्म लिएको माटाको सुगन्धलाई उहाँले बिर्सिएका छैनन्। शिक्षादेखि विपरीत क्षेत्रमा कार्यरत भए तापनि उहाँको साहित्य पढ्ने एवं लेख्नेमा पहिलेदेखि नै विशेष रुचि रहेको छ। शहरको व्यस्त दिनचर्या एवं आफ्नो पेसाबाट समय चोरेर साहित्यिक कृतिको सृजना गर्नु कुनै सानो कुरा होइन। अझ पहिलो कृतिको रूपमा उपन्यास लेख्नु उहाँको ठुलो उपलब्धि भन्न सकिन्छ।। शहर पसेपछि आफ्नो भाषामा अशुद्धता आउनु, स्थानीय भाषाको मिश्रण हुनु स्वभाविक हो तर यही शुद्ध एवं अशुद्धको परिवेशमा उपन्यासको सृजना गर्नु कुनै चानचुेने कुरा पनि होइन ।
उपन्यास भन्नाले- ‘न्यास’ शब्दमा ‘उप’ उपसर्ग लागेर बनिएको हो उपन्यास। ‘उप’ अर्थात् समीप, ‘न्यास’ अर्थात् थाती, धरौटी अथवा राख्नु। साहित्यिक रचना जसले विभिन्न कालखण्डको सामाजिक परिवेशलाई पाठकको समीप ल्याएर जीवन्त राख्छ जो चैँ साहित्यको धितो हुन पुग्छ। पाठकले स्वयंलाई रचनाको भित्र महसूस गर्छ, मानवको चरित्रलाई बुझ्दछ। विभिन्न सामाजिक परिवेशबाट अवगत हुन्छ। उपन्यास रमणीय पठन मात्र नभए समाजिक जीवनलाई कालान्तरसम्म ऐतिहासिक सम्पति सृजन गर्ने माध्यम हो जसको आफ्नै शिल्प हुन्छ, भाषाशैली हुन्छ, सौन्दर्य हुन्छ अनि विशेष उद्देश्य हुन्छ। हिन्दीका महान साहित्यकार प्रेमचन्दले उपन्यासलाई यसरी परिभाषित गरेका छन्- ‘म उपन्यासलाई मानव जीवनको चित्र मात्र बुझ्दछु। मानव चरित्रमाथि प्रकाश हालेर त्यसको रहस्यलाई उजागर गर्नु नै उपन्यासको मूल तत्व हो।’
उपन्यासको नाम ऐना भएकाले यसमा केही दुई कुरा- ऐना अर्थात दर्पण। प्रायःले साहित्यको परिभाषामा भन्ने गर्छन्- साहित्य समाजको दर्पण हो। यो स्वीकार्य हो अनि अपूर्ण सत्य पनि। प्रायः साहित्यकारले यसलाई स्वीकार्दैनन्। दर्पणले मात्र अग्र भागलाई प्रतिबिम्बित गर्दिन्छ तर अदृश्य भित्रीय भागलाई सबैको सामु ल्याउन असमर्थ हुन्छ। साहित्य समाजको दर्पण हो भने घटना एवं परिवेशलाई त समाचार पत्र, फिल्म, टेलीविभजन आदिले पनि दर्पण समान देखाइदिन्छ, त के यी पनि साहित्य हुन्? कदाचित होइनन्। समाजमा घट्ने सामान्य घटनादेखि अदृश्य एवं कसैको चेतना नपुगेको पाटालाई सबैको सामु प्रतिबिम्बित गर्नु नै साहित्यको धर्म हो। यस्तो रचना जसबाट समाजको अथवा सबैको हित होस्, त्यो हो साहित्य- स + हित – साहित्य।
८ मे, २०२२ मा दिल्लीमा विचोमन भएको ‘ऐना’ उपन्यास मैले पनि पढ्ने अवसर पाएँ। डी. रोहित बम्जनको उपन्यास ‘ऐना’ पढेपछि मेरो मन-मतिष्कमा तेजिलो झटारो लाग्यो। मैले स्वयंलाई ऐनामा छर्लङ्ग देखे समान भान भयो। अद्योपान्त गर्दा हामीले बेवास्ता गरेका विषयहरूलाई लेखकले बहस गर्न बाध्य बनाएका छन्।
गाउँदेखि शहर पस्नु कुनै नयाँ विषय होइन। यो दसकौँदेखि हुँदै आएको क्रम हो । वर्तमानमा शहर पस्नुको अनुपात अझ बढेको छ। गाउँ छोडेर शहर पस्नुका कारण कैयन् छन्। पहिलो हो- पैसा अर्जनका लागि, पढाइका लागि, गाउँमा विकासको अभावले, जीविकाको अभावले, आफ्नो योग्यता गाउँमा सिद्ध गर्न नपाउँदा, शहरमा व्यापक सुविधा उपलब्ध हुने जस्ता कारणले मानिस गाउँदेखि शहरतिर लाग्दछ। गाउँ-घर छोडेपछि कैयन् शहरकै बासिन्दा हुन्छन् भने कम मात्रमा परदेशी पुनः गाउँ फर्किन्छन्। शहर पस्ने क्रमलाई नियाल्दा पहाडी क्षेत्रवासी अधिक मात्रामा गाउँ छोडेर शहर, प्रदेश एवं विदेश पस्ने गर्छन्। पहाडमा सडक, बिजुली, शिक्षा, स्वास्थ्यको अभाव एवं बेरोजगारी अधिक मात्रमा हुनाले पहाडवासी शहर पस्न बाध्य हुन्छन्। केही सरकारी जागिर एवं फौजीमा भर्ती हुनु बाहेक अन्य विकल्प थोरै नै हुन्छन् पहाडवासीका लागि। पढाइ गर्न एवं भविष्य सपार्न युवा शहरतिर लाग्नु पनि एउटा मुख्य कारण हो।
पहाडका समस्या, समस्याको निधानका लागि शहर लाग्नु अनि शहर लागेपछि परिवार, समाज एवं भाषा-संस्कृतिमा आएको दुष्प्रभावको पीडा एवं भावनाले जन्मिएको भान लाग्छ डी. रोहित बम्जनको ‘ऐना’। यो उपन्यासको आडमा बम्जनले शहर पसेका पहाडवासी एवं गाउँमा आफ्नो सामर्थ्य पहिचान नगरेको जनतालाई छर्लङ्ग ऐना देखाउने प्रयास गरेका छन्। दार्जिलिङको पहाडी क्षेत्रको परिवेशलाई उपन्यासको मूल घडेरी बनाएर लेखिएको छ।
यस उपन्यासका तत्वहरू-
कथा वस्तुः
नशा- उपन्यासमा केही पात्र छन् जसमा नशाको लत लाग्ने प्रवृतिले घर-परिवार भाडिएर विकृत भएको छ। गाउँमा प्रायः युवा वर्ग नशामा लिप्त हुनाले पढाइमा ध्यान नदिएर बरालिएर हिँड्ने, परिवारका अग्रजले भनेको नमान्ने, परिवारको जिम्मेवारी निर्वाह नगर्ने जस्ता समस्याको उजागर गरिएको पाइन्छ।
स्वरोजगार- पहाडवासी प्रायः पैसा अर्जनका लागि देश-प्रदेश लागेको उपन्यासमा दर्शाउने प्रयास गरिएको छ। पहाडवासी शिक्षित भएपछि जागिरका लागि शहर पस्नु एउटा रिती नै स्थापित गरेको पनि उपन्यासमा भेटिन्छ।। पहाडमा जागिर छैन, व्यापार हुँदैन, पैसा कमिन्दैन भन्दै प्रदेश लाग्ने परदेशीको बिचमा उपन्यासकारले स्वरोजगारको पाठ सिकाउने ठुलो जमर्को गरेका छन्। प्रदेशमा लागेका पहाडीले प्रायः भन्ने गर्छन् – हाम्रो पहाडमा मधेसीले प्रभुत्व जमाउन लागेका छन्, जता हेर्र्यो त्यतै काम गर्छन्, मजदुरी, मिस्त्री, व्यापारी कार्य इत्यादि गर्दै पहाडमा अधिपत्य जमाएका छन् भनेर गुनासे पोख्छन्। तर उपन्यासकारले यो स्थिति हुनुमा पहाडवासीलाई नै दोषी ठहराएका छन्। पहाडमा केही काम छैन, पैसा छैन भनेर शहर पस्छन् तर पहाडमा हुने खेती-पाती, अदुवा, अलैँची, कुच्चो, चियापपत्ति, मजदुरी, व्यापारी, जस्ता काम नगरेर शहरमा सानोतिनो जागिर गर्दै आजीविका चलाउने परदेशीहरूबिच गुनासो पोखेका छन् लेखकले। आफ्नो माटो, आफ्नो पहाडमा सबै प्रयाप्त संसाधन छ, स्वरोजगार उत्पन्न गर्ने सम्भावना छ भन्दै गाउँ छोड्ने परदेशीप्रति प्रहार गरेका छन्, आत्मनिर्भर हुने संदेश दिएका छन्। यो उपन्यासमा प्रणय पात्रलाई शहरबाट गाउँ फर्काएर सफल स्वरोजगारको उदाहरण दिएर साकारात्मक संदेश दिएका छन्।
संस्कृति/भाषाप्रति चिन्तन- शहर लागेपछि भाषा एवं संस्कृतिमा परेको प्रभाव एवं आउने पिढीँले संस्कृति बिर्सिने सम्भावनालाई पनि यथोचित उपन्यासमा स्थान दिएको पाइन्छ। भाषा र साहित्यको विकासमा गुटबाजीको प्रभाव एवं साहित्यकारले आफ्नो कर्तव्यको बोध नगरेको पनि सन्दर्भ फेला पर्छ।
पहाडका समस्या- उपन्यासमा पहाडी क्षेत्रको समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ। अझै पनि राम्रो अस्पताल नहुनु, पढाइका लागि मैदान क्षेत्रतिर लाग्नु, सड़क निर्माण नहुुनु। उपन्ययामा एउटा पात्रको मृत्यु हुने कारण नै बाटो राम्रो नभएर गाडी गड्डामा भाँसिने हुँदा सुदूर स्थिति अस्पतालमा नपुग्दा हुन्छ। अर्को विडम्बना मर्ने पात्रको छोरो नै सडक बनाउने कन्ट्रैक्टरको पेसामा सङ्लग्न हन्छ। गाउँमा हुने मान्छेले पनि ईमानदारीपूर्वक काम नगर्ने जस्ता गुनासाहरू छन् उपन्यासमा। पहाडी क्षेत्रलाई सरकारले, नेताले महत्व नदिएको पनि निराशा देखिन्छ।
दिशाहीन पहाडी युवाः उपन्यासमा दुइटा पात्र छन् जसले लक्ष्य निर्धारित नगरेको एवं आफ्नो सामर्थ्य नबुझेको कथ्य छ। प्रणय नामको पात्र स्नातकको शिक्षा लिएर पनि असमन्जसमा पर्छ कि उसले गर्नु पर्ने के हो? उसलाई अरूले नै दिशा दिँदा मात्र जीवनको लक्ष्य पाउँछ। अर्को पात्र छ सुमन, पढाइमा ध्यान नदिएर मौजमस्ती गर्नतिर लाग्छ। परिवारमा जिद्दी गरेर शहर लाग्छ। शहरमा पनि लक्ष्यहीन भएर हिँड्नाले जीवन बर्बाद पार्छ। शहर पसेपछि गाउँ धेरै वर्ष नफर्किन्दा परिवारको स्थिति आँसु र विषादमा परिणित हुन्छ त्यो कारुणिक अवस्था दर्शाएको छ।
शिल्प/बनोटः एक्काइस अध्यायमा लेखिएको उपन्यासमा दुइटा बनोटले नवीनता दिएको छ। भाषा र साहित्यको महत्वलाई समाजसम्म पुर्याउन एउटा समाचारको सम्पादकीय लेखमा राखेर उपन्यासकारले आफ्ना कुरालाई राखेको पाइन्छ। त्यसरी नै स्वरोजगार एवं आत्मनिर्भर हुने संदेश समाजसेवीको रूपमा भाषण दिएको पात्र कथेर दह्रिलो ऐना देखाउने प्रयास पाइन्छ।
पात्रः पहाड र शहरको परिदृश्यलाई झल्काउनका लागि गाउँ एवं शहरमा बसोबास गर्ने पात्रको निर्माण गरिएको छ जसबाट दुवै समाजकीय वातावरण पाइन्छ। सबै पात्रले पात्रत्वको न्याय गरेका छन्। सबै पात्रले अन्तमा केही न केही साकारात्मक संदेश दिएर टुङ्गिएका छन्।
भाषाशैलीः भाषाको आकर्षणमा दार्जिलिङ गाउँले लबजको प्रयोग भएकाले पाठकलाई आनन्द लाग्ने छ। दार्जिलिङको स्थानी बोलीको सौन्दर्य आउने छ। दिल्ली शहरमा हुने पहाडी पात्रसँग स्थानीय पात्रले बोल्दा क्षेत्रीय हिन्दी भाषाको प्रयोगले मिठास घोल्एको पाइन्छ। अधिक मात्रमा गाउँले भाषाको प्रयोगले प्रचुर मात्रमा वर्ण विन्यास दोष, लिंग दोष, वचन दोष फेला पर्छन्। थोरै मात्रमा स्थानी लबजको प्रयोग गरेको भए साहित्यिक भाषाशैलीको सौन्दर्य आउने थियो। उपन्यासको कथ्य भन्दा अधिक संवाद शैली भेटिन्छ।
उद्देश्यः उपन्यासको उद्देश्यमा समसमायिक एवं नैसर्गिक तत्वको समावेश छ। यस्ता सन्दर्भमा उपन्यास लेखेर समाजलाई दिशानिर्देश दिन आवश्यकता परेको देखिन्छ। जसरी पहाडीहरू पहाड/गाउँ छोडी शहर पसेपछि आफ्नो माटो, संस्कृतिदेखि टाढा भई अस्तित्वहीन हुने बाटोतिर लागिपरेको देखिन्छ। यस्तो परिवेशमा नयाँ संदेश दिँदै आफ्नो गाउँमा बसेर स्वरोगजार उत्पन्न गर्दै आत्मनिर्भर भएर आफ्नो संस्कृतिको संरक्षण गर्ने मूल्यवान संदेश पाइन्छ।
‘ऐना’ उपन्यास गाउँवासी एवं सहर पस्ने प्रत्येक व्यक्तिले पढुन पर्ने पुस्तक हो । उपन्यासमा प्रेमप्रसङ्ग हुनाले प्रेमिल छ, छोरो घर नफर्किनाले बाबाआमाको पीरको वर्णन पढ्दा कारूणिक लाग्छ, रक्सी भेन्डरमा बसेका पात्रको संवाद पढ्दा उपन्यास रोमाञ्चित लाग्दछ भने समयसामायिक पहाडी एवं गाउँको परिवेशको उठानलाई उद्देश्य बनाएर लेखिएको उपन्यास संदेशवाहक पनि छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।