जीवन घटना र परिघटनाहरूको सङ्गम हो । जीवन अनुभव नै अनुभवहरूले सङ्गालिएको फूलदान पनि हो । कतिपय जीवनहरू टाढाबाट हेर्दा सुन्दर देखिन्छन् र अरूका लागि लालायित हुने गरी आकर्षणको माध्यम बनिरहेका हुन्छन् । कुनै व्यक्तिको जीवन सुन्दर र सफल हुनुका पछाडि सङ्घर्षका कथाहरू अन्यका लागि प्रेरणा र बाँच्ने शक्ति श्रोतमा परिणत हुनसक्छन् । मानिसले सजीव र निर्जीव दुवै प्रकारका तत्त्वहरूबाट प्रेरणा लिनसक्छ । फरक हो त केवल व्यक्तिको ग्रहण गर्ने शक्ति, हेर्ने दृष्टिकोण र निजमा रहेको अन्तर्निहीत संवेदनशीलता । कुनै पनि व्यक्तिका लागि उसको निजी अनुभवहरू जीवनका महत्त्वपूर्ण दस्तावेजहरू हुन् । त्यसैले बगरको एक छेउबाट हेर्दा धेरैलाई आफ्नो जीवन अनेक अर्थमा आफैँलाई जीवन्त र विशेष लाग्नसक्छ । यस्तै जीवनका विविध रङ्गहरू एवं आरोह अवरोहलाई समेटेएर तयार पारिएका गोपी मैनालीको आत्मपरक शैलीको निबन्धसङ्ग्रह “घाउ आफैँलाई दुख्छ” केही समयअघि बजारमा आएको छ । नेपालको निजामती सेवामा गोपी मैनाली एक सम्मानजनक नाम हो ।
यस सङ्ग्रहमा जम्मा ३० वटा निबन्धहरू छन् । बाल्यकालका सम्झना, जीवनमा आइपरेका सहजता र असहजताहरू त्यस्तै पेशागत दायित्व निर्बाह गर्दाका सजिला अप्ठ्यारा परिस्थितिहरूमा आफ्ना अनुभूतिहरू तथा मुलुकको राजनीतिक परिघटनाहरूप्रति निबन्धकारको दृष्टिकोणहरू निबन्धहरूमा मज्जासँग पढ्न पाइन्छ । मूलतः आत्मपरक शैलीमा लेखिएका निबन्धहरूले पाठकहरूलाई झर्को लाग्ने छुट दिँदैन् । यद्यपि निजात्मक तथा व्याख्यात्मक शैलीमा निबन्ध पोखिएका छन् ।
दार्शनिक भावले ओतप्रोत तर सरल निबन्धहरू पढ्दै जाँदा निबन्धकारका भावनाहरूसँग पाठक नजिक हुनपुग्छ । त्यसैले “आफ्नै कथा विशेष हुन्छ” निबन्धमा निबन्धकार भन्नुहुन्छ – सपना त सबैले देख्दछन् तर सपनालाई विपनामा बदल्न चाहिँ कठिन हुन्छ । तर सत्य यो पनि हो कि प्रत्येक मानवजीवनभित्र उर्जालाई सृजनात्मक लक्ष्य उन्मुख गराउने भनेको पनि सपना नै हो । कथा सबैका हुन्छन् तर कथा नहुनु पनि एकप्रकारले कथा नै हो । एउटा व्यक्तिको सपना र सफलताले तमाम मानवजातिलाई सहज तुल्याएको हुन्छ । एउटा व्यक्तिको पूरा भएको सपनाले अन्य कैयौँका सपनालाई समेत दिशानिर्देश गराइरहेको हुन्छ । त्यसैले सपना, प्रतिस्पर्धा र मेहेनत सँगसँगै अघि लैजानु पर्ने तत्त्व हुन् भन्ने कुराको छनक निबन्धमा दिइएको छ । निबन्धमा दार्शनिक भाव भए तापनि सिकाउने र घच्घच्याउने शैलीमा निरन्तर बगिरहेको छ । मानिसका राम्रा सपना र उपलब्धिहरूको सामञ्जस्यले ल्याउने प्रतिफल कालान्तरसम्म पनि मानवजीवनका लागि उदाहरण बनेका हुन्छन् । यस कुरामा सत्यता थप्न निबन्धकारले देवकोटा, इमिली डिकिन्सन, ओबामा आदिका उदाहरणहरू पेस गरेका छन् ।
आन्दोलित मन र प्रजातन्त्र
वर्तमान समयमा आम सर्वसाधारणको राजनीतिप्रतिको दृष्टिकोण यस निबन्धमा दर्शाइएको छ । निबन्धकारका अनुसार खासमा राजनीति जनताका लागि हुनुपर्ने हो जसले लोकतन्त्रलाई सुदृढीकरण गर्छ । तर लोकतान्त्रिक मूल्य मान्यता विपरीत प्रजातन्त्र सीमित व्यक्तिको, शक्तिको स्रोतका रूपमा मात्र प्रयोग गरिँदै आइएको छ । राजनीति गर्नका लागि इतिहास र सिद्धान्तभन्दा पनि आफ्नो प्राथमिकता र स्वार्थलाई प्रश्रय दिएको पाइन्छ । वर्तमान समयमा सत्य निरपेक्ष नभई आफ्नो अनुकूल प्रयोग गरिने “अस्त्र” बनेको छ । त्यसैले जनता निराशामा छन् । गर्विलो इतिहास निदाइरहेको कुरामा निबन्धकार भन्नुहुन्छ “बुढो घण्टाघरले समय देखाउन लाज मानिरहेको छ” । राजनीति गर्नेको जवाफदेहिता नहुने सरकार बनिरहेको छ । सुशासनका कुरा शब्दमा मात्र सीमित रहेका छन् । जसको परिणामस्वरूप वर्तमान र इतिहास दुवै कालखण्डको निम्ति नेता भार हुने गरेका छन् । यी शब्द केवल निबन्धकारका मात्र होइनन् बरु सर्वसाधारणका संयक्त मूल्याङ्कन र आवाज हो भन्न सकिन्छ । वर्तमान परिप्रेक्ष्यमा यो समस्या तेस्रो विश्वको साझा समस्या र चुनौती बनेको छ । लोकतन्त्र स्थापनाका लागि धेरैको रगत, पसिना र जीवन खर्चिएको भए तापनि शासनका लाभहरू निश्चित् व्यक्तिको पेवा बनेको यथार्थ यस निबन्धमा खुलस्त पारिएको छ । जसका परिणामस्वरूप नागरिक निराश बन्न पुग्छन् र निराशाका कारण व्यक्ति आफनो मुलुकप्रतिको अपनत्व समेत महशुस गर्न पाउँदैन । त्यसैले पलायन एउटा स्वाभाविक प्रक्रिया बनिरहेको छ ।
विचरा निजामती
निजामतीसेवामा आफ्ना महत्त्वपूर्ण र उत्पादनशील वर्षहरू खर्चिनु भएका निबन्धकारका अनुसार, कर्मचारी समंयन्त्र र राज्य संयन्त्रले समानान्तर रूपमा गएर नै देश विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने हो । निजामती कर्मचारीको सक्रियता र सेवाग्राहीप्रति गरिने असल व्यवहार उसबाट गरिने अपेक्षाहरू हुन । तर पनि राज्यसंयन्त्रले खिचेका सीमारेखाका कारण निजामती कर्मचारी कतिपय स्थानहरूमा सङ्कुचित हुनेगर्छ जो आफूलाई व्यक्त गर्न सक्दैन । ऊ त केवल पात्र मात्र हो । निर्देशन दिने अधिकार राजनेताको हुन्छ । कामसँग मात्र निजामतीसेवा सम्बन्ध रहन्छ । त्यसैले राजनीति र प्रशासन समानान्तररूपमा अघि बढ्छन् ।
घाउ आफैँलाई दुख्छ
दुख मानव जीवनको अकाट्य सत्य हो । मानिस सुखको भन्दा दुखको अनुभव बढी गर्दछ । दुख सधैँ स्थिर बस्न सक्दैन पोखिने निकास र माध्यम खोजिरहेको हुन्छ । पीडाको सकारात्मक पाटो सिर्जना वा कला भने महत्त्वपूर्ण हुन्छ । निबन्धकार भन्नुहुन्छ दुखको प्रभाव कालजयी हुन्छ, दुखको कथा मार्गदर्शन बन्नुपर्छ तर दुखलाई आमन्त्रण भने गर्नुहुँदैन् । दुखको निकास गर्ने तरिकाले ठूलो अर्थ राख्दछ । मानिस व्यक्तिकेन्द्रित भइरहेको छ । मानिस सामाजिक प्राणी भएर पनि अरूका दुखप्रतिको उसको संवेदना घटिरहेको छ । त्यसैले साँघुरिँदै गएको मानिसको मनोवृत्तिले दुःख पनि बाँड्न नसकिने अवस्थाको सृजना हुँदैछ भन्ने निबन्धकारको तर्क छ ।
मृत्यु अझै मरेन
मृत्यु शाश्वत सत्य हो । जसलाई मानिसले जित्न त टाढाको कुरा यसका बारेमा ठूलो अनभिज्ञता रहेको सत्य तथ्यलाई आत्मपरक शैली र कतिपय मन छुने उदाहरणहरू प्रस्तुत गरिएको छ । वास्तवमा मान्छेका लागि मृत्युको विषय रहस्यपूर्ण छ । मानिसले सबैथोक जित्ने सामर्थ्य राखे पनि मृत्युलाई किन जित्न नसकेकेको होला ? निबन्धकारका मनमा आएको यो प्रश्न सबै मानिसको अन्तर्मनमा घटित हुने मनोभाव र प्रश्न हो । जस्तै सँगै मेलापात गएको साथी भोलि नभेटिनसक्छ त्यसैले निबन्धका अनुसार मृत्यु चेतनाशून्य हो तर मृत्युका बारेमा सोच्दै गर्दा पनि जीवित मानिसलाई जड बनाइदिन्छ । तर अर्कातर्फ मृत्यु नै जीवनको बोध गर्ने सार पनि हो ।
प्रविधि पुस्ता र परिवर्तन
प्रविधिमा भएको उल्लेख्य प्रगतिका कारण मानिसको जीवनमा भइरहेको सहजतालाई विगतमा कसैले कल्पनासम्म पनि गर्न सकेको थिएन । त्यसैले भविष्यको स्वरूप कस्तो हुन्छ भन्नेकुरा वर्तमानमा सम्पूर्ण रूपमा अनुमान गर्न नसकिए तापनि वर्तमानमा गरिएको सिर्जना र सत्प्रयासहरूले भविष्य निश्चितरूपमा सुन्दर हुन्छ । विगतमा भएका क्रान्तिहरूका परिणामस्वरूप मानिसहरूको जीवनमा परिवर्तन आएको छ । वास्तवमा विगतका चुनौतीहरू पार गर्ने सन्दर्भमा नै क्रान्तिहरू भएका हुन् । वर्तमान समयमा पनि युगिन चुनौतीहरू छन् । ती चुनौतीहरूलाई पनि वर्तमान पुस्ताले पार लाउनै पर्छ । किनभने भविष्यका पुस्ताप्रति वर्तमानका पुस्ताको दायित्व छ । निबन्धकार उदाहरण दिनुहुन्छ आज पनि प्रविधिमा भइरहेको क्रान्ति जारी छ, जस्तै स्टीभ जब्स, इलोन मस्क आदिले आफ्ना क्षेत्रमा गरिरहको प्रयासहरू एकप्रकारले क्रान्तिसरह नै हुन् ।
साथी
साथी साथीको अतुलनीय सम्बन्धलाई यस निबन्धमा केलाइएको छ । साथीहरूसँगको आफ्नो भावनात्मक सम्बन्धका लोभलाग्दा प्रसङ्गहरू निबन्धमा छन् । मित्रताको सुमधुर सम्बन्धका यादहरू जीवनका अन्तिम समयसम्म पनि मानसपटलबाट हराउँदैनन् । तर ओहोदा र स्वार्थले निर्माण गर्ने मित्रता भने गाढा हुनसक्दैन् । वास्तविक मित्रले अप्ठ्याराहरूमा साथ दिन्छ । साथीको सम्बन्धलाई निबन्धकारले “प्रकृति” को दर्जामा राखेकाछन् । हाम्रा नजिकका सम्बन्धहरू जस्तै छोराछोरी, श्रीमान श्रीमतीबीच पनि साथित्वको भाव हुँदा सम्बन्धमा मिठास आउँछ । संसारमा जुनसुकै प्राणी र वनस्पतिसँग पनि मित्रता नजानिँदो पाराले गाँसिनसक्छ । त्यसैले निबन्धकार भावुक शैलीमा भन्नुहुन्छ “वाल्यकालमा घाँसे पाखो पनि अपनत्वको माया दिएर साथी बन्यो” ।
सत्ता थरीथरीका
सामान्यताया राजनीतिबाट आर्जित सत्तालाई नै सत्ता मान्ने गरिए तापनि सत्ता जहाँसुकै रहेको हुन्छ । असल सत्ताले समाजलाई मार्गनिर्देशन गर्ने क्षमता राख्दछ । परिवारका पाटपुर्जामा पनि सत्ताको मसिन जडित हुन्छ । नारीसत्ता र पुरुषसत्ताबीचको सङ्घर्ष झनै पेचिलो छ भन्ने तर्क निबन्धकारको छ । डन, तस्कर, साधुसन्यासी, कलाकार, बुद्धिजीविहरूले पनि आ–आफ्नै तरिकाले सत्ताको प्रयोग गरिरहेका हुन्छन् । जस्तोसुकै सत्ता भए तापनि यसको साझा चरित्र भनेको शक्ति र सङ्घर्ष हो जसबाट स्वाद त आउँछ तर आर्दश बोकेको हुँदैन् ।
जन्मभूमि
जन्मभूमि आमा समान हुने गर्दछ । जन्मभूमिको संस्मरणले मानिसलाई मीठो विगतमा डोर्याउँछ । यस निबन्धमा निबन्धकार पनि नोस्टाल्जिक भएका छन् र जन्मभूमिमा बिताएका क्षणहरूप्रति कृतज्ञ छन् । निबन्धकार भन्नुहुन्छ जसरी आमाको थप्पडमा माया मिसिएको हुन्छ त्यस्तै गरी जन्मभूमिमा लडीबुडी गर्दा सुखका मात्र नभई दुखका क्षणहरूले उनको सिकाइमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । प्राकृतिक अवयवहरूसँगको विगतको सामिप्य अझै ताजा नै छ । जस्तै उनले रोशीखोलासँग थुप्रै मानवीय स्वभावका कुरा दाँज्न भ्याएका छन्, जस्तै साँङ्लोपन, निश्वार्थता आदि । अब फर्केर नआउने ती पलहरूले, संस्मरणले मात्रै पनि जीवनमा उर्जाको सञ्चार भइरहेको हुन्छ ।
अपहरित आस्था र निमोठिएका सपनाहरू
फरक परिवेशमा पेशागत कर्तव्य निर्वाह गर्दा निबन्धकारसँग साक्षात्कार भएका परिस्थितिहरूमाथि प्रतिक्रियास्वरूप मनमा उठेका भावहरूलाई व्यक्त गरिएको छ । सपनाले जरा गााड्न थालेदेखि नै उकाली ओराली गर्नुपरेको तथा जागिरे जीवनमा कर्तव्य निर्वाहका सन्दर्भमा आम मानिसको अभावहरूलाई अनुभव गरेका छन् । त्यसैले उनको प्रश्न छ “के मैले पेटभरि खाएर डोल्पाको सेवा गर्नु पाप होइन”? जागिरे जीवनलाई फगत जागिरकै रूपमा मात्र लिनु हुँदैन भन्ने तर्क निबन्धकार राख्नुहुन्छ । विकास निर्माणका लागि नीतिनिर्माण तहमा पुगिसकेपछि गल्तीलाई ढाकछोप गर्न नसकेको अनुभव सुनाउँदै प्रणालीप्रति असन्तुष्टि पोख्नुहुन्छ । विकासका नीति निर्माणका कार्यमा संलग्न हुनेहरूलाई विवेकले काम गर्न नदिने मुलुकको शासकीय प्रणालीका कैयौँ कुराहरूलाई छर्लङ्ग पारेको छ ।
यसरी तीस वटै निबन्धहरू पृथक स्वादले भरिएका छन् । निबन्धकारले आफ्ना जीवनका अनुभवहरूलाई सरल ढङ्गले पेस गर्नुभएको छ । अन्तिम निबन्ध बिदाइले पनि मनलाई उत्तिकै छुन्छ । निबन्धकारले भनेझैँ बिदाइ अवश्यम्भावी भए तापनि यो नयाँ सुरुवात हो । आफूसँगै यात्रा गर्ने सहयात्रीसँगको सम्बन्ध र व्यवहारले बिदाइको क्षणलाई स्मरणीय बनाउने, नबनाउने कुरा निर्धारण गर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।