साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जीवनको पाठशाला: समयको समानान्तर दस्तावेज

कहिले काठमाडौँको घर बेचेर पहाड घर चुन्दीरम्घा, कहिले मामाघर, कहिले संस्कृत प्रधान पाठशालाको छात्रावास हुँदै गर्दाका घटना सम्झेका छन् उनले सबिस्तार | पूर्व-मध्यमा पढ्नेताका हराउने डरले पटुकीमा बाँधेर लुकाएको उबेलाको उनको आफ्नै पकेट खर्च रू. १८० लुकाउँदा लुकाउँदै पनि हराएको प्रसंग रोचक छ |

जीवन समग्रमा यौटा पाठ सिकाइ रहेछ-निरन्तरको पाठ सिकाइ | अनेक रूपमा भेटिएका अगणित गुरुहरुको देन छ-मेरो जीवन निर्माणमा पनि | सम्झनाहरू उधिन्ने क्रममा म जीवनका अनेक आरोह-अवरोह र घुम्तीहरूमा यस पुस्तकका माध्यमबाट एकपल्ट फेरि हिंडेको छु | जीवनलाई पाठशाला मानेपछि झन् त्यसको अर्थ बुझ्न सजिलो भएको छ |

 किताबको आमुखमा यसरी लेखियो मेरो कथा को यौटा अनुच्छेदमा यसरी शुरु भएको छ, नरहरी आचार्यको जीवनको पाठशाला: सम्झना र सम्बन्ध  नामक कृति |

bahulako diary small and inside post

जहाँ उनी भन्छन्: अचेल मेरो धेरैजसो समय घरमै बित्छ | शरीरका लागि गर्नुपर्ने व्यायाम लगायतका कामदेखि बाहेक लेख्ने-पढ्ने नै गर्छु | आफूले पहिलेदेखि जानेको, गरेको कर्म यही हो | यतिखेर पनि मैले गर्न सक्ने कर्म यही मात्रै भएको छ |

………..शारदा नित्य मेरो छेउमै छिन्, छाया जसरी |

… जिन्दगी यसैगरी चलिरहेको छ-आफ्ना सीमाहरूभित्र, खुसीसाथ |

 सम्झनाको सामलले आफ्नो जीवनको सिंहावलोकन प्रस्तुत गर्दै सम्बन्धहरूको लेखाजोखा प्रस्तुत गर्नु आफूले बाँचेको समयको दस्तावेजीकरण गर्नु हो, यस मानेमा जीवनको पाठशाला लाई, समग्रमा भन्नुपर्दा उनले बाँचेको समयको समानान्तर दस्तावेज भन्दा हुन्छ  |

विश्व कोरोनाले आक्रान्त भैरहेको समयमा चुपचाप जीवनका सकारात्मक पाटाहरू केलाइरहन सक्ने उनको जीवनवादी सोच लोभलाग्दो छ | आफ्नो जीवनसँग स्पर्श गरेका विषयहरूको अभिलेखिकरण

यस कृतिको महत्वपूर्ण पक्ष हो | त्यही गरेका छन् उनले आफ्नो किताबमा | महर्षि व्यास, व्यास  र लिपिकार गणेश, गणेश भएर महाभारत को रचना भए झैँ नेपाली कविता आख्यानमा आफ्नो अलग्गै पहिचान स्थापित गरिसकेकी उनकी शारु, अर्थात शारदा शर्मा गणेशजी र नेपालको गणतान्त्रिकरणका सुत्रधार, सत्य, न्याय र निष्ठापूर्वक पनि  राजनिती गर्न सम्भव छ भन्न रुचाउने  श्रद्देय नरहरी आचार्य व्यास  बनेर तयार पारिएको यो कृति नेपाली राष्ट्रिय राजनितीमा यौटा ठुलो परिवर्तन ल्याउने कार्यमा उल्लेखनीय योगदान दिने व्यक्तिको आत्मकथा हो | कथा हो | किताबमा उनका वाल्यकालदेखिका सबै कुरा यथार्थरूपमा प्रस्तुत भएका छन् | यौटा विचारशील, विवेकशील र बौद्दिक नेताको नेतृत्व विकासको शृंखला बुझ्न पनि कृति पढ्नु आवश्यक छ | इमान्दार छविसहित प्रेरणादायी जीवन बाँचेको असल मान्छेको जीवन कस्तो रहेछ भन्ने कुरा जान्नका लागि पनि किताब उपयोगी छ |

काठमाण्डौ र तनहुँमा बिताएको उनको बाल्यकालका रोचक प्रसंगदेखि झन्डै एक वर्ष अघिसम्म उनको जीवनमा घटेका महत्वपूर्ण घटना, पात्र र परिवेशको फेहरिस्त छ-किताबमा | किशोर अवस्था तथा उनको पालन पोषण, पठन पाठन र सो क्रममा भोगेका सुख दुखका घटनाहरू र संघर्षका कथाहरू उनिएका छन् | समयक्रमसंग हुर्कंदै गर्दा उनीभित्र हुर्किएको विद्रोही चेत र परिवर्तन रुचाउने स्वभाव स्पष्टसित झल्किन्छ किताबमा | दाजुको मृत्युपछि घरमा लगाइएको सप्ताहमा आफ्ना पिताजी पण्डित उमानाथ आचार्यले वाचन गर्नुभएको भागवतबाट प्रभावित भएर त्यस्तै भागवत वाचन गर्ने स्वप्न बाँचेका उनी कहिले घर त कहिले मामाघर हुँदै हुर्किए | पिताजीको देहावसान हुँदा व्रतबन्धसमेत नभैसकेका उनका दिदीहरूको जीवन कथा झन् कारुणिक छ | बिहेको पाँच वर्षमै भिनाजुमा मानसिक समस्या देखिनु र बिहे दुर्घटित हुनु | अझ भिनाजु पनि भीरबाट खसेर बित्नु | अर्की दिदीले काखको छोरीलाई छाडेर उर्लंदो मादीमा हाम फालेर ज्यान फाल्ने अवस्था सिर्जना हुनु  र त्यसको पृष्ठभूमि पढिरहँदा पाठकले आफुले पनि लेखकसँगसँगै सुक्कसुक्क गरेको पत्तै पाउँदैन | अर्की दिदीको कथा त्यो भन्दा झन् दुखदायी छ |  जो स्वतन्त्र र स्वछन्द हुन रुचाउथिन्, संधै डुलिरहन्थिन्, उनले पति बाहेकका पुरुषबाट दुइ सन्तान पनि जन्माइन | समाज उनलाई पागल भन्थ्यो, तर लेखकले कहिल्यै पागल देखेनन् | बाँचुन्जेल विश्रंखलित जीवन बाँचेकी ती दिदीको कथासित जोडिएको उनको बाल्यकालको कथालाई दुखदायी कथा मान्दा हुन्छ |

कहिले काठमाडौँको घर बेचेर पहाड घर चुन्दीरम्घा, कहिले मामाघर, कहिले संस्कृत प्रधान पाठशालाको छात्रावास हुँदै गर्दाका घटना सम्झेका छन् उनले सबिस्तार | पूर्व-मध्यमा पढ्नेताका हराउने डरले पटुकीमा बाँधेर लुकाएको उबेलाको उनको आफ्नै पकेट खर्च रू. १८० लुकाउँदा लुकाउँदै पनि हराएको प्रसंग रोचक छ | जम्मा १५ रुपैयामा रोजेर कमेज सुरुवाल सिलाएरै लाउन पुग्नेताकाको त्यो पैसासंगै गृहकार्य लेखिदिएर पाउने ५ पैसाको कथा पनि छ किताबमा | छात्रावास तथा कक्षाकोठाको कथा पढ़दा जोसुकै पाठक आफ्नो वाल्यकाल सम्झेर नोस्टाल्जिक हुन्छ | जसरी म पनि नोस्टाल्जिक भएको छु, धेरै ठाउँमा, धेरै पटक | फेरि सम्झन्छु आफ्नो तीन दशक लामो शैक्षणिक यात्रा, जहाँ यो भन्दा बढ्ता घतलाग्दा र बदमासीपूर्ण किस्सा भेटिन्छन्  छात्राबास बस्ने विद्यार्थीहरूको | यसमानेमा उनी बाल्यकालदेखि नि कम बदमास र बढ्ता अनुशाशित देखिन्छन् |

किताबमा उनका रुचिका प्रसङ्गहरू छन्, जागिरे जीवन सुरु हुनुभन्दा अगाडिका रमाइला कुराहरू छन् |  पहिलो गिरफ्तारी, किर्तिपूरको जागिरे जीवन र सो अघि/पछिका कुरा त हुने नै भए | स्वर्णपदक खासमा सुनको हो कि होइन भनेर पदक पर्गेलेको प्रसङ्ग नि रोचक छ | निकै धेरै पटक आफ्नो विद्यावारिधि अलपत्र भएको प्रसङ्ग र सो हुनुमा नजानिँदो ढंगले आफैँ प्रतिको गुनोसो व्यक्त/अव्यक्त रूपमा ठाउँ ठाउँमा उठाएका छन् |  व्यक्तिगत रूपमा म आफू पनि झन्डै ५/७ वर्ष विभिन्न उतारचढावहरू झेल्दै गणितमा विद्यावारिधिको अत्यन्त सकसपूर्ण यात्राबाट भर्खरै बाहिर निस्केकोले उनले लेखेको र प्रस्तुत गरेको भन्दा बढ्ता छोइने भएर महसुस भएको छ मलाई यो प्रसङ्ग | यहाँनेर लेखकले लेखेको मात्रै पाठकले बुझ्नुपर्छ भन्ने कुरा लागु हुँदैन, त्यसलाई फरक ढंगले बुझ्न, ग्रहण गर्न पाठक स्वतन्त्र छ-भन्ठान्छु म | लेखिएका पदावली र लाइनहरूको बिचमा नलेखिएका र लेखिन मिल्ने थुप्रै विषय प्रसंगहरू लुकेको हुन्छ-पाठकका लागि |

डा. ईश्वरमणि अधिकारी

विपिसँग राजा विरेन्द्र भेटिंदा, गणेशमानले विपीलाई सबैभन्दा पहिला सोधेको प्रश्न, राजाले तपाईलाई के भन्यो कोइरालाजी ? तपाई भन्यो कि तिमी ?

 चैत्र २७ मा गिरिजाप्रसादले आमसभामा सम्बोधन गर्दा, यो जीत सबैको हो, प्रजातन्त्रमा सबैले जित्छन् | यो नेपाली जनताको जीत हो र राजाको पनि जीत हो, भन्दै गर्दा भएको हुटिंग र उक्त हुटिंग सम्हाल्न गणेशमानको सुझबुझ पूर्ण उपस्थितिको सुन्दर चित्र छ-किताबमा |

सबैजना मेरो प्रचार मैकहाँ आएर गर्छन् | किसुनजीले २०४८ को आम निर्वाचनको प्रचार प्रसारका सन्दर्भमा भनेको कुराहरू पनि छन् |

२०४८ को उपचुनावको मुखमा बिहान ७ बजेको नेपाली समाचारको महत्वपूर्ण समयमा १७ मिनेट लामो गिरीजाप्रसादको वक्तव्यको प्रसंगमा उक्त वक्तव्य कसले तयार गरेको होला भन्ने केही नामहरूको अनुमान पनि छ-किताबमा | त्यसो त, प्रसारणमा जानु अघिको अन्तिम समयमा आफूले पनि हेरेको स्वीकारोक्ति पनि छ | लाग्छ, उनी आफना कुरामा स्पष्ट छन्, ढाँटेका छैनन् | आत्मकथालाई झुटको पुलिन्दा भन्छन् | यो आरोपबाट मुक्त छ, किताब |

उक्त वक्तव्य, जुन परिस्थितिमा जसरी आएको भए पनि नेपाली राजनीतिको द्वन्द, गुटबन्दी र घात प्रतिघातको यौटा अप्रिय घटना र परिदृश्यको सुरुवात हो भन्ठान्छु म | हुन त पछि ६ जना जिम्मेवार मन्त्रीहरूलाई अकस्मात निकाले पछिको ३६ र ७४ को कथाले निकै चर्चा पाएको छ किताबमा |

अंक फरक होला, घटना पात्र र परिवेशहरू फरक-फरक होलान्, तर त्यो शैली र प्रवृत्ति अध्यावधि कायम छ, नेपाली राजनितीमा | थाहा छैन यसले को कतिको कुन कुन स्वार्थले विजय प्राप्त गरेको छ, कतिको अहम् पूरा भएको छ, तर देशले संधै दुख पाएको छ | देशले संधै हारेको छ | उक्त विषय प्रसंगहरू पढिरहंदा मैले धेरै ठाउमा कांग्रेस भएरै ज्यान गुमाएका आफ्ना आफन्तहरू सम्झें र दुखी भएँ | आफ्नो भूगोल सम्झें | मेरो गाउँघर आइरह्यो आँखा अगाडि | उनीहरूले कांग्रेस भएकै कारणले राज्य र विद्रोही पक्षबाट भोगेको दोहोरो चेपुवा सम्झें | अहिले र यसअघि चलेका गठवन्धन र स्वार्थका जोड घटाउ पनि सम्झें सँगसँगै | त्यसो त किताबमा म जन्मे हुर्केको भूगोलका पनि निकै कुरा अटाएका रहेछन्, बिचौरका चेतोनाथ अधिकारीदेखि, दुराडाँडाका मुक्तिनाथ अधिकारीसम्म, अनि दुराडांडाकै खाजे दुराको शालिकदेखि सिन्दुरेढुंगासम्म पनि सम्झेका छन् लेखकले |

पार्टीको एघारौ महाधिवेशन- २०६२ मा, नरहरी आचार्यले उठाएका ४ मुद्दाहरू थिए-

पार्टी विधानबाट संवैधानिक राजतन्त्र हटाउने

मूलूकलाई प्रादेशिक संरचनामा लैजाने

संविधान सभाको चुनाव गर्ने

पार्टीको थप लोकतान्त्रिकरण गर्ने

अहिले फर्केर हेर्दा लाग्छ, पार्टी र सिंगो मुलुक क्रमश उनकै मुद्दामा अघि बढिरहेछ | त्यसरी गणतान्त्रिक नेपालको पूर्वाधार निर्माणमा गणराज्य अभियानमा लागेका नेतालाई उबेला महाधिवेशनमा मुस्किलले १४/१५ प्रतिशत मत मात्र प्राप्त भयो | हाम्रो आस्थाको पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको कथा सधै रोमान्चक लाग्छ मलाई |

त्यसो त त्यसको १० वर्षअघि बिक्रमाब्दको २०५२ फागुनमा कोइराला निवासको पत्रकार सम्मेलनमा उनले उठाएको गणतन्त्रको प्रसङ्ग अहिले हामीले प्राप्त गरेको आधुनिक गणतन्त्रको बिउ हो भन्ठान्छु म | जहिले पनि, जहाँ पनि त्यस ताका गणतन्त्रको महत्व, संविधान सभाको आवश्यकता, राज्य पुनर्संरचना र पार्टीभित्रको आन्तरिक प्रजातन्त्र र त्यसको सुदृढिकरणको आवाज चर्को रूपमा उठाउँदै आएका नेता नरहरी आचार्यले स्वाभाविक रूपले आफ्नो जीवनको पाठशालामा उक्त प्रसङ्ग ठाउँ ठाँउमा उठाएका छन् | सम्झेका छन् र समेटेका छन् | यस अर्थमा पनि किताब पढिरहँदा पाठकले नेपाली कांग्रेस पार्टीको ऐतिहाशिक दस्ताबेजहरूको बैकल्पिक र समानान्तर पाटो पढिरहेको महसुस गर्छ | प्राय घटना, परिघटनाहरू तिथि मिति र पूर्वापर प्रसंगहरू  सहित आएका छन् |  त्यस अर्थमा किताबको आमुखमा लेखकले यसरी लेखियो मेरो कथा  भनेर भने पनि यो उनको मात्र कथा नभएर उनीमार्फत आएको मुलुकको लोकतान्त्रिक आन्दोलन र गणतान्त्रिक नेपाल निर्माणको बहुआयामिक महत्वको कथा हो | हाम्रो कथा हो | पन्ध्र वटा अलग अलग परिच्छेद,  ७ वटा ऐतिहासिक महत्वका दस्तावेज तथा चिठीहरू र  शारदा शर्माको यौटा अत्यन्त महत्वपूर्ण आलेख बाहेकै पनि २११ वटा विभिन्न शीर्षक/ उपशीर्षकमा विभाजन गरी ६३६ पेजको बिशाल आयतनमा फैलिएको ऐतिहासिक महत्वको कृतिको साङ्गो पाङ्गो परिचर्चा त्यति सहज छैन | त्यो किताबको ऐतिहासिक महत्ता, गुणबेत्ता र विशाल आयाम स्पर्श गर्न यसको अध्ययन, पुनरावलोकन र संग्रह गर्न आवश्यक छ |

विपी नेपाल फर्केपछिका प्रसंगहरू, उनीमाथिका मुद्दाहरूको चर्चादेखि जनमत संग्रह र यसका पृष्ठभूमि हुँदै विपिको निधनदेखि सत्याग्रहहरूका विषयहरू पढिरहँदा किताबले इतिहासको साक्षी बसेको महसुस गर्छ पाठकले |

यौटा भयानक मस्तिष्कघाटबाट लामो समय सिकिस्त बिरामी परेर बोलीसमेत गुमाएर एकाएक बोल्न, हलचलसमेत गर्न नसकेर ओछ्यानमा पर्नु उनका लागि र उनका शुभेच्छुक तथा परिवारजनका लागि कति पीडादायक थियो होला, म कल्पनासम्म गर्न सक्छु | शब्दमा ठ्याक्कै व्यक्त हुन सक्दिन | अत्यन्त व्यस्त जीवन बिताउंदै, मानसिकरूपमा त्यत्तिकै सक्रिय रही सकारात्मक उर्जा र सोचले मुलुकको सामाजिक रुपान्तरणकालागि एकोहोरो भएर लागिरहेको यौटा इमान्दार नेता, जसलाई सम्झेर कार्यकर्ता गौरवबोध गर्थे, उही बिरामी पर्दा, लाग्थ्यो गणतन्त्रको विरूवा बिरामी परेको छ | लोकतान्त्रिक मूल्य र विधिको शासन रुचाउने बहुसंख्यक नेता तथा कार्यकर्तामाझ लोकप्रिय नेता त्यसरी ओछ्यान पर्नु साच्चै कल्पना बाहिरको कुरा हो |

उनको पूर्ववर्ती किताब, गणतन्त्रको यात्रामा उनले आफ्नो बन्दी जीवनको वृतान्त प्रस्तुत गरेका थिए | उनी वन्दी रहेको कालखण्डमा चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचारको मन्थनलाई दैनिकीका रूपमा दस्तावेजीकरण गरिएको उक्त किताबमा देशमा शाहवंशीय राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयसित जोडिएका महत्वपूर्ण घटनाहरूलाई केन्द्रमा राखिएको थियो | त्यसको सापेक्षमा यो किताब जीवनको पाठशालाको आयाम फराकिलो र विस्तृत छ | उक्त किताबको उक्त समयका कतिपय सन्दर्भ यसमा पनि आउँछ | र पनि, उक्त कृति पढिसकेको पाठक फेरि यो किताब पढिरहँदा पनि त्यही कारणले असहज या पट्यार महसुस गर्दैन | यो जीवनको पाठशालामा रहेको लेखकीय सामर्थ्य हो भन्ठान्छु म |

भ्रष्टाचारको आरोप लागिसकेका व्यक्तिले नै त्यसको सामना गरेर निर्दोष सावित हुनुपर्छ | त्यसमा पार्टी तानिनु हुँदैन | पार्टीभित्र र बाहिर बारम्बार यस्तै धारणा राख्ने  नेता आचार्यले सो कुराको पनि सविस्तार चर्चा गरेका छन् | चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का र जयप्रकाश आनन्दका प्रसंगहरू उल्लेख गर्दै उनीहरू मात्रै राष्ट्रिय भ्रष्टाचारी सावित हुनपुग्नुलाई चाहीं अचम्मको संयोग मानेका छन् | उनीहरू जस्तै तथा सोभन्दा बढी आर्थिक हैसियत र स्थितिमा पुगेका अरू कुनै पनि अन्य पार्टीका नेताहरूलाई नतानेकोमा आश्चर्य मानेका छन् र संगै अख्तियारकै अधिकारीहरूको भ्रष्टताको पनि खुलेर प्रश्न उठाएका छन् | र यसलाई कतिपय संदर्भहरूमा तत्कालीन राजा ज्ञानेन्द्रको डिजायनसित जोडेर हेर्ने गरिएको तर्फ पनि संकेत गरेका छन् |

जीवनमा पछाडि फर्केर निर्णयहरू सच्याउन वा अर्को किसिमले हिंडन त सकिन्न, तर पछाडि फर्केर बुझ्न, सिक्न सकिने कुराहरू धेरै छन् | …कितापले नसिकाएका कुरा जीवनले सिकाइरहेछ यतिखेर, सिकिरहेछु | लागिरहेछ- जीवन यौटा पाठशाला हो |

 यसरी जीवनलाई यौटा अनन्त पाठशाला ठान्ने मानवतावादी सोचका चिन्तक तथा विचारक आचार्यको यो महत्वपूर्ण कृतिमा पढ्न  छुटाउन नहुने अंश हो, शारदा शर्मा उर्फ शारूको  त्यस पछिका बाँकी कुरा …

हाम्रो जीवनमा यस्तै एउटा कल्पना बाहिरको कुरा भयो एक बिहान-बाबा गम्भीर बिरामी पर्यो | बाबा अर्थात्  नरहरी आचार्यको सापेक्षमा उनी भन्छिन्- जीवनमा बाँचेका दिनको गन्ती लम्ब्याउने वा जति बाँचिन्छ, त्यसलाई अर्थपूर्ण बनाउने भनेर विकल्पका कुरा गर्छन् मान्छे | मलाई बाबाका निम्ति दुवै चाहिन्थ्यो | 

 समयक्रममा चिकित्सा र उपचारसम्बन्धी धेरै भ्रमहरू पनि टुटे | अनुभव सबैभन्दा ठुलो गुरु रहेछ |

मान्छेको जीवनमा कसरी प्राथमिकताहरू परिवर्तन हुन्छन्, खुसीका बिम्बहरूको निर्माण-विनिर्माण कसरी गर्छ जिन्दगीले, बिस्तारै बुझ्दैछु |

 किताबमा धेरै ठाउँमा भिन्नभिन्न स्वरूपमा शारदा शर्मा भेटिन्छ, उनको छाया र सुवास भेटिन्छ | जहाँ, जहाँ उनी भेटिन्छन्, मुस्कुराउँदै भेटिन्छन्- हजार पीडाहरू लुकाएर | उनको उपस्थिति जोकोही पाठकलाई प्रेरणादायी लाग्छ | उनले बाबाको जीवनको कथा लेख्न थोर-बहुत सहयोग गर्न सक्ता सन्तोष लागेको सुनाएकी छिन् |  बाबालाई आफ्नो तर्फबाट यही नै गुरुदक्षिणा टक्र्याएको बताएकी छिन् | हामी वहाँबाट यी र यस्तै दीर्घकालीन महत्वका गुरु दक्षिणाहरूको अपेक्षा गर्दछौं | उनको यो आलेख शान्त र अविरल बगिरहेको हिउँद यामको नारायणी  जस्तै छ |

मलाई के कुरामा विश्वास छ भने आजकल प्राय कवि/लेखकका घरमा आआफ्नै प्रकार र शैलीका  निजी पुस्तकालयहरू  छन्,  जहाँ आफूलाई मनपरेका, आफूले पढिसकेका अथवा पढ्न चाहेका केही कृतिहरू छन् | ती मध्ये  ५/७  वटा किताब प्राय बेडरुममा सिरानी नजिकै छन् | मेरा पनि सिरानीमा रहने किताबहरू कैलेकाही फेरिए पनि यौटा किताब बर्षौंदेखि त्यही छ, त्यो हो, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त | जुन, जहिले पढ्दा पनि मलाई नयाँ लाग्छ | भाषा, साहित्य, राजनिती, र दर्शनका हिसाबले अतुलनीय लाग्छ, जहाँबाट कुनै अनुच्छेद झिक्दा लाग्छ, घरको गार्होबाट यौटा ढुंगा झिकियो | त्यसरी सघन ढंगले पनि संस्मरण लेख्न सकिँदो रहेछ भन्ने कुरा मैले विपिको आत्मवृतान्त पढेर जानेको हुँ | जीवनमा आफूले भोगेका, देखेका, सुनेका अथवा जानेका विषय, प्रसङ्ग, जानकारी अथवा घटनाहरू मध्ये के कति  विषय प्रसंगहरूलाई कसरी सघनतापूर्वक प्रस्तुत गर्न सकिन्छ भन्ने नमुनाको यौटा ऐतिहासिक दस्तावेज हो उक्त कृति |

केही  घटना, प्रसङ्ग, सम्झना र सम्बन्धहरू लेखकले जुन रूपमा सम्झनु भयो र सुनाउनु भयो,  त्यही स्वरूपमा प्रस्तुत गर्न खोज्नु जीवनको पाठशालामा सीमाहरू हुन् | जानकारी, सूचनाहरूको संग्रह, घटनाहरूको मुचुल्का र विषयहरूको अनावश्यक वर्णनले कतिपय  ठाउँमा पाठकलाई यौटै ठाउँमा रुमलिराख्छ | जीवनको पाठशालाका  सम्झना र सम्बन्धहरूलाई कुनै पनि नझिकी, कत्ति पनि नघटाइ, कृतिलाई अझ  सघन बनाउन सकिन्थ्यो, क्षेत्रफ़ल घट्न नदिकन घनत्व बढाउन र आयतन घटाउन सकिन्थ्यो | यसतर्फ सम्पादक, प्रकाशकको ध्यान पुगेन कि भन्ने पनि लाग्छ कतिपय ठाउँमा | यसो गर्न सकिएको भए, यो कृति विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्तको हाराहारीमा पुग्थ्यो भन्ने कुरामा दुइ मत छैन |

जाँदा जाँदै, व्यक्ति, श्रष्टा, विचार र नेता हरेक स्वरूपमा आफुले अत्यन्त आदर र सम्मान गर्ने श्रद्देय नरहरी आचार्यको आरोग्य, दिर्घायु, सुस्वास्थ्य र सुखमय जीवनको कामना गर्दछु | यहाँहरू सबैको जय होस् |

प्रतिक्रिया
Loading...