साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आरिस लाग्दा लघुकथाहरूको सङ्ग्रह 

देश र परिवेशअनुसार माग्नेहरूको स्तर र नैतिकतासमेत फरक फरक हुने कुरा देखाइएको छ, माग्नेहरूमा । समाज आफ्नो कर्म र कुकर्म भुलेर पीपललाई दोषी देख्छ । यही अन्यायपूर्ण व्यवहारप्रति पीपलको सुस्केरामार्फत् गुनासो पोख्छ ।

थालनी:

आज भोलि म लघुकथाको पाठक हुने प्रयास गर्दैछु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थेँ । वि.सं. २०४९-२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम्म पढ्थेँ । सो अवधिका केही अङ्क गरिमा र मधुपर्क आज पनि सुरक्षित नै छन् । मधुपर्कमा छापिएका केही लघुकथा पनि पढेको थिएँ । तर लघुकथा के हो ? कसरी लेखिन्छ ? यसका आवश्यक तत्त्वहरू के के हुन् ? भन्नेतिर दिमाग गएन । खालि पढेँ मात्र । आनन्द लिएँ । बस् सकियो ।

bahulako diary small and inside post

लघुकथा आजको अवस्थामा आइपुग्न क-कसको र के- कति लगानी छ ? यस बारेमा फरक सन्दर्भमा व्याख्या होला नै । यस प्रसङ्गमा म आफ्नो लघुकथाप्रतिको मोहका बारेमा अलिकति कोट्टयाउने जमर्को गरेको छु ।
जब म चिर निद्राबाट ब्यूँझेँ । त्यो समयमा जताततै लघुकथाकाबारेमा हल्लाखल्ला मच्चिएको सुनेँ । देखेँ । लाग्यो यो लघुकथाको स्वर्णकाल हो । यही पेरिफेरिमा महानन्द ढकाल (हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका तत्कालीन अध्यक्ष) ले कोहलपुरबाट निस्कने मिसन टुडेलाई शनिबारीय लघुकथा विशेष बनाउने सुचना सामाजिक सञ्जालमा राख्नुभयो । अनायसै मलाई पनि लघुकथा लेख्ने लहड चल्यो । ‘कोरोना क्याप्सुल’ शीर्षकको लघुकथा लेखेर पठाएँ । बिडम्वना ! मिति २०७७ साल साउन १० गतेको मिसन टुडेमा मेरो पनि लघुकथा छापियो । म एक बित्ताको नाक फुलाएर ब्रुक्क तीन बित्ता उफ्रिएँ ।

केही दिनपछिको एउटा भेटमा उहाँ (ढकाल) ले भन्नू भयो – ‘हाम्रो पश्चिमतिर सबै विधामा कलम चलाउने स्रष्टाहरू छन् तर लघुकथाको गतिविधि कम भयो । तपाईं लघुकथामा लाग्नुस् ।’

आशीर वचनलाई शिरोपर गर्दै हुन्छ भनेँ । तर पर्यो फसाद । लघुकथाको छेउ टुप्पो थाह छैन । भारी बोक्न तम्सिएँ । मनले सान्त्वना दियो लेख्ने भनेसी लेख्ने । युद्धको मैदानमा हातहतियार बिना होमिएँ । खालि एउटा मन छ । दैनिक जसो लेख्न थालेँ । म सम्झन्छु, काँचुली खबरलाई जसले मेरा लघुकथालाई निरन्तर प्रकाशित गरिदियो । ठूलो गुण लगायो । म अझै हौसिएँ ।

छविलाल खड्का

लघुकथा कुनै, आधुनिक नेपाली लघुकथा र हाम्रो लघुकथा पाठशाला जस्ता फेसबुक पेजहरूमा जोडिएँ । किनकि म मिसन लघुकथामा थिएँ । लघुकथा कुनोमा खासै आफ्ना लघुकथा पढिए जस्तो आभास भएन । आधुनिक नेपाली लघुकथामा फाट्टफुट्ट कमेन्टहरू आउँथे भने हाम्रो लघुकथा पाठशालाले निरन्तर सल्लाह सुझाव दिन थाल्यो । दूध दिने गाईको पछि लाग्नू भनेझैँ म पनि पाठशालाकै नजिक पुगेँ । अलि सक्रिय भएँ । प्रायः जसो दिनमा लघुकथा पोष्ट गर्न थालेँ । ‘सिक्ने र सिकाउने’ उद्देश्य मुताविक सञ्चालित पाठशालाका हरेक कार्यक्रममा सहभागिता जनाउन थालेँ ।

परिणामत: मेरा लघुकथा पनि बीसको उन्नाईस भए । लघुकथाका सामान्य सिद्धान्त सुनेँ । पढेँ । लेख्न छडिन । पाठशालाका लता केसी, राजु क्षेत्री अपुरो र डा. शेखर कुमार श्रेष्ठसङ्गको सामिप्यले झन् लगाव बढ्यो ।
करिब करिब ढेड वर्षे लघुकथा यात्रामा फेरि मलाई चिमोट्नु भयो, उहाँ (ढकाल) ले । भन्नू भयो लघुकथा सङ्ग्रह निकाल्नुपर्छ । म बिलखबन्दमा परेँ । मेरा लघुकथा बुकमा निकाल्न हुने हुन् कि हैनन् ? आफैँलाई विश्वास छैन । तर उहाँले सियो घोचिरहनु भयो । यो उक्साहटले ममा पनि नजानिँदो रहर टुसायो । अग्रजहरूले भनेका धेरै कुरामध्ये एउटा आधार पूरा गरेँ जस्तो लाग्यो । त्यो थियो लघुकथा सङ्ख्या । मसँग सयको हाराहारीमा थिए । यो सम्झेर गर्वानुभूति गरेँ । अलिकति दम्भ बढ्यो ।

एकदिन पाठशालाका एड्मीन लता केसी दिदीसँग छुस्स कुरा उठाएँ । उहाँले पनि सकारात्मक किसिमले लिनुभयो । झन् हौसिएँ । मेसेज आयो- ‘कतिवटा लघुकथा राख्ने बुकमा ?’ मैले लेखेँ – ‘चौन्न वटा ।’ फेरि मेसेज आयो उसो भए साठी वटा लघुकथा छानेर पठाइदिनू । “जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा ।” गर्दै गएँ । हल्का सम्पादन सहित नयाँ पेज बनाउनुभयो । केही अग्रजहरूबाट हतार नगरौँ कि भन्ने सल्लाह सुझाव पनि नआएका होइनन् । तर पनि मलाई भूत चढ्यो । निकाल्ने भनेसी निकाल्ने । त्यसपछि राजु क्षेत्री अपुरो र शेखर कुमार श्रेष्ठको ग्रिन सिग्नल पाए पश्चात् निस्कियो, ‘आशीर्वाद’ लघुकथा सङ्ग्रह । यो त थियो लघुकथा सम्बन्धी आफ्नो कथा भयो ।

ममा जागेको लघुकथाको भोक मेटाउन खान्की खोज्न थालेँ । म मोफसलको । यताातिर लघुकथाका खुराक खासै भेटिन्न । मेरो भकारीमा पूर्णिमाको लघुकथा अङ्क, चोटदेखि मृत्युसम्म, मान्छेदेखि सावधान, कमलको फूल, बार्दली, ओरालोको सिलसिला र पाठशाला भाग-२ थिए । जहाँ इच्छा, त्यहाँ उपाय । तँ आँट, भगवान्ले पुर्याउँछन् भनेझैँ भयो । श्रीराम राई सरसँगको भलाकुसारीमा केही लघुकथा सङ्ग्रहहरू भएको जानकारी पाएपछि तीन ट्रिपमा करिब साढे दुई दर्जन लघुकथा सङ्ग्रह मगाएँ । नाम‌ भन्नू पर्दा यस्ता रहेछन् – स्वप्निस्तान, यायावर, गोदान, फाटेको चप्पल, ईश्वरका कथाहरू, बिन्दुमा सिन्धु, विरुपाक्ष र देश, एकलव्य दष्टि, प्रसाद, ईश्वरको मृत्यु, झिल्का, प्रतिबिम्ब, भ्रममार्ग, आँखी झ्याल, कमाइ, मरुभुमिमा विस्फोट, संवैधानिक पत्नी, शिखर चढिरहेको मान्छे, दीपक र दीपकहरु, महँगी- भोक र सार्वभौमसत्ता, दिमागको बिर्को, कवच, आघात, कर्कलाको शीत, नियतीको खेल, अणु र पहाड, रातो चामल, मदुस (खेम सरको सम्पादन) र लघुकथाको रचना विधान ।
यीमध्ये करिब सबै बुक एकसरो पढेँ । केहीमा धीत मरेको छैन । पुनः पढ्नेछु । दोहोर्याएर पढेको पहिलो लघुकथा सङ्ग्रह हो- ‘ईश्वरको मृत्यु’ ।

खेमराज पोखरेल सरका लघुकथा सम्बन्धी विचारहरू केही अनलाइनका परिचर्चा कार्यक्रममा र केही छापामा आएका आलेखहरू मार्फत सुन्ने र पढ्ने अवसर पाएको छु । यसैलाई आधार मान्ने हो भने उहाँ लघुकथाको हकिकत स्रष्टा र द्रष्टा हो । उहाँका यिनै विचार र पढिएका लघुकथाको पेरिफेरिमा रहेर ‘ईश्वरको मृत्यु’ लघुकथा सङ्ग्रह उपर पाठकीय टिप्पणी राख्ने धृष्टता गर्दैछु ।

ईश्वरको मृत्यु :

सिद्ध हस्त कलाकार अमित घिमिरेको अमुर्त कलाले सजिएको आवरण आकर्षक देखिन्छ । स्वदेश प्रकाशन प्रा. लि. बागबजारले प्रकाशन तथा बजार व्यवस्थापन गरेको खेमराज पोखरेलको लघुकथा सङ्ग्रह ईश्वरको मृत्यु बजार आउन २०७६ साल पर्खनै पर्यो । कभर पृष्ठ बाहेक ३४ पृष्ठमा अग्रभागमा नाम, ‘ईश्र्वरको मृत्युमा खेमराज पोखरेल’ विषयक नारायण तिवारीको भूमिका, ‘ईश्र्वरको मृत्युसम्म आइपुग्दा मेरो लघुकथा यात्रा’ विषयक आत्म कथन र विषय सुचिले ओगटेको छ ।

बाँकी १३४ पृष्ठमा जम्मा ७१ वटा लघुकथा ‘गणेशको गद्दी’देखि ‘डल्लेको पढाइ’सम्म फैलिएका छन् । उनले जम्मा ३५५ वटा लघुकथालाई पाँच (पछ्यौरीको आइसक्रिम, दह्रो लौरो, सिमानामा आमा, रामशाहको चौतारो र ईश्वरको मृत्यु) वटा लघुकथा सङ्ग्रह मार्फत पाठकसामु पस्केका छन् । अब ईश्र्वरको मृत्युभित्र रहेका लघुकथाहरुको सन्दर्भमा छोटो चर्चा गरौँ ।

धेरै जसो सामान्य कथानक भएका लघुकथालाई रुन्चे कथा भन्न मन पराउने खेमराज पोखरेलले सामान्य कथालाई पनि चातुर्यपूर्ण ढङ्गबाट कथाको विकास गराउन माहिर मानिन्छन् । पौराणिक पात्र र धार्मिक कथ्यको सहयोग लिएर चाकडी चाप्लुसी र कोसेली टक्रयाएर स्वार्थ लिने प्रवृत्तिलाई कटाक्ष गरेको लघुकथा हो, गणेशको गद्दी । बहुरूप धारण गर्ने क्षमता भगवानले मात्र दिन्छन् भन्ने पौराणिक विश्वासलाई खोल बनाएर वर्तमानमा केही चटकीहरुले छेपाराले रङ्ग फेरे झै बहुरुप प्रदर्शन गरि आफ्नो दुनो सोझ्याउने गरेको प्रवृत्तिलाई बहुरूपियाले उदाङ्गो पारेको छ ।

त्यस्तै छोराको तुलनामा छोरीलाई कम्जोर/असाय वस्तुको रूपमा चित्रण गरेको लघुकथा डेड इन्ड हो । अब्बल लघुकथाको उदाहरण हो, झरेका ताराहरू । अबोध बाल जिज्ञासाको सहाराले समाजमा भएको धनी र गरिबबीचको विभेदलाई उजागर गरेको छ । जति हुने, उति रुने नेपाली उखान छ । हुनेखानेले यहाँ अपरचुनिटी नदेख्ने र सन्तानको भविष्य खोज्ने भुमरीमा परेको एलाइट वर्गले बाबुआमालाई गरेको व्यवहारप्रति जमिनमा भासिएको क्षण कथाले बृद्ध-बृद्धाको कारुणिक पीडा बोल्छ ।

सम्बन्धित पोस्टहरु

बाघ-भालु

‘सिमाना’भित्रको अनुभूति

लघुकथाः बाध्यता

उत्पादनको साइनो नाफासङ्ग जोडिने र नाफा निकाल्न कैफियत गर्नै पर्ने बर्तमान परिस्थितीमाथि कटाक्ष गरेको छ, बौद्धिक खेतीले । मै खाऊँ मै लाऊँ खाले मानवीय प्रवृतिको पतोन्मुख अवस्था कसरी आउँछ भन्ने कुराको चित्रण गर्न सफल कथा हो, ओत ।

ठूला बडाको वैभवका अघि चुपचाप भए नि पिठपछि यथार्थ कुरा लुकेको हुँदैन । जसले गर्दा ठूला बालाई सबैले पापी भनेको सुनेको बच्चाले धुन्धुकारी उनका घरमा राखिदिएर वास्तविकताको पटाक्षेप गरिदिएको छ । कलियुगको मान्छे असली रूप लुकाएर मुखुण्डोको सहायताले बाँचेको तीतो यथार्थ खोलको करामतमा महसुस गर्न पाइन्छ ।

अति गरे नि अत्याचार नगर्नू भन्छन् । आवेगमा गरेका गलत निर्णयले कति पोल्दो रहेछ । पश्चातापको एसिडले जलाएको कथा हो, एम्बुलेन्सको साइरन । गरे हुन्छ, छरे पाक्छ भने झै अनाथालयको असायले पनि प्रगति गर्यो । तर आफ्नो धरातल बिर्स्यो । नाक बिम्बको रूपमा आएर सवक सिकउँदै भन्छ- आमाको सपना नबिर्स । त्यही नाक हो, आमाको चिनो । नाक कान छेडिएर दासी बनाउने परम्पराका बिरुद्ध विद्रोह बोलेको कथा हो, सुनको कोर्रा ।

झुठका पुलिन्दा देखाएर मिठा सपना बाँड्दै सत्तामा पुगेर भत्ता पचाउने नेपाली राजनीतिज्ञहरूको क्षणिक स्वार्थले कुन दिन देशै बर्वाद हुन्छ भनी खबरदारी गर्दैछ, ढाँटको सत्यले । अनुत्पादक लगानी हो साहित्य । धेरैको जिब्रोमा झुण्डिएको शब्द हो यो । साहित्यमा भविष्य खोज्नेले भोग्नु परेको हरिबिजोकको कथा हो, भारा । सृष्टि कसैले चाहेर रोक्नु हुँदैन र रोकिँदैन पनि । यही सन्देश दिएको छ, परागका रागहरूमा । अचानोको चोट खुकुरीलाई के थाह ? देवता, धर्म, सभ्यता, आदर्श र कर्तव्यका नाममा स्त्री गमन गर्छ र उसैलाई सोध्छ तिमीलाई सबै कुरा कसरी थाह भयो ?

नानीमा लागेको बानी, क्षणिक देखावटीबाट परिवर्तन हुन सक्दैन भन्ने यथार्थता झल्काउन भ्यालेन्टाइन डे सफल छ । जननी जन्म भुमिश्च : सम्झायो डिएनएले । कमिसनको जालोमा निर्लिप्त प्रशासनिक संयन्त्रको एक्स रे गर्न सफल छ, कमिसन । गाउँले र सहरियाको सक्कली र नक्कली आदर्शलाई छताछुल्ल पार्यो, पर्चपखानले । पूजापाठका लागि पञ्च कन्या चाहिने धार्मिक मान्यता एकातिर छ भने आधुनिक समाजमा जन्मिएको विकृतिका कारण छोरीको भ्रुण हत्या गर्ने डरलाग्दो प्रवृत्तिप्रति नवकन्याले चुनौतिको पहाड खडा गरेको छ । केस्रा केस्रा केलाएर भेटिएका छिद्रबाट छिरेर पनि लाञ्छना लाउन पछि नपर्ने समाजप्रति आक्रोस र विरोध गरेको कथा सौतेनी माम्लो हो ।

देश र परिवेशअनुसार माग्नेहरूको स्तर र नैतिकतासमेत फरक फरक हुने कुरा देखाइएको छ, माग्नेहरूमा । समाज आफ्नो कर्म र कुकर्म भुलेर पीपललाई दोषी देख्छ । यही अन्यायपूर्ण व्यवहारप्रति पीपलको सुस्केरामार्फत् गुनासो पोख्छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण उपर व्यङ्गय हान्न सफल कथा हो, बैसाखी । विदेश बस्ने छोरा-बुहारीले विभिन्न बहाना बाजी गरेर बाबू आमाप्रति गरिएको व्यवास्तालाई उदाङ्गो पार्न सफल कथा प्लेनको टिकट हो । कसैले उठाउने कदम र व्यवहार अनुसार धारणा बनाउने नपुंसक समाजको चित्रण गर्छ, बबिताहरू लघुकथामा । नेपाली भनेको फिलिङ्गस हो । सिमाना, दौरा सुरुवाल र नागरिकताले मात्रै असल नेपाली हुँदैन । नेपालमै बस्ने, दौरा सुरुवालको ढोँगभित्र देश बेच्नेभन्दा विदेशमा बसेर रेमिट्यान्स पठाएर देश चलाउन मद्दत गर्नेहरू असल नेपाली हुन् ।

समय परिस्थितिले च्यापिएर एकल भएका महिलाले भोग्नु परेको प्रताडना उजागर गर्न काकीको पुनर्बिहे सफल देखिन्छ । अपराधीहरू नै सज्जनको नौटङ्की गर्न खोज्दा आइलागेको समस्याले थिलोथिलो पारेको कथा भ्रुण हो ।
चार दिवारभित्र सुरक्षित हुन्छ भन्ने भ्रम र नालायक सरकारका कारण हत्या हिंसा र बलात्कार बढ्दा अबोध बच्चालाई सही उत्तर दिन नसक्ने अवस्थाको पीडा पोखेको था हो, सुरक्षा । रहर या बाध्यताले गर्नु परेका कर्म या कुकर्मलाई हेर्ने दोषी चश्माका कारण महिलाले खेप्न परेका लाञ्छना कसको दोषले देखाउँछ । जुनी जुनी सयौ जुनीसँग जिउने र सङ्गै मर्ने बाचा गरेको लोग्ने स्वास्नीको मृत्यु पश्चात् अर्को बिहे गरेर पनि उनैको लागि बिहे गरेको भ्रम छर्न पछि नपर्दा मृतात्माले सोधेको प्रश्नको उत्तर दिन नसकेर नाजवाफ भएको कथा हो, परमयात्रा । सरकारी कार्यालयहरूमा हुने गरेको संस्थागत भ्रष्टाचारको चिरफार सिस्टम कथाले गरेको छ । भौतिक सम्पतिलाई सभ्यताको परिचायक ठान्ने दिग्भ्रमको नमुना हो, सभ्य बस्ती । जुनसुकै तरिकाबाट भए नि आफूले अवसर पाउँदा सब ठिक कथम् कदाचित अवसर गुमाउन परेमा सबै नालायक, सिल्ली, पक्षपाती भएको आरोप लगाउने प्रवृत्तिलाई लादीको रोइलाले उजागर गरेको छ ।

निचोड :

लघुकथा क्षेत्रमा परिचित नाम हो, खेमराज पोखरेल । छोटै समयमा लघुकथाको श्रीबृद्धिका लागि तन, मन र धन दिएर लागेका स्रष्टा भन्दा अतियुक्त नहोला । पछ्यौरीको आइसक्रिम(२०७३), दह्रो लौरो (२०७३), सिमानामा आमा(२०७५), रामशाहको चौतारो (२०७५) र ईश्वरको मृत्यु(२०७६) जस्ता लघुकथा सङ्ग्रह पाठकसामु पस्केका स्रष्टाले मदुस(२०७६) लघुकथाहरुको सम्पादन समेत गरेको पाइन्छ । निकट भविष्यमै छैटौँ लघुकथा कृति आउने कुरा सुलसुले मार्फत जानकारी पाएकोछु , शुभकामना ।

वजनदार लघुत्त्वपूर्ण कथ्य, बक्रिय तीव्र विकास, झट्कायुक्त विपरितार्थक समापन, पात्रमा सिमितता, भाषामा सरलता, व्यङ्गय र बिम्बको भरपुर प्रयोग उनका लघुकथाका विशेषता हुन् ।

‘ईश्वरको मृत्यु’मा ७१ वटा लघुकथा समेटिएका छन् । लघुकथा सिद्धान्तको साँचोमा ढालेर तयार पारे जस्ता बान्की परेका लघुकथा छन् । झरेका ताराहरू, विवेकी कुकुर, खोलको करामत, आमाको माया, बैशाखी, प्लेनको टिकट, सभ्य बस्ती, नवकन्या, सौतेनी माम्लो, दोबाटाहरू, भारा, सक्कली मलामी, बौद्धिक खेती, एम्बुलेन्सको साइरन, ईश्वरको मृत्यु, परागका रागहरू, भ्रुण, कसको दोष, सिस्टम, भातैको कुरोजस्ता लघुकथाहरूले पाठकीय मनभित्र पसेर मथिङ्गल हल्लाउन सफल छन् । उनका यस्तै यस्तै लघुकथाहरू आरिस लाग्दा छन् तर के गर्नु ? तातो पानीले घर नजल्दो रहेछ ।

लघुकथा बुनोटी शिल्पी लोभलाग्दो छ । भाषा शैली सरल छ । लघुकथा आयामका दृष्टिले ठिक्कका छन् । फरक भुगोलीय परिवेश अनुभव गर्न पाइन्छ । उनकै कथाको सम्वाद पैंचो लिएर भन्दा भुतपूर्व नेपाली भएर पनि नेपाली साहित्यप्रतिको लगाव सलाम योग्य छ । यसैले पनि होला उनका कथामा डायस्पोरिक चेत देखिनु स्वभाविकै मान्नु पर्छ । उनको बुझाइमा लघुकथामा हुनुपर्ने आजश्यक तत्वहरू यस्ता छन् :

१) दृष्टि बिन्दु
२) लघुत्व
३) सुक्ष्मता
४) सूत्रता
५) तिक्ष्णता
६) बक्ररेखीय तीव्र बहाब
७) सौन्दर्य
८) शिल्पता
९) रस निदान
१०) बुनोट ।

यति भनी रहँदा सिद्धान्त त: कुरा गरे जसरी लघुकथा लेख्न कठिनै रहेछ । यो तथ्य खेमराज पोखरेलका केही लघुकथामा पनि पाइन्छ । राम्राहरूको माझमा भएर पनि त्यसो देखिएका हुनसक्छन् । सम्पादन पक्ष अलि कम्जोर भयो कि भन्न सकिने ठाउँ देखिन्छ । वर्ण विन्यासमा आएको अवरोधले खज्मजिएको भेटिन्छ । र पनि मार्सी चामलको भातमा एकाध बियाँ बाहेक हरर बासनादार मिठो भातले तृप्त बनाउँछ ।

छोटी मुख, बढी बात भए माफी चाहँदै अहिले यहीँ बिट मार्छु ।

लेखक परिचय
छख
छविलाल खड्का
प्रतिक्रिया
Loading...