अहिलेभन्दा करिब चालीस वर्ष पहिले जनकलाल शर्माकृत ‘जोसमनी सन्तपरम्परा र साहित्य’ नामक पुस्तक हातमा परेको थियो । उक्त पुस्तकले वि.स. २०२० मा मदन पुरस्कार पाएकाले पनि मेरो निम्ति विशिष्ट थियो । नेपाल भूमिमानै मौलिएको जोसमनी सन्तपरम्पराको बृहत् स्वरूप जान्ने अवसर पाएँ । केही अनुयायीहरू भेट्ने अवसर पनि पाएको थिएँ । जोसमनी सन्त परम्परा सन्त धिर्जेदिलबाट शुरु भएको भनिए तापनि यसलाई जनताको सामु ल्याउने श्रेय गुल्मीको रेसुङ्गामा जन्मलिएको शशिधरलाई जान्छ । उनी पृथ्वीनारायणका समकालीन थिए । कुनै समय यसको अनुयायीमा राजा रणबहादुर शाहदेखि भीमसेन थापाका भाइसम्म थिए । रणबहादुर शाहको पालामा जोसमनी सन्त परम्परा राज्यको धर्म सरह थियो भन्ने कुरा जानकारहरू बताँउछन् । तर यसलाई नयाँ उचाइ चाहिँ वि.सं. १८७८ मा फिकलमा जन्म लिएका ज्ञानदिल दासले दिए । उनको बारेमा अध्ययन गर्दै जाँदा केही तथ्यहरू फेला परेका छन्, किताबसिंह राईद्वारा अङ्ग्रेजीमा लिखित ‘सन्त ज्ञानदिल दास’ सन् २००४ मा भारतीय साहित्य अकादमीले प्रकाशन गरेको पुस्तक फेला परेको छ । उनको बारेमा गहन अनुसन्धान गरेर लेखिएको पुस्तक चाहिँ वीरभद्र कार्कीढिलीले तयार पारेका छन् । तर सम्पादित ‘सन्त ज्ञानदिल दास- अध्ययन ग्रन्थ’ नै मुख्य हो । वि.स. २०७१ मा सिक्किमबाट जयकुमार राईद्वारा प्रकाशित यो पुस्तकमा उनको जीवनीदेखि काव्यात्मक यात्रासम्मको इतिहासलाई समेटेको छ । भानुभक्तभन्दा सात वर्ष र जङ्गबहादुरभन्दा चार वर्ष उमेरमा साना ज्ञानदिल दास जङ्गबहादुरको कोपभाजनमा परी भारत पसेको इतिहासमा लेखिएको छ । जीवनको उत्तरार्ध सिक्किममा बिताएकाले पनि सिक्किमी जनताको उनीप्रति अपार प्रेम यो पुस्तकको प्रकाशनबाट नै झल्किन्छ । ठूलो आकारमा ३२८ पृष्टको यो भीमकाय सचित्र पुस्तकमा नेपाल र भारतको गरी जम्मा ५० जनाको लेख र अन्तर्वार्ताहरू प्रकाशित भएका छन् । भानुभक्तको रामायण प्रकाशित हुनुभन्दा १० वर्ष पहिले सन् १८७७-मा ‘उदय लहरी’ दार्जीलिङमा लेखिएको, मूर्धन्य समालोचक रामकृष्ण शर्माको ठहर छ ।
पुस्तकको सम्पादकीयमा वीरभद्र कार्कीढोली लेख्छन्, “प्रस्तुत सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ यसरी यहाँ हाम्रा नेपाली जाति, भाषीका साहित्यकार लेखक, पाठकवर्ग, शोधार्थी, विद्यार्थी साथै जोसमनी सन्त परम्परा निर्गुणभक्ति धाराका सम्पूर्ण अनुयायी जिज्ञासु महानुभाव माझ प्रस्तुत ग्रन्थ यस रूपमा तयार भएर आइपुग्न सफल बनेको छ ।”
विशेष नेपाली जाति भाषीमाझ उता नेपालदेखि लिएर यता भारतको दार्जीलिङ र सिक्किम भूमिका जनमानसमा जोसमनी सन्त, निर्गुणभक्ति धाराका विषयमा, अहिलेका पिंढी अनभिज्ञ छन्, अन्योलमा छन् । तर सन्त ज्ञानदिल दासको नामबारे भने उति अनभिज्ञ छैनन् नै लाग्छ । अतः नेपालमा जुन किसिमले सन्त ज्ञानदिल दासका रूपले प्रभावित छन्, उति र उसरी नै यता दार्जीलिङ, सिक्किम भूमिमा उनी परिचित छैनन् । दार्जीलिङ र सिक्किममा उनको परिचय प्रभाव अलग्गै छ । नेपालमा ज्ञानदिल दासलाई जसरी चिन्दछन्, बुझ्दछन् र जान्दछन् । यता दार्जीलिङ र सिक्किम भूमिमा उनलाई अर्कै रूपमा चिन्दछन्, बुझ्दछन् र श्रद्धापूर्वक मान्दछन् । नेपालमा उनको सङ्घर्ष इतिहास र यता दार्जीलिङ सिक्किमको सङ्घर्ष इतिहास बेग्लै छ । वस्तुतः ज्ञानदिलको जता हेर्यो, देख्यो उतै सङ्घर्षको भुँवरीभित्र कुनै जोखिम अङ्गजस्तो लाग्छ । यसरी सन्त ज्ञानदिल दासका सन्त प्रभाव, प्रताप, सन्त शक्ति अभियानमा भेटिने अनेकौँ विविधता छ । त्यो विविधता एकै विषयको भने होइन । उनी विविध सन्त लीलामा पाइने सन्त हुन् । अद्भूत शक्तिशाली सन्त, अतः सन्त ज्ञानदिल दास विषय खोज, अनुसन्धान हुनु, गरिनु सहज विषय होइन, छैन । उनको बारे अनेक विषयमा खोजी गरिनु आवश्यक छ । तर समय धेरै टरिसकेको छ । अनि ज्ञानदिल दास एउटा अति महत्त्वपूर्ण तर अति अप्राप्य थोक बन्दै गएको पनि छ ।
यस पुस्तकमा डा० स्वामी प्रपन्नाचार्यको मुनि सम्प्रदायबाट जोसमनी र सन्त लेख उल्लेख्य छ, भने प्रा० घटराज भट्टराईले जोसमनी सन्तपरम्परामा सन्त ज्ञानदिल दासबारे निकै खोज गरेका छन् । त्यस्तै डा० नृसिंह कुमार खत्रीको सन्त ज्ञानदिल दास इतिहासको पानामा, प्रा० नवलकिशोर राई, नेत्रमणि दुमी राईको जोसमनी धर्म र गुरु र सन्त ज्ञानदिल दास, डा. प्रतापचन्द्र प्रधान भारतीय नेपाली साहित्यका आदिकवि, चूडामणि बन्धुको सन्त साहित्यका सशक्त स्रष्टा सन्त ज्ञानदिल दास, समीरण छेत्री प्रियदर्शीको जोसमनी मतका सन्त तथा कवि, डा० केशवप्रसाद उपाध्याय प्राथमिककालीन सन्तकवि, असीत राईको नेपाली साहित्यको इतिहासमा अर्को भानुभक्त आचार्य, डा० लक्खीदेवी सुन्दासको सन्त ज्ञानदिल दास र उनका कृति, डा० कृष्णराज घतानीको लोक तात्त्विक दृष्टिमा कवि सन्त ज्ञानदिल, डा० कुमार प्रधानको सन्त ज्ञानदिल र हाम्रो समाज, गुप्त प्रधानको दार्जीलिङमा ज्ञानदिल दासको आगमन लहरी र सवाई, राजेन्द्र सुवेदी र होम सुवेदीको सन्त ज्ञानदिल दास परिचय, जीवन लावरको क्रान्तिकारी विद्रोही विचारक : सन्त ज्ञानदिल दास, डा. लक्ष्मणप्रसाद गौतमको ज्ञानदिल दास र उनको ‘झ्याउरे भजन, सुकराज दिवालीको सन्त ज्ञानदिल र सन्त साहित्यको सन्दर्भमा, डा. राजकुमार छेत्री सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकता र त्यस्तै अर्को डा.दिवाकार प्रधानको नेपाली साहित्यमा सन्तकविता र सन्तकवि ज्ञानदिल दास आदि लेखहरू प्रमुखताका साथ प्रकाशित भएका छन् ।
इतिहासकार तथा प्रखर समालोचक कुमार प्रधान आफ्नो लेख ‘सन्त ज्ञानदिल र हाम्रो समाज’ मा लेख्छन्, “भानुभक्तभन्दा सात वर्ष कान्छो (जन्म सन् १८२१ ख्रीष्टाब्द), नेपालकै एउटा उपाध्याय ब्राह्मण परिवारमा जन्मेका ज्ञानदिल स्वामी शशिधरको समयदेखि निकै प्रचार भएको जोसमनी मतमा लागेका थिए । तह नमिलेको, चित्त नबुझेको व्यवस्थाको विरोध गर्ने आँट ज्ञानदिलमा सुरुदेखि भएको देखिन्छ । राणातन्त्र सुरु गर्ने जङ्गबहादुरको विरोधमा, लखन थापाले गरेको विद्रोहमा, ज्ञानदिलको हात रहेको शङ्का गरिएको थियो । त्यही अभियोगमा थुनुवा परेर छुटेपछि अनि फरवरी १८७६ मा जङ्गबहादुरको मृत्यु अघि नै ज्ञानदिल ‘दार्जेलिङ-मुग्लान’ पसेका थिए । त्यही समय रङ्बुल धाम खोले ।
ब्रिटिश राजासँगै ख्रीष्टान मिशनरीहरूको चकचकी बढेको दार्जीलिङ थियो । धर्म परिवर्तन गराउने उनीहरूको उद्देश्य थियो । ज्ञानदिल थिए अध्यात्मवादी, निर्गुण, निराकार ईश्वरका उपासक । ज्ञानदिलको यहाँ स्कट मिशनका प्रचारक ए० टर्नबुल (दार्जीलिङमा १८७९ देखि मृत्यु १९०५ सम्म) लाई हाँक दिएको जनश्रुति छ । पछि ज्ञानदिलका शिष्ट साधु रामदास (राई) सँग टर्नबुलको धार्मिक विवाद बढेको, तिनताकको कागजपत्रले देखाउँछ । रङ्बुलमा छोरीको मृत्युपछि ज्ञानदिल सिक्किम पसे । त्यहाँ गेलिङ र साम्दुङको रमी भन्ने ठाउँमा धामहरू खोली प्रचार कार्य सुरु गरे । नेपालमा राणाहरू जस्तै सिक्किममा जमिन्दार काजीहरू सर्वेसर्वा थिए । जातपातको विरोध गर्ने, समानताको उपदेश दिने, भोग-बलि र अन्धविश्वासको विरूद्ध प्रचार गर्ने, कर्मकाण्ड नमान्ने ज्ञानदिलमाथि च्याखुङका जेरुङ्ग काजीले शङ्का गर्न थाले । केही समयसम्म दमन नीतिको अत्याचारमा ज्ञानदिल पिसिए । सन् १९८३ को अक्टोबर-नोभेम्बरको गेलिङ धाममै ज्ञानदिलको चोला उठ्यो ।”
सन्त ज्ञानदिल दासमाथि यस्ता पुस्तक नेपालबाट अहिलेसम्म निस्केको थाहा छैन । वि.सं. २०७३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रा. नवलकिशोर राई र नेत्रमणि दुमी राईद्वारा लिखित ‘जोसमनी धर्म सम्प्रदाय र दर्शन’ नामक पुस्तक प्रकाशित गरेको छ । नेपाली समाजमा विभिन्न भारतीय सन्त र सम्प्रदायको निकै प्रभाव रहेको छ । यस्तो अवस्थामा नेपाली समाजको उपज जोसमनी सम्प्रदायलाई यसरी मूलबाटोमा ल्याउने प्रयासलाई प्रशंसा नगरी बस्न सकिन्न । यसको निम्ति सम्पादक र प्रकाशक सादुवादको पात्र भएका छन् । प्रचलित ब्राह्मबादको विरोधमा उठेको यो परम्परालाई सबैले सहजताको साथ नलिएकोले यो नेपालमा विलय प्रायः छ । रेसुङ्गा जहाँबाट यो अठारौँ शताब्दीमा उदय भयो, त्यहाँ यसको नामनिसाना नहुनु दुःख लाग्दो कुरा हो । जोसमनी पन्थीलाई नयाँ स्वरूपमा ल्याउन सन्त ज्ञानदिल दासको ठूलो हात छ । यो पुस्तकलाई नेपालभित्र पनि प्रचार-प्रसार गर्नु आवश्यक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।