साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँका कथा

काठमाडौँका स्थानीय बासिन्दाले बाहिरबाट आउने मान्छेलाई दोस्रो दर्जाको सम्झेर गरिएको घृणित कार्यलाई उपन्यासकारको विरोध सम्प्रेषित गर्ने यो शैली निकै रोमाञ्चक छ र आतङ्कित गर्ने खालको पनि । साँच्चै भन्नुपर्दा यो उपन्यास काठमाडौँको समाज र यहाँका घरबेटीहरूको यथार्थ प्रतिविम्ब हो ।

‘मास्टर बाबु !’ साहित्यकार डा. तुलसी भट्टराईकृत सामाजिक उपन्यास हो । आजभन्दा चालिस वर्षअगाडिको काठमाडौँको कथालाई यो उपन्यासले उजागर गरेको छ । लेखकको भनाइमा- कोरोना कालमा घरभित्र थुनिएर बस्नुपर्दा लाइबे्ररीका किताब मिलाउने क्रममा भेटिएको २०३६ सालको एउटा डायरीले नै उपन्यासको रूप लिएको हो । ओरिएन्टल पब्लिकेशनले २०७८ को अन्त्यमा प्रकाशन गरेको यो पुस्तक एकै बसाइमा मजाले पढेर सकिने लघु उपन्यास हो । आजका दिनमा काठमाडौँ कङ्क्रिटको जङ्गल भइसकेको देख्ने युवा पुस्ताले यो किताबमा लेखिएका कुराहरू नपत्याउनु स्वभाविक नै हो । ग्लोबलाइजेसनतिर उन्मुख भएका हामी त्यो समयमा भोगिएका जीवनका अपरिमित दुःखहरू कस्तो प्रकारका हुने रहेछन् भन्ने कुरा थाहा पाउन पनि यो उपन्यास पढ्न जरुरी छ ।

काठमाडौँका स्थानीय बासिन्दाले बाहिरबाट आउने मान्छेलाई दोस्रो दर्जाको सम्झेर गरिएको घृणित कार्यलाई उपन्यासकारको विरोध सम्प्रेषित गर्ने यो शैली निकै रोमाञ्चक छ र आतङ्कित गर्ने खालको पनि । साँच्चै भन्नुपर्दा यो उपन्यास काठमाडौँको समाज र यहाँका घरबेटीहरूको यथार्थ प्रतिविम्ब हो ।

bahulako diary small and inside post

यो उपन्यासमा प्रसन्न नाम गरेका एकजना सज्जन पात्र छन् । उनकै वरिपरि कथा घुमिरहन्छ । उनी बाहिर जिल्लाबाट उच्चशिक्षा अध्ययन गर्न काठमाडौँ भित्रिएका हुन्छन् । जीवनको वास्तविक अर्थ आफ्नै बुवाबाट सुनेपछि उनी गाउँ छोडेर काठमाडौँ आउँछन् । उनका अनेकौँ सपना काठमाडौँले किनबेच गर्छ । त्यो समय उच्चशिक्षा अध्ययन गर्न काठमाडौँ नै आउनु पर्ने बाध्यता थियो । उनी अङ्ग्रेजी विषयका मास्टर हुन् । भाइहरूलाई आफैँसँग पढाउन राखेका प्रसन्नले रात दिन नभनी अङ्ग्रेजी विषयको ट्युसन पढाउँछन् ।

उनले पढाउने काम गरेकाले नै उनको नाम मास्टर बाबु रहन गएको हो । घरबेटी आमाले अरू डेरावाललाई गरेको व्यवहारले उनी डराउनु स्वभाविक हो । कोठामा पाहुना आउने बित्तिकै बिजुली काटिन्छ, पानी पाइन्न, ट्वाइलेट जानै नसक्ने अवस्था हुन्छ । यी यस्तै किसिमका अप्ठयाराले प्रसन्न पटक पटक डेरा सर्न बाध्य हुन्छन् तर जहाँ गए पनि उस्तै दुःख ।

जीवनका अपरिमित दुःखबाट छुटकारा खोज्ने प्रसन्नको कथाले त्यो बेलाको समाजमा धनी गरीबबीचको खाडल कति रहेछ प्रष्ट देखाउन सफल भएको छ । साँच्चै भन्नुपर्दा काठमाडौँ जिन्दगीको बजार लाग्ने सहर हो । यहाँ जिन्दगी बेचिन्छ र किनिन्छ । “यहाँ दिउँसो सपना देख्नेहरूदेखि लिएर रातभरि रोएर काट्नेहरू पनि छन् । यहाँ दिउँसै रात पार्नेहरू छन् भने रातभरि उज्यालो बनाउने पनि छन् । इसारामै बेच्ने र इसारामै बेचिने पनि छन् ।” (पृ. ६९)

शशी भट्टराई श्रेष्ठ

“अहिले समय फेरिएको छ, यो महानगरका बासिन्दाको चिन्तन फेरिएको छ । भूगोल नै बेग्लै, बासिन्दा बेग्लै, जेनेरेसन बेग्लै…. त्यो बेला प्रसन्नले देखेको नयाँ सडक, अथवा काठमाडौँ सहरको मुटु – हङ्गकङ्ग, कोरिया, बैङ्ककका लेबुल लागेका तर काठमाडौँको कुनै गल्लीतिर बनेका सामान दिएर सोझा सिधा ग्राहकलाई ठग्ने ।….यस्तै…यस्तै …यो नयाँ सडक ।” (पृ. ३२)

भानुभक्तीय शैली– परम्परादेखि देवकोटा, सम, लेखनाथ, माधव आदिलाई आदर्श मान्ने, आफ्नो राग अलापेर निकै चर्को स्वरमा आफ्नो व्यक्तित्व देखाउनेहरूको कमी छैन यो नयाँ सडकमा ।

प्रसन्न रम, ह्विस्की वा देशी ठर्रा लगाउनेको ग्रुपमा मिसिँदैनन्, उनी यी खाले समूहभित्र पर्दैनन् । उनलाई आफ्नो अध्ययन अध्यापन बाहेक अरूतिर ध्यान दिने समय नै मिल्दैन । घरबेटी बुढीले महिना मर्नु धेरै अगाडि नै डेरावाललाई पैसा मागेर दिक्क लगाउँछे । एकदिन त्यसैगरी प्रसन्नलाई ट्युसन पढाइरहेको बेलामा पैसा माग्दा तरकारी किन्न जान लागेको भाइसँग पैसा मागेर दिन्छन् र आफ्ना भाइहरूलाई फकाउँदै भन्छन् आज एकदिन तरकारी बिनाकै भात खाऊँ हामी…।

उनका भाइहरू पटक पटक डेरा सरौँ, अनेक कष्ट सहेर नबसौँ भन्छन् उनी उल्टै भाइहरूलाई सम्झाउँछन् यसरी – अन्त धेरै सर्नु हुन्न । अरू कोठावाला हेरी हामीलाई त्यति नराम्रो छैन, आदर गरेर मास्टर बाबु भन्छिन् बुढी आमा । सहनुपर्छ दुई चार शब्द, त्यत्रो ठाउँमा सरियो खै कुन डेरामा सुख भयो र ? त्यसैले घरबेटी भनेको यस्तै हुन्छन् भन्ने बुझ …. उनी बारम्बार भरिँदै र रित्तिँदै भाइहरूलाई सम्झाउँछन् ।

यो उपन्यास पढिरहँदा एउटा सही नसक्नु पीडा हुन्छ मनमा । यस्ता कथा पढिरहँदा म टोलाउँदै मौनताको गहिरो सागरमा डुबुल्की लगाउँछु । म डराउँछु पनि कतै त्यो पात्र मेरै दाजु त होइन भन्ठानेर .. मेरो दाजु पनि त यसरी नै डेरामा बस्नुभएको थियो होला । शनै शनैः फर्किन्छु यिनै कथाका पानाहरूमा फेरि उही सहनशील त्यो प्रसन्नको धैर्य जाँच्न ।

आफ्नो अध्ययन अध्यापन गर्ने क्रममा काठमाडौँमा देखेको कुरा उनी लेख्छन् – यो काठमाडौँ रातदिनको …भीड । मान्छेको भीड, हल्लाको भीड । गाडीहरूको भीड, अनैतिक र अवैध कार्यहरूको भीड । आधुनिकताको नाममा गरिने भीड । भनाइ र गराइमा भिन्नतै भिन्नताले घेरिएको भीड । दुःखहरूको भीड, सोर्स र सिफारिसको भीड, घूस र पुरस्कारको भीड । भ्रष्टाचारीहरूको भीड । सुन्ने स्रोताहरूभन्दा वक्ताहरूको भीड । बिरामीभन्दा डाक्टरको भीड । विद्यार्थीभन्दा शिक्षकको भीड । क्याब्रे डान्स र ब्लु फिल्महरूको भीड ।

तीन वर्ष अघि प्रसन्न जुन उत्साह, उमङ्ग र खुसी बोकेर काठमाडौँ पसेका थिए उनको पहिलो लक्ष्य उच्चशिक्षा पूरा त भयो तर अब अरू कार्यका निम्ति काठमाडौँ बस्ने मोह चाहिँ टुटिसकेको छ । त्यसकारण उनी काठमाडौँको भीड र कोलाहलबाट मुक्त हुँदैछन् । अन्त्यमा, प्रसन्न आफ्नै गाउँ गएर कुनै एउटा राम्रो शिक्षणसंस्थालाई माध्यम बनाएर गुणस्तरीय शिक्षा सेवा गर्ने विचारमा पुगेपछि उपन्यास टुङ्गिएको छ ।

यो चालिस वर्ष अगाडिको कथा हो । आज पनि कति ठाउँमा यस्तै घटना घटेको छन् होला, तैपनि हामी काठमाडौँ बदलिएको छ भन्ने रटान लगाइरहेका छौँ । उबेलाको काठमाडौँको कथाले पाठकलाई दुःखी तुल्याएको छ नै । प्रसन्न त्यसपछि कहाँ गए ? के गर्दै छन् ? उनको जीवनले सन्तुष्टिको श्वास फेर्यो कि छैन ? काठमाडौँको घरबेटीमा परिवर्तन आयो कि आएन ? जुद्ध सडक आजभोलि के गर्दै छ ? यी प्रश्नको उत्तर सहित मास्टर बाबुको दोस्रो भाग छिट्टै आओस् भन्ने कामना गर्दछु । काठमाडौँबासी र काठमाडौँको अग्र्यानिक अनुहार देखाउन सफल उपन्यासकारलाई हार्दिक शुभकामना ।

लेखक परिचय
शभश
शशी भट्टराई श्रेष्ठ
प्रतिक्रिया
Loading...