गीताश्रीको रम्बास कवितासङ्ग्रह तिलस्मी (सन् २०२२) पहिलो कृति हो । यसमा ८७ ओटा कविताहरू रहेकाछन् । संरचनाबद्धताको एकसय अक्षरीय रूपमा एउटा शाब्दिक वर्णबाट सुरु गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म क्रमश दसओटा वर्ण र पुनः दश पछि नौ, आठ गर्दै अन्तिममा एक वर्ण प्रयोग गरी जम्मा उन्नाइसओटा पङ्क्तिमा रेखागणितको समलम्ब चतुर्भुज आकृतिमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ । अक्षरको मात्रा मिलाएर दश हरफमा पूर्ण अभिव्यक्ति दिने कविता विधाको लघुरूप नै रम्बास हो । अक्षर गणनाका आधारमा लेखिने भएको हुँदा उच्चारणअनुसार रम्बासमा प्रयुक्त अक्षरहरूको गणना गरिनु पर्छ । तर नेपालीमा उच्चारण र लेखनमा भएको भिन्नता वा लेख्य र कथ्य रूपमा पाइने अन्तरले गीताश्रीका रम्बास कविता दुई प्रकारका छन् ।

लिखित भाषा, भाषाको विशिष्ट रूप हो । यसलाई लेख्य पनि भनिन्छ । लेखेर विचार विनिमय गरिने भाषा नै लेख्य भाषा हो । लेख्य भाषा व्यावहारिक र साहित्यिक गरी दुई प्रकारका हुन्छन् । स्रष्टा एवम् द्रष्टा गीताश्रीको रम्बास कवितासङ्ग्रह तिलस्मी (सन् २०२२) मा रहेका कविताहरूलाई हेर्दा लेखनका आधारमा अक्षर गणना गरेर पनि कविता लेखिएका पाइन्छन् ।

जित्यो कविको मन     

बन्यो साहित्यको धन    

लियौ रम्बासको आकृति  

कसेर विश्व नै अँगालोमा (पृ. ८३, तिलस्मी)

====

गाँस्छन मितेरी साइनो

कतै माइती चेलीको

भावनाको घरमा

गुरु शिष्य कहीँ (पृ. ६९, साइनो)

     यहाँ ‘मन’, ‘धन’, ‘घर’ र ‘पागल’ नै लेखिन्छ । यहाँ अक्षरलाई लेख्यका आधारले गणना गरेर ‘मन’, ‘धन’ र ‘घर’ लाई दुई अक्षर र ‘पागल’ लाई तीन अक्षरका रूपमा प्रयोग गरिएको पनि छ । तर उच्चारण /मन् /धन्/ घर्/ र पा./गल् /यस्तो हुन्छ ।

मौखिक भाषा सामान्य भाषाको रूप हो भने यसलाई कथ्य भनिन्छ । कथ्य भाषा बोलीचालीको भाषा पनि हो । शब्द वा वाक्य निर्माणको मात्रै नभएर हरेक वर्णमा हुने आरोह अवरोहले कथ्य भाषा लेख्यभन्दा व्यापक हुन्छ । तर कथ्य भाषालाई लेख्य भाषाले समेट्न सक्दैन । यही कथ्य भाषालाई आधार बनाएर गीताश्रीका रम्बास कविता पनि यसै सङ्ग्रहमा रहेका छन् ।

कदर छ कर्मको

जीवन सङ्गी खुकुरी

रमाउँछु उस्मै स्पर्शमा

निभाउनु छ मैले दायित्व (पृ. २, अचानो–२)  

===

अभिनय निश्छल

गहन उस्को चिन्तन

सवारी गराई लक्ष्मीको

सर्दछ सौगात उज्यालोको (पृ. १३, उल्लू)  

        गीताश्रीको अचानो–२ शीर्षकको कवितामा उस्मै र ‘उल्लू’ कवितामा उस्को प्रयोग गरिएको छ । यहाँ विभक्ति लाग्दा हुने ‘ऊ’ को तिर्यक् रूप (जस्तैः उसको, उसले, उसलाई) हो । त्यसै गरी

काव्य मनमा

रम्न देऊ

भावमा

घुम्छु

मै । (पृ. ६७, रम्बास)

===

कोमल पाउ

सबैका

शीत

भै । (पृ. ७१, शीत) 

दीपक सुवेदी

त्यसै गरी रम्बास र शीत शीर्षकका कवितामा पनि मै र भै क्रमशः ‘म’ र ‘भई’ का रूप प्रयोग गरिएको छ ।

एक

पागल

भावना हुँ

गुप्त शून्यता

तिम्रो सम्झनामा (पृ. ६०, द्रविभूत)

      यस कवितामा प्रयोग गरिएको शब्द, पागल अक्षर संरचनाका दृष्टिले दुई अक्षर हो । तर यहाँ तीन अक्षरको रूपमा प्रयोग गरिएको छ ।

निश्चल

हाँसो खुसी

पुलकीत मन्

अदम्य मुस्कान (पृ. ५४, मुस्कान)

‘मन’ अक्षर संरचनाका दृष्टिले एकाक्षरी नै हो । तर यहाँ ‘मन्’ बनाइएको छ ।

सहित्य सिर्जना मात्र हैन, भावनाको आँचलभित्र लुकेको संवेदनाको गठरी पनि हो । त्यसैले मनको सुन्दर अभिव्यक्ति हो कविता । मौलिक बिम्बहरूको उचित प्रयोग भएका कविताहरू साँच्चै सुन्दर हुन्छन् । तर समसामयिक नेपाली साहित्यको कविता विधाको शिल्पगत स्वरूपमा व्यापक परिवर्तन हुँदै आएको देखिन्छ । सञ्चारको तीव्र विकास सँगसँगै नेपाली काव्य सिर्जनाले प्रयोगशीलता र विम्बारोपणमा पृथकता प्रदान गरिरहेको छ । गीताश्रीले सामान्य कथ्य सूत्रमा कविताभित्र आफ्ना कविता शिल्प र क्षमतालाई अत्यन्तै सूक्ष्म ढङ्गले आत्मानुभूतिका माध्यमबाट कवित्व चेतलाई अभिव्यक्त गरेकीछन् । गीताश्रीका कविताहरूमा प्रयुक्त विम्बहरूले उनको काव्य शिल्पगत प्रवृत्तिको सम्भावना र प्रचुरतालाई प्रस्ट पारेका छन् ।

छहरा र नदी हुन्छु

जल प्रवाहमा बदलिन्छु

सलल बगेर टिस्टा हुन्छु म

पाउ पर्छु मातृभूमिको

आशीर्वाद लिन झुक्छु (पृ. ६५, नीर)

     ====

पन्त, प्रसाद, निराला

मुनामदन, यात्री

पहाडी पुकार

वनकसुम

आशु कवि

हे स्रष्टा

लक्ष्मी

हौ । (पृ. ७८, लक्ष्मी)

        यी कविताले समकालीन समाजको राजनीतिक, सामाजिक एवम् सांस्कृतिक परिवर्तनका घटना र त्यससँग जोडिएको पात्र र प्रवृत्तिसँग साक्षात्कार गरेका छन् । इतिहासका घटना र पात्रप्रतिको दृष्टिचेत यी कविताको मूल पक्ष बनेर आएको छ । कवि गीताश्री राजनीतिचेत भएकी कवि हुन् ।

यसमा प्रायः सरल र सहज विम्बको प्रयोग पाइन्छ । कवितालाई रोचक बनाउन पद, पदावली, शब्द र वाक्यको पुनरावृत्तिका माध्यमबाट गद्यलयको सिर्जना गरिएको पाइन्छ । यसै गरी आफ्नो विचारलाई प्रभावकारी बनाउन प्रश्नवाचक चिन्हको माध्यमबाट जिज्ञासा, कौतहुलता र आलोचनात्मक भावलाई प्रभावकारी किसिमले प्रस्तुत गरिएको पाइन्छ । यस्तो लाग्छ, कवि गीताश्री इतिहासका तथ्यप्रति जानकार छिन्, वर्तमानका घटना, पात्र र प्रवृत्तिसँग परिचित भएको हुनाले त्यससँग सम्बन्धित विम्ब र प्रतीकको प्रयोग गर्नमा कुशल पनि छिन् ।

हामीले विज्ञान पनि बुझेनौँ, धर्म पनि मानेनौँ । कवितालाई, अर्थात् काव्यलाई पागलहरूको अभिव्यक्ति भन्यौँ र अराजक भयौँ । विज्ञान र साहित्यका हरेक अध्ययन र ती परीक्षणबाट प्राप्त हुने निष्कर्ष आजका सिद्धान्त हुन्, रचना हुन् जसले यो संसारलाई परिवर्तन गरी दिए । विज्ञान र कलाको उदगम स्थल एउटै हो, त्यो हो हाइपोथिसिस, अर्थात् परिकल्पना । गीताश्रीको तिलस्मी पनि त्यही हाइपोथिसिस हो ।

विख्यात कवि अक्टोभियो पाजले केही वर्षअघि आफू बाँचेको समयसँग एक मार्मिक प्रश्न गरेका थिए– ‘कविता कसले पढ्छ ?’ यस्तै अनुभव बीसौँ शताब्दीको तेस्रो दशकतिर ‘विभ्रम र यथार्थ’ लेख्दै गर्दा प्रसिद्ध बेलायती चिन्तक क्रिस्टोफर कड्वेललाई पनि भएको थियो । उनले आफ्नो पुस्तकमा धेरै मानिसले कविता नै पढ्दैनन्, पढ्ने इच्छा नै देखाउँदैनन् र आवश्यकता नै महसुस गर्दैनन् भन्ने तिखो टिप्पणी गरेका छन् ।

नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । तर सबै कविता क्लिष्ट हुँदैनन् । नबुझिनुको समस्याले पाठक ग्रस्त छन् । सबै कविता नबुझिने पनि हुँदैनन् । थोरै शब्दहरूले धेरै कुरा बोल्नु पर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला  । त्यसो त यो पनि भनिन्छ– ‘जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ ।’ कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन ती आफैँमा मर्मशील हुन्छन् । कवितामा ठुलो शक्ति हुन्छ जसमा एउटा गहन विचार, अन्तर्निहित भावना र गतिलो सन्देश दिने शक्ति राख्दछ । कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन् त गर्नै पर्ने हुन्छ ।

कवितामा कोरियोग्राफ भनेको प्रस्तुत गर्ने शैली हो । अहिले कविताको कोरियोग्राफीमा बहस पनि भइरहेको छ । अनि कवितामा कला या विचार ? कोरियोग्राफीको हिसाबले गीताश्रीका कविताहरू उस्तै उस्तै लाग्छन् । कवितामा विविधता दिन सक्यो भने त्यो सम्प्रेष्य हुन्छ, अनि कविता साँच्चै पाठकसम्म पुग्छन् ।

यो विकल्पको युग हो । गीताश्रीलाई यही बाहानामा भन्नैपर्छ– आजभोलि पाठकहरू कविता छाड्दै किन भागिरहेका छन् ? कवितामा विविधता हुँदाहुँदै पनि भावका खुराक बजारको मिसावटबाट भने किन जोगिन सकेनन् ? समय र समाजसँगै कविता परिवर्तनको बाटो हुँदै यहाँसम्म आइपुगेको छ । चेतनाले समय र समाजअनुसारको नयाँ अन्तर्वस्तु र शैलीको माग गर्छ, आविष्कारको माग गर्छ । यस्तो बेला आविष्कारको सट्टा पुनरावृत्ति बढी देखिनु काव्यलेखनमा सङ्कटको सूचक हो ।

सुन्दरताभित्र सुन्दरताको खोजीभन्दा पनि असुन्दरताको उत्खनन गरेर दृष्टिकोणसँग जोडिन गएको प्रसङ्ग साँच्चै, अनुसन्धेय हुँदोरहेछ । त्यसैले अब कवि गीताश्रीले बुझेकी हुनुपर्छ– ‘एउटा कुशल पाठकले कविताका पङ्तिका बीचमा आपसी ताल, लय तथा गतिको अपेक्षा अलि बढी नै गरेको हुँदोरहेछ ।’

प्रकाशभन्दा पनि पर आकाश हुन्छ र ज्ञानभन्दा पनि पर आशय हुन्छ । कविताको सही मूल्याङ्कन त कवितात्मक अनुभूतिमा मात्र हुन्छ । शब्द जोड्दैमा पनि कविता बन्दैन, शब्द तोड्दैमा पनि कविता बन्दैन । यस कवितासङ्ग्रमा अङ्श, अनादार (पृ. ११), संजोक    (पृ. ७५),  यी शब्दको के अर्थ ? त्यसैगरी सदस्य झैँ, फल झैँ (पृ. ९, आँसु), सुन झैं (पृ. ६६, रात) जस्ता पदयोग समस्याका साथै मन् (पृ. ५४, मुस्कान), खोप्छन, ठुङ्दछन (पृ. ३६, ढुङ्गो) आदिमा हिज्जे, टङ्ग (पृ. १०, आवाज), कलम, कीरिए (पृ. १७, कविता), ऊ (पृ. २४, चरित्र) लगायतका शब्दको प्रयोगमा दोष रहेको देखिन्छ ।

कविता हुन त कविता तत्त्व नै चाहिन्छ । सुसंस्कृत र सुन्दर कविता सिर्जना गर्न सौन्दर्य, रस र अन्तर्दृष्टि चाहिन्छ । प्रसिद्ध अङ्ग्रेजी स्वच्छन्दतावादी कवि जोन किट्स– ‘यदि कविता एउटा रुखमा पलाउने पातहरूजस्तै स्वतस्फूर्त र सहजै प्राकृतिक रूपमै प्रस्फुटन हुँदैन भने त्यस्तो कविताको जन्म नभएकै राम्रो ।’

कवि गीताश्रीको रहस्यवाद दार्शनिकको जस्तो अन्त्य फेला पार्ने खालको पनि छैन र योगीको जस्तो आफूमात्र स्वानन्दमा समाधिमग्न हुने खालको पनि छैन । कविको रहस्य त अनुभूतिगम्य हुनुपर्छ । त्यो अनुभूति गराउन प्रयत्नशील देखिन्छिन् कविताहरूमा गीताश्री । परमतत्त्व मात्र रहस्यमय हुन्न, सामान्य फूल पनि परमतत्त्वजस्तै रहस्यमय हुन्छ, देवकोटाले भनेजस्तै– ‘उद्यानमा बस गई सब तत्त्व खुल्दछन्’ । त्यस्तो रहस्य प्रत्येक अनुभूतिको तीव्रता र नवीनतामा रहन्छ । विगत वसन्तको फूल वर्तमान वसन्तमा पनि किन त्यतिकै सुन्दर लाग्छ ? यसको उत्तर दार्शनिक वा वैज्ञानिकसँग छैन र मनोवैज्ञानिकसँग पनि छैन । यसको उत्तर त गीताश्रीजस्तै कविसँग पाउँछौँ र पाठक उनीहरूसँग कविता माग्छन् । गुड कति मिठो हुन्छ, त्यो लाटाले पनि बुझ्छ, तर उसँग भाषा छैन । पाठकहरू कविहरूसँग त्यसको भाषा माग्छन् । साहित्य, सङ्गीत र कलाले हृदयका रहस्यकै उद्घाटन गर्छन् ।

भारतीय नेपाली साहित्यमा रम्बास कविता लेखन दिन दुई गुणा, रात चार गुणा भएर बढिरहेको छ । तर पनि यसभित्र अझै आन्तरिक विरोधाभासहरू रहेका छन् । रम्बास कविता अक्षर गणना गरेर लेखिने भएकोले शब्दबाट अक्षर छुट्याउँदा शब्दको लेखाइलाई नभएर शब्दको उच्चारणलाई आधार मान्ने कि नमान्ने ? एक अक्षर आवश्यकता परेमा नामयोगीलाई नाम वा सर्वनामबाट छुट्याएर अर्को हरफमा लेख्ने कि नलेख्ने ? पाठकले यो पुस्तक पाउने बित्तिकै यस प्रश्नको उत्तर खोज्न सक्छन् । कविले आफू के बनेर बाँच्ने हो ? आफैँले सोच्नु पर्छ र कवि बनेर बाँच्ने हो भने कवितामै समर्पित हुनुपर्छ । कतै प्रशंसा पाए चर्किएर लेख्नुपर्छ र निन्दा पाए झन् इखिएर लेख्नुपर्छ । यसका लागि पृथकताको खोजीमा प्रयासरत कवि गीताश्री पाठकको प्रिय बनिरहून् निरन्तरताको शुभकामना ।