यात्राका क्रममा अचानक सानो गल्ती र अलिकति भूलका कारण  डुङ्गामा प्वाल पर्‍यो भने त्यसलाई पटक–पटक टाल्दै, मर्मत गर्दै उर्लिरहेको नदी पार गर्नु पर्दा जति जोखिम मोल्नुपर्ने हुन्छ, त्यही प्रकारको सानो गल्ती र भूलका कारण त्यति नै जोखिम जीवन यात्राका क्रममा मान्छेले पनि भोग्नु पर्ने हुन्छ ।

भर्खरमात्र प्रकाशित आत्मकथा ‘मुमूर्षा’ मा लेखक चिरञ्जीवी दाहालले आत्मकथाको मान्यता र धर्मअनुसार उपरोक्त तथ्यलाई सहर्ष स्वीकार गरेका छन् । उनले निकै सरल भाषामा ग्रामीण समाजको बोलिचालीलाई टपक्क टिपेर यस कृतिलाई सुन्दर मालाको रूपमा उनेका छन् । यो आत्मकथा त हुँदै हो, तर यसमा वर्णन गरिएका उनका बाल्यकालका स्मृतिहरू र बेहोराका सुख र दुःखका कथाहरूमा कतै उपन्यासको, कतै कथाको र कतै नियात्राको समेत छनक पाइन्छ।

लेखकले बाल्यकालमा खेल्दै, घुमफिर गरेका स्थानहरूको विषयमा गरिएको वर्णन पढ्दै गर्दा उनको जन्मस्थल गोर्खाको तान्द्राङ र यस वरपर जन्मिएर गाउँबाट पर रहेका असङ्ख्य व्यक्ति र व्यक्तित्वहरूलाई समेत निकै वर्ष अघिको आफ्नो जन्मस्थानमा पुगेको अनुभूति दिन्छ यस पुस्तकले । आजभन्दा ४०-५० वर्ष अघिको गाउँको सामाजिक परिवेश र उल्लेख गरिएका स्थानहरूको वर्णन पढिरहँदा, पुस्तकमा होइन टेलिभिजन सेट अगाडि बसेर चलचित्र हेरिरहेजस्तै लाग्छ ।  गोरखा, पाल्पा, भारतका केही सहरहरू र फिलिपिन्सलगायत लेखकले गरेको भ्रमणको बयान र लेखकको अतीत एवं जीवनकालमा घटेका र सम्झिएर उल्लेख गरेका घटनाक्रम ‌पढ्दै जाँदा निकै रोचक र रमाइलो लाग्छ।

मृगौला रोगले पीडित लेखकले लामो समयदेखि नियमित फलोअप, डायलाइसिस र मृगौला प्रत्यारोपण गर्दा भोगेका पीडादायी फेहरिस्तहरूको मर्मस्पर्शी नालीबेलीले एकपटक जसको मन पनि चसक्क दुख्न पुग्छ।

पुस्तकमा ‘मुस्तफिज’ नामका निम्नआय भएका भारतीय मजदुरको कथा छ, जो मृगौला रोगले पीडित छन्। आर्थिक अभावका कारण नियमित रूपमा औषधि सेवन गर्नसमेत कठिनाइ परेको अवस्थामा उनलाई सम्झाउन गरिएको संवादले समेत मन कटक्क काटिएको थाहै पाइन्न । मुस्तफिजले आर्थिक अभावका कारण अङ्ग प्रत्यारोपण गरेका बिरामीले नियमित सेवन गरिरहनु पर्ने औषधि किन्न जाँगर मारिसकेको हुन्छ । विशेष गरी मृगौला रोगी र अन्य गम्भीर रोगबाट पीडा भोगिरहेका निम्न आय भएका बिरामीहरूले यो पुस्तक पढ्दै गर्दा आफ्नै पीडा र व्यथाहरूको प्रतिछाया हेरेको अनुभव गर्नेमा कुनै शङ्का छैन ।

सोही कथामा लेखकले  पटक–पटक आइपरेका आर्थिक सङ्कटको सामना गर्न कठिनाइ परिरहेको अवस्थामा र शारीरिक पीडा बेहोर्दै गर्दा बाँच्ने रहर अर्थात् जिजीविषा ओइलाएको महसुस गरेका छन् भने आफ्नी अर्धाङ्गिनीले अनेकौँ रोकावटका बाबजूद पनि  मृगौला दान दिएपछि मनभित्र झण्डै अङ्कुरित भइसकेको  मुमूर्षा (मृत्युको इच्छा) ले आकार लिन भने नसकेको उल्लेख गरेका छन् ।

यसैगरी ‘क्रमबद्ध भ्रम’ शीर्षकअन्तर्गत लेखकले भोगेका भ्रम वा सपना,कल्पना र यथार्थ  जुन यही हो भन्न स्वयं लेखकसमेत हिच्किचाउँछन् भने आम पाठकलाई यस विषयमा अनौठो अनुभूति हुनु स्वाभाविक देखिन्छ । तर पनि यो विषय चिकित्सा क्षेत्रको लागि अनुसन्धानको विषय हुन सक्छ। ठूला ठूला शल्यक्रिया गरिएका केही बिरामीहरूसँग अन्तरक्रिया गर्ने हो भने केही निचोड निस्कन सक्छ ।

आत्मकथा लेखन कार्य सहज विषय भने होइन। तर पनि कतिपय प्रसङ्ग उल्लेख गर्दा लेखकले  निर्भिकताका साथ विषय वस्तुको उठान गरेका कारण आत्मकथा अझै पठनीय बन्न पुगेको छ।

कतिपय प्रसङ्गहरू प्रस्तुत गर्दा उनले आफूभित्रको अहङ्कार र कमजोरी छताछुल्ल बनाएर पोखेका छन्। वास्तवमा आत्मकथाको सुन्दर पक्ष भनेको पनि यही हो । आफ्ना कमिकमजोरी लुकाएर आत्मकथा बन्ला। तर त्यसभित्र यथार्थ हुँदैन । कहिले ठूलो मान्छे, कहिले असल र कहिले खराब मान्छे पनि बनेका छन् यसभित्रका लेखक । यो स्वभाव हरेक मान्छेहरूसँग हुन्छ । फरक यति मात्र हो धेरैले आफ्नो नकारात्मक कुराहरू ढाकछोप गरेको पाइन्छ तर लेखकले आफूलाई यस पुस्तकमार्फत सर्वाङ्ग उदाङ्गो बनाएका छन्। यसलाई एउटा गतिलो सिर्जनाको रूपमा लिन सकिन्छ । आफू इमान्दार छु, असल छु भनेर लेखिएको कुरा समाजले सहजै पत्याउन पनि सक्दैन। कतिपय जीवनका घटनाहरू साथीभाइ र इष्टमित्रहरूसँग मुखले भन्न सकिन्न तर त्यो कलमले भनिदिन्छ भने त्यो उत्कृष्ट आत्मकथा बन्न पुग्छ। कतिपय प्रसङ्गहरू पढ्दा यस्तै लाग्छ।

मुक्तक, गजल, कविता र कथा विधामा कलम चलाउने गरेका लेखकले उत्कृष्ट आत्मकथा प्रस्तुत गरी साहित्यका विविध फाँटमा उत्तिकै अब्बल भएको प्रमाणित गरेका छन् ।

‘मुमूर्षा’ लेखकको पहिलो कृति हो। तर पढ्दै जाँदा यो उनको पहिलो कृति नभई दर्जनौँ कृतिपछिको अनुपम कृति जस्तो लाग्छ।