नेपाली उपन्यासको फाँटमा पदम विश्वकर्मा देखापरेका छन् । उनको क्वारेन्टाइन नामको औपन्यासिक कृति २०७८ भदौमा प्रकाशित भएको छ । उपन्यास लेखन समकालीन नेपाली साहित्यको लोकप्रिय बिधा बनेको छ । धेरैले पढ्न रुचाउछन् उपन्यास । धेरैले पढ्न रुचाउने विधा भएकाले केही वर्ष यता थुप्रै औपन्यासिक कृतिहरू प्रकाशित भएका छन् । साहित्यको बजार नै उपन्यासले तताएको छ भन्दा पनि अत्युक्ति नहोला । यसो भन्नुको आशय यो हैन कि अन्य विधाले हामीलाई तताएका छैनन् । लेखकहरूले उपन्यास लेख्न रुचाएका छन् ।

प्रस्तुत उपन्यास चालिस खण्डमा विभाजित छ  । यसमा प्रयोग भएको शैली नौलो र रोचक छ । भाषामा मीठासपत्र छरपष्ट छ । भाग एकमा उमेरमा झण्डै सत्तरी पुगेकी आमाको आग्रहलाई नाइँनास्ति सजिलो थिएन, विनयलाई । दम र उच्च रक्तचापको रोगी आमालाई चिसो मौसमभरि निकै कठिन हुन्छ । गत वर्षदेखि उनमा मधुमेह पनि देखिएको थियो  भनेर उपन्यासकार विश्वकर्माले भनेका छन् । भाग दुईमा अमेरिकामा नयाँ खालको रोग देखापर्यो । मान्छेहरूमा अकस्मात  ज्वरो आउने, टाउको दुख्ने सास फेर्न कष्ट हुने लक्षणहरू देखिन थाले । भकाभक ओछ्यान परे । हैजा फैलेसरी हजारौँ हजार एकैचोटि थला पर्न थाले । जताततै खैलाबैला मच्चिन थाल्यो भनेका छन् ।

क्वारेन्टाइन उपन्यासमा थोरै पात्रको प्रयोग भएको पाइन्छ । यसमा मुख्य पात्रका रूपमा विनय देखिन्छ । उसकी पत्नी जमुना हो । यिनै दुई पुरुषस्त्री पात्रमार्फत कथानक अघि बढे पनि सहायक पात्रका रूपमा देखिएका राजीव र पार्वतीको पनि भूमिका महत्त्वपूर्ण रहेको छ । यस उपन्यासको भाग पाँचमा बाको अनुपस्थितिमा आमाको के हाला होला ? जमुना डराउथिन् आमाको अनुपस्थितिमा बाको झन् के गति होला ? भनिएको छ । भाग नौमा विश्वभरी कोरोना फैलिरहेको बेला अमेरिका, युरोपियन राष्ट्रलगायत थुप्रै देशले आफ्नो आन्तरिक बाह्य उडान तथा अन्य यातायात ठप्प पारेका छन् । स्कुल, कलेज, होटल, रेष्टुरेन्ट, शैक्षिक संस्थाहरू अनिश्चित कालका लागि बन्द गरेका छन् । सडकमा गाडी छैनन् । आकाशमा जहाज उडिरहेका छैनन् । जमिनमुनि गुड्ने रेल रोकिएका छन् । जति पनि कामहरू छन् ठप्प छन् भनेर लेखिएको छ ।

क्वारेन्टाइन उपन्यासको कथानक विश्वमा फैलिएर मानवजीवनलाई आक्रन्त बनाएको कोरोनाको सेरोफेरोमा केन्द्रित छ । विश्वका लाखौँ मासिनले अकालमा ज्यान गुमाउनु परेको कथ्य समावेश भए पनि उपन्यासमा रहेका मुख्य पात्रहरू विनय जमुना सहायक पात्र राजीव पार्वतीकै सङ्घर्ष दुखान्तमा कथानक घुमेको छ । यस उपन्यासको भाग चौधमा कुनै कामको सिलसिलामा केही दिनका लागि विनयलाई डाउनटाउन जानुपर्ने थियो । डाउनटाउन जान आफ्नो गाडीभन्दा बसमा सजिलो हुन्थ्यो । न पार्किङको झन्झट, न इन्धनको खर्च । ट्राफिकमा पनि फस्नु नपर्ने भनेर विश्वकर्माले लेखेका छन् ।

               नेपाली साहित्यको प्रवर्द्धनमा निकै सक्रिय स्रष्टा पदम विश्वकर्मा अनेसासका अगुवामध्येका एक हुन् । नेपाली साहित्य सेवाका कारण पनि उनी सुप्रसिद्ध छन् । भाग उन्नाइमा काम नभएको बेला समय बिताउन पनि महाभारतै थियो विनयलाई । दिन गए रात कहिले जाला र रात गए दिन कहिले जालाजस्तो । कति पट्यारलाग्दो समय आयो भनेर लेखिएको छ । भाग तेइसमा पार्वतीका लागि राजीव नै सर्वस्व थियो । ऊ जीविकाको स्रोत पनि थियो । घरखर्च सबै उसैको कमाइमा धानिएको थियो । उनको जिउने आधार सबै थियो ऊ, उपन्यासकार विश्वकर्माले लेखेका छन् ।

क्वारेन्टाइन पदम विश्वकर्माको पहिलो उपन्यासकृति भए तापनि यसमा प्रयोग गरिएका संवाद, भाषाशैली र उनको कल्पनाको कायालाई हेर्दाखेरी उनी अनुभवी उपन्यासकारजस्तै लाग्छन् । भाग पच्चीसमा राजीव बाआमाको एक्लो छोरा थियो । घरभित्र र घरबाहिर स्याहारसुसारे, सहयोगीहरू थिए । ऊ हातहातै हुर्किएको थियो । तीन छोरीपछि जन्मिएको छोरा भएकाले ऊ पुलपुलिएको थियो भनिएको छ । भाग तीसमा विनय चाहन्थ्यो जमुनाको अन्त्येष्टि र श्रद्धाञ्जली समारोह आयोजना गर्न । कफिनको ढकन उघारी उनको अनुहार छोपिएको सेतो कपडा हटाएर अन्तिमपटक स्पर्श गर्न भनिएको छ ।

समग्रमा यो उपन्यास राम्रै छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाटी अठ्याएपछि अन्त्यसम्म पनि घाटी नछोडी उपन्यासलाई टुङ्ग्याउनु हो । यो विशेषता थोरै मात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरूले कथा वस्तुलाई घुमाएर वा सान्दर्भिक भन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यवहारिक भएकोले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासका सकारात्मक पात्रहरू जो उपन्यासमा समेटिएका छन् ती शुरुदेखि अन्तसम्म कौतुहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रो मान्नुपर्छ । क्वारेन्टाइन एउटा गहकिलो डायस्पोरिक यथार्थवादी उपन्यास हो ।

यसका पात्रहरू सबै नेपाली जनजीवनका वास्तविक पात्रहरूका रूपमा उभिन सफल भएका छन् । उपन्यासको केही कमजोरीहरू हटाएर भन्नुपर्दा क्वारेन्टाइन समाजका अन्तरसम्बन्धहरू र संरचनाहरूको सटिक प्रतिविम्बन गर्न सफल छ । आधुनिक नेपाली उपन्यासको आरम्भ नै रुद्रराज पाण्डेको रूपमती उपन्यासबाट भएको हो । रूपमतीले अघि सारेको आदर्शोन्मुख यथार्थवादी औपन्यासिक चिन्तन–धारालाई क्वारेन्टाइनले प्रष्टसँग पछ्याएको अनुभूत हुन्छ । अन्त्यमा उपन्यासकार पदम विश्वकर्माको कलमले नेपाली समाजका अन्य अँध्यारा पक्षको अनुशीलन गर्दै नयाँ कृतिहरू जन्मन सकोस् भन्ने अपेक्षा राख्दछु ।