विश्वसाहित्यमा मात्र नभई नेपाली साहित्यमा पनि पत्रकारले साहित्यको बागडोर सम्हालेको लामो इतिहास छ । त्यसमा पनि आख्यानका क्षेत्रमा आउन चाहने पत्रकारलाई निकै सजिलो हुन्छ, किनकि उसँग धेरैका कथाहरू हुन्छन्, खाँचो हुन्छ केवल साहित्यिक अभिव्यक्तिको । यस्तै चितवनमा रहेर मूलधारको पत्रकारितामा क्रियाशील पत्रकार वसन्त पराजुलीले आफ्नो दुई दशकको पत्रकारितामा सङ्गत गर्न भ्याएका थुप्रै खाले व्यक्तिहरूका समाचार बनेका र बन्न नभ्याएका कथालाई कृतिगत रूपमा प्रकाशित गराउन थालेका छन् । उनले वि.सं. २०७६ देखि यताका दुई वर्षका बीचमा ‘कुमाता’ र ‘मोम्चो’ नामका दुई वटा कथासङ्ग्रह तयार पारेर आफ्नो कथालेखन क्षमताको पुष्टि गरेका छन् ।   अझ ‘मोम्चो’ त चितवन आसपासको अर्ग्यानिक स्वाद बोकेको कथाकृति बनेको छ ।

परिचयका वृत्तमा वसन्त पराजुली

यो समाजमा कमै मान्छे भाग्यमानी हुन्छन् । मेरो विचारमा त्यस्तैमा एक भाग्यमानी व्यक्ति हुन्, वसन्त पराजुली (२०३५) । निसन्देहः चितवनमा बसेर विगत दुई दशकदेखि स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामार्फत पत्रकारिताका क्षेत्रमा क्रियाशील व्यक्तित्व वसन्त पराजुलीले पत्रपत्रिकाका लागि समाचार बनाउने क्रममा नेपाली समाजका थुप्रै खाले व्यक्तिहरूसँग सङ्गत गर्न भ्याए । तीमध्ये कतिका कथा–व्यथालाई समाचार बनाएर पनि छापे । यसरी बनाइएका समाचारहरूमध्ये केहीले कतिपय अवस्थामा सकारात्मक परिवर्तन पनि ल्याएको पाइयो । यी कुराबाट हौसिएर उनले ती कथालाई समाचारमा मात्र सीमित राख्नुहुन्न भन्ने अन्तःप्रेरणाबाट निर्देशित भएर वि.सं. २०७६ मा ‘कुमाता’ नामको पहिलो कथासङ्ग्रह तयार पारे । उनको पहिलो कृतिले उनलाई विभिन्न ठाउँबाट पुरस्कृत र सम्मानित समेत गरायो । ‘कुमाता’को प्रकाशनसँगै पत्रकारबाट साहित्यकारको वृत्तमा समेटिन आइपुगेका उनले पहिलो कृति छापिएको दुई वर्ष पुग्न नपाउँदै ‘मोम्चो’ नामको दोस्रो कथासङ्ग्रह लिएर पाठकका माझमा आएका छन् । यसरी साहित्यमा होमिएका उनले सहित्यको पनि आख्यानमा क्रियाशील रहेर निरन्तरता दिने काम दोस्रो कृतिको प्रकाशनसँगै गरेका छन् ।

momcho

अलिकति मनोविज्ञानका कुरा

हामी मनोविज्ञान भन्ने बित्तिकै मनको कुरा गर्ने विज्ञान वा शास्त्र भन्ने बुझ्छौँ । समग्रमा हो पनि त्यही । मानिसका मनमा विभिन्न खालका कुराहरू खेलिरहेका हुन्छन्, तिनलाई सरल र सहज ढङ्गले अर्थ्याउन सकिँदैन । त्यसका लागि मनोविज्ञानको सहारा लिनुपर्ने हुन्छ । यसका पनि विभिन्न हाँगा छन्, समाज मनोविज्ञान, यौन मनोविज्ञान, बाल मनोविज्ञान, प्रौढ मनोविज्ञान, नारी मनोविज्ञान, अपराध मनोविज्ञान आदि त्यसका केही नमुना हुन् । त्यसो त मनोवज्ञानका प्रणेता सिग्मण्ड फ्रायडले यौनलाई बढी जोड दिएको पाइन्छ । अचेल मनोविज्ञानका अन्य शाखाहरू पनि उत्तिकै सशक्त बन्दै गएका छन् । सामाजिक विषयवस्तुमा आधारित वसन्त पराजुलीको कथाकृति ‘मोम्चो’लाई समाज मनोविज्ञानका कोणबाट समीक्षा गर्दा बढी सान्दर्भिक हुने देखिन्छ ।

सारमा यौन मनोविज्ञानका कुरा

यौन समग्र जीवजन्तुको जैविक चाहना हो । सामान्यतया विपरीतलिङ्गीसँग हुने मैथुनजन्य कुरा यौन हो । तर अचेल मानवसमाजमा समलिङ्गीहरू पनि यथेष्ट देखिन थालेका छन् । हाम्रो समाजनमा यौन र सम्भोगलाई एउटै रूपमा हेर्ने गरिएको पाइन्छ । तर गहिराइमा गएर हेर्दा यौन शारीरिक भन्दा पनि मानसिक कुरा हो । प्रसिद्ध धार्मिक दार्शनिक ओशो रजनिश यौनका बारेमा यस्तै धारणा राख्छन् । साहित्यमा यौन मनोविज्ञान निकै प्रचलित छ । साहित्यिक कृति यौन मनोवैज्ञानिक हुनका लागि यौनकेन्द्री घटना हुनु जरुरी छ । मान्छे र पशुका बीचमा यौनका बारेमा फरक खालका क्रियाकलाप हुने गर्छन् । पशुपंक्षीको यौन वर्षको एकचोटि मात्र हुन्छ, तर मान्छेमा त्यो नियम लागू हुँदैन । तर पशुपंक्षीको जस्तो मान्छेले यौनलाई खुल्ला रूपमा अपनाउँदैन, त्यसका लागि उपयुक्त परिवेश हुनु आवश्यक छ । यौन मनोवैज्ञानिक साहित्यमा यौनमा लिप्त चरित्र पनि आवश्यक हुन्छ । यस कोणबाट हेर्दा वसन्त पराजुलीको कथाकृति ‘मोम्चो’मा यौन मनोविज्ञानका कथा आंशिक मात्र भेटिन्छन् ।

रमेश प्रभात

‘मोम्चो’ कथाकृतिले बोकको मूल कथ्य

जम्मा एघारवटा कथाहरू समेटेर ‘मोम्चो’ कथासङ्ग्रह तयार भएको छ । यसको पहिलो कथा ‘वक्ररेखा’ले हाडनातामा हुने करणीको मुद्दा उठाएको छ भने दोस्रो कथा ‘कुटी नं. २००’ले पतिले त्यागेका कारण देवघाटमा बस्न थालेको एउटी अधबैँसे महिलाको जीवनलाई उजागार गरेको छ । त्यस्तै तेस्रो कथा ‘शङ्का’ले बीस वर्षदेखि प्रेमपूर्ण जीवन बिताइरहेको जोडीमा श्रीमती श्रुति गर्भवती भएको विषयलाई लिएर शङ्का गरिएको छ । यस कृतिको शीर्षक कथा ‘मोम्चो’ले बाल्यकालमा हुने प्रेम र विवाहको कुरा गर्दै चितवन र आसपासका चेपाङ समुदायको संस्कृति पनि सुन्दर ढङ्गले उतारेको छ ।

‘आधुनिक प्रेमोपहार’ कथामा यौनकार्यलाई पेसाजस्तो गरी विकास गर्दै गरेको पुरुषको कथा बुनिएको छ भने ‘हठ’ कथामा आफ्नो सौन्दर्य बिग्रन्छ भन्ने भ्रममा सन्तानलाई स्तनपान नगराउने आमाको कथा भनिएको छ । त्यस्तै ‘नबिर्सेको प्रेम’ कथाले दलितचेतनालाई अभिव्यक्त गर्नुका साथै आफूलाई त्यागेको पतिलाई पनि मर्न लाग्दा हेरविचार गरेको कथा उनिएको छ । त्यस्तै ‘बेइमानी’ कथा माओवादी जनयुद्धका क्रममा भएको बेइमानीको कथा हो भने ‘दोधार’ कथा प्रेमलाई विवाहमा बदल्न नसक्दा गरिएको आत्महत्याको कथा हो ।

‘बेचिएको मातृत्व’ कथाले सरोगेसी कुरा गरेको छ । आफूबाट सन्तान नभएपछि एउटी लाचार महिलाको कोख भाडामा लिएको कुरालाई मार्मिक रूपले उतारेको छ ।  त्यस्तै अन्तिम कथा ‘जिजीविषा’ विविध विषयवस्तु समेटिएको कथा हो । यसमा देश र विदेशको चित्रण छ, यौन र जीवनको चित्रण छ । यसर्थ ‘मोम्चो’ कथासङ्ग्रह विविधताले भरिएको कथाकृति हो ।

‘मोम्चो’ कथाकृतिमा मानवीय संवेदना

पत्रकारिताको सिधा सम्बन्ध समाजसँग हुने भएकाले वसन्त पराजुलीको ‘मोम्चो’ कथाकृति मानवीय संवेदनाको सङ्ग्रह हो । पहिलो कथा ‘वक्ररेखा’मा श्रुतिको संवेदनाको कुरा आएको छ भने दोस्रो कथा ‘कुटी नं. २००’ मा शकुन्तलाका संवेदना आएका छन् । त्यस्तै ‘शङ्का’ कथामा श्रुतिमाथि म पात्रले यौन सम्पर्कमाथि शङ्का गरेर मानवीय संवेदनामाथि खेलवाड गरेका छन् । समग्रमा यसका हरेक कथामा मानवीय संवेदनालाई टपक्क टिप्ने काम कथाकारले गरेका छन् । चाहे त्यो शीर्षक कथा ‘मोम्चो’ होस् वा अन्य कथाहरू ‘हठ’, ‘नबिर्सेको प्रेम’, ‘बेइमानी’, ‘दोधार’, ‘बेचिएको मातृत्व’, ‘जिजीविषा’ नै किन नहोस् । यसर्थ ‘मोम्चो’ कथाकृति मानवीय संवेदनाको दस्ताबेज हो ।

‘मोम्चो’ कथाकृतिमा यौन मनोविज्ञानको खोजी

यौन मनोविज्ञानको चस्माले ‘मोम्चो’ कृतिलाई हेर्दा ‘वक्ररेखा’ कथामा सबैभन्दा बढी असर देख्न पाइन्छ । कथाको नायक श्रव्यले आफ्नी पत्नी श्रुतिसँग आफ्नी सौतेनी दिदीको बखान गर्नु र श्रुतिसँग विवाह हुनुपूर्व वैधव्य जीवन गुजारिरहेकी तिनै दिदीसँग निरन्तर यौन सम्पर्क राखिरहनु र विवाहपश्चात् नसाले चुर भएर तीज मान्न आएकी दिदीलाई गर्भवती बनाउनु यसका प्रमाण हुन् । अझ श्रव्य त यौनपिपासु हो । यौन भनेको दोहोरो राजीखुसीमा हुने क्रियाकलाप हो । यस्तो कुरा त ‘आधुनिक प्रेमोपहार’ कथाको म पात्र अर्थात् सागरले आरतीलगायत सहरका धनाढ्य श्रीमतीहरुसँग पैसाका लागि यौनिक गतिविधिमा हिमचिम बढाउनुमा देखिन्छ । हेरौँ साक्ष्यः

आरती नेपाल नभएको तीन वर्षको अन्तरालमा मेरा ऊजस्ता धेरै महिला मित्र बढिसकेका थिए । मेरो काम उनीहरूको इच्छाअनुसार यौनसन्तुष्टि दिनु हो । (मोम्चो, पृ. ७५)

त्यस्तै ‘कुटी नं. २००’ मा नायिका शकुन्तलालाई परित्यक्ता बनाएर छोडेको पतिले विदेशबाट फर्कँदा होटेलमा भेट्न बोलाउनु यौनको कुरा हो  भने ‘शङ्का’ कथामा म पात्रले आफूले परिवार नियोजन गरेका कारण श्रीमती तेस्रो पटक गर्भवती हुँदा शङ्का गर्नु पनि यौनसँग सम्बन्धित कुरा हो । त्यसको पुष्टि नभई डाक्टरबाट खण्डन भएपछि भने उसले लज्जाबोध गर्नुका साथै माफी समेत मागेको छ ।

यौनका कोणबाट ‘जिजीविषा’ कथाको अन्त्य अलिक उल्लेखनीय छ । यसमा नायिका रमिता र प्रमोदको जलविहार, रातमा टापुमा सँगै बिताएको घटना र त्यसमा घटित यौनजन्य क्रियाकलापमा दुवैको राजीखुसी देखिनु यौनिक गतिविधि हुन् । ती घटनालाई यौन मनोविज्ञानका कोणबाट विश्लेषण गर्न सकिन्छ । हेरौँ साक्ष्यः

मैले स्वाभाविक रूपमै सहमति जनाएँ । उनको अनुहार पनि प्रफुल्ल भयो । हामीसँगै बस्यौँ, त्यो रात । प्रमोद मेरो सहारा, भरोसा अनि विश्वास बनिसकेका थिए । मानसिक रूपमा एक भइसकेका हामीमा कुनै कुरा नलुक्ने भइसकेको थियो । आखिर लुकाएर लुक्ने केही थिएन । त्यो रात हामी शारीरिक रूपमा पनि उसैगरी खुल्यौँ । त्यो बेलासम्म लुकिरहेको मेरो कौमार्य उनका अघि खुल्यो । मेरो कौमार्यले उनैलाई विश्वास गर्यो र त उनीसामु म निरीह बनेँ । (मोम्चो, पृ. १५९)

यसरी ठूला सपना बोकेर अमेरिका छिरेकी रमिता एउटा पुरुषको यौनमा फस्नु उसको स्वयंको चाहना पनि हो । ऊ प्रमोदसँग नजिक हुनु, ऊसँग बेलाबेलामा घुम्न जानु, समुद्रमा जहाजमा घुम्न जाँदा टापुमा बास बस्नु र ऊसँग यौनिक क्रियाकलापमा सामेल हुनु यसका प्रमाण हुन् । यति हुँदाहुँदै पनि समग्रमा ‘जिजीविषा’ कथा यौनकथा नभएर सामाजिक कथा हो । यसमा पिता,  माता,  छोरी र एकल आमाको भूमिका सशक्त रूपमा आएको छ ।

टुङ्ग्याउनीका केही शब्द

एउटा भनाइ छ, साहित्यकार बन्न सजिलो छ, तर साहित्यकार बनिराख्न गाह्रो छ । जसरी खेलाडीलाई खेलमैदानमा उत्रिएपछि कि त पूरा तागतका साथ खेल्नुपर्ने बाध्यता हुन्छ, नत्र मैदान छाड्नुको कुनै विकल्प हुँदैन, त्यही चुनौती साहित्यकारलाई पनि छ । भनाइको मतलब साहित्यकारको भूमिका निर्वाह गरिराख्न नयाँ–नयाँ कुराहरू पस्किराख्नुपर्ने हुन्छ । यसका लागि तत्कालीन समाजको आवश्यकतालाई पनि ध्यान दिनु जरुरी हुन्छ । सबैले लेखे जतिका सबै कुरा साहित्य पनि बन्दैन । हिजोआज साहित्य भनेर छापिएका सबै सामग्रीमा सबैको ध्यान पुग्छ भन्ने पनि छैन । त्यसका लागि भाषा, शैली, प्रस्तुति आदिमा विशेष ख्याल राखियो भने राम्रो हुन्छ । यो चुनौतीलाई स्वीकार गर्दै पत्रकारिताबाट साहित्यमा प्रवेश गरेका वसन्त पराजुलीले ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित गरेको दुई वर्ष बित्न नपाउँदै ‘मोम्चो’ नामको दोस्रो कथासङ्ग्रह लिएर पाठकका सामु आएका छन् । चेपाङ समुदायको कथा उठान गरेर उनले नौलोपन दिएका छन् । समाज आएपछि त्यहाँका सुख, दुःख, यौन, जीवन आदि स्वतः आउँछन् । उनले यसमा कताकति यौनको चित्रण गरेका भए पनि मोम्चो यौन मनोविज्ञान नभएर समाज मनोविज्ञाानमा रचित कथाकृति हो । पहिलो कृति निस्केको केही समयमै दोस्रो कृति पस्किएर साहित्यको मैदानमा आफूलाई कुशल खेलाडी प्रमाणित गराएका पराजुलीलाई हार्दिक साधुबाद छ । अब उनको कलम छिट्टै उपन्यासतर्फ लम्कोस् भन्ने कामनाका साथ कलम रोक्छु ।

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन