दामिनीको दस्तावेज (अनुवाद) चरित्रहरूको खोजीमा अलम्लिँदा (मौलिक कथा सङ्ग्रह दोस्रो संस्करण) तेस्रो आँखा, कागजको नाउ दुई कविता कृति समेत रूद्र बरालले सम्पादना गरेका (नेपाली र असमिया भाषामा) एक उत्तम पुस्तक असमेली नेपाली साहित्यको ढुकुटीमा भित्रिएको पाइन्छ भने अनेकन ओजपूर्ण लेख रचना यत्र तत्र छरिएर प्रकाशित भएको पाइन्छ। एक वर्षदेखि असमको साहित्यिक गतिविधिहरूमा सक्रियता साथ साहित्य सृजन र सङ्गठन कार्यमा व्यस्त रहेर असम नेपाली साहित्य सभाको विभिन्न प्रकारका, उन्नयनमुखी काम प्रत्यक्ष भएको छ। कोरोना कालमा उहाँले साहित्यको विभिन्न विधामा अनलाईन रचना प्रतियोगिता र नवोदित लेखकलाई उत्साह दिने, विकास क्षेत्रको फैलावट गरेको कुरा सर्वविदितै छ। उनको प्रयासले असम नेपाली साहित्य सभा राज्यदेखि बाहिरसम्म धेरै चर्चित भएको कुरा स्वीकार्य छ। उनै साहित्यिक रूद्र बरालकृत कथा सङ्ग्रह चरित्रहरूको खोजीमा अल्मलिँदामा पाठकीय विचार व्यक्त गर्ने प्रयास गरिएको छ । बाह्र वटा कथा समावेश गरिएको यस कथा सङ्ग्रह ( दोस्रो संस्करण) शोणितपुर जिल्ला साहित्य सभाले प्रकाशित गरेको छ, पुस्तक आकर्षक जिल्द समेत ७९ पृष्ठमा रहेको छ।

आमा- अस्तव्यस्त अरूणिमाको ममता कसरी सामाजिक राजनीतिक र अधिकारको नङ्ग्राले चिथोरेर छियाछिया पारेको छ यस कथामा। खर बाँसको झुप्रोमा रहेको शान्ति सम्प्रीतिको संसारमा आसुरिक प्रवृत्तिमा अन्ध दुई दल मानवरूपी दानवले लगाएको साम्प्रदायिक आगोको ज्वाला दन्किएको जीवन्त वर्णन छ । अरुणिमाले आफ्नो कोखको सन्तान हराएको पीडा उस्तै पीडित अर्को विपरीत पक्षको सन्तानमा प्रत्यारोपण गर्न चाही, मानवताको ठूलो भूमिका निर्वाह गर्ने विचारमा, तर पशुत्व र साम्प्रदायिक विभेद उग्रवाद र अमानवीय तत्वको सामु उसको पराजय हुनु नै स्वाभाविक थियो किनकि हत्या हिंसा र उग्रवादीद्वारा कुनै दिन समाजको मानवता र शान्ति सम्प्रीतिको स्थापना हुन नसक्ने कुरा कथाकारले प्रतिष्ठा गर्न चाहेको बुझ्नु पर्दछ। कथामा अति सावधानी पूर्वक प्रगतिशील चिन्तनको सक्रियता सलबलाएको छ। लेखन शैलीले जनस्तरमै आफूलाई भिजाइरहेको लेखकको परिचय पाउन सकिन्छ। अति संवेदनशील छ कथा ।

पुरस्कारको आशामा एउटा कथा- साहित्य समाजको दर्पण हो भने यो दर्पणमा विभिन्न प्रकारका उद्देश्य रहेका र साहित्यिक देखिनु स्वाभाविक छ। साहित्य साधनाको लक्ष्य, समाजको उन्नति, प्रगति र समृद्धिको लागि साहित्य चर्चा गरेको कुराकानी जानिन्छ। कसै कसैले पुरस्कार प्राप्त गर्ने उदेश्यले साहित्य संस्कृति चर्चा गर्छन त्यो खाले मानिस द्वारा असलमा साहित्य चर्चा हुन सक्दैन भन्ने पनि त्यही प्रतिपादन गरिएको छ। पुरस्कार पाउन कथा लेख्ने मानिसको आड लिएर कस्ता कस्ता विन्दुलाई अघि सारेर कथा लेख्न सकिन्छ भन्ने सन्देश कथाकारले इङ्गित गरेको अनुमान गर्न सकिन्छ। यो कथा पनि एउटा फर्माभित्र नानान साहित्यिक विमारको उपचार मूलक प्रस्तुति र हामीले पूर्वाग्रह रहित भएर साहित्य सेवा गर्ने विचार सम्प्रेषण गरेको पाइन्छ। पात्र अनुपात संवाद र परिवेश तयार पारेको यो कथा भिन्नै किसिमको मज्जाको कथा लाग्छ। द्वन्द्वै द्वन्द्वको कथामा लेखक स्वयं द्वन्द्वको तत्त्व भएकोले यसमा सिङ्गो र छुट्टै रामेचामेको कथा रहेको छैन।

पूर्णकुमार शर्मा (असम)

पोकलीदेखि परिस्मितासम्म- एउटा बौद्धिक सम्मेलनमा भेट भएकी परिस्मिताको चालढालबाट प्रभावित लेखक त्यस केटीको घरको वास्तविकता पुग्दासम्मको परिवेश विचार्दा आजका एक एक युवाहरूको जीवन एक लक्ष्यहीन दिशामा अग्रसर अनि कर्मविमुख चिन्ताशून्इ छबि छर्लङ्ग भएको छ। एउटा आडम्बरपूर्ण जीवन नक्कल गर्नुको खोक्रोपनबाट नवप्रजन्मले शिक्नुपर्ने र साँच्चै पोकली परिस्मिता हुन सक्ने गोरेटाहरू पनि भाषिक चतुराइले दिइएको छ। युव प्रजन्म निम्ति अति उत्तम रचना हो, पढेर बुझ्न जरुरी छ। आमाका जमानाको अति प्रिय गीत छोरीको निम्ति समय नसुहाउने भएकोले प्रजन्मको रुचि समयको परिवर्तन अनुसार बदली हुनु अनिवार्य छ।

पु…पु…पुरी- धनी गरीब उच्च नीच आडम्बरी र निमुखो जीवनको द्वन्द्व बारे कथाहरू धेरै लेखिएको देखिन्छ । यो पनि त्यही विषयलाई लिएर लेखिएको कथा भए पनि यसको लेखनशैली भिन्न परिपाटीको छ। यो अन्य धेरै यस्ता कथाको नयाँ कथनशैलीमा, पारम्परिक धर्म रीति थिति छोडेर फेदटुप्पो नभएको सामाजिक राजनैतिक अवक्षय देखाउन सफल भएका कथाकारले धनेको प्यारो परिचित खाद्य पुरीमा टुङ्ग्याएर सामाजिक र मानवीय संवेदनालाई, मर्यादा दिएर प्रगतिशील चिन्तनको सक्रियता देखाएको छ । आखिर वाल्यवन्धुको माया मोह दुई बालकमा यथावत स्थापित भएको छ।

अभिनन्दन पत्र- मानिस एउटै समाजमा बाँचेर त्यही समाज र सामाजिक मानिसको सद्भाव र सहयोग लिएर ठूलो मान्छे बन्छ। उसको आफ्नै मथिङ्गलको भरमा पढे पनि मानिसको सहयोग बिना प्रतिष्ठा पाउँदैन। ती सरल ग्रामीण मान्छे आफ्नो गाँउको केटाले गरेको उन्नति प्रगतिको लागि गौरव अनुभव गर्छन, विभिन्न प्रकारले अभिनन्दन गर्छन, आउने पिँढीलाई उसको उदाहरण दिन्छन् । तर आशीर्वाद र अभिनन्दन गरेको मानिस जब दुष्कर्म गरेर पक्राउ पर्छ,तब सबैको दाँतमा ढुङ्गो लाग्छ। यस्ता अनेकन उदाहरणसम्म देखिन्छन् । यो कथाले मानिसलाई उप्रिमाथि थुप्री अभिनन्दन सम्मान गर्ने कुरामा थामिनुपर्छ। व्यक्तिको उचित समयमा उचित मूल्याङकन गर्दा मात्रै सुपात्रले सही मर्यादा पाँउछ भन्ने कुरा पनि कथा मार्फत दर्शाउँछ। उसको अभिनन्दन पत्र रूपनारायणले आफैँ टिपेर फुटाउनु पर्ने हुँदा, समाजलाई चेतावनी दिएको बुझ्न सकिन्छ।
समय उपयोगी र यथार्थ झल्किएको राम्रो कथा ।

अपरिभाषित जीवन- सबै मानिसको जीवनको परिभाषा भिन्नाभिन्नै हुन्छन, हुनु स्वाभाविक हो । एउटै गाउँको एउटै पाठशाला पढने,उनै माष्टरले पढाएको दुई साथी, पछिल्लो जीवनमा पुरानो कुरासँग कतै नमिल्ने बाटोमा जीवन धान्ने भिन्नाभिन्नै शैलीका मानिस हुन्छन् । एउटा डाक्टर भयो भने अर्को पानदोकानी अथवा रिक्साचालक हुन पनि सक्छ । तर जीवनको सुरुवातका समयमा दुई सहपाठीले नै जीवन लक्ष्य निबन्ध एकैखाले लेखेको हुन्छ । डाक्टर,माष्टर इञ्जिनियर हुने कुरा बाहेक रिक्साचालक र पानदोकानी हुने कुरा कसैले चुकेर पनि लेख्दैनन् । यसद्वारा केवल स्कूले पढाइको आधारमा भन्दा बढी जीवनको अन्यान्य पक्षको महत्त्व रहेको हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ । आवेगको आधारमा कुनै कुरा पनि मेलखाने होइन वास्तवमा र सोचाइमा धेरै फरक हुन्छ भन्ने विश्वास राख्दै यो कथा रचना गरिएको रहेछ ।

मनुष्य जीवन कल्पनाको रङ्गीन सपना मात्रै होइन बरु वास्तविक चिन्तनमा आधारित सत्य हो भन्ने कुरा यस कथामा प्रस्तुत गरिएको छ।

डाहा – कथानकको आरम्भमा उपन्यास लेखिका नितु नेपाली समाजमा पौनपौनिक पन्पिएको दाइजो प्रथाको पछिल्तिर रहेको अँध्यारो खोतल्न पिजा र प्लावनको सहारामा अघि सर्छिन् । न्यौपानेको घर र छोरी सान्त्वनाको सम्पूर्ण चित्र उतारेपछि सम्मति विवाहले दाइजोको आधारमा, सम्पर्कमा आगो सल्कियो। यहाँ सशक्त सम्वाद छ” नेपाली समाजमा पनि दाइजो नाउँको घातक रोगको वीजाणुहरूले भित्रभित्रै दर्बिलो गुँड लगाइसकेको हामीलाई रत्तीभर अनुमान रहेनछ ।” सम्पूर्ण कथालाई यस वाक्यले प्रतिनिधित्व गरेको छ र यो हाम्रो समाजको मात्रै नभएर समग्र भारतको विभिन्न क्षेत्रमा जोडिएको एक प्रकारको दुरारोग्य रोग भएको कुरा स्वीकार्य ठानिन्छ । कथाको बुनावटी तरिका राम्रो छ तर यसमा पात्रको र घटनाको द्रुत गतिको कारण साधारण पाठकले पात्रको अवस्थान ठम्याउन गाह्रो हुने देखिन्छ । लेखकले पात्र पात्रामा नियन्त्रण गर्न सके उत्तम देखिन्छ । आधुनिक प्रगतिशील चिन्तनको फसल डाहा मज्जाको कथा लाग्छ ।

अर्को एक हे्नरी- यस कथामा धनबहादुर रूपमा, सारा संसारका श्रमिकहरूको एक मर्मभेदी कथा-व्यथा सभ्य भनाउँदो समाजसामु छर्लङ्ग छ। उसकी उती राम्री छोरीको आशाहरू श्रमजीवि वर्गको आशा हो तर त्यो आशा कहिल्यै फष्टाउन पाउँदैन किनकि पाया खाने सपनापछि उभिएको टायाले थाहै नपाई पहाड खसेर हजारौँ धनबहादुर माटोले पुरिएका छन् । मानौँ ऊ मानिस हैन, एउटा फित्कौलीको लक्ष्यहीन ढुङ्गा हो । नरमाएको यस निर्दयी र न्याय रहित संसारमा के चल्छ र सीता परिस्थितिको वनबास यात्रा गर्न वाध्य भएकी छ। पात्र अनुपात संवाद तथा शिलाङ्गको कोइला खादभित्रको सङ्कट, त्यहाँका स्थानीयहरूको आफ्नो राज्य बाहिरको मानिस लखेट्ने क्रममा नेपाली श्रमिकहरूले भोग्नु परेको दुखद स्थितिको वर्णनले तथ्यपूर्ण व्यावहारिक र अनेक कुराको दिशाबोध गराएको रचना, उत्तम लाग्छ।

मूल्याङ्कन- बोकाले दाइँ हुँदैन भन्ने कुरा गरिन्छ तर हाम्रो कतिपय कामको फलाफलले बोकाले दाइँ गरेकोमा, दर्ता भएको हुन्छ। गुमानेको आकस्मिक मृत्यु भएको बहानामा कथाकारले हिजो आज हाम्रो समाजमा मरेका मानिस लिएर मलमा गएको मान्छेको सही अवस्थान,जीवित कालमा मृतकप्रति गरेको व्यवहार र मरेपछि उसलाई सम्मान गर्ने निहुँमा आफूलाई प्रष्टाउन जाहिर गर्न गरेको प्रयासजस्तो फितलो मानसिकताप्रति कडाभन्दा कडा व्यङ्ग्य प्रहार गरेको छ। भीमबहादुरले यस स्मारिकाले अब पच्चीस वर्षसम्म अर्को स्मारिका निकाल्नै नपर्ने गरी आफ्नो आफ्नो कुरा लेखिएको छ भनेर, लेखकले कथानकको पात्र मार्फत आजको फितलो स्मारिका संस्कृति (?) प्रति समाजको दृष्टि आकर्षण गर्न पर्छ भन्ने युक्तिसङ्गत आह्वान गरेको छ। धन्यवाद टक्र्याउन चाहन्छु।

एक यात्रा: सपनावारि, सपनापारि – सपना विभिन्न प्रकारका हुन्छन् । यो चाँहि घामपानी नखपी दुःखकष्ट नगरी हावा हावामा लखपति भएर गाडी, वङ्गलाको सपना देख्नेहरूको विपनामा कालो खसीले सुकेलुतो कन्याएर गिल्ला गर्ने खालको सपनाप्रतिको व्यङ्ग्य प्रहार हो । यी चेन व्यवसायीहरू सपना देखाउनमा झुटो अभिजात्य पस्किनमा यति माहिर हुन्छन कि बिमल मात्रै किन कमल ? रमेशहरू समाजका निकै जान्ने बुझ्नेहरू आफू चुर्लुम्म भएर अरूलाई सम्म खाडलतिर घचेडेर चलिरहेको भातृत्वको सम्पर्क पोलेर एक्लो भएका छन् । कथाकारले बिहान बिमललाई उठाइएको अवस्था विमलले लाचार त्यो मान्यतालाई उलिङबिलिङ पारेको कुरा हिजोआज घरघरमै सजिलै पाइने कुरा हुन् । यो कथा मार्फत मान्छेले सपनामा देखेको कुरा बिपनामा साँच्चै फलवती हुने नहुने विचार्न सोझै इङ्गित गरेको पाइन्छ। यथावत समाजमा चलिरहेको घटना टपक्क टिपेर थपक्क कलात्मक रूपले कथामा पस्कन सक्नु यो अन्य एक कलाकारिता हो भन्ने लाग्छ ।

म मर्दिनँ – रेलको डब्बामा पुलिसले गिर्फतार गरेको निडर उग्रवादी हृदय दास र उग्रवादीको बम बिस्फोटमा मरी होला भन्ठानेको घाइते कमला, कमला बसुमतारीको आडमा फैलिएको सन्त्रासले उत्तरपूर्वाञ्चल भारतको असम राज्यमा समाजले कस्तो समय झेल्नु परेको थियो, त्यसको हुवहु चित्रण गरिएको यो कथाले, बन्दुकद्वारा सरकार ब्युँझाउने पक्ष र शान्तिपूर्ण प्रदर्शनमा सरकारी आँखा उघार्ने दुई थरीका सरकारप्रति असन्तुष्ट रैती छर्लङ्ग देखिएको छ । एउटा कथाको थालनी गरेर पाठकले थाहै नपाई अरू दुई तीनेक उपकथा जोडिएको यस कथामा,अवशेषमा उग्रवादलाई एनकेन प्रकारेन मारिएको छ र समाजप्रति प्रतिवद्धता दर्शाउने निर्दोष घाइते कमला बसुमतारी बाँच्नुको आडमा शान्ति प्रिय सद्भावनाको मृत्यु हुँदैन भन्ने सशक्त संवाद दिइएको छ। उग्रवादीको रमझमले सताएको असमभूमिको रक्ताम्य वर्णन कथा मार्फत स्पष्ट पार्नमा कलमकार माहिर देखिन्छन् ।

बजार – मूल बाटोमा गुड्दै गरेको मालभर्ती ट्रक पल्टिँदा त्यहाँको सामान हडप्नु, बेलायती रक्सीले भरिएको ट्रक पल्टिँदा बोतल सोहोर्नु, तेलको टङ्की पल्टिँदा टिनले बाल्टिले डेक्ची दिउरे जेले सकिन्छ त्यसैले तेल उघाएर सत्यानास गर्नु यी सहजात प्रवृत्तिको खुलासाले मनमा चलेको बजारको एउटा नमुना प्रस्तुत भएको छ। नुन हराउनु मटितेल हराउनु भनेको नित्य व्यवहारका अत्यावश्यकीय सामग्री हराउनु हो । यसले भान्सा घरमा ठूलो प्रभाव पारेको हुनाले आईमाई मान्छे कडकिएको अनि बेपारी कालाबजारी गर्ने मानिसले नुन मटितेल गोदाममा दुई तीन दिन बन्द गर्दा कमाउन सक्ने मुनाफाको अङ्क निकाल्न सकेको हुन्छ। एउटा सामान्य परिवारको मानिस यी ठूला र एकश्रेणी शोषक बेपारीको चेपमा आफ्नो म्याट्रिक पढ्ने नानीको भाग्य तौलन विवश छन्, यो दुनियाको विचित्र बजारमा । यो पनि यथार्थमा जल्दोबल्दो समस्याको चित्रण हो।

उपसंहारमा भन्नुपर्दा आरम्भदेखि अन्त्यसम्म प्रत्येक कथामा एउटा एउटा जल्दोबल्दो समस्याको उठान र समाधानप्रति दृष्टि आकर्षण गर्नुले लेखकको सामाजिक प्रतिवद्धता स्पष्ट हुन्छ । कथामा शब्दको जटिलता छैन; सहज, सरल र ग्रामीण भाषाको प्रयोग पाइन्छ । समाजको भित्री पाटोमा रहेको असमान सामाजिक व्यवस्था र विषमता साथै एकै ठाउँमा बसेका तर भिन्नाभिन्नै जात, गोष्ठी, सम्प्रदायबीचमा गोष्ठी सङ्घर्षको विषम परिणति दर्शाउने प्रयास गरेको छ । कथाले पारिवारिक समस्या, युवा मानसिकता, मजदुर र खेती किसानी गर्ने निमुखाको समस्यादेखि उत्तरपूर्वाञ्चलीय क्षेत्रमा रहेको उग्रवादीको समस्याको जिउँदो जाग्दो वर्णन गरिएको पाइन्छ । कथा पढ्न थालेपछि नसकिउञ्जेल पाठकलाई डोर्याउन लेखक सफल छन् । यसभित्रका एक एक कथा पाठ्यक्रम भित्र पढिनु पर्ने चिरहरित विषयमा आधारित देखिन्छन् । उहाँबाट अझै उर्जाशील कथा लेखिऊन भन्ने आशा गर्दै, अहिलेलाई यहीँ रोकिन्छु ।