कवि, गीतकार तथा उद्योगपति बसन्त चौधरीद्धारा रचित तिमीविनाको म पुस्तकको आवरण हेर्दा जो कोहीलाई किनूँ किनूँ लाग्छ । लाग्न सक्छ । आफ्नो प्रेमी या त प्रेमिकालाई उपहार दिऊँजस्तो लाग्छ । जसरी एउटा बगैँचामा फुलेका फूलहरू रङ्गीचङ्गी, मनमोहक र सुन्दर देखिन्छन्, त्यसरी नै यो पुस्तक पनि । पुस्तक मात्र हैन, कविता पनि पुस्तकको अवरणझैँ विविध रङ्गका फूलबुट्टाहरूले बडो गज्जबसँग सजिएका छन् । यस पुस्तकलाई पनि एउटा सुन्दर बगैँचा होभन्दा कत्तिपनि फरक नपर्ला । अन्ततः यो पुस्तक एउटा सुन्दर गुलाफको थुँगा हो । यहाँ प्रशस्त मात्रामा गुलाफका बास्नादार थुँगाहरू पाइन् ।

किन होला
शून्यकै भविष्य लिएर
बाँचेको जीवनले
शून्यता भोग्न नपाएको
शून्यता खोस्न नपाएको
शून्यता गाउन नपाएको
के शून्यतासँग
जीवन सौन्दर्य मृत छ र……
(एकान्तको चाहबाट साभार)

जब कविता पढ्छु, तब मलाई अमर न्यौपानेज्यूको भनाइ सम्झना आउँछ,”कविता मन्त्र हो, जसरी हामी वेदका मन्त्रहरू बुझ्न सक्दैनौँ त्यसरी नै कविता पनि । जति नै वेदका मन्त्रहरू शक्तिशाली हुन्छन्, त्यति नै कविताका भावहरू ।” माथिको कवितामा, सँच्चै नै कविले शून्यको महानता दर्शाएका छन् । शून्यबाट आएको या त शून्यबाटै सुरु भएको यो जीवनले किन शून्यता भोग्न पाएन ? शून्यता या त शून्यताकै काखमा रहेर पनि किन मैले शून्यताकै गीत गाउन सकिनँ । शून्यता खोस्न सकिन्न तर शून्यमा शून्यसरी अवश्य हराउन सकिन्छ । तर मैले शून्यतालाई जान्न नसकेकै हो त ? या त शून्यताप्रतिको मेरो हेर्ने दृष्टिकोण कमजोर भएको, के साँच्चै नै शून्यतासँग जीवन सौन्दर्य नभएकै हो र ? आदि इत्यादि प्रश्नै प्रश्नले शून्यताप्रतिको कुतुहलता मेट्न चाहेका छन् । के प्रश्नै प्रश्नले मात्रै शून्यता प्राप्तिको तृष्णा पूरा हुन सक्ला र ? आखिर के गर्न सके शून्यता प्रतिको या त प्राप्तिको जिज्ञासा शान्त हुन सक्ला त ?

प्रकृति त प्रकृति नै हो
ऊसँगै रमाउनु
उसको आफ्नो अस्तित्वभरि
उसलाई रमाउन दिनु
प्रतिद्धन्द्धी नमानी
हितैषी मान्नु
विश्व तथा मानवीय
सभ्यतालाई
प्रकृतिमय बनाउनु
वर्तमानको चुनौती तर
शिक्षा पनि हो ।
(आजको वर्तमानबाट साभार ) 

मिलन कार्की

जसरी यो जगत्मा लेखेर अरबपति हुनेहरू निक्कै कम छन् । त्यसरी नै अरबपति भएर लेख्नेहरू भने केही हदसम्म बढी नै छन् । सायद यो जगत्मा जोकोहीलाई यो कुराको बोध हुन सक्छ, अरबपतिले आफ्नो जीवनी लेख्छ । पुस्तकको कभरमा आफ्नो सुकिलो, मुकिलो बडो लोभलाग्दो तस्बिर सजाउछ । पुस्तकभित्र नचाहिँदो लाखौँ लाख शब्दहरूको लास थुपार्छ । कैयौँ पाठकहरूको मन मस्तिष्कलाई अनावश्यक दुःख दिन्छ, दिइरहन्छ । पाठकलाई मृत शब्दहरूको मलामी जान बाध्य तुल्याउँछ । तर बसन्त चौधरीको लेखनमा भने शब्दहरूको लास नभएर जीवन, जगत, दर्शन र प्रेमका सुन्दर अनि सुक्ष्मतम आयामहरू भेटिन्छन् । सायद यो उहाँको साहित्यप्रतिको अतुलनीय लगाव र प्रेम हो । प्रेमपूर्वक गरिएका जति पनि काम हुन्छन्, अवश्य नै ती सबै महान् हुन्छन् ।

“जसले आफूलाई प्रेम गर्छ, उसले सबैलाई प्रेम गर्छ । जसले आफूलाई प्रेम गर्दैन त्यसले कसैलाई पनि प्रेम गर्दैन ।” तसर्थ आत्मप्रेम नै प्रकृति प्रेम हो । अबको मान्छे प्रकृतिभन्दा माथि उठ्न खोजेको छ । तर यसो गर्न खोज्नु कुनै महानता नभई भयानक मुर्ख्याइँ चाहिँ हो । हामी प्रकृतिकै सन्तान भएको नाताले हामीले प्रकृतिसँगै रमाउनुमा वा रमाउनुको बेग्लै आनन्द रहेको बेहोरा कविले उक्त हरफमा बताएका छन् । “प्रकृतिसँग कनेक्ट हुनु भनेकै खुसीको तलाउमा नुहाउँनु हो ।”

दोबाटोमा पुगेपछि
सायद बाटोले पनि
दिनेछ मौन स्वीकृति
तिमी जाने छौ,
म छुट्ने छु
तर तिम्रा यादहरू
सँगै रहने छन् !
(छुट्नुभन्दा जहिलेबाट साभार)

कविता पढ्दा जो कोहीलाई लाग्न सक्छ यो कविता बसन्त चौधरीले लेखेकै हैनन् । आलिशान महलको कौशीबाट आकाश र धर्ती नियाल्दै विलासीका विविध रसमा चुर्लुम्म डुब्नेले पनि यति गज्जब गजबका कविता लेख्न सक्छन र ? सङ्घर्षका मैदानमा खरो नउत्रिएका बसन्त चौधरीले पनि यतिसम्मका रसिला कविता लेख्न सक्छन् भन्नु उर्फ…. हा…हा… कतिसम्मको हास्यादपद कुरा ! बस् ! यी फगत कुरामा नअल्झेकै जाति । अन्तर्हृदयबाट नै शब्दहरूको खेती गर्न चाहनेहरूले सुन्दर कृति अवश्य लेख्न सक्छन् । आखिर एक एक शब्दलाई प्रेम गर्नेहरूको खेल मैदान न हो साहित्य ।

म यौटा नशा हुँ
म यौटा दुःख हुँ
म यौटा लोभ हुँ
मेरो परिचय
फगत यत्ति हो……
(नशा साइबरकोबाट साभार)

हामी सबै फगत नशाबाहेक के नै पो हुन सक्यौँ र ? हामीसँग, दुःखको विशाल पत्थरबाहेक अर्थोक के नै पो छ र ? दायाँबायाँ उत्तरदक्षिण जहाँ जता गए पनि हामी सबैले बोक्ने भनेकै दुःख हो । दुःखको विविध नशा छन् । तैपनि रोजी रोजी तन, मन, ध्यान लगाएर छानी छानी हामी दुःखकै नजिक पुग्छौँ । अझ दुःखभन्दा त हामीले लोभलाई पो बडो इज्जतसाथ बोकेका छौँ त । अर्थात् लोभ भन्नु नै दुःख र दुःख भन्नु नै लोभ हैन र ? लोभको भाँडो फ्याँक्न, के साँच्चै नै असमर्थ छौँ र हामी । अहँ हामीले लोभ र दुःखलाई कहिल्यै फ्याँक्न सक्दैनौँ र लोभ र दःखले पनि त हामीलाई पछ्याउन छोड्दैन । क्या गज्जब ! हामी त फगत नशा, हामी त नशै नशामा जेलिएर हुर्के बढेका प्राणी न पर्यौं । तसर्थ हामी नशाभन्दा माथि अहँ कुनै जुनीमा उठ्न नसक्ने भयौँ । युगौँदेखिको हाम्रो असली परिचय भनेकै लोभ, दुःख, अहंकार, ईर्ष्या आदि इत्यादि बाहेक अर्थोक के नै पो रहेछ र ? हामी त फगत विविध आयाम र स्रोत साधनका नशा । हाम्रो महान अनि असली परिचय भनेकै केवल सयौँ थरीका नशा । वाह !

अन्त्यमा, २०७८ सालमा प्रकाशित यस कविता सङ्ग्रहमा जम्मा ८५ ओटा छोटा लामा तर अत्यधिक मीठा कविताहरू रहेका छन् । यी नै ८५ ओटा कविता, भूमिका, शुभकामना र आफ्ना कुराले मात्रै झन्डै २२९ भन्दा केही बढी पृष्टहरू ओगट्न पुगेका छन् । यसको मूल्य ४९९ रूपैयाँ रहेको छ । यसलाई मेघा चौधरीले प्रकाशन गरी बजारमा ल्याउनुभएको छ । मुख्य त सिलबन्द गरिएको हुनाले पुस्तक हात पर्नेबित्तिकै पाठक वर्गहरूलाई यस पुस्तकबारे केही पनि थाहा हुन्न । जति मात्रामा यसको बाहिरी आवरणले धेरैको मन लोभ्याउँछ त्यति नै खिन्न मन यस पुस्तकको भित्री त्रुटिहरूले गराउँछ । यस पुस्तकको मुख्य कमजोरी भनेकै एकापट्टि पेजमा नेपाली वर्णमालाको भाषा र अर्कोपट्टिको पेजमा अङ्ग्रेजी वर्णमालामा नेपाली भाषा अर्थात् रोमन भाषा । वास्तवमा सूर्यांशु प्रताप सिंह र रञ्जना निरौलाले के कस्तो उदेश्य लिएर यस कविता सङ्ग्रहलाई रोमन भाषामा अनुवाद गर्नुभएको हो ? पाठक वर्गलाई उल्लु बनाउन या त भाषालाई कुरूप बनाउन ? या त अङ्ग्रेजी भाषा प्रेमीहरूको हास्य पात्र बन्न ? बेकारमा समयको बर्बादी !

पुस्तक हात परेर बडो रोमाञ्चित भएको थिएँ, बडो कलात्मक पुस्तक हात पर्यो भनेर । तर दुर्भाग्य ! यो रोमाञ्चित मन अचानक खस्कियो । सायदै, यस प्रकारले आजसम्म नेपाली साहित्यमा कुनै पुस्तक प्रकाशन भएको छ जस्तो मलाई लाग्दैन । तर रचना भगतको रेखाङ्कन, आावरण तथा पुस्तक सज्जाप्रतिको कला भने बडो सुन्दर र आकर्षक रहेको छ । उहाँको अतुलनीय मेहनतको कारण नै यो पुस्तक मन परेको जो कोहीलाई उपहार दिऊँ दिऊँ लाग्ने छ । अन्ततः यस पुस्तकको दोस्रो संस्करणमा यो भाषा समस्या अवश्य सुधारिने छ भन्ने आशासहित ‘तिमीविनाको म’लाई सफलताको न्यानो शुभकामना । बसन्त चौधरीज्यूको कलम अविरल चलिरहोस्, साधुवाद ।