‘बाबु, आमा र छोरा’ उपन्यास पढ्नु पूर्व मलाई लागेको थियो– समाज इच्छाभन्दा व्यक्ति इच्छलाई श्रेष्ठतम ठान्ने वीपीका कृतिमा, अन्तर्मनका दमित इच्छा, आकाङ्क्षा, कामना, वासनाले उद्वेलित पात्र स्वनिर्णय गर्न स्वतन्त्र हुन्छन् । आत्मनिर्णयकै कारण ती विजयी हुन्छन् । यौनमनोविश्लेषणका प्रखर स्रष्टा वीपीले बाबु, आमा र छोरालाई त्यसरी हेर्न चाहेका छैनन् । काठमाडौँ, कलकत्ता र बनारसको सीमित परिवेशभित्र उपन्यासका प्रमुख पात्रहरू संयोगले एउटै परिवारका सदस्य हुन पुगेका छन् । परन्तु नाता सम्बन्ध चाहिँ हुनु पर्ने जे थियो, त्यसो हुँदैन । जस्तो इच्छाइएको थियो त्यसको ठ्याक्कै उल्टो भइदिन्छ ।

उपन्यासकी नायिका उमा, जो त्यस घरकी बुहारी बन्ने प्रबल सम्भावना थियो । तर यथार्थ अर्कै हुन जान्छ । ऊ अचानक आमा बन्न पुगेकी छ, सौतेनी आमा । आफ्नै प्रेमीको पिता, हुनेवाला ससुरालाई लोग्नेको रूपमा स्वीकार्न लाचार पात्र जसको केही दिनअघि छोरासँग (प्रेमी) मनोखुशी स्वयंवर भएको थियो । त्यसको चार पाँच दिनमा उसको बिहे बाबुसँग हुनु, यो कसको खेल हो ? स्वेच्छाले त यस्तो भएकै होइन । प्रेम, अनुराग र आसक्तिले पोषित र परिचालित मानव कुनै अदृश्य शक्तिबाट नियन्त्रित र निर्देशित छ भन्ने देखाउन खोज्नु नै यहाँ वीपीको उद्देश्य रहेको छ । मान्छेले चाहेर हुन्थ्यो भने उमाले अर्धवयस्क (४०/४५ उमेरको) पुरुषसँग नाता जोड्ने थिइन । प्रेमीको साथ अचानक निश्चय छुट्ने थिएन ।

सानो परिवार । त्यस घरकी युवती एउटै मात्र सन्तानलाई जन्म दिएर असमयमै परलोक भएपछि बाँकी रहेका बाबु र छोरा । जसका जीवनमा पालै पालो उदाएकी छ उमा । कुनै दिन ऊ छोराकी प्रेमिका भई, छोटो समय । त्यही नै उसको जीवनको अमूल्य क्षण थियो । त्यस पश्चात् प्रेमीको सौतेनी आमा बन्न पुगेकी उसले त्यो रहस्य धेरैपछि थाहा पाउँछे । छोराको गर्भ हुर्काएर बाबुको श्रीमती बन्न बाध्य चरित्र । यो सब मान्छेको इच्छा विरुद्ध नियतिको कुटिलता बाहेक अरू के हुन सक्छ ?

बाबु, आमा र छोराबीचको त्यो सम्बन्ध कति विचित्रको लाग्छ भने एउटै घर एउटै नातामा दुई सम्पन्न परिवार । पारिवारिक हिसाबले चार सदस्य रहे तापनि फेरि तीन–तीन जनाको बेग्ला बग्लै दुई घरबारजस्तो लाग्छ । भिन्नै अस्तित्वको । एकातिर बाबु, जेठो छोरा र उमाको ससानो  तर सम्पन्न परिवार देखिन्छ । अर्कोतिर जेठो छोरो, उमा र उसको सानु छोराबीचको सम्बन्ध– बाबु, आमा र छोरा । बाबुले उमाको पुत्रलाई के भन्ने ? छोरा या नाति । कस्तो अप्ठ्यारो कुरा, कस्तो अप्ठायारो सम्बन्ध । त्यसो त बाबुलाई यस्तो गुप्त कुरा थाहै छैन । उता फेरि ठूलो छोराले उमा पुत्रलाई के भन्ने ? भाइ या छोरा । जुन कुरा बुझ्नको लागि पाठक स्वयंले एक पटक बाबु, आमा र छोरा पढ्नै पर्ने हुन्छ । तब मात्र त्यस परिवारको भित्री रहस्य ज्ञात हुन जान्छ ।

हुर्किएको छोरो पढ्नको लागि बनारस गएपछि एक्लै समय गुजार्दै आएको विदुरबाबु छोराकै आग्रहमा बिहे गर्न पुग्छ । त्यो पनि बनारसमा छोरासँगै कलेज पढेकी उसैकी प्रेमिकासँग । जुन कुरा अज्ञातमै नियतिले घटाएको थियो, वीपीले यही भन्न चाहेका छन् । यदि उमा आफ्नै छोराकी प्रेमिका हुन् भन्ने ज्ञात बाबुलाई हुन्थ्यो भने उसले उमासँग बिहे गर्ने थिएन ।

अनिता पन्थी

बढ्दो उमेरसँगै पुरुष मनमा आएका परिवर्तन र नारी मनको सूक्ष्म विश्लेषण गरिएको प्रस्तुत उपन्यासमा, उमाको भर्भराउँदो कोमल देहको अधिकारी बन्न पुगेको ४०/४५ को शिथिल वयस्क आफैँप्रति विश्वास गर्न सकिरहेको छैन, “यसरी साना साना कुरा केलाइरहने प्रवृति शायद मध्यम वयस्कको आत्मविश्वासको कमीले गर्दा हुन्छ क्यार । झन् त्यस अवस्थामा दोस्रो बिहा गर्दा त्यो प्रवृति उक्सिन्छ नत्र किन कान्छीका साना साना कुरालाई लिएर म दिनरात तिनलाई केलाइरहन्छु । यौवनको तोडमा कसलाई बसेर कुरा केलाइरहने फुर्सत हुन्छ र (पृ–१५) ?”

कथानकको माग अनुसार निर्मित परिवेश र चरित्रमा आउने सहज स्वाभाविक वैचारिक पक्षले वीपीका कृतिहरू ज्यादै ओजपूर्ण रहेका छन् । बाबु, आमा र छोरामा पनि त्यो ओजस्विता कायमै रहेको छ । नारी मनको विश्लेषणको क्रममा एक ठाउँमा उनले भनेका छन्, “… उनीहरूको अन्तस्थल एउटै तत्त्वको हुन्छ । उनीहरूलाई प्रकृतिले आत्मसमर्पणका लागि रचेको हो, त्यसैले आफूलाई उत्सर्ग गर्नु उनीहरूको स्वाभाविक वृत्ति हुन्छ (पृ–१७) ।”

उमा आफ्नो जीवन त्यस गतिले चल्नुमा प्रारब्धलाई नै दोषी मान्छे, अर्थात् लेखक नियतिप्रति चर्को विश्वास गर्छन्, “मानिसले जेजस्तो गरे–नगरे तापनि त्यही एउटा निर्धारित पथमा उसले हिँड्नुपर्छ । मानिसको प्रयत्न पनि के त्यही एउटा बाटोमा हिँड्नको लागि गरेको पूर्व चेष्टा होइन, जसमा चेष्टाहीन भएर पनि त्यसैमा त्यो हिँड्ने थियो ? मानव प्रयत्न–उसको उद्योग, पुरुषार्थ–उसको प्रारब्धको नै अनुकूल हुन्छ क्यारे, जस्तो कि पुरुषार्थ हीनता पनि हुँदो हो (प–४१) ।”

आज पनि उमाको अन्तर्मन उही प्रेमीसँगको प्रणय रातले चलेको छ, जसलाई पछि गएर सौतेनी छोराको दृष्टिले हेर्नु पर्दाको विडम्बना तब के गर्नु छ र ? कसैले चाहेर त्यसो भएको थिएन । नचाहेरै भएको थियो । नियतिले लाचार बनाएको छ । वीपीले अझै अगाडि गएर भनेका छन्– मनमा उठिरहने विचार पनि प्रारब्धकै भोग हो ।

उच्च कलात्मक भाषाशैली, केही तत्सम शब्दहरूको मीठासपूर्ण प्रयोग र वैचारिक पक्षसँगै कथावस्तुको अनौठो संयोजनले उपन्यासलाई यति गहन बनाएको छ कि अब के हुन्छ ? पाठकलाई भेउ पाउन मुश्किल पर्छ, कुनै निश्चित विन्दुमा नपुग्दासम्म । आकस्मिक तवरले मोडिएको कथानकमा पाठक उत्सुकताले तानिई रहन्छन् ।

बनारसको कुरा हो, अघिल्लो रातको त्यो प्रणय सुख भोग अर्थात् स्वयंवरको भोलिपल्ट उमाको प्रेमी कलकत्ता गएको छ, बाबुको बिहेको लागि आवश्यक सामलतुमल वस्त्रभुषणादि किनमेल गर्न । त्यसै दिन यता उमाको दाजु उसलाई लिन आएका छन्–काठमाडौँदेखि । भरे त उमाको बिहे आफ्नै प्रेमीको बाबुसँग गराउन यो सब योजना भएको रहेछ । उसैको लागि प्रेमीले लत्ताकपडा पठाउँदै थियो । जुन कुरा न प्रेमीलाई थाहा थियो न त प्रेमिकालाई नै । त्यस दिन समय आफैँले उमालाई उद्बोध गरायो जुन दिन उसको प्रेमी घर फर्किँदै थियो ।

यहाँ प्रारब्धको कुरा गरिरहँदा वीपीले पुरुषको तुलनामा महिला अलिक बढी नै नियतिको वशमा पर्ने कुरा उल्लेख गरेका छन् । किनकि जिद्दी र हठ भएर पनि उनीहरूमा दृढता धेरै कम हुने गर्छ । यदि उमाले दृढ सङ्कल्पमा आफ्नो अडान नछोडेकी हुँदी हो त उसको बिहे हुने सम्भावना अधिक न्यून हुन्थ्यो । जहाँ कि उसको स्वयंवर भइसकेको थियो । अनि डिम्ब सेचन पनि ।

यता बाबु चाहिँ उमालाई पाएर पनि एक्लो छ । उमाको प्रेममा ऊ आनन्दविभोर हुन सक्दैन । सार्थकता देख्दैन । दोस्रो बिहेकै कारण हीनताबोधले विगलित पात्र । आफ्नो पुरुषत्व शिथिल हुँदै जाँदा उसले श्रीमतीलाई भन्छ, “तर जुन कुराको अनुभव मलाई यस अर्धवयस्कमा हुन थालेको छ, त्यो हो प्रेमको निस्सारता … । प्रेमले जीवनका कमजोरीहरूलाई बाधा, विग्रह र चोटहरूलाई निको पार्न सक्दैन रहेछ । … कि प्रेमको अभावको अनुभव हो ? कि उमा यो मेरो उदासी उमेरको असर हो (पृ–५७) ।”

ऊ व्याकुल छ, निराश, खिन्न पनि ।

उमाको स्थिति त्यो भन्दा कम छैन । उसले लोग्नेलाई प्रेम गरिरहेकी छैन, प्रेमले पग्लिएकी पनि होइन । केवल उसप्रतिको सहानुभूति, करुणा, पश्चात्तापले स्फुरित ममता मात्रै । प्रेमको वशमा नभएकी, विरोध र अनिच्छा प्रकट नगरेकी तर उदासीनताले प्रेम गर्दैरहेकी । उसले प्रेमभन्दा पनि नारीत्वको भूमिका निर्वाह गर्दैछे । श्रीमतीको अभाव पूर्ति गर्नु थियो । हो, उसले त्यही गरेकी छ । बस, उनीहरूको दाम्पत्य जीवन यही रीतले चलेको थियो ।

नियतिको प्रसङ्गलाई जोड दिँदै फेरि कथावस्तु यसरी मोडिन्छ, उमाको आमा बित्नु, श्रीमानलाई वास्तविक प्यार गर्ने एउटा संयोग भएर आएको छ । शुरुका दिनमा मन नपराइएको, नरुचाइएको श्रीमानप्रति नियतिले सुस्तरी प्रेम खन्याउँदै लैजान्छ । उसकी आमा खस्नु, पेटको बच्चा हुर्किँदै जानु, श्रीमानको निम्ति हार्दिक प्रेम पाउने वातावरण सृजित हुँदै जानु हो । उसले त्यही कुरालाई विश्वास गरेको छ । दाम्पत्य जीवन हठात् स्निग्ध र निश्छल भएर आत्मिक लयमा बगेको पाउनुमा उसले नियतिलाई नै सम्झिएको छ ।

उपन्यास पढिसक्दा मलाई यस्तो लाग्यो बाबु, आमा र छोरा नियतिवादको व्याख्या, विश्लेषण गर्नकै निम्ति रचिएको कृति हो । हिट्लर र यहूदी, मोदिआइन उपन्यासमा नियतिवादको यति स्पष्ट धारणा पाइँदैन । वीपीका अन्य उपन्यासको लेखन हेतु मनोविज्ञान र जैविकमनोविज्ञान रहेका छन् । उनको अन्तिम कृति बाबु, आमा र छोरामा विषयवस्तु र पात्र चयनले नै बताएको छ नसिबका कुरा । कथानक यसबारे आफैँ बालेको छ– नियतिको चक्रमा उमा कसरी पिसिएकी छ भन्ने कुरा ।

आफूले जन्माएका पात्र पात्रालाई वैयक्तिक निर्णय गर्ने स्वतन्त्रता दिँदै आएका वीपीले बाबु, आमा र छोरामा त्यो स्वतन्त्रतालाई अपहृत गरेका छन् । नियतिको सच्चाइलाई बुझाउन खोजिएको हुँदा उनले उमाको स्वतन्त्रतालाई बन्धित गराउन आवश्यक देखे । यसर्थ उमालाई न्याय दिन उनी असमर्थ छन् । उसमाथि अन्याय गरिएको छ । लेखक अन्यायी भएर सम्पूर्ण कुरा नियतिलाई नै फैसला गर्न लगाएका छन् । व्यक्ति इच्छा र स्वतन्त्रताको हिमायती भएर पनि उनले उमालाई स्वतन्त्र निर्णयमा चल्न दिएका छैनन् । यदि उसलाई स्वतन्त्रता दिने हो भने वीपीले अर्थ्याउन चाहेको नियति अपूर्णै हुनेछ । यसर्थ बाबु, आमा र छोरामा उनी अविवेकी क्रुर भएका छन् । जब कि उनका अन्य कृतिका पात्र स्वअस्तित्वको खोजीमा निर्बन्ध रहेका छन् ।

प्रस्तुत उपन्यासका वीपी एक रहस्यवादी लेखक हुन् । गर्भ कसको थियो ? त्यो पनि उमाको लोग्नेलाई थाहा दिइएको छैन । आफ्नी श्रीमती छोराकी प्रेमिका हो भन्ने बोध उसलाई कथाको अन्त्यमा पनि गराइएको छैन । किनकि यो सब नियतिकै खेल हो । यदि बाबुले यो सब थाहा पाएको हुन्थ्यो त उसले उमासँग बिहे गर्ने नै थिएन । ऊ पश्चात्तापमा जल्ने छ ।

यसर्थ उमा नियतिलाई बुझ्न बुझाउन जन्माइएकी एक विवश, निरीह नारी पात्र हो । मलाई यहाँ वीपीसँग प्रश्न गर्न मन छ, त्यो निरीह अदना चरित्रको रूपमा किन नारीलाई नै छनोट गरियो ?

मुख्यतः बाबु, आमा र छोराको जीवनमा घटेका अप्रत्याशित घटनाले जागृत कुतुहलता, रोमाञ्चकता, अनिश्चितता, विवशतार र अनियमितताको समग्र रूपले उपन्यासलाई प्रस्ट्याएको छ । नसिब अर्थात् प्रारब्धको धारमा सिर्जिएका बाबु, आमा र छोरा तीनै जना पात्रले अन्त्यमा नियतिलाई बुझ्न सकेका छन् । अर्थात् लेखकले बुझाउन सकेका छन् ।

एउटा कुरा त भन्न बाँकी नै छ — त्यो के भने, हाम्रो परिवेशमा यो एक चुनौतीपूर्ण जटिल विषयवस्तुमा रचिएको बेग्लै कृति हो  ।