सत्ता र शक्तिका लागि

अनेक तानाबाना बुन्दै

शकुनी बनेकाहरू

कहीँ नभएको जात्रा गर्दैछन्

अरूको आत्मा मारेरै भए पनि

आफ्नो झोली भर्दैछन् (७९) ।

देशको वर्तमान अवस्थाको प्रतिबिम्बन गर्ने यी भावहरू हुन् कवि सूर्य लाकोजूको घाम फुल्ने याम कवितासङ्ग्रह भित्रका । अहिले हाम्रो राजनीतिमा देखिएको विसङ्गति एवम् नेताहरूको स्वार्थी प्रवृत्तिका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको तर देश र जनताको भाग्य निर्माता बन्छु भन्दै सत्तामा पुगेकाहरू आफ्नै मात्र भाग्य निर्माणमा व्यस्त रहेको हुनाले यो देशको राजनीति कहीँ नभाको जात्रा बन्दैछ । जनमानसमा छाएको चरम नैराश्य एवम् राजनीतिप्रतिको बढ्दो वितृष्णालाई यस कविताले समेटेको छ । समृद्धिको सपना सजाएका नेपाली आँखाहरूमा पोखिएको निराशा अनि समाजमा व्याप्त बेथितिको यथार्थ बोलेको छ कविताले ।

निरङ्कुशतालाई सराप्दै                                                                 

      आफैँ निरङ्कुश बनेकाहरू                                                      

      सामन्तवादलाई धारेहात लगाउँदै                                                          

     आफैँ नवसामन्त बनेकाहरू 

      हेर्न चाहँदैनन्

      मजदुरका ठेला उठेका हातहरू

     सोच्दैनन् किसानको

     पसिनाको मूल्य (८१) ।

                निरङ्कुशता र सामन्तवादी सोचका कारण नेपालीको उन्नति नभएको भन्दै त्यसको अन्त्य पनि गरियो तर पनि आम नेपालीको अवस्था जहाँको त्यहीँ रह्यो किनकि मुठ्ठीभर सामन्तको अन्त्य गरी सयौँ सामन्तहरू जन्मिएका छन् यहाँ ! निरंकुशता फाल्ने अगुवाहरू स्वयम् निरङ्कुश बनेर शासन चलाइरहेछन् । सत्ता र शक्तिको मोहमा फँसेर देश र जनतालाई बिर्सनेहरूलाई मजदुरका हातको ठेला र किसानको पसिनाको के वास्ता ? उनीहरू त आफ्नै मखमली बिछौनामा मस्त छन्, चौरासी व्यञ्जन भोग गरेर । यही यथार्थको उजागरण छ यो अनि यस्तै कवितामा ।

प्रजातन्त्र आएर पनि सामाजिक रूपान्तरण हुन नसक्दा जनतालाई गणतन्त्रको सपना देखाइयो । असङ्ख्य नेपालीले ज्यान गुमाएर रगतको खोलासँगै गणतन्त्र त आयो तर त्यो पनि केवल नेताहरूकै लागि भयो । उनीहरूकै महल ठडिए, जीवनस्तर उकासियो तर जनता भने उही धरालतलमा रहिरहे । यस्तै समसामयिक राजनैतिक चेतनाले ओतप्रोत देखिएका छन् यस सङ्ग्रहका कविताहरू ।

गणतन्त्रको परेवा उडेको वर्षौ भयो

तर अहिले पनि

झुपडीमा उदाएको छैन सूर्य

गरिबको मुखमा

अहिले पनि छैन लागेको माड

परिवार धान्न

अरबको मरुभूमिमा आफूलाई

बेच्न बाध्य छन् युवा

पैसासँग कफिन साट्न

विवश छन् यो देशका युवा (३१) ।

डा. साधना पन्त ‘प्रतीक्षा’

नेतृत्वको अदूरदर्शिता र अकर्मण्यताका कारण द्वन्द्वकालदेखि उजाडिएका गाउँबस्ती उस्तै छन् । गणतन्त्र आएको यतिका वर्ष भए पनि हाम्रो राजनीति सत्ता र शक्तिको खिचातानीमा अल्झिइरहनाले देशले उन्नति गर्न सकेको छैन । गरिबहरू झन्झन् गरिब बन्दैछन् । त्यसैले गुजारा चलाउन दैनिक असङ्ख्य युवाहरू विदेश पलायन हुने गरेका छन् । खाडीको तातो वालुवामा रगत–पसिना बगाउने, अझ डलरको सपना बोकी गएर कफिनमा फर्कने नेपाली युवाहरूको आवाजको प्रतिनिधित्व छ यी कविताहरूमा ! सामाजिक बेथिति, राजनैतिक विसङ्गति, गरिबी, अभाव अनि हाम्रै दूरावस्था र दुर्भाग्यलाई विषय बनाइएको छ यी कविताहरूमा । कविमा वर्गीय चेतना उद्बोध छ । त्यसैले उनले विपन्न वर्गका पीडाहरूलाई कवितामा समाहित गरेका छन, यसरी—

गरिबलाई ऋणबाट                                                             

मुक्त गरेको उत्सव                                                                    

आँखामा राखेर                                                                

 गोदावरीजस्तै जिन्दगी पनि

 फुलाउने मन छ  

 मेरो सानो नानीले

 आफ्नो दाजुलाई टीका लगाउँदै

 दीर्घायुको कामना गरेको 

हेर्ने मन छ….  

डालोभरि गोदावरी बोकेर

बजार झरेकी म 

फूल बेचेर

तिहार किन्न आएकी (२५–२६)

एकातिर मौलिक संस्कृतिहरू छन्, पुर्खादेखिका संस्कारहरू पनि छन् । तिनलाई निरन्तरता दिनु छ । तिनैमा रमाउने मन पनि छ तर अर्कातिर चरम अभाव पनि छ, गरिबी छ अझ ढाडै सेक्ने महङ्गी छ ! विपन्न वर्ग ऋणको चपेटामा थिचिएका छन् । त्यसबाट मुक्त हुने सपना अनि गोदावरी र सयपत्रीसँगै हाँस्ने चाहना पनि त छ ! यस्तै आशा–निराशा, सङ्गति–असङ्गतिले बुनिएका सुन्दर कविताहरू छन् यहाँ ।

दुःख–पीडा मात्र पनि छैनन् यहाँ, प्रकृति र सिर्जनाको सम्बन्ध पनि गाँसिएको छ । प्रकृतिसँगै मान्छेभित्रका भावहरू हाँस्ने–रुने अनि फैलने र खुम्चिने गर्दछन् भन्ने यथार्थको साक्षी बनेका छन् कवि सूर्यका कविता । उनी घाम फुल्न थालेपछि यसरी कविता फलाउछन्—

सूर्यको पहिलो किरणसँगै  

मेरो मनको दैलो टेकेर

जब पस्छ मभित्र मेरो घाम

मनका कोरा पानाहरूमा

अक्षर रोप्दै

शब्दहरू गोड्दै

वाक्यहरू केलाउँदै

कविताको अन्न फलाउँछ (१८) ।

प्रकृति छ, पर्यावरणीय चेतना पनि छ यहाँ । प्रकृतिमाथि प्रहार हुँदा कवि मन दुख्ने गरेको छ । पर्यावरणीय क्षतिका कारण पीडित प्रकृतिसँगै दुखेका छन् कवि र त्यही प्रकृतिसँग एकाकार भई यसरी बोलेका छन्—

पहिले म गहिरो थिएँ

फराकिलो भएर बहन्थेँ

अहिले मलाई साँघुरो बनाएका छन् 

म अतिक्रमणमा परेको छु 

यतिविघ्न विनाशको जिम्मेवार

म हुँदै होइन…  

तर पनि बहनुको विकल्प मसँग छैन

निरन्तर बहनु मेरो धर्म हो

म चाहन्छु

मेरो बाटो नछेक्नु

मलाई रोक्न नखोज्नु (५६–५७) ।

मान्छेका दुख–पीडाप्रतिको चिन्ता त छ नै कविलाई प्रकृतिको माया पनि छ । जोगाउन चाहन्छन् र जोगाउनुपर्ने सन्देश पनि दिन्छन् उनी प्रकृतिलाई । मान्छेले नै निम्त्याएको हो विनाश प्रकृतिको अतिक्रमण गरेर भन्ने ठोकुवा गर्दछन् उनी । यसैगरी समाज विसङ्गत भएको बेला, हाम्रा मूल्यमान्यता विघटित हुँदै गरेको बेला, अग्रजहरूले सम्मान नपाएर आँसु झार्दै गरेको बेला कवि अग्रजको सम्मान गर्दछन् । बाबुप्रति कृतज्ञ भएर कविताको फूल चढाउँछन्, यसरी—

कर्मभूमिको आँगनभरि

परिश्रमको फल फलाएर

हामीलाई चाख्न दिने….

बा ! आज

सगरमाथाभन्दा पनि अग्लो

तिम्रो कद छाम्न खोजिरहेछु (४–५) ।

आज हामीले हाम्रो संस्कार बिर्सेका छौँ । अघिल्लो पुस्तालाई सम्मान गर्न जानेका छैनौँ । नैतिकता र आदर्शबाट टाढिँदै गएका छौँ । त्यसैले हामी सम्पन्न भएर पनि सन्तुष्ट हुन सकेका छैनौँ । यस्तै यथार्थको उद्बोध छ कवितामा । यी त केही उदाहरण हुन् । यस सङ्ग्रहभित्रका कवितामा प्रेम छ, विछोड छ, विश्वास छ, आशा छ अनि सिङ्गो जीवन–जगत् नै छ । घामजस्तै खुलेका असङ्ख्य कविताहरू छन् यसमा । पढूँ पढूँझैँ लाग्ने, एकै बसाइमा पढिसकिने हृदयस्पर्शी कविताहरू फुलेका छन् घाम फूल्ने यामभित्र !