मेरो हातमा यसबखत असम नेपाली साहित्य सभाका महासचिव आदरणीय रुद्र बरालको दोस्रो काव्यकृति “कागजको नाउ” छ । उनको पहिलो काव्य कृति “तेस्रो आँखो”लाई पाठकवर्गले धेरै रुचाएका थिए र अति थोरै समयमा धेरै चर्चामा आएको थियो एवम् आइरहेको छ । ठिक त्यसैगरी “कागजको नाउ”ले पनि पाठकवर्गको ध्यानाकर्षण गर्न सफल भएको छ ।
विषय प्रवेश :
भनिन्छ – “A poetry is a silent picture and a picture is a silent poetry.” विश्वसाहित्यलाई अध्ययन, मनन गरेर त्यसलाई आफ्नो काव्यमा उतार्न खप्पिस बरालको “कागजको नाउ”मा विश्वसाहित्यका बुँदाहरू पाइन्छन्, उनका कविताहरूमा कहीँ इतिहास रोएको छ भने कहीँ देखावटी र भौतिकवादको दुनियाँलाई व्यङ्ग्य हान्दै समाज बोलेको छ। कुनै कवितामा भारतेली समाजमा व्यवस्थित “देवदासी” प्रथाको विरोध गर्दै नारीको विवशता अति मार्मिक तरिकाले वर्णन गरिएको पाइन्छ। कहीँ मान्छेको मनबाट हराउँदै गएको मनवता र नैतिकतामाथि शालीन व्यङ्ग्य प्रहार गरेको पाइन्छ।
समग्रमा भन्नुपर्दा बरालको “कागजको नाउ” भित्रका कविताहरूमा सामाजिक, सांस्कृतिक राजनैतिक द्वन्द , देशको अर्थ-सामाजिक व्यवस्था आदि विभिन्न पाटाहरू पाइन्छन्, सरल भषामा भन्नू हो भने बरालका कविताहरूले आजको जटिल र विषमपरिस्थितिको घोर विरोध गरेका छन्, नैतिकताको गुहार लगाएका छन्, मानवीय मूल्य , कर्तव्य र दायित्वबोधको खोजी गरेका छन् । त्यसैले उनको यो कृतिलाई आजको जटिल समयको एउटा दस्तावेज भन्न सकिन्छ ।
“कागजको नाउ” प्रशान्तजस्तै विशाल र गहिरो छ र उनले यो कृति हाम्रो नेपाली साहित्यमा भित्राएर हाम्रो साहित्यको भण्डार दह्रो पार्नमा सघाउ पुर्याएका छन् ।
ग्रिसेली दार्शनिक प्लेटो भन्छ्न् – “Poetry is near to vital truth than history”. हो, बरालका कवितामा धेरैथोक पाइन्छन् , समाजमा भएका तर मानिसका नजरमा नपरेका युगीन कुराहरू बरालले टप्प टिपेर आफ्ना कवितामा उतारेका छन्। तर ती सबै पाटाहरूलाई एकैछिन पर पन्छाएर म यहाँ उनका कवितामा पाइने स्वर तथा रसको कुरा गर्न जाँदैछु
काव्यसौन्दर्यबाट प्राप्त आनन्द र त्यसको आस्वादलाई ‘रस’ भनिन्छ । यो पदार्थ र आयुर्वेद रसजस्तो भौतिक नभएर मोक्ष भक्तिको रसजस्तो आत्मिक हुन्छ। भौतिक रसको आस्वाद जिभ्राले गरिन्छ भने साहित्यिक रसको पान मन वा आत्माले गरिन्छ। आचार्य भरतले नाट्यशास्त्रमा साहित्यमा पाइने रसलाई परिभाषित गरेका छन् जसलाई रससूत्र भनिन्छ ।
बरालका कवितामा पाइने रस अथवा उनका कवितामा गुञ्जिएका स्वर :
न्यायको माग गरिएको स्वर :
“उसको कुनै मकवरा छैन
खर्लप्पै निलिदियो इतिहासले उसको इतिहास
जसरी निलिन्छ नेपथ्यका कलाकारहरूको
श्रम र साधनाको कथा व्यथा ।”
कविता :उस्ताद अहमद लाहौरी
यो कवितामा अन्यायको विरोध आवाज उठाइएको छ । इतिहासमा गाभिएका गुमनाम तथा महान आत्माहरूलाई न्याय दिलाउन कवि बरालले आफ्नो कविताद्वारा भरमार कोसिस गरेका छन् । आज पनि ताजमहल कसले बनायो भन्दा सोझै सम्राट साहजहाको नाउँ आउँछ अथवा इतिहासले त्यही नाउँ बताउँछ। जबकि इतिहासलाई पूर्णरूपले थाहा छ कि साहजहान सम्राट हुन्, आर्किटेक होइनन् । उनको आदेश तथा निर्देशनमा विश्वप्रख्यात मकवरा (tomb) ताजमहल बनियो। तर, जुन महान कलाकार अहम्मद लाहौरीले यसलाई बनायो उसको नाम, गन्ध सबै इतिहासले निल्यो । त्यसैले कवि बराल हुङ्कार गर्दै सबै गोप्य कुराहरू उजगर पारिदिन भन्छन्,
“ताजमहल रातारात बनियो त ?
उजागर पारिदे न इतिहास उस्ताद अहमद लाहौरीका
मकवरा निर्माणका गोप्य कुराहरू ।”
बरालका कवितामा पाइने करुणाको स्वर :
हरेक कथाको पछि गाथा हुन्छन्, कुनै समाजले देख्छ, कुनै देखदैन । समाजका नजरदेखि ओझेलमा रहेका दृश्यहरू बरालका कविताका विषय बन्नपुगेका छन् । त्यस्तै एउटा करुण चित्रण बरालले “मेनका” शीर्षक कवितामा उतारेका छन् –
“मेनका नाचिदिन्छे
तरवारको डरले
मेनका नाचिदिन्छे
अर्काको रहरले
मेनका नाचिदिन्छे भुँडीकै करले”
“हर नचाइको पछाडि एक न एक धुन हुन्छ
कसैको बाँसुरीको , कसैको चाबुकको
सबै नृत्य कला होइन बाध्यता पनि हो ।”
कविता — मेनका
मेनकाको माध्यमबाट बरालले संसारका सबै दलित तथा पीडित नारीहरूको विवशता र पीडालाई आफ्नो कवितामा उतारेका छन् भने चोटिला शब्दले पुरुषप्रधान समाजलाई व्यङ्ग्य हानेका छन् ।
बरालका कवितामा पाइने सामाजिक चेतना, भाषाप्रेम एवम् दायित्वबोध :
“A language is the road map of a culture .. It is a backbone of a community .” कुनै एउटा जातिको अस्तित्व नै भाषा हो , भाषा भनेको जातिको पहिचान हो। जबअब भाषामाथि केही सङ्कट आइलाग्छ तबतब उसका सन्तान निस्किन्छन् त्यसको रक्षा गर्नुको निम्ति । बराललाई पनि सन्तान एउटाको कर्तव्य र दायित्व के हुनुपर्छ त्यो पूर्णरूपमा थाहा छ ।
उनी भन्छन् –
“कुपोषण , अनुवंशिक र संक्रामित व्याधिले ग्रस्त छ
भाषा र साहित्यको स्थानीय संस्करण
अन्तिम भरोसा — सामाजिक सञ्जालका लाइक र कमेन्ट”
कविता :सामाजिक सञ्जाल
सचेतताको स्वर :
हिजोआज हाम्रो मनबाट बिस्तारै मानवता हराउँदै गएको छ। अहिलेको समयका मान्छे एकअर्काको भावनालाई कुल्चिदै आफ्नो सफलताको महल खडा गर्न पनि पछि हट्दैन । मानिसका मनबाट नैतिकता, आत्मीयता पर भाग्दै गएको देखेर कवि बराल दुखी छन् । उनी यसरी भन्छन्,
मानिस हराएको पृथ्वीमा
मानिस हराएदेखि
जनावरको राजत्व चलेको छ
अब तेस्रो विश्वयुद्ध जानवरले लड्ने छ
नपत्याए सोध्नुहोस् हराएको मानिसलाई
कविता : मानिस हराएको सूचना
अस्मिता रक्षाको स्वर :
कवि बराल देशमा घटेका हत्या , बलात्कार, नारी शोषण यस्ता समाज विरोधी तथा अमानवीय घटनाहरू देखेर असन्तुष्ट छन् । हाम्रो देशमा नारीको सुरक्षाको निम्ति धेरै ऐन-कानुन बनिन्छन् अथवा बनिएका छन्, तापनि हाम्रो देशमा हर गल्लीमा , सहरको हर कुनामा नारीको अस्मिता लुट्ने राक्षसहरू लुकेर बसेका हुन्छन् । देशको खोक्लो ऎन व्यवस्था देखेर कवि बराल पीडाले भरिएको आवाजले भन्छन्,
“बेटी बचाओ” को नराले भरिएका होर्डिङहरू
बिहान कुहिरो नफाटी टल्किन थाल्छन् जताततै
अनि फेरि पुतली समाउने कोपिलालाई
निमोठिदिन्छ एउटा राक्षसले
स्तन भनेर टोकिदिन्छ एउटा रित्तो छाती
आज तपाईंको सहरमा
भोलि मेरो गाउँमा ।”
कविता : अस्मिता लुट्न पल्किएको सहर
मूलत: कवि बराल अहिलेको समयका एक सशक्त एवम् आत्मविश्वासी कवि हुन् । उनी आत्मविश्वासी हुनुको अर्थ उनको कृतिले बोलेको छ। नाम, यश एवम् प्रशंसा कमाउन उनले कहिल्यै कविता कोरेनन् ।
कृतिमा रहेको भूमिकाले कृतिलाई उच्च स्थानमा पुर्याउँछ। यो कुरालाई हामी नकार्न सक्दैनौँ । एउटा महत्त्वपूर्ण योगदान हुन्छ भूमिकाको कृतिलाई शृङ्गार्ने । प्रख्यात कवयित्री-आख्यानकार पारिजातको बहुचर्चित उपन्यास “शिरीषको फूल” मा लेखिएको निबन्धकार शङ्कर लामिछानेज्यूको कालजयी भूमिकाले “शिरीषको फूल” उपन्यासलाई सफलताको बाटो नाप्न धेरै सहयोग पुर्याएको थियो। सबैजना कवि अथवा लेखकले आफ्नो कृतिमा भूमिका लेखाएका हुन्छन् । शुभेच्छाका हरफले कृति नै भरिएको हुन्छ। तर बरालले आफ्नो कृति “कागजको नाउ”मा कुनै भूमिका लेखाएका छैनन्। कविता पाठकले रुचाउँछन् अथवा रुचाउँदैनन् उनलाई त्यसको सरोकार छैन। उनले बस समाजको भएर कविता लेखे, अन्याय र समाज विरोधी कार्यको विरोध गर्दै कविता लेखे। मनले खोज्यो अनि कविता लेखे । उनलाई पूर्ण विश्वास छ आफैँमा, आफ्ना कवितामा, आफ्नो लेखाइमा ।
समग्रमा भन्नुपर्दा “कागजको नाउ”मा समावेश भएका सबै कविता उच्चस्तरीय छन् । कवितामा विश्वसाहित्यको तुलनात्मकता पाइन्छ, तत्कालीन परिस्थितिलाई तथा घटनाहरूलाई काव्यिकताको रङ्ग पोतेर आफ्ना कवितामा उतारेका छन् । कविताहरू प्रतिकात्मक छन्। कवि बरालले शिल्प र बिम्बको प्रयोग सक्दो गरेका छन् , त्यसैले कविताहरूले पाठकको हृदय छुन पुगे । मनमस्तिष्कमा झन्कार सृष्टि हुन्छ बरालका कविता पढेपछि ।
“कागजको नाउ ” पढेपछि मलाई यो भान भयो कि कवि बराल देश तथा समाजका संवेदनशील तथा सशक्त कवि हुनुहुन्छ । सामाजिक दायित्वबाट कहिल्यै पछि नहट्ने कवि बराल युवाहरूका कवि हुन्। उनको साहित्यिक यात्राको उत्तरोत्तर कामना, तथा सुस्वास्थ्यको कामना गर्दै मैले मेरो छोटो समीक्षाको बिटमार्न चाहेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।