आमुख

भारतीय साहित्य र समाजमा रामकाव्य र रामकथाको ठुलो महत्त्व छ। हाम्रो भारतीय समाजमा रामलाई मर्यादा पुरूषोत्तम भनी सदैव श्रद्धा र भक्ति गरिन्छ। भगवान विष्णुका दश अवतारमध्ये रामावतार पनि सातौं अवतारका रूपमा मानिन्छ। उनका पराक्रम र जीवनीलाई लिएर भारतलगायत दक्षिण एशियामा धेरै काव्य लेखिएका छन्। रामकथामाथि संस्कृत र आधुनिक आर्यभाषा, तमिल. तेलेगु, तिब्बती आदि भाषामा विभिन्न काव्य प्रकाशित छन्। विशेषगरी संस्कृतका वाल्मिकी रामायण,हिन्दीमा तुलसीदासको रामचरितमानस, बांगलाका कीर्तिवासका रामायण आदि हुन्।

नेपाली साहित्यमा पनि रामकथामाथि विभिन्न उपजीव्य र प्रकीर्ण काव्य लेखिएका छन्। यीमध्ये भानुभक्तको रामायण, सोमनाथ सिग्देलको आदर्श राघव, सुन्दरानन्द बाँडाको अद्भूत रामायण, लेखनाथ पौड्यालको मेरो राम, लक्ष्मीप्रसाद देवकोटाको रावण जटायु यद्ध, सीताहरण नेपाली रामायण, रघुनाथ भट्टको रामायण सुन्दरकाण्डइत्यादि रहेका छन्। डा रमेशप्रसाद अधिकारीले रामकथामा आधारित सीतायण महाकाव्य शृङ्खला पनि प्रकाशित गरेका छन्।  यद्यपि भानुभक्त आचार्यले भने यसलाई पूर्णाङ्गी रूप दिएर अनुवाद गरेका छन्। उनको अनुवाद कला पनि विशिष्ट किसिमको छ। उनले आफ्नो अनुवादलाई अघिल्लो आधार ग्रन्थको हुबहु शाव्दिक अनुवाद गरेका होइनन्। उनले त रामायणको मूल कथालाई अघि राखी त्यसको भावानुवाद मात्र गरेका हुन्। उनले मूल रामायणको कथालाई आवश्यकता र पाठकको रूचि अनुसार थोरै भाग मात्र कथाका रूपमा उतारेका छन्। मूल रामायणमा पाइने, राम महिमाका लामा लामा पद्यहरूलाई हटाइ चाहिँदो मात्र लिएका छन्।  मूल रामायणको एक तिहाइ मात्र भानुभक्तले अनुवाद रेको रामायणमा पाइन्छ भन्ने भनाइ छ।

रामायणमा रावणको स्थान र महत्त्व

उत्तर भारतीय समाजमा रावणलाई मूलतः प्रतिकूल र खलपात्रको रूपमा चिनिन्छ। नेपाली समाजमा पनि रावणसम्बन्धी यस्तै धारणा प्रस्तुत गरिन्छ। एकापट्टि उनलाई राक्षस, अहङकारी, अत्याचारी, कुशासक पात्रका रूपमा छ भने अर्कापट्टि एक तपसी, ईश्वरभक्त, मोक्षप्रेमी आत्मज्ञानी पुरूष र ऋषिका सन्तानका रूपमा प्रस्तुत गरिएको छ। भानुभक्तले पनि उनलाई एकापट्टि एक अन्यायी, अत्याचारी, दुराचारी, स्वेच्छाचारी, निरङ्कुश र राक्षस शासकका रूपमा प्रस्तुत गरेका छन् भने अर्कोपट्टि एक आत्मज्ञानी, तत्वज्ञानी, वीर, पराक्रमी, शौर्यपुरूष, उद्योगी राजाका रूपमा पनि देखाएका छन्। रावणले रामलाई जे जति सतायो, यो त रामद्रारा आफु मारिइ राक्षस कुलबाट मोक्ष पाउनका लागि गरेको हो।

नवीन पौड्याल (कालिम्पोङ)

एकपल्ट सनतकुमार ऋषिसँग के गरी मोक्ष पाइन्छ भनी सोद्धा रामद्वरा मारिए मोक्ष प्राप्त हुने जानकारी पाएको थियो। रामकी प्यारी सीतालाई हरेर लगी बाहिरी रूपमा रूखो व्यवहार गरे तापनि सीतालाई नछोई स्वयम लक्ष्मी हुन् भन्ने ज्ञान मनमनमा राखी पुज्ने गर्थ्यो। रावण साँच्चै पराक्रमी, साहसी, वीर थियो। उसले देवलोक, भूलोक र पाताललोक  सबैतिर लडाईं गरी पराक्रमले जितेर लिएको थियो। वास्तवमा रावणको गरिमा र महिमामय स्थान छ। उनी बलवान, वुद्धिमान धनवान र शक्तिमान थिए। उनी लङ्काका शासक थिए। यसकारण रामायणको एउटा अति प्रभावशाली पात्र रावण हो।

रावण र उसको कूलको उत्पत्तिको उपकथा –

ब्रह्मका पुत्र पुलस्त्य ऋषिले कठोर तपस्याका निम्ति सुमेरू गएका थिए। त्यहाँ राजर्षि तृणविन्दुको राज्य थियो। केही देवकन्याहरू आई उनको तपोभङ्ग गर्नाले उनले जो मेरो पहिलो नजरमा पर्छे त्यो नारी गर्भवती हुन्छे भन्ने श्राप दिन्छन्। केही दिनमा अज्ञानतावस तृणविन्दुकै पुत्री उक्त आश्रमतिर घुम्दै आउँदा ऋषिको नजर परी गर्भ धारण गर्छिन्। केही दिनपछि आफ्नी कन्याको गर्भधारण बुझेर राजर्षिले पुलत्स्य ऋषिलाई विहे दान गरी दिन्छन्। तिनीहरूबाट विश्रवाको जन्म हुन्छ। पछिबाट बिश्रवाको बिहे अगस्त्य ऋषिकी कन्यासित हुन्छ। उनीहरूबाट कुबेरको जन्म हुन्छ। ब्रह्मले कुबेरलाई धेरै धन दौलत र पुष्पक विमान दिन्छन्। पछिबाट इन्द्रले इन्द्रद्वारा लडाइमा धपाइएर राक्षसहरूबाट खाली भएको लङ्काको राजा बनाई कुबेरलाई राजगद्दीमा राख्छन्। त्यसै बीचमा लङ्काबाट खेदिएको सुमाली नामक राक्षस आफ्नी तरूणी छेरी कैकसीलाई लिएर लङ्का घुम्दा कुबेरले राज्य गरेको कुरा थाहा पाउँछ। यसका साथै कुबेरका बाबु बिश्रवाबाट धेरै प्रतापिला सन्तान हुने कुरा पनि थाहा पाउँछ। यसरी थाहा पाएपछि  कैकसीलाई बिश्रवाबाट ऋतुदान (गर्भदान) मागी पराक्रमी सन्तान जन्माउन लगाउँछ। कैकसीले पनि बाबुको आज्ञा स्वीकार गरेर बिश्रवालाई ऋतुदान मागी सन्तानहरू जन्माउँछे। त्यसरी पाएका सन्तानहरूमा रावण, कुम्भकर्ण, शुपर्णखा र विभीषण हुन्। महत्वाकांक्षी, वीर पराक्रमी र राक्षसी गुण भएको रावणले पछिबाट कुबेरबाट लङ्का खोसी राजगद्दी हत्याउँछ। उसको विजय अभियानलाई बढाएर उसले विश्वविजेता बन्नु सक्षम भएको थियो। उनका भाइ कुम्भकर्ण र विभीषणको पनि आ-आफ्नै विशेषता थिए।

रामायणको एक प्रभावशाली पात्र रावणको आफ्नै वैशिष्ठ्य स्थान र महत्व छ। रामायणको कथानकीय विकासमा रावणसित सम्बन्धित कथालाई प्रासाङ्गिक कथावस्तुका रूपमा लिइन्छ। यसमा पनि रामायणको आद्योपान्त सम्बन्धित हुनाले पताका कथावस्तु मानिन्छ। रावणसित सम्बन्धित कथावस्तुलाई पनि आदि, मध्य र अन्त्य गरी तीन भाग लाउन सकिन्छ। तृणविन्दुदेखि बिश्रवा र रावणादिको जन्मसम्मलाई आदिभाग, रावणादिको बाल्यकाल, तप, पराक्रम र राजशासनका सँगसँगै देव-देवताहरूलाई जितेर अनेक उपद्रो आदिसम्म गरेको कथालाई मध्यभाग र मारीचलाई सुनको मृग बन्न लगाई आफुले सीताहरण गरेदेखि रामद्वारा उसको बध भएसम्मलाई अन्त्यभाग मान्न सकिन्छ। भानुभक्तले रावणको कथालाई आदिभाग र मध्यभागलाई अगस्त्य ऋषिले सुनाएको  देखाएका छन्। रावणको पूर्वकथालाई पूर्वद्वीप्ति शैलीमा संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् भने अन्त्यभाग भने वर्णित रूपमा पाइन्छ।

रावणका चरित्रका विभिन्न पक्षहरूको अध्ययन

रामायणका विभिन्न पाठहरूमा रावणलाई अनुकूल र प्रतिकूल गरी दुवै किसिमका चरित्र भएको देखाइन्छ। यद्यपि उनका चरित्र र व्यक्तित्वका विभिन्न पाटाहरूलाई यसरी अध्ययन गर्न सकिन्छ।

पुरूषार्थी व्यक्तिका रूपमा – रामायणको एउटा शक्तिशाली, पुरूषार्थी पात्रका रूपमा रावण देखिन्छन्। उनी एक अतिवीर, बलवान, सहासी, पराक्रमी, हिम्मती पुरूष थिए। वीर भोग्या वसुन्धरा भने झैं उनी वीर भएकाले विश्वविजेता थिए। रावणले देवताहरूलाई मात्र होइन दानवगण सबैलाई आफ्नो आधिपत्य जमाएका थिए।

उसले आफ्नो पराक्रमद्वारा, देवलोक, भूलोक, पाताललोक सबै लोक जिती इन्द्रासन पनि हल्लाएको थियो। उसले आफ्नो पुरूषार्थद्वारा आफ्नो विमातृ दाजु कुबेरबाट लङ्का खोसी उसको पुष्पक विमानसमेत हासिल गरेको थियो। रामकी सीतालाई हरण गर्दा अनेक युक्ति गरी हरण गर्नु सफल भएको थियो। उसले मारीचलाई सुनको मृग बन्न लगाई राम र लक्ष्मणलाई त्यसको पछि कुदाएर आफु भिक्षुकका रूपमा भए पनि सीतालाई हरेर लङ्का पुर्‍याएको थियो। सीताजीलाई हरण गरेर लाँदासमेत बाटामा जटायुसित युद्ध गरी जितेर काम काम सिद्ध गरेको थियो। उसित इन्द्रादिलगायतका देवताहरू पनि डराएका थिए। यद्यपि रामको हातबाट मर्नुभन्दा अघि विशेषगरी दुइजनासित लडाईँमा हारेको थियो। एकपटक उ बालिसित हारेको थियो। बालिले उसलाई काखीमा अँठ्याएर नै संसार घुमाइदिएको थियो भने अर्को स्वेतद्वीपमा अपसरा (नारी) हरूसित हार खानु परेको थियो। एकपल्ट महर्षी नारद घुम्दै लङ्का पुग्छन्। रावणले उनलाई सम्मान गरेर आफुबाहेक अरू वीर को छ भनी सोद्धा नारदले तिमीभन्दा अझ शक्तिशाली छन्, स्वेतद्वीपमा गएर बुझिहेर  भन्छन्। रावण त्यतिखेरै विमान लिएर स्वेतद्वीप जान्छ। त्यहाँ पुग्नेबित्तिकै उसको विमान नै अचल हुन्छ। त्यहाँ त उभन्दा अझ शक्तिशाली नारीहरू थिए। उनीहरूले रावणलाई उल्लीबिल्ली पारेर बेइज्जत गरी फर्काएका थिए। जे नै भए पनि रावण एउटा वीर पराक्रमी महापुरूषको रूपमा चित्रित छ।

प्रशासकका रूपमा रावण – भानुभक्तले रावणलाई एकापट्टि एक अत्याचारी, मैमत्ता, स्वेच्छाचारी राजाको रूपमा प्रस्तुत गरे पनि अर्कापट्टि उसलाई एक असल प्रशासकका रूपमा पनि वर्णन गरेका छन्। उ प्रजावत्सल, मुलुकको विकासप्रेमी, एक आदर्श शासकका रूपमा देखिन्छ। मुलकको सर्वाङ्गीन विकासका निम्ति उसले अनेक कार्य गरेको थियो। आफ्नो देश लङ्काको हित, आफ्ना दानवकूल (प्रजा) को सुरक्षा हेतू निकै ध्यान दिएको छ। आफनो मुलुकलाई संसारको श्रेष्ठ र मालिक बनाउन उसले संसार जितेको छ। उसको लङ्का अत्यन्त वैभवशाली, समृद्धशाली, महिमामयी बनाएको छ। उसले सर्वप्रथम आफ्नो मुलुकलाई विदेश र शत्रुहरूबाट जोगाउन निकै सजगता अपनाएको छ। देश लङ्काको हितका निम्ति उसलाई सुरक्षाका तीन तहमा विभक्त गरेको थियो- १. मुलुकको बाहिरी शत्रुहरूबाट जोगिन उसले सैन्य शक्ति २. आन्तरिक सुरक्षाका निम्ति पनि सुरक्षा कर्मी तथा ३. देशका शत्रुहरूका गोप्य खबर लिनका निम्ति जासुसहरू। यसरी उसले आफ्नो देशको शान्ति- श्रृङ्खला र सुरक्षालाई अक्षुण्ण राख्न यसरी तीन थरीका सुरक्षा कर्मीहरू खटाएको देखिन्छ। मुलकमा कुनै आपद-विपद् आइलागे रावणले आफ्ना भाइ-भारादारहरूलाई डाकी सभा राखी सल्लाह लिन्थ्यो।

उसका सेनामा पुरूषका सँगसँगै नारीहरू तैनात गराएको थियो। हनुमान सुरूसुरू लङ्काभित्र पस्ने हुँदा उसलाई देखी लङ्किनीले आएर उसलाई रोकी लातले हिर्काएर धपाउन खोज्छे। उता सीताजीका सुरक्षाका निम्ति त्रिजटालगायतका नारी सुरक्षावाहिनी तैनात देखिन्छन्। लङ्का शहरको शान्ति – श्रृङ्खला र सुरक्षा कायम राख्न रावणले शहरका चार सुरका ढोका-ढोकामा दानव सैन्य, पहलमान पुरूष, जङ्गी पाले र हात्ती खटाएको थियो। शहरका ठाउँमा प्रहरी चौकी पनि बसाएको थियो। साथै घोडामाथि चडेर सेनाहरू पनि तैनाथ हुन्थे। मुलुकको सुरक्षाको निम्ति एकपट्टि प्राकृतिक समुद्र छ भने अर्कापट्टि आफैंले खऩ्न लाएर बनाइएको कृतिम खावा (खाडी) थियो-

एक खावा त समुद्रै भो अरू नजिक् अर्को खन्याको पनी।

पर्खाल्का नजिकै छ बेस् वरिपरि वैरी न आउन् भनी।।

— —– —– ——

वरि परि पर्खाल् छन् बीच बिचमा छ खावा।

सहज त अरूले ता गर्न को सक्छ दावा।। (पृष्ठ ९३)

रावणले लङ्कालाई अत्यन्त समृद्धशाली तुल्याएको थियो। देशको राजधानी शहरलाई सुनै सुनले छाएको थियो। भानुभक्तले वर्णन गरेअनुसार लङ्का त्रिकोणीय आकार (त्रिकुट)को छ। जसको सुरक्षा पर्खाल पनि सुनै सुनद्वारा निर्माण गरिएको छ। यसभित्रका सबै घरमा सुनै सुनका छानो, मणि-माणिक्ययुक्त खम्बा (थाम) छन्। हनुमान लङ्काबाट सीताजीलाई भेटेर फर्केर आएपछि रामलाई लङ्का वर्णन यसरी गर्छन् –

गर्छन् बिन्ति जगत्पते रघुपते लङ्कापुरी सुन्दरी

देखिन्छे जति देख्तछन् ति सबको लिन्छे सबै मन हरी।।९।।

त्रीकुट् पर्वत्का उपर् छ सुनको पर्खाल छ चारौं तरफ्।

थामै छन् मणिका जउन् घर महाँ देखिन्छ तिनको हरफ।

————————-

घर पनि सुन कै छन् गल्लि जो छन् सुनैका।

मणिजडित हुनाले झन असल छन् कुनैका।।

(भानुभक्तको रामायण पृष्ठ ११८)

लङ्का शहर पनि अत्यन्त सुन्दर, सुग्घर, हरियाली बनाइएको थियो। शहर वरिपरि सुन्दर उपवन, तलावले युक्त मनोरम सौन्दर्यले वेष्टित देखिन्थ्यो। उपवनमा फूलहरू फुलेका थिए।  त्यहाँ भएका कामहरू सबै पक्कि काम थिए। रावणको लङ्कामा पनि इन्द्रको राजधानीमा पाइने उपवन, रूखहरूभन्दा कम थिएन-

जो जो वृक्ष त इन्द्रका नगरिमा सो सो त सब छन् तहीँ।

रत्नैका सिँढि साफ् असल् जल पनी यस्ता तलाउ कहीँ।।

——— ———– ——— ————– ———-

फल्फूल्ले अति भार भयेर रूखका सब्का ति हाँगा पनी।

लच्क्याका भ्रमरा र पंछि बहुतै रूखमा बस्याका पनी।।

(सुन्दरकाण्ड श्लोक २८)

बिच् बिच्मा सुनका हवेलि पनि छन् उच्च मणीको थाम्।

जस्मा छन् कति गर्नु वर्णन जहाँ हेर्‍यो तहाँ पक्कि काम।

(सुन्दरकाण्ड श्लोक २९)

हनुमानले उपद्रो गरेको अशोक वाटिकामा पनि विभिन्न किसिमका फलफूल थिए। हनुमानले आकासमार्गबाट देखेको लङ्काको दृश्य (Aerial View) बाट पनि लङ्का सुन्दरताको यसरी वर्णन गरिएको छ –

वरि परि तहिं तीरैमा पनी वृक्ष फल् फुल्

भरि छ जउन वन्मा गर्दछन् पक्षीले गुल्।

भ्रमरहरू लताका फूलमा हल्लि हल्ली।

घुनुनु घुनुनु गर्दै हिँडछन् बल्लि बल्ली।। (पृष्ठ ९३)।

यद्यपि रावणको शासन भने प्रजामा सन्तोषजनक थिएन। मुलुकका प्रजा रावणराजदेखि त्रस्त थिए र यसबाट मुक्ति भएको चाहन्थे। सीताहरण गरेकामा लङ्काका कोही पनि खुशी थिएनन्। भाइहरू कुम्भकर्ण, विभीषण आदिले सम्झाएका थियो। हरण गर्ने बेलामा पनि सुनको मृग बन्ने मारीचले रावणलाई सीतालाई हरेर लानुहुन्न भन्ने सुझाव दिँदा मानेन। सामान्य प्रजाहरू जस्तै लङ्किनी, त्रिजटा इत्यादि पनि भित्र-भित्रै रावणको खिलाफमा थिए। लङ्किनीले त हनुमानद्वारा वाम घुस्सी भेटेर छाद्दै रगत गिराउँदा हनुमानलाई भित्र जाउ, सीताजी अशोक वाटिकाबीटको शिंशपा रूखको मुन्तिर छिन् भनेर गोप्य कुरा समेत सुनाउँछे। उता त्रिजटासमेत सपनामा रावणको मरण भएको देख्छे।

जिम्मेवार गृहस्थी पुरूषका रूपमा – रावण एकजना  कुशल प्रशासकका रूपमा मात्र नभई एक जिम्मेवार घरमूली थियो। उभित्र एक आदर्श पुत्र, पिता, पति र दाजु थियो। उ आफ्नो घर-परिवार र कुलको रक्षक पनि थियो।  उ बाल्य अवस्थामा आमा कैकसीले कुबेर पुष्पक विमानमा चडी चारैतिर विचरण गर्दा रावणलाई पछि कुबेर देखाउँदा म त्यो पुष्पकसमेत लिनेछु भन्ने प्रण गरेकाले आमाको आन्तरिक इच्छा पुर्‍याइदिएको छ। आफ्नी बहिनी सुपर्णखालाई रामद्वारा नाक- कान काटिएको बुच्ची देख्दा उभित्रको माइतीको भावना जाग्दछ र रामको प्रतिशोध लिने बहाना बन्दछ। भाइ कुम्भकर्णले आफ्नो दाजु रावणलाई सारै आदर गरी मान्दथियो। आफ्नो भाइ विभीषण शत्रु रामको शिविरमा जाँदा सारै धिक्कार्छ अनि शुकलाई दूत बनाई भाइलाई आफ्नोतर्फ फर्काए माफ गरिदिने सन्देशसमेत पठाउँछ। रावणका पत्नी कति थिए त्यो संख्यामा कतै उल्लेख नभए तापनि मन्दोदरी भने उसकी खास रानी थिई। मन्दोदरीलाई उसले अत्यन्त विश्वास र भर गर्थ्यो। कतिपय प्रसङ्गमा उसले रानी मन्दोदरीको कुरासमेत मानेको छ। जस्तै सीताले आफ्नो कुरा नमान्दा, आफ्नी रानी हुन नमान्दा र जबाब दिएँ सीताजीलाई काट्न भनी खडग निकाल्छ। यतिबेला मन्दोदरीले विन्ती गरेपछि त्यो खडग टार्दछ। मन्दोदरीलाई आफ्नो मनको पीर पनि व्यक्त गर्दछ। रावणका अरू रानीहरूको पनि भानुभक्तले उल्लेख गरेका छन्-

रावणका सब रानि आयर विलाप् खुप् गर्न लाग्य तसै…(युद्धकाण्ड, श्लोक २७३)

रून्छन् रानीहरू बुझाउ अहिले चाँडै अगाडि सरी। (युद्धकाण्ड, श्लोक २७७)।

३.४. आत्मज्ञानी पुरूषका रूपमा रावण – रावण बाहिरबाट जतिसुकै हरिविरोधी, असत्पुरूष भए पनि भित्र त एकदमै आत्मज्ञानी, तत्ववोधि, हरिभक्त, रामभक्त, मोक्षप्रेमी र आध्यात्मिक सचेतपुरूष थियो। उसको आन्तरिक इच्छा नै रामको हातबाट मरण पाई मोक्ष प्राप्ति गर्नु थियो। उसले सीता हरण गरेको त रामलाई प्रतिशोध लिने बाध्य बनाई आफु उनको हातबाट मर्नु थियो। सीताहरण गर्नुअघि मारिचलाई छल गर्नु लाउँदा मारिचले सम्झाउँदा यसो भन्छ –

ईश्वर हुन् त यदि भन्या ति अवश्य मार्छन्।

सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन्।

ईश्वर भया पनि पनि असल् छ अवश्य तर्छु।

सामान्य हुन् म त सिता सँग भोग गर्छु।।

            सीताजीलाई हरेपछि एकदिन उसले सपनामा आफ्नो राजधानीमा रावणको दूत आएको छ भन्ने देख्छ। सपनामा देखेको यदि साँचो हो भने म रामका विरूद्धमा नराम्रा नराम्रा वचन लाउँछु र यो खबर दूतले पुर्‍याओस् अनि मलाई रामले मार्न आओस् भन्ने भित्री मनशाय रहेको थियो-

कैल्ये मर्छु म राम देखि अझ तक् लीता हर्‍याँ ता पनी।

आयेनन् रघुनाथ भनेर रहँदा देखेछ स्वप्ना पनी।। (सुन्दरकाण्ड, श्लोक ३३)

साँचै पो यदि भन्या असल भो दुर्वाच्य बोल्छू जसै।

सीतालाई यसो सुनेर रिसले जाला र भन्ला तसै।।

मेरा दुष्ट वचन सुनेर रघुनाथ आयेर मार्नन् भनी।

यस्तो निश्चय मन गरी नजिक गै दुर्वाच्य बोल्यो पनी।।(सुन्दरकाण्ड, श्लोक ३५)

रावणमा सांसारिक विषय ज्ञान थियो। उ एकजना शिवउपासक थियो। उसले शिवआराधनाको निम्ति संगीत पनि आयोजना गर्दथ्यो।  रावण एकजना प्रवीण वीणावादक थियो। उसले वीणा साधना गरेर देवताहरूलाई रिझाएको थियो।  रामद्वारा रावणको वध हुँदा रामलाई पनि ब्रह्महत्याको दोष आइलागेको थियो। तसको निदानका निम्ति रामेश्वरम्मा पिण्डदान दिनुपरेको थियो। किनकि उ संगीतको प्रवीण हुनाले उसलाई पनि देवताहरूले ब्राह्मणको रूपमा लिएका थिए।

रावणलाई बालककालदेखि नै आफ्नो जन्म र मोक्षताप्रति सचेतता थियो। एकपल्ट उसले सनतकुमार ऋषिसित कसको हातबाट मरे मोक्ष पाइन्छ भनी जिज्ञासा राख्दा ऋषिले रामको हातबाट मर्दा मोक्ष पाइन्छ भनी बताएका थिए। त्यहीबांट रावण वास्तवमा रामभक्त बनेको थियो र उसले जानी जानी रामको विरोध गरेको थियो। सामान्य देवताले यदि उसलाई मारे जन्म- मरणको चक्करबाट मुक्ति पाइन्न बरू स्वयम हरिबाट मर्न पाए यो जरामरणको झमेलाबाट मुक्ति पाइन्छ भन्ने ज्ञान पाएको थियो-

द्योताले जति मार्दछन् ति त अनेक् स्वर्गादिको भोग् गरी

कालान्तर पछि जन्म हुन्छ तिनको पृथवीतलैमा झरी।

जस्लाई हरि मार्दछन् त उ त तसै जान्छन् तुरन्तै अनि

मुक्तै भै कन बस्छ जन्म तसको हूँदैन कैले पनि।। (श्रीउत्तरकाण्ड ८७)

चारित्रिक वर्गीकरणका आधारमा रावणको विशेषता –

१. नायकका चार गुणहरू धीरोदात्त, धीरललित, धीरप्रशान्त र धीरोद्धतमध्ये रावण चौथो धीरोद्धत किसिमको पात्र हो। उ गर्विलो, चतुर, धूर्त, चण्ड किसिमको छ। उ मारीचलाई सुनको मृग बन्न लाएर तथा आफैं पनि भिखारीको रूपमा प्रस्तुत गरेर सीताहरण गरी मायावी  र छली बनेको छ। उ जस्तै नराम्रा गुणले युक्त भए पनि उसमा शौर्य, वीरता, पराक्रम जस्तो गुण पाइने हुँदा उसलाई पनि धीरोद्धत किसिमको नायककै रूपमा प्रस्तुत गर्नु सकिन्छ।

२. राज्यको शासन पद्धतिका आधारमा रावणले सम्पूर्ण शासन सत्ता कायम राखेको, लङ्काबाहेक सबै लोकमा सबल रूपमा शासन गरेको, शासनको डोरी उसकै हातमा कायम रहेको हुनाले उसलाई स्वायत्तसिद्ध नायक मान्न सकिन्छ।

३. नायकीय  स्वभाव वा प्रवृत्तिका आधारमा उत्तम, मध्य र निम्नमध्ये रावण निम्न किसिमको नायक हो। उ लोक व्यावहारमा चतुर, शिल्पशास्त्रमा प्रवीण, विज्ञानयुक्त चेतना भएको  मध्य किसिमको स्वभाव देखिए तापनि जस्तो केही रूखो बोली भएको, केही नराम्रो व्यावहार गर्ने, दुष्ट, क्रोधी, घमण्डी,झगडालु, उदण्ड गुणको वर्णित हुनाले अधम किसिमको नै देखिन्छ।

४. रामलाई रामायणको मूल नायक मानिँदा रावणचाहिँ प्रासाङ्गिक नायक हो । उसको नायकत्व रामको पछि आउँछ । यद्यपि उसले आदर्श पुरूष रामप्रति दुर्व्यवहार, प्रतिशोध र शत्रुता गरेको हुनाले उसलाई प्रतिनायक मानिन्छ।

५. ग्रीक दार्शनिक प्लेटोले वर्गीकरण गरेको क) बुद्धिजीवी ख) महत्वकांक्षी तथा यशोभिलासी र ग) शारिरीक आवश्यकताबाट अनुशासित एवं उत्प्रेरित गरी तीन किसिममध्ये रावण दोस्रो किसमको महत्वकांक्षी हो। उसले विश्वविजेता भई संसार आफ्नो कब्जामा लिनु, रामको हातबाट मर्नलाई सीताहरण गर्नु आदि जस्ता काम गरेकाले उ महत्वाकांक्षी पात्रका रूपमा देखापर्छ।

६. हिप्पोक्रेट्रीजले वर्गीकरण गरेको चारवटा वर्गीकरण क) आशावादी, ख) क्रोधी, ग) श्लेषमिक र घ) विषमध्ये रावण क्रोधी किसिमको पात्र हो। उसलाई रामप्रति आफ्नो क्रोधको भावना कायम राखेको छ।

७. रावण आद्योपान्त उस्तै चरित्र भएकाले गर्दा च्याप्टो पात्र हो यद्यपि उ आफ्नो वर्चश्व, विवेक र इच्छालाई कायम राख्न सधैंभरि सक्रिय हुनाले उ गतिशील पात्र हो। उ रामायणको मूल कथाको एकजना प्रमुख सहायक पात्रको भूमिका निभाएको हुँदा सहायक पात्र हो भने स्वभावले प्रतिकूल पात्र हो। रावणको प्रमुख चारित्रिक विशेषतालाई हामी यसरी आरेख बनाएर हेर्न सक्छौं-

नायक शासन

पद्धति

स्वभाव नायकीय द्रोह प्लेटो हिप्पोक्रेटिज परिवर्तनशीलता जीवनचेतना
धीरोद्धत स्वायत्तसिद्ध अधम

वा प्रतिकूल

प्रतिनायक महत्वाकांक्षी    क्रोधी     च्याप्टो गतिशील

 

उपसंहार– विश्वमा विभिन्न रामायण प्रकाशित छन्। तिनमा रावणलाई विभिन्न रूपमा प्रस्तुत गरिएको छ। हाम्रा भानुभक्तले भने रावणलाई नकारात्मक चरित्रका रूपमा प्रकाशपारे तापनि उसको सकारात्मक पक्षबारे पनि प्रकाश पारेका छन्। रामायणको एउटा प्रभावशाली पात्रका रूपमा रहेको रावणले ठुलो स्थान ओगटेको छ। उसले आफ्नो शक्ति र वर्चश्वलाई जतिसक्दो कायम राख्नलाई विभिन्न पुरूषार्थ गरेको छ। उ  रामायणको प्रमुख पात्र रामको शक्तिशाली प्रतिनायकको रूपमा उपस्थित छ। रावणले विपरीत कार्य गरेर भए पनि वास्तवमा रामभक्तिकै भावना राखेको हुन्छ। कार्यले उ एकजना क्रुर शासक, प्रतिकूल, अर्काकी स्वास्नी हरण गरेर लैजाने अधम, हरिद्रोही भए पनि वास्तवमा उ एक विकास सचेत, विज्ञान सचेत, आदर्श गृहस्थी, मुलुकको सर्वाङ्गीन विकासको निम्ति काम गर्ने कर्मठ, कुशल शासक र आत्मज्ञानी वीर पुरूषका रूपमा प्रस्तुत छ। रामको हातबाट मर्नका लागि उसले रामसित लडाइँ गर्दछ।

 

प्रमुख सन्दर्भ ग्रन्थ-

  • आचार्य भानुभक्त, रामायण, काठमाडौं, साझा प्रकाशन, सा. सं. २०७०।
  • त्रिपाठी, रामशङ्कर, साहित्य पात्र-प्रतिमान और परिरेखन, इलाहावाद, सरस्वती प्र. मन्दिर, 1987।