काव्यका अरू विधाभन्दा निबन्ध सरल रूपमा समयचेतको अभिव्यक्ति दिने सामर्थ्य राख्दछ । प्रस्तुतिका हिसाबमा पनि विवरणात्मक, निजात्मक, कवितात्मक, विम्बात्मक शैलीमा मनका भावहरू पोख्ने छुट निबन्धकारहरूमा बढी नै हुन्छ । निबन्धका प्रथम प्रयोक्ता मानिएका फ्रान्सेली साहित्यकार मिसेल डे मोन्तेनका अनुसार निबन्ध मार्फत निबन्धकार नै स्वाभाविक रूपमा पोखिएको हुन्छ । उनी भन्छन् ‘मेरा इच्छा के हुन्छ भने म आफ्ना निबन्धमा विना आडम्वर सहज र साधारण तरिकाले रूपायित होऊँ । त्यसमा कुनै किसिमको वाकपटुता वा कृत्रिम कलात्मकता सजाउन चाहन्नँ । मेरा निबन्धको विषय म नै हुँ ।’ भनिएला, कलाका सबै माध्यममा सर्जक आफू नै केन्द्रस्थमा रहन्छ । हो, तर निबन्धमा त्यसको ग्राह्यता र स्वाभाविकता अधिक हुन्छ ।

निबन्ध एउटा विषयमा केन्द्रित रहेर लेखिने लेखाइ हो । एउटा विषयवस्तुभित्र निबन्ध तरङ्गित हुन्छ, विश्लेषण गर्छ र भावधारामा पर पुगेर विषयवस्तुको केन्द्रीयतामा फर्किने गर्दछ । स्वैरकल्पना र भावनामा तैरिन, बहकिन सक्छ वा संरचित विषयमा कलात्मक प्रस्तुति गर्छ । छरिएर रहेका विचारलाई एकै ठाउँमा पजुल्याएर, सिलसिला मिलाएर प्रस्तुति गरिने भएकाले नै निबन्ध भनिएको हो ।

शिल्पशैली, संरचना र प्रवृतिका आधारमा निबन्ध वर्णनात्मक, संरचनात्मक, भावात्मक र निजात्मक हुनसक्छन् । निबन्धलाई निबन्धको अलग प्रकारमा राख्न थालिएको छ । लेखाइको परिवेश, औचित्य, पाठक वा लेखाइको उपभोक्ता, कलाशिल्प र भावभङ्गीमा निबन्धहरू एकअर्काबाट भिन्न हुन्छन् । नियात्रा, जीवनी, वृतान्त, लेख र कथाहीन प्रस्तुति सबैलाई निबन्ध भनेर निबन्धको परिभाषालाई बिस्तार गर्ने र अर्थवत्तालाई भने सङ्कुचन गर्ने प्रवृति पनि छ । कतिपय विद्वान्हरू आख्यान निरपेक्ष लेख निबन्ध हो भन्न रुचाउछन् । यसले पनि निबन्धको अर्थवत्ता र परिभाषालाई सही आकलन गर्दैन । वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्त्व हुन् । निबन्धमा भावको सघनता हुनैपर्छ, साथै संवेदना र अनुभूतिको सहजता रहनैपर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन ।

निबन्ध कस्तो हुनुपर्छ भन्न सकिँदैन । भने पनि सही उत्तर नहुन सक्छ । किनकि परिवेश, भावभङ्गी, कलाविधान र प्रस्तुति संरचनाले निबन्धलाई एकअर्काको स्वरूपबाट अलग्याएको हुन्छ । उसो भए परिवेश, भावभङ्गी, कलाशिल्प र प्रस्तुति संरचना नै निबन्धका गुण हुने भए भन्न सकिन्छ । कुनै विषयलाई केन्द्रस्थ बनाएर यी चार कुराले निबन्धलाई समृद्ध बनाउने गर्दछ । देवकोटाका निबन्धले एउटा विम्बमाथि टेकेर भावको अथाह यात्रा गर्छन् र केन्द्रस्थमा आएर विलीन हुन्छन् । मेरा निजात्मक भावभूमिका निबन्धहरूमा पनि त्यसैगरी आत्माभिव्ञ्जना गरेको छु भन्ने लाग्छ ।

निबन्ध सललल्ल बग्नु पर्छ, पर्वतबाट समथरतिर वगेको खोला जस्तै । मनका भावहरू अक्षरमा तैरिएर सललल्ल बग्ने गर्छन् । विम्ब, उपमा—उपमेयका योजनले निबन्धलाई सलल्ल बग्ने बनाइन्छ । देवकोटा, भैरव अर्याल, शंकर लामिछानेका निबन्धहरू यसरी नै बगेका छन् । सरल भाषामा बगाइको वेग स्लील हुन्छ । अनपेक्षित शब्दभार, वावक्यविन्यास र कथानकले बहावमा बाँध लगाउनु हुन्न । त्यसो गरिए निबन्धको खास चरित्र नै मर्न गर्इ अरू नै केही वा प्रवन्ध बन्न सक्छ । तर प्रस्तुति, विम्ब, भाव सादृश्यता, कलाशिल्प र विधिवि धानमा निबन्धकारहरू कला स्वायत्तताको औधी नै उपयोग गर्छन् । निजात्मक र भाव प्रधान निबन्धमा यो स्वायत्तता अरू विस्तृत हुन्छ ।

गोपी मैनाली

तर सफल निबन्धकार आफ्नै प्रस्तुति संरचना र विम्बविधानमा बेजोड सिर्जना गर्दछन् । देवकोटाको निबन्ध यसको उदाहरण हुन् । निबन्धकार देवकोटा कलास्वायत्तताको यति उपयोग गरे कि त्यसले निबन्ध विधामा छुट्टै धार  कायम गर्यो । भावको शयर गर्दा सादृश्यता खिच्नसक्ने खूबी पनि छ देवकोटामा । उपमा र प्रतीक योजनमा भावलाई बुई चढाएर निबन्धमार्फत ब्रह्माण्डको यात्रा गर्न उनी माहिर छन् । त्यति मात्र होइन, उनको सिर्जना ब्रह्माण्ड पनि मौलिक छ । त्यसैले फिलिप लार्किनको द प्लीजर प्रिन्सीपल, पल ग्राहमको एज आफ दी एस्से, नोयम चोम्स्कीको दि रेस्पोन्सिविलटी अफ इन्टेलेक्चुएल्स, जोआन डिडिअनको गुडवाई टु अल र बट्र्रान रस्सेल्सको रस्सेल्स बेस्टजस्ता एकसेएक रुचाइएका निबन्ध भन्दा देवकोटाका निबन्धहरूले धेरै उचाइ र आयतन लिएका छन् ।

नेपाली निबन्धको विकास र प्रवृति विश्लेषण गर्दा प्रमुख रूपमा तीन धार देख्न सकिन्छ । पहिलो, निजात्मक भावधारा वा प्रवृति, जसको नेतृत्व महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका छन् । दोस्रो धार, अमूर्त चिन्तन धारा हो, जसको नेतृत्व निबन्धकार शंकर लामिछानेले गरेका छन् भने तेस्रो धार, व्यङ्ग्यतमक धारा हो, जसको नेतृत्व भैरव अर्यालले गरेका छन् । अन्य निबन्धकारहरू यी तीन प्रवृतिलाई धेरथोर वा मिश्रित रूपमा पछ्याइरहेका छन् ।

निबन्धकार देवकोटा भावको बयेलीमा स्वतन्त्र बग्छन् । प्रकृति र जीवनलाई औधी खेलाउछन् । उनका लागि सानो विषयवस्तु पनि फराकिलो प्रस्तुतिभूमि बन्छ । उनले रोजेको निजात्मक आत्मपरक शैलीले भावना अभिव्यक्तिलाई सजिलै स्वीकृति दिन्छ, जसले ती भवना पाठकका आफ्नैझै लाग्छन् । कल्पना, विम्ब र व्यङ्ग्यको त्रिवेणी हुन्छ देवकोटामा । ‘छोटो किस्सा’ ‘हामीलाई कवितामा के चाहिन्छ’ ‘दाडिमको रुखनेर’ लगायतका निबन्ध देवकोटीय धारका अनुपम दृष्टान्त हुन् । देवकोटाका निबन्ध प्रस्तुति कवितात्मक छ । धेरैजसो निबन्धहरू गद्य कविताका निबन्धात्मक शैली हुन् भन्ने जोकुनैले अनुमान लगाउन सक्छ । त्यसैले तिनीहरू अतुलनीयजस्ता लाग्छन् ।

दोस्रो धारको नेतृत्वकर्ता शंकर लामिछाने पूरै मानव जीवन र प्रकृतिलाई कला देख्छन्, कतै मूर्त कतै अमूर्त । लामिछाने ससाना परिघटना उधिन्दै भावचिन्तनलाई आमन्त्रण गर्छन् । उनका विम्बमा गैरआख्यान होइनन्, अनुभूतिको सादृश्यतालाई ससाना घटना बुनेर मूर्त रूप दिने गर्छन् । तर ती घटना यथार्थ भावभूमिबाट टिपिएका हुन्छन् । ‘एव्स्ट्र्याक्ट चिन्तन प्याज’ यसको बजोड नमूना हो । ‘म हाँसी रहे । (हाँस्नु पनि एउटा कला हो । मानिसको उमेरमा विकास हुनासाथै हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन्।) हाँसेर मैले बाङ्देललाई विदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।’ हाँसो विम्ब हो, अमूर्त कलाविम्ब, जुन जीवनको विकाससाथ परिवर्तन भैरहन्छ । मानिस स्वयंमा एक विशाल कला हो, मूर्त अमूर्त कला । र, यी कलाभाव पोख्न निबन्धकार र बाङ्देलजीको छोटो सम्वादलाई रोजिएको छ । ‘गोधुली संसार’ र ‘एव्स्ट्र्याक्ट चिन्तन प्याज’ ‘बिम्ब प्रतिबिम्ब’ ले यही मौलिकता स्थापित गरेको छ ।

भैरव अर्याल नेपाली निबन्धका नितान्त मौकिल प्रयोगकर्ता हुन् । उनी व्यङ्ग्यसुधाका साथ सामाजिक विकृतिलाई चिरफार गर्न औधी सफल छन् । उनका प्रस्तुतिमा रहने सरलता र अनुप्रासले मीठास थपिदिएको छ । उनको व्यङ्ग्य सामाजिक क्षेत्रका व्यक्तिहरू र मानव व्यवहारमाथि केन्द्रित रहन्छ । नेपालको राजनीतिक प्रणालीप्रति उनको व्यङ्ग्यको उदाहरण राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका कुराहरूबाट देख्न सकिन्छ । ‘व्यापारीलाई दर, सुकुम्वासीलाई घर, जागिर खानेलाई पोष्ट, खाजा खानेलाई टोष्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खोल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाइलाई नाइलिन, पुलिसलाई दण्डा, नेतालाई झण्डा, पाण्डालाई भेटी, गुणलाई केटी इत्यादि’ । नेताका चरित्रलाई ‘नेता नम्बर एकसय एक’ मा यसरी उदाङ्गो बनाएका छन् कि उसले वाचा नगर्ने कुनै कुरै छैन । उनका अन्य ‘आलु’ तथा ‘जयभुँडी’ संकलित निबन्धहरू ‘मपाई’, ‘जयभुँडी’, ‘भान्सा भो हजुर ?’, ‘केही राष्ट्रिय रोगः एक अनुसन्धान’, ‘आलु’ लगायतका निबन्धहरू नेपाली साहित्यका चटनी हुन् । निबन्धकारले आजभोलिको नेपाली समाजलाई नै चिरफार गरेझैँ लाग्छ । त्यसैले निबन्ध कालजयी पनि छन् ।

नेपाली निबन्ध विधाका सबैजसो सर्जकहरू उल्लिखित तीन धार तथा प्रवृतिबाट धोरथोर प्रभावित छन् । केही निबन्धकार देवकोटासँग नजिक छन्, केही लामिछाने वा भैरव अर्यालसँग । व्यङ्ग्यकार केशवराज पिडाली, युवराज मैनाली भैरव अर्यालका धारमा छन्, माधव घिमिरे, कृष्ण धारावासी, मनुजवावु मिश्रहरू देवकोटीय धार नजिक छन्, प्रकाश सायमीहरू लामिछानेसँग नजिक देखिँदैछन् ।

२०३३ मा ‘आँसुको जीवन’ प्रकाशन पछि साहित्य सिर्जनामा अनवरत बाजुराम पौडेलका दशवटा कृति नेपाली वाङ्मयले पाइसकेको छ र प्रस्तुत निबन्ध संग्रह ‘छोडिएका पाइलाहरू’ एघारौँ कृति हो । बाजुराम मूलतः कवि हुन्, उनका ‘सिर्जना फस्टाउनु पर्छ’ (खण्ड काव्य), ‘बाजुरामका कविताहरू’ (कविता संग्रह), ‘शीत स्वर्णा’ (कविता संग्रह), ‘शान्ताश्री’ (महाकाव्य), ‘जियालो’ (संयुक्त महाकाव्य), ‘उनीउर्मिला’ (महाकाव्य) र ‘जूनकिरी’ (महाकाव्य) प्रकाशित छन् । गद्य सिर्जनाका रूपमा भने ‘भञ्ज्याङ र चौतारी’ (आत्मवृतान्त) ‘निशा’ (उपन्यास) मात्र प्रकाशित छन् । प्रस्तुत ‘छोडिएका पाइलाहरू’ उनको पहिलो निबन्ध सङ्ग्रह हो । तर उनका गैरआख्यानका सिर्जना नभएका होइनन् ।

‘छोडिएका पाइलाहरू’ मा दशवटा निबन्धहरू सङ्कलित छन् । बाजुरामका निबन्ध विश्लेषणत्मक, भावात्मक र निजात्मक शैलीमा लेखिएका छन् । प्रवृतिगत धारको विश्लेषण गर्दा देवकोटीय भाव चिन्तन उनका निबन्धको प्रधान चरित्र हो भने समयचेतलाई विषयवस्तु बनाएका छन् । निबन्धहरू एकै विषयका वरिपरि वृत्तात्मक रूपमा घुम्छन् र समयचेतलाई पस्किन्छन् । व्यङ्ग्य र वृत्तान्तमा चिन्तन र कल्पना मिसिएको छ । उनको कल्पना असल समाज, असल संस्कार र असल व्यक्तिको निर्माण हो, जसका लागि निबन्धको आग्रह रहन्छ ।

‘ठूलो भनाउने धुनमा’ मानिसको स्वभाव विश्लेषणको चित्र हो । मानिस अभ्यान्तरिक रूपमा ठूलो बन्न, देखिन र भनिन चाहन्छ । रूप, सीप, गुण, क्षमता व्यक्तिलाई ठूलो बनाउने, भनाउने, भनिने आधार हुन् । निबन्धकार सही भन्छन्, मानव स्वभाव आभ्यन्तरको तरङ्ग हो । ठूलाको सान, मान, धाक, रवाफ, सम्मान, इज्जत, सामाजिक पहिचान सबै ठूलो हुन्छ । त्यसैले मानिस ठूलो हुने मनोविज्ञानमा रहन्छ । निबन्धकारले चर्चा गर्नुभएको स्वभावचित्र सामान्य मानिसको हो । औसत मानिसहरूको स्वभावको सामान्यीकरण गरेर नै चिन्तकहरू निष्कर्ष निकाल्ने गर्दछन् । निबन्धकार बाजुराम पनि मानव स्वभावको यही सामान्यीकरणमा छन् । मानिस कुनै प्रकारले ठूलो हुने चाहनामा निरन्तर तरङ्गित हुन्छ । ठूलो हुँदा गुणहरू देखिने र दोषहरू छोपिने गर्छ, सामाजिक प्रभाव फैलिन्छ र गुणगानी चर्चा हुन्छ । त्यसैले सृष्टिको सर्वश्रेष्ट मानिस यसैका कारण ठूलो बन्न चाहन्छ । यो स्वभाव र संस्कृति दुवै हो सामान्य मानिसको ।

तर सही अर्थमा ठूलो हुन शिक्षा, सम्पत्ति र बुद्धिको सन्तुलन चाहिन्छ । कर्मक्षेत्र र ज्ञानमा निपुण हुनैपर्छ । योग्यता, गुण तथा कर्मविना पनि मानिसहरू ठूला देखिन चाहन्छन् । गुणवान व्यक्ति ठूला नभए राज्यव्यवस्था नै लथालिङ्ग हुन पुग्छ । गुणले योग्य बनाँउछ, योग्यहरू नै सार्वजनिक जिम्मेवारीमा कुशल मानिन्छन् र सबैलाई योग्यताको फल बाँड्छन्, अभियान्ताले बनाएको ठूलो बाटोझैँ सिर्जना गर्दछन् अनि सर्वसाधारणहरू लाभान्वित हुन्छन् । राजनीतिजस्तो ठूलो जिम्मेवारीमा जानाले संस्कारहीनता जन्माउँछ र समाजलाई विखण्डनमा लैजान्छन्, विचार, भावना, भूगोल, स्वार्थ आदिको विखण्डनमा । तर असल मानिस जिम्मेवारीमा पुग्दा साझा मूल्य, साझा स्वार्थ र साझा समपर्णको उत्पादन गर्छ । असल व्यक्ति ठूला भएमा मात्र समाज र व्यवस्था सुन्दर हुन्छ । असल मानिस सेवा, समर्पण र सत्यनिष्ठामा रहन्छन् । समाज र सभ्यता असल (ठूला) मानिसको सिर्जना हो । निबन्धकार समाजमा असल संस्कारको निर्माणका लागि राजनेताहरूलाई ठूलो चुनौती दिन्छन्, र आग्रह गर्छन ठूला मानिस बन्न गुण र क्षमता हुनैपर्छ ।

हो, धन, बुद्धि, बल, शिक्षा र सीपको सन्तुलनले समाज परिष्कृत हुन्छ । समकालीन समाजमा यो सन्तुलन बिग्रेकोले बेथिति बढेको हो, विसङ्गति फैलिएको हो । तर निबन्धकार त्यो समाज कहाँको हो भन्दैनन् । तैपनि हामी सहज अनुमान लगाउन सक्छौँ, त्यो समाज उनी रहेको समाज हो । उनी त्यही समाजलाई निर्माण, पुनर्निमाण र विनिर्माण गर्न मार्गनिर्देश गरिरहेका छन् ।

निबन्धकारले एउटा गतिलो तथ्यको उजागर गरेका छन् । त्यो हो, कतिपय व्यक्तिहरू राम्रो कामबाट ठूलो हुनभन्दा असजिलो, नराम्रो कामबाट ठूलो हुने गर्दछन् । राम्रो कामको वृत्तिसम्पादन सहज, सरल र रेखीय हुन्छ, समाजले पनि प्रोत्साहन गर्छ तर नराम्रो काममा ठूलो (?) बन्न जटिलता र असजिला जिग्ज्याग वृत्तिपथमा हिँड्नु पर्दछ । दृष्टान्तमा उनी एउटा प्राध्यापक र डनलाई लिन्छन् । एउटा व्यक्ति प्राध्यापक बन्न जति मिहेनत गर्छ, त्योभन्दा बढी मिहेनत डन बन्न गर्नुपर्छ । दुख र जटिलताहरू डनले सामना गर्नु पर्दछ । जोखिमहरू डन कै मार्गमा हुन्छन् । दुई ठूलामा प्राध्यापक नै समाजमा मान, सम्मान र पहिचानमा स्थापित हुन्छ । किनकि मानिस सर्वश्रेष्ठ प्राणी हो । चेतनाले नै मानिसलाई राम्रो र नराम्रो छुट्याउने सामर्थ्य दिएको छ ।

चेतनाकै कारण मानिसमा लालसा जाग्छ र आफ्ना आवश्यकताभन्दा माथिको अपेक्षाहरू पूरा गर्न कुकृत्य र भ्रष्टाचार गर्नसक्छ, अनि पशुभन्दा तल ओर्लिन्छ । तैपनि मानिस कसैले नराम्रो नभनिदेओस, प्रशंसा गरिदेओस, पहिचान बढोस भन्ने साझा मनोविज्ञानमा रहन्छ । विवेक सहितको चेतले मानिस वास्तवमै ठूलो बन्छ, विवेकहीन चेतले ठूला मानिस पनि स्वात्तै तल झर्छन् । निबन्धकार समाजको यो प्रवृतिलाई उजगार गर्दछन् र  निष्कर्ष निकाल्छन्, चेतनशील हुनुको कारण मानिस विवेकबाट र महत्वाकाङ्क्षी हुनुको कारण सत्यबाट विचलित हुनुहुँदैन । यो शिक्षाले पक्कै पनि सबै पाठकको आभ्यन्तरलाई तरङ्गित गराएको होला, चेतना र सत्य नै मानिसलाई ठूलो बनाउने आधार हुन् ।

‘लेखक बन्ने सपना’ मानिसका असङ्ख्य सपनाहरूको प्रतिस्पर्धा र छट्पटी हो । निद्राका सपनाहरू छन्, विपनाका सपनाहरू छन् । विपनाका सपना चाहना हुन् । चाहनालाई कार्यरूप दिने व्यक्ति प्रगतिमा उत्तरोत्तर रहन्छ । विपनाका सपनाले नै मानिसलाई ठूलो बनाएको छ । निबन्धकार सपनाको महत्त्वलाई विश्लेषण गर्दै सत्कार्यसहितको सपनाको आग्रह राख्छन् ।

सनिका तह छन्, प्रकार छन् । कविका सपना स्वैरकल्पना हुन्, कामीहरूका कल्पना विज्ञान अनि आविष्कार बनेका छन् । निबन्धकारको मथिङ्गल मच्चिएको छ, निष्कलङ्क, निर्विवादित र समाजका हरेक क्षेत्रमा उपयोगी एउटा असल मानिस बन्ने सपना मानिस किन देख्दैन ? के भोग र भौतिकवाद मात्र यसको कारण हो ? निबन्धकारको प्रश्न अनुत्तरित छ । र उनको अनुत्तरित प्रश्नले युगले मागेको राजनेता, युगपुरुष, महान वैज्ञानिक वा महान मानवतावादी अभियान्ताको माग गरिरहेको छ ।

निबन्धको पहिलो पक्ष चिन्तन र विचारको विवरण हो, असल संस्कृति र असल समाजका लागि चिन्तन । दोस्रो पक्ष निबन्धकारका आफ्नै सपना हुन् । आफैँ लेखक बन्ने सपना, जुन निजात्मक शैलीमा संरचित छ । यसपछि निबन्धकार देवकोटीय शैली समाउन पुग्छन् । जीवनको निवृत्तावस्था (पेशाको निवृत्तावस्था ?) मा पनि निबन्धकारमा सपनाको छट्पटाहट् छ । निष्कर्ष निकाल्न खोज्छन् तर सक्तैनन र फेरि छटपटिन्छन् एउटा राम्रो लेखक बन्ने सपनामा । एउटा अभिष्टले मनलाई चिथोरेको छ, मस्तिष्क तरङ्गित छ–एउटा लेखक असल मानिसको परिभाषामा पर्छ कि पर्दैन ? प्रश्न फेरि अनुत्तरित छ । के लेखकहरू असल मानिसको काम गरिरहेका छन् ? यो अरू सबै लेखक बन्ने सपना देख्नेका लागि पनि सधैँको लागि चुनौती हो ।

लेखक बने पनि के लेख्ने ? के मा लेख्ने ? कुन समय लेख्ने ? भावना कसरी फिजाउने ? एउटा खुल्दुली र ऊहापोह छ निबन्धकारमा । तर लालसा छ सफल लेखक बनेर अमर बन्ने, लेखनाथ, देवकोटा, सम, माधव घिमिरे, गुरुप्रसाद मैनाली र रमेश विकलजस्तै । यस्तो चाहनाको मनोविज्ञान अरू सबै लेखक बन्ने चाहनाहरूमा पनि अवश्य होलान् तर निबन्धकारले उदात्त मन पोखिदिएका छन् ।

निबन्धकारका मनका यी भावनाहरू, खुल्दुलीहरू, श्वैरकल्पना सफल लेखक बन्नका लागि हुन्, त्यसमा पनि निजत्वमा रमाउने सर्जक छट्पटी हुन् । आफ्ना छट्पटी मार्फत सबै सर्जकको छट्पटीलाई पोखिरहेका छन् । सफल लेखक यसरी सिर्जना अघि आफैँसँग विवेचित, आफैँमा विश्लेषित हुन्छ र सपना अनि दृश्य फिजाएर त्यसैलाई जीवन भर्छ, भाव भर्छ । यस मानेमा निबन्धकार सफल लेखक बनेका छन् ।

निबन्धकार मानव, प्रकृति र संस्कारको विश्लेषण गर्न पुग्छन् ‘शैशवावस्था’ मा । शैशवकाल प्रत्येक मानिसका लागि महत्त्वपूर्ण रमणीय क्षण हो, जसले जीवनको प्रकृति र निश्छलताको विम्ब उतार्छ । शैशवावस्थाका सिकाइ, बुझाइ, संस्कार र स्वभाव जीवनवृत्तिका आधार हुन्, प्रभावक हुन् ।

शैशवावस्थामा व्यक्ति आफ्नै सपना देख्छ, वृत्ति व्यवसाय वा सिर्जनाको सपना कोर्छ । आमा–वुवाहरू आफ्ना बच्चाको निश्छल अनुहारमा आफ्ना सपना कोर्छन्, बालबच्चाका राम्रो भविष्यको कल्पना गर्छन्, असल पहिचानको मानिस बनोस भन्ने चाहना गर्दछन् । र, त्यसका लागि सकेजति अवसर अनि वातावरण दिने गर्दछन् । त्यो उनीहरूको मनोविज्ञान, कर्तव्य र आग्रह सबै हो ।

हो, सपना पूरा गर्नु भनेको संघर्ष गर्नु हो । परिस्थितिले सङ्घर्ष सिकाउँछ । भोक लाग्नु प्रकृति हो, भोकबाट मुक्तिको कार्य (परिश्रम) सङ्घर्ष हो । प्रत्येक सङ्घर्षले मुक्तिको मार्ग खोज्छ । अतृप्ति र अभावले सङ्घर्ष गर्न सिकाउँछ, कर्म गर्न सिकाउँछ । अर्को मानेमा जीवन जिउन सिकाउँछ । बालमनोविज्ञान आमा–वुवा (प्रकृति) सँग झगडा गरेर चाहना पूरा (सङ्घर्ष) गर्न लाग्छ । जीवनका प्रत्येक चरणमा यही मनोविज्ञानले काम गर्छ, भोलिकै सङ्घर्षका प्रकृति र विधिहरू लगातार फेरिँदै जान्छन्, उमेर र अवस्थाले पनि यो फेरिँदै जान्छ । निश्चल बालप्रकृति सङ्घर्षले जटिल अवस्थामा पुग्छ । सङ्घर्षका विधिको सही छनौटले समाज सुसंस्कृत बन्दै जान्छ । निबन्धकार शैशवावस्थादेखिको निश्छल, निस्वार्थ र असल प्रकृति बढाउँदै असल सिर्जनामार्फत निर्माण गर्ने आग्रह गर्दछन् । यो सामाजिक चेतले नै निबन्धकारलाई विशिष्ठ उचाइतर्फ लगेको छ, निबन्ध सामान्य आधारबाट क्लाइमेक्सतर्फ उक्लिँदै जान्छ । यसमानेमा निबन्धले भावदृश्यलाई उतारेको छ ।

अर्को निबन्ध ‘संस्कार’ ‘शैशवावस्था’ को विस्तार हो । शिक्षा, अनुशासन, मर्यादा, नियशीलता, उपकार, सहयोग र सद्भावले असल संस्कार निर्माण गर्दछ । असल मानिस नै असल संस्कारको परिणाम हो, असल समाज असल संस्कारको परिणाम हो । यसैका लागि निबन्धकार सामाजिक चेत फैलाई रहेका छन् । खराब संस्कार, दूराचार र अनियमितता विरुद्ध शंखघोष गरिरहेका छन् । बढ्दै गएको संस्कारजन्य विकृतिप्रति शिष्टतासाथ प्रतिरोध गर्दछन् । भोग र भौतिक पक्षमाथि आत्मिक चेतले विवेक भर्न आग्रह गर्छन् ।

‘मेरो देश’ देश प्रेमप्रति समर्पित निबन्ध हो । यसले देशको परिभाषा गर्छ, देशको अर्थ बताउँछ । देश प्रेम, देशको इतिहास, सीमा र देशकै वैभवको बखान गर्नमा निबन्ध केन्द्रित छ । देश भूगोलको अर्थमा मात्र सीमित छैन । भूगोलको मानचित्रभित्र समेटिएको विषय मात्र देश होइन । देश नागरिकको कर्तव्य र राज्य सञ्चालकको दायित्वको सम्बन्धमा रहन्छ । देश बनाउनु पर्छ, देश बनाउन मन दुख्ने मुटुहरू चाहिन्छ । तर निबन्धकार त्यस्ता मुटुहरू नभएकोले गरिबी, अज्ञानता र अशिक्षाका भीरपाखा आफ्ना सम्पत्ति भन्नुपर्ने बाध्यता भएकोमा दुःखी छन् ।

‘मेरो देशको बारेमा जब म सोच्न लाग्छु, मेरो अगाडि गरिबीको अनुहार आउँछन्, अशिक्षाका कछाड र भोटो देखिन्छन्, अभाव र अपर्याप्तताका झुपडी,  नसप्रेको खेतीबाली,  नफलेको बोट र रोग खपिरहेका ज्येष्ठ नागरिक, अवसर नपाएका प्रतिभाहरूको आपाङ्गता सिङ्गै देशलाई उपहास गरिरहेका हुन्छ ।’

नीति निष्ठा नभएका नेता, मन नदुख्ने राजनीतिक कार्यकारी र काम नगर्ने जिम्मेवारहरूप्रति निबन्धकारको कडा आक्रमण छ । समृद्धि, देश प्रेम र जिम्मेवारीको सम्बन्ध खोज्छन् । शासन भयो तर समृद्धि भएन भने शासनको के अर्थ ? पर्याप्ततामा अभाव भएमा शासनको के अर्थ ? शासक, प्रशासक, उद्योगप्रति र व्यापारीमाथि ठूलो नैतिक प्रश्न छ निबन्धकारको । नैतिक प्रश्नको उत्तर शब्दमा होइन, कर्म र समर्पणमा खोज्ने आग्रह छ ।

‘उत्तरार्ध जीवन’ मानिस जीवनको जुन चरणमा जिउँछ, त्यसैलाई मज्जाले रमाइलो ठान्ने आग्रह हो । शैशव, वाल्य, युवा, प्रौढ जियाइका अर्थमा सबै उत्तिकै अर्थवान् छन् । उत्तरार्ध अवस्था चाहिँ जीवनमा निर्वाह गरेको कर्तव्यको विवेचनासहित जिम्मेवारी हस्तान्तरणको समय हो भन्ने दृष्टिकोण निबन्धकारको छ । तर यसलाई पनि सिर्जना, साधनजस्ता विभिन्न माध्यमबाट सकेजति अर्थवान् बनाउन र यस अवस्थालाई समुदयाले श्रद्धा र आदर गर्न आग्रह गर्छन् ।

‘जीवनको गोरेटो’ मानवीय जीवन र पारिस्थितिक प्रणालीमा रहेका जीवनहरूको चक्रीय पद्धति, प्राणी वनस्पतिको अन्तरसम्बन्ध, प्रकृति सिर्जित पद्धति र मानव जीवनबीचको सम्बन्ध विश्लेषण हो । कसैले पनि प्रकृति विपरीत जिउनै हुँदैन, प्रकृति सम्मत जीवन नै सरल र सास्वत जीवन हो । प्रकृतिको प्रक्रिया बिथोल्दा मानव सत्तामाथि विपद र संकट निम्तिएको निष्कर्ष निबन्धको छ । प्रगति र प्रकृतिलाई सन्तुलन ल्याएर नै जीवनलाई राम्रो बनाउने निष्कर्ष निबन्धकारको छ ।

‘स्मृति र ग्लानि’ मानिसका स्वाभाविक क्रियाको तरङ्ग चित्र हो । स्मृति, बितेका अनुभवहरूको मानसपटमा हुने पुनरावृत्ति हो । विगत सम्झेर नै मानिस मानिस बन्छ तर कतिपय स्मृतिले मानिसलाई ग्लानि महसूस पनि गराउँछ । पथभ्रष्ट मानिसहरू स्मृतिका पानाहरूमा ग्लानि महसूस गर्नुपर्ने अवस्थामा रहन्छन् । स्मृतिले आत्मबल पनि बढाउँछ । यो शक्ति र सिर्जनाको स्रोत पनि हो । ग्लानिले पश्चाताप दिएर मानिसलाई सुध्रने मौका दिन्छ, यो स्मृतिको मनोविज्ञान हो ।

‘छोडिएका पाइलाहरू’ निबन्ध सङ्ग्रहको शीर्ष (टाइटल) निबन्ध हो । यो शीर्ष पनि हो र शीर्षक पनि हो । यस अर्थमा कि अरू निबन्धमा भएका मानवीय चिन्ता, चिन्तन, छटपटी र ऊहापोहहरू यहाँ दोहोरिएका छन्, पछुलिएका छन् । यहाँ स्मृति छन्, दुखेसा छन्, भोगाइहरू छन्, भोग्न नपाएका कुराहरू छन् । समय छ, परिवेश छ र आफ्नै जीवनको समीक्षा छ, आफूमाथि विश्लेषण र विवेचना पनि छ । देश परिवेशको विवेचना पनि छ । अपेक्षा र आग्रह पनि छ । शायद यही नै ‘छोडिएका पाइलाहरू’ हो, र सबैको जीवनका छोडिएका पाइलाहरू यस्तै हुन्छन् । जीवनको उत्तरार्धतिरबाट जीवन नियाल्दा शायद यस्तै दृश्य देखिन्छ ।

समग्रमा ‘छाडिएका पाइलाहरू’ चिन्तन प्रधान भावपरक निबन्ध हो । यसले जीवन, जगत् र परिवेशलाई समयचेत दिएको छ । सरल शैली र मीठो प्रस्तुतिले बोधगम्यता बढाएको छ । प्रकृति, भावविधान र शैलीको कलात्मक संयोजन छ । छाडिएका पाइलाहरूले नेपाली निबन्ध वाङ्मयमा देवकोटीय धारभित्र छुट्टै प्रवृत्ति स्थापना गरेको छ । मोन्तेनले भनेझैँ निबन्धको विषय निबन्धकार आफैँ हुन्, र देवकोटाले भनेझैँ यो एउटा सानो किस्सा हो, जसले समाजको विम्बलाई सोलोडोलो उतारेको छ ।