खुल्दुलीहरू

साँच्ची, हामी अरूका संस्मरणहरू किन पढ्छौँ हँ ? कसैको व्यक्तिगत अनुभव-अनुभूतिहरू पढेर वा बुझेर हामी पाठकले के पाउछौँ होला ? किन खोतल्न उत्सुक हुन्छौँ अरूका विगत अनि बितिसकेका यादहरू ? फेरि के सोचेर लेखक-कथकले खोलिदिन्छन् आफ्ना दबिएका विगत घटना-संघटना र संवेगहरू ? किन उदाङ्गो बन्न लालायित हुन्छन् संवेदनशील सर्जकहरू ? आफ्ना अदृश्य घाउहरू, खुशीका रङ्गहरू, प्राप्ति-अप्राप्ति, सफलता-असफलताका बिस्कुनहरू फिँजाएर किन लेखकहरू तृप्त बन्छन् ?

जब पनि म कुनै संस्मरणकृति वा लेख पढ्न बस्छु मलाई यस्ता थुप्रै प्रश्नहरूले हिर्काउने गर्छन्। कुनै संस्मरण, नियात्रा या कुनै अनुभूति लेखनलाई पठन या अध्ययन गर्दा मेरो मन-मस्तिष्क पाठभित्र प्रवेश गर्न अघि यी प्रश्नहरूका घेरा नाघेरै अघि बढेका हुन्छन् । यस्ता अधिक सचेतताले कुनै बेला म पाठको मर्म र गहनता नभेटेर दिक्क पनि बनेको छु । अतिहार्दिकता, अतिभावुकता र आत्मलापी यस्ता कति लेखनबाट म धेरैपटक भागेको छु । सम्प्रेष्य, रोचक र उपलब्धिमूलक ससंस्मरण लेखन यसैले धेरै चुनौतीपूर्ण रहेको कुरो सर्जक हिरा छेत्रीको संस्मरण कृतिको भूमिकामा सविस्तार लेखिसकेको छु।

तर पनि संस्मरण लेखिन्छन् । पढिन्छन् । किनभने सुन्दर संस्मरणले फरक आनन्द अनुभूति दिन्छ । संस्मरण लेखकको दृष्टिकोणबाट जीवन र जगत् बुझ्न मद्दत मिल्छ । इमान्दार लेखकका भूल जानेर आफू सचेत बन्न सकिन्छ । उनले गरेका सङ्घर्ष, त्याग र बलिदानको कथा टिपेर अभिप्रेरित हुन पाइन्छ । प्रेरणा र उर्जा प्राप्त गर्न सकिन्छ । फरक समाज, वर्ग र सम्प्रदायका संस्मरणले उनीहरूका संस्कृति, रीतिरिवाज, जीवन-शैली र जीवनदर्शन चिहाउने अवसर पनि दिँदछ । सांसारिक ज्ञान, सूचना र सन्देश त उसै पनि संस्मरणको आधिकारिक अवयव हो । इतिहास, भूगोल, विज्ञान, अर्थशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र आदि-आदि सबैलाई छोएर अन्तर्ज्ञानानुशासनको परिवृत्त समेट्ने साहित्यको यो विधा उसै पनि विशाल र व्यापक छ ।

राष्ट्रपिता महात्मा गान्धीको ‘मेरो सत्यको प्रयोग’ पढ्दा राष्ट्रपिताको सत्यको आग्रह, त्याग र समर्पणको दृढता, जीवनदर्शन र तात्कालीन इतिहास पढ्न पाइन्छल । डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ नियात्रा पढ्दा रोमाञ्चित र नोस्टाल्जिक नबन्ने पाठक को होला र ? प्यारिसकी पोक्ची, कलेज, पार्टी, मेलामा भेटिएकी सुन्दरीहरूका आकर्षण, देशको झण्डा देख्दाको आत्मानुभूतिहरूले हामीलाई हसाउँदै, रूवाउँदै, रोमाञ्चित गराउँदै बेलायततिर विचरण गराउँछ । भारतका पूर्व राष्ट्रपति मिसाईलम्यान डा. अब्दुल कलामको ‘Wings of Fire’ मार्फत एक मध्यमवर्गीय साधारण केटो जो पढाइमा सामान्य छन्, नोकरीको अन्तर्वार्तामा असफल बन्छन् अनि आफ्ना सपना पूरा गर्न निदाउन सक्दैनन् त्यस्ता व्यक्ति जो वैज्ञानिक मात्र होइन भारतलाई सुपर पावरको दिशामा लैजाने राष्ट्रपतिको विगत पढ्दा जो कोही पनि अनुप्रेरित बन्न सक्छ। ‘I am Malala’ भित्र एउटी निडर किशोरीले ईस्लामिक अतिवादीहरूसित चुनौती दिँदै कसरी गोली खाएर पनि मुस्लिम महिलाहरूको शिक्षाको अधिकारको निम्ति लडाइँमा डटिरहिन् र विश्वको ध्यानाकर्षण गर्दै नोबेल शान्ति पुरस्कार पाउन सकिन् भन्ने संस्मरणले हामीलाई महिला सशक्तिकरणको सबल उदाहरण दिन्छ । झमक घिमिरेको ‘जीवन काँडा कि फूल’भित्रका संस्मरणले हामीलाई फरक क्षमता भएका दिव्याङ्गहरूका मनोविज्ञान, अन्तरानुभूति र वैचारिकता चिन्ने अवसर दिन्छ । जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, डा. शशिभूषण राईको ‘मेरो क्यान्सर यात्रा’ जस्ता कृतिमा पाइने संस्मरण अंशहरूले संसार, आध्यात्म, जैविक यथार्थ र रोग-निरोगका अनुभूतिबारे मात्र बताउँदैन तर मानवता, सम्बन्ध-साइनो र लोकाचारका यथार्थबारे पनि चिनाउँदै लान्छ । यसबाहेक पनि यस्ता कैँयन् संस्मरण-कृतिहरू छन् जसले हामी पाठकको मन-मष्तिष्कलाई हल्लाइदिने गर्छन् ।

जय क्याक्टस

अलिकति कृति ‘बबी जामा’को कुरा

उत्तिकै चर्चित, लोकप्रिय, प्रसिद्ध भनेर तोक्न नमिले पनि मलाई कविता लामाको नयाँ संस्मरणकृति ‘बबी जामा’ले निकै गहिरो छाप छोडेको छ। सर्जक लामाले आफ्ना बाल्यकालका धेरै यादहरूलाई टिपेर हामी पाठकलाई उनका विगतका हर्ष-अमर्ष, खुशी-विषाद, प्राप्ति-अप्राप्तिका ससाना संसारमा मज्जाले डुलाउन सफल बनेकी छन् । एघार वटा शीर्षक अनि तीन वटा उपशिर्षकमा अलिकति परिवारको कुरा, अलिकति बालमनोविज्ञानको कुरा, अलिकति आफ्नो परिवारको कुरा, अलिकति जाति-समाजको कुरा अलिकति संस्कार र संस्कृतिको कुरा, अलिकति स्थानीय गाउँ अनि सहरका (विशेष खर्साङ अनि वरिपरिका) इतिहासको कुरा, अलिकति शिक्षा र शैक्षिक परिवेशको कुरा, अलिकति प्रकृति र पर्यावरणको कुरा सुनाउँदै सुनाउँदै जीवनका धेरै गहिरा दर्शन र चिन्तनसितै थुप्रै कुराहरू पनि सङ्केतमा छाडिराखेकी छन् ।

हिन्दी चलचित्र ‘बबी’ फिल्मको क्रेजले जन्माएको फेसनको लहर थियो ‘बबीजामा’। बबीजामासित सर्जक कविता लामाको आकर्षण, प्राप्तिको सङ्घर्ष, बालक्रिडा क्रममा उक्त जामा एक महिना पनि नपुगी नयाँमै फाट्नुजस्ता क्रमिक अनुभव-अनुभूति यात्राले हामी पाठक जसले पनि त्यो कालखण्ड र अवस्था पार गरेर आएका छौँ त्यतैतिर डोहोर्याएर लान्छ । कृति शीर्षक नै पाएको यो संस्मरण यति रोचक बनेको छ कि समग्र कृति नै सकिहालूँ भन्ने उत्सुकता जगाइदिन्छ । भिमराजको व्यवसाय पद्धत्तिको कुरा, त्यति बेलाको सिनेमा/बाइस्कोपको कुरा, दसैँ-तिहारको कुरा, काठको गाडीको कुराले थुप्रै कुरा भन्दै जान्छ, हामी पाठभित्रकै अंश बनेर विविध संवेगसित हेल्लिन्दै जान्छौँ ।

त्यसपछि क्रमैले ‘ओकेको जुत्ता’, ‘छुर्पी बाटो’ आदि हुँदै ‘आप्पाकी छोरी’सम्म थाहै नपाई आइपुग्छौँ। प्रत्येक संस्मरण भिन्न-भिन्न घटना, व्यक्ति, परिवेश, समय र संवेग लिएर संरचित गरिएका छन् तर अन्तर्सिर्जनाको स्वरूपमा त्यो एउटै धागोमा उनिएको मालासरह बनेको छ । त्यसलाई यो स्वरूप दिने मूल सूत्र छ बालजीवन, बालअनुभूति अनि बालसंसारका रङ्गीन सपना र विपनाका कथ्यहरू, आख्यानहरू र इतिवृत्तहरू । त्यो समय र कालखण्डका हरेक बाल-बालिकाले हरदर रूपमा जिउने, भोग्ने र अनुभव गर्ने अनुभूतिलाई प्रतिनिधित्व गर्ने सर्जक कविता लामाको बाल्यकाल त्यो समयको समाज, विचार र व्यवहारिकता बुझ्ने आँखीझ्याल हो कृति बबीजामा जसले वर्तमानसित अलिकति तुलनात्मक दृष्टि राख्दै आजको समकालीनतालाई पनि चिहाउने काम गर्छ । हेर्नुहोस्-

“घरमा बसेर मोबाइल, आइप्याड, ल्यापटपमा कार्टुन हेर्ने र भिडियो गेम खेल्ने अहिलेका केटाकेटीमा परेनौँ हामी । खेल भनेपछि घरबाहिर खेल्थ्यौँ । घरभित्र खेलेको भनेको पानी पर्दा मात्रै हो त्यो पनि करले । बिहान खाजा खाएर घरबाट साथीहरूसित खेल्न निस्केपछि हामीलाई दिउँसोको खाना खाने समय धरी थाहा हुँदैन्थ्यो (पृ. २९)।”

“अहिले हाम्रो उमेरका केटाकेटीहरू यहाँ कमानमा खेल्न होइन प्रेमी प्रेमिकाको जोडी भएर घुम्न आउँछन् । फरक के छ भने हामी कमानलाई आफ्नो सम्पत्ति ठानेर प्रेम गर्थ्यौँ । अचेल नानीहरू कमानलाई त्यसरी प्रेम गर्दैनन् (पृ. ९०) ।”

“साना साना बालबालिकाको होहल्लाले गाउँ रमाइलो बन्थ्यो । तर अहिलेका केटाकेटीहरू धेर बोल्दैनन् । चुपचाप घरभित्र बस्छन् हात हातमा मोबाइल र आइप्याड लिएर । उनीहरू आफ्नै परिवार र समाजदेखि टाडा बस्छन् तर भर्चुअल वर्ल्डको परिभ्रमण गर्न आनन्द मान्छन् (पृ. १११­)।”

मेरो यो कृति पठनपछिको पहिलो जिज्ञासा नै हो यहाँ लक्षित बालजीवनका कुराहरू। हामीले बालसाहित्यसित जोडेर बालमनोविज्ञानका कुरा धेरै गर्छौँ । बालसंसार बुझ्न उनीहरूका शारीरिक, मानसिक, सामाजिक, भाषिक, शैक्षिक विकासक्रम बुझ्न पाठ्यक्रमभित्र मन्टेसरी, पियाजे, फ्रायड, जोन डिवी, रूसो आदि आदि प्रतिपादित सिद्धान्त र शैक्षिक सामाग्रीहरू पढ्ने गर्छौँ । तर पनि हाम्रो समाजले एउटा कुरा राम्ररी बोध गर्न र चिन्न नसकेको अहम् कुरो छ – त्यो हो ‘बालसमाजको अवधारणा’ जुन कुरो सर्जक कविता लामाले यो कृति ‘बबीजामा’ मार्फत बुझाउने कोसिस गरेकी छन् । आफ्नो पूर्वकथन अनि पाठभित्र पनि निकै पटक उनले यो पद ‘बालसमाज’लाई महत्त्वकासाथ उल्लेख गरेकी छन् ।

“साँचो अर्थमा, मेरो बालसमाज अत्यन्त सुन्दर, उदार, विभेदहीन र रमाइलो थियो (पृ.१३)।”

“त्यस समय तँ केटा म केटी भन्ने लैङ्गिक विभेद गर्न पनि हामीले जानेका थिएनौँ । तँ छेत्री, म तामाङ भन्ने जातगत विभेद गर्न पनि हामीले सिकेनौँ । तँ धनी, म गरीब भन्ने वर्गीय विभेदरहित समाजमा हामी एकताको सूत्रमा बाँधिएका थियौँ। हामी दु:ख र सुखमा एक थियौँ। साथीलाई कसैले पिटे हामीलाई दुख्थ्यो। साथी लडे तितेपाती दलेर उनको घाउ निको पार्न हामी लागिपर्थ्यौँ। हामीले यसरी मिलेर आफ्नै बालसमाजको निर्माण गरेका थियौँ (पृ. ४६ )।”

“कोटको गोजी एकापट्टि सिलाइ उत्रेको (उध्रेको?), सिइटरको (सुइटरको?) कुइना फाटेको, ब्यारिङ्ग खेल्दा जामा फाटेको, काठको पिराको पछिल्लो भागमा मोम लगाएर छुर्पी बाटोमा सिलिपिति खेलेको, लडेर घुँडा पिल्छेको, ओठ पट्ट फाटेको, इस्कुसको सुकेको लहराको बिँडी खाएको, मूल सडकभरि फैलिएर गोल (गोली?) खेलेको, केटाहरू सँगसँगै ढाम्पुल, ढेक्का, टिक्की, सिग्रेटको खोलको तास खेल्दा कस्तो मजा आउँथ्यो । हामी कति भाग्यमानी नानीहरू रहेछौँ। हामीले आफ्नो बाल्यजीवनको सुनौलो दिन बाँच्यौँ। त्यो समाज हाम्रो बालसमाज थियो (पृ.७७)।”

माथि उद्धृत अंशहरूबाट पाठकहरूले बालसमाजको अवधारणा के हो भन्ने अलिकति सङ्केत त पाइसक्नुभएको छ । पश्चिमेली जगत्मा यो बालसमाजको अवधारणा निकै अघिदेखि प्रचलनमा आएको हो । भारतजस्तो विकासशील राष्ट्रहरूमा पनि यसको प्रचलनको आरम्भ भइसकेको छ । गरीब तथा तेस्रो मुलुकहरूमा भने बिस्तारै यसले स्थान पाउँदैछ। यो बालसमाजको अवधारणाबारे हामी सबै अवगत हुनु जरूरी छ। बालसमाजसित जोडिएर आउने धेरै कुराहरू छन् जो निकै गम्भीर र महत्त्वपूर्ण छ। यसबारे अलिकति विश्लेषण र विमर्श गरौँ।

बबीजामा र बालसमाज

संयुक्त राष्ट्र संघ अन्तर्गतको United Nations Convention on the Rights of the Child (UNCRC) 1989 अनुसार बाल-बालिका भन्नाले जन्मेदेखि १८ वर्ष नपुगेकाहरू भनेर बुझिन्छ। जो शारीरिक, मानसिक, बौद्धिक, भाषिक, शैक्षिक रूपले अपरिपक्व छन् । जसको सर्वाङ्गीन विकासक्रम निरन्तर भइरहेको हुन्छ। कानुनी रूपले वयस्क घोषित नभएकाहरू नै बालबालिका हुन्। एकै संस्कार, रीतिरिवाज, रूची, वैचारिकता, वृत्ति, सिकाइ र कर्म लिएर गोलबद्ध भएर बाँच्ने मानव समूहलाई समाज भनेर समाजविज्ञानले परिभाषित गरेको छ। यी दुई परिभाषालाई गाँसेर हेर्दा ‘बालसमाज’ के हो भन्ने धेरै स्पष्ट हुन्छ।

बालसमाजलाई मानवसमाजको एकाङ्क मानेर हेर्नसकिन्छ, जहाँ बालबालिकाहरूको आफ्नै संसार हुन्छ। संसारका सबै बालबालिकाले भने सर्जक लामाले बाँचेकी बाल्यजीवन बाँचेजस्तै सुनौलो बालसमाजमा बाँच्ने अवसर भने पाएका हुँदैनन् । लैङ्गिक विभेदका कारणले करोडौँ बालिकाले भ्रूणहत्याको शिकार बन्नुपर्छ। वर्गीय, वर्ण र जातीय विभेदले करोडौँ बालबालिकाले जिउने, शिक्षा, सुरक्षा, विकास र सहभागिताको मौलिक अधिकारबाट वञ्चित रहनुपरेको छ। बालश्रम, बालयौनहिंसा, बालविवाह, बालबेचबिखन, शारिरिक औ मानसिक दण्ड, विकलाङ्गता, दुर्व्यवसनी जस्ता विकृति र शारीरिक अनि मानसिक दुर्बलता बालसमाजमा आज पनि व्याप्त छन्। सर्जक कविता लामाले जुन ‘सुन्दर, उदार, विभेदहीन र रमाइलो’ बालसमाजको परिकल्पना गरेकी छन् त्यो यथार्थमा सबैले उपभोग गर्न पाएका हुँदैनन् । हाम्रै समाजमा पनि केही विभेद, विकृति र विशृङ्खलता अझ पनि पाइन्छ। यस्ता विशृङ्खताबारे हरेक अभिभावक, शिक्षक-शिक्षिका अनि समाजका सचेत जमात अवगत हुनु जरूरी छ। किनभने समृद्ध र सबल परिवार, समाज र राष्ट्र निर्माणका निम्ति हामीले शारीरिक औ मानसिक सबलतासम्पन्न बालबालिका तयार गर्नु जरूरी हुँदछ। आजका बालबालिका भोलिका कर्णधार हुन् भनेर त्यसै कथिएको कथनी होइन ।

कृति बबीजामामा वर्णित बालसमाज पनि सर्जक लामाले भनेजस्तै तर वर्गहीन, विभेदहीन र बालअपराधमुक्त भने देखिएको छैन । ‘नानाको जस्तै एकैखाले लुगा’ लगाउनुपर्ने बाध्यताले बालरुचि र स्वतन्त्रताको अवहेलना भएको दर्शाउँछ । ‘आमा-आपा दुवैले नानालाई मात्र धेर माया गर्नुहुन्छ’ जस्तो लाग्नुमा पारिवारिक विभेद देखाउँछ। ‘केटाकेटा मिलेर मात्र ब्यारिङ खेल्नु’मा लैङ्गिक विभेदको आभास मिल्छ। सहपाठी रूपधनको ‘केटीहरूलाई सिङ्गै निलुँला झैं हेर्ने, कुट्ने, खाजा खोसी खाइदिने’ जस्ता उद्दण्ड व्यवहारले बालअपराधको सङ्केत दिन्छ । रहर र चाहना हुँदाहुँदै पनि ‘कमला उर्फ कान्छीले रेनकोट ओड्न नपाउनु, चित्रुको जस्तै भाँडाकुटी र गुडिया सर्जक अनि साथीहरूसित नहुनुको बोध’ले वर्गीय विभेदको लक्ष्य गर्छ । ‘साइँला मामाले नाच्दिन भनेर भन्दाभन्दै पनि जिस्किएर हातै फुस्किने गरी तान्नुमा’ पनि कुनै एक प्रकारको बलजफ्ती भएको भान त हुन्छ नै । यसबाहेक पनि बालश्रम, बालयौनशोषण, अपाङ्गता, अशिक्षा आदि कृतिमा नदेखिए पनि आज पर्यन्त बालसमाजमा व्याप्त छ। जसबारे बालबालिका त अनभिज्ञ हुन्छन् नै तर सचेत प्रौढसमाज पनि अनभिज्ञ वा मौन बस्नेगरेको पाइन्छ। भारतमा सन् १९९२ देखि कनुनीरूपमा लागु गरिएको बाल सुरक्षाको अधिकारबारे हामी कति सचेत बनेका छौँ ? संवैधानिक मौलिक बालअधिकारबारे बालबालिका कतिसम्म सचेत र सजग छन्? यसबारे विमर्श गर्ने स्पेश कृति बबीजामाले दिएको छ।

बबीजामा पढेर हामी पाठकले सर्जक कविता लामाले बाँचेको बालजीवनको निश्छलता, निर्बोधता र निख्लमपना अनुभूत त गर्नसक्छौँ तर त्यस्तै बालसमाज आजको उत्तरआधुनिक समाजका बालबालिकालाई दिनसक्छौँ र ? प्रकृति, परिवेश र समय सबै त बद्लिसकेको यो कालखण्डमा हामीले अबका बालबालिकाका निम्ति कसरी त्यो विगतलाई वर्तमानमा फर्काएर ल्याउनसकौँला ? कि बद्लिएको मानसिकता लिएर अर्कै नयाँ प्रकारकै बालसमाजको निर्माणको निम्ति बाटो निर्धारण गर्नुपर्ने ? यो पनि एउटा विमर्शको स्पेश बबीजामाले दिएको छ । बालबालिकाको बाल्यपन खतरामा छ। उनीहरूले ‘आफू’ भएर बाँच्ने अवकाश नपाइरहेको स्थिति छ। यसैले अबको बालसमाजको अवधारणा पनि अलिक फरक हुनुपर्ने हो कि? सोँच्ने दायित्व परिवार, समाज, विद्यालय अनि राष्ट्रले पनि लिनुपर्ने देखिन्छ ।

लेखनका हिसाबले कृति बबीजामा सर्जक कविता लामाले बाँचेको बाल्यसंसारको इतिवृत्त हो । यहाँ हामी सर्जक लामालाई धेरै उदाङ्गो ‘जीवन्त र प्राङ्गरिक’ (अविनाश श्रेष्ठ) पाउँछौँ । तर पनि कृतिमा एक पक्ष भने नखुलेको भान हुन्छ। सामान्य बालबालिकामा पाइने टिनएजर आकर्षण, पानीफोके विपरीत लिङ्गी प्रेम वा अनुरागबारे कृति बबीजामा मौन छ। नितान्त चुपचाप। यस्ता अनुभूति र संयोग नभएकै हो भने त ठीकै हो तर यसबारे मौनता अप्नाइएको हो कि भन्ने भान पनि हुन्छ।

सर्जक लामाले आफ्नो कृति बालबालिकालाई समर्पण गर्दै “मेरो बाल अनुभव यी नानीहरूसित साझा गर्नालाई पनि मैले यी बाल संस्मरणहरू लेखेकी हुँ” भनेर तोकेकी छन् तर दु:खद् कुरो के छ भने बालबालिकाले यस्ता कोर्सदेखि बाहिरका पुस्तक विरलै पढ्छन्। किशोर-किशोरीमा यदि पुस्तक पढ्ने आदत छ भने पनि उनीहरू अङ्ग्रेजी पुस्तकमा धेर रमाउँछन्। यी किशोर-किशोरीलाई नेपाली पुस्तक पठनतिर आकर्षित गर्नुपर्ने आजको पहिलो आवश्यकता छ। उसै पनि हाम्रो बालसाहित्यको न त बजार छ न त बालपाठक नै। समाधानमा बरू यसो गर्न सकिएला कि बबीजामा जस्तो कृति हरेक सचेत अभिभावक, शिक्षक-शिक्षिका वा पाठकहरूले पठन गरेर कृतिमा अभिलक्षित ‘बालसमाज’बारे बुझ्ने र बुझाउने परिवेश निर्माण गर्नुपर्ला । किनभने बालजीवन र बाल्यावस्थाको निर्माता भनेकै ‘समाज’ हो। लेखिका Rory McDowell Clark पुस्तक Childhood in Society (2010) मा लेख्छिन्: Childhood can be seen to be socially constructed because the expectations and understanding of what it is to be a child are not universally fixed but are culturally specific and vary across time and location. (p. 8)

यसैले हामीले हाम्रा नानीहरूका निम्ति हाम्रै समाजभित्र समयानुकूल ‘बालसमाज’को निर्माण गर्नलाई केही पहल त गर्नैपर्ला । कृति बबीजामाले यस दिशामा पनि हामीलाई झकझकाएको छ। यति उपयोगी विचार दिने कृति लेखनमा डा. कविता लामाको संयम र साहसलाई सलाम गर्दै लेखान्त गर्छु ।