गरी दुःख मिहिनेत कठिन परिश्रममा बाँच्छ मान्छे
दुःखपछि सुख आउँछ भन्ने क्रममा बाँच्छ मान्छे
यसो उसो भन्दाभन्दै, दिन, रात, उमेर गन्दागन्दै
बिर्सेर सत्य आफू कैल्यै नमर्ने भ्रममा बाँच्छ मान्छे !
चौसट्ठी दिन बितेर त्यति नै हप्ता बित्न लाग्ला भन्ने डर छ । हातमा उही ‘पकेट साइज’को (सानो आकारको) कविताले भरिएको एउटा किताब छ । मलाई झट्ट शीर्षक मौलिक लागेको हो, ‘चौसट्ठी वर्गमिटर’ । कविको परिचयमा रमाउँदै गरेका सञ्चारकर्मी जीवन लामा यात्राको दोस्रो कृति हो यो । कुनै दिन सम्पादनका लागि अनुरोध आएको थियो यसैका लागि । सिफारिस श्रीबाबु कार्की उदास वा विष्णु सुवेदीले गरेका हुनुपर्छ सायद । उपर्उल्लिखित यी सबै दोलखाली साहित्यिक परिवेशमा रमाउने र त्यहीँको दोलखाली माटोलाई समाउने अनि शब्दशिल्पीका माध्यमले कवितामा मगमगाउने स्रष्टाहरू हुन् ।
कविता कवि लामाको सोखको विषय हो वा रुचिको तर कवितामा बिस्तारै खुल्दै गएको पाउन सकिन्छ । उनको पहिलो कृति ‘निर्दोषी मान्छे’ पढेर प्रतिक्रिया लेखिएपछि नै दोहोरो चिनाजानी भएको कवि लामासँग । जन्मभूमिको साइनोबाहेक केही छैन मेरो भने झैँ लाग्छ दोलखासँग अनि फेरि कहिलेकाहीँ यस्तै नूतन मान्छे पुरातन सम्बन्ध भए झैँ आत्मीय बनेर आउँछन् । यस्ता जब्बर मान्छे जो मनमुटुभित्रै आफ्नो स्थान बनाएर आफू अभिन्न भएको प्रमाण प्रस्तुत गर्ने गर्दछन् । चुप लागेर बस्न दिँदैनन् र पुस्तक प्रकाशनपछि हातैमा दिएर समीक्षा आउने विश्वासमा आफू चुपचाप बस्छन् । यसै मेसोमा आज कवि जीवन लामाको कविता कृति ‘चौसट्ठी वर्गमिटर’को पाठकीय प्रतिक्रिया लेख्न बसिएको छ ।
पहिलो कृतिका रचनाभन्दा धेरै खारिएर आएका छन् कवि लामाको ‘चौसट्ठी वर्गमिटर’भित्रका कविताहरू । शब्दचयनका दृष्टिले होस् वा आकार, प्रकार र विषयवस्तुका विविधता र सम्प्रेषणीयताका दृष्टिले पनि यिनी माझिएर र झाङ्गिएर सघन रूपमा प्रस्तुत भएका छन् । कविता कृतिका सबै रचनाको आद्योपान्त अध्ययन गर्दा समसमायिताभित्र मात्रै रुमलिएका छैनन् बरु सार्वजनिन बनेका सीमान्तकृत र लोपोन्मुख जाति तथा जनजाति समुदायका दबेका आवाजहरूमा शब्दका माध्यमले स्वर भरेका छन् । शब्दमा विचार घुलेका छन् मिस्रीमा पानी घुले झैँ । सदियौँदेखिका घाउरूपी पीडाका पाप्राहरू खातका खात शब्दमा जतनसाथ प्रस्तुत गरिएको छ । शासन सत्तामा बसेकाले सुन्लान् वा नसुन्लान् स्रष्टाले द्रष्टाका रूपमा अनुभूत गरेका छन् । व्यक्तिगत अनुभूतिलाई सार्वजनिक गरिरहँदा कवि विषयवस्तुमा समाहित भएर आफू गौण बनेर आवाजविहीनका आवाजलाई मौन रहन नदिई घनीभूत रूपमा पाठकका हृदयसम्म यात्रा गराउन सफल देखिन्छन् ।
मृत्यु सन्त्रास बोकेको कोरोनाले नेपालमा तेस्रो वार्षिक अवधिमा प्रवेश गरिरहँदा कवि लामाले यसलाई पनि केही टुक्राहरूमा यतैतिर भुल्न खोजेको प्रतीत हुन्छ । तथापि कविले कोरोना कहरका बिच यसै विषयलाई प्रस्तुत गर्ने रहर नबनाएर शासकीय सत्ताभन्दा पर बसेका राजनीतिक दुष्प्रभावको जालोमा फसेका ती तमाम सीमान्तकृत समुदायको स्वरलाई नै प्रमुख प्राथमिकता दिएका छन् । अझ सीमान्तकृतको स्वर पनि के भनौँ र परिचयको खोजी यस कृतिको मूल अभीष्ट भए जस्तो लाग्छ । त्यसमा पनि दोलखा जिल्लाको सुरीका बासिन्दा सुरेल जातिको विशेष चर्चामा कविता बढी केन्द्रित भएको देखिन्छ ।
नेपालको लोपोन्मुख जातिका रूपमा सूचीकृत छ । जम्माजम्मी २३० जना मात्र जनसङ्ख्या रहेको एक जाति हो सुरेल । ‘चौसट्ठी वर्गमिटर’मा अटाएको सुरेलका जातिगत अवस्था र सांस्कृतिक सन्दर्भलाई मार्मिक ढङ्गले कविले कवितामा समेटेका छन् । बासेबिरबल सुरेलको निधनपछि सुरेल भाषा र संस्कृति नै सङ्कटमा परेको अवस्थाप्रति कवि चिन्तित छन् । पेसा, व्यवसाय धरापमा परेकाले बर्सौैँदेखिका परम्परागत सिप हराउन थालेको घटनाप्रति गम्भीर भएका कवि आफ्नै पेसाको क्षेत्रलाई समेत कठोर व्यङ्ग्य गर्न भ्याएका छन् । कतिपय अवस्थामा खासगरी मेलापर्वमा परम्परागत पहिरनमा सजिएका राम्रीको अनुहारलाई कभर पेज बनाउने र सेल्फी लिनेको होडप्रति कविले यस सङ्ग्रहमा सङ्गृहीत केही कविताहरूमा विशेष कटाक्ष प्रस्तुत गरेका छन् ।
‘चौसट्ठी वर्गमिटर’ कवितासङ्ग्रहभित्रका जम्माजम्मी ३५ थान कविताले १ सय ८ पृष्ठ समेटेको छ । कवि लामाले श्रवण मुकारुङको भूमिकालाई समावेश गरेका छन् । स्थापित स्रष्टाको शुभेच्छा मात्रै छैन भूमिकामा बरु प्रस्तुत कृतिको आद्योपान्त एक्स रे गर्दै सङ्ग्रहभित्रका कविताले लोपोन्मुख जाति र अन्य सीमान्तकृत जातिको पहिचानको खोजीलाई कवि मुकारुङले खुलेर प्रशंसा गरेका छन् । उक्त भूमिकाले कविता र कविताभित्रका विषयवस्तुलाई मजाले अर्थ सम्प्रेषणमा सहयोग गरेको अनुभूत हुन्छ ।
प्रस्तुत सङ्ग्रहभित्रका सबैजसो कविता औसत राम्रै छन् । सङ्गृहीत कवितामध्येका केही हरफ यहाँ पाठकका लागि उद्धृत गर्नु सान्दर्भिक नै होला भन्ने आशयले यहाँ प्रस्तुत गरिएको छ ः
अभावैअभावमा बाँचे अधिकांश नेपालीको अवस्था चुनावमा कस्तो हुन्छ भन्ने कुरा ‘आश्वासन’मार्फत् बताउन खोजिएको छ :
पानीबिनाका धाराहरू
खेतीपातीबिनाका किसानहरू
मलबिनाका खेतीहरू
मुहानबिनाका सिँचाइहरू
कत्ति धेरै बाँड्दै हिँडेक तिनले
बाँड्दा बाँड्दै
मुखहरू थाक्नुपर्ने
हातहरू गल्नुपर्ने
… … । (पृ.५)
आमासँग सम्बन्धित तीनओटा कविताहरू राखिएका छन् जसमध्ये एउटा कवितामा कोरोना कहरमा सहर फर्कने रहर नभएको कुरा गर्दै आफ्ना आफन्तहरू बित्दै जाँदा केही निराशाका भावहरू पोखिएका छन् :
यो कोरोना कहर तिम्रै काखमा बिताउन चाहन्छु
सहरको अस्पतालभन्दा तिम्रै काख सुरक्षित छ
त्यसैले सहर फर्किन्न आमा । (पृ.९)
भौतिकताको प्रभावमा आध्यात्मिक अवस्थाको चित्रणलाई कवि ‘देवताको स्वरूप’ मा शब्दमा यसरी कोर्छन् :
… मान्छे देवता बन्न सक्दैन
देवताचाहिँ बनाइरहन्छ ।
देउता पुजिरहन्छ
देउता विश्वासभित्रको अर्को एउटा विश्वास हो
मान्छेका लागि । (पृ.१२)
बुद्धको जन्मभूमिमा यो देश र बुद्धको अवस्थाप्रति कवि ‘बुद्ध संस्मरण’मा कवि लेख्छन् :
देश आक्रान्त छ
अशान्ति फैलिँदो छ
हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला
धनी, गरिबको दुरी बढिरहेका बेला
तँछाड मछाडको होडबाजी चलेको यो समयमा
ओ बुद्ध
तिमी किन घरी यता
घरी उता फर्किरहन्छौ । (पृ.२२)
‘गुरु वर्णन’ शीर्षकको कवितामा अहम्को खेती गर्नेलाई व्यङ्ग्य कस्छन् । गुरु को हो र कसलाई असली गुरु मान्ने भन्नेमा कवि प्रकृतिका पूजारी झैँ प्रस्तुत हुन्छन् र पञ्चतत्त्वको संस्मण गर्दैै भन्छन् :
लाग्छ यो उमेरमा
आगो गुरु हो, पानी गुरु हो
हावा गुरु हो, प्रकाश गुरु हो । (पृ.३३)
आफूले पनि आमा गुमाएकाले हुनसक्छ सायद यस पङ्तिकारलाई ‘सम्झनामा आमा’ र ‘तस्वीरमा आमा’ दुइटा कविता अति हृदयसंवेद्य लागेका हुन् । यी दुवै कवितामा आमाको महिमा गाइएको छ र आमाको अभावमा आफ्नो भाव हराएको यथार्थलाई प्रस्तुत गरिएको छ । आमाका तमाम ती कार्यहरू जो सन्तानप्रति ओइरिएका थिए तिनैलाई सम्झेर र कल्पेर कवि निष्ष्र्कमा भन्छन् :
आज तिम्रो अभावमा
तिम्रो महत्त्व बुझिरहेछु ।
तिमी आमामात्रै होइनौ
संसार हौ संसार । (पृ.४७)
धेरैपछि म होसमा छु
घरको सिङ्गै भित्ताहरूमा
आमाको तस्वीर छ । (पृ.८७)
चेतनाले भाषामा भेद र विभेदको ज्ञान दिन्छ र हरेक क्रियाप्रतिक्रियामा आलोचनात्मक हुन उत्प्रेरित गरिरहेको हुन्छ । यो जाति, जनजाति र आदिवासी अनि सीमान्तीयहरूको सन्दर्भमा कस्तो हुन्छ ? भन्ने प्रश्नको उत्तर खोज्न उद्यत हुन्छ ‘रङ विभेद’ र ‘आदिवासीका पक्षमा’ शीर्षकका कविताहरूमा :
आखिर
फूल फूल नै हो
कालो फुले नि सेता फुले नि ।
आखिर
रङ रङ नै हो
मात्र दृष्टिकोण फरक हो मान्छेको । (पृ.९४)
अनि,
तिम्रा आँखाहरू खुल्ने छन्
मनहरू फुल्ने छन्
तिम्रै हातले लेख्ने छन्
तिमी आदिवासी नै हौ
हामी आदिवासी नै हौँ । (पृ.९७)
यी र यस्तै प्रशस्त हरफहरू कवितामा उनिएका छन् मालामा फूल उनिए जसरी । समग्रमा कवि मौन छन् तर उनका शब्दहरू बोलेका छन् । शब्दहरू मौन पानामा छरिएका छन् तर गौरीशङ्कर गाउँदेखि लिएर सिङ्गो दोलखा र देश अनि विदेशका नेपालीहरूको पीडा बोल्ने चाहना प्रस्तुत छ । पीडामा मल्हमको खोजी छ । कविका कवितामा दुर्गम गाउँ बोलेका छन् अनि ती दुर्गमका गरिबी, पीडा र अभावका सानाठुला पहाडहरूले श्रमिक र श्रमजीवीको पसिना मसीका रूपमा पोखिएका छन् । गुनासा मात्रै होइन, समाधानका अधिकतम् प्रयत्नहरू प्रस्तुत गरिएका छन् । साथसाथै सरकारी तथ्याङ्कले दिएको ५९ जनजातिमध्येको लोपोन्मुख सुरेल जातिको पहिचानको सङ्कट र संरक्षणको खोजी गरेको छ । समाजको तथ्य बोलेको छ र मिथ्यालाई व्यङ्ग्य गर्दै सुधारको चाहना प्रकट भएको छ ।
‘चौसट्ठी वर्गमिटर’ शीर्षकको २० औँ क्रमको कविताले के कुराको बोध गराउँछ पाठकले धेरै दिमाग खेलाउनै पर्दैन केबल एक पठनको खाँचो छ । सम्प्रेष्य भाव र सरल प्रस्तुतिले कवितासङ्ग्रह पठनीय बनेको छ । युवा वयका कवि लामाले आफ्ना आगामी कृति अझै फराकिलो आयाम लिएर परिष्कृत भावका साथ नेपाली साहित्यलाई टेवा दिने कार्यमा लाग्नेमा विश्वस्त हुनसक्ने प्रशस्त सम्भावना देखाएका छन् । याम्बुरी बुक प्वाइन्टबाट बजारमा आएको यो कृतिको काव्यगत तथा व्यावसायिक सफलताको हार्दिक शुभकामना कविलाई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।