
लोकसंस्कृतिमा नृत्य-गीतको भूमिका असीम हुन्छ । नृत्य र गीतबिनाको संस्कृति अधुरै रहने छ । सुमधुर गीतले एकार्काको हृदयमा प्रेम, भातृत्व, सद्भावनाको बीज अङ्कुरित गर्न सक्षम हुनुको साथै अर्कातिर नृत्यले शरीरलाई सुगठित, सुन्दर र सबल बनाउँदछ। शरीर र मन दुवैलाई सक्रिय तुल्याउने यी लोकगीतहरूले समय-परिवेश वा परिस्थिति अनुसार एक सुन्दर इतिहास तथा परम्परालाई डोर्याएको देखिन्छ । गोर्खे लोकगीतहरूमा पनि घाँस-दाउरा काटदा, गाई-भैँसी, भेडा-बाख्रा चराउँदा, धान रोप्दा, पानी पँधेरी, नदी-खोलाबाट पानी ल्याउँदा गरिएको कार्यहरूको उल्लेख पाइन्छ। स्वत:स्फूर्त मनका चिन्ता-भावनाहरू परम्परा अनुसार कृषक, गोठाले, दाउरे, ढाक्रे, भरिया, बटुवाका मुखबाट लटपटिँदै आएका लोकगीत आकारमा आज पनि मधुर कर्णप्रिय भइ रहेका छन्। ठिक त्यसै गरी असमीया लोकगीतहरूमा पनि सामाजिक परिमञ्डलका कुरा, जीवन र भोगाइका कुरा, नदी-खोला, भीर-पहरा, खेती-पाती, जीवनमा भोग गरेका व्यक्तिगत तथा सामाजिक दु:ख-सुख, हाँसो-रोदन, हर्ष-विषाद, पीर-मर्का र भिन्न प्रकारका आवेग-अनुभूतिहरू लोकगीत-नृत्यका माध्यमद्वारा प्रकट भई देखा पर्दछन् ।
लोकगीतबारे विभिन्न विद्वानहरूले आफ्नो आफ्नो मतामत पनि जाहेर गरेका छन् । सुप्रसिद्ध भाषाशास्त्री ग्रीम लेख्दछन्–” लोकगीतहरू स्वत:सृजन हुन र आदिम मानवको स्वत:स्फूर्त सङ्गीत नै लोकगीत हो ।” भारतीय लोकसाहित्यका चिन्तनविद देवेन्द्र सत्यार्थीको अनुसार लोकगीत कुनै एक संस्कृतिको वार्ता वाहक हो । लोकगीतहरू लोक निर्मित भए तापनि यी कुनै पनि व्यक्ति विशेषका हुन सक्दैनन् । लोकगीतहरूलाई सामूहिक अर्थात् सम्पूर्ण जातिको रचना भनिन्छ । त्यसैले लोकगीत-लोकनृत्यहरूलाई जातीय प्रेम र समन्वय गर्ने एउटा वृहत कला भनेर मानिन्छ । वर्तमान लोकगीत-नृत्यको प्रचार अनि प्रासङ्गिकता विस्तृत रूपमा भएको देखिन्छ ।
असमीया संस्कृति एउटा बहुरङ्गी संस्कृति हो, एउटा फूलैफूलको बुट्टा भरिएको फुलामे गामछा जस्तै । भिन्न जाति-धर्म-सम्प्रदायको मिलन भूमिभन्दा पनि अत्युक्ति नहोला । नयाँ नयाँ भाषा-कलाकृति र संस्कृतिको आदान-प्रदान, प्रेम समादर, भातृत्ववोध अनि समन्वय-सम्प्रीतिको डोरीले बाँधिएर वृहत्तर असमीया जाति गठन भएको हो । त्यही भित्रको एउटा दरिलो जाति हो गोर्खा जाति। अति परोपकारी, विश्वासी, सहज-सरल र वीर-स्वाभीमानी जाति ।

रिजु देवी
(असम)
असमको पवित्र भूमिमा बसोबास गरी असमी आमालाई नै आफ्नी आमाको रूपमा लिएर, आफूलाई यहाँको भूमिपुत्र हो भनेर परिचय दिन सक्षम भएका गोर्खाहरूको पनि आफ्नै असमीया संस्कृतिको बिहुजस्तै विशेष जातीय लोक परम्परा, उत्सव -अनुष्ठानहरू छन् । जसले गोर्खाहरूको सांस्कृतिक धरोहरलाई युग युगदेखि विशेष महानता एवं प्राथमिकता प्रदान गरी आएको छ। असमको जातीय उत्सव बिहुकै अन्य एक जनप्रिय अनुष्ठान हो हुसरी । तर बिहुको जस्तो यहाँ कुनै उन्मादना,चञ्चलता अथवा प्रेम-प्रणयका आवेगहरू समाधृत हुँदैनन् । देउसीकै जस्तो यहाँ भावको गहिराइ भएकाले गर्दा जातीय जीवनको ऐतिहासिक तथा आध्यात्मिक सत्यतालाई शालीनताको साथ पेश गरिन्छ। देउसी र हुसरी दुइटै लोक उत्सव हुन् । मूल आलोच्य विषयवस्तु देउसी र हुसरीको तुलनात्मक अध्ययन भए तापनि उक्त विषयतर्फ लम्किने अघि देउसी र हुसरीको बारेमा केही कुरा जान्न अत्यन्त आवश्यक छ।
देउसी– दशैँपछि नै आइ लाग्ने गोर्खाहरूको अर्को एउटा अति प्रिय र महान चाड हो, तिहार उत्सव । यही तिहार पर्वमा काग, कुकुर, गाई, गोबर्धन र भाइको पूजा गर्दा यसलाई यम पञ्चक पनि भनिन्छ । कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिनदेखि सुभारम्भ गरेर कार्तिक शुक्लपक्षको द्वितीय तिथिसम्म अर्थात् भातृ द्वितीयासम्म चल्ने गर्छ तिहार उत्सव । भाइ अथवा भातृ द्वितीयाको ठिक अघिल्लो दिनै खेलिन्छ देउसी । बिहानै गोरु र गोबर्धनलाई पूजा गरेर बेलुकी दाजु-भाइहरू मिलेर रातिसम्म देउसी गाउँदछन् । वैदिक तथ्यानुसार देउसी संस्कृत ‘देहिक्षिय’ शब्दको परिमार्जित रूप हो । ‘देही’बाट देउ, ‘क्षिय’बाट सीरे भएर ‘देउसीरे’ भएको हो । तर अन्य एक पक्षको युक्ति अनुसार देउसी शब्द संस्कृतको परिमार्जित रूप हुनै सक्दैन । कारण त्यो समयमा संस्कृत भाषा सीमित संख्यक आर्यहरूको मात्र भाषा थियो र गोर्खा समुदाय अथवा खस मङ्गोल किराँत जनगोष्ठीका पञ्चानब्बै शतांश जनगणको संस्कृत भाषासँग कुनै सम्पर्क थिएन । उनीहरूका आफ्नै भगवान् रहनुको साथै आफ्नै मौलिक रीति-परम्परा अनुरूप तिहार उत्सव पालन गर्थे । त्यसले गर्दा ‘देउसी’ शब्द संस्कृतको विकसित रूप भन्ने कुरामा कुनै युक्ति रहेको देखा पर्दैन । यसलाई संस्कृत पण्डितहरूको एकपक्षीय दावी हो भन्न सकिन्छ। नत्र अन्य राज्यका अन्य भाषा-समुदायका मानिसहरूले पनि देउसी पर्व पालन गर्ने थिए ।
यद्यपि दुइटै युक्तिमाथि गहिरो विचार-विश्लेषणको आवश्यकता छ । यो उत्सव आफ्नो जातीय परम्परालाई जीवित राख्न र गृहलक्ष्मी अथवा घरका बाबै-आमैको हातबाट दान-दक्षिणा पाउने उद्देश्यले नै युवकहरू देउसी खेल्दै आउँछन् । देउसी पर्वलाई लिएर शास्त्रमा एउटा सुन्दर कथाको वर्णन छ। एक समयमा बलि नाम गरेका एकजना दैत्य राजा थिए । उनी विरोचनका पुत्र थिए । यी विरोचन फेरि हिरण्यकश्यपका विष्णुभक्त पुत्र प्रह्लादका निज पुत्र थिए । वंशगत रूपले दैत्य कुलमा जन्मिए तापनि बलिको कर्ममा प्रह्लादकै गुण झल्किएको देखिन्थ्यो। उनी धेरै दानी र परोपकारी थिए । उनले गरेको दान-पुण्यको बलले गर्दा स्वर्ग पनि हल्लिन थालेको थियो। यस्तो देखेर सबै देवताहरू सशंकित हुन्छन् । बलिका सहचर, सैन्य-मन्त्रीगणहरू देत्य भएकाले गर्दा र सबैले उरालेको भरमा बलि स्वर्ग दखल गर्न सक्षम हुन्छन् । त्यो देखेर इन्द्र प्रमुख्य सबै देवताहरू भयत्रस्त भई विष्णुका चरणमा सहायता माग्न पुग्छन् । विष्णुले तब धेरै विचार गरेर बलिलाई दमन गर्नको उद्देश्यले वामन अवतार धारण गरी तीन पाउ भूमि बलिसँग माग्दछन् । बलि महादानी भएकोले गर्दा उनले कुनै कुरा चिन्ता नगरी विष्णुलाई तीन पाउ भूमि दिन सहमत हुन्छन् । वामनले तब विशाल रूप धारण गरेर एउटा पाउ पृथ्वीमा र अर्को पाउ स्वर्गमा राख्दछन् । अब तेस्रो पाउ कहाँ राख्ने ? तब वामनले अब “देउ शिर” भनेर बलिको शिरमा पाउ राखेर सिधै बलिलाई पाताल पुर्याइदिन्छन् । तब विष्णुले बलिलाई तिम्रो केही इच्छा छ कि भनेर सोध्दा बलिले भगवान् विष्णुसँग ‘वर्षमा एकपटक तिहारको समयमा पृथ्वी भ्रमण गर्न पाऊँ’ भनी आशीर्वाद माग्नको साथै यो पनि इच्छा व्यक्त गर्दछन् कि कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन बलिको नाम गरेर जसले दान गर्दछ, उसले भगवान्को प्रेम र सानिध्य प्राप्त गर्दछ । आफ्नो ठाउँ, देश छोडेर अन्य देशतर्फ जान पर्ने छैन । स्व- सम्मानका साथ आफ्नो जीवन व्यतीत गर्न सक्छन् । जुनसुकै परिस्थितिमा पनि मानव जातिले दान-धर्म गर्न सफल होस् र यही नै मानव जीवनको प्रकृत शिक्षा बनिरहोस् । यही कामना गरेका थिए बलिले । ‘तथास्तु’ भनी विष्णुले हरवर्ष बलि आउने समयमा सारा संसारले दीपक जलाई उज्यालो पारेर बलिलाई हृदयले स्मरण गर्ने आशीर्वाद दिन्छन् ।
त्यसैबेलादेखि पृथ्वी वासीहरूले बलि आउने अपेक्षामा हरवर्ष घर-आँगनको वरिपरि घिउ, तेल आदिको दीपक जलाएर आनन्द मनाउँछन्। घिउ, तोरी अथवा तिलको तेलको दीपक जलाउँदा सबै प्रतिकूल वातावरण नष्ट भएर सुन्दर-स्वस्थ्य परिवेशको माहोल तयार हुन्छ भन्ने मान्यता परापूर्वकालदेखि चली आएको छ। यही शुभ समयमा सबैले हर्ष-आनन्दका साथ देउसी-भैली गाउँदछन् । जनमानसमा यही ‘देउ शिर’बाट कालक्रममा अपभ्रंश भएर ‘देउसीरे’ भएको हो भन्ने जानिन्छ । त्यसैले देउसेहरूले देउसी गाउँदा ‘हामी त्यसै आएका हैनौँ, बलि राजाले पठाएको’ भनी बलिको गुण गाउँछन्। देउसी गीतद्वारा जन समाजमा प्रेम, दया, परोपकार, ऐश्वर्य दान आदिको सुन्दर सन्देश फैलाउने गरेको देखिन्छ। सही अर्थमा भन्नु हो भने यही नै बलिको आदेश, इच्छा एवं हुकुम थियो। बलि राक्षस वंशका भए पनि उनको मानवीय गुण-गरिमाले गर्दा उनलाई चिरस्मरणीय गरिराख्ने छ। तर कुनै कुनै विद्वानहरूले युक्ति दर्शाउँदै यो पनि भन्न खोज्दछन् कि बलि एकजना किराँत वंशीय राजा थिए। त्यसैले बलि विषयक परिघटनाहरू सम्पूर्ण रूपले प्रागवैदिक परिघटना हो।
नृत्य-गीतको अन्तमा देउसेहरूले दातालाई यसप्रकार आशीर्वाद दिन्छन्–
“ए यसै घरका देउसीरे
ए आमै-बाबै देउसीरे
ए सय वर्ष बाँचून देउसीरे
ए ढुङ्गो छुँदा देउसीरे
ए सुनै हवस देउसीरे…….।”
गृहस्थहरूले पनि आफ्नो सामर्थ्य अनुसार पा-पइसा, रूपियाँ, धान-चामल, रोटी आदि दिएर आदरका साथ बिदा गर्दछन् ।
देउसीको जस्तै हुसरीको पनि एउटा अलगै इतिहास छ। तेरौँ शताब्दीबाट(शतिका) आहोम स्वर्गदेउहरूले असमको शासनभारको दायित्व आफ्नो काँधमा लिएपछि असमको भाषा-संस्कृतिप्रति आकृष्ट हुँदै असमको बिहुलाई छुट्टै मर्यादा प्रदान गर्ने उद्देश्यले रङपुरमा बहाग बिहु अर्थात् सात बिहु पालन गरेका थिए । यी सात बिहु यस प्रकार छन-१. गरु बिहु २.मानुह बिहु ३.गोसाँई बिहु ४.ताँतर बिहु ५.नाङलर बिहु ६.जीयरी एवं सेनेही बिहु ७.सेरा बिहु। यी सबै बिहुमा जीव कुल, मान्छे, आफ्ना गुरु-गोसाँई, अतिथि, चेली-बेटी, शिल्प आदिको आदर सत्कार गरेको देखिन्छ । सबैतिरबाट उत्कृष्ट देखेर त्यसै बेलादेखि बिहु असमको जातीय उत्सवको रूपमा प्रचलित हुँदै आएको हो । राजकीय पृष्ठपोषकताको मोहर लागेर बिहुले असमको जातीय उत्सवको मान पाउनुको साथै सबै सर्वसाधारण जनगनको हृदय जित्न सक्षम हुन पुग्छ । बिहु मुख्यतः तीन प्रकारका हुन्छन् । बहाग बिहु (बैसाख बिहु),काति बिहु र माघ बिहु। यसमध्ये बहाग बिहुलाई अति आनन्दपूर्ण, मनोरञ्जनात्मक र श्रेष्ठ मानिन्छ। ‘बिहु’ शब्द कहाँबाट, कसरी आयो यस प्रश्नको जवाफमा धेरै पण्डितहरूले ‘बिषु’ अथवा ‘बिषुवन’ संस्कृत शब्दबाट बिहु शब्दको उत्पत्ति भएको हो भन्न खोज्दछन् । तर राम्रो गरी अनुसन्धान गर्ने हो थाहा लाग्दछ कि बिहु मूलतः मंगोलहरूको उत्सव हो । तीब्बतवर्मी बोडो, मिसिङ, सुतीया, मराण, मटक, कछारी, डिमासा, तिवा, राभा, टाई आदि जनगोष्ठीहरूले बिहुलाई बैसागु, आलि आई लृगाङ, बिसु, बुसु, बिसुवा, दोमाही, पयहु, पिहु आदि नामले पालन गरी आएका छन् ।
अब मुख्य विषय तर्फ अघि बढौँ । देउसी र हुसरीको कहाँ कहाँ मेल छ त्यसैलाई हामी प्रकाशमा ल्याउने प्रयास गर्ने छौँ।
१. देउसी र हुसरी दुइटै मिलन-सम्प्रीतिको उत्सव हुनुको साथ साथै कृषिसँग जोडिएका उत्सव हुन् ।
२. देउसीको जस्तै हुसरी घरेलु र मार्जित जातीय साज-पोसाक पहिरिएर ढोल,ताल, मृदङ्ग आदि वाद्ययन्त्र सहित पुरूष-महिला दलवद्ध भएर मिलेर गाउँदछन् । यो विशेषतः प्राप्त वयस्कको अनुष्ठान हो, तर हिजोआज स-साना केटा-केटी, तरुण-तरुणीहरूले पनि देउसी र हुसरी गाउँदछन् ।
३. देउसीमा ‘झिलिमिली झिलिमिली देउसीरे राम’ मादल, ताल, मञ्जिराका साथ सुभारम्भ गरेजस्तै हुसरीमा पनि ‘हुसरी ए हाऊ’ भन्दै आरम्भ गरेर ‘देउतार पदुलित गोन्धाइसे मालती’ भनी सुरु गरेको हुसरी गीतमा ‘देउता’ शब्दले आफ्ना पूर्व पुरुषलाई नै संकेत गरेको बुझिन्छ जसरी देउसीमा ‘बलि राजा’को कुरा उल्लेख छ।
“ए हामी त्यसै देउसीरे राम
ए आएका हैनौँ देउसीरे राम
ए बलि महाराजले देउसीरे राम
ए पठाएका देउसीरे राम….।” (देउसी)
“स्वर्गदेउ (राजा-महाराजा) उलाले बरस’रार मुखलै
दुलियाई पातिले दोला,
कानत जिलिकिले मकर कुण्डले
गात गोमसेङर सोला। ” (हुसरी)
यहाँबाट देउसी र हुसरीमा आध्यात्मिक भवना र राजा-महाराजाको गुण-कीर्तन स्पस्ट झल्किएको देखिन्छ ।
४. देउसी र हुसरी दुई उत्सवमै अतिथि सत्कार, सद्भावना, भातृत्ववोध, आध्यात्मिकताको प्रभाव, पितृ-परमेश्वरको स्मरण र सम्प्रीतिको सुगन्ध पाइन्छ ।
५. देउसी र हुसरीमा सामाजिक चित्र प्रतिफलित हुनुका साथै परिवार, समाज तथा देशको मङ्गल कामना मार्फत विश्व शान्तिको वार्ता पाइन्छ । मान्छेका घर घरमा गएर हाँसो-आनन्दका साथ नाच-गान गरेर रमाइलो गर्दछन्।
६. तिहारमा यम पञ्चक पालन गरे जसरी नै बिहुमा सात बिहु पालन गर्ने चलन छ । यी सात बिहु मध्येको गरु बिहु र गोर्खाहरूको हलि (गोरु) तिहारको धेरै सम्पर्क रहेको देखिन्छ । गरु बिहुमा गरुलाई नुहाई-धुवाई गराएर तेल,नयाँ पघा घाँटीमा लगाइ दिएर पिठा आदि खान दिन्छन्। मच्छड, किरा, डाँह(विसाक्त किरो) आदिले नटोकोस भनेर धुनी लगाइ दिने गर्दछन् हली तिहारको जस्तै । ‘लाउ खा बेगेना खा, बसर बसर बाढी जा’ भन्दै गाई-गोरुको श्री बृद्धि हुने कामना गर्दछन् जसरी नेपाली-गोर्खा समाजमा गाई-गोरूको आदर-सत्कार र समृद्धता देखिन्छ। यस धारणाबाट दुवै जातिको प्राणीप्रति भएको दया, चाहना र मानवीयता प्रखर रूपमा देखिन्छ । यस उपरान्त पनि गोर्खाहरूको खेती-पातिमा भएको गहिरो आस्था र श्रमको झलकजस्तै उनीहरूको कर्ममा पनि देखिन्छ।
७. हुसरी र देउसी गाएको अन्तमा गृहस्थलाई आशीर्वाद दिने गर्दछन् । “गृहस्थर कुशलर अर्थे–
जय हरि बोला
जय राम बोला। “
दान-दक्षिणा थोरै भएमा आपत्ति गर्न पछि हट्दैनन् ।
“गेला कोमोरार पानी
सारिअना पइसा कलेई लागिसे
शियाले लै जक टानि। ” (खिसा गीत)।
“धनर टोपोला डाङरे देखिला
राइजक देखिला खरू।”
(अर्थ-समाजका अघि रूपियाँ-पैसा नै ठुलो देखेर, हामीलाई भने नगन्य ठान्यौ । माथिको पङ्क्तिमा पनि कम पैसा दिएकोले गर्दा गृहस्थलाई सियालले तानेर लैजाओस भनेर खिसा गरिएको छ।)
त्यसरी नै देउसीमा पनि गृहलक्ष्मीलाई धेरै दान गर्नका लागि प्रोत्साहित गरेको देखिन्छ।
“भित्र आमै बोल्दैछिन, बाघमुखे थैली खोल्दैछिन् ।”
८.हिजोआज देउसी र हुसरी आँगनमा अनुष्ठित हुनुका साथै खुला मञ्च, मैदान आदिमा पनि अनुष्ठित भएको देखिन्छ । देउसी-भैली, सँगिनी र अन्यान्य लोकगीतहरूको संरक्षण-संवर्धनको निम्ति ठाउँ ठाउँमा कलाश्री विनोद खनाल, भुवन मैनाली, शान्ता सिर्पाली आदिले अखडा-कर्मशाला चलाएजस्तै बिहु, हुसरी आदिको पनि फागुन-चैत महिनामा अभिज्ञ कलाकार द्वारा अखडा-कर्मशाला आदि सम्पन्न गरेको देखिन्छ। दुवै प्रकारका लोक अनुष्ठानको प्रतियोगिता राखेर यसलाई औधी जनप्रिय र जीवित राख्ने प्रयास गरेको देखिन्छ।
९. देउसी र हुसरी दुवै अनुष्ठानकै मूल उद्देश्य र लक्ष्य हो समन्वय, प्रेम, दया, परोपकार, समर्पण, त्याग, शिष्टाचार, सम्प्रीति र अन्नरत्न दान द्वारा मानवताको गम्बुज तयार गर्नु हो ।
१०. देउसी र हुसरी गाएर प्राप्त धनले सबैले मिलेर प्रीति भोज खाने हो या त कुनै सामाजिक कार्य जस्तै कुनै विद्यालय, पोखरी अथवा कुनै शुभकार्य आदिमा लगाउने हो ।
११. तिहारमा पकाएको सेल रोटी र तिलको अचार असमीयाहरूको साह्रै प्रिय खाद्य हो । त्यसैले यहाँ तिहार अथवा अन्य चाडबाडमा आफ्नो घरमा पकाएको मीठो मीठो व्यञ्जनहरू खान असमीया भाइ-बन्धुहरूलाई बोलाएकै हुन्छ। भाइ टिकामा पनि गोर्खे चेलीको हातको टिको धेरै असमीया भाइहरू लगाउन इच्छुक भई रहेका हुन्छन् । त्यसैगरी बिहुको बेलामा पनि असमीया जाति-भाइहरूले गोर्खेहरूलाई आफ्नो घरमा बोलाएर नाना थरिका पिठा, लड्डु, जलपान आदिले अप्यायन गराउँछन र मान्यजनलाई ‘बिहुवान'(असमको जातीय चिन्हारी गामोछा) उपहार दिन्छन् ।
उपसंहारमा यही भन्न सकिन्छ कि युग युगदेखि गोर्खा- असमीया समाजमा चलेर आएको देउसी र हुसरी भातृत्वको एउटा चोखो बन्धन हो। संस्कृतिको डोरीले एकार्कामा बाँधिँदै आत्मीयताको मिनार सजाउन सफल देउसी-हुसरीले दुवै जातिको मान-गरिमालाई धेरै टेवा पुर्याएको छ । एउटा जातिले अर्को जातिको सांस्कृतिक इतिहासलाई सम्मान गर्ने यहाँको परम्परा र लोकाचार बनिसकेको छ। हुसरी अथवा बिहु गाउन जान्ने असमीयाहरू गोर्खाको जस्तै देउसी पनि गाउन सक्छन् यहाँका । यसैलाई भन्छन् समन्वय र सम्प्रीति, जुन परापूर्वकालदेखि चली आएको छ र चली नै रहने छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

