नेपाली साहित्यका बहुमुखी प्रतिभाशाली व्यक्ति विश्वराज अधिकारी (२०१५) सर्लाही जिल्लामा जन्मेर उच्च शिक्षा अमेरिकाबाट प्राप्त गरेका स्रष्टा हुन् । अमेरिकाबाट एमबीए गरेका अधिकारी उहीँ प्राध्यापकीय जीवन व्यतीत गरिरहेका छन् । विशेष गरी नेपाली साहित्यमा आख्यान विधा रोजेका अधिकारीले दुई दर्जनको सङ्ख्यामा कृतिहरू प्रकाशित गरिसकेका छन् । पाठ्यपुस्तक लेखनका साथै सिर्जनात्मक रचनाबाट आफूलाई शक्तिशाली स्रष्टाका रूपमा चिनाउन सफल उनले ‘अधुरो प्रेम’ नामक गीतसङ्ग्रह लिएर पाठकसामु गीतकारका रूपमा उदाएका छन् । यस सङ्ग्रहमा उनका उनासी ओटा गीतहरू सङ्कलित छन् ।

गीतमा माया प्रेमका साथै रागात्मक अनुभूतिको रोचक र घोचक प्रक्षेपण गरिएको हुन्छ । जीवनका आरोहावरोहलाई गीतात्मक बान्कीका आधारमा पोखिन सक्नु स्रष्टाको क्षमता नै हो । रसात्मक जीवन जिउन चाहनेका लागि त गीतले प्राण र त्राण नै भरिदिन्छ । आधुनिक गीत लोक गीतका तुलनामा भावनाको पोको बिसाउन कठिन भए तापनि साङ्केतिक रूपमा भित्रैदेखिको तापलाई रागका माध्यमबाट निस्पृहतालाई व्यक्त गरेको हुन्छ । गीतकार अधिकारी पनि देशको माटोमा पसिना पोख्न चाहन्थे तर बाध्यता या परिस्थितिले निम्त्याएका कारण पातालमा भासिन पुगेको देखिन्छ । जन्मभूमिको ऋण तिर्न र मायाको पोको जम्मा गर्न नसकेको अधुरो प्रेमले अधिकारीलाई बारम्बार ऐँठन गरेको प्रतीत हुन्छ । सपनाको संसारमा आफूलाई हराउन चाहने मानव जाति भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको पत्तै पाउँदैन । यो स्वर्गीय भूमिमा अवसरको खोजी नगरी मृगतृष्णाले कुतकुत्याएर हिँड्नु पर्दाको कारुण्य भाव गीत भएर पोखिएका छन् । तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू त्यसैका मोहमा परेर यो मातृभूमिलाई चटक्कै छाडी दोस्रो नागरिकको जीवन भोग्दा, पाएका पीडाका अनुभूति सिर्जना भएर खनिएका छन् । गीतकारलाई पनि लाग्दो हो, विश्वमान चित्रका आधारमा ०.००३ माटोमा तमाम नागरिक अटाएको ठाउँमा म किन नअटाएको, सायद त्यही द्रव्यमोहका कारणले पो हो कि अनि उच्च मनोकाङ्क्षा उत्पन्न भएका कारणले पनि पाताल प्रवेश गर्न बाध्य हुनु परेको छ । सम्पूर्णता भनेको विलासीय जीवन मात्रै होइन । जति टाढा भयो माया त्यति गाढा हुँदो रहेछ अनि माटाको सुवास निदरी भएर मगमगाउँदो रहेछ भन्ने मनोवृत्ति गीतका हरफहरूमा अन्तर्घुलित भएर आएका छन् । चाँडै फर्कने भनी हातमा एक मुठी माटो  लिई गरेको प्रण ओइलिएको सागजस्तै बनेको छ । जीवनको सम्पूर्णता भनेको जन्मभूमिको माटोमा जीवनको अस्तित्व खोज्नुपर्ने तर स्वार्थमा लुटपुटिएको माटोमा आफूलाई हराउनु पर्दाको अन्तरबेथा गीत बनेर हरफहरूमा ओकेलिएको छ । शिक्षा र रोजगारीको खोजीमा निस्केका तमाम युवायुवती आर्थिक मोहका कारण जन्मभूमि फर्कन नसकेको दुखेसो गीत भएर पोखिएको छ ।

रहरको सहरमा हराएको छु

आफूले आफैँलाई झुक्याएको छु ।

(रहरको सहरमा, पृः ६०)

बाबुराम लम्साल

सम्पन्नशाली राष्ट्रले विपन्न मुलुकका नागरिकहरूलाई सस्तो ज्याला र बढी श्रम लिने काममा खटाउने गर्दछन् । यसैले पनि होला अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देश जानका लागि मानिसहरू लालायित हुन्छन् । यसलाई सम्पन्नता अनि प्रतिष्ठाको सूचक मानिन्छ । बढी अर्थोपार्जन गर्न उद्यम गर, कमाऊ र जीवन चलाऊ । मनले खोजेको मोहकता यही सुन्दरता । यसैले तानेपछि सारा तत्त्व बिर्सेर भमरो फूलमा भुलेझैँ द्रव्य रागमा लुटपुटिँदा जीवनको अस्तित्व बोध प्रायः पराधीनतामा हराइसकेको प्रतीत हुन्छ । मानिस चाहेर पनि महको रसबाट टाढा रहन सक्दैन । उच्च शिक्षा प्राप्त गरिसकेपछि थोरै समयमा धेरै आर्थिक लाभ उठाउने लालसा र सुखी जीवन जिउने उत्कट चाहनाले मुग्लानिएका युवायुवतीहरू फूलमा मौरी झुम्मिएसरि ठुला सहरमा रगमगाई रहेका छन् । पीडा पिई पैसामा खुसी खोजिरहेका तमाम पलायनवादी ठुला सहरमा रहर पूरा गर्न खोजिरहेका छन् ।

हरपल रसको खोजमा उडिरह्यो कताकता सधैँभरि

मौरीझैँ केवल सञ्चयका जीवन बित्यो घारको वरिपरि ।

(रसको खोजीमा, पृः १०९)

आमाको काख लाख छाडी भौँतारिएर हिँड्नुपर्दा जो कोहीलाई आफन्तको सम्झनाले पटकपटक घच्घच्याइ रहन्छ । प्राकृतिक मनोरम छटाले भरिएको जन्मभूमिभन्दा टाढा रहेर दोस्रो नागरिक भई जीवन जिउनु पर्दा मन भक्कानिएर आउँछ । ती कलकल बग्ने खोलानालाको पानी, ती झरना अनि ती हिमालको सुन्दरता र सरसताको खानीलाई छाडेर मानवै मानव भएको ठाउँमा निर्जनताको आभाष भइरहेछ । नोस्टाल्जिया भएको छ । दिनरात नभनी बालुवा पेलेर तेल निकाल्ने दुष्प्रयासमा लागेको मानिस तन्द्राउँदा, आफ्नै भूमिको छाती चिरेर बगेका छहरे पानी अञ्जुलीभरि राखेर पिएको सपना विपनामा विलीन हुँदा, भावनाले भक्कानिन्छ । कठै मेरो दीनता, खुसी हुन पनि निद्राको सहारा खोज्नुपर्ने, जिउन पनि सपनालाई साथ लिनु पर्ने । विपनामा भव्यसहरमा हराए पनि सपनामा आफ्नै जन्मभूमिको तापले सेकिनु पर्ने । गीतमा यी र यस्तै पीडा मिश्रित मायाभाव पोखिएको प्रतीत हुन्छ । अन्तः यसमा लक्ष्यार्थमा जन्मभूमिको माया मनभरि सङ्गालेर दिनहरू बिताएको साङ्केतिक राग गीतमा छिपेको देखिन्छ ।

यो पल त्यो पल पलपल हर पल

सम्झना कसैको आँखाभरि झलमल

रूप रङ्ग बनेर झर्ना हृदयभरि

बगेको अविरल छलछल कलकल ।

(पलपल हरपल, पृः १११)

स्वतन्त्रता, स्वाधीनता र पूर्णाधिकार प्राप्त मुलुकलाई छाडेर परार्इको रङ्गीन दुनियाँमा गए पनि सुखशान्ति मनमा आएको देखिँदैन । खुला आकाशमा उडेको विहग जसरि जिएको जीवन अर्काको नियम, संस्कृतिलाई आफ्नो सरह ठानी आज्ञाकारी अनुचरले जसरि मान्नु पर्ने बाध्यताले, सुखको आभास हुन सकेको छैन । सुख धन दौलतमा पाइँदैन, त्यो मनको गहिराइमा बसेका सन्तोषमा मात्रै पाउन सकिन्छ । विलासी जीवन बाँच्ने अभिलासाले भौँतारिएका मानव कस्तूरीले आफ्नो सुगन्ध थाहा नपाएर रनवन डुलेसरि लखर्किएका छन् । सुख भौतिक वस्तुमा मात्रै प्राप्त हुन सक्दैन, त्यो स्वान्त सुखाय मनमा मात्रै पाउन सकिन्छ । द्रव्य लोलुपताले जीवनलाई शान्तमय वातावरणमा बाँच्न सिकाउँदैन ।

कमाउँला फुलाउँला जीवन भन्दै दूर सुदूर गयौँ

भेटिएन सुखको पोको झन् झन् सुखको पर भयौँ ।

(कस्तूरी मृग, पृः ९०)

स्वर्गीय आनन्द प्राप्त गर्नका लागि धेरै जँघार तर्दै सपनाको देशमा अवतरण गरिए । डिभी चिट्टा होस् वा चोर बाटो हुँदै जीवनलाई डामोक्लेसको तरबारमुनि राखेर जोखिमपूर्ण यात्रा प्रारम्भ गरिए । प्रिय मातृभूमि तिम्रो सम्झनाले आज मलाई हरक्षण झस्काइ रहेछ । आज यो विरानो मुलुकमा सान्त्वना दिने त कोही पनि भेटेका छैन । यान्त्रिक जीवन बाँचिरहेकासँग कहाँको आत्मीयता पाउनू । यी कुराको आश गर्नु आकाशको फल आँखातरि मर भन्नु सरह हुन्छ । तिमीमा भएको जातजाति, भाषा, साहित्य, संस्कृति, कला, प्राकृतिक कलासमेत पूर्ण भएकी जननी, यहाँ त मानवीय जीवन ग्यास च्याम्बरमा अडिएको छ । काखमा लुटपुटिन आएकालाई तिम्रो विशाल छातीले छोपी सहानुभूतिको तापले सेक्ने गर्छ्यौ तर यो मानवै मानवले भरिएको सहरमा त निर्जनताको आभास बाहेक केही पाउन सकिएको छैन ।

सात समुद्रपारि छु धेरैधेरै टाढा ऊदेखि

हरपल सान्त्वना दिने सम्झनाको विशाल काया ।

(उसको माया, पृः ३७)

सङ्गीत भर्न लायक ‘अधुरो प्रेम’ गीतसङ्ग्रहमा अधिकारीले भूमिकाका रूपमा गीतको अवधारणा र गीतशक्तिको परिचय दिएका छन् । जम्माजम्मी ११२ पृष्ठमा फैलावट भएको यस कृतिको मूल्य दुई सय रुपियाँ तोकिएको छ । प्रस्तुत कृतिमा माया ठकुरी, नवराज रिजाल र उषा शेरचनले शुभकामनाका शब्दहरू खर्चिएका छन् भने लेखककी आमाले प्रकाशनको अभिभारा बहन गरेकी छन् । यसको प्रकाशन भने २०७७ सालमा भएको छ ।