वीरेन्द्र के.सी. नेपाली भाषासाहित्यका एउटा सिर्जनशील तन्नेरी स्रष्टा । पेसाले सिंचाइ इन्जिनियर हुन् उनी । नेपालकै ठूलो उपत्यका दाङको तुल्सीपुर बजारकै सीमावर्ती गाउँमा जन्मिए पनि उनको पुख्यौली थलो हो, रोल्पाको जँुगार । अहिले उनको कर्मथलो बनेको छ, न्युजिल्यान्ड । यतिबेला उनको बसाइँ, जागिर, परिवार सबै उतै । विगत करिब आठ वर्षदेखि देशबाहिरै रहेका भए पनि उनको आँखाभरि नेपालको उज्यालो—अँध्यारो तस्बिर र मनमुटुभित्र नेपालको माया विराजमान भएर बसेको छ । उनी नेपाली साहित्यका क्षेत्रमा भने नयाँ प्रतिभा हुन् भन्दा अत्युक्ति हुँदैन । त्यसो त उनले दाङको तुल्सीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा आठ कक्षामा पढ्दै गर्दा दुई वटा कविता लेखेका थिए । तत्कालीन समयमा उनका नेपाली शिक्षक विष्णुप्रसाद शर्माले उनलाई प्रोत्साहन पनि गरेका हुन् सिर्जना कर्ममा लाग्न वा लागिरहन तर माथिल्ला कक्षाका साहित्येत्तर विषयका निरस पाठ्यक्रम र तिनका उद्देश्यहरूलाई भेट्नुपर्ने स्थितिहरूबिच उनको सिर्जनशील प्रतिभा करिबकरिब पलायनको डिलसम्म पुगेको सत्य हो । बाह्र वर्षपछि खोला पनि फर्कन्छ भनेझैं अहिले वीरेन्द्रको सिर्जनात्मक प्रतिभाले फेरि बाटो पहिल्याउन खोज्दैछ । त्यसैको परिणति हो यसअघि प्रकाशित उनको पुस्तकाकार कृति आमाको काखमा दुखेको देश नामक कवितासङ्ग्रह अनि यो प्रकाशनको सङ्घारमा उभिएको गजलसङ्ग्रह किवीको देशबाट डाँफेको गीत । यी पुस्तकाकार कृतिबाहेक उनका फुटकर रचनाहरू दाङको अन्तध्र्वनि साहित्यिक पत्रिका, काठमाण्डौंको साहित्य पोस्ट साहित्यिक अनलाइन पत्रिका आदिमा पनि प्रकाशित भएका छन् ।

वीरेन्द्र के.सी.को किवीको देशबाट डाँफेको गीत नेपालीमा लेखिएका विभिन्न भावमा आधारित गजलहरूको सङ्ग्रह हो । यसमा उनका विभिन्न परिवेश र भाव— सन्दर्भका एक सय बढी गजलहरू समेटिएका छन् । सिर्जनात्मक कर्ममा लागेको छोटो अवधिमै सङ्ग्रह प्रकाशन गर्न सफल हुनु आफैमा सुखद् सन्दर्भ हो । यसभित्र समाविष्ट गजलहरूका बारेमा चर्चा गर्नुअघि यहाँ नेपाली गजलको परम्पराका बारेमा पनि केही टिप्पणी गर्नु सान्दर्भिक हुनेछ ।

विश्व साहित्यमा गजल अरबी साहित्य र संस्कृतिको देन हो । अरबी साहित्यको अति लोकप्रिय काव्य विधा कसिदा (एक प्रकारको प्रशंसा काव्य वा स्तुति काव्य) को गर्भबाट गजल जन्मिएको तथा समयको परिवर्तनसँगै यसको भावविन्यास, लयविधान र शिल्पगत प्रस्तुतिमा समेत कतिपय परिवर्तनहरू हुँदाहुँदै पनि गजलको मौलिक विधागत स्वरूप भने आजसम्म विद्यमान रहेको तथ्यलाई पनि बिर्सन मिल्दैन । कसिदामा तस्बिब, गुरेज, मक्सद र दुआ गरी चार भाग रहने गरेको र तीमध्ये प्रणयजन्य भावसँग सम्बन्धित पहिलो भागका रूपमा रहेको चार हरफको तस्बिब भागबाट गजलको जन्म भएको मानिएको छ । यसरी ऐतिहासिक दृष्टिले गजल कसिदाको सिर्जनात्मक सन्तानका रूपमा रहेको देखिन्छ तापनि आफ्नै मौलिक संरचना विधान र सौन्दर्य शक्तिका कारण यसले आज साहित्यका अन्य विधाभन्दा पृथक पहिचान बनाउन सफल भएको छ । सङ्गीतसँगको यसको तादात्म्य र वंशानुगत सम्बन्ध त झन जगजाहेर छ ।

टीकाराम उदासी

ऐतिहासिक परिप्रेक्ष्यमा गजल अरबीबाट फारसी भाषामा आयो । त्यसपछि हिन्दी भाषामा अनि उर्दूमा । अरबीमा यो त्यति लोकप्रिय भएन, जति फारसीमा भयो । फारसीभन्दा उर्दूमा यसले प्राप्त गरेको लोकप्रियता त झन अति नै लोभलाग्दो र अभूतपूर्व छ । उर्दूभन्दा हिन्दीमा पहिले लेखिएको भए तापनि उर्दू गजलको लोकप्रियताका कारण कतिपयले आजसम्म पनि उर्दूभन्दा हिन्दी गजलको इतिहास पछि प्रारम्भ भएको मान्दछन् । नेपाली भाषामा गजलको प्रणेता मोतीराम भट्ट मानिन्छन् । उनीबाटै बि.सं. १९४० पछि नेपाली भाषामा गजलको सिर्जना भएको कुरालाई धेरैले स्वीकार गरेका छन्, यद्यपि उनको कुन चाँहि गजल नेपाली भाषाको पहिलो गजल हो भन्ने सर्वस्वीकार्य तथ्य भने बाहिर आउन सकेको देखिदैन । भट्टसँगै उनका मण्डलीका अन्य कविहरूले पनि गजल लेखेका छन् भने उनीपछिका शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर प्रभृत्ति माध्यमिक कालीन स्रष्टाहरूले पनि नेपाली गजलको सिर्जनामा पसिना बगाएका छन् । मोतीरामदेखि आजसम्म आइपुग्दा हजारौं नेपाली स्रष्टाहरूले नेपाली गजलको विधागत उन्नयनमा महत्वपूर्ण योगदान गरेका छन् । संयोगको कुरो, बि.सं. १९६५ मा गायक सेतुरामको स्वरमा कलकत्तामा रेकर्ड भएको मोतीरामको यता हे¥यो यतै नजर्मा राम प्यारा छन् भन्ने गजल नै नेपाली भाषामा रेकर्ड भएको पहिलो साङ्गीतिक रचना मानिएको छ । यसबाट नै नेपाली सङ्गीतको इतिहासमा रेकर्ड गर्ने परम्पराको प्रारम्भ भएको हो । यसरी नेपाली सङगीतको इतिहासमा गजलको आफ्नै विशिष्ट योगदान रहेको छ ।

नेपाली गजलको परम्परामा शास्त्रीय बहरबद्ध गजलहरू निकै कम लेखिएका छन् । कतिपयले लोकलयमा आधारित गजल पनि लेखेका छन् तर वर्तमान समयमा सबैभन्दा बढी आक्षरिक लयमा आबद्ध गजलहरू लेखिएका छन् । संस्कृत छन्द, शास्त्रीय बहर र मात्रिक बहरको प्रयोग नगरी स्वतन्त्र रूपले विभिन्न आक्षरिक लयको आयोजना गरी लेखिने गजलहरू यसभित्र पर्दछन् । पछिल्लो समयका हिन्दी, नेपाली र अन्य भाषामा पनि आक्षरिक लयका गजल धेरै लेखिएका छन् । आज गजलमा आक्षरिक लयको प्रयोग गाउन बन्ने सीमासम्म स्वीकृत र स्थापित समेत भइसकेको छ । त्यसो त गजलमा विभिन्न प्रयोगहरू पनि हँुदै आएका छन् । प्रयोग लयसिर्जनामा मात्र नभएर शिल्पगत संरचना विधानमा पनि भएको पाइन्छ । अरबी अरुजशास्त्रले निर्देश गरेका बहरभन्दा फरक संस्कृत छन्द, मात्रिक छन्द र आक्षरिक लयको आयोजना सबै नवीन प्रयोगकै उदाहरण हुन् भने आजाद गजल, गजलनुमा, दोहा गजल, सबैया गजल, गजलकथा, मुअर्रा गजल, नस्री गजलजस्ता प्रयोग पनि अन्य दृष्टान्त हुन् । सन् १९४५ मा उर्दूका मूर्धन्य सायर मजहर इमामले सर्वप्रथम आजाद गजल लेखेका थिए, त्यसपछि अरु धेरै सायरहरू त्यसमा मिसिए । गजलका क्षेत्रमा देखिएका अन्य प्रयोगमा पनि धेरै स्थापित सायरहरूको नाम जोडिएको छ । यसरी गजलका क्षेत्रमा विविध प्रकृतिका प्रयोग हुने गरेका छन् । प्रयोग कुनै पनि विधामा हुनसक्छ, यद्यपि त्यो अर्थपूर्ण र सिर्जनात्मक हुनु जरुरी हुन्छ । नेपाली गजलका क्षेत्रमा भने यसबारेमा विमर्श हुन अझै बाँकी देखिएको छ ।

प्रस्तुत सङ्ग्रहका गजलकार वीरेन्द्र के.सी.ले आफ्ना सबै गजलमा आक्षरिक लयको आयोजना गरेका छन् । संरचनाका दृष्टिले उनका अधिकांश गजलहरू चार र पाँच सेरमा आबद्ध रहेका छन् भने केही गजलमा कम र बढी सेर पनि विद्यमान छन् । उनले गजलको संरचना विधानमा आवश्यक पर्ने काफिया र रदिफ दुबैको प्रयोग गरेका छन् । उनका कतिपय गजलमा काफिया मात्र प्रयोग गरिएको छ भने अधिकांश गजलमा काफिया र रदिफ दुबैको प्रयोग पाइन्छ । उनले मकता प्रयोगमा भने खासै रुचि देखाएका छैनन् । भाषिक संरचनाका दृष्टिले उनका गजलमा सरल र बोधगम्य अभिव्यक्ति भेटिन्छ भने चलनचल्तीका शब्दहरूको प्रयोगले उनका रचना पठनीय बनेका छन् ।

वीरेद्र के.सी.का गजल भाव विविधताका दृष्टिले उल्लेखनीय रहेका छन् । उनका गजलमा राष्ट्रप्रेमका स्वरहरू पनि मुखरित भएका छन् भने देशभक्तिका भावहरू पनि प्रकट भएका छन् । उनका गजलमा भूकम्पजस्ता प्राकृतिक प्रकोपजन्य प्रहारका चोटहरूको पनि चित्रण भएको छ भने सिद्धहस्त कलाकार गोपाल योञ्जनजस्ता अग्रजहरूप्रति सम्मानका भावहरू पनि प्रस्तुत छन् । उनका गजलमा प्रेमप्रणयजन्य गुनासा, आग्रह र सुस्केराहरू पनि सुसेलिएका छन् भने निम्न वर्गप्रति तीव्र सहानुभूति र मानवीय मूल्यको अन्वेषण पनि गरिएको छ । उनका गजलमा प्रकृतिप्रेम, आध्यात्मिक विश्वास, भाग्यवादी चेतना र सामाजिक सरोकारहरू पनि विषय बनेर आएका छन् भने समाजमा विद्यमान राजनीतिक, साँस्कृतिक, आर्थिक क्षेत्रका वहुविध विकृति, विसङ्गति र विदु्रपताहरूप्रति तीखो व्यङ्ग्य पनि प्रहार भएको पाइन्छ । उनका गजलमा आमाप्रतिका श्रद्धा भाव र सम्मान पनि अभिव्यक्त भएको देखिन्छ भने पूँजीवादी चिन्तन र उपभोक्तावादी संस्कृतिका अँध्यारा आयामहरूको पर्दाफास पनि गरिएको छ । उनका गजलमा समाजमा धनपैसाले गर्दा बिग्रिएको मानवीय सम्बन्धप्रति चिन्ता प्रकट भएको छ भने बाल्यकालका मधुर स्मृतिहरू पनि प्रतिबिम्बित भएका छन् । उनका गजलमा समाजमा विद्यमान वर्गीय असमानताको चित्रण भएको छ भने डरलाग्दो मानवीय मूल्य विघटनको तस्बिर पनि उद्घाटन गरिएको छ । उनका गजलमा जनताप्रति अनुदार राजनीतिक नेतृत्वको चरम सत्तालिप्साप्रति कठोर आलोचना र नक्कली अधिकारकर्मीको चरित्र अनावरण गरिएको छ भने सामाजिक न्याय र परिवर्तनको आकाङ्क्षालाई पनि अभिव्यक्त गरिएको छ । यसरी गजलकार के.सी.का गजलमा समकालीन समाजका विभिन्न स्थितिहरूको सरल भाषामा चित्रण गरिएको छ भने जीवनका वहुविध अनुभूति, चिन्तन र सपनाहरूलाई पनि उत्तिकै स्थान दिइएको छ ।

समग्रमा उनका गजलहरू जीवन, समाज र समयका विभिन्न विषय तथा सन्दर्भहरूलाई सम्प्रेषणीय शैलीमा अभिव्यक्त गर्न सफल देखिएका छन् । सिर्जना कर्म सधैं अपूर्णताबाट पूर्णता तथा अप्राप्तिबाट प्राप्तिको यात्रामा अनवरत रूपले अगाडि बढ्ने हुनाले त्यसमा केही न केही सीमाहरू हुनु कुनै अस्वाभाविक होइन । वीरेन्द्रका रचनाहरूका पनि आफ्नै प्रकृतिका सीमाहरू छन् । उनी आगामी दिनमा आफ्ना सीमाहरू भत्काएर अझै गतिशील भएर अगाडि बढ्दै जाने आशा र विश्वास गरौं । उनी अहिले त आजको एउटा लोकप्रिय विधा गजल सिर्जनाको आधारशिविरमै उत्साहपूर्वक उभिएका छन्, उनलाई अक्षरयात्राको सगरमाथा आरोहण गर्नु छ । उनको सिर्जनशील उत्साह र सङ्कल्प अझै बढ्दै जाओस् । उनी आगामी दिनमा गजलको विधागत संरचना र सौन्दर्यप्रति अझै सचेत बन्दै जाऊन् । उनीबाट नेपाली गजल साहित्यले सुन्दर रचनाहरू प्राप्त गर्न सकोस् । प्रस्तुत कृति प्रकाशनका अवसरमा म उनलाई हार्दिक बधाईसहित शुभकामना दिन्छु ।