नेपाली कविता साहित्यको क्षेत्रमा राजेन्द्र भण्डारी एक आदरणीय, विशिष्ट र अग्रिम पंक्तिको  नाम हो। उनी सन् सत्तरको दशकदेखि नै कविता लेखनमा सक्रिय रूपमा देखा परेका हुन्। कविता लेखनलाई नै निरन्तरता दिँदै आजसम्म पनि सक्रिय छन्। उनको जन्म २८ सितम्बर, १९५६ मा कालेबुङको बमबस्ती. गहिरी गाँउमा भएको हो। उनका पिता स्व भगीरथ भण्डारी एक कुशल र नैतिक र जातीय चेतनाका कवि, एक आध्यात्मिक चिन्तक र एक सामाजिक सचेतक थिए। स्व.भगीरथ भण्डारीको एउटा छन्दोबद्ध कवितासङ्ग्रह काव्याञ्जलि र एक झ्याउरे छन्दमा लोकगीता प्रकाशित छन्। तिनै पिताको काव्यिक प्रतिभाको प्रभावस्वरूप कवि राजेन्द्र भण्डारीले काव्य सिर्जनागत उर्वरता र संस्कार प्राप्त गरेका हुनसक्छन्। उनका माहिला दाजु देव भण्डारी पनि एक कुशल आख्यानकार र एक प्रखर कवि हुनाले उक्त कुराको पुष्टी हुनसक्छ। आफ्नो अध्ययनका क्रममा उनले नेपाली विषयमा स्नातकोत्तर गरी सिक्किमेली नेपाली कथासम्बन्धमा विद्यावरिधि गरेका हुन्। सिक्किम सरकारी महाविद्यालयको नेपाली विभागमा प्राध्यापन सेवामा रही अहिले अवकाश ग्रहण गरेका छन्।

आजसम्म उनका छवटा कवितासङ्ग्रहका छन्- हिउँदे यी चिसा रातका पर्दाहरूमा (१९७९), य़ी शब्दहरू:यी हरफहरू (१९८६), क्षर-अक्षर (१९९८), शब्दहरूको पुनर्वास (२०१०), प्वाँख र आकाश (२०११) इतिहासको बाडुली (२०१९)। उनका कविताहरू अङ्ग्रेजी, हिन्दी, पञ्जावी, मणिपुरी, उडिया र असमेली भाषाहरूमा समेत अनूदित छन्। उनले अहिलेसम्म डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार, भानु परस्कार, गिरी पुरस्कार, दियालो पुरस्कार इत्यादि पाएका छन्। उनी समसामयिक धारा र कालका एक लोकप्रिय र युगसचेत कवि हुन्। उनका दँवलका कविहरूमा नेपालका कृष्णभूषण बल, मीनबहादुर बिष्ट, बिमल कोइराला, अरूणा वैद्य, रमेश खकुरेल, दिनेश अधिकारी, राजेन्द्र पराजुली, कालीप्रसाद रिजाल तथा यता भारततिरका मनप्रसाद सुब्बा, नोर्ज्याङ स्याङदेन, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवड़ा, नव सापकोटा, भविलाल लामिछाने, अविनाश श्रेष्ठ आदि हुन्। उनले भारतको तर्फबाट एक प्रतिनिधि कविका रूपमा जर्मनी र रोममा आयोजित अन्तर्राष्ट्रिय कविता महोत्सवमा कविता वाचन गर्ने अवसर पाएका हुन्। उनी कवितामा जीवन र जगत्‌प्रतिको दृष्टिकोण र सोंचलाई सहज र प्रबल रूपमा सम्प्रेषण गर्दछन। आफ्नो संवेदनशीलतालाई सहज रूपमा शाब्दिक अभिव्यक्ति दिई रमाउन सक्ने कवि भण्डारी सत्तरीको दशकदेखि सक्रिय रूपमा देखिएका छन्।

राजेन्द्र भण्डारी

राजेन्द्र भण्डारी आफै एक गहन साहित्य अध्येता हुनाले आफ्ना कवितालाई पनि नयाँ नयाँ कवितात्मक टेक्निक, प्रवृत्ति, सिद्धान्त, शब्द-शब्दावलीका प्रयोग क्षेत्रमा अद्यावधिक गर्दै ल्याएका छन्। उनले ग्रामीण समाज र सहरी जीवन दुवै देखेका र भोगेका छन्। यसका साथै आफ्नै घरकै धार्मिक, आध्यात्मिक र ग्रामीण परिवेशबाट पनि कवितामा प्रभाव परेको देखिन्छ। उनले आफ्नो समाजलाई एक प्रकारले परम्परागत जीवाइ, मानसिकता र संसाधनबाट बाँचिरहेको देख्छन्। अर्कापट्टि यही समाजमा अत्याधुनिक वैज्ञानिक उपकरण, सूचना-प्रौद्यौगिकीका साधन र विभिन्न मिश्रित संस्कृतिको संक्रमण पनि देख्छन्। यसो हुँदा आफ्नो समकालिन समाजमा पुरातन र अत्याधुनिकता, संस्कृति र अपसंस्कृति, बुढापुस्ता र युवापुस्ता, ग्रामीण र सहरी तथा प्राकृतिकता र कृतिमताका द्वन्द्व देख्छन्। देशले एकातिर आधारभूत आवश्यक वस्तु र युगानुकूल सुख-सहुलियतका साधन दिन नसकेको वास्तविकता छ भने अर्कातिर बजारमुखी उपभोक्तावादी र भौतिकतावादी संस्कृति हौसिएको पनि देख्छन्। आज सीमित आयस्रोतले अत्याधुनिक उपकरणको उपभोग गर्न मुस्किल पर्छ। यस्ता वस्तुका उपभोगका निम्ति विकृति, अनैतिकता, अनाचार, आडम्बर, पाखण्डपन विकसित भएको देख्छन्। यस्तै विरोधाभाषमय सामाजिक स्थितिको अङ्कण-चित्रण नै उनको काव्यगत सन्धान हो।

नवीन पौड्याल (कालिम्पोङ)

साहित्यमा कविता नै धेरै लेखिन्छन् तर कविता नै लोकदेखि परपर हुँदैगरेको देखिन्छन्। कवितालाई अर्थ लुकाउने, पाठकलाई दूरूह बनाई तर्साउने कलासमेत बनेको देखिन्छ। नेपाली काव्यधाराको सन्दर्भमा प्रयोगवादी काव्यधाराको प्रवर्तनपछि कविता र पाठकका बिचको सञ्चारप्रक्रिया अवरूद्धजस्तै बन्नपुगेको र कविता केवल बौद्धिक बहसको विषय बन्नपुगेको देखिन्छ (केशव सुवेदी, विश्वविमोहन श्रेष्ठको काव्यसौंदर्य, गरिमा, अङ्क ३६१, पुष २०६९, पृष्ठ १३५)

कवि भण्डारीको सन् २०१० मा श्री भीम ढुङ्गेलको प्रकाशकत्वमा प्रकाशित एउटा महत्त्वपूर्ण कवितासङ्ग्रह हो शब्दहरूको पुनर्वास। अघिल्ला कवितासङ्ग्रहभन्दा यसमा उनी अझ प्रखर, सरल, सुबोध र सम्प्रेष्य बन्दै गएका छऩ्। उनका कवितामा पाइने अन्योक्तिमूलक अभिप्राय, व्यतिरेकी, अर्थगत विचलन, असित व्यङ्ग्य, सघन भाव र सम्वेदनशील अभिव्यक्तिले गर्दा कविता प्रभावकारी र आस्वाद्य लाग्छन्। कवितामा गाँउको चित्रणदेखि लिएर विश्वजनीन जटिलता, यस आधुनिकोत्तर युगले जन्माएको विद्रुपतासम्मलाई विषयवस्तु बनाएका छन्। दुई पुस्ताबिचको मानसिक र व्यावहारिक अन्तराल, युगीन आडम्बरीपन, गाँउमोह, नोस्टालजिया, निम्न वर्गीय कर्मचारीको मनोव्यथा, पर्यावरण चेतना, इतिहास चेतना, प्रकृतिको सूक्ष्म चित्रण इत्यादि कुराहरू स्पष्ट रूपमा देखिन्छन्।

बेरोजगारी समस्या वर्तमान समयको सबैभन्दा ठुलो र विकराल समस्या हो । यही समस्याका कारण हत्या, आत्महत्या, हिंसा, अपसंस्कृति, सामाजिक विकृति, नशाखोरी, नैराश्य, अराजकता र अनास्था उब्जेका हुन्। प्रस्तुत सङ्ग्रहको पहिलो कविता ‘बेरोजगार युवाको आइडेन्टिटी कार्ड’ मा यही बेगोजगारी समस्याको नाङ्गो तस्वीर छ। देशका धेरै युवा-युवती यही समस्याको भुँवरीमा परी लथालिङ्ग छन्। सरकारीतन्त्रले बेरोजगार उन्मूलनका नाममा रोजगार कार्यालय खोलेका छ तर त्यो स्वयम् निष्क्रिय छ। बेरोजगारले समाजमा मान्यता नै नपाउनु यस समस्याको मूल पीडा हो। यस पीडाको भावलाई कविले बडो मार्मिकताका साथ अभिव्यक्ति दिएका छन्। ‘मेरो जन्मदिन र बा’ कवितामा नोस्टालजिया छ। आफु जन्मेको ठाउँ र आफ्नो बाल्य परिवेशको मृगतृष्णामा कविले काव्यिक गोता मार्छन्। आफ्ना दिवङ्गत बाबुको वैयक्तिक अनुभूति भएर पनि शाश्वत, सार्वजनीन र सार्वकालिक अभिव्यक्तिका सुन्दर नमूना बनेका छन्-

बालाई म जन्मिएको भन्दा

नयाँ खेतमा पहिलोपल्ट बाली उठाएको

बढी थाहा छ 

आँगनको पारिजात जत्तिकै पुराना छन् बा

डीलको ठुल्ढुङ्गो जत्तिकै अटल।

      प्रस्तुत शब्दहरू पुनर्वास कवितासङ्ग्रहका कवितामा युगीन समस्याका ज्वलन्त छाप र छाँया छन्। यस्तो जटिल युगको, सामाजिक. आर्थिक, राजनैतिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक, मानसिक. भाषिक जस्ता हरेक पक्ष समस्याग्रस्त छन। यिनै समस्याहरूबिच मान्छेले बाँच्नु पर्दाका जटिल अवस्थाको कलात्मक अभिव्यक्ति नै भण्डारीको कवितात्मक उपलब्धि हो। सांस्कृतिक विघटन, विकृति अराजकता सामाजिक, राजनैतिक स्थिति, व्यक्तिकेन्द्रित सोंच, जातीय चिन्तनमा ह्रास, ब्युरोक्रेटिक कुशासन व्यवस्था आदि पक्षलाई खोतलेका छन्। सङ्ग्रहका अधिकाङ्श कविता युगीन चेतनाले भरिएका छन्। कवितामा उक्ति वैचित्र्य, विचलन, रूपकात्मक भावविम्ब आदिका कारणले उनका कविता मनमोहक बनेका छन्।

भण्डारीका कविता मुक्तलयमा लेखिएका छन् जो सुसङ्गठित छन्। उनले प्रयोग गरेका शब्दहरू भाव सम्प्रेषणमा सक्षम छन्। शब्द, पदावली र पङ्क्ति पङ्क्ति हुँदै मुक्तलयको सिर्जना गरिएको छ। प्रभावमय भाषाको पङ्क्तिहरूलाई शब्द, पदावली र वाक्यमा भाँचेर वाचन प्रक्रिया प्रभावकारी बनाउन ठाउँ ठाउँमा खाली ठाउँ राखिएको छ।

मिर्ग र चितुवाहरूबिच

चिडियाखानामा अमनचैन कायम।

फूलहरू नभए पनि बगैंचाको सुरक्षाका लागि सेना तैनाथ।

राजा आशिर्वाद मुद्रामा

प्रजा मौनताको अभ्यासमा मग्न। (पृष्ठ २०)

उनका अधिकाङ्श कविता नाटकीय शैलीका छन्। कतै आकस्मिकता, कतै संवादात्मकता, कतै सूक्ष्म आख्यानात्मकता पनि देखा पर्छन्। अरूले ख्याल नगरेका मसिना विषयलाई पनि कविले टिपेर आफ्नो कविताको स्वर दिएका छन्। ‘गाउँको एकलो बुढो खडगधोज मरेको’, ‘विधवाको पीडा अरू कसैलाई थाहा छैन’, ‘सहरको खुल्ला सडकमा कतिजना गरीब र भीख-मङ्गा सुत्छन् नगरनिगमलाई थाहा छैन’, ‘दशौं श्रेणी पढ्ने कृष्णमाया कटुसको हाँगा झुण्डिएर किन मरी घरकालाई थाहा हुँदैन’ भनेर कवि आफ्नो समवेदना प्रकट गर्छन्।

कवितासङग्रह शब्दहरूको पुनर्वासभित्रका कविताहरूको विषयवस्तुगत अध्ययन

कवितासङ्ग्रह ‘शब्दहरूको पुनर्वास’ भित्र विभिन्न विषयवस्तु, प्रसङ्ग, स्वर कथ्य आदि प्रत्यक्ष-परोक्ष रूपमा समेटिएको पाइन्छ।

युगीन चेतना– भण्डारीका कविताहरूमा पाइने सबैभन्दा प्रखर विषय र कथ्य युगीन चेतना हो। ओड़ार र गुफादेखि शुरू भएको मान्छेको सभ्यताले क्रमशः अघि बढ्दै गएर अन्तरीक्ष यात्रासम्म अनुभव गरेको पाइन्छ। आदिमकालीन बरर्बरतादेखि गाउँ, सहर र महानगरीय संस्कार र सभ्यता पनि मान्छेभित्र संचित भएको हुन्छ। उहिलेदेखि नै मान्छे सहरसित विशेष आकर्षित हुँदैआएको देखिन्छ। गाउँ सहर बन्दैछ औ सहर महानगर बनदैछ। सहरबासीका निम्ति निम्ति गाउँ र गाउँले जीवन त पुर्ख्यौली थलो र संस्क्रृति मात्र बनेको छ। कविले सहरबाट गाउँलाई हेर्ने दृष्टिकोणको सन्धान गरी कवितात्मक दिएका छन्। धेरै मानिस गाउँमा जन्मी, हुर्की बढी गरी सहर पसेका हुन्छन्। तिनका निम्ति गाउँ नोस्टाल्जिक अनुभूति बनेको हुन्छ। ‘मेरो जन्मदिन र बा’ ‘नजरबन्द पहाड र बिमारी सुनाखरी’, ‘गाउँको सेरोफेरो’, ‘रित्ता पाटाहरू’, ‘आफ्नै घर सम्झिएर बस्नुहोस’ आदि कविताहरूमा गाउँको यथार्थ चित्रण पाइन्छ। वर्तमान युगको निम्ति गाउँ एक तिरस्कृत, परित्यक्त, गाउँले मानिस असभ्य र अविकसित ठानिन्छ। वर्तमानमा विश्वव्यापी समस्याको रूपमा रहेको कश्मीरको आतङ्क, सीमा विवाद र द्वन्द्व, दक्षिण अफ्रिकाको रङ्गभेदी व्यवस्था, चीनको तियानमेनमा भएको सरकारी पक्षबाट विद्यार्थीमाथिको निर्मम गोली प्रहार आदिलाई युगीन पीडाको रूपमा कवितामा व्यक्त गरेका छन्।

कुरूप तथा त्रासद् वर्तमानको अभिव्यक्ति – कवि राजेन्द्र भण्डारीले कवितामा वर्तमान समयको करूप, विकृत, विद्रूप, विसंगत, अवस्थाको चित्रण गरेका छन्। वर्तमान कहानीलाग्दो स्थितिमा मान्छे आ-आफ्नो स्वार्थमा लिप्त छन्।

            वर्तमान

बलात्कार

 हडताल

  जुलुस

     कर्फ्यु    

     व्याभिचार

     पाखण्ड

          आडम्बर

             विज्ञापन

                   व्युरोक्रेटको बोलबाला

               राजनैतिक दाउपेच

              वितृष्णा

                      भाषिक विकृति

                      असन्तुष्टि

विम्ब विधान– कविले आफ्ना कविताहरूमा सहरी र ग्राम्य लोकविम्ब, घ्राण, श्रुति, स्परश, दृश्य आदि विम्बलाई उतारेका छन्। उनले कतै सरल विम्ब र कतै जटिल विम्ब प्रयोग गरेका छन्।

कवि भण्डारी आफ्ना कवितामा सहर र सहरी संस्कार र सभ्यताप्रति प्रकारको व्यङ्ग्य र असन्तुष्टि व्यक्त गर्छन्। सहरी जीवनमा आएका विकृति, ढोङ्गी, पाखण्डी, अप्राकृतिक स्वार्थी लोभी अस्तव्यस्त, अराजक र अति व्यस्तता आदिलाई स्वर दिएका छन्। वर्तमानका लागि सहर अपरिहार्य बनेको छ। गाउँ र गाउँले वातावरणदेखि अचेलका मानिस दिनानुदिन परपर भइरहेका छन्। यसका साथै यसमा रहेका केही कवितामा ग्राम्य विम्ब पनि पाइन्छ। गाउँको सेरोफेरो कविताभरि गाउँ भएको नैराश्य, बेरोजगारी, सहरीकरणको बढ्दो प्रभाव आदिको विम्ब उतारेका छन्। “मेरो जन्म दिन र बा” कवितामा पनि गाउँको यथार्थ चित्रण गरिएको पाइन्छ।

लोकतत्त्वको प्रयोग– कविले आफ्ना केही कवितामा लोकविश्वासलई पनि कवितात्मक अभिव्यक्तको माध्यम बनाएका छन्। वनझाँक्री, सतीदेवी, शिवशर्मा, हिममानव आदि जस्ता लोक र पौराणिक तत्वलाई स्थान दिएका छन्।

फ्याउरो बासेको भोलिपल्ट कोही न कोही मरेकै हुन्छ।

सगर डढ़ेको भोलिपल्ट चर्को घाम लागेकै हुन्छ।

यहाँ राती फ्याउरो कराए भोलिपल्ट कोही मरेको खबर सुनिन्छ तथा बेलुकीपख चारैतिरको सिँदुरे रङ्गको रातोपन फैलिँदा भोलिपल्ट चर्को घाम लाग्छ भन् जनविश्वास दर्शाएका छन्। त्यसैगरी जोगीले फेरी लाउँदै फलाकेर भूतप्रेत हटाउने मन्त्रश्लोकलाई दर्शाएका छन्। यस्तै गरी “नजरबन्द पहाड र बिमारी सुनाखरी” कवितामा पनि लेप्चा लोककथा निद्रापानीमा उल्लेखित रोङञ्यु (टिस्टा)ले रोङइत (रङ्गीत) नदीलाई भेट्न विलम्ब गर्दा रोङइत रिसाएको कुरा सङ्केत गरेका छन्।

जातीय उन्मुक्तिको चाहना- कवि भण्डारीका केही कवितामा जातीय चिन्तन विषयलाई अभिव्यक्ति दिएका छन्। “नजरबन्द पहाड र बिमारी सुनाखरी” कवितामा गोर्खालीले खोजेको जातीय उन्मुक्तिको दमित चाहनालाई अभिव्यक्त गरेका छन्। टिस्टा नदीलाई पहाडको विस्थापन, अधोगति, अधोपतन, आस्तित्विक चेतनाको स्खलन, प्रशासनिक कुव्यवस्था, असेचतता आदिको ओरालो बग्दो अवस्थाको प्रतीकका रूपमा लिएका छन्। धेरै वर्षसम्म हामीले आफनो घर बनाउने अंश माग्यौं, तर सबै उपलब्धिहीन भए-

गुहारजत्तिकै कर्कश

र विलाप जत्तिकै करूण छन्

हाम्रा आवाजहरू (शब्दहरूक पुनर्वास, पृष्ठ ५५)

शाश्वतता, दार्शनिकता र सूक्तिमयता– कवि भण्डारीले आफ्ना केही कवितामा जीवन जगतका शाश्वत चिन्तन र दार्शनिकताबाट उब्जेको भावलाई अभिव्यक्त गरेका छन। उनका कवितामा वर्तमानका कुरालाई घतलाग्दा र सूक्तिमय अभिव्यक्त गरिएको पाइन्छ।

                          तोते बोली, नेप्किन भोटोबाट

            म पनि बसाइँ सरिरहेछु।

            कोट पेन्ट जुँघा हिस्सी हुँदै

            चाउरी र लट्ठीको रूगरूगे डाँड़ातिर।

(शब्दहरूको पुनर्वास, पृष्ठ १२२)   

यहाँ जीवनका बाल्यावस्था, युवावस्था र वृद्धावस्थालाई शाब्दिक विम्बद्वारा प्रतिबिम्बित गरेका छन्। तोते बोली, नेप्किन र भोटोले बाल्यवस्था, कोट पेन्ट जुँगाले युवावस्था र चाउरी र लठ्ठीले बुढेसकाल जनाएको देखिन्छ।

युद्ध सकिए पनि युद्धको बिउ माटोमा नै रहन्छ।

यसैले जित्नेले जितँ भन्नहुँदैन।

जित्नेले घरिघरि जितिरहनु पर्छ। (शब्दहरूको पुनर्वास, पृष्ठ १२२)

ब्लाकहोल झैं पृथ्वी रिक्तता शून्यमय अनन्त छ।

प्रकृति चित्रण र पर्यावरण चेतना – कविका निम्ति प्रकृति शाश्वत, सचल, गतिशील छ। प्रकृति हाम्रो निम्ति सबै थोक हो। यसलाई दुःख कष्ट दिनुहुँदैन। मान्छेले प्रकृति र पर्यावरणलाई मिचेर आफ्नै मात्र स्वार्थसिद्ध गर्छन्। यो धरती, आकाश, प्राकृतिक संशाधन सबैमाथि बलमिचाइ र उल्लङ्घनले उसको विनास गर्न अग्रसर छन्। अहिले विश्वका निम्ति प्रक़ति र पर्यावरण बचाउनु नै ज्वलन्त विषय बनेको छ। प्रकृतिमथि मान्छेको यस्तो विनासलीला देखेर कवि चिन्तित छन्। उनका निम्ति प्रकृतिमाथि मान्छेको खेलवाड आफ्नै विध्वंश हो। उनी भन्छन्-

आमा हो पृथ्वी

बाबु हो आकास

आमालाई त घाउ लगायौ।

बाबुलाई धेरै नसताउ।

(आकासलाई धेरै नसताउ)

सङ्ग्रहमा रहेको ‘आकाशलाई धेरै नसताउ’ कवितामा पर्यावरण चेतना सबैभन्दा प्रमुख रूपमा पाइन्छ। मान्छेले धरतीलाई बिगारी सकेको छ, र अब आकासलाई समेत सताउन थालेको छ। वायु मण्डलमा अक्सिजनको मात्रा घटेर कार्बोनडाइ अक्साइडको मात्रा बढिरहेको स्थितिलाई लिएर कवि निकै चिन्तित छन्। पर्यावरणीय असन्तुलनका कारण भविष्यमा पृथिवीमा ठुलो उपद्रव, विध्वंस हुने, मानव बस्ती विष्फोट हुन सक्छ भनी कविले चिन्ता प्रकट गरका छन्।

त्यो विसन्चो भएको दिन

त्यसको शीरै ढल्नेछ।

त्यो रिसाको दिन

त्यसको विष ओकल्नेछ।

घाउको घर हुनेछौ तिमी

घर त के बेघर हुनेछौ।

जता जाउ न तिमी

डड़ेलो तेत्तै खेद्दै आउनेछ।

कवि सहरीकरणको बड्दो प्रकोप देखेर पनि चिन्तित छन्। गाउँ अब सहरमा परिणत भएको छ। विशुद्ध गाउँले वातावरण छैन-

पिपल डाँड़ामा अघि मन्दिर थियो

अहिले थाना रहेछ।

मैले डुप्की हान्ने दह

अहिले बगर भएछ।

 सौन्दर्य चेतना – ‘शब्दहरूका पुनर्वास’ कवितासङ्ग्रहमा सौन्दर्य चेतना प्रबल देखिन्छ। प्रकृतिको चित्रण, आनन्दानुभूति, वनप्रतिको मोह इत्यादिले उनको काव्यिक सौन्दर्य झल्किन्छ। कविले नारायण गोपालका गीतलाई मान्छेका पीडा दर्दलाई भुलाइदिने, मिठासयुक्त, आनन्द र कल्पना लोकमा विलीन गराउने ठानेका छन्। उनका निम्ति नारायण गोपालका गीतहरू-

उकालोमा पर्खिरहेको फलैंचा

थकाइ मेट्ने गलैंचा

तिमी पीडा पुछ्ने रूमाल

तिम्रा मोटा औंलाहरूले हार्नियमको रिड थिच्छन्

अनि खोलिन्छन् स्वर्गका लयदार ढोका।

व्यङ्ग्य चेतना – कविले संसारका तमाम कुरूपता, विकृति विसंगति र पाखण्डपन देखेर आफ्ना कवितामा व्यङ्ग्य प्रहार गर्छन्। मुलुकको राजनैतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, नैतिक मानसिक आदि क्षेत्रमा देखापरेका प्रकृति अझ विशेष गरी देशको राजनैति व्यवस्था नै विकृतिपूर्ण भएकाले समाजका हररेक पक्ष नै प्रभावित भई वितण्डा अराजक विसङ्गतिपूर्ण बनेको कुरालाई कविले व्यङ्ग्य प्रहार गरेका छन्।

‘बेरोजगार युवाको आइडेन्टिटी कार्ड’, ‘सहर परिक्रमा’, ‘अन्तमा फेरि समाचार साराङ्श’, ‘ब्युरोक्र्याट सूर्य र क्लर्क ताराहरू’, ‘नवोदित कविको पुरस्कार समारोह’, ‘कविता हराएको वर्ष’ आदि कवितामा व्यङ्ग्य सचेततासँग प्रयोग गरिएको छ। समाजका सबैभन्दा अयोग्य व्यक्तिहरू नै राजनैतिक क्षेत्रमा लागेर राज्यको बागडोर सम्हालेको देखेर कवि यसरी लेख्छन्-

मेरो बालसखा दले पर्यावरण मन्त्री भएको छ।

आठौं श्रेणीको परीक्षामा नक्कल गर्दा स्कुलबाट निकालिएर धेरै वर्ष हराएको दले

भएको छ अब सम्माननीय मन्त्री श्री डि बि लामिछाने। 

राजनैतिक अराजकता वितण्डताले गर्दा सहरीया परिवेश उकुसमुकुस भएको छ। सहरमा शान्ति शृङ्खला छैन। अशान्ति, ऐन-शृङ्खला अमान्य, बेनियम, बन्द हड़ताल र गुण्डागिरीप्रति कवि भन्छन्-

बन्दमा पनि तर खुल्लै छन् अनिवार्य सेवाहरू जजस्तै

अस्पताल टेलिफोन गुण्डा

साधारणले नियम तोडे असाधारण हुन सकिन्छ।

यसैले असाधारण हुनुभन्दा जनसाधारण हुनु गाह्रो हुन्छ। (पृष्ठ सं. १२३)

समाजका तथाकथित बुद्धिजीविहरूको बौद्धिक खोक्रोपनमाथि यसरी व्यङ्ग्य प्रहार गर्छन्। बुद्धिजीविहरू आत्मसंयम र सान्दर्भिक केलाउँदैछन्।

भाषा-शैलीगत वैशिष्ट्य :- राजेन्द्र भण्डारी शैली सचेत कवि हुन्। उनका कवितामा भाषिक विपर्यास, विचलन, व्यङ्ग्यकारिता, शाब्दिक प्रयोग र शब्द शय्यागत सचेतता, बहुअर्थता, थोरै शब्दमा धेरै अर्थद्योदन जस्ता विशेषता पाइन्छन्।

विपर्यास– दुईवटा भिन्नभिन्न सन्दर्भ र अर्थ भए तापनि समग्रमा अर्थगत संयोजन भई तिनका बिचमा अन्वय गर्ने विशिष्ट स्थानमा भएको हुन्छ। यस्तो स्थितिमा एउटै वाक्यका भिन्न स्थानमा वा फरक वाक्यमा पनि अनुबन्धित भएर आउँछ। तर अर्थ भने अत्यन्त निकट हुन्छ। (नेत्र एटम, समालोचनाको स्वरूप, पृष्ठ ४५)। यस हिसाबले  पनि भण्डारीका कवितामा विपर्यास अर्थहरूको संयोजन गरिएको पाइन्छ। दुई विपरीत अर्थ दिने भाव र त्यस भावलाई संयोजन गरेर व्यङ्ग्यात्मकता प्रदान गरिएको छ। विपर्यास स्थितिको चमत्कार गर्न कवि सशक्त देखा पर्छन्। जस्तै-

छाती चाहिँ देखिएको हुनुपर्छ।

पेट काटिएको

छाती भएको पेट नभएको

तिम्रा फोटोलाई सत्यापित गर्नुपर्छ

कुनै छाती नभएको

पेट मात्र भएको गेजेटेड अफिसरले

(बेरोजगार युवाको आइडेन्टिटी कार्ड)

 

स्कुटरमा आएका एक हुल अज्ञात बन्दुकधारीहरू

      अन्धाधुन्ध गोली चलाएर बेपत्ता।

कतैबाट कुनै अप्रिय घटनाको कुनै समाचार छैन।

अन्तमा फेरि एकपल्ट समाचार साराङ्श (पृष्ठ २०)

प्रतीकात्मकता – कवि भण्डारी प्रतीक प्रयोगका दृष्टिले निकै सचेत छन्। आफ्ना माननवीय संवेदनालाई मूर्तता दिनलाई शब्दमा उतार्नका लागि विभिन्न किसिमका प्रतीकहरू चलाएका छन्। ती प्रतीकहरू पारम्परिकभन्दा वैयक्तिक छन्। सन्ध्याकालीन सूर्यको मधुर रापलाई उनले लठ्ठी टेक्दै हिँड्ने बुढ़ो मानिसको रूपमा लिनु, यौन संभोग क्रियाकलापलाई मासु, यस युगका शक्तिशाली कर्मचारीतन्त्र व्यवस्थालाई उनले ‘रातो सूर्य’ को प्रतीक बनाएका छन्। कविको मनको अवचेतन अवस्थालाई बङ्करको प्रतीक बनाएका छन्। जसरी अँध्यारो बङ्करमा विभिन्न गतिविधि संचालित हुन्छ, त्यसै गरी मनको अवचेतनमा त्यस्तै आतङ्ककारी गतिविधि हुन्छ भन्ने देखाएका छन्। ‘मासु’ कवितामा उल्लेखित मासु यौवन मांसलता, पैसा, हत्या, आतङ्क, मान्छेको युद्धमय इतिहास, नाफाखोरी, अवैद्ध व्यवसाय इत्यादिको प्रतीक बनेको छ। ‘बेरोजगार युवाको आइडेन्टिटी कार्ड’ कवितामा प्रयुक्त पेटलाई व्यवस्थाको विद्रूपता व्यक्त गर्नलाई प्रतीक बनाएका छन्।

शाब्दिक प्रयोग– कवि भण्डारीले आफ्ना कवितामा वर्तमान समसामयिक युगको मानवीय मानसिकतालाई प्रतिनिधित्व गर्ने हुनाले त्यस अनुरूको भाषा र शब्दको प्रयोग गरेका छन्। आममानिसले सहरीया सभ्यताका कारणले अङ्ग्रेजी शब्दकै दैनन्दिन रूपमा प्रयोग गर्छन्। यस सङ्ग्रहका कवितामा धेरै मात्रामा संचार, संजाल र अत्याधुनिक युवानुकूल शब्दप्रयोग गरिएको छ। यस युगानुकूल शब्दहरूको प्रयोग गरेर कविले कवितालाई यथार्थता र जीवन्तता दिएका छन्। ‘आइडेन्टिटी कार्ड’, ‘पासपोर्ट साइज फोटो’, ‘ल’, ‘युकेजी’, ‘नोटसिट’, ‘पेपरवेट, ‘आइकोन’, ‘कम्प्युटर’, ‘बाथरूम’, ‘ब्युरोक्रेट’, ‘क्लर्क’, ‘नोटिङ’, ‘माइनर’, ‘मेजर’ ‘अपरेसन’, ‘सर्जिकल वार्ड’, ‘स्टेलेस्थ्कोप’, ‘इमेल’, ‘लोडसेडिङ’, ‘टिभीसिरियल’, ‘सबाल्टर्न’, ‘ब्लड प्रेसर’, ‘बजट’, ‘डाइनिङ टेबल’, ‘बटन होल’, ‘क्यालेन्डर’, ‘ट्राफिक’, ‘सुपरनोभा’, ‘कोलेस्ट्रल’, ‘फोटोजेनिक’ आदि जस्ता अङ्ग्रेजी शब्द प्रयोग गरेको पाइन्छ।

प्रस्तुति– एउटा विषय आइतबारको दिनचर्यालाई कविले विभिन्न भावभङ्गीद्वारा व्यक्त गरेका छन्।

अतिथि आगमन र भेटघाटको अवसर 

 घुम्न जाने अवसर

केही व्यक्तिगत काम गर्ने अवसर

प्रेमी-प्रेमिकाको प्रेमालाप गर्ने अवसर

स्त्री-पुरूषले केश विन्यास गर्ने अवसर

घरभित्रका काम गर्ने अवस्रर

घरबाहिरका काम गर्ने अवसर

चित्रकार हो भने चित्र बनाउने अवसर

उपसंहार– नेपाली कविताको फाँटमा राजेन्द्र भण्डारी एक प्रयोगशील र समसामयिक धाराका सफल कवि हुन् । ‘शब्दहरूको पुनर्वास’ कवितासङ्ग्रहकै आधारमा उनलाई उत्तरआधुनिक कवि मान्न सकिन्छ। विविध विषयवस्तुलाई आफ्नो कविताको कथ्य बनाउने भण्डारी एक सरल कवि हुन् । विषयवस्तु जति नै जटिल भए तापनि कवितात्मक प्रस्तुतिचाँहि सरल सुबोध्य र रहेको हन्छ। कवितामा एक प्रकारको अन्तर्लयात्मकता, गेयात्मकता र शैलीगत सचेतता पाइन्छ। थोरै शब्दमा धेरै कुरा बताउन सक्नु नै उनको लेखनगत सामर्थ्य हो। जीवन र जगतको चिन्तनवर्तमानकालीन दुरूहता जटिलता विकृतिप्रति कविले व्ङ्ग्य प्रहार गररेका छन्। उनी यस वर्तमान कालीन स्थितिप्रति असन्तुष्ट, भयाक्रान्त न् भने भविष्यप्रति पनि चिन्तित छन्। उनले सरल र सहज शब्दमा गम्भीर चिन्तन र दर्शनको भाव व्यक्त गरेका छन्। उनका कवितामा पाठक वैचारिक तहमा घोत्लिन पुग्दछ। कविताका प्रत्येक पंक्तिमा गम्भीर भाव लुकेका हुन्छन्। कविले स्थानीय विम्बबाट नै वैश्विक चिन्तन गर्छन्।

प्रमुख सन्दर्भ ग्रन्थ

१. राजेन्द्र भण्डारी- प्वाँखहरू र आकास (सम्पा. निमेष निखिल, निखिल प्रकाशन), हेटौंड़ा, २०६७।

२. दीपक तिवारी- सिक्किमको नेपाली साहित्यको इतिहास परम्परा, स्वरूप र प्रवृत्ति, नाम्ची, श्रीमती रमा            तिवारी, २०१३।

३. दिलकुमार प्रधान (सम्पा.), आधुनिक भारतेली नेपाली कविता, दार्जिलिङ, मनमाया प्राकाशन,२०१२.

४. दिवाकर प्रधान- कविताका कुरा, गान्तोक, जनपक्ष पर्काशन, २०१३।