पत्रकारितामा क्षमता खोजिरहेका बाँस्कोटा कवि पनि हुन् । खोज पत्रकारिता गर्ने बाँस्कोटा घुम्नकै लागि जन्मेका हुन कि भनूँजस्तो लाग्छ । पूर्वी पहाडको कुनाकन्दरा भीरपाखा, चौरी, खर्क, फूल तथा मानवीय क्रियाकलापमाथि लेन्स घुमाइरहेका हुन्छन् । कहिले निकै विवादमा तानिन्छन् ।
फेदेनमा सालनाल गाढेर पान्थरे अन्न पानीले बनेको शरीर कुनै फेदेनी साहित्यिक कार्यक्रममा नदेख्नु उनको लेन्सले पान्थरे इलामे झापाली पूर्वेली कविको तस्वीर खिचिक्क नगर्नु अचम्मै हुन्छ ।

`ढुङ्गाको प्रेममा´ सत्ताइस वटा कविताको एक सङ्ग्रह हो । `बगिनेछ निरन्तर’ आशावादी कविता हो । शून्यबाट उठेर बाधा व्यवधान अड्चन तोड्दै बग्ने पानी जस्तो छ जिन्दगी । आँसु र दुःखले कहाँ छेक्छ र यो जिन्दगीलार्इ ? माटो चिरेर उम्रिने, पानी काँडा बोकेर फुल्ने फुल जस्तो छ जिन्दगी । सुखीभन्दा खुशी हुनु भन्छन् कवि ।अलिक बढी आदर्शवादी छन् । प्राप्तिभन्दा पुण्य जाती भन्छन् । अनुभवभन्दा गणित कमजोर हुन्छ भन्ने कविको दावी छ । प्राप्ति सपनाको परिणाम हो । पुण्य हिन्दु दर्शन हो । पुण्य हुनेले गर्ने हो । पुण्यले सपनालाई छेक्छ । कवि पुण्यले ईश्वर प्राप्ति चाहन्छ । विरोधाभास देखिन्छ । उठेर दौडन प्राप्ति चाहिन्छ । समृद्धि खास आर्थिक सामरिक समृद्धि हो । सामाजिक नैतिक त्यसपछि आउँछ । समृद्धिको आंशिक व्यधान धार्मिक दर्शन पनि हो । गणित तथ्यमा आधारित हुन्छ । अनुभव भोगाइमा हुन्छ । भोगाइ नै गलत भयो भने भोगाइको गणित स्वयम् गलत हुन्छ । त्यसकारण गलत हुँदा गणित मात्र होइन भोगाइ पनि गलत हुन्छ । गणितीय गलतले समृद्धि सम्भव छैन । सुखी केमा हुने ? खुसीको मापदण्ड परिवर्तित छ समयको ग्राफमा । कवि सोच्छ उसलाई प्रेम गर्नु भ्रम रहेछ । यो वैयक्तिक कुरा हो ।

`ढुङ्गाको प्रेम´ कविता शीर्ष कविता हो । कवि आफ्नो प्रेमिकालाई साथमा लिएर पहाडी यात्रामा निस्किन्छन् । प्रेमको निम्ति आगोसँग खेल्छन् । नदी समान रुन्छन् । गुफामा रात बिताउँछन् । गोठाला साक्षी छन् । प्रेमको यात्रालाई, कवि क्रान्तिकारी प्रेम यात्रासित तुलना गर्छन् । प्राकृतिक ढुङ्गाको सुन्दरताले प्रेमिका ढुङ्गा भएकी छन् । मानव प्रेमभन्दा प्रकृति प्रेममा कवि अल्झी गएको निचोड छ । उनकी प्रेमिका ईश्वर तथा प्रकृतिमा भुलेकी छन्, जुन कुराले कविलार्इ दुखी बनाएको छ ! इमानमा ऊ बाँचिरहेको छ । कविको उदार प्रेममा स्मृति मात्र हात लाग्छ । नोस्टाल्जिक छ कवि । पहाडी सौर्न्दर्यको रसपान, भीर मौरी अवलोकन, गुफा बिहार ,तोङ्बा सुकुटी सेवनले समाजलाई प्रेमको साक्षी बनाएर किनारामा राखेका छन । प्रेममा सांसारिक भोग विलास पनि छ । अन्त्यमा प्रेमिकाको मन नफिरेपछि, ढुङ्गा भएपछि कवि पनि ढुङ्गा सदृश भएका छन् । पानी हुँदा न बोरा भिज्ने हो । जवानी रहिन्जेलको प्रेम बाली रुङ्ने बुख्याचा भएको धारणा छ उनकी प्रेमिकाको । जीवन भ्रमले निर्मित रहेको उनको विश्वास, भ्रममा पणिरत भएको इलुजन छ । यो कविताको लेन्थ र घनत्वले कविको काव्य शक्तिलाई दर्शाउछ । आफू पनि पालुवा फेर्ने, रहर फेर्ने उनको चुनौती छ ।

`समाजवादको यो यात्रा´कविताले लोकतन्त्रमा पूरा गर्न नसकिएका प्रतिज्ञाबारे सम्झाएको छ । बेथिती, विसङ्गति, अभाव, गरिबी, अपूर्ण स्वास्थ्य प्रशासनिक सेवाबारे बोलेको छ । कविमा ज्वार छ । राजनैतिक समाजवादको निर्दिष्ट अवयवहरूबाट लोकतन्त्र विमुख हुँदै गएको भान छ । यो थोरै काव्यिक भैदिएको भए अझ सुन्दर हुन्थ्यो ।

`युद्ध र म’ कविता युद्धमा हिँडिगएको एक योद्धाले प्रेम र युद्धलाई जोखेर युद्ध प्रेमभन्दा महान भएको ठहर गरेको छ । बाँचे प्रेमी होइन्छ, मरे शहिद भइन्छ, पिर नमाने हुन्छ, ऊ प्रेमिकालार्इ यसरी सम्झाउँछ । युद्ध मानिसको बाध्यता हो रहर होइन भन्छ । कवि ज्यादै आदर्शवादी भावुक भएको छ । सुन्दर काव्यिक, विम्बात्मक, प्रतिकात्मक पङ्क्ति सुसज्जित छन् ।

`कावेली´कविता लिम्बुवानी सभ्यताको श्रोत, काबेली नदीको विहङ्गम महिमा छ । कवि यति भावुक भर्इ गएका छन । विम्बात्मक अनुभूतिमा कावेलीलाई भावनाको गहिराइमा डुबाएका छन् । शिल्प शैली काव्यत्मक छ । प्रकृतिको महिमाको मखमली ओड्ने ओड्याएका छन ।

`अन्तिम कप कफी ´ एक कप कफी पिउँदाको आत्माको समवेदनालाई कवितामा उतारेका छन् । भावात्मक बतासको झोका छ । स्थानिक सुम्हालुङ साक्षी छ । एक झुलुक हेराइले निर्माण गरेको हृदयको गहिराइको नाप छ कवितामा । आफैँलाई यादहरूको जङ्गलमा छोडेर हिड्छन कवि ।

मनराज शेर्मा

`सम्झौटोको स्वर´ कविता अर्को प्रेम कविता हो । बालुवाले पिठिउँ माडेको असारमा हिलो खेलेको, लिङ्गेपिङमा अन्ताक्षरी खेलेको, चिमटेको ग्राम्य विम्बहरूको प्रयोगमा काव्यको रस निर्माण गरेका छन् ।

बदाम खाँदै प्रेमिल भएको काउकुती लगाएको बालापनदेखिको नोष्टालजिक भावनाहरूको नदी छ । सँगै खेल्दै बस्दैमा जीवनले प्रेमको भारी बोक्दैन । जीवनको मार्ग अलग हुन्छ नै ।

`भगवान्लाई पनि किन्ने´कविताले ईश्वर आस्थाको केन्द्र हुन्छ, पैसाले खरिद गरिने नीजि वस्तु होइन भन्छ ।

`भविष्यतिर फर्किएका छौँ ´ एक आशावादि कविता हो । क्षितिज हेरेर उभिने आँट छ । सपना लुट्नेहरूसँग मर्मत गरेर अभावहरू बढ्नु छ अघि । सब चिजबाट हारेर पनि त्याग्नु छैन सपनाको बाटो ।

`पृथकता´कविताले स्थानिक सौदर्य नै अरूबाट फरक देखाउने चिज हुन्, जुन अरूसँग नहुन सक्छ भनेको छ । ग्रामीण जीवनको रम्यतालाई अद्भूत प्राप्ति मानेका छन् । महिलालाई गोठ बारी, घरकै घेरामा सुन्दर देख्नु चाहिँ पुरुषवादको अपेक्षित दृष्टि पनि हो कि। महिलाको बाहिरी सौन्दर्य र सहरिया सभ्यतालाई स्थानिक किसानी घरैया क्रियाकलाप र उत्पादनसँग तुलना गरेर कम सौदर्य कम महत्वपुर्ण भन्छन कवि । कवि बढी आदर्शवादी पुरातन चैतन्यको मोहमा जकडिएको भन्न सक्छन् । स्थानिक सौदर्य ग्राम्य परिवेश आफैँमा महान र उच्च छ तथापि यसको आफ्नै सिमा पनि छ । समकालीन पुरुषको सहरिया जीवनप्रति कवि मौन छन् ।पुरुष चाहिँ ठिक हो भन्ने बैचारिकी छ । कविले स्वार्थी राजतन्त्र र गणतन्त्रको होस् भनेबाट गणतान्त्रिक मुलुकमा राजतन्त्र हुँदैन र यी स्वार्थसँगको गणतन्त्र खोजेको होइन भन्ने हेक्का कविमा नभएको देखिन्छ । राजतन्त्र फालिसकेको बेला यसको स्वार्थ सर्बथा अनुचित भएको प्रमाणित भएको बेला कविले किन यो सन्दर्भ जोडे उदेक लाग्दो छ । प्रश्न उठ्न सक्छ उनीमाथि । गरीबसँग हारेको भन्ने प्रसङ्ग छ । को हार्यो र गरीबसँग ? गरिबीसँग होला ! गरीब असह्यहरू हारेर नै यो गति छ । ग्राम्य जीवन नस्विकार्ने सहरिया तरुनीसित प्रेम बहिष्कार गर्ने कवि परम्परावादी भावनामा बग्ने, आधुनिकता अस्वीकार गर्ने रुखो सुखो ग्रहण गर्ने, अपरिवर्तित वैचारिकीको पृष्ठ पोषक देखिन्छ । जो परिवर्तनको बाधक पनि देखिन्छ । तथापि ऊ सांस्कृतिक परम्परावादी, रुढवादी, प्रकृतिवादी समेत प्रतीत हुन्छ । यो धारणा उत्तरवर्तिको ग्लोबलाइजेसनको अस्वीकार पदावलीबाट प्रभावित देखिन्छ, जो आलोचित सांस्कृतिक चिन्तन हो । चप्पल धेरै अघि विकास भएको हो नलाउनु व्यक्तिगत रुढता वा ऐच्छिक हो । त्यो बेलाको इच्छाको वा पहुँचको समाज शास्त्रको सामाजिक दुनियाँ मात्र हो । त्यो चेतना अरूमा लाद्नु स्वतन्त्रताको बर्खिलाप हो । पूँजीवाद खुला अर्थतन्त्रको अस्वीकार हो । कवि हिँड्दैन उभिरहन्छ । बरु फर्केर अध्याँरोभित्र छिर्छ । ढुङ्गाको प्रेम हो नि त ।

`सम्झनाको कथा´कविताले सम्झना कागजझैँ च्यात्तिएका, रहेकाहरू पनि कथा भर्इ गएका सपनाहरू, रहरहरूपछि छोडिगएको भोगाइहरू, बदलिगएको सन्दकपुरको हिउँले सम्झनालाई बल्झाएको नमिठो नोस्टाल्जिया छ । आखिर जो बाँच्नु छ ।

`अँध्यारोमै जून टल्किन्छ´कविताले सत्तामा आसीनहरूको नैतिक मूल्य च्युत भएपछि बिद्रोह सुरु हुन्छ ।

`बिहानीको बात´ कविता आशावादी उद्घोषले भरिएको, निरुद्देश्य गन्तव्य चुम्न हिँडिने यात्रा हो । पहिरोको ढुङ्गाले पनि पाउँछ अडिने ठाउँ । एउटा असिम विश्वास छ ।

`विरोधाभाष´कविताले एक असल नागरिकको मनमा अन्याय विरुद्ध लड्ने कि रेमिटान्स भित्र्याउन अरब जाने ? एक जटिल मोडमा आफूलाई पाइरहेको देशको स्थितिको चित्र बोल्छ ।

`जुनकिरीको गीत´ले हिमालको गीत खोज्नेलाई जिन्दगीको गीत गाउँन अभिप्रेरित गर्छ ।

`ल्याम्पपोष्ट र भगेराको गीत´मा रुन भनेर हिँडेको कवि अरूको आँसु देखेर आफ्नो आँसु लुकाएर फर्केको समय छ । खेतहरू परिश्रम पर्खेर बसेका छन् तर यता समय पासपोर्टमा भविष्य खोजिरहेको यथार्थ छ ।

`कथाहरूको संवाद´ले आफू न बुद्ध हुन सकेको न योद्धा हुन सकेको दोधारमा बाँच्नु परेको बाध्यता छ ।

`र,तिम्रो लागि´प्रेम र युद्धमा सब जायज हुन्छ भन्ने कविको धारणा पछिल्लो चिन्तन होइन । प्रेमी र योद्धाको स्वतन्त्रता, निजत्वको समेत स्थान हुन्छ।

`मौन मर्जी´भावनाको उडानको मौन मर्जी छ।

`नयाँ वर्ष´कविताले नयाँ भन्नु सम्वत मात्र हो मान्छेको दुःख शोषण सपनाहरू परिवर्तित छैनन् ।वितृष्णा छ मानिसहरूमा ।

`सम्झनाको गोरेटो ´ प्रेमिको सम्झनाले मस्त समय हो । कवि ज्यादा प्रेम गरेर प्रेमलाई गन्तव्यसम्म लान नसक्ने असफल प्रेमी देखिन्छन् । भावुक भर्इ बस्ने, भावनामा बाँच्ने प्रेम चरो लाग्छ । दुखिरहने चोट लाग्छ । चोटमा रमाउने नोस्टाल्जिक लाग्छ ।

ढुङ्गाको प्रेम कठोरताको प्रेम हो । दृढताको प्रेम हो । रुढताको प्रेम हो । अपरिवर्तित समयको प्रेम हो । यो परिवर्तनको लागि कि विस्फोटन चाहिन्छ कि महान कलाकार जो कविका भावनाहरू मात्र हुन् । भावनाहरूले कुँदेर ढुङ्गामा कला भर्ने प्रयास छ कविको । परिवर्तन गर्ने असफल प्रयासमा कविको सपना पनि ढुङ्गा भर्इ गएको छ । र, ढुङ्गालाई प्रेम गर्छ । कविको भावनाहरू बिस्कुन बनेको छ । अटेसमटेस छ । विशृङ्खलित छ।

कविका कविता स्वैरकाल्पनिक उडान प्रशस्त छन् । देवकोटाको स्वच्छन्दवादको मेहेरोलाई पक्रन जोडबल गरेका छन् । कतै भावाना र विचारको घनत्व नमिलेर छताछुल्ल भएको छ । केन्द्रीकृत गर्न असमर्थ भएर फुक्का भएका छन् । विचारमा गहिराइ नपुगी मुक्त छन् । कुण्ठा आक्रोश ज्यादा छन् । वर्तमान राजनीतिक गतिविधिसँग कवि खुसी छैनन् ।

वैचारिक विचलन पनि छ । गणतन्त्र र राजतन्त्रको भेद कविले खुट्ट्याउन सकेका छैनन्, यो दुखको कुरा हो ।

किन यो भावना कविले आत्मसात् गर्यो म छक्क पर्छु ।

हुन त नेपाल अधिराज्य भनेर भाषण गर्ने गणतन्त्रवादी वामपन्थीहरू र डेमोक्रेड्सहरू भएको देशमा यो सामन्य हुन सक्छ । कविलाई मेरो काव्यिक शुभकामना ! आगमी काव्यिक उचाइको लागि ।