साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘बूढो माझी’का सुस्केरा र कविताका प्रतिध्वनिहरू

मुलुकको विगत इतिहासमा घटित रक्तरञ्जित सशस्त्र द्वन्द्वले कुनै युद्ध जितेन । त्यसको प्रतिफल प्रत्युत्पादक रह्यो । विनाश र मृत्यु इतिहासमा त्यसले थोपारेको फोहोर, घृणा र  असीम पीडाको थुप्रो हो ।

Chovar Blues Mobile Size

‘तिम्रा कविता आफ्नै सुन्दर धर्तीका फूलहरूको बखान किन गर्दैन ?

फेरि पनि तिमी मलाई यही प्रश्न गर्छौ,

आऊ, सडकमा पोखिएको रगत हेर

आऊ, सडकमा पोखिएको रगत हेर’’

                      –पाब्लो निरुदा

sagarmani mobile size

कवि विष्णु सुवेदी दोलखाली साहित्यको इतिहासमा कुनै अपरिचित नाम होइन । थुप्रै साहित्यिक संघ संस्थाहरूसित आबद्ध सुवेदीका कतिपय कवितासङ्ग्रह निकै अघिदेखि नै प्रकाशित हुँदै आएका छन् । त्यसैले स्रष्टाका रूपमा मूलतः सुवेदी दोलखालीका असली कविका रूपमा एउटा सुपरिचित नाम हो । उनका ती फूलहरू खै, विधुवा भाउजूहरूको देश, सपनामाथि उभिएर आदि कवितासङ्ग्रहहरू प्रकाशित छन् । ती सङ्ग्रहहरूका अलवा ‘बूढो माझी’  पछिल्लो प्रकाशन हो ।

वि.सं. २०६८ सालमा प्रकाशित ‘बूढो माझी’भित्र जम्मा जम्मी ३४ थान कविता रहेका छन् । मान्छे र उसले भोगेका समय, युगीन समस्या कथाव्यथाहरू नै कविताको व्यापक विषय रहेको कुरा ‘बूढो माझी’मा प्रकाशित कविताहरूबाट स्पष्ट हुन्छ । कविता फगत् कविता नभएर वर्तमान समयका यी कविताहरूमा कविताका पात्रहरू बोलेका छन्, समय र परिवेशहरू बोलेका छन् । शालीन र हृदयभाषी कविका रूपमा चिनिएका विष्णु सुवेदीका कविताहरू मान्छेको मुक्ति, स्वतन्त्रता, स्वाभिमानबारे बोल्छन् , आजको विकराल  सामाजिक र राजनीतिक परिस्थिति र तिनले निर्माण गरी मान्छेमाथि थुपारिएका निर्मम नियति विरुद्ध विद्रोहको विगुल शंखनाद गर्दै नयाँ युगको आह्वान गर्दछन् । राजनीतिक, सामाजिक र सांस्कृतिक समस्याहरू र ती समस्याका कारण मान्छे भुटिएका मारिएका कथाहरूले प्रवेश पाएका छन् । राजनीतिक बेथिति र  विसङ्गतिहरू, समाजमा व्याप्त अन्धा रुढीवाद र समाजले नारी जगत्माथि हेर्दै र गर्दै आएको दुर्व्यवहारमाथि कविताहरू तीव्र व्यङ्ग्य, वाण प्रहार गर्न सफल छन् । यसो भए तापनि विष्णुका कविताहरू कथित प्रगतिशील शैलीमा कुनै नारा घन्काउँदैनन् , हो हल्ला गर्दैनन्  बरु सुस्तरी कानेखुसीका शैलीमा गाउँठाउँको कथा भन्दछन्, मान्छेका व्यथा भन्छन् , गाउँ र सहरका सरल र जटील जीवनशैलीबीच अल्मलिएका युवाहरूबारे बोल्छन् । आधुनिक भौतिक युगमा हुने खाने र निर्धन गरीबहरूबीच गहिरिँदै गएको खाडल झन्झन् विकराल बन्दै गइरहेको छ । मुठ्ठीभर शासक वर्गले आम मानिसमाथि गरिने निर्मम शोषण यथावत छ । आजको साहित्यले बोल्ने विषय भनेको तिनै आम मानिसहरूबारे हो, जो समाजमा निरन्तर लुटिँदै, पिटिँदै र मारिँदै छन् । विष्णुका कविताका स्वर पनि त्यहीँ एकाकर भएर झन् शक्तिशाली भएका छन्,  सप्तकोशीमा तामाकोशी मिले जस्तै । कतै लेखेको थिएँ तामाकोशीमा असला माछा मात्र बग्दैनन् त्यहाँ दोलखाली कविका इन्द्रेणी कविता पनि बग्दछन् । विष्णुका कविताहरू त्यसैका सुन्दर उदाहरण हुन् । यति भनेपछि लामो भूमिका नबाँधी  ‘बूढो माझी’ भित्र  प्रवेश गर्ने हतारमा छु । जानेबुझेसम्म लेख्ने अनुमति यो मनले दिएको हुँदा त्यही अनुरूप गर्ने जमर्को गरिएको छ ।

युद्ध र हतियारको पाठशालाभन्दा समाजलाई शान्ति, समानता, सिर्जना, मेलमिलाप र सद्भाव बढाउने जीवनको नर्सरीमा यी सबै कुराको विजारोपण कसरी गर्ने भन्ने सिकाउन जीवन कै पाठशाला आवश्यक छ । युद्ध र हतियारको पाठशालामा मार्ने, मर्ने, लुट्ने, पिट्ने र हिंसा मच्चाउने शिक्षा दिइन्छ । त्यसका प्रमाणहरू छन् टाढा जानै पर्दैन, दश वर्षे द्वन्द्व कालमा हामीले भोगेको जीवनको तितो यथार्थता हामीसितै छ । त्यसैले युद्ध र हतियारको पाठशाला हैन जीवनको पाठशालाबाट शिक्षा लिऊँ भन्ने भनाइ ‘मेरी आमाको पाठशाला’ले प्रकट गरेको छ ।

दैहिक प्रेम अस्थिर र अस्थायी हुन्छ, त्यसको सट्टा आत्मिक प्रेम स्थायी र मृत्युञ्जय समेत हुन्छ । म त्यही बूढो प्रेमी कविताले पाठक हृदयमा यही सन्देश सम्प्रेषित गर्दछ । ‘पृथक एउटा रहर’ कवितामा कविले सिंहासनमा विराजमान तानाशाहलाई समेत मृत्युले नाङ्गै जमिनमा पछार्छ भन्ने यथार्थ सुनाउँदै आफूलाई समान्य मानिसको मलामी नभई राजा, बादशाह र सम्राटहरूको मृत्युको मलामी जान इच्छा भएको कुरा प्रकट गर्छन् । दुष्ट र कुशासकहरूलाई सत्ताको आसनमा होइन आर्यघाटको चितामा चढाउनुपर्छ भन्ने कविताको उद्देश्य हो । जसलाई कविले कुनै वाक्पटुता र शब्दको अतिशयोक्ति प्रयोग नगरिकनै सरल र प्रतीकात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

टेकबहादुर जिरेल

मुलुकको विगत इतिहासमा घटित रक्तरञ्जित सशस्त्र द्वन्द्वले कुनै युद्ध जितेन । त्यसको प्रतिफल प्रत्युत्पादक रह्यो । विनाश र मृत्यु इतिहासमा त्यसले थोपारेको फोहोर, घृणा र  असीम पीडाको थुप्रो हो । एउटा मान्छे लुटिन्छ, पिटिन्छ अझ भनौँ  बेपत्ता पारिन्छ र मारिन्छ । यथार्थमा ऊ कसैको बाबु, कसैको छोरा, कसैको पति, अथवा कसैको नाति हुन्छ । एकजनाको भौतिक मृत्युमा सयौँ जना र दशौँ जनाको मृत्युमा लाखौँ जनाको जिउँदै जीवनको आत्मिक होम आहुती आखिर त्यही सशस्त्र युद्धले हाम्रो इतिहासलाई दिएको निर्मम उपहार हैन र ? हिटलरले मानव सभ्यताको इतिहासलाई कलङ्कित गर्ने गरी दिएको ग्याँस च्याम्बर जस्तो । जहाँ उसले साठी लाख यहुदीको ज्यान लिएको थियो । ‘फूलमायाको डायरी’ पढ्दा कुनै सचेत र संवेदनशील पाठक नबहुलाई  रहनै सक्तैन । मथिङ्गल मडारिन्छ, र चट्याङ बर्सिन्छ एकसाथ मस्तिष्क र हृदयमा बेहोस हुने गरी । तर के बेपत्ता पारिएको लोग्नेको लास वा सास फूलमायाले पाउली ? उसको माग यति मात्रै हो । अफशोच, राज्यलाई कतै दुख्तैन । कारण ऊ यतिखेर ढुङ्गे देउतामा अनुदित भएको छ । न सुन्छ न जवाफ नै दिन्छ ।

मान्छेका अजस्र शक्तिले जन्माउने समयको गतिलाई दुनियाको कुनै शक्तिले रोक्न सक्तैन । बग्ने नदीलाई बाँध बाँधी रोक्न खोजे त्यसले बाँध मात्र भत्काउँदैन, बाढी चलाउँछ र किनाराहरूलाई समेत भत्काउँछ, बगाउँछ ।  मान्छेको शक्ति पनि नदीजस्तै भएको छ इतिहासका विशिष्ट घडीहरूमा । १०४ वर्षे राणा शासन फाल्यो । तीस वर्षे पञ्चायत फाल्यो । २४० वर्षे जब्बर राजतन्त्र समेत फाल्यो । यी सबै घटना जनताको एकत्रित शक्तिले नदीको रूप ग्रहण गरेको बेला भएको थियो । कवि सुवेदी प्रश्न तेर्स्याउँछन्,

म नदी, रोक्ने तिमी को ?

म नदी, छेक्ने तिमी को ?

मान्छेका रहर र तृष्णाहरू हुन्छन् जिन्दगीमा ती कति पूरा हुन्छन् कति अधुरै रहन्छन् । तर जीवन एउटा यात्रा हो – अनन्त यात्रा । यात्राका उद्देश्यहरू हुन्छन् ‘‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ’’ महाकविले चानचुने वाक्य बोलेका थिएनन् त्यस बखत । आज जमिनमा गुड्ने, महासागरमा पौडने र दूर आकाशमा उडेर चन्द्रमा छुने मान्छेका आकाङ्क्षाहरू यथार्थमा परिणत भएका छन् तर हिँड्नु जीवनको विशुद्ध लय हो । कवि सुवेदी भन्छन्–

‘‘…हिँडदा हिँडदै बाटो नसकिँदै जीवन सकियोस्,

  कति सुखद् हुन्थ्यो होला त्यस बखत ’’

मान्छे अन्याय, अकर्मन्यता, मुर्दा शुन्यता, जडता र समयको विद्रुपताप्रति असहमत हुँदै त्यस विरुद्ध विद्रोह गर्ने जात हो । त्यसैले स्वभाविक रूपमा घन्किन्छन् जिन्दावाद र मुर्दावादका नाराहरू । सायद् हाम्रो युगमा घन्किएका सर्वाधिक नारा पनि यिनै हुन् । न्याय र अन्याय, सत्य र असत्यबीचका युद्धहरूमा पनि यी सदा घन्की नै रहने छन् । सत्य, न्याय र स्वतन्त्रताका लागि लडिएका लडाइँहरूमा अन्ततोगत्वा मान्छेले अन्याय र अधर्म, दासता र दमनका विरुद्ध सधैँ जीतबाजी हासिल गरेको कुरा इतिहास आफैँ साँछी छ । तर आजको युग जिउँदा मान्छेहरूका अभावमा मुर्दाहरूले शासन गरेको र हाम्रो जीवनमाथि नै हलीमुहली गरेको समय हो । सबै मौन छन् र मुर्कट्टाहरू हाम्रा आँखा झिकी रहेका छन् मानौ जीवनको सबैभन्दा ठूलो पहिरो थाहै नपाइ भत्किरहेको छ । यो कवि रन्थनिएको र बहुलाएको समय हो । आत्मपराजितहरू, सत्ता र शक्तिका पछि लागेका आजका स्वार्थी, निच, पातकी, तर शक्तिका आसनमा रहेकाहरूलाई वरिपरि देख्दा कवि आफूलाई मुर्दाहरूको बीचमा पाउँछन् । मुर्दाहरू जो आफूलाई नेता भनाउँछन्, र ती पछि आउरेबाउरे धुपौरेका रूपमा स्वार्थवश् झुसिल्किराझैँ लाम लागेकाहरूबाट देश र जनताले कुनै गतिला कार्य सम्पन्न होला र परिवर्तन होला भनी आशा गर्नु बालुवा पेलेर तेल निकाल्नु जस्तै असम्भव कुरा हुन् । किनभने देश विकास र जनकल्याण उनीहरूको शब्दकोश र एजेन्डामा छँदै छैन । त्यसैले दासै दासहरूका बीच एक्लो स्पार्टकस जसले रोमन जर्नेलको छातीमा तरबार रोप्ने हिम्मत गरे र मानव सभ्यताको सबैभन्दा पहिलो विद्रोह, दास विद्रोहको अगुवाइ गर्न सहास गरेझैँ कवि सुवेदी मुर्दाहरूका बीच एक्लै कुर्लन्छन् यसरी

‘‘मुर्दाहरूको विरुद्ध, मुर्दाहरूको बस्तीमा

अरू कोही हुनुहुन्छ ?  मुर्दाहरूको विरुद्ध बोल्ने ?’

आजको मसाने शून्यता विरुद्ध यो कुनै बकम्फुसे र भुइँफुट्टा धमास हैन, यो केवल मुर्दाहरूलाई मात्र च्यालेन्ज हैन, मुर्दाहरूको शासकीय हलीमुहलीलाई टुलुटुलु हेर्दै सही रहेकाहरूलाई समेत दुख्ने गरी घोचेका सुई र सुइराहरू हुन् उपर्युक्त कविताका एक एक अंशहरू । यसरी नै ‘सात दोबाटोमा टाउकाहरू’ यस सङ्ग्रहभित्रको रोचक कविता हो । साँघुरो अर्थमा यो चरिकोटे सातदोबाटोको शब्द चित्रण हो  भने फराकिलो दृष्टिमाभन्दा देशकै । कवि सुवेदीको उपर्युक्त कविताको शीर्षक पढ्दा मलाई नेपाल खाल्डो भनिने मुलुकको नयाँ सडक र त्यसैको मुटुमा गतिशील अतीतको पिपलबोटको नोस्ट्यालजिया स्मृतिमा बिउँझिन्छ । जहाँ उद्देश्य र निरुद्देश्य बोकेका दुवै खाले मानिसहरू, सुन्ने  र सुनाउनेहरू, नेता र तिनका धुपौरेहरू र कन्सुत्लेहरू अनि विश्वविद्यालयका शिक्षक र तिनका विद्यार्थीहरू साँझपख सडकै ढाक्ने गरी जम्मा हुन्थे । अचेल चरिकोटको सातदोबाटो पनि त्यस्तै गुल्जार छ । बिहान बेलुका दिउँसो सबै बेला । लाग्छ, जीवन सधैँ  चलिरहेकै छ । चाहे महाभूकम्पले घर ढलोस् वा दोलखा भिमसेनको ढुङ्गे मूर्तिमा खलखली पसिना बगोस् । चरिकोटे सातदोबाटोमा भएको भीड र भेला उस्तै छ ।

भीरको फूल मान्छेको सङ्घर्षशील जीवनको प्रतिकात्मक चित्रण हो । कहालीलाग्दो भीरको थुम्का थुम्कीमा फुल्ने फूल जति सुन्दर हुन्छ, सङ्घर्षशील जिन्दगीको मानवीय कथा व्यथा पनि उत्तिकै मार्मिक भएर सुनौँ सुनौँ र हेरौँ हेरौँ जस्तो सुरम्य र सुन्दर हुन्छ । कविले मान्छेको असह्य पीडा र उसले भोगेको नियतिलाई हेर्दा र ती सबैबाट खारिएको उसको जीवनलाई बुझ्दा कतै मान्छेको जीवन पनि त्यहीँ भीरमा फुल्ने फूलजस्तै हो कि त भन्ने लाग्छ ।

‘‘जोगी बन्न भनेर राजनीतिमा लागेको होइन’’ यो पञ्चायतकालीन एकजना मन्त्रीले उबेला बोलेको चर्चित भनाइ हो। मान्छे स्वाभाविक रूपमा महत्वाकाङ्क्षी हुन्छ । जीवनयात्राको दौडबाजीमा कति मानिसमाथि चढ्न सफल हुन्छन् तर माथि चढ्नु नै अन्तिम र सार्थक सफलता भने होइन । चुचुरोमा पुगेपछि नहल्लिनु, नत्र सिसिफसको ढुङ्गोझैँ बल्ड्याङ खाँदै पहिलेकै ठाउँमा पुग्न बेर लाग्दैन । बुद्धिमानहरूले भन्दै आएका कुरा हुन् । आजको समय र यसले बेहोरिरहेको मुलुकको राजनीतिकै उदाहरण नै हेर्ने हो भने पनि यो दृश्य छर्लाङ्ग हुन्छ । त्यसैले कवि आफूलाई मान्छे हुँ भन्नेहरूसित प्रश्न गर्छन् –

 तर कति टिके हँ जीवनको भीरमा,

 आफूलाई मान्छे भन्नेहरू ?

बूँद रानाको कविताले भन्छः

बग्न जाने मेची काली हो जिन्दगी

बग्न नजाने टुकुचाको नाली हो जिन्दगी ।

स्पष्टै छ सत्ता र शक्तिको शिखरमा पुगेकाहरूसमेत त्यहाँबाट सिसिफसको ढुङ्गा झैँ बल्ड्याङ खाँदै सबैभन्दा दुर्गन्धित  टुकुचाको नालीमा मुख गाड्न पुगेका छन् ।

‘आरोपित बोक्सी आमाहरू’ मा समाजका शोषणजन्य दरिद्रता र दरिद्रताजन्य विवशता अनि कथित साना जाति भनिने नाममा मान्छेले मान्छेमाथि गरिने घृणा र अन्यायको पर्दाफास गरिएको छ । ढोँगी समाजको भर्त्सना गर्दै उछितो काढिएको छ । समाजका दलित र  अन्ध रुढिवादी संस्कारबाट अभिशप्त महिलाहरूलाई विद्रोह गर्न झक्झकाएको छ । आफ्ना लागि मात्र नभइ भावी सन्तान र दरसन्तानको स्वाभिमान र स्वतन्त्रताका लागि पनि सङ्घर्ष गर्नुको बिकल्प नरहेको कविताका प्रष्टिएको छ ।

‘बाटोको आत्मकथा’ अत्यन्त नोस्ट्यालजिक छ । अतीत स्मृतिको दस्ताबेज कवितामा आफैँ बोलेको छ । यस्तो दस्ताबेज जसका पन्नाहरूमा बटुवाहरूका खुसी पीडाका कथा र बेथाहरू हाँसो र रोदन अनि सुस्केराहरू सबै सबै सँगालिएका छन् । समय गतिशील हुनका साथै जीवन परिवर्तनशील छ तर आजको जीवनको जग हिजोको चट्टानमाथि नै उभिएको कुरा बिर्सनु हुन्न । अतीतलाई चटक्क बिर्सने क्रममा जीवनलाई अपाङ्ग र अपूर्ण बनाउने खेलमा मान्छे आफैँ लागेको आरोप बाटोको आत्मकथामा  प्रकट गरिएको छ । वास्तवमा अतीत, वर्तमान र भविष्य भन्नु अनन्तः निरन्तरताको एउटा सिङ्गो नाम हो । जोडिएकै हुन्छ ।  जीवनलाई विच्छेदन गर्न खोजेमा अघि भनेझैँ यो अपाङ्ग अपूर्ण र अस्पष्टसमेत हुन बेर लाग्दैन । बाटोको आत्माकथा मार्फत कविले मानिसलाई पुराना इतिहासको हेक्का राख्न र अतीतको आलोकमा वर्तमानको यात्रा तय गर्न सचेत गराएका छन् ।

यसरी नै ‘छिमेकी’ कविता कवि हृदयको अत्यन्त संवेदनशील भावनाद्वारा आरेखित कविता हो । हाम्रो छिमेकी हामीभन्दा शक्तिशाली छ , हामीप्रति उसको वक्रदृष्टिकोण छ, थाहा छैन हाम्रो नदी हाम्रो भूमि माथिको उसको हस्तक्षेप कति समय रहने हो । छिमेकी असल नहुनु त्यसमा पनि शक्तिशाली हुनु सायद हाम्रो ललाटमा कोरिएको सबैभन्दा ठूलो अभिशाप पो हो कि त, त्यसै कवि भन्छन्ः

म तर्सिरहेको छु जहिल्यै त्यो छिमेकीदेखि

कुनै दिन शरणार्थी हुने डरले

‘बूढो शिक्षक’ अत्यन्तै मार्मिक कविता हो । मानव सभ्यताको जुनसुकै युगमा पनि शिक्षक सम्मान, अपमान, पीडा र खुसी उत्तिकै भोग्ने विवश एउटा अजीव प्राणी हो । हाँसीहाँसी हेम्लक विषपान गर्ने सुकरातदेखि एकतन्त्रीय निरंकुश राणाशासनलाई भयानक चुनौती दिँदै फाँसीमा झुण्डिने शुक्रराज शास्त्री र बरपिपलको रुखमा बाँधिएर निशृंशतापूर्वक मारिएका मुक्तिनाथ अधिकारीहरू मरेर पनि मान्छेका मनमुटुमा सबैभन्दा जीवन्त बनेर चम्केका छन् । बूढो शिक्षकमा कवि सुवेदीले एउटा शिक्षकको जीवनको विवशताका साथै उनले पढाएर विद्वान बनेकाहरूका बीचको कहालीलाग्दो खाडलको चित्रण गरेका छन् । तर शिक्षकले आफ्नो धर्म अनुरूपको कर्म त्यागेको छैन । निरन्तर उज्यालोको खेती गर्ने कर्ममा अभ्यस्त छ । प्रश्न गर्न सकिन्छ । शिक्षक नहुँदा हुन् त अँध्यारोमा बत्ती बाल्ने पथप्रर्दशक संसारमा अरू को हुन्थे होलान् ? अक्षरको खेती गर्ने र उज्यालोको किरण छर्ने शिक्षक मान्छेको समाजमा सिङ्गै देखिने एउटा महामानवको अर्को नाम हो । बाँकी अरू त सबै ती महामानवका पछि जोडिएर आउने तपसिलका पङ्क्तिबद्ध नामहरू मात्र हुन् ।

‘नरोक्नु त्यो ताँतीलाई’ कवितामा एउटा रोक्नै नसकिने मानव विद्रोहको आँधीको चित्रण छ । मान्छे सहने हदसम्म प्रतिकुलता र अव्यवस्था सहन्छ । सीमा नाघेपछि त्यस विरुद्ध विद्रोह गर्नु उसको जन्मजात स्वभाव हुन्छ । अन्यायपूर्ण शासन सत्ताका विरुद्ध मान्छेले छेडेको विद्रोह र तिनका सफलताका गाथाहरू यसै भन्छन् । मान्छे जागेपछि उसले बादशाहलाई सिंहासनबाट खसालेरै छोड्छ र मुक्ति र स्वतन्त्रताको नयाँ युग भित्र्याएरै छोड्छ । त्यसैले विद्रोहमा जागेर उठेको मान्छेको ताँतीलाई नहेप्नु, नछेक्नु, नरोक्नु भन्दै कवि सुवेदी तानाशाहहरूलाई आदेश फर्माउँछन् ।

‘ईश्वर भ्रम’ कवितामा कविको ईश्वरप्रतिको वैयक्तिक दृष्टिकोण भन्दा पनि ईश्वर र ईश्वरको अस्तित्वको नाममा फिँजाइएका भ्रमजालहरूप्रति कठोर व्यङ्ग्य छ । ईश्वरको नाममा ढुङ्गा पुजिन्छ, आँखाले देख्तादेख्दै ईश्वरका नाममा मान्छेसमेत पुजिन्छन् आखिर हो के ईश्वर ?  ढुङ्गा हो ? मानव निर्मित शालिक ईश्वर हो ? या ईसा, महोम्मद, बुद्ध, राम र कृष्ण ईश्वरका रूपहरू हुन् ? ईश्वरबारे यति धेरै अकथनीय कथाहरू कसले बनाए ? के ईश्वरले आफ्नो स्वरूप आफैँ देखाउन सक्तैन ? कविलाई ईश्वरका नाममा गरिएका कर्मप्रति हाँसो उठ्छ आखिर यस्तै भ्रम र भ्रमिका सिर्जना गरेर मान्छेले कथित ईश्वरलाई आफ्नो काँधमा बोकेको कविका शब्दमा पूरै ईश्वर भ्रम हो, अँध्यारोमा नदेखेको कालो बिरालो देखेको कथाजस्तै हास्यास्पद कुरा हो ।

‘फोटो बिनाको फ्रेम’ मा कवि वर्तमानप्रतिको घोर निराशा पोख्छन् । भित्ताको किलामा झुन्डिएको फ्रेम रित्तै छ, किन ? कारण सम्मान गर्न लायक मर्यादा पुरुषहरूको देशमा खडेरी परेको छ । कविको हृदयरूपी फ्रेममा फिट हुने आस्थाका नायक कोही रहेनन् । एक दृष्टिले निराश भएका कवि आफैँलाई ढाडस दिँदै अन्त्यमा भन्दछन्ः

कसो नजन्मिएला एकदिन

बुद्धजस्तै मान्छे

सुकरातजस्तै मान्छे

गान्धीजस्तै मान्छे

‘जिन्दगी बूढो उमेर’ कविता यस सङ्ग्रह भित्रको अर्को मार्मिक र पठनीय कविता हो । यसमा लामो र कष्टसाध्य जिन्दगीले भोगेका अनुभवहरू छताछुल्ल पोखिएका छन् । जीवन उसै त गुलाफको ओछ्यान होइन यो कण्टकमय छ । क्रान्तिकारी भनिने अङ्ग्रेज कवि पि.बि. शेली एक ठाउँ यसरी रुन्छन्ः “I fall in the thorn of life, I bleed”  अर्थात् म जीवनको काँडामा पछारिन्छु रक्तम्य बग्छु । त्यसो त कवि यस जगत्का यस्ता प्राणी हुन् जो अरूले नबोल्ने भाषा बोल्छ, अरूले नदेखेको देख्छ, र अरूले नसुनेको सुन्छ । देवकोटाले विश्व मानचित्रमा सानो विन्दुजस्तो देशलाई विशाल देखे , अझ स्वर्गभन्दा महान् देखे । सेक्शपियरले सिङ्गो संसारलाई नाट्यशाला देखे । माथ्यु आर्नोल्डले रातको चकमन्नतामा सामुद्रिक छालहरूसित चट्टान टकरिँदा र छालहरूको आरोहअवरोहमा मानवीय पीडा र सुस्केराका धुनहरू सुने । अझ हिन्दीका अनुप जलोटाले त समुद्र आफैँ तिर्खाएर पानी पानी भन्दै चिच्याएको कुरा गीतमा सुनाएका छन् । यसरी कवि सुवेदी कवितामा भन्छन्ः

मन न हो

सधैँ जसो पहिरो स्वीकार्दा

जिन्दगी त मैदान हुँदो रहेछ

फाँट हुँदो रहेछ

प्रजातन्त्र, जनतन्त्र, समाजवाद, साम्यवाद वा गणतन्त्र जेसुकै भनियोस् नेपाली समाजको टाउकोमाथि शोषणको जाँतो घुमेको घुम्यै छ त्यही जाँतोमा अचेल सत्ता र शक्तिमा रहेकाहरू लाखौँ मनका सुन्दर सपना र भावनालाई चक्नाचुर पार्दै पिसिरहेका छन् । शोषणको यो पृथ्वी जत्रो जाँतो कसरी थाम्न सकेको होला हँ देशले । उपाय केही नदेखेर होला कवि ती सत्ताधारीहरूलाई यसरी सराप्छन्ः

यो टाउकोमाथिको जाँतो

एक दिन कसो नघुम्ला

तिनीहरूकै टाउकामाथि

एउटा समय थियो जुनबेला पहाडमा देउराली पुजिन्थ्यो, मान्छे देउरालीको गीत गाउँथ्यो त्यहाँ देउराली नपुजिने फूलपाती वा स्याउली नचढाउने ठाउँहरू नै थिएन । चौतारी र देउरालीहरू बटुवाले पसिना पुछ्दै बिसाउने ठाउँमात्र थिएन । प्रेमले पुजिने ठाउँ पनि थिए ती । प्रेमी प्रेमीकाले एक अर्काप्रति अङ्कमाल गर्दै कसम खाँदा मौन साक्षीका रूपमा त्यहाँ देउराली उभिएकै हुन्थ्यो । तर आजको संवेदनाहीन भौतिक युगमा मान्छेले देउरालीको सांस्कृतिक महत्त्व बिर्सदै गएको छ । अतीतको स्मृति समेटिएका हाम्रा चौतारी र देउरालीरू माथि भीमकाय बुलडोजर चलाइ रहेछ । ती ध्वस्त पारिँदै छन् यसरी । बैसालु मनका प्रेमील कामना गर्ने आस्थाका मन्दिर थिए । देउरालीहरू उहिले । गीतै थियोः

 माथि माथि उकालीमा देउरालीलाई पाती,

देखेपछि माया लाग्छ नदेखे कै जाती

कवि स्मृतिदम्सित भई  भक्कानिन्छन् यसो भन्दैः

‘‘देउराली एकातिर

र उमेर एकातिर

अनि देउरालीमा उमेरहरू’’

कठै,

अल्वेयर कामुले सिसिफसको पूराकथा लेखे । त्यो आजको कुरा होइन अभिशप्त सिसिफस एउटा काल्पनिक पात्रको नाम हो , कामु आफ्नो कथामा जीवनको अर्थहीनता अर्थात् निस्सारताबारे बोल्छन् , तर अचम्म ! कामुको दृष्टिमा उभिएको त्यो काल्पनिक सिसिफस हाम्रो यथार्थ जीवनमा ‘बूढो माझी’ भएर अझै बाँचिरहेको कुराले हामीलाई आश्चर्य चकित पार्छ । ज्यान हत्केलामा राखेर भोक निद्राको पर्बाह  नगरी दिनरात नदीसित लोप्पा खेल्दै माछा मारेर जीवन निर्वाह गर्ने माझीका सपनाहरू सधैँ बहिगरहन्छन् नदी भएर । उसका दिनहरू हिजो जति अभाव र दरिद्रतामा गुज्रे आज पनि त्यसमा कुनै परिवर्तन छैन । शंका छैन भोलि पनि उसका दिनहरू यथावत रहने छन् यद्यपि यहाँनेर एउटा कुरा भन्न मन लाग्छ । सिसिफसका कमसेकम बलिया पाखुराहरू छन् र नियतिले दिएको कर्मप्रति निरन्तरता दिने धर्मबाट ऊ चुकेको छैन । यसरी नै हाम्रो ‘बूढो माझी’ सयौँ दुःख, पीडा र कष्टका बाबजुद जीवनलाई सदाबहार निरन्तरता दिन सफल छ । ती सिसिफस हुन् वा ‘बूढो माझी’ , कोही पनि आफ्नो कर्म त्यागेर हत्या हिंसा, लुट, बलात्कार र डकैतीको सहारा लिएर जीवन जिउन तयार छैन । आज सत्ताको भर्याङ चढेर दिन दुईगुना रातचौगुना देश र जनताको शोषण गरी  पापका धनले मोटाएकाहरूभन्दा कुन मानेमा बूढा माझीहरू तल छन् ? आफ्ना स्वार्थका लागि ठूलाठालु भनाउँदाहरूको दासता ग्रहण गर्ने जिउँदा मुर्दाहरूभन्दा जीवनभर आफ्ना पसिनाका कमाइ खाएर बाँच्ने ‘बूढो माझी’ कुन अर्थमा कम छ ? दास र भाटहरूका आँखाले दौलतको सहारा लिएर ताजमहल खडा गर्नेहरूलाई मात्र देख्नु कुनै ठूलो कुरा होइन । तर यहाँनेर कवि सुवेदीका आँखाले ‘बूढो माझी’ र उसका जीवनकर्म देख्नु र त्यसलाई कवितामा आरेखित गर्नु एउटा चमात्कारिक कार्य हो । एककदम अघि बढी उनको ‘बूढो माझी’प्रति श्रद्धापूर्वक सलामी अर्पण गर्न मन लागेको छ यतिखेर ।

‘जीवनको झण्डा’ कवितामा कवि स्वतन्त्रता र स्वभिमानको जीवन र उद्देश्यबारे बोल्छन् । अन्यत्रझैँ यहाँ केही प्रतीकहरूको प्रयोग भएको छ । रातो बाटो, रातो बस्ती आदि । जीवन आफैँमा एउटा रातो ध्वजा हो । त्यो बलशाली र ज्यूँदो ध्वजा हो तर रातो ध्वजा भन्दैमा अन्धाधुन्धा मोह राख्नु कुनै अर्थ छैन । पोलपोट र चाउचेस्कुले बोकेको रातो झण्डा अहिले कहाँ पुग्यो । कन्टेनरमा फालिएको झण्डा अबका मान्छेले उठाउने छैन । त्यस्तो झण्डा जहाँ मानवीय अनुहार र प्रेम र सद्भाव प्रतिविम्बित होस् । मार्क्सले भनेको साँचो वर्गीय प्रेमको गीत आरेखित होस् । कुनै जात,धर्म, लिङ्ग र क्षेत्रको आधारमा खडा हुने गुटको झण्डा नहोस् त्यो । एउटा मुक्त चेतनाले जीवनको झण्डा उठाउने मान्छे छापामार भएर जङ्गल पस्तैन र अरूको जीवनको होमआहुती पनि माग्दैन । ऊ जीवनको लागि जीवनको अस्मिता  र स्वाभिमानको लागि जीवनको झण्डा बोक्छ । अनि गाउँछ निर्धक्क भएर मुक्तिको गीत । जुन विटल्सहरूले गाएको imagine जस्तै आत्मरञ्जन गर्ने मुक्तिको अपार स्वर लहरी हुन्छ अनि मुक्त चेतनाले ब्युँझेर मान्छे मान्छेसित एकाकार भई शान्तिपूर्वक बाँच्न सक्छ यो संसारमा ।

‘गाउँ छोड्नु अघि’ शीर्षक कवितामा गाउँले युवकको मनका कल्पनाहरू समेटिएका छन् । चर्नावती र सिन्द्रुपा खोलाझैँ उत्ताउलो भएर हामफाल्दै सहर पसेका कोही पहाडी युवा युवतीहरू सहरको मानव समुद्रमा एकथोपा पानीजस्तै हराउन सक्छन् । ऊ त्यहाँका लागि परदेशी हो आखिर गाउँ र सहरलाई धेरै कुराले फरक पारेको छ । सहरिया जीवन आफैँमा एउटा जटिल संसार हो भने गाउँ या पहाड भन्नु सरलताको अर्को उदाहरण हो । गाउँ एउटा संसार जुन मानवीय संवेदनाले ओतप्रोत भई त्यहाँको जीवन सरल हुन्छ । तर सहर गाउँको तुलनामा निकै अराजक, जटिल र होहल्लापूर्ण हुन्छ । सहरमा हुँदा गाउँको मान्छे, गाउँका प्रत्येक खोला रुखवृक्ष छरछिमेकी बाटोघाटो दाउराघाँस गर्ने भीर पहरा जङ्गल सबै सम्झेर भावुक हुन्छ । गाउँप्रतिको उसको मोह अमिट हुन्छ । सहरको अस्तव्यस्त जीवनशैलीबाट वाक्क भएर गाउँ फर्कने बेला उसको मनमा एउटा त्रास उत्पन्न हुन्छ । कतै हाम्रो गाउँ पनि सहरमा परिणत भएको त छैन ?

‘समयको पुलमा’ कविता पढ्दा पाठकको हृदयमा एउटा हलचल र खुल्दुली स्वतः पैदा हुन्छ । समयको पुल तर्ने मानिसहरू यताउता गरिरहन्छन् । उनीहरूको गन्तव्य विपरीत दिशातिर उन्मुख भए तापनि समयको पुल सँगसँगै तरेका हुन्छन् । यसरी एउटै दिशातिर, एउटै गन्तव्यतिर उनीहरू उन्मुख नरहन सक्छन् । समयको पुल तर्नेहरू वारिपारि हुनसक्छन् । उकालीओराली गरिरहेका पनि हुन सक्छन् । सँगसँगै समयको पुल तर्दा एकपटक भेटिएकाहरू सँग फेरि जिन्दगीमा अर्को पटक कहिल्यै नभेटिन पनि सक्छन् । मनले चिताएजस्तै कहाँ हुन्छ र जीवन । यो एउटा क्रुर नियतिको निर्मम खेल पनि त हुन सक्छ । एउटा प्रसिद्ध हिन्दी फिल्म ‘मुनिमजी’ बाट केही हरफ अनुदित गर्दै साभार गर्छुः

‘‘जीवन पथमा भेटछन् पथिकहरू

केवल बिछोडिनका लागि

ती छाड्छन् अनि झझल्काहरू

एकान्तमा तडपिनका लागि’’

संसार विचित्र छ त्यसैले सेक्शपियरले यसलाई नाट्यशाला भनेको हुनुपर्छ । यहाँ बुद्ध र ईशा मात्र जन्मेनन् । मार्क्स र दोस्तयवस्की मात्र जन्मेनन् र गान्धी मात्र हैनन् गान्धीका हत्यारा नाथुराम गोत्से पनि त्यही युगमा जन्मे । साठी लाख मान्छेलाई ग्यासच्याम्बरमा कुहाउने हिटलरदेखि विरोधीका मुटु कलेजो खाने इदिअमिनहरू जन्मे । शान्तिका दूतहरू जन्मे । क्रान्तिका नायकहरू जन्मे । दुष्ट हृदय र कुरूप विचारका फिल्मी भाषामा भन्ने हो भने क्रुर भिलेनहरू जन्मे । तर मानवीय प्रेम शान्ति र जीवनवादी सोच र विचारहरू कहिल्यै मर्दैनन् । त्यसो हुँदा बहुला विचारहरू र परपीडक सोचहरू भविष्यमा कहिल्यै स्थायी हुँदैनन् । कवि सुवेदी भन्छन्ः

ए विचारमा अराजकता घोल्नेहरू

तिम्रो कारखाना बन्द गर

भोक रेटिरहेको सारङ्गीले अर्कै कथा भन्छ ।

यो सारङ्गी रेटेर विरह गीत गाउने र त्यसैको भरमा जीवन जिउन बाध्य एउटा सडक मनुवाको कथा हो । ऊ सारङ्गीमा गाउँछ , सारङ्गीमै रुन्छ र सारङ्गी मै हाँस्छ । ऊ अर्थात् सारङ्गी । यहाँ भोको मान्छे हैन सारङ्गी रुन्छ सायद् । मान्छेको आर्तनादभन्दा सारङ्गीको धुनले मान्छेलाई तान्छ । भोको मान्छे जब सारङ्गी रेटछ तब सारङ्गी रुन्छ । रेटिनु र रुनु उसको नियति हो जस्तो भोको हुनु र सडकमा हात थाप्नु सारङ्गीवालाको नियति हो । के ऊ खुसी छ ? के ऊ परिवर्तनको गीत गाउन सक्छ ? जवाफ भोको सारङ्गीले मात्र दिन सक्ला । तर जवाफ बुझ्न भोको सारङ्गीको कथा पढ्नै पर्छ । कवि भन्छन्ः

ए मान्छे हो

भोक कस्तो हुन्छ ?

एकपटक भोगेर हेर,

भोकमा कुन धुन निस्कन्छ ।

अन्ध विश्वासको जगमा उभिएको लैङ्गिक विभेद र छुवाछुतको अमानवीय परम्परा विरुद्ध मरेकी रेखा दमाईले समाजका बौद्धिक कानुन वेत्ता आफ्नै जन्मदिने पिता, शिक्षा दिने शिक्षक कथित परम्परागत संस्कृति र धर्मविरुद्ध गरेको जोडतोडको हमला र हस्तक्षेप हो यो कविता । अन्धपरम्परा र कुप्रथाका कारण एउटा असामयिक मृत्यु मरी रेखा दमाई । तर यहाँ मरेकी रेखा दमाईले कथित सभ्य समाज र धर्मका ठेकदारहरूको निद्रा बिथोल्ने गरी उनीहरूमाथि प्रश्नहरूको चट्याङ वर्षा गरेकी छन् । यसरी मरेकी रेखा दमाई स्वयंलाई उभ्याएर कविले धर्म भिरु पुरातन पन्थीहरूको सातोपुत्लो उडाएका छन् । यो जीवन जिउने हकदारीबाट बञ्चित भई मृत्युवरण गर्न बाध्य हजारौँ रेखा दमाईहरूप्रति गरिएको न्याय र सम्मान हो । यसका लागि कविको भरपुर प्रशंसा गर्नै पर्छ ।

‘गाउँ रित्तो छ जेठा’ ले वर्तमान समयको ग्रामीण सामाजिक, सांस्कृतिक विद्रूपता र रिक्तताको चित्रण गरिएको छ । चाहे गरीबी र उत्पीडनका कार्य होस् , चाहे देशमा भएको हत्या हिंसाका कारण वा अन्य जेसुकै कारणले भए तापनि गाउँमा युवा शक्ति रित्तिएको छ । केवल वृद्धवृद्धा, रोगी, अपाङ्ग र थोरै सङ्ख्यामा बालबालिका गाउँमा बाँकी छन् । स्वस्थ र हट्टाकट्टा युवाशक्ति कि सहर कि विदेश पलायन भएपछि तिनका बालबालिकाहरू पनि सहरमा शरणार्थी जीवन बिताउन बाध्य छन् । मान्छे मर्दा गाउँमा मलामी छैन, अर्मपर्म गरेर खेती धान्ने जनशक्ति शून्य छ । खेतबारीहरू बाँझै छन् । गोठहरू रित्ता भएका छन् । गाउँको सामाजिक र सांस्कृतिक जीवन नाङ्गो रित्तो र बिखण्डित हुन पुगेको छः

हो जेठा ढाडमा खर्पने झोला भिरेर

जब लाग्छ लस्कार उकालो ओरालो र तेर्सो

गाउँ नै बिरानो बनाएर

तब भरिएर आउँछ आँखामा आँसु  ।

अनि असहाय र निरीह वृद्धवृद्धाहरूसँगै सिङ्गो गाउँ रुन्छ । पहाड रुन्छ , देउराली भञ्ज्याङ र चौतारीहरू अनि त्यहाँ लहरै उभिएका वरपिपलहरू मानौँ सबै सबै रुन्छन् ।

‘सारथीहरूलाई प्रश्न’ अर्को कविता हो शीर्षक नै सुहाउँदो भएन कि ? को सारथि ? कसलाई भन्ने सारथि कविज्यू ? कथित नेता र कार्यकर्ताहरू जनताका भीडबाट टाढा भएर ती एक्ला टापु बनेका छन् । दास र मालिकमा परिणत भैसकेका छन् । यसबाहेक थप टिप्पणी गर्न चाहन्नँ । आभासका केही पङ्क्तिहरू उद्धृत गर्न चहान्छुः

गोधुलीमा हिँडने एउटा जिउँदो मान्छे

संसार फेर्छु भन्थ्यो

आफैँ फेरिएछ ।

दुनियाँ बदल्ने अभियानमा लागेकाहरू आफैँ बद्लिएपछि प्रश्नहरू सम्बोधित गर्न ती योग्य पात्र रहेनन् । नैतिक पतनको खाल्डोमा उठ्नै नसक्ने गरी पुरिएकाहरूसित के को प्रश्न ?

नारी विद्रोहको आगो ओकल्ने दमदार कविता हो एक लुङ पोते । यसमा म पात्रका रूपमा उभिएकी नारी आफैँमा विद्रोहकी प्रतिमूर्ति भएर वाचल र क्रियाशिल छन् । राजनीतिक क्रान्तिले मात्र मान्छेलाई पूर्णतः मुक्ति दिन सक्दैन । मुक्तिका लागि मान्छेले सांस्कृतिक रूपमा क्रान्ति गर्नु पर्छ र पूर्ण अठोटका साथ आफूलाई मुक्त घोषित गर्नु पर्छ । यस कविताका पात्र विद्रोही नारीले सांस्कृतिक दाम्लाका रूपमा आफूलाई बाँध्ने एक लुङ पोते चुँडाएर सिउँदाका सिन्दुर खोलामा सेलाएर आफूलाई मुक्त गरेको उदाहरण दिएको छ । मलाई लाग्छ ‘मसान’ की हेलेन र  ‘दि डोल्स हाउस’ की नोरा जतिकै विद्रोही र साहासी छन् । ती भन्छन्

बरु मलाई बाँध्ने एक लुङ पोतेको दाम्लो

चुँडाएर आएँ सधैँका लागि

बगाएर आएँ सिउँदाको सिन्दुर

भोक आमा र नानीहरूमा अभाव र गरिबीमा पिल्सिएका जिन्दगीहरू प्राकृतिक प्रकोप र नियतिका पनि निर्मम सिकार भएका उदाहरणहरू प्रस्तुत भएका छन् । कृषि प्रधान भनिएको देशका जेष्ठ नागरिकहरू र तिनका लालाबाला भोकभोकै मर्छन्भन्दा राज्य जिस्काएझैँ ठान्छ । राणाकालीन शासनमा जनता साह्रै दुब्ला र ख्याउटे देखेर राणा प्रधानमन्त्रीले सोधेका थिए रे । ‘‘के तिमीहरू दिनदिनै दुध र भात पनि खान पाउँदैनौ ?’’ कठै आज पनि कुरा त उही न हो । सत्ताको मातले मोटाएकाहरू भोकका कविता के बुझ्लान् र ?

‘भू्रण आवाज’ मा जननीकै हातबाट जमिनमा गाडिएको शिशुको बयान छ । यो कविता पढेपछि  मान्छेको जुनीलाई धिकार्न मन लाग्छ । प्राणको रक्षा र सम्मान गर्न नजान्नेहरू कसरी मानिस भए । मृत शिशुको गवाइले सिस्नुले पोलेझैँ पोल्नु पर्ने होइन र ? यस्ता पाखण्डको पोल खोल्नु पर्ने होइन र ? भ्रूण आवाजमा माटोमुनि पुरिएको शिशुको हृदय विदारक क्रन्दन जिउँदाहरूको कानमा पर्नै पर्छ ।

‘ठिटो घाम’मा प्रकृतिको सजीव वर्णन गरिएको छ । जब घाम लाग्छ पृथ्वीले जीवन गति प्राप्त गर्दछ । अङ्गप्रत्याङगहरू चलमलाउन पुग्छन् । खोला नाला वृक्ष आवाज र चराचुरुङ्गी, भीर, पहाड, खोल्साखोल्सी सबैतिर प्राण सञ्चार हुन्छ । जीवन र जगत् जुरुक्क उठेको र गतिशील भएको दृश्य देखिन्छ । उदाउँदा होस् वा अस्ताउँदा घामको लालीमा पोतेको दृश्य मनमुग्धकारी देखिन्छ । बेलुका अस्ताएको घाम पुनः मुस्कान छर्दै उदाउँछ । कविले ठिकै भनेका हुन् घाम सधैँ ठिटै रहन्छ ।

सुदुर भविष्य वाणीमा कविले एउटा अकल्पनीय कल्पना प्रस्तुत गरेका छन् भविष्य वाणी न ठानियो । त्यस्तै हुन पनि सक्छ नहुन पनि सक्छ । प्रलयको कारण सिङ्गै संसार नरहन पनि सक्छ । तर एउटा कुरा पक्का पक्की छ । एउटासम्म पनि मानिस बाँकी रहुञ्जेल उसको अभिमान र घमण्डले शिर उठाइ नै रहने छ । जस्तो कि त्यस बेला पनि उसले आफूलाई कुनै देवता वा सम्राट घोषणा गर्ने मुर्खता त्याग्ने छैन ।

अन्त्यमा कवि विष्णु सुवेदीका कविताहरू हाम्रा समयका सुन्दर कविताहरू हुन् । आजको जीवन र जगत्बारे मानवीय पीडा र हाम्रो समाजले मुकाबिला गर्नु परेका आधुनिक जटिलताबारे साहित्यका एक कुशल प्रवक्तालेझैँ  सत्य कुराहरूको उजागर गरेका छन् । यी यस्ता सच्चाइहरूको अध्ययन गरी समाजलाई नयाँ युगमा प्रवेश गराउने अब राज्यको दायित्व हो  । साहित्यमार्फत उजागर गरिएका कथा व्यथाहरू राज्यकै कथा व्यथाहरू हुन्, चेतना भया ।

प्रतिक्रिया
Loading...