नियात्रा गरिएका ठाउँहरूको बारेमा, यात्रा गर्नु नियात्राकारको सादृश्य वर्णनीय पक्ष हो । नियात्रा दमदारको हुन्छ । नियात्रा पढेपछि त्यस ठाउँ विशेषको ऐतिहासिक विषय जान्न सकिन्छ । यतिले मात्र नियात्राकारको कलम कहाँ रोकिन्छ र ? लेख्नेहरूको आ–आफ्नै शैली हुन्छ । यिनै शैलीभित्र पसेर रमाउने मध्येका एकजन नियात्राकार हुन् नवराज रिजाल । सानैदेखि उनी साहित्यमा अभिरुचि राख्ने सर्जक हुन् । यिनको हालै प्रकाशित नियात्रा सङ्ग्रहको नाम हो “आँखाभरि देश मनभरि परिवेश” । यस सङ्ग्रहलाई मलजल गर्ने काममा नियात्राकारको कलम द्रुत गतिमा बगेको देखिन्छ । नियात्रा लेखेरमात्र कहाँ हुन्छ र ? पाठकहरूको मन छुनेगरी लेखिएको नियात्राको आफ्नै औचित्य हुन्छ । आजभोलि नियात्रा मन पराउनेहरूको जमात कँसिदै गएको छ । नियात्रा गर्ने व्यक्तिले धुलो, धुवाँ, हावा, हुरी, जाडो, वर्षा केही भन्दैन । उसको चेष्टा त ‘पाठकलाई कसरी सन्तुष्टि दिने ?’ भन्ने कुरामा मात्र केन्द्रित हुन्छ । पाठकको रोजाइले नियात्रालाई आहा ! भनिदियो भने नियात्राकारको मनमा अझ राम्रो काम गर्ने हिम्मत पलाउँछ । जाँगरका पाइलाहरू अगाडि बढ्छन् ।
यसै सिलसिलामा आज मेरो हातमा नियात्राकार नवराज रिजालद्वारा लेखिएको नियात्रा सङ्ग्रह “आँखाभरि देश मनभरि परिवेश” छ । अब म यसभित्र प्रवेश गर्न चाहन्छु ।
मैले सबलाई बिर्सेछुः– खुदुनाबारी क्रस गरिसकेपछि सुखानीको जङ्गल निकै डरलाग्दो देखियो । यो जङ्गल पार नगरेसम्म इलाम बजार पुगिँदो रहेनछ । यहाँ नियात्राकार वर्णनात्मक गहिराइमाभन्दा पनि अलिक बढी भावनामा डुबे जस्तो लाग्यो । भारतको बिहार राज्य अन्तर्गत पर्ने सीतामणीबाट पच्चीस वर्ष पहिले नेपाल छिरेका व्यापारीको राम्रो कमाइले उनीहरू सन्तुष्ट देखिएका कुरा छन् । हामीले कामको खोजीमा नेपालीपन लिएर भारत पस्दा अनेक अपमान सहनु परेका दृश्यहरू छर्लङ्ग भएका छन् । भारतको उत्तर प्रदेश, बिहारदेखि नेपाल आएका भारतीयहरू नेपालको अनकन्टार ठाउँमा गएर पेशा गरेको देखाइएको छ । यसरी मनभरि इलामको सादृश्य बोकेर फर्केका छन् नियात्राकार ।
घुम्दै फिर्दै कचनकवलः– दशैँ मनाएपछि घरबाट फर्कँदै गरेका दृश्य अत्यन्त जोखिमपूर्ण छ । परदेशमा पैसा कमाएर आफ्नो परिवारलाई सुखदिन खोज्नेहरूको पीडा थुप्रिएको छ । नेपालीमूलका भारतीय भुटानीहरूले आफ्नो संस्कार रितिरिवाजमा डेग नछोडेर पालन गरेका कुरा छन् । कुनै ठाउँमा नियात्राकार देशको अवस्था दुखेर भावुक बन्न पुग्छन् । स्वदेश प्रेम हुनु पर्छ भन्ने मान्यता राख्छन् नियात्राकार । राजस्व वृद्धि गर्ने भद्रपुर जस्तो कुराले ठाउँ पाएको छ । यस्तै कचनकल सामुदायिक स्वास्थ्य केन्द्रमा काम गर्ने कोपिला मैनाली र लीला खरेलको स्वभावले सौहार्दपूर्ण वातावरण बनेको छ । झापा जिल्लाको नामाकरण कुमार खोद गा.वि.स. भित्र पर्ने झापा नाउँको गाउँबाट नामाकरण गरिएको देखिन्छ । यस्तैमा नियात्राकारलाई कचनकवलको नामाकरण कसरी राखियो भन्नेबारे जिज्ञासा मेट्न पुगेका कुराहरू देखिन्छन् । यसरी कचनकवलको बारेमा प्रष्ट पार्ने काम गरिएको देखिन्छ ।
भावनाको बगरै बगरः– यो मोटरसाइकलमा गरिएको नियात्राले कहिले कुलेखानी पुर्याएको छ, कहिले हुमाने भन्ज्याङ् पुर्याएको छ, कहिले मकवानपुरको पाखेल । नारायणजीसँगको यो मोटरसाइकल सहयात्रा फलदायी बनेको छ । राजनेताहरूको अदुरदर्शिताका कारण देशमा सञ्चालित उद्योगहरू तहसनहस पार्दै बिक्री गरिएका कुराछन् । यस्तै देशमा विद्यमान गरिबी, अत्याचार र भ्रष्टाचारीहरूको बारेमा कुरा उठाइएको छ । पृथ्वीनारायण शाहले राष्ट्रलाई एक सुत्रमा बाँधेर विशाल नेपालको निर्माण गरेका दुरदर्शी राजाको बारेमा कुरा गरिएको छ । जलश्रोतको धनी देशमा बिजुली महङ्गो हुने कुरा गरिएको छ । यस्तै चिसापानीगढीमा बालकृष्ण पोखरेल जन्मिएका कुरा छन् । कुलेखानीदेखि चिसापानीको आसपासमा नियात्राकार चढेको मोटर साइकल ४५६० को भ्यानसँग दुर्घटनामा पर्छ । दुवैको शरीरमा क्षति हुन पुग्छ । आफैँले दुर्घटना गराएको भ्यानको चालक आफ्नो साधनलाई रोकेर घाइतेलाई उठाउँदै ए ! केही भाको रहेनछ भन्दै कुलेलाम ठोक्छ । यसरी गरिएको आजको यात्रामा केही शारीरिक पीडा थपिएको छ । यो नियात्राको अन्त्यमा यहीँ पीडालाई जोडेर बिटमार्ने काम गरिएको छ ।
जिन्दगानी गोरेटोमाः– जिन्दगानी गोरेटोमै फुल्दोरहेछ भन्ने प्रमाणित भएको छ । एउटा नरेश भन्ने अ–नेपाली भारतबाट नेपाल छिरेपछि यहाँ बस्न थालेको पन्ध्र वर्षको दौरानमा उसले के गरेन र ? नेपालको गाउँ गाउँ गयो बस्ती बस्ती गयो व्यापार गर्यो । अन्त्यमा होटल चलाएर मनग्य आम्दानी गर्न सफल भएको छ । यस्तै पशुपतिनगरले पाँच “अ” मा प्रसिद्धि कमाएको कुरा गरिएको छ । परपोकले साहित्यमा देखा परेका नाम उल्लेख गरिएको देखिन्छ । लिम्बू भाषामा इलामलाई कसरी उच्चारण गरिँदो रहेछ भन्ने कुरा प्रस्तुत गरिएको देखिन्छ । नियात्राकारलाई जोङ्गा भनेको के हो भन्नेबारे बुझ्न मन लाग्छ । यस्तै नियात्राकार अहिले पुगिरहेका छन्, इलामको चियाबारीमा चिया टिपेर डोको भरेका दिदी बहिनीहरूको हिम्मत हेर्न । यस्तै निात्राकार जोङ्गा यात्रा गर्ने सिलसिलामा, बसमा चढेकाहरू सिटमा बस्ने ठाउँ नभएर बच्चालाई आफ्नो काखमा लिएको बेला, आफ्नै वाल्यकालीन परिदृश्यको घटना प्रतिविम्बित भएको देखिन्छ । जिन्दगीलाई यसरी नै घाम छायाको रूपमा स्विकार्दै यात्रा अन्त्य गरिएको छ ।
विदेश बस्तीको सफरः– यसमा अलिकति दशैँ सकिएर तिहारमा चारैतिर ढकमक्क फूल फुलेको सुन्दर दृश्यका कुरा छन् । द्वन्द्वले आक्रान्त पारिएका पीडा छन् । अनि दमकको बेलडाँगीमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीका कथा छन् । उनीहरूमा देखिएको नेपालीपनले नियात्राकारको मनलाई स्तब्ध पारिदिएका कुरा छन् । आफ्नो भेषभूषामा रमाएका भुटानी शरणार्थीसँग परायको वस्त्र धारण गरेर आफूलाई महान दिग्गज व्यक्ति ठान्नेहरूको जमात देख्दा नियात्राकार आफैँ दुखित हुन पुग्छन् । यताकाले रुचाउँदैनन् उता जान दिँदैनन् भन्ने गुनासाका पोकाहरू फुकाउँदै दुःखी बनेका कुरालाई जस्ताको तस्तै टपक्क टिपेर राखेका छन् ।
सोद्धै खोज्दै गोसाइकुण्डः– जनार्दनजीसँग गोसाइकुण्डको यात्रा गर्ने क्रममा गफिँदै गरेका कुरा छन् । त्रिशुली जलबिद्युत् परियोजनामा भारतले निमार्ण गरिदिएको बाटोमा हिँड्दा परनिर्भरताले काम गरेका कुरा छन् । २०४१ सालमा धादिङ केउरे पानीका रामचन्द्र खतिवडासँग पहिलो पटक धुन्चे पुगेका कुरा छन् । सेउलाको ओछ्यान बनाउँदै नियात्राकार चन्दनवारी पुग्छन् । चन्दनवारीको लौरीविनायक पुगेपछि टेक्दै आएको लौरीले त्यहीँनेर आइपुग्दा विश्राम लिन्छ । स्थानीय भाषामा सोवालाई भेडा च्याङ्ग्रा चराउने ठाउँ र घाँसे चरन प्रशस्त हुने ठाउँलाई रसोवा भन्दा रहेछन् । पछि अपभ्रंश भएर रसुवा भएको रहेछ । सबैभन्दा अग्लो टाकुरो लाम्टाङ यही रसुवामा नै पर्ने कुरा गरिएको छ । यसरी गोसाइकुण्डको यात्रा यहाँनेर आइपुग्दा टुंगिएको छ ।
हिँड्दै पाइला मेट्दैः– यस प्रसङ्गमा नियात्राकार नेपाल बालसाहित्य समारोह घान्द्रुकको कार्यक्रममा निस्कन्छन् । त्यसबेला वीरेठाँटीको कारुणिक अवस्थाको बयान गरिएको छ । वीरेठाँटीको इतिहासले भावुकता जन्माएको छ । अपरिचित वीरेलाई आदर सम्मान गरिएको छ । यसरी अगाडि बढ्दै जाँदा देखिन्छन् रित्तो खेत, बाँझो बारी र घरहरू त्यो दृश्यले नियात्राकारको मन बेजोडसँग दुख्छ । देशको श्रमशक्ति बाहिर बेचिरहेका नेताहरूको कुरा गरिएको छ । बेरोजगारीको समस्याले मानिस बाहिर जानु परेका कुरा छन् । घान्द्रुक बालसाहित्य सम्मेलनमा आएका प्रदीप नेपाललाई भोजपुरे राईहरूले मन्त्री भनेर सम्मान गरेको प्रसङ्ग रोचक छ । खपिनसक्नु उकालोमा परेका नियात्राकार शक्ति होटलमा पुगेपछि विश्रान्तीको थकाई मेटाउन पुग्छन् ।
अमरसँग छत्रे देउरालीः– बन्द हड्तालले काठमाण्डौ ठप्प छ । जानुपर्ने ठाउँ छत्रे देउराली स्थित महेन्द्रोदय मा. वि. हो । कीर्तिपुरदेखि त्यहाँ पुग्न झण्डै चार घण्टाको दूरी तय गर्नू पर्ने कुरा गरिएको छ । दुर्इ घण्टाको दूरी तय गरिसकेका नियात्राकारले एउटा अभिभावकसँग होटलमा चिया खाँदै गर्दाको गुनासोमा व्यक्त गरिएका कुरा छन् । यस्तैमा भिमढुङ्गाको नामाकरण कसरी भयो होला भन्ने प्रतिप्रश्न नियात्राकारको मनमा तेर्सिन पुग्छ । रानीपोखरीदेखि किताबको झोला बोकेको मान्छे हराउँदा कहाँ गएर भेटिने हो भन्ने जिज्ञासा बोकेको मन पिरोलिन पुगेको छ । आखिर त्यो व्यक्ति भनेको झोलाभित्र रहेको हाम्रो नेपालको इतिहास बोकेका अमरसिंहको चिठी रहेछ भन्ने कुराको निर्क्यौल यस प्रसङ्गमा फेला पार्न सकिन्छ ।
हिमाल हिउँ र हेराइः– घान्द्रुकको वातावरण राम्ररी बुझेपछि त्यहाँको यथार्थ आफ्नै परिवेश र मिहेनतले रमाएको त्यो ठाउँ पर्यटकलाई आश्रय स्थल दिने अत्यन्त रमणीय स्थान हो । स्वदेशी पाहुनाभन्दा विदेशी पाहुनाले खचाखच हुने यसस्थलमा बिजुलीबत्तीको मार खेपिरहेको बेला त्यहाँका मानिसको श्रम, शक्ति र सिपले बिजुलीबत्तीको प्रकाशमा झकिझकाउ पारिएका अत्यन्त रमणीय कुराहरूले भरिएको छ यो खण्ड । घान्द्रुकको सुन्दरतालाई छिचोल्दै अन्नपूर्ण हिमालमा पुगेका कुरा छन् । यस्तै विश्वको आठ हजारमाथिका चौधवटा टाकुराहरू मध्ये आठ वटा नेपालमै पर्ने कुरा गरिएको छ । नेपाल राष्ट्रले आजसम्म कसैको दासत्व र गुलामी गर्नु नपरेको कुरालाई जोड दिएको छ । नेपाल राष्ट्रलाई जोगाउने व्यक्तिको कुरा गरिएको छ । यसरी एकीकृत गरिएको देशलाई आज आएर विखण्डनकारीहरूले टुक्राउने कोसिस गरिरहेको, बेसुरको तालमा नाच्ने र नचाउने गरेका कर्तुत आफ्नै अगाडि ड्याम्म गरेर पछारिन पुगेका कुराहरूलाई जोड दिइएको छ । माछापुच्छ्रे हिमाल आफ्नो काखमा आएर बसेको कुरा गरिएको छ भने त्यस क्षेत्रभित्रको प्राकृतिक सुन्दरतासँग साक्षात् कुरा गरिएको छ । यति राम्रो शालीन प्रस्तुति भइरहेको बेलामा कता कता जड्याहा शब्दले भात खान बस्दा दाँतमा ढुङ्गा लागे जस्तै भएको छ । यो शब्द नराखेर यसको ठाउँमा उस्तै उस्तै शब्द पनि राख्न सकिने थियो कि ? भन्ने मेरो सानो बुझाइरह्यो ।
सिन्धुलीगढी घुमेर हेर्दाः– उदयमञ्जरी अभियानले साहित्यिक निम्तो टक्र्याइ काठमाण्डौबाट त्यस स्थलसम्म साहित्यकारहरूलाई आमन्त्रण गरिएका कुराछन् । हाम्रा वीरपुर्खाहरूले परम्परागत हतियारसँग दुश्मनलाई परास्त पार्दै पुर्ख्यौली माटोको संरक्षण गरिएका कुरा छन् । सिन्धुलिगढीको इतिहास कोरिएको छ । हामी वीर गोर्खाली हौँ । हामी प्रकृतिक पुजक हौँ । यस्तैमा सिन्धुलिगढीको अवशेष हेर्ने अभिलाषा राखिएको छ । तर पूरा हुन नपाउँदै यात्रा अगाडि बढेको देखिन्छ । हाम्रा वीर योद्धा वीरभद्र उपाध्याय, राकृष्ण कुँवर जस्ताको सम्झना तत्काल मनमा आइपुग्छ । सिन्धुलिगढीको पूरै दुर्इ नम्बरभित्र पर्ने ठाउँहरूको उल्लेख गरिएको छ । यस प्रसङ्गको अन्त्यमा बद्रीविक्रम थापाको गीत गुन्गुनाउँदै यो भागको यहीँ बिट मारिएको छ ।
स्मृतिमा बग्दै बग्दैः– गाडीमा चढ्नुभन्दा पहिले टिकट दलालको फन्दामा परेका श्रष्टाहरू ट्राफिक कार्यालयसम्म पुग्नु परेको गुनासो गरिएको छ । प्रकाश सपुत र शान्ति परियारले गाएको गलबन्दी च्यातियो भन्ने गीत सुन्दै यात्रुले आनन्द लिइरहेका छन् । हिन्दी शब्द थोर बहुत नराखेका भए अर्काको भाषाले प्राथमिकता पाउने थिएन कि ? प्यास लागेर चुडामणीको घरमा पस्दा रानी पानी दिएर स्वागत गरिएको ऐतिहासिक चर्चाले ठाउँ पाएको छ । चितवनको तिर्थस्थल देवघाटको बारेमा कुरा गरिएको छ । अनि यसरी नै पाल्पाका मणीमुकुन्द सेनको बारेमा चर्चा चलेको छ । यस्तै देवघाट तिर्थस्थल छोडिसकेपछि साहित्यकार गोविन्द विनोदीको घरमा कवि गोष्ठी गरिने चर्चा चल्छ । विनोदी कविको स्वास्थ्य लाभको कामना गरिएको छ । कवि विरामी भएकै अवस्थामा कविले रचना वाचन गरेका छन् । अन्त्यमा एकजना पाल्पाली मित्र पाल्पातिर लाग्दा काठमाण्डौबाट आएको ग्रुपको सङ्ख्या घट्छ भन्दै यो प्रसङ्गलाई यहीँ बिट मारिएको छ ।
भग्नावशेष पछिपछिः– नियात्राकार विद्यार्थीसँग शैक्षिक भ्रमणमा निस्कन्छन् । माओवादीको नाममा धाक देखाएर तर्साउने गरेका कुरा परेका छन् । नियात्राकार लुम्बिनी पुग्छन् अनि विद्यार्थीहरूसँगै पुग्छन् पोखराको रमणीय दृश्य हेर्न । यस्तै पोखराका पर्यटकीय स्थलहरूको भ्रमणले मन प्रफुल्ल र खुसी बनेको आभास व्यक्त गर्छन् । तालमा रमाउँदै गरेका विद्यार्थीको नाम समेत उल्लेख गर्न पछि पर्दैनन् उनी । विद्यार्थीसँगै गोर्खा पुगेका छन् । तर उनले गोर्खा सङ्ग्राहलय बन्द देख्छन् पृथ्वीनारायणको सालिक बेवारिसे अवस्थामा लडिरहको देख्दा, उनको मनभित्र कता कता देश निर्माण गर्ने व्यक्तिको सालिक अलपत्र परेको अवस्थाले विह्वल बनाउँछ । यस्तैमा विद्यार्थीसहित उनी गोर्खा दरबार हेर्न पुग्छन् । यसै अवसरमा उनले बिसे नगर्चीको बारेमा पनि कुरा उठाएकाछन् । अनि देख्न्छन् रामशाहको चौतारो यसै स्थलबाट रामशाहले न्याय दिने कुरा गरिएको छ । सिद्ध योगी गोरखनाथको नामबाट गोर्खाको नामाकरण गरिएका कुराछन् । गोर्खा जिल्लाको सिमानामा कुन कुन जिल्ला रहेका छन् भनेर विद्यार्थी भाइ बहिनीलाई वर्णन गर्ने काम भएको छ । गोर्खा पुग्ने छैटौँ दिनको हिँडाइले सार्थकता पाएको छ । गोर्खामा एक रात बिताएको कुरा छ । अन्त्यमा गोपाल योञ्जनको गीत बजेर आजको यात्रालाई बिट मार्ने काम गरिन्छ ।
सम्झनाको लेवरनगरः हिजो र आजको परिवेशले प्रगतिपथ बाधक बनेका कुरा छन् । साहित्यकार कलानिधी अधिकारीबारे बेलैमा खोज अनुसन्धान हुन नसक्दा नियात्राकारको मन केही दुख्न पुग्छ । कलानाथ स्मृति प्रतिष्ठानको कार्यक्रममा हिँडेका पचास जना श्रष्टाहरूको जमात साहित्य प्रेमी कलानाथ अधिकारी लेवनग बस्ती पुग्न सबैजना हतारिएका देखिन्छन् । यस प्रसङ्गमा नियात्राकारको भूमिका आफ्नै किसिमले अगाडि बढेको देखिन्छ । कलानाथ अधिकारीका छोरीहरूसमेत सक्रिय देखिन्छन् । यसरी यो प्रसङग कलानाथ अधिकारीको बस्ती लेवनगर आएर यात्रा टुङ्गिएको छ ।
कोटैकोटको नुवाकोटः नेपाल साहित्यिक पत्रकार सङ्घको तेस्रो महाधिवेशनमा हिँडेको केन्द्रिय समितिको टोली हो यो । नुवाकोट पुगेपछि भेटिएका साहित्यिक मित्रहरूसँग त्यहाँको परिवेशका बारेमा कुरा उठाउन पुग्छन् नियात्राकार । उनले नुवाकोटको वर्णन गर्न आफूलाई हौसाइरहेका छन् । यहाँ नौवटा कोटको समेत नाम उल्लेख गरिएको छ । नौवटा कोटको नामले नै यो ठाउँको नाम नुवाकोट रहन गएको हो भनिन्छ । यसैगरी टारको पनि कुरा उठेको छ । त्रिशुली जलबिद्युत् पावरहाउस हेरिएको छ । अन्त्यमा साँघु बजारको निरीक्षणपछि यो कोटैकोटको नुवाकोट यात्रा समाप्तिको मोडतर्फ अग्रसर हुन्छ ।
गुड्दै उड्दै रुबिभ्यालीः यो प्रसङ्गमा २०७४ सालको स्थानीय निर्वाचन आयोगको चुनावले गाउँबस्ती तातेको प्रसङ्ग देख्न सकिन्छ । कर्मचारी भएर मतदानमा खटिनु पर्ने र मतदान अधिकृत भएर काम गर्नु पर्ने नियन्त्रक सोमजीको धम्कीपूर्ण आवाज आउँछ । धादिङको सबैभन्दा विकट यो रुबिभ्याली गाउँपालिकाको चुनावमा नियात्राकारलाई खटिनु पर्ने हुन्छ । जीवनमा पहिलो पटक चुनावमा खटिनुपर्दाको अनुभव, हलिकोप्टरमा चढेर चुनाव गराउन खटिएका कुरा छन् । हेलीकोप्टरबाट मतदान क्षेत्रमा उत्रिँदा हेलिकोप्टरको हावाले एउटा मतपेटिका काम नलाग्नेगरी फुट्छ । नियात्राकारको मन आत्तिन्छ । गुरुङ र तामाङ बस्ती मिलेर बसेका कुरा प्रशंसा गरिएको छ । हर्षजीको भाषामा पहाडलाई रुबेल भनिँदोरहेछ । त्यस क्षेत्रमा बहुमूल्य पत्थर रुवी पाइँदो रहेछ त्यसैले यो ठाउँलाई रुवीसँग भ्याली अर्थात् उपत्यका जोडिएको हुँदा यो स्थानलाई रुबिभ्याली यसरी नामाकरण गरिएको कुरा पुष्टि भएको छ । यसरी भोटदिन आएकाहरूको लर्कोसँगै यो यात्राक्रम यहीँ रोकिन्छ । तर एउटा कुरा हेलिकोप्टर आउँदैछ भन्ने कुराको जानकारी त हुन्छ तर हेलिकोप्टरले सेवादिन नसकेको हो कि भन्ने विषयबारे प्रष्ट पारिएको छैन ।
मन गोड्दै सम्याउँदैः यस सङ्ग्रहभित्र समावेश गरिएका नियात्राहरू मध्येको अन्तिम भाग हो । शुरुमै दाङ जाने कार्यक्रम दोधारमा पर्छ । रातभरको पानीले गर्दा चन्द्रागिरी डाँडोको तलसम्म हिउँ परेपछि मानिसहरू आफ्नै किसिमले व्याख्या, उपव्याख्या गरेको सुनिन्छ । प्रेसकाउन्सिल नेपाल द्वारा दाङको घोराही बजारमा आयोजना गरिएको कार्यक्रम हो यो । नेपालको साहित्यिक पत्रकारिताको अवस्था कस्तो छ ? यसको महत्त्व कति छ भन्नेबारे विचार विमर्श गरिने कार्यक्रम हो यो । दाङमा पुगेर भिङग्रेली भिलेज रिसोर्टमा बस्न पुगेका नियात्राकारलाई निद्रा आउँदैन । उनीसँग साथमा रहेका साथीहरू मस्त निद्रामा छन् । साहित्यमा देखिएको कमी कमजोरीको बारेमा खुलेर कुरा गरिएको छ । आफ्नो कविता अथवा मन्तव्य दिने कार्य सकिएपछि लुसुक्क लाग्ने कुरालाई यस प्रसङ्गमा टड्कारै जोडिएको छ । यसरी दाङ सम्मेलन रोचक पार्दै समाप्त गरिएको छ ।
अन्त्यमाः
नियात्रा हरेकलाई मनपर्ने विधा हो । यस किसिमको यात्रा पढ्दा पाठकलाई नियात्राकारको कलमले तत्तत् स्थानको वातावरण, रहन–सहन, प्रकृति, जनजीवन, बसाइ–उठाइ, त्यहाँको महत्त्व, बोली–चाली, जीव–जन्तु, भौगोलिक परिवेश, लवाइ–खवाइ, प्राकृतिक दृश्य, चिनारी, आत्मनिर्भरता र त्यहाँका मानिसले कसरी आफ्नो जीविका चलाइरहेका छन् भन्ने आदि विषयको बारेमा जानकारी गराउँछ । “आँखाभरि देश मनभरि परिवेश” सङ्ग्रहमा नियात्राकारको आँखाभरि देश घुमिरहेछ । उनले यस कृतिको नामाकरण गरे अनुसार सर्वप्रथम उनलाई देशकै चिन्ता लागेको देखिन्छ । वास्तवमा भन्ने हो भने मैले नियात्राकारलाई गजलकारको रूपमा चिन्दै आएको हुँ । त्यो समयमा हवाई पत्रद्वारा साहित्य लेखनका सामग्री आदान प्रदान हुने गर्थ्यो । त्यसताका हवाईपत्र पन्ध्र पैसामा पाईने गर्थ्यो । यसैमार्फत मैले बागीयानका गजल धेरै पढेँ । यस्ता मन छुने गजलहरू लेख्ने व्यक्ति को रहेछ भन्ने जान्न धेरै उत्सुकता जनाएँ तर सफल हुन सकिनँ । अन्त्यमा धरैपछि थाहा पाएँ कि बागीयान भन्ने व्यक्ति नै नवप्रज्ञापनका सम्पादक रहेछन् । उनीसँग जोडिएपछि जुन कुरा प्रष्ट भयो ।
नियात्राकार बहुप्रतिभाशाली व्यक्ति हुन् । हालसम्म उनले साहित्यका विविध विधाहरू छोएर लेखेका लघुकथा, बाल उपन्यास, बालकथा, बाल कविता, गजल, खोज अनुसन्धान, बालकथाको अङ्ग्रेजीमा अनुवाद र सहलेखन कार्य गरी जम्माजम्मी बीसवटा सङ्ग्रह प्रकाशित छन् । नियात्राकारको एउटा सबल पक्ष हो छोँटा छोँटा वाक्यमा आफ्नो शब्दावली चयन गर्दै पूर्णविराम दिनु । पाठकले बुझ्न सक्ने यो नै उनको उत्तम र सहज तरिका हुन सक्छ । उनको रोजाइले पाठकको खुसीलाई अनुसरण गरेको छ । पाठकको मन जित्न सफल भएको छ । यस सङ्ग्रहभित्र उद्धरण गरिएका जे जति नियात्राहरू विशुद्ध निबन्धात्मक शैलीमा तत्तत् स्थानको सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक पक्षसँग आबद्ध रहेर लेखिएका छन् । यसो गर्दा सर्जकले केवल नियात्रालाई मात्र प्राथमिकता दिएका छैनन् भन्ने कुरालाई यसरी बुझिन्छ । नियात्रामा आफूले देखेका र भोगेका कुरा मात्र समेटिएका हुँदैनन् भन्ने प्रसङ्गलाई मैले माथि नै उठान गरिसकेको छु । यस सङ्ग्रहको अन्तिम शीषर्कमा भने विशुद्ध नियात्रा मात्र समेटिएको छ । उनीद्वारा लेखिएका केही सङग्रहमाथि मैले केही समय पहिला समीक्षा लेख्ने प्रयास गरेको थिएँ । अबका दिनहरूमा नियात्राकारको अनेकौँ विधा समेटिएका अनेकौँ सङ्ग्रहको अध्ययन गर्न पाइनेछ भन्दै यो लेखन कार्यलाई यहीँ बिट मार्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।