“कल्प–ग्रन्थ”बाहिर

केही दिनअगाडि मेरो साथी गोलार्धमा (सर्कल) कल्प–ग्रथबारे चर्चा भयो । फागुन १ गतेसम्ममा प्रकाशकले बताएको बैङ्क खातामा पैसा पठाएपछि मात्र पुस्तक पाइने भएकाले सबै पाठकहरुले यो पुस्तक पढ्न पाएनन् भनेर मैले तर्क प्रस्तुत गर्दा एक मित्रले ‘वैशाखको दोस्रो हप्ता प्रकाशकको इ–सेवामा रकम पठाएर पुस्तक प्राप्त गरेको’ बताउनु भयो । जबकि प्रकाशकले साहित्यपोस्टसँगको एक अन्तर्वार्तामा तोकिएको मितिभित्र प्रि–बुकिङ गर्नेलाई मात्र पुस्तक उपलब्ध गराइने जानकारी दिएका थिए ।

एक–डेढ महिनावरपरको मात्र कुरालाई ज्यादा हल्ला गर्नु उचित नहोला जस्तो लागेको थियो तर करिब एक महिनाअगाडि झापाको बिर्तामोडस्थित एक पुस्तक पसलले फोनै गरेर ‘भाइ, काल्प–ग्रन्थ पढ्ने भए हामीकहाँ छ है’ भनेर जानकारी दियो । कस्तो आश्चार्य ! प्रि–बुकिङमा मात्र पाइने पुस्तक झापामा उम्रेका उम्रै छन् । पुस्तक पसलले आफ्नो फेसबुक पेजमा हप्तामा एक–दुईवटा बिक्री गरेको पोस्ट हालिरहन्छ । उसले ‘आज पुस्तक सकियो, हामी मगाउँछौ’ भनेर केही पाठकलाई फर्काउने गरेको पनि छ र केही दिनमा पुस्तक आएको जानकारी पनि गराउने गरेको छ । पसलले अर्डर आएअनुरुप काठमाडौँबाट मगाएर उपलब्ध गराउने गरेको छ । प्रि–बुकिङमा मात्र पाइने पुस्तक हालसम्म पनि बजारमा खुलारूपले वितरण हुनु प्रि–बुक गर्ने पाठकहरुको भावना र विश्वासमाथि गरिएको अपमान हो ।

 

“कल्प–ग्रन्थ”

कल्प–ग्रन्थ प्रसिद्ध साहित्यकार कुमार नगरकोटीद्वारा रचित कथा सङ्ग्रह हो । यो नेपाली साहित्य जगत्को पहिलो प्रि–अडर (प्रिमियम संस्करण) गरेर मात्र पढ्न पाइने कृति हो । प्रि–अडरका लागि उनको प्रकाशकले २०७७ मङ्सिर २७ गतेदेखि फागुन १ गतेसम्ममा सम्पूर्ण इच्छुक पाठकहरूलाई नेपाल इनभेस्मेन्ट बैङ्कको खाता नं. ००४०१०१०२५६७३६४ मा रु. २०२१ रकम पठाउन आह्वान गरेका थिए । आकर्षक झोलाभित्र गज्जबको हार्ड कभर भित्रको त्यो मोटो शरीर भएको पुस्तक, झोलाकै एक कुनामा रहेको खरबुजा नामक अर्को कथाको बुकलेट (मूल पुस्तकबाट छुट्याइएको र सानो पुस्तक अंश) जसलाई पुस्तककै आकार दिइएको हुन्छ र लेखकको तस्वीर भएको पोस्कार्ड पाइन्छ भन्ने विज्ञापन गरिएको थियो । यस सङ्ग्रहभित्रका कथाहरूलाई लेखकले विभिन्न आकार र प्रकारमा विभाजित गरेका छन् भने जम्मा कथा सङ्ख्याचाहिँ अरसठ्ठी (६८) वटा रहेको छ ।

 

“कल्प–ग्रन्थ”भित्र

आठ प्रकारको कथा भएको यस पुस्तकको कथाक्रम अनुसार सबैभन्दा पहिले रहेको कथा प्रकारलाई कथाकारले कन्सेप्चुअल स्टोरी भनी नामाकरण गरेका छन् । यस प्रकारको कथाभित्र लेखकले एउटा मात्र कथा राखेका छन् जसको शिर्षक “अलजाइमरसग्रस्त एक अधबैँसे जगेडा आर्टिस्टको सिजनल दिमाग अर्थात् मायावी भँजवरजाल, कुहिरोको ल्याण्डस्कोप र अनसेन्सर्ड विचनरको आकाशगंगा” रहेको छ । कथाको शीर्षक नै यति अबोधगम्य रहेको यो कथाको बुनोटबारे त कुरै नगर्नुहोस् । यहाँ भित्र दुई वटा कथा समानान्तर बगाउन लेखकले अथक प्रयास गरेका त छन् तर कथा नबगिदिएकाले दोहोरो तेहेरो पढ्दा समेत कथा बुझ्न कठिन हुन्छ । दोहोरो तेहेरो पढेर कथा बुझ्दा कथाबाट केही पाइने वाला छैन । मानिसले हरेक कुरा ज्ञानका लागि पढ्छ कि त मनोरञ्जनका लागि तर यो कथाबाट केही पाइँदैन सिवाय लेखकको आत्मरति ।

गगन ढकाल

हुन त कथाको बारेमा लेख्न बसेपछि मैले यहाँ उठाइएका विषयको बारेमा पनि सारसांक्षेप कुरा त गर्नै पर्छ भन्ने लागेको थियो तर यस कथाको बारेमा एक सम्पादकले गरेको सम्पादन र प्रकाशकलाई दिएको सुझाव पनि पुस्तकमा जस्ताको त्यस्तै राखिदिएकाले मलाई लेखिरहन मन लागेन । बरु पुस्तकमा राखिएको सम्पादकको सुझावको तस्वीर यसै लेखमा राख्ने योजना बनाए । लौ हिड्नुहोस् अब दोस्रो अध्याय तिर ।

लेखकले कथाक्रमको दोस्रो प्रकारको कथालार्ई इन्स्टलेसन स्टोरिज भनी नामाकरण गरेका छन् । जस भित्र दश (१०) वटा कथा रहेका छन् । दश वटा कथाहरू मध्ये केही कथाहरू शिलापत्र अनलाइन र पोडकास्टमा पनि पढ्न र सुन्न सक्नु हुन्छ । कथाहरू पढ्दै गर्दा कुन भाषामा लेखिएको हो भन्ने बारे त अन्योलता आउँछ नै त्यसको साथसाथै सबै कथाहरु प्रस्तुतिको क्रममा नेपाली भाषालाई गरिएको अपमानले आम पाठकहरूलाई आक्रोशित बनाउँछ ।

यसै कथासमूहको तेस्रो कथा “अनटाइटल्ड !” मा कथाकारले लगभग कुनै पनि वाक्यलाई सहज तरिकाले पूरा हुन दिएका छैनन् । उदाहरणका लागि यसै कथाको एक वाक्यलाई लिउँ ‘अहिलेलाई भने त्यो लोककथालाई छाडौँ र लेट्स स्टिक टु दिस दृश्य ।’ यस वाक्यमा कथाकारले दोहोरो भाषाको प्रयोग गर्दा यति पनि ध्यान दिएनन् कि ‘र’ संयोजकले जोडे पछिको अङग्रेजी वाक्यमा जबर्जस्ती ठेलिएको ‘दृश्य’ शब्दले पूरै वाकांशलाई नै असानर्दभिक बनाइदिएको छ । अझ भनौँ दृश्य शब्दको अङग्रेजी अनुवाद लेखकले जान्दैनन् कि भन्ने आशंका पैदा गराएको छ । सबै वाक्यमा असान्दर्भिक अङग्रेजी शब्दको हालिमुहाली देख्दा लाग्छ यि कथाहरू नेपाङ्ग्रेजी भाषामा पो रचिएको हो कि ?

यी दश वटा कथामा प्रयोग गरिएको भाषाको बारेमा लेख्न बस्ने हो भने अर्को पुस्तक नै बन्नला कि भनेर एउटा मात्र उदाहरण यहाँ पस्तुत गरेको हुँ । भाषाको कुरा गर्दै गर्दा कथाहरूमा निरन्तर प्रयोग भएका सबै मुख्य कथा तत्वहरू – कथावस्तुदेखि लिएर मूलभाव, उद्देश्य, घटना परिवेश लगायतका सम्पूर्ण तत्त्वको भार केही सिमित शब्दहरूले थेगेका छन् । ती शब्दहरू निम्न प्रकार रहेका छन् – मृत्यु, धुँवा, ल्यामपोस्ट, सम्भोग, चुरोट र मधिराहरूको नाम आदि । नियति भनौँ या शब्द खडेरी दशै वटा कथाका सम्पूर्ण घटना परिवेश यिनै सिमित शब्दहरू र यिनको प्रसङ्गका वरिपरि घुमेको छ ।

अब कुरा गरौँ कथाक्रममा रहेको तेस्रो किसिमको कथाको जसलाई रचनाकारले परास्टोरिज भनी नामाकरण गरेका छन् । परास्टोरिज कथा समूह अन्तर्गत जम्मा तीन वटामात्र कथाहरू रहेका छन् । यस कथा समूह अन्तर्गतको “कार्ल मार्क्स सोल्ड आउट !” शीर्षकको कथामा नेपालका कथित कम्युनिस्टहरूको कुरूप चरित्रलाई सुन्दर र सरल ढङ्गले दृश्यावलोकन हुने गरी चित्रण गरिको छ भने “होटल फ्यान्टासी” शीर्षको कथामा लेखकले एक महत्त्वपूर्ण साहित्यिक यात्रालाई सुन्दर परिकल्पना गरेका छन् । लेखकले यस कथालाई निकै अलौकिक ढङ्गले रचेका हुनाले पाठकहरू कथालोकमा प्रवेश गरेपछि मतिष्कमा पूरै हलचल ल्याइदिन्छ । उस्तै परे निन्द्रा समेत उडाइदिन सक्छ ।

यस समूहको कथाहरू पनि अव्यवस्थित किसिमले अङ्ग्रेजी भाषाको प्रयोग र औँलामा गन्न सकिने शब्दहरूको निरन्तर दोहोरिने नियतिबाट मुक्त छैनन् । यस समूहको तेस्रो कथा “चङ्गा जस्तो मन आकाश–गङ्गातिर उडिजान्छ” वि.सं. २०७६ पुस १९ गतेको कान्तिपुर दैनिकमा प्रकाशित भएकाले तपाईँहरूलाई आफैँ पढ्नु हुन सुझाउँछु । यसको रचना नाटकको शैलीमा गरिएको छ ।

लेखकले पोस्कार्ड स्टोरिज नाम दिएको चौँथो कथा समूहमा लेखक र प्रकाशकले चौतीस (३४) वटा कथाहरू रहेको जिकिर गरेका छन् । लेखक र प्रकाशकले यी चौतीस वटा साकाजिक सञ्जालमा पोस्ट (हालिने) गरिने किसिमको स्टाटास (स्थिति) लाई कसरी कथा मानेर यो कथा सङ्ग्रहमा समावेश गराए भन्ने कुराले म चकित छु । कथाको सामान्य विधागत स्वरूपको समेत यहाँ ख्याल गरिएको छैन । प्रायः कुनै पनि स्टाटस चार हरफ भन्दा लामो छैनन् तर पाना भने पूरै ओगटेका छन् । अझ भनौँ अधिक्तम २० शब्दले पाना ढाकेको छ ।

यदि लेखक र प्रकाशकले थोरै शब्दमा व्यापक अर्थ दिने उद्देश्यले यसलाई कथा मानेर पुस्तकमा समावेश गराएका हुन भने त्यस आँटलाई सम्मान गर्नै पर्छ तर चार हरफ शब्द हालेर बाँकी खाली पाना राखेको देख्दा चाहिँ उनीहरूको व्यापारिक मनस्थितिबारे सहजै बुझ्न सकिन्छ । पुस्तकको कुल कथा संख्याको आधा संख्या ढाकेका व्यापारिक कथाहरू मध्ये एउटा कथा पढिहाल्नुहोस्, त्यस पश्चात बाँकी कुरा आफैँ बुझ्नु हुन्छ भन्ने मैले आशा गरेको छु । कथा यस प्रकार रहेको छ ।

शिर्षकः– “पार्थना”

हे नाथ,

तिमी किन अनाथ !

(माथि उद्धहरणमा राखिएको स्टाटस कथाको कुन विधागत स्वरूपको कथा हो कसैसँग जानकारी छ भने मलाई पनि बताइनिुहोला । धन्यवाद !)

आउनुहोस् अब पाचौँ कथा समूह अन्तर्गतको ग्रे–स्टोरिज समूहमा पर्ने कथाहरूको कुरा गरौँ । यस समूहमा जम्मा १५ वटा कथाहरू समावेश छन् जसमध्ये “खरबुजा” शीर्षकको कथा बेग्लै बुकलेटमा राखिएको छ । यस समूहका सम्पूर्ण कथाहरूले पाठकको मथिङ्गल हल्लाएर अर्कै लोकमा पुर्याइदिन्छ । कथाहरू अत्यन्तै जटिल किसिमले निर्माण भएकाले अबोधगम्य रहेका छन् । यिनीहरूमा पनि भाषाको नियति उही हो । हुन त कला साहित्य अन्तर्राष्ट्रिय हुनुपर्छ भन्ने मान्यता छ तर कुन भाषाका सिर्जित हो भन्ने कुरा पनि त छुटिनु पर्छ होला ! कथाहरूमा लेखकले गरेको विभिन्न प्रयोगहरू सम्मान योग्य छन् तर यस किसिमको प्रयोगले लेखकको कल्पनाशिलता र ज्ञानको बारेमा त जानकारी देला तर हाम्रो भाषा र साहित्यमा भने कस्तो असर पारिरहेको छ भन्ने बारे बहस गर्न जरुरी छ ।

अनुक्रमको छैटौँ र सातौँ कथा समूहको नाम क्रमश प्ले स्टोरिज र ट्रान्सक्रिएटेड स्टिोरिजमा माथिका कथाहरूमा जस्तै नियति भएका दुई दुई वटा कथाहरू समावेश गरिएको छ । एउटै नियतिबारे घरीघरी लेख्न अल्छि लाग्ने रहेछ फेरि हजुर पढ्नेलाई पनि रमाइलो नहोला भन्ने ठानेर तपार्इँहरू समक्ष क्षमायचना गर्न चाहन्छु । लौ बरु ढिला नगरी लेख्नै पर्ने अर्को कथा समूहतिर लागौँ ।

कथा समूहक्रमको अन्तिम तथा आठौँ क्रममा टाइपोग्राफिक स्टोरिज रहेको छ । यस अन्तर्गत “खग्रास” शीर्षकको एउटा मात्र कथा रहेको छ । यो कथाको आयतन पाना नं. ५३१ देखि पाना नं. ७९८ सम्मको २६७ पानामा फैलिएको छ । यस कथाको आयतन एउटा गतिलो उपन्यास जतिकै ठूलो रहेको देखेर एकछिन त दंग पनि परेँ । तर मेरो दंगपना धेरै समयसम्म टिकेन । २६७ पानाको विशाल आयतन ओगटेको यस कथामा करीब ५१०० शब्द मात्र छन् जबकी २६७ पानामा कम्तिमा पनि ७० देखि ८० हजार शब्दहरु सहजै अटाउन सक्छन् । यहाँ त शब्दहरूलाई ठाडो, तेस्रो, छड्के, उत्तानो, कोल्टे पारेर पाना भर्ने मात्र काम गरिएको छ । यो कथाको डिजाइन हेर्दा लाग्छ कथा जम्माजम्मी किताबको मोटाइ बडाएर धन आर्जन गर्न मात्र पुस्तकमा समावेश गराइएको हो । (यस कथाको पनि केही पानाको तस्वीर लेखमा राख्ने निर्णय गरे ।)

 

‘म’भित्रको ‘कल्प-ग्रन्थ’

यस पुस्तकमा लेखक र प्रकाशकले ६४ वटा कथाहरू रहेको छ भने तापनि कथाको विधागत स्वरूपताको आधारमा जम्मा ३० वटा मात्र कथाहरू रहेका छन् । विधागत स्वरूपलार्इ रसातलमा पुर्याएको यस पुस्तकले बजारमा भने गतिलै चर्चा परिचर्चा कमाएको छ । यस पुस्तक प्राप्त गर्दा लेखक खगेन्द्र सङ्ग्रौलादेखि लिएर विजय कुमारसम्मले आफ्नो मनलाई काबुमा राख्न सकेनन् सञ्जारमा शुभकामनाको फेहेरिस्त हाली हाले । विधागत स्वरुपता नै नपाएको यस पुस्तकले हाम्रा दिग्गज लेखकहरूको तनमन के कुराले तान्यो भन्ने कुराले मलाई थप सोचमग्न बनाएको छ ।

नेपाली साहित्य जगत्लाई यस पुस्तकले प्रि–बुकिङको युगमा धकेल्ला भन्ने ठूलो आशा थियो तर अब पाठकहरूले खोक्रो र बोक्रो मात्र हेरेको भरमा कसरी पुस्तक खरिद गर्लान् ? प्रि–अडरमा हामी आम पाठकले केको आधारमा विश्वास गर्ने ? कल्प–ग्रन्थले पाठकहरूको भावना र रकममाथि गरेको खेलबाडले नेपाली साहित्य जगत्लाई प्रि–बुकिङको युगमा जाने बाटो खोल्नुको साटो त्यस बाटोलाई अझ क्षतिग्रस्त बनाएको छ । हुन त शब्दको व्यापार बिना लेखक र प्रकाशकको आय स्रोत अर्को हुँदैन उनीहरूले व्यापारमा ध्यान दिन पनि जरुरी छ तर शब्दको लम्बाइ र चौडाइलाई जबर्जस्ती बडाएर पुस्कको मोटाइ बडाउनु फगत पाठकहरूको श्रमको शोषण गर्नु मात्र हो ।

उत्तरआधुनिक समयका कथाकार भनेर चिरपरिचित तथाकथित फिक्सन डिजाइनर कुमार नगरकोटीले कसरी मपार्इँ धारको प्रतिनिधित्व गरिरहेका छन् भन्ने बारे बुझ्न र यस पुस्तक र लेखकको वास्तविक धारको पहिचान गर्न समालोचक सरोनरले गरेको टिक्काटिप्णी हेर्नुहोला । (प्रथम अध्यायः आयुचोरद्वितीय अध्यायः घाँसका पातहरू साहित्यपोस्ट डट कममा क्रमशः मिति ०७८ पुष २ र ०७८ पुस ७ मा प्रकाशित भएका छन्।)

लेखकले यो पुस्तकको यस्तो आकार, प्रकार र शैली बनाउनुको कारण उनले आफ्नो दशौँ पुस्तकलाई उत्सवको रूपमा मनाएको भनी विभिन्न ठाउँको वार्तामा बताउँदै आएका छन् । उनको यो अभिव्यक्ति एक सामन्तवादी अभिव्यक्ति मात्र हो । यस पुस्तकमा लेखक र प्रकाशकले कला पक्षलाई कोसौँ पर राखेर व्यापार पक्षलाई मात्र गर्लम्म आलिङ्गन गरेका छन् ।