पृष्ठभूमि

आजको साहित्य गतिशील छ ,समय जति जति विकसित र व्यतीत हुँदै गएको छ त्यति नै साहित्यले पनि आफू वरिपरिको परिस्थितिलाई कालजयी बनाउँदै गएको प्रतीत हुन्छ । विज्ञान र डिजिटल प्रविधिको यो सुवर्ण कालमा आज लेखक घरमै बसीबसी मोबाइल डिभाइस मार्फत सृजनाको विश्व यात्रा गरिरहेको छ ।

साहित्य समाजको ऐना हो ,साहित्य मार्फत समाजमा घटित कथाहरूको लिपिबद्ध गरेर त्यसका पात्रहरूको सबल पक्षको खोजी गर्दै दुर्बल पक्षको निमिट्यान्न पार्नु एउटा कुशल सर्जकको कर्तव्य हुन आउँछ।

नेपाली साहित्यका विभिन्न विधाहरू कथा, कविता, नाटक र निबन्ध मध्ये निबन्ध विधा अन्तर्गत रहेको संस्मरण पनि एक हो । विश्व विख्यात लेखकहरूले पनि कलम चलाएको यो विधा, नेपालमा पनि अछुतो रहेको छैन । अहिले त गैर साहित्यिक अथवा जीवनको महत्त्वपूर्ण कालखण्ड राजनीति ,कलाकारिता ,सेना ,व्यापार ,प्रसाशनिक क्षेत्रमा खर्चेका व्यक्तित्वहरूले पनि संस्मरण लेख्ने होडबाजी गरेको सन्दर्भबाट, साहित्य र संस्मरण दुवै लोकप्रिय हुँदै गरेको कुरा कसैबाट छिपेको छैन । अप्सरा पुडासैनी साहित्य र पत्राकारितामा, बारा पर्सामा रहेर दसकौँ व्यतीत गरेकी, उत्साही नारीको नाम हो । मसित अहिले चैत्र २०७४ मा बजारमा आएको उनै अप्सरा पुडासैनीको कुकुर बेचेर कोशेली नामक संस्मरण सङ्ग्रह छ । भूमिका साहित्यकार निर्मोही व्यासको रहेको छ भने प्रकाशकीयको मन्तव्य वहाँका श्रीमान गणेशप्रसाद मैनालीले राख्नु भएको छ । १७ देखि १४४ पेजमा विभक्त यो सङ्ग्रहमा जम्मा पन्ध्रवटा मझौला तथा लामा संस्मरणहरू रहेका छ्न । शब्दघर छापाखानाले ५०९ प्रति छपाएको यो पुस्तकमा आवारण कला तथा सानो मन्तव्य प्रोल्लोलाश शिन्धुलयको रहेको छ । उसो त यिनले “टुप्पो तलतिर जरा मास्तिर” संस्मरण पनि निकाली सकेको प्रकाश पारेकी छिन् ,जुन उनको मात्र खुशीको विषय नभएर साहित्य पाठक सबैको स्तुत्यको कुरा भएको छ । मेरो यो लेखको मूल उदेश्य चाहिँ अप्सरा पुडासैनीको कुकुर “बेचेको कोशीली” को संस्मरणबारे चर्चा गर्नु रहेको छ ।

संस्मरणका शीर्षकहरूमाथि सूक्ष्म चिरफारः

अँध्यारो अनुहार – यो संस्मरणले संस्मरणकारलाई आफ्नो इतिहासप्रति अत्यन्तै सम्मान ,आफू केबल घुमेर हेरेर ठाउँ विशेषमा आनन्द लिनेभन्दा पनि त्यसको खोजी अनुसन्धान गर्ने जिज्ञासु व्यक्तिको रूपमा देखाएको छ । केबल लेखनको कथावस्तु ,क्षणिक आनन्दभन्दा कुनै पनि इतिहास या घटना या ठाउँको वास्तविकता बुझ्नु पर्छ भन्ने कुरा यो संस्मरणले देखाएको छ । (पेज -१७)

आठवर्षको अन्तरालपछि – यो संस्मरणले हतपत कसैले दिएको उपहार नबुझिकन लिनु हुँदैन र कुनै पनि पुरस्कार थोरै किन नहोस् त्यो लाख बराबरको अमूल्य हुन्छ भन्ने कुरालाइ लेखकले र्इर्ष्यालाग्दो तरिकाले राख्नु भएको छ । वहाँलाइ परिवारका सबै सदस्यले त्यतिकै आमा भएर श्रीमान भएर मन पराएका मात्र होइनन् कि वहाँको मन कति सफा र उर्बर छ भने, हरेक कुरा श्रीमानलाई बताएर गर्ने बानी अनि पुरस्कारलार्इ नमासेर पुस्तकालयकै आजीवन सदस्य बनेको वहाँको कुराले, हामी पाठकलार्इ पनि कतैबाट कुनै रकम जुटेमा यस्तै कर्म गर्नु पर्ने रहेछ भनेर जुक्ति फुरेको छ ।( पेज -२५)

बिर्सनै नसकिने गरी – भनिन्छ ,समालोचना गर्ने मानिस कठोर हुनु पर्छ ,समीक्षा गर्नेले शब्दमा बहकिनु हुन्न भन्ने समलोचनाको सिद्धान्त या भावभूमि नै हो तर यो लेख पढदै जाँदा मैले संस्मरणकारलार्इ मद्दत गर्ने ,नानीहरूलाई भान्जा भान्जी भन्ने अप्सरा दिदीलार्इ, दिदी भनेर बोलाइ रहने त्यही भनाइमा आफूलार्इ प्रतिस्पर्धा गरिरहेछु । अवुधाविको मुसाफाबाट आइकाड मफ्रक आइरहेको चार सय दस नम्बरको बसमा म चस्मा लाएर रुमतिर आउँदैछु तर संस्मरणले मेरो आँखालाइ पोखरी बनाइ रहेको छ । एकदम कोमल र मर्मस्पर्शी संस्मरण । (पेज – ३०)

दशैँको दक्षिणा – बाल्यकालको बालसुलभता र दशैँको तामझामलाई मिहिन तरिकाले वर्णन गरिएको लेख । हुन पनि दशैँको चाडमा सानो उमेरका अधिकांश बच्चाले यस्तो चकचक गरेको अहिले पनि देखिन्छ ,यो संस्मरण मार्फत संस्मरणकारले आफ्नो बाल्यकालमा मजाले पाठकलार्इ सयर गराउनु भएको छ । (पेज – ३४)

साँच्चिकै साहित्यिक संसार – यो संस्मरणले साहित्यिक स्थलसम्म जानेबारे मात्र बताएको छैन । हामी नेपाली भएर पनि पर्सा बाराका भित्री गाउहरूको विकास ,स्थिति र कृषिबारे जानकारी समेत दिएको छ । संस्मरणकारको आफू अतिथि बन्दाको खुशी होस् या आयोजक तथा त्यो समारोहका अध्यक्ष अच्युत खनाल ,उत्साह भर्दै साहित्यिक जमात्लाई डोर्याउने व्यास सर ,आठ नौँ जनालार्इ निशुल्क खाना खुवाउने र बासको व्यवस्था मिलाउने स्वजनहरूको गुणी व्यवहार अनि विद्यालयका भाइ बहिनीहरूको उत्सुकताले साहित्य नबुज्ने मानिसलाइ पनि साहित्यमा आकर्षित हुने प्रेरणा मिल्छ । यो नै संस्मरणको सुन्दर पक्ष हो । ( पेज – ३८)

अथिति देवो भव – यो संस्मरणले शुरुदेखि नै पाठकलार्इ अब के होला भन्ने उत्सुकताले डोर्याएर लैजान्छ । देशमा द्वन्दकाल हुनु ,अनि पाहुना भन्दैमा जो कोही पाहुना हुँदैनन भन्ने सोच राखेर अनिच्छित हुँदाहुँदै पनि घरका मुलीले बास दिन्छन् ,घरका आमा छोरी मिलेर खाना खुवाउने काम हुन्छ तर अन्त्यमा तिनै पाहुनाले उनीहरूबारे झुटो विवरण दिनुका साथै घरको कोठाबाट घडी ,सल ,सारी लैजाने काम हुन्छ । यसरी अभर परेको ठानेर पाहुनालार्इ बास दिए पनि यसरी धोका पाएको बताएर, संस्मरणकारले अहिलेको जमानामा हर कुरामा ध्यान दिनु पर्छ भन्ने परोक्ष सन्देश दिनु भएको छ ।
(पेज – ४४)

जालिस् साझा बसमा – हतार जसरी नि हुनुपर्छ भनेर जोड गरिएको काममा सफलता हासिल हुँदैन भनेर यो संस्मरणले देखाएको छ । हुन पनि यो कथानकमा नानीहरू त सानै थिए जोइपोइ बुझ्ने भएर पनि, कराइमा लुगा भुट्नु कहाँसम्मको बुद्धि हो ,यो घट्ना अरू कसैले पनि यसरी मुर्ख्याइँ नगर्नु भन्ने पनि बुझ्न सकिन्छ ।
(पेज – ५५)

के म एक्लै भएँ – यो संस्मरणले २०७२ सालमा आएको भूकम्पमा आफू परेको डर ,आवेग र मनोदशालाइ मिहिन चित्रण गरेको छ ,हुन पनि पाँचलाख घर तथा थुप्रै मानवीय क्षेति बोकेको यो समय, नेपाली इतिहासमा सधैँ दुखदायी पीडाको प्रतीकोका रूपमा रहनेछ ।
( पेज – ५८ )

मौका जुराइदिने श्रद्धेय – यो संस्मरण अत्यन्तै र्इर्ष्यालाग्दो छ । लेखकलार्इ त्यो बृहत साहित्यिक माहोलमा जान उत्साह प्रदान गर्ने आफ्ना श्रीमान, गुरु निर्मोही व्यास ,यमुना प्रधानाङ्ग ,गायत्री श्रेष्ठ ,इन्दिरा मेमहरू सबै स्तुत्य रहनु भएको छ । यसो भनौँ यो संस्मरणले त्रिनेत्र नारी निकेदन नइ को कार्यक्रमको बारेमा मात्र बोलेको छैन, साहित्यको लागि मरिमेट्नेहरूलाई रथारोहण गरेको सत्य घट्नाको रहस्योघाटन पनि गरेको छ । ( पेज – ६५ )

अहिल्यै बोल्छन कि – छिमेकी मूलुक भारतमा अवस्थित दार्जीलिङ ,खरसाङ्ग भारतीय नेपाली बस्तीको सुमधुर चित्र बोकेको संस्मरण । संस्मरणकार जहाँ जहाँ पुगेकी छन् सस्मरणमा ,हामी पाठकलार्इ पनि त्यहीँ पुर्याइरहेकी हुन्छिन , आफ्नो सृजना मार्फत । म दार्जीलिङ त पुगेको छैन सिलीगुढी बाहेक । तर संस्मरण पढेपछि मलाइ लाग्यो मानौँ म दार्जीलिङ घुमिरहेको छु । ( पेज – ७१ )

अर्कै अनुभव – कलैया निवासी लेखकले आफ्नो संस्मरणमा आफ्नो चातुर्य मात्र होइन आफ्नो कमजोरीलार्इ पनि, यो अर्कै अनुभव मार्फत कोर्नु भएको रहेछ । म्यादी प्रहरीमा श्रीमानलार्इ नभनी जानु, फेल हुनु अनि श्रीमानले चाल पाएर गाली गर्नु । यो उनको हिम्मत हो ,आजको दुनियामा मानिसहरू भोलि जे होला तत्काललाई नपत्याउने कुरा गरेर तर्किने गर्छन् । तर यिनले कोसिस गरेका प्रायः हरेक कुराहरू सफल भएकै हुन्छन् । यो अचम्मको सामीप्य बोकेकी छिन यिनले । ( पेज – ७९ )

कविताले तताएको माहोल – यो संस्मरणले साहित्य प्रेम ,बृद्ध बाको चौरासी वर्षको उमेरमा पनि, बाटाको पत्कर एक्लै सोहोरेर गरेको सत्कार ,साहित्यका विभिन्न विधाको प्रशिक्षण ,ताल र गुफाहरूको फोटो सेसन, कहिले सोमो कहिले पैदल यात्रा हुँदै, छ जिल्लाका सर्जकहरूको गोष्ठीको, र्इर्ष्यालाग्दो वर्णनले गर्दा यो संस्मरण लामो भैकन पनि पठनीय बनेको छ । ( पेज – ८५ )

कुकुर बेचेर कोशेली – यो संस्मरणले अत्यन्तै मर्मस्पर्शी र दिदी बहिनीको प्रेम झल्काएको छ । हामी नेपालीको सांस्कृतिक चाड तीजमा कुकुर बेचेर दिदीले बहिनीलार्इ पठाएको कोशेली पढ्दा हाँसो र गहनता दुवै पाइन्छ । त्यसमा पनि बुद्धि भयो भने कुकुर पनि बेच्न सकिन्छ तर पैसा मात्र आयो । आफ्ना परिवारका सदस्य कोही भएनन् भनेर, कुकुरलाइ नै घरको सदस्य बनाएकी बुढी आमाको कथाले, आजको घर घरमा छोराछोरीहरू पलायन हुँदाको विकराल अवस्थालार्इ चित्रण गर्छ । गाई भैँसी बाख्रासम्म किन्दा बेस हुनेमा, बुद्धि नभएपछि मान्छेले कस्ता कस्ता सौख पाल्छ भन्ने देखाउनु पनि यो संस्मरणको अमूर्त सन्देश हो । ( पेज – १०५ )

नौनी जस्तै नरम निर्मोही – यो संस्मरणले एउटा नरम तथा बिना स्वार्थ सर्जकको शल्यक्रिया गरेको छ ,अपितु संस्मरण त्यतिमा मात्र रोकिएको छैन । सर्जकका दुख ,मधेश आन्दोलनको क्रममा घाइते हुँदाको शुष्कता ,पत्नी वियोगको बेथा र त्यस्तो अवस्थाबाट उठेको कथा र निरन्तर संस्मरणकारलाई दिएको प्रेरणाको विषय छ । निर्मोही व्यासबारे तयार पारिएको सुन्दर लेख ।
चेलीको उद्धार – अनाहकमा एक जना बाह्र वर्षकी नानीलार्इ बेचिनबाट जोगाएको सुन्दर लेख हो । आज हाम्रा चेलीहरू कति बेचिए होलान् ? सर्जकले झैँ सबै चनाखो हुने हो भने अवश्य यस्ता अपराधिक कुकर्महरू रोकिनेमा शंका छैन । ( पेज – १२२ )

संस्मरणमा मानवीय पक्षका तत्वहरू

चेलीलार्इ उद्धार गर्नु ,अथितिलार्इ बास दिनु ,हरेक कुराहरूलार्इ सकारात्मक दृष्टिले हेर्नु र एकाध बाहेक सबै संस्मरणमा पाठकलार्इ असल कार्य गर्ने उप्रेरणा जगाएर यो सङ्ग्रह, मानवताको संवाहक बनेको छ ।

संस्मरणभित्र देखिएको माटोप्रेम

संस्मरणले कोरा महत्त्वकाङक्षा गर्न नहुने ,गर्न नसकिने कुराको पैरबी गरेको छैन ,यसले घर ,गाउँ ,आफ्नो समाज र देशकै प्रगतिको कामना र भोगाइलार्इ प्राथमिकतामा राखेको छ । कलैया मुल्बी तथा भित्री गाउँमा धान बालीको कुरा उत्खनन गरेर संस्मरणकारले यस्तै बाली नाली र सिञ्चाइको विकास भए पूरै देश कृषि प्रधान कहलिने कुरामा दृढता राख्नु भएको छ ।

संस्मरणकार र साहित्यबीचको साइनो

लेखकलार्इ नारी भए पनि केबल चुला चौका र श्रीमानको छ्हारीमा रमाउने गुण भएको यो सङ्ग्रहमा कतै देखिँदैन ,पढ्ने जान्ने सहपाठी गुरुहरूको सङ्गतमा रमाउँदै साहित्य सिक्ने ,गोष्ठीहरूमा जाने आदि कार्यले यिनी अझ खारिँदै गएको कुरा, उनकै शब्दमा संस्मरण पढ्दै जाँदा थाहा पाइन्छ। पत्रकारिता गर्दै गर्दाको पल होस् या काठमाडौँ र गाउँको साहित्य गतिविधिको उपस्थितिमा होस् । उनको साहित्यसितको साइनोमा, लामो रेसको

घोडा साबित हुनेमा शंका छैन

संस्मरणको कलात्मक पक्ष

यिनी हृदयले लेख्छिन् ,लेखाइमा भावना र कल्पना नदेखिएर समाज र भोगाइको चित्र कोर्नु यिनको सफलता हो । हिजोसम्म यिनलाइ हेर्ने दृष्टि र यो संग्रह पढी सकेपछिको हेराइमा, यिनको भागमा आदर अझै बढ्ने अड्कल सदैब रहने छ।

संस्मरणभित्रको वस्तुवादी चित्र र स्वेरकल्पना

कुनै पनि सर्जकले जे देख्यो ,जे भोग्यो त्यसलाइ आफ्नो कलमले नबङ्ग्या लेख्नु लेखकीय धर्म हो ,अझ भनौँ इमान्दारी हो । यसमा यिनी चुकेकी छैनन् । लेख्य छोटो नहोस् भनेर हरेक सर्जक सिमासम्मको कल्पनाशील वा स्वेरकल्पनाकार हुनु जरुरी छ ,यिनीले ससना घटनालाई तन्क्याएर ,कथेर लोभ लाग्दो बनाएकी छिन ।

उखान तथा कथनहरूको प्रयोग-

यिनले आफ्ना विभिन्न संस्मरणहरूमा दर्जनौँ उखान र कथनहरूको प्रयोग गरेकी छिन् । यस्ता उद्धरणहरूको प्रयोगले रचनालार्इ सुन्दर मात्र बनाउँदैन, भन्न खोजेको कुरालार्इ पनि सुन्दर अर्थ दिन्छ। साहित्यलार्इ अझ माझ्छ ।

उपसंहार

अप्सरा पुडासैनी नेपाली साहित्य आकाशमा संस्मरण विधाकी एक उर्बर सर्जक हुन् । यिनले २०५१ सालदेखि २०७३ साल सम्मका अन्तरमनले देखेको भोगेको घटनाहरूलार्इ आफ्नो हृदय बिछ्याएकी छन् । पाठकलाई लठ्ठ बनाउनु यिनको अद्भुत सृजना कला हो । अन्तमा ,साध्य साधनामा तल्लीन यिनीबाट अझ धेरै कृतिहरू जन्मिऊन् भन्ने कामना सहित मेरो लेख्य यही बिट मार्छु । नमन !