उपन्यासकारको परिचय:
स्वर्गीय याकुब(कुमान)लेप्चा र स्वर्गीय बारबारा लेप्चाको प्रणय सम्बन्धबाट ९अक्टोबर सन् १९६६ को दिन साङसे बस्ती तुम्लाबुङ जिल्ला कालेबुङमा जन्म लिएका, बहु आयामका धनी डेनिस लेप्चाले, आफ्नो कर्मभूमि भने दार्जीलिङको लब्ध प्रतिष्ठित शैक्षिक सस्थान सन्त रोबर्ट विद्यालयलाई बनाएका छन् । पेशाले शिक्षक साथै विद्यालयमा राजनैतिक विज्ञान पढाउने उपन्यासकार डेनिस लेप्चाले साहित्यलाई औधी माया गर्छन्। ईशाइ धर्ममा प्रबल विश्वास राख्ने डेनिसले धेरैवटा ईशाइ भजनहरू पनि लेखेका छन् । तिनी कहिले गीत लेख्छन्,कहिले नाटक कहिले कविता । साहित्यका विविध विधामा कलम चलाउनमा तिनी खप्पिस छन् । यी बाहेक तिनी कुशल अनुवादक पनि हुन् । तिनले (lepchas under suballtern politics,टिस्टा रङ्गीत, क्याटेकिस आदि कृतिहरूको अनुवाद गरेर प्रकाशनमा ल्याइसकेका छन् । साथै तिनले विविध पत्र पत्रिकाहरू पनि सम्पादन गरेका छन् । ती हुन् धरतीका रत्नहरू, नवज्योति आदि ।
उपन्यासकार डेनिस लेप्चाले यतिका समयसम्म नेपाली साहित्यलाई जति योगदान दिए, त्यसको हामीले सराहना गर्नैपर्छ । उनी बस काम गर्छन् काम गरेको हल्ला गर्दैनन् । यो उनको विशेषता पनि हो । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यपत्र प्रस्तुत गर्न समेत, थुप्रै देशमा गइसकेका छन् । आफ्नो इमानदारीमा सदैव भरोसा राख्ने उपन्यासकार डेनिस लेप्चाको कलम, नेपाली साहित्यको रथ चढेर अझ धेरै लामो यात्रा तय गर्ने छ भन्नेमा म विश्वस्थ छु ।
विषय प्रवेश:
भारतीय नेपाली उपन्यास परम्परामा एउटा नयाँ नाम हो उपन्यासकार डेनिस लेप्चा । भारतीय नेपाली उपन्यास लेखन परम्परामा बामे सर्दै गरेको अवस्थालाई डेनिस लेप्चाले जन्म कुन्डली उपन्यास लेखेर थप सहयोग गरेका छन् । उनको जन्म कुन्डली उपन्यास छोटो लामो गरेर तेह्रवटा उपशीर्षकमा लेखिएको छ । “फोबर्स अण्डर थर्टी सम्मिट” शीर्षकमा उपन्यासकार डेनिसले थुप्रै कुराहरू दर्शाउन चाहेका छन् । वर्तमान समयमा हाम्रो समाजमा युवा युवतीहरू प्रेमको परिभाषै राम्रोसँग नबुझी प्रेममा परेर “लिभ-इन-टुगेदरमा बस्छन्। अनि गर्ने नगर्ने कार्यहरू गर्छन् । यस्ता कुरालाई उपन्यासकारले विजय र करुणाको प्रेम प्रसङ्गबाट देखाउन चाहेका छन् ।
उपन्यासमा करुणा र विजय प्रेममा परेपछि दुवै बिहे नगरी सँगै बस्छन् अनि विजय करुणालाई गर्भवती बनाएर बेपत्ता हुन्छन् । त्यसपछि करुणा आत्महत्या गर्न खोज्छिन्। उपन्यासकारले उक्त घटनाको माध्यमबाट हाम्रो समाजलाई सकारात्मक सन्देश दिन चाहेका छन् । विगत धेरै वर्षदेखि हाम्रो समाजमा यस्ता घटनाहरू भइरहेका छन् । पुरुषहरूले नारीको कोमल हृदयलाई देखाबटी मायामा फँसाएर, नारीहरूको शरीरसित खेलेर, नारीहरूले आत्माहत्या समेत गरिरहेका छन् । यस दृष्टिकोणले उपन्यासकार डेनिसले आफ्नो उपन्यासमा नारी शोषण र पुरूषहरूको हैकमवादी परम्परालाई पनि दर्शाएका छन् । उनले यस उपन्यासमा अङ्ग्रेजी पात्रा “मोनिका लेवेन्स्कीको माध्यमबाट नारीहरूलाई आन्तरिक शक्ति पनि प्रदान गरेका छन् । नारीहरूको अन्तिम विकल्प आत्महत्या मात्र होइन तिनीहरूले पुरूषहरूसित डटेर पनि आफ्नो जीवन जिउन सक्छ भन्ने कुरा उपन्यासकी पात्रा करुणाको माध्यमबाट दर्शाएका छन् । एउटा उदाहरण हेरौँ “जे होस,आज म एउटा जिउँदो लास भएकी नारी जिउने माध्यम बनिन सकेँ । “शीर्षक, फोबर्स अण्डर थर्टी सम्मिटबाट पृष्ठ संख्या 27″। यस उपन्यासको विषयवस्तुलाई निर्क्योल गर्दा उपन्यासमा आंशिक रूपमा नारीवादी स्वर पनि उर्लेको पाइन्छ।
उपन्यासको अर्को उपशीर्षक अनुवाद पनि गजबको छ । उपन्यासकारले अनुवादलाई जीवनको वास्तविकताको प्रतीकका रूपमा राखेका छन् । दीप र निर्मलाको अनुवादको प्रसङ्गबाट शुरु गरेको यस शीर्षकमा ईशाई धर्मको आंशिक प्रभाव पाइन्छ । रोमा र हेर्मनको प्रेम प्रसङ्गबाट उपन्यासमा अझ रोचकता आएको भान हुन्छ । साथै अनुवाद शीर्षकमा मानिसको वास्तविक जीवनलाई कसैले पनि बुझ्न सक्दैन भन्ने तथ्यलाई झल्काएको पाइन्छ । उपन्यासमा काव्यात्मक शैलीको भरपुर प्रयोग गरेको छ । यो उपन्यासकारको विशेषता हो । उपन्यासकारले दीपलार्इ एउटा शिक्षित जातिवादी पात्रको रूपमा उभाएका छन् । उपन्यासको अर्को उपशीर्षक सेमिनार पनि बेजोड रहेको छ । उपन्यासकारले सेमिनारको माध्यमबाट दार्जीलिङको इतिहास दर्शाउने प्रयास गरेका छन् । दार्जीलिङका नेपालीहरूलाई विविध प्रकारका लाञ्छनाहरू लगाउँछन् । यिनीहरू विदेशी हुन् भन्छन् । यस्तो प्रकारको जातीय संकटको कुरालाई सबल रूपमा उपन्यासकारले उपन्यासमा झल्काएका छन् । एउटा उदाहरण हेरौँ “यहाँकाहरूले हामीलाई नेपालबाट आएका, काम गर्न आएका मात्र बुझ्छन् । हाम्रो आफ्नै इतिहास छ,सङ्घर्ष छ अनि भोगाइ छ ।(“पृष्ठ संख्या 49 सेमिनार शीर्षकबाट।”)
उपन्यासका अर्का उर्जाशील पात्र रूबिना हो । जसले दार्जीलिङको इतिहासमा लेप्चाहरूको इतिहासलाई प्रष्ट्याउन चाहेका छन् । साथै उपन्यासको अर्को प्रबल पक्ष बेकारी समस्या, चियाबारीको दुख्दो कथा पनि रहेको पाइन्छ । यस उपन्यासमा पात्र दीप र नेहा विपरीत ध्रुवमा रहेका पाइन्छन् । दीप राजनीति मनै पराउँदैनन् । नेहाको राजनीतिक जीवन देखाएको छ । उपन्यासकारले नेहाको माध्यमबाट दार्जीलिङको राजनीति पनि दर्शाउन चाहेका छन् । हाम्रो वर्षौंदेखि चलिआएको गोर्खाल्यान्ड आन्दोलनको इतिहासलाई पनि नेहाको माध्यमबाट देखाउन चाहेका छन् । एउटा नमूना हेरौँ (“नेहा कस्तो छ ? ऊ त अहिले छुट्टै राज्यको मागको पछाडि राजनीतिमा चुर्लुम्मै छ । “सेमिनार शीर्षकबाट पृष्ठ संख्या 43)।”
उपन्यासकार डेनिस लेप्चाले यस उपन्यासमा भारतको दार्जीलिङ र कालेबुङमा शिक्षा व्यवस्था थालनीको चर्चा पनि सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् । यस उपन्सासको पुरानो स्कुल शीर्षकमा उनले समकालीन साथीहरू विद्यालयको स्वर्णजयन्तीमा भेट गराएर तिनीहरूले स्कुले जीवनमा बिताएको रमाइलो पलहरूलाई सुन्दर रूपमा पस्केका छन् । दीप, प्रयास अन्य साथीहरू मिलेर पाखनबेत उखेलेर खाएको,काँक्रा चोरेर खाएको,होस्टेलको सिँढीमा पिसाब गरेको आदि कुराहरूले उपन्यासलाई जीवन्त बनाएको पाइन्छ । उपन्यासकारले यस शीर्षकमा दार्जीलिङमा ईशाई धर्मको प्रचारको प्रसङ्ग साथै ईशाईहरूको दार्जीलिङ र कालेबुङमा शैक्षिक योगदान के कस्ता थिए, त्यसको पनि उजगार गरेका छन् । एउटा नमूना हेरौँ “विलियम स्टार्टले तकभरमा पहिलो लेप्चा स्कुल खोले”(पुरानो स्कुल शीर्षकबाट पृष्ठ संख्या 59 बाट) । यस उपन्यासमा उनले दार्जीलिङ र कालेबुङका अधिकांश भेगहरूमा भारत स्वतन्त्र पूर्व नै अङ्ग्रेजकालीन समयमा पनि लेप्चाहरू यहाँ बसोबास गर्थे भन्ने कुरालाई पनि उठान गर्न चाहेका छन् । यस उपन्यासको कतिपय उपशीर्षकहरूमा उनले सफल रूपमा पूर्वदीप्ति शैलीको प्रयोग गर्न सक्षम भएका छन् । पुरानो स्कुल शीर्षकलाई यसको दृष्टान्तको रूपमा लिन सकिन्छ । उनले पुरानो स्कुल शीर्षकमा निर्मल र सिनोराको प्रेम प्रसङ्गलाई जोडेर उपन्यासमा अझ रोचकता झल्काउने प्रयास गरेका छन् ।
प्रेममा धोका पाएपछि आत्महत्या मात्र अन्तिम विकल्प होइन भन्ने विषयलाई ल्याएर आजको युवाहरूलाई सन्देश दिन चाहेका छन् । उपन्यासमा एउटा बलियो विषय राजनीति पनि रहेको पाइन्छ । जनसभा शीर्षकले उक्त कुरालाई उजगार गरेको छ । यहाँ उपन्यासकारले दार्जीलिङको राजनीतिको सङ्लो चित्रण गरेका छन् । दार्जीलिङको राजनीतिले जन्माएका विविध समस्याहरू,शोषणहरू,नेताहरूले दिएको धोकाहरू,यस्ता कुराहरूलाई सबल रूपमा उनले चर्चा गरेका छन् । यस उपन्यासमा जयराम जस्तो इमानदार मानिस पनि आफ्नो पारिवारिक समस्याको कारणले गर्दा, राजनीति जस्तो घिनलाग्दो विषयमा पस्न बाध्यता भएको छ ।”जयरामले ए.टी.एम कार्ड गोजीबाट झिक्यो”ब्यालेन्स रु ७००० लेखेको कागजको टुक्रा झर्यो। “भाइ सरले मदत गर्छु भन्दै हुनुहुन्छ। तर सुन तिम्रो केटाहरू लिएर दुईतीन दिनमा सरकहाँ जानुपर्छ । सरेण्डर गर्नपर्छ”(शीर्षक जनसभा पृष्ठ संख्या 69 बाट) ।
जनसभा शीर्षकमा उपन्यासकारले राजनीतिको कारणले गर्दा परिवारमा समेत झैझगडा हुन्छ अशान्ति हुन्छ भन्ने कुरालाई गणेश र उनको स्वास्नीको झगडाबाट देखाउन चाहेका छन् ।साथै जनसभा शीर्षकको अर्को पक्ष उपन्यासकारले पात्र रुबिनाको माध्यमबाट सिक्किम हाइड्रोप्रोजेक्टले टिस्टा नदीलाई अपवित्र पारेको कुरा साथै टिस्टा नदीका जीवजन्तुहरू मासिँदै गएको सत्य कुरालाई पनि उपन्यासकारले यस उपन्यासमा चर्चा गरेका छन् । साथै शिक्षा जस्तो अमूल्य विषयमा राजनीति प्रवेश गराएर, विविध प्रकारको क्षिक्षक नियुक्ति प्रक्रिया शुरु गरेर, इमानदारीहररूले काम नपाएको अवस्थालाई पनि उपन्यासमा चर्चा गरेका छन् । एउटा नमूना हेरौँ: “यहाँ चार दलमा विभाजित शिक्षक शिक्षिकाहरू छन् । परमानेन्ट,पारा टिचर ,भोलियन्टरी अनि क्याजुयल, नेताहरूले यस्ता कुरामा ध्यान दिँदैनन् शीर्षक जनसभा पृष्ठ संख्या ७१ बाट।”
उपन्यास पढेपछि यस्तो लाग्छ ।अहिले पनि दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन तीव्र गतिमा चलिरहेको छ । आन्दोलनको कुनै रूपरेखा नै छैन । बेपत्तामा मानिसहरू सहिद भइरहेका छन् । शहिदको परिवारले न्याय पाउने कुरा दन्त्ये कथा जस्तो मात्रै छ । जनताहरूलाई खालि भोट ब्याङ्क बनाइरहेको छ । राजनैतिक शोषण,अन्याय,अत्याचार यस उपन्यासको प्रबल पक्ष रहेको पाइन्छ। नेताहरू चुनावको समयमा मात्र जनतालाई सम्झनछन् । गोर्खाल्यान्डको नाममा भोट माग्छन्,आन्दोलन गर्छन् शहिद बनाउँछन् । शहिदको परिवारले लाख रुपियाँ पैसा पाउँछन् । समाचार पत्रमा फोटो छापिन्छ त्यसपछि भुल्छन् शहीदलाई । यसै प्रसङ्गमा उपन्यासकार भन्छन्-“चुनावमा नब्बे प्रतिशत भोट खसाले । हप्ता पन्ध्रमा नतिजा भयो । भोट लाउनेहरूले नेहा,डा. निर्मल, गणेश, शर्मिला ,सुनितालाई भुलेछन् “(पुरस्कार शीर्षकबाट पृष्ठ संख्या 85) ।
उपन्यासकार डेनिस लेप्चाले उपन्यासकै शीर्षक राखेर लेखेको जन्मकुण्डली शीर्षक पनि बेजोड रहेको छ । यसमा उपन्यासको प्रमुख पात्र पारिवारिक कलहमा परेर दिन प्रतिदिन डिप्रेसनमा परेको कथालाई उपन्यासकारले रोचक ढङ्गमा प्रस्तुत गरेका छन् । यो उपशीर्षक पढदै जाँदा मनमा एक प्रकारको कुतुहलता सृजना हुन्छ । जब दीपको आमा सुजताले दीपलाई तिम्रो जन्मकुण्डली भन्छु भन्छ । उपन्यासकारले नेहा र दीपको जन्मकुण्डलीको कथा पात्रा सुजाताको माध्यमबाट यति रोचक ढङ्गमा भनेका छन् । साच्चिकै यो कुरा याथर्थिक लाग्छ साथै मनमा अदृश्य पीडाबोध हुन्छ । आँखा भित्रबाट रसाउँछ । यो उपन्यासकारको कलाकारिता हो । साच्चिकै जन्मकुण्डली शीर्षकले यस उपन्यासमा धेरै ठूलो भारी बोकेको छ । जन्मकुण्डली शीर्षकको माध्यमबाट उपन्यासकारले मानिसको जीवनमा जन्म दिने र कर्म दिन आमाहरू बेग्लाबेग्लै हुन्छन् पनि भन्न चाहेका छन् । दीपको वास्तविक आमालाई प्रेगनेन्ट बनाएको प्रसङ्ग देखाएर, उपन्यासकारले पुरूषहरूले वर्तमान समयमा पनि नारीहरूलाई खालि यौनको भोग्य वस्तु मात्र ठान्छन् भन्ने सत्य पक्षलाई राखेका छन्, साथै वर्तमान समयमा भ्रुणहत्या देशभरि फैलिरहेको छ । यसको विरोध गर्दै उपन्यासकारले उपन्यासमा करुणालाई साहसी पात्राको रूपमा उभाएको पाइन्छ । उपन्यासमा नारीहरूको अन्तिम उपाय आत्महत्या मात्र हो, चाह्यो भने नारीले पनि जीवनमा षुरूषको साहाराबिना नै धेरै कुराहरू गर्न सक्छन् भन्ने तथ्यलाई पनि करूणाको माध्यमबाट देखाइएको छ । उपन्यासमा जब करूणाले आत्महत्या गर्न खोज्छिन् । त्यसबेला तिनलाई सुजताले मोबाइलको यूट्युवबाट मनिका लेवेन्स्कीको भिडियो देखाएपछि करूणालाई जिउने आशा जागेको छ । यस दृष्टिकोणले उपन्यासकारले मनिका लेवेन्स्कीलाई नारी सङ्घर्षको प्रतीकको रूपमा उभाइएको छ । “ऊ आत्माहत्या गर्न एकोहोरिएकी थिई । मेरो मोबाइलको यूट्युवबाट मनिका लेवेन्स्कीले जीवन सङ्घर्षमा कसरी विजय पाएकी थिई (forbes under 30 summit)मा बोलेकी भाषण सुन्न लगाएँ । त्यो सुनेर ऊ अलि शान्त भई” (जन्मकुण्डली शीर्षकबाट पृष्ठ संख्या 87) ।
जन्मकुण्डली उपन्यासभित्र रहेको प्रस्ताव उपशीर्षक रहस्यमय बनेको छ । उपन्यासको पात्र दीपको प्रेमको प्रस्ताव स्वीकार गर्नमा धेरै समय लिएर उपन्यासकारले दीपमाथि जन्माएको कुतुहलतालाई उपन्यासकारले बढी रोचक ढङ्गमा प्रस्तुत गरेका छन् । उपन्यासकारले प्रस्ताव शीर्षकमा बेकारी समस्या,राजनीतिले युवाहरू झुण्ड बनाएर फाइदा उठाइरहेका कुराहरू, दार्जीलिङको तानाशाही राजनीति,सामाजिक सञ्जालले विवाहा जस्तो पवित्र बन्धनलाई खेलाँची बनाइरहेको कुरा साथै दीपको पारिवारिक कथालाई स्पष्ट रूपमा दर्शाएका छन्। “आमाले आशा राख्दै भनिन् -रूबिनासित आश्वस्त छु- प्रस्तावको, के प्रस्तावको आमा? पूरा भनिहाल्नुहोस न” (प्रस्ताव उपशीर्षकबाट पृष्ठ संख्या 112) ।
उपन्यासभित्रको अर्को शीर्षक परिवार एउटा भिन्नै विषयवस्तुमा लेखिएको छ । मान्छे जन्मलिएपछि समाज गाउँ, घर र परिवारबिना जहिले पनि अधूरै रहेको हुन्छ । उपन्यासकारले यस उपशीर्षकमा दीप र रूबिनाको वैवाहिक जीवनलाई आधार बनाएर मान्छेको जीवनमा परिवारको महत्त्वलाई स्पष्ट रूपमा देखाउन चाहेका छन् । उपन्यासकारले परिवार शीर्षकमा पात्र गेबुको माध्यमबाट सिक्किममा लेप्चाहरूको आगमनको जानकारी पनि प्रस्तुत गरेका छन्। “गेबु रूबिनाकी आपा । कालेबुङमा जन्मेको । कलेज पढाइ सकेर सिक्किममा लाप्चे ल्याङ्गवेज टिचरको अपोइन्टमेन्ट भएको । गेबुकै साथी स्व. दोर्जी वाङ्दी कुन्चुद्धामु (लाप्चे) ले रोमाण्टिक भएर आफ्नो जन्मथलो कर्मथलोभन्दा राम्रो भन्ने भावनालाई गीत कथेर उजगार गरेका छन्”(जन्मकुण्डली उपशीर्षक परिवार पृष्ठ संख्या 114) ।
उपन्यासकारले गेबु र मन्जुको परिवार अनि दीपको परिवारको कथालाई रोचक ढङ्गमा प्रस्तुत गरेका छन् साथै सिक्किममा राजा बाबुरामको इतिहास साथै दार्जीलिङ र सिक्किममा नेवारहरूको आगमनको इतिहास नेवारहरू कसरी प्रधान भए भन्ने कुरालाई खोजमूलक रूपमा प्रस्तुत गरेका छन् । सिक्किममा नेवारहरू धेरै पहिला नै बसोबास गरेर आएका हुन्छ भन्ने कुरालाई तथ्यपरक रूपमा राख्न सफल भएका छन् । यो उपन्यासकारको कलाकारिता हो । “सिक्किमको इतिहास प्राय:(1642)राज्यभिषेकदेखि मात्र ठोस लेखिएका भए पनि सिक्किम र नेवार जातको सम्बन्ध धेरै पुरानो छ” (उपशीर्षक परिवार पृष्ठ संख्या 116 बाट) ।
दार्जीलिङको राजनैतिक विशेषता पाइनु जन्मकुण्डली उपन्यासको अर्को विशेषता हो । उपन्यासको उपशीर्षक “नेहाको आर्काइव शीर्षकमा उपन्यासकारले नेहाको नोटबुकमा लेखेको एउटा लेख शीर्षक प्रायोजित हुलदङ्गा,रायटर्समाथि लेखिएको नोटमा नाजीहरूले यहूदीमाथि गरेको अन्याय र अत्यचारको माध्यमबाट दार्जीलिङको गोर्खाल्यान्ड आन्दोलनलाई अघि राख्न चाहेका छन् । जसरी जर्मनमा यहूदीहरूमाथि सरकारले विविध कानुनहरू बनाएर अन्याय र अत्याचार गर्यो,तिनीहरूको घर जलाइयो,सजाय दिइयो धेरैलाई गोली ठोकेर मारियो यस्तै कुटनैतिक खेल हाम्रो जातीय आन्दोलनमा पनि भएको हो कि भन्ने संकेत उपन्यासकारले उपन्यासमा दिन चाहेका छन् । उपन्यासमा नेहाको चरित्रको माध्यमबाट हेर्दा यस उपन्यासमा आंशिक रूपमा प्रगतिवादी चेतना पनि पाइन्छ । यस उपन्यास शुरुआत र मध्यभागको घटना दुःखदायी रहे पनि उपन्यासको अन्त अन्तमा रोचक,मनोरम र सयोगान्त बन्न पुगेको छ, जुनबेला डा.रूबिना र डा.दीपले परिवार बसाल्ने योजना बनाउँछन् । तिनीहरूको बिहेको तयारी हुन्छ । उपन्यासमा ईशाई धर्म, लाप्चे धर्मका विविध संस्कार र संस्कृतिहरू पनि उपन्यासकारले देखाउन चाहेका छन् साथै विवाह पछि पुरूष र स्त्रीको जिम्मेवारी के कस्ता हुन्छ भन्ने कुराको पनि चर्चा गरेका छन् ।
उपन्यासको अन्तिम शीर्षक पुनर्मिलनमा दीप र रुबिनाको परिवारको मिलन साथै दालिमगढीको ऐतिहासिकता पनि दर्शाउन चाहेका छन् साथै गोरूबथानको मनोरम दृश्य अनि शताब्दी पुरूष हाइमनदास राई किरातसितको अन्तर्वार्तालाई रोचक ढङ्गमा प्रस्तुत गरेका छन्।
समग्रमा उपन्यासकार डेनिस लेप्चाको जन्मकुण्डली उपन्यास भाषा, विषयवस्तु सम्पूर्ण पक्षले सफल देखिन्छ । जन्मकुण्डली शीर्षकलाई अभिधात्मक रूपमा हेर्दा कुनै पनि व्यक्तिको जन्मेको समयदेखिको वृतान्त पाइन्छ भने यसलाई लक्षणात्मक दृष्टिकोणले हेर्दा हाम्रो जातीय चिनारी संकटको विषयतिर संकेत गरेका छन् । अतः उपन्यासकार डेनिस लेप्चाको यो कृति पढेपछि भारतीय उपन्यास लेखन परम्परामा उहाँको कामलाई निर्धक्कसँग स्थान दिन सकिन्छ भन्ने कुरामा दुइमत छैन । अन्तमा डेनिस लेप्चालाई अशेष शुभकामना दिँदै भविष्यमा यस्तै कृतिहरूको अपेक्षा साँच्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।