‘पुरण गिरी’ नेपाली गीत सङ्गीतमा अब सर्वपरिचित बनिसकेका छन् । ‘कोई बोलीमा रस हुन्छ कोई बोलीमा रिस’, ‘खस्यो खस्यो केही त खस्यो’ ‘मृत्युभन्दा कटु सत्य अरू छैन साथी, संसारमा ईश्वरभन्दा कोही छैन माथि’ लगायतका सयौँ कालजयी गीतका गीतकार भनी सुनाम कमाइसकेका गीतकार पुरण गिरी अब भारतीय नेपाली गीत-सङ्गीतका एक गौरव अनि साहित्यिक धरोहर बनिसकेका छन् । उनी अहिलेका सर्वाधिक चर्चित अनि व्यस्त गीतकार हुन् । यसैले उनको परिचयमा लामो विशेषणको जरुरत छैन । उनी सामान्य विशेषणभन्दा माथि पुगिसकेका सर्जक हुन् । उनको नाम नै उनको परिचयमा यथेष्ठ छ । एक सबल गीतकारको रूपमा वरिष्ठ गायक-गायिकाहरू जस्तै पेमा लामा, उदय-मनिला, थुप्देन भूटियालगायत धेरै नयाँ गायक-गायिका बानिका प्रधान, भावना थापा, श्रेया रावत छेत्री, सकुन आदिले उनका शब्दका गीतहरू लिएर सिङ्गो एल्वमहरू निकालिसकेका छन् । धेरैवटा भिडियो फिल्म अनि नाटकहरूमा गीतकार गिरीका गीतहरू समाहित छन् । उनका गीतहरूमा दर्जनौँ सङ्गीतकारले सङ्गीत भर्ने अवसर पाएका छन् । फरक-फरक एल्वममा परेका गीतहरूको गन्ती त कति हो कति ।
गीत लेखनलाई अब सिर्जनाभन्दा धेरै साधना मान्ने अवस्थामा पुगिसकेका पुरण गिरीका गीतहरूबारे यसअगावै पनि केही लेखिसकेको छु । गीत लेखनमा यसरी साधनारत् गिरीका दुईवटा गीत सङ्ग्रह क्रमैले ‘जिन्दगीको लयान्तर’ अनि ‘बिम्बहरू’ प्रकाशित भइसकेका छन् । उनका गीतहरूको अङ्ग्रेजी अनुवाद ‘Lyrical Puran Giri in Translation’ वरिष्ठ कवि तथा अध्येता मनप्रसाद सुब्बाको सुदक्ष अनुवादमा प्रकाशित भइसकेको छ । यसरी साहित्यको एक छुट्टै विधा गीत-लेखनमा गीतकार पुरण गिरीको अलग्गै परिचय स्थापित छ । यसै क्रममा उनको चौँथो कृतिको रूपमा हामीले पाएका हौँ गीतिकाव्य ‘चन्द्र-सूर्यको प्रेमकथा’।
विश्वलाई स्तब्ध र स्थिर बनाउने कोरोना महामारीको पहिलो लहरको कहालीलाग्दो समयलाई सकारात्मक अनि सिर्जनात्मक क्षणमा रूपान्तरण गर्दै सिर्जना गरिएको यो कृति यता भारतीय नेपाली साहित्यमा विरलै लेखिने गीतिकाव्य विधाको अनुपम काव्यकृति हो भनी तोक्न सकिन्छ । सारा विश्व महामारीको सन्त्रासले ग्रसित भइरहेको अवस्थामा, आफन्त र परिचितहरू एकपछि अर्को गुमाउनु परिरहेको पीडामय क्षणमा अनि मान्छेदेखि नै मान्छे भाग्न परिरहेको एलिनेटेड कालखण्डमा, गीतकार गिरीले कसरी आफ्नो मनमस्तिष्कलाई संयमित गर्दै र यस्तो अद्वितीय कल्पनाको उच्च उडान भर्दै सिर्जनाको यो विलक्षण कृति जन्माउन सके ? त्यो पनि अध्ययनको विषय बनेको छ। लकडाउनको त्रसित अवकाशलाई अवसरमा बदल्ने थोरै सर्जकहरूमा उनी पनि एक बन्नसके । नत्रभने धेरै जसो सर्जक र सिर्जना यतिबेला गुफा पसेजस्तै भएको सत्य सर्वविदितै छ।
चन्द्र-सूर्यको प्रेमकथा प्राकृतिक आद्यविम्बको शाश्वत प्रतीक घाम अनि जूनलाई केन्द्रमा राखी सिर्जना गरिएको एक अनुपम कृति हो। शीर्षकले नै बताउँछ यसमा प्रेमिल भावका हरफहरू बग्रेल्ती छन्। ‘प्रेम’ तर यहाँ देखाइएको भौतिक तथा दैहिक प्रसङ्ग होइन भनेर सहजै अड्कल काट्न सकिन्छ । प्रेमको शाश्वतता, यसको आदर्श अनि स्वरूप अलौकिक छ। चन्द्र-सूर्यको प्रेमकथामा वर्णित प्रेम अध्ययन क्रममा हेर्दा यसलाई प्लेटोनिक अनुराग भनेर तोक्न सकिन्छ । जुन अनुरागमा कुनै दैहिक आकर्षण र वासनाको गन्ध हुँदैन। भनिन्छ यसखाले प्रेमलाई परिभाषाले पनि बाँध्न वा समेट्न सकिन्न। यसमा केवल गहिरो लगाव, निस्वार्थ श्रद्धा, अटुट आस्था जसबाट प्रेमी-प्रेमिकाले आफूलाई अभूतपूर्व सम्बन्धभित्र जेलिएको अनि पूर्ण समर्पण मात्र अनुभूत गर्नेगर्छन्। यस कृतिमा जूनले घामलाई अनि घामले जूनलाई गर्ने प्रेममा यसै प्रकारको आशक्ति र आकर्षण देखिन्छ जो निष्पाप र निष्कलङ्क छ अनि समयको व्यापक अन्तरालमा पनि त्यसमा अलिकति पनि न्यूनता आउँदैन ।
महाकवि कालिदासले बादललाई, कवि मोतीराम भट्टले चरालाई, कवि शिरोमणि लेखनाथ पौड्यालले रूखलाई, कवि-कथाकार शिवकुमार राईले डाँफेचरीलाई अनि अन्य धेरै सर्जकहरूले प्रकृतिका धेरै अवयवलाई मानवीकरण गरी काव्यिक संरचना तयार गरेजस्तै गीतकार पुरण गिरीले चन्द्र-सूर्यको प्रेमकथालाई पनि यसै ढङ्गमा संरचित गरेका छन्। यसमा घाम र जूनसितै फूल, न्याउली, पहाड, बादल, खोला ढुङ्गा, हिमाल, वतास, वर्षा, तारा, ध्रुवतारा, वसन्त, पक्षी, इन्द्रेणी, अग्नि, वन, समुद्र, शून्यता देव-देवताहरू सांवादिक क्रममा आवद्ध हुन्छन् मानवसितै र मानवीय अवतरणमा मनका संवेगलाई अभिव्यक्त गर्छन् । वास्तवमा यहाँ कसले संवाद गरिरहेका छन् भन्दा के संवाद गरिरहेका छन् भन्ने कुरा काव्यिक महत्त्वका छन्। जसलाई अनुभूत गर्दै जाँदा हामी चन्द्र-सूर्यको त्यो अव्याख्येय अलौकिक प्रेमको आलोकमा विचरण गर्न पुग्दा रहेछौँ क्रमश:।
चन्द्र-सूर्यको प्रेमकथाको ‘कथा’ छोटोमा वर्णित छ तर यो कुनै काल वा समयको सीमिततादेखि मुक्त छ । यो ‘कथा’ युगौँदेखि चलिआएको, देखिँदैआएको अनि अनुभूत गरिँदैआएको सार्वकालिक अनन्तको कथा हो । सर्जक पुरण गिरीले कथालाई सय पृष्ठभित्र ३९६ हरफमा सीमित राखे पनि यसको अनन्तता जोख्न नसकिने छ । हामीले देखिरहेको – घाम उदाउँदा जून अस्ताउनुपरेको अनि जून उदाउँदा नउदाउँदै घामले पश्चिमी क्षितिजबाट जूनलाई हेर्दै बिदा लिनुपरेको प्राकृतिक नियमभित्र एकार्कामा भेट नहुने यी दुई ब्रह्माण्डका अवयवलाई कवि गिरीले आफ्नो कल्पना र भावनाको सम्मिश्रणमा मीठो आख्यानको सिर्जना गर्दै हामी पाठकलाई त्यो असीम ब्रह्माण्डमा परिभ्रमण गर्ने अवसर प्रदान गरेका छन्।
मिर्मिरे बिहानी, बादलरहित अनि बादलसहितको दिन, स्वर्णिम साँझ र नीरव रात्रिकालीन मुहर्तहरूलाई दृश्यमा राखेर कविले सूर्य र चन्द्रलाई मिलनको निम्ति आकुल-व्याकुल प्रेमी-प्रेमिकाको रूपमा प्रस्तुत गरेका छन्। उनीहरूका विछोडको विरह-वेदना देखेर-सुनेर फूल, न्याउली, पहाड, बादल, खोला, ढुङ्गा, हिमाल, वतास, वर्षा, तारा, ध्रुवतारा, वसन्त, पक्षी, इन्द्रेणी, अग्नि, बन, समुद्र, शून्यता आदिले उनीहरूलाई विभिन्न प्रकारले सम्झाउँछन् । मिलन गराइदिने वाचा गर्छन् । तर असम्भव यो कार्य कसैबाट पूरा हुँदैन तर जून यसरी गुनासो गर्छे:
कामना मात्र गर्दछन् सबै कसैको भर छैन
हामीलाई मिलाउने एकै ठाउँमा कसैको कर छैन
हामी दुईको प्रयास आज गएको देखेँ खेर
वाचा गर्नेहरूको वचन गएको देखेँ खेर (पृ. ५५)
यसै गरी सूर्यले पनि सम्झाउन आउने, मिलनको वाचा दिलाउनेप्रति रूष्ट बन्दै यसरी चेतावनी दिन्छन्:
नदोहोर्याऊ फेरि पुरानै कथा विश्वास नभएका पात्रहरूले
आफैमाथि भरोसा उडिसक्यो नटुङ्गिने मेरा यात्राहरूले (पृ.७०)
मेरो क्रोध जाग्नुअघि बाँच्ने उपाय आफैँ खोज
मैयाँको मुहार हेर्न नपाए के होला अब आफैँ सोच (पृ.७१)
सूर्यको क्रोधले सबै त्रस्त बन्छन् । समस्या सुल्झाउन मानवलाई गुहार लगाइन्छ । मानवले पनि चन्द्र-सूर्यको मिलन गर्न नसक्ने तर यदि भगवान् इन्द्रले चाहे त्यसमा केही निर्णय निस्कने सुझाव राख्छन्। त्यसपछि सबै इन्द्रलाई गुहार माग्न पुग्छन्। भगवान् इन्द्रले समस्याको गम्भीरता बुझी सबै देवगणलाई निम्त्याइ इन्द्रसभा डाक्छन्। सभामा अन्यान्य देवी-देवतासितै वरूणदेव, पवनदेव लगायत नारदमुनिको विशेष उपस्थिति देखिन्छन्। चन्द्र-सूर्यकै सामु छलफल हुन्छ। यदि चन्द्र-सूर्यको मिलन भए प्रकृतिको नियममा खलल पुग्ने र सारा सृष्टि नै डाँवाडोल हुने स्थिति देखापर्ने भएकोले इन्द्रसभाले पनि चन्द्र-सूर्यको मिलन गराउन असमर्थ हुन्छ । यसले चन्द्र-सूर्यलाई अझ व्यग्र र व्यथित बनाउँछ। तर एकार्काको समर्पण र अनुराग कति रहेछ दुवैले स्पष्ट अनुभूत गर्न भने पाउँछन् ।
त्यसपछि इन्द्रदेवको सुझाव र नेतृत्वमा सबै सृष्टिका सर्जक-पालक-संहारक त्रिदेव ब्रह्म-विष्णु-महेशलाई पुकार्न पुग्छन्। सबै वृतान्त सुनेपछि पहिले ब्रह्मले सम्झाउँछन्:
सृष्टि नै डाँवाडोल बनाएर ब्रह्माण्डमा हलचल मच्चाउनु छैन । प्रेममा सहानुभूति दर्शाएर प्रलय ताण्डव देखाउनु छैन । (पृ.१०९)
यसैगरी विष्णु भगवान्ले सम्झाउँछन्:
सृष्टि नै जब ध्वंश भए प्रेमको अस्तित्व नै के र
तिमीहरूको मिलनको प्रयास त्यसै नै जान्छ है खेर (पृ.११०)
अन्तमा भगवान् शिवले पनि सम्झाउँदै भन्छन्:
आफ्नो प्रेमको स्वार्थमा आज सृष्टिलाई विनाशमा धकेल्छौ किन?
चराचर जगत्का प्राणीलाई पनि बलिदान दिन लाउँछौ किन? (पृ.११२)
ब्रह्म-विष्णु-महेशबाट पनि मिलन सम्भव नभएपछि चन्द्र-सूर्यले पनि व्याकुलताका साथ चित्त बुझाउँछन् । मिलन हुन नसक्दाको त्यो व्यग्रता र पीडा आज पनि हामी महसूस गर्नसक्छौँ । अन्तमा कवि निष्कर्ष दिन्छन्:
नबुझ्ने चित्त कसरी बुझ्छ तर बुझाउनुपर्ने स्थिति बन्यो
चाहनाको विस्मृतिबाहेक अरू तिलाञ्जली स्मृतिको दिनुपर्यो ।
चन्द्र-सूर्यको त्रासदीको कथा आँसुले गह भिज्ने
तर पवित्र प्रेम भने यस्तै हुन्छ नभेटे पनि मुटुमा सिञ्चने। (पृ. ११९)
अत्यन्त सरल भाषामा सुललित लय र निश्चित फ्रेमभित्र लोक छन्दकै नजिकमा रहेका चार हरफे पदहरूले समग्र ‘कथा’लाई प्रस्तुत गरिएको छ । यो कृति संवादात्मक शैलीमा रसिला अभिव्यक्तिहरूले सुसज्जित पनि छ । बीचबीचमा कविको उपस्थितिले कथाको गति निर्दिष्ट दिशातिर प्रवाहित हुन्छ। हामी पाठकलाई कथासितै बाँधिराख्ने यसको भाषिक संरचना पनि एक हो, जहाँ स्वादिष्ट विम्ब र प्रतीकहरूले काव्यपंक्तिलाई सम्प्रेष्य र मर्मस्पर्शी बनाएको छ।
कृतिगत मूल्याङ्कन यति मात्र होइन। मेरो पठन यस कृतिलाई आजको नयाँ ज्ञानानुशासन पर्यासाहित्य (ईको-लिटरेचर)को परिप्रेक्ष्य केलाउने जमर्को पनि छ । किनभने यसमा ब्रह्माण्डको एकांश सौर्यमण्डल अनि यससित आबद्ध प्रकृतिको कथा छ । यसको पृष्ठभूमिमा प्रकृतिको सन्तुलितता, समृद्धता, शौष्ठव र सम्पूर्णता परिलक्षित छ। मलाई थाहा छैन कविवर पुरण गिरीले यस दिशामा कृतिलाई उभ्याउन सोचेका छन् कि छैनन् ? तर आज विश्वको हरेक साहित्यमा प्रकृति, पर्यावरण अनि पारिस्थितिकी अध्ययन आरम्भ भइसकेको छ। हाम्रो भारतीय नेपाली साहित्यले पनि यस दिशामा पाइला चाल्न आरम्भ गरिसकेको छ । अब पर्यालोचना वा ईको-क्रिटिसिजम् हाम्रो साहित्यमा आइसकेको छ । यसैको आधारमा यो नवकृति चन्द्र-सूर्यको प्रेमकथालाई पनि हेर्न सकिन्छ।
आजको विश्वमा पर्यावरणको चिन्ता सार्वजनीन छ । यो एक उत्तरआधुनिक चिन्ता हो अनि सँगै एक गम्भीर चिन्तन पनि हो । ग्लोबल वर्मिङ, ओजन तहको छिद्र, परावैजनी किरणहरूको आधिक्य, हिम-स्खलन, बाढी-पहिरोमा अनियन्त्रण, विविध प्रकारका प्रदुषण यस्ता अनेकौँ समस्याहरूको बगुन्द्रोले मान्छेको बँचाइ, विचार र व्यवहारमा प्रभाव पार्दै आइरहेको छ। पारिस्थितिक प्रणालीमा, पारिस्थितिक खोपीमा अनि खाद्यशृङ्खलामा देखिएका खलल र विकृतिले वातावरणमै प्रभाव पारिरहेकोले आज धेरै थोक नासिएर, मासिएर, विलुप्तिएर गइरहेको तथ्याङ्कले मान्छेको चिन्ता बढाउँदै लगिरहेको छ ।
साहित्यमा प्रकृति अध्ययन पहिलेदेखिकै हो। साहित्यमा त्यसले ‘रोमान्टिसिजम्’को स्वरूप पायो । पछि यो वातारणीय साहित्य बन्दै यसले नयाँ दिशा र गति लियो जसलाई आज फरक सन्दर्भ र दृष्टिले पर्या-साहित्य भनेर चिनिन्छ । सेरिल ग्लोटफेल्टी अनुसार ‘साहित्य र भौतिक वातावरणको अन्तर्सम्बन्धको अध्ययन’ नै पर्यासाहित्य हो। साहित्यिक कृतिमा पर्यावरणको चिन्ता, सर्जकको पर्यासंस्कृतिप्रति चासो र चिन्तन केलाउने उद्यम चाहिँ पर्यालोचना हो।
कृति चन्द्र-सूर्यको प्रेमकथा-मा भने आजको विज्ञान र प्रविधिको चोटले च्याङ्ले बनाइसकेको डरलाग्दो पर्यावरणीय अवस्थाको चित्रण छैन । यहाँ ग्लोबल वर्मिङको चिन्ता पनि छैन अनि अजोन तहको छिद्रबाट हुने वातारणीय परिवर्तन र प्रभावको कुनै भय पनि छैन । बरु छ दैव युगको मिथकीय आख्यायिकाहरू । लोक-परलोकको परिदृश्यहरू। त्यसो भए यसमा पार्यालोचना कसरी हुनसक्ला भन्ने प्रश्न उठ्नसक्छ ।
तर यसलाई अर्को कोणबाट हेरौँ- यहाँ जुन परिस्थिति, वातावरण र सङ्गत अन्तरसम्बन्ध देखाइएको छ त्यो काव्यकारको युटोपियन जगत्को एकांश हो। यहाँ मान्छेको प्रकृतिसित सुमधुर सम्बन्ध छ। प्रकृतिमाथि कुनै हस्तक्षेप र अतिक्रमण नभएको अवस्था हो यो। यसैले यहाँ फूल, न्याउली, पहाड, चरा, बादल, खोला, ढुङ्गा, हिमाल, बतास, वर्षा, तारा, वन, समुद्र, बादल, इन्द्रेणी, अग्नि, पर्वत अनि मानव सबै मिलेर बसेका छन्। यसैले प्रकृतिमा सौन्दर्य व्याप्त छ। जगत् र चराचरले पूर्ण अस्तित्व पाएको छ।
पक्षीको चिरबिरले सन्नाटा तोड्छ
प्रभात मुस्काउन थाल्दा
जगत् सारा रमाउन थाल्छ
सूर्यको लालिमा चड्दा।
हरियो वनको मुना लजाउँदा
मजुर नाच्न थाल्छ
उज्यालो स्पर्श पाएर धरती
जगमग बल्न थाल्छ। (पृ. २३)
प्रकृतिमा यदि मान्छेले विज्ञान, उद्योग, हातहतियार आदि लिएर सभ्याताको नाममा आफू बाँच्ने वातावरण वा पर्यावरणमाथि यति निर्दयी हस्तक्षेप नगर्दो हो त कविले अनुभूत गरेको त्यो यूटोपियन संसार आजको यथार्थ बन्ने थियो । तर त्यसको विपरीत आज हामी जुन भयावह स्थितिमा छौँ अब त्यो विगतमा फर्केर जान नसक्ने हाम्रो असमर्थता कृतिले हामीलाई देखाइदिएको छ। उज्यालो पर्दापछिको अँध्यारो वर्तमान बोध गराउने यो कृतिले प्रकृतिको वास्तविक प्रकृति चिनाउन सफल बनेको छ। यसैले पर्यासाहित्यको सन्दर्भमा यो कृति एक सबल कृति हो भनी तोक्न सकिन्छ।
अन्तमा, कवि-गीतकार गिरीले आफ्नो यस कृति चन्द्र-सूर्यको प्रेमकथालाई ‘गीतिकाव्य’ भनेर तोकेका छन् । जीवनका गम्भीरता र गहिराइलाई गीतहरूका मुर्छना र विम्बमा पस्कने गीतकारले अत्यन्त सहज र सरल संवादक्रममा यो गीतिकाव्य संरचित गरेका छन् । अध्येता अर्जुन प्रधान, मनप्रसाद सुब्बा, डा. दिवाकर प्रधान आदिले यो सिर्जना क्यान्टाटा बन्नसक्ने सङ्केत दिएका छन् । तर यसले आजको साइबर संसार र सोसियल मिडियाले खर्लप्प निलेको समयमा त्यो सम्भव होला के? यो गेय काव्यले त्यही प्रविधि र डिजिटल संसारबाटै आफ्नो स्वरूप निर्धारण गर्ला कि ? हामी आशा भने नमारौँ।
अर्को कुरो गीत-लेखन अब साहित्यकर्म बनिसकेको छ। अमेरिकी गायक-गीतकार बब डाइलनले नोबेल पुरस्कार पाउँदा “के मेरा गीतहरू पनि साहित्यिक सिर्जना हुन् र?” भनेर आश्चर्य प्रकट गरेका थिए। हाम्रा गीतकारहरू ठूला पुरस्कारबाट वञ्चित रहेको पाउँदा हाम्रो साहित्यसमाजले गीतकारहरूलाई साहित्यिक मान्यता नदिएकै हुन् कि ? यस्तो लागिरहेको छ। पुरस्कार नै सिर्जनाको मानक नहोला तर मान्यता भने अवश्य हो । यसैले अब पुरण गिरी जस्ता गीतकारहरूको आधिकारिक मान्यतामा विलम्ब हुनुहँदैन ।
अस्तु: ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।