प्रान्जल खतिवडा

कक्षाः ११, डियरवाक सिफल स्कुल

जीवा लामिछानेले २५ वर्षभन्दा लामो समयदेखि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायमा संलग्न रहेर काम गरेका थिए । उनी गैरआवासीय नेपाली संघका संस्थापक पनि हुन् । मस्को युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङ्बाट स्नातकोत्तर गरेका उनले मस्कोबाटै व्यावसायिक यात्रा थालेका हुन् ।  धेरैपटक उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको सदस्यसमेत भएका थिए  । उनले नेपाल र नेपालीको डायास्पोराको क्षेत्रमा पुर्याएको योगदानका कारण प्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । यात्रा गर्न रूचि राख्ने उनले, एक सय तीसभन्दा बढी देश घुमेका छन् ।

नियात्रा कृति ‘देशदेशावर’ मा नियात्राकार जीवा लामिछानेले आफूले आफ्नो परिवार, पत्नी बिन्दिता, छोराहरू अनुराग र अनुकृत र कयौँ सँगै काम गर्ने साथीहरूसँग  विश्वका विभिन्न ठाउँहरू घुमेका र त्यहाँका भूगोलको चित्रण गर्नुका साथसाथै त्यहाँका सांस्कृतिक, पूरातात्त्विक महत्त्वका बारेमा पनि चर्चा गरेका छन् । लामिछाने आफू जहाँजहाँ घुमेका छन् उनले पाठकलाई पनि तिनै ठाउँहरूमा आफ्नो अक्षरमार्फत् आफूसँगै यात्रामा लगेका छन् । लामिछानेले त्यहाँको अथाह सौन्दर्यको बारेमा चर्चा गर्दै त्यहाँ तत्कालीन समयमा घटेका घटना र त्यसले त्यहाँका मानिसहरूप्रति कस्तो असर पारेको छ भन्ने कुरा र हाम्रो देशमा घटेका घटनाहरूलाई पनि तिनै घटनाहरूसँग तुलना गरेका छन् । यात्रा गर्न असाध्यै मन पराउने जीवाका प्रायः यात्राहरू अविस्मरणीय, अनौठा र रोमाञ्चित किसिमका छन्  । कति यात्राहरू दुःखद भएको  बताएका छन्,  देशदेशावरमा । उनको भनाइमा किताब पढेरभन्दा यात्राबाट मान्छेले धेरै कुरा सिक्न सक्छ ।

कङ्काल सम्याएर उभिएको विकासमा जीवा रुवान्डा आफ्नो विगतका पीडाहरू भुल्दै, विकासको बाटोतर्फ अघि बढेको र रुवान्डाली जनताको पौरख देखेर खुसी छन् ।

शासकहरूले तान्जनियालगायत अन्य अफ्रिकी मुलुकहरूबाट दासदासी ल्याएर छिमेकी मुलुकमा बिक्री वितरण गर्ने गरेको भन्ने कुरा उनले थाहा पाएका छन् । यही अवस्था उनले यता नेपालमा देवशमशेरको  शासनकालको दास प्रथासँग तुलना गरेका छन् ।

मोजाम्बिकको राजधानी मापुतोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेर आफ्नो भ्रमण सुरु गर्न लाग्दा, उनको अध्यागमन फाराम त्यहाँका कर्मचारीहरूले च्यातिदिन्छन् । भ्रष्ट कर्मचारीबाट छुट्करा पाउन उनले १० डलर तिर्न परेको र यसरी मोजाम्बिकको भ्रष्टता झल्किएको देख्न सकिन्छ ।

अफ्रिका महादेशमा रहेको मोजाम्बिकले बन्दुककै कारण आफ्नो देश स्वतन्त्र भएको भन्दै आफ्नो राष्ट्रिय झण्डामा समेत एके फोर्टी सेभेन राइफल राखेको भनेर बताएका छन् ।

आफ्नो युगान्डाको यात्रामा, एउटा निर्दयी शासक दादा इदी अमिनले मान्छेको मासुसमेत खान्थे भन्ने कुराको थप जानकारी पाएका छन् । उनले दादा इदी अमिनका बारेमा त्यहाँ धेरै कुरा थाहा पाए । युगान्डाको राजधानीमा रहेको राष्ट्रिय सङ्ग्रहालय घुम्दै गर्दा उनले दादा इदी अमिनका गाडीहरूको अवलोकन गरेका थिए । दादा इदी अमिनले एसियाली मूलका मानिसलाई युगान्डामा बस्न दिएका थिएनन् । उनको त्यो आदेशका कारण एसियाली मूलका हजारौँ व्यापारीलाई सन् १९७२ मा खाली हात देशनिकाला गरिएको थियो ।

प्रान्जल खतिवडा

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रामा जीवाले क्यारेबियनको प्रकृति, इतिहास, सभ्यता, परम्परा, रीतिथिति र त्यहाँको अनौठो संस्कृतिसँग पाठकलाई परिचित गराएका छन् । उनले ‘द हार्मोनी अफ द सी’, दुनियाँको सबैभन्दा ठुलो पानी जहाजमा चढेर सुन्दर र रहस्यमयी क्यारेबीयन द्वीपको यात्रा गरेका थिए । आफ्नो क्यारेबीयन सामुद्रिक यात्रामा नाइल नदी र भिक्टोरिया ताल तर्दै हैटी पुगेका थिए । हैटीमा सन् २०१० को महाभूकम्पले धेरै विनाश मच्चाएको थियो । अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले सहयोग गर्दैआए पनि हैटी आफ्नो खुट्टामा उभिन सकेको थिएन । अमेरिकन रेडक्रसले उठाएको पाँच सय मिलियन डलर अर्थात् करिब ५५ अर्ब रुपैयाँले हैटीमा जम्मा ६ वटा मात्र घर बने भन्ने कुरा जीवाले थाहा पाएर त्यसको कुरा गरेका छन् । त्यत्रो पैसा खर्च भएको कुरामा असहमति जनाएका छन् र हैटीको स्थिति देखेर आफ्नो दुःख पाठकहरूसँग व्यक्त गरेका छन् ।

जीवाले एउटा शान्तिको साथसाथै सौन्दर्यले भरिपूर्ण सानो देश आइसल्यान्डको सौन्दर्यका साथसाथै त्यहा हिंसा कम रहेको र सेनाको केही पनि काम नरहेको बताएका छन् । हिउँ र आगोको भूमि भनेर चिनिने आइसल्यान्डको जमिनमुनिबाट तातोपानी निक्लेको देखेर धेरै पर्यटकहरू लोभिएका र पर्यटन क्षेत्रमा धेरै स्रोत नभए  पनि प्रगति गरेको आइसल्यान्डको बारेमा मन खोलेर तारिफ गरेका छन् । आइसल्यान्डमा धेरै वर्षअघि उत्पन्न भएको ज्वालामुखी क्षेत्रमा अझै पनि ताता लाभा भेटिएको कुरामा उनी अचम्मित छन् ।

यात्राकै क्रममा जीवा फिनल्यान्डमा पुगेका छन् र त्यहाँको लोकतन्त्र र सुशासनको कुरा गरेका छन् । नजिकै रुस रहँदा पनि नझुक्किकन आफ्नो देश आफैँ अघि बढेको फिनल्यान्ड एउटा राम्रो उदाहरण रहेको र त्यसलाई नेपालसँग तुलना गरेका छन् । नोकिया फोनको नारा “कनेक्टिङ् पिपल“ जस्तै फिनल्यान्डमा रहेका नेपालीहरूको परिस्थितिको चर्चा गरेका छन् । कनेक्टिङ पिपलको नाराजस्तै नेपालीहरू जहाँ रहे पनि एक आपसमा सद्भावपूर्ण सम्बन्ध रहेको बताएका छन् ।

उनले अमेरिकाको लसभेगास सहरको चर्चा पनि गरेका छन् र लसभेगास एकदमै विकसित रहेको बताएका छन् । नेभादा मरुभूमिमा अवस्थित भेगास सहर मनोरञ्जनको अन्तर्राष्ट्रिय राजधानीका रूपमा रहेको, बर्सेनी ४ करोडभन्दा बढी पर्यटकले भेगास सहरको यात्रा गर्न आउँदा रहेछन् भनेर त्यहाँ अवस्थित हुभर बाँध हेर्न गएका छन् । जीवाले सिमानाको भेदको कुरा साइप्रस भ्रमणमा गरेका छन् । उनले हेरेर अर्को देश आफ्नै अगाडि हुँदा पनि जान नसकिने दुःखको कुरा गरेका छन् । उनका अनुसार शासनका नाममा भूगोल विभाजन गरेर आफैँले कोरेको घेराभित्र आफैँ थुनिएको मान्छेका कारण कसरी साइप्रसको निकोसिया सहर मध्यभागबाट नै विभाजित भयो भन्ने कुरा गरेका छन् र भ्रमणमा प्रेमकी देवी आफ्रोडाइटीको किंवदन्तीकोबारे एउटा भावुक कथा पनि सुनाएका छन् ।

जीवा श्रीलङ्का पुगेका छन् र श्रीलङ्काले खपेको २ दशकभन्दा लामो युद्धमा मान्छेले सहनु परेको पीडाको चर्चा गरेका छन् । साथसाथै जङ्गली जनावरहरूले समेत भोग्नु परेको दुःखद कहानी हात्ती अनाथालयमा देखेका छन् । धेरै जसो प्राणीहरू अङ्गभङ्ग भएको र दुई खुट्टाले हिँड्ने नसक्ने भएर तीनखुट्टाको सहाराले तालमा पानी खान हिँडेका हात्तीहरूका कहालीलाग्दा दृश्य देखेका छन् । उनीहरूको दुःख पाठकहरूलाई बताएका छन् । युद्धको प्रभाव मानिसमा मात्रै नभएर  जीवजन्तुहरूमा समेत भयानक प्रभाव पर्दो रहेछ भन्ने कुरा श्रीलङ्काको भ्रमणबाट थाहा पाएका छन् ।

लेखक टोरन्टो विमानस्थलमा झरेर क्यानडाको यात्रामा लागेका छन् । त्यहाँका नदी, ताल, झर्ना, समुद्र सौन्दर्यले भरिपूर्ण रहेको भूगोलबारे चर्चा गरेका छन्  । उनी ओन्टारियो तालको सौन्दर्यमा हराएका छन् । त्यहाँको सौन्दर्य अनुपम रहेको कुरा उनको वर्णनबाट बुझ्न सकिन्छ । यस्तै वन्डरल्यान्ड थिमपार्क, नायगराफल्स्, क्यानेडियन भ्युटावर निकै सुन्दर पर्यटक निम्त्याउने मुख्य स्थल रहेछन् । शान्ति, सौन्दर्य र समृद्धिले भरिपूर्ण क्यानडामा धेरै नेपालीहरू पनि रहेका र उनीहरू त्यहाँ  विभिन्न पेसा, व्यवसायमा संलग्न रहेछका छन् । भिन्न भिन्न वातावरणमा हुर्केका मानिसहरूमा पनि एकता रहेको कुरालाई उनले निकै तारिफ गरेका छन् । उनले त्यहाँको एक चर्चित बोल्डर क्यासलको ऐतिहासिक कथा सुन्छन् र कसरी आफ्नी पत्नीलाई एउटा  आलिसान महल उपहार स्वरूप दिन लाएको र दिनुभन्दा अगाडि नै उनको मृत्यु भएको सुन्दा उनको मन दुख्छ ।

उनी चीन पुगेका छन् । चीनमा उत्पादित सामानहरू विश्वभर निर्यात भएका छन् । अन्तर्राष्ट्रियस्तरमा चीन एउटा शक्तिशाली उदियमान अर्थतन्त्र भएको देशबारे उनी जानकार हुन्छन् । सन् १९८९ मा संसारलाई चकित पार्ने  घटनास्थल तिआननमेन चोकको अवलोकन गरेका छन्, जहाँ स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हजारौँ विद्यार्थीमाथि चिनियाँ सेनाले बुल्डोजर चलाएर हत्या गरेको थियो । चीनमा पुगेर उनले चीनको ऐतिहासिक महŒवको ठाउँ माओ मेमोरियल, बेइजिङ सहरको प्यालेस म्युजियमलगायत जिन्सेन पार्क, बेहाइ पार्क, लोटस पार्क, विश्वको सातौँ आश्चर्य ग्रेटवालको  पनि भ्रमण गरेका छन् । अत्याधुनिक प्रविधिको प्रयोग र पर्यटन प्रवर्धनसँगै चीन विश्वमै आर्थिक रूपमा शसक्त देश हुनुमा त्यहाँका परिश्रमी र अनुशासित जनताको भूमिका रहेको कुरा उनले बताएका छन् ।

‘मिस्टर गोर्बाचेभ’ ! टियरडाउन दिस वाल’ अथवा  बर्लिन वाल स्पिच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनले दिएको भाषण थियो । बर्लिनको पर्खाल सन् १९६२ मा निर्माण भएको यानिकि २८ वर्षे विभाजनको इतिहास बोकेर उभिएको बर्लिनको पर्खाल ढलेसँगै पूर्वी जर्मनी र पश्चिमी जर्मनी एकीकृत भएका थिए । पूर्वी र पश्चिमी जर्मनहरूमा विभाजनको प्रतीक मानिने बर्लिन वालको चर्चा गरेका छन् । आफ्नो जर्मनीको यात्रामा जर्मनीको वाइमर  सहरस्थित बुखेनभाल्ड बन्दी गृहको अवलोकन गरेका छन् । हिटलरद्वारा निर्मित बन्दी गृहका साथै उनले त्यहाँ यातना भागेका मान्छेका बारेमा सोच्दासोच्दै यदि हिटलर नजन्मेको भए के हुन्थ्यो होला ? भनेर आफैँसँग प्रश्न पनि गरेका छन् । हिटलरले धेरै मानिसहरूलाई करेन्ट लगाएर मारेका, अङ्गभङ्ग पारेका र कतिले त यातना सहन नसकेर आत्महत्यासमेत गरेका कुरा थाह पाए ।

रुसको यास्नाया पोल्यानामा जन्मेका लियोटल्स्टय महान लेखकहरूमध्ये एक हुन् । उनले  ‘वार एण्ड पिस’, ‘अन्ना करेनिना’ ‘डेथ अफ इभान इलिच’ जस्ता प्रसिद्ध पुस्तक लेखेका छन्  । जीवाले यास्नाया पोल्यानाको भ्रमण गरेको बेला जहिले पनि लियोको आश्रम भ्रमण गर्छन् । जहाँ उनले ५० दासदासी सेवामा खटिएका, सयौँ गाउँ उनकै प्रभुत्वमा रहेको परिवारमा जन्मिएका, लियोका कृतिमा भने निम्नवर्गदेखि उच्चवर्गसम्मका पात्रहरूको चित्रण गरिएको छ । उनले स्थापना गरेको विद्यालयले प्रतिभाकै खोजीमा धेरै ध्यान दिने र सैद्धान्तिक शिक्षालाई पनि अघि  बढाउने रहेछ । उनी  विवाहपछि  वेश्यालय पुग्छन्, जुवा खेल्छन् र  जीवनका आखिरी क्षणहरूमा सबै पारिवारिक मायामोह छोडेर ८२ वर्षको उमेरमा एक दिन रातको समयमा घर छोडेर आफूलाई १२ नम्बरको रेलको यात्री भनी घर छाडेको ११ दिनमा एउटा रेल स्टेसनमा निधन भएको कुरा सम्झेर जीवा भावुक हुन्छन्  ।

वीरेन्द्र बियर भनेर एउटा चर्चित बियरको ब्रान्ड कसरी एक विदेशीले सोचे होलान् भनेर उनले सोधपुछ गर्दा उनी नयाँ नाम राख्न सौखिन थिए भन्ने कुरा थाहा हुन्छ ।

म्युनिखमा हुने म्युनिख बियर महोत्सवमा आफैँ भ्रमण गरेर त्यहाँ कसरी बियरको खोलो बग्दो रहेछ भन्ने कुरा पाठकहरूसामु चर्चा गरेका छन् ।

भिसेन्ट गाउँको एउटा जङ्गलभित्र उनले सानो सुन्दर नेपालजस्तै बनेको एउटा ठाउँ देखे । नेपाली प्रकृति, कला, संस्कृति सबै नेपालजस्तै देखे । जर्मनीको फ्रङ्क्याफर्टबाट ३५० किमीमा रहेको भिसेन्ट गाउँमा गएपछि  उनलाई नेपाली भूमिमा नै उभिए जस्तो महसुस भयो । हेरिबेर्ट विदेशी भए पनि सूक्ष्म तरिकाले नेपालको कुरा गरेकोमा उनको तारिफ गर्छन् ।  सानो नेपाल भनेर चिनिने त्यो ठाउँ पर्यटकहरूका लागि सौन्दर्यको खानी थियो । धेरैले त्यहाँ गएर हेरून्, सिकून् र आनन्द लिउन् ताकि उनीहरूले नेपालबारे धेरै कुरा थाहा पाउन् जसले गर्दा हाम्रो देशको पर्यटन क्षेत्र मजबुत बनोस् भन्ने उनको चाहना छ ।

अन्ततः देश देशावरमा जीवा लामिछानेले यात्रा र मनोरञ्जनका विभिन्न ठाउँहरूको भूगोल, इतिहास, दर्शन, संस्कृति, संस्कारलगायत विविध जानकारी समेटेका छन् । देश देशावर एउटा नियात्रा कृति हो, जसले अक्षरको माध्यमबाट संसार घुमाउँछ । संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । यसले पाठकलाई विभिन्न भूगोल र इतिहासको रमाइलो यात्रामा लैजान्छ । जीवाले आफ्नो यात्रामा कतै युद्धले विनाश भएर फेरि खडा भएका देशहरू देखेका छन् भने कतै हिंसा नै नभएको देश पनि देखेका छन् । उनले कतै युद्धका घाउ, पीडा र कतै रमाइला दृश्यहरू पनि देखेका छन् । जहाँ जहाँ उनले भ्रमण गरे, त्यहाँ हिंसा तत्कालीन समयमा रहेको भए पनि आउने समयमा कसैले दुःख भोग्नु नपरोस् भन्ने कामना गर्दछन् । उनको विचारमा पर्यटन प्रवर्धनका लागि देश क्षेत्रफलले ठुलो सानो जे भए पनि फरक पर्दाे रहेनछ । दूरगामी सोच र त्यसअनुसार व्यवस्थापन मजबुत भए सामान्य स्थान पनि पर्यटकीय स्थल बन्दो रहेछ भन्ने उनको यो कुरा कृतिबाट बुझ्न सकिन्छ । सरकारका नीति तथा कार्यक्रम अनि व्यवस्थापन फितलो छ भने विश्वका सुन्दर दृश्यहरूले पनि पर्यटकको तन र मन तान्न सक्दैनन् र राज्यले आर्थिक लाभ लिन सक्नदैन भन्ने धारणा लेखकको छ ।

पुनश्चः पुस्तक अध्ययनमा आख्यान सँगैसँगै गैरआख्यान  पनि मेरा  रूचिका विषय हुन् । विद्यालयले पुस महिनामा हामीलाई अध्ययनका लागि उल्लिखित पुस्तक उपलब्ध गराएको थियो । त्यही कारणले पनि यो सामग्री लेख्ने उत्प्रेरणा पुस्तक अध्ययनपछि प्राप्त भएको हो । यसमा आदरणीय गुरुहरूको भूमिका पनि अहम् छ भन्न चाहन्छु ।