कोमल हृदय, मृदुभाषी बोली, एक सरल अनि शालीन व्यक्तित्वका रूपमा मसँग पहिलो परिचयमा परिचित बनेका हुन् कवि पदम विश्वकर्मा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा जोडिँदा कुसल संगठनका रूपमा चिनेकी हुँ मैले पदम विश्वकर्मालाई । गीत, कविता, कथा जस्ता विधामा पढ्न पाइराखिएको उनलाई यसपाली उपन्यास विधामा पढ्न पाइयो । उनको यो क्वारेन्टाइन उपन्यासभित्र पसेर शब्द केलाउँदै भावभित्र पौडिँदा कोरोनाकालको कथा बुनिएको छ र विश्वमानव जातिले भोगेका विगतदेखि वर्तमानसम्मका युद्धका घाउ भोग्नु पर्दाको पीडा जीवन्त उतारिएको छ । हाम्रो समाजमा जरा गाडेर बसेको सामाजिक विभेदको प्रसङ्ग उदिनिएको छ । कोरोना कहरको समयमा अग्रपंक्तिमा रहेर सेवामा समर्पित हुने समाजसेवी वा सेवाकर्मीको दर्दनाक मनोदशा एवम् हृदयस्पर्शी कथा बुनिएको छ । मानव सभ्यताको इतिहासमा आफ्नो राज्य विस्तार गर्दै साम्राज्यवादी हैसियत जमाउन धार्मिक युद्ध गर्नमा लामो समय बिताएको र करोडौं मान्छेले अनाहकमा ज्यान गुमाउनुपरेको प्रसङ्ग छ । प्रथम विश्वयुद्धमा ज्यान गुमाउनेको अनुमानित सङ्ख्या उल्लेख गर्दै नेपालमा पनि जनयुद्धका नाममा १८ हजार हाराहारी नेपालीले ज्यान गुमाउनु परेको तितो यथार्थ उल्लेख गरिएको छ । अमेरिकाले जापानी भूमि हिरोसिमा र नागासाकिमा क्रमश लिटिल ब्याई र फ्याटम्यान नामका दुई बम खसाल्दा दुई लाखभन्दा बढी जापानी नागरिकले ज्यान गुमाउनुपर्दाको पीडा पोखिएको छ । जहाँ, जहिले, जसरी भएपनि युद्धले मार्ने त आखिर सर्वसाधारणलाई नै हो जो शक्तिको पहुँचभन्दा निकै तल हुन्छन् भन्ने तितो यथार्थ समेत उपन्यासभित्र उल्लेख गरिएको छ ।

उपन्यासका मुख्य पात्र विनय छन् । आमा बिरामी भएर नाजुक अवस्थामा पुग्दासमेत अमेरिकाको अस्पतालले भर्ना लिन नमानेको कुरालाई गैरजिम्मेवार भन्दै कमसेकम नेपालमा भए त नर्सिङ्गहोममा गएर उपचार गर्न पाइन्थ्यो भन्ने प्रसङ्ग अनि मनकामना माइलाई सम्झिएर आमाको स्वास्थ्य लाभको कामना गरिरहेको प्रसङ्गले आपत्मा मान्छे मातृदेश सम्झने र आस्तिक हुने मनोविज्ञान झल्काउँछ ।

कोरोना कहरले जब पुरै सहर आर्यघाटको गन्धमा दुर्घन्धित हुन थाल्छ, मान्छेका बाँच्ने रहर महामारीको भेलले भकाभक् निल्न थाल्छ, बिरामीको चाप बढेको कारण अस्पतालमा बेड, पीपीई र भेन्टिलेटरको अभाव, फ्युनेरल सेन्टरमा लासहरूको खचाखच, स्वास्थ्यकर्मीलाई पन्जा, मास्क, गाउनको चरम अभाव जस्ता दृश्यले कोमल मानवीय हृदय आहत हुन्छ, संवेदनाले उचाइले सगरमाथाको उचाइ होचो देख्न थाल्छ, हृदय क्षतविक्षत हुन्छ र मुटु फुटेर बगेको भेललाई मसिमा रूपान्तरण गरेर सहास बटुल्दै शब्दमा लेखक कथा उन्न थाल्छन् । अन्ततः आँसुको थुङ्गा अनि संवेदनाको माला बनेर तयार हुन्छ क्वारेन्टाइन ।

विनयकी आमा थला पर्दा विनयका बा भक्कानिएर रुन्छन् । “बुढा मान्छे भएर रोएको नसुहाउने रहेछ” भन्ने प्रसङ्गले लोग्ने मान्छे भएर रुनु हुँदैन भन्ने संस्कार लादिएको झल्को आउँछ । विनयकी आमाको भोगाइ सम्झने क्रममा अर्काको घरलाई आफ्नो सम्झेर सम्हालेको प्रसङ्ग, दुःखको महासागरमा डुबेर पनि एक वचन नमिठो नबोलेको प्रसङ्गले हाम्रा आमा हजुरआमा पुस्ताको अवस्था अनि भोगाइको प्रतिनिधित्व गर्दछ । त्यो कालखण्डको लैङ्गिक विभेदको खाडल अनि ज्याजती कस्तो थियो भन्ने बारे एक झिल्को झिलिक्क गरेको आभास हुन्छ । पीडा निलेर खुशी ओकल्नु पर्ने त्यो समयका आमाहरूको बाध्यता पढ्दै लाँदा शरीरभरि काँडा पलाउँछ ।

विनयकी आमा आइसीयूमा र बा इमरजेन्सीमा मृत्युसँग एक्लाएक्लै लडिरहेको दर्दनाक अवस्था, यस्तो समयमा पनि आफ्ना सन्तानले एक घुट्को पानी पिलाउन अनि एक शब्द बा, आमा भनेर बोलाउन साथै एक सर्को सुम्सुम्याउन समेत नपाउँदाको छट्पटी पढिरहँदा स्वासप्रश्वास नै अवरुद्ध हुन्छ । यस्तै महामारी आइदियो भने के होला त ? भन्ने विनयको चिन्ताभावले मातृभूमिप्रतिको प्रेम उम्लिएर आएको आभास हुन्छ । विनयले बा आमा एकैचोटि गुमाउँदाको समय, अनि मेसिनभित्र बा आमा जलिरहँदा मेसिन बाहिर विनय जलिरहेको दृश्यले पाठकहृदय पनि जल्दाजल्दै रापिलो बन्छ ।

डा. रेणुका सोलु

उपन्यासका अर्का पात्र राजिवले पनि कोरोना कहरकै कारण मृत्युवरण गर्न पुगेको, एम्बुलेन्समा चढाएर अस्पताल पठाउँदाको बिदाइ नै अन्तिम बिदाइ भएको मर्माहत प्रसङ्ग, यही कारण पार्वतीलाई परेको आर्थिक, सामाजिक र मानसिक समस्याको दृश्य हृदयविदारक छ । राजिवको मृत्यपछि पार्वतीको हातको चुरा फुटाएको, रातो पोते निकालिएको, फुली र टप समेत फुकालिएर खण्डहर बनाइएको दृश्यले रिङ्गटा चलाउँछ । पतिवियोगको पीडाले बीभत्स भएको हृदय ढाक्नु त कता हो कता झन् आवरणका रङ्गहरू समेत फुकालिदिएर विरक्तिलो विरूप बनाइदिने निष्ठुरी संस्कार त्यति विकसित देशमा पुगेर पनि समाति राखेको देख्दा मान्छे आवरणमा मात्रै फेरिएको चित्र देखाउँदो रहेछ, गुदिमा चरित्र उस्तै हुँदो रहेछ जहाँ पुगेपनि भन्ने पुष्टि हुन्छ । केही समयपछि पार्वतीका छोराछारीको समेत मृत्यु हुन्छ । “यता भेन्टिलेटरमा पार्वती मृत्युसँग लडिरहेकी, अनि राजिव नभएपनि छोराछोरीका लागि बाँच्नुपर्छ भन्ने उसको हिम्मत, उता छोराछोरीको मृत्य भइसकेको तर पार्वतीलाई थाहा नदिइएको दृश्य; ओहो यतिबेला पाठकहृदय कति भक्कानिन्छ भन्ने शब्द व्यक्त गर्न नै सकिँदैन । समय बित्दै जाँदा जमुनाको भाइ एवम् जमुना आफैंको पनि कोरोनाले ज्यान लिन्छ । अब यता विनय पत्नीवियोगमा उता पार्वती पति एवम् छोराछोरी सहित वियोगमा तड्पिन बाध्य हुन्छन् । एकले अर्काको आवश्यकता महसुस गेर बाँकी जीवनसँगै बाँच्ने निर्णय लिएर प्रेममा बाँधिन्छन् । उपन्यासभरि वियोगान्तले रन्थनाए पनि संयोगान्तमा उपन्यास टुङ्गिएको हुँदा अन्त्यमा भएपनि सुखद श्वासप्रश्वास सञ्चारित हुन्छ । साथै उपन्यासको सबल पक्ष पनि यही हो ।

छोराछोरीको मनोविज्ञान आमाले जति बाबुले बुझ्न नसकेको सत्य विनयको भूमिकामार्फत स्वीकार्न लेखकको कलम सक्षम भएको छ । तर पनि मृत्युपश्चात मात्र यो मूल्यबोध हुने नेपाली संस्कृति परम्परा अति नै घाती छ भन्ने राय पनि घुमाउरो पाराले यहाँ अभिव्यक्त भएको पाइन्छ । लोग्नेको मृत्युपश्चात मात्रै अवसरको खुट्किलामा टेकाइएका नेपाली राजनीति क्षेत्रमा थुप्रै दृश्य देख्न सकिन्छ । जीवनका दैनिकी नजान्दा परनिर्भरताको झटारोले विनयलाई नराम्ररी हानेको छ । आफू र आफ्नो घर परिवार चल्न र चलाउन आमा र बाबाको के कस्तो भूमिका रहँदो रहेछ त ? र आमाको महत्त्व कसरी ओझेल पारिएको रहेछ भन्ने सन्दर्भ यहाँनिर छर्लङ्ग हुन्छ । उपन्यासको अन्त्यतिर पार्वतीलाई विनयको साथ चाहिएको प्रसङ्गलाई प्राथमिकता दिइएको हुनाले महिलालाई आश्रित आँखाले अलि हेरियो भन्ने आभास हुन्छ । घटनाको चित्र नियाल्दा विनय र पार्वती दुवैजनालाई दुवैजनाको साथ बराबरी आवश्यकता रहेको महशुस पाठकले ठम्याइसक्दा पनि पार्वतीलाई नै बढी साथ चाहिएको भन्ने आशय व्यक्त हुनु भनेको पितृसत्ताको सानो झिल्को झिलिक्क गरेको हो भन्ने अनुमान लाग्छ ।

उपन्यासमा कारोना कहरले ल्याएको मर्माहत अवस्थासँग अमेरिकामा रहेका नेपालीहरूको जीवनशैलीले मथिङ्गल हल्लाउँछ । खर्च महङ्गो भएको कारण एउटै अपार्टमेन्टमा धेरै परिवार बस्नुपर्ने बाध्यता, सुत्न, कुर्सीमा बस्न, खान सधैँ रोटेशन, उस्तै परे महिला पुरुष एउटै ओछ्यान बाँडेर प्रयोग गर्नुपर्ने दयनीय बाध्यता, समग्रमा भन्दा सुट पाइन्ट र रङ्गिन आवरण अनि पर्फिमको वासनाले ढाकेको उकुसमुकुस, पाकेको घाउ जिन्दगीको समेत थोरै अभिव्यक्तिमा धेरै भाव यहाँ अभिव्यक्त गरिएको छ । अमेरिकाको क्रेडिट नै क्रेडिटमा टिकेको उधारो जिन्दगीको प्रसङ्गले सुखका खोलभित्र मडारिएका दुखका मुस्लाहरू कहालिलाग्दा छन् । होम्लेसको प्रसङ्गले मन दुखाउँछ । कम्सेकम् नेपालमा भए त झुप्रो नै किन नहोस् आफ्नै ओत हुन्छ नि, घर भनेको ओत लाग्न पाए भैगयो नि भन्ने प्रसङ्गले हदृय छुन्छ । उपन्यासमा कतै सानो कुरामा मिल्ने अनि सानै कुरामा छुट्टिने विश्व बजारको दैनिकी जस्तै भएको तितो सिटामोल पनि पस्किएको पाइन्छ । असजिलो समयको फाइदा उठाएर फस्टाएको कालो बजारी, स्वार्थी मानवीय चरित्र समेतको चित्रण गरिएको छ ।

एकमुष्टमा भन्नुपर्दा इतिहासका युद्धका घटनासमेत तथ्याङ्कसहित सम्प्रेषण गरिएको, शुरुदेखि अन्त्यसम्म अब के होला भन्ने कौतुहल जगाइरहने, कोरोनाको पहिलो लहरले विश्व दुखाएको संवेदनशील समयलई आत्मसाथ गरेर तत्समयको आक्रान्त परिवेशलाई आख्यानीकरण गरिएको, वर्णनात्मक शैलीमा तयार पारिएको उपन्यास हो । कोरोनाको कहरले ल्याएको विशेषगरी अमेरिकी जनजीवनको दयनीय अवस्था, अर्बौंपति रोडमा झरेको कहालीलाग्दा दृश्य, रोग नै त्यस्तो भएका कारण र दुख पर्दा आफन्त साथीभाइ कसैले पनि सहयोग नगरेको प्रसङ्गले स्वार्थी संसारको चित्रण गरेको छ । कोरोनाकालको वियोगान्त परिस्थितिलाई संयोगान्तमा लगेर समापन गर्नु कृतिको राम्रो पक्ष हो । संवादहरू अझै बलिया बनाउने अनि कथानक अझै कसिलो बनाउने ठाउँ बाँकी रहेको देखिन्छ । यति हुँदाहुँदै पनि हृदयविदारक विषय उठान, सरल भाषाशैलीमा सम्प्रेषण भएको विचार पक्षले हरेक वाक्यमा हिक्क हिक्क बनाउँछ । कृतिभित्रको विषय अनुसार हिक्क हिक्क पार्दै रुवाउन वा खित्का छोडेर हँसाउन सक्यो भने कृतिले सफलता प्राप्त गरेको प्रमाणित हुन्छ, त्यसैले यो कृति पनि मेरो पाठकीय हृदयले सफल प्रमाणित गरेको छ । साधनाले अझै निखारिएका, माझिएका अब्बल कृतिहरू जन्मँदै रहून् लेखकलाई भूगोलभरिको बधाई एवम् शुभकामना ।