पुस्तकको पठन व्यक्ती अनुसार फरक फरक हुन सक्छ । पढ्ने व्यक्तिको उद्देश्य अनुसार विवधता हुन सक्छ ।  कुनै पुस्तक ज्ञान लिनका लागि पढिएको हुन सक्छ, कुनै परीक्षामुखी भएर, कुनै मनोरञ्जनका लागि, कुनै मुड फ्रेस गर्न, कुनै सन्दर्भ श्रोतका रूपमा त कुनै यसै आत्मसन्तुष्टिका लागि पनि पढिएको हुन सक्छ । पठनको यही विवधता र सौन्दर्यबारे मोहन मैनाली अनूदित कृति आकाशमुखीमा एक वाक्यले भन्छ ‘कुनै किताब चाखे मात्रै पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताब चाहिँ चपाएरै पढ्नुपर्छ ।’ यो भनेको के हो भने किताबको गुण, गहनता अनि किताबले दिन र भन्न चाहेको कुरा र पाठकले खोजेको र लिन चाहेको कुराबीचको तादात्म्य कतिको मिल्छ भन्ने कुरा पनि हो । किताब फगत चाख्ने या चाट्ने मात्रै हो या चपाउने र निल्ने पनि हो सोको निर्क्योल हातमा भएको किताबको गुण, किताबले प्रस्तुत गरेको विषय, किताब पठनको उद्देश्य अनि त्यसलाई पचाउन सक्ने पाठकीय क्षमता के र कति छ भन्ने कुराको संकेत पनि हो ।

मोहन मैनालीका किताबहरू यस्तै जब्बर खालका हुने गर्छन् । विवधताले भरिएका हुने गर्छन् । जस्तो सुकै पाठकले, चाहे जुनसुकै उद्देश्य राखेर पढे पनि त्यहाँ आफैँलाई पाउने खालका हुने गर्छन् । जसलाई चाख्दा मात्रै पनि स्वादिला छन्, चपाउन मिहिन छन्, निल्न सहज छन् अनि आरामले पचाउन सकिने पनि छन् ।  तर त्यसको पौष्टिकता र तिनले दिने पोषण जुनसुकै उद्देश्य राखे तापनि लाभदायक नै छन् । मैनालीको भाषा-शैली र लेखनको तागत नै यस्तो छ कि मानौँ कुनै पोषिलो खाना खाएझैँ लामो समय ऊर्जा मिलिरहने खालका छन् ।

मेरा लागि मोहन मैनाली समकालीन नेपाली साहित्यमा गतिलो लेख्‍न सक्ने बिरलै लेखकमध्ये एक हुन् । अरूका लागि अरू पनि होलान् । तर मेरा लागि उनी अनुकरण गर्न सकिने मध्येमा, औँलामा अँटाउने एक हुन् । अझ यात्रा साहित्यमा त एक्लो वृहस्पती नै सही । उनी हुन् । त्यो किन पनि भने, उनको भाषा गज्जब लाग्छ, शैली गज्जब लाग्छ, विषय चयन, विषयवस्तुको छनौट गज्जब लाग्छ । आफ्नै वरिपरिका कुराहरू, आफैँले देखिरहेका कुराहरू जस्तो गरी हरेक चिजलाई बुझिने गरी यसरी प्रष्ट लेख्छन्, मानौँ त्यो मेरै छेउ-छाउको घटना होस् । मेरै आँखा अगाडिको घटना होस् । जुन अहिले भर्खरै घटिरहेको छ । आँखै अगाडि । कस्तो भने, आमुन्ने- सामुन्ने बसेर बात मारिरहेजस्तो । र यस्तै केही गुण भएरै होला, उनी मेरा लागि पढेर नअघाइने, बारबार पढिरहुँ लाग्ने अनि पढिसकेर यसरी केही नलेखी नसक्ने लेखक हुन् ।

आकाशमुखीका नाममा:

आकाशमुखी मोहन मैनालीको मौलिक कृति हैन ।  अनुवाद हो । निबन्धहरूको संग्रह हो । विभिन्न भाषाका नौ जना निबन्धकारहरूका निबन्धहरू सँगेटेर तयार गरिएको अनूदित कृति हो । नेपाली पाठकका लागि किताब केही नौलो हुन सक्छ । निबन्ध त्यसमा पनि अनुवाद । कतिसम्म भने यसका मूल लेखकहरू नै नेपाली पाठकहरूका लागि नौला लाग्न सक्छन् । एक दुइ जनालाई छाडेर । तर पनि ती नामै नसुनिएका लेखकहरूका निबन्धहरू पढ्दा पनि नौलोपन महसूस गर्नुपर्ने अवस्था भने आउँदैन । र यही नै कुशल अनुवादकको मिठो अनुवादको विशेषता होला ।

निबन्ध विधा आफैँमा एकैसाथ गहन, कठिन अनि शक्तिशाली विषय  हो । लेखक र पाठक दुवैका लागि । लेख्ने र पढ्ने दुवैका लागि । र हुनसक्छ आख्यानको तुलनामा कमै पढिने विषय पनि होला । हुनसक्छ आख्यान जति  शक्तिशाली पनि नहोला । अथवा होला पनि । किनभने किताबकै एक अध्यायको एउटा अंशले पनि भन्छ ‘उपन्यास जस्तै निबन्ध पनि साहित्यको त्यस्तो औजार हो, जसका सहायताले सबै विषयबारे सबै कुरा बताउन सकिन्छ ।’ कमसेकम ‘आकाशमुखी’ पढुन्जेल त्यो बोध भने भइ नै रहन्छ ।

महेश बराल

किताबले धेरै विषयहरूलाई धेरै तरिकाले समेटेको छ । फरक फरक विषय उठाएको छ । फरक फरक क्षेत्रलाई छोएको छ । गहन, हलुका,  संवेदनशील र सम्भवतः कठिन जस्ता लाग्ने विषयहरूलाई पनि सरलीकृत गर्न खोजेको छ ।  अनुवाद नै सही । कसरी पढ्नेदेखि के पढ्ने, कसरी लेख्नेदेखि कस्तो लेख्नेसम्म । अथवा शिक्षाको सार, उद्देश्य, महत्त्वदेखि शिक्षा पाउनको लागि गरिएको सङ्घर्षसम्म । महिला अधिकारका कुरा, पुरूषत्वका कुरा, समाजका कुरा, समानताका कुरा, प्रकृतिका कुरा, यात्राका कुरा, मनोयात्राका कुरा, निबन्धका कुरा, साहित्यका कुरा, विश्वका कुरा, भूगोल-इतिहासका कुरा । कति कुरा कति कुरा ।  संभवतः समाजका ती सर्वाङ्‍गीण विषयलाई समेट्ने गरी मैनालीले निबन्धहरू छानेका छन् । चलाखिपूर्वक छानेका छन् र बान्की मिलाएर अनुवाद पनि गरेका छन् । त्यो पनि  सहज र सरल भाषामा । अनि किताबको शीर्षक यसरी राखेका छन् कि जमिनमा अडिएको पाठकको सोचलाई धरातलबाट थोरै उँभो उठाएर एकैछिन नै सही आकाशमुखी हुन बाध्य बनाएका छन् ।

अन्त्यमा, यति कुरा लेखिसक्दा मैले आफूलाई केही हलुका महसूस गरेको छु । किताब पढ्नुको मज्जा आफ्नो ठाउँमा होला, रिफ्रेसमेन्ट फिल गरेँ त्यो  आफ्नै ठाउँमा होला,  किताबले दिएको ज्ञान, किताबले बुझाउन चाहेको र मैले बुझेको विषय आफ्नो ठाउँमा होला तर एकै पठनमा किताबले सिङ्गो मस्तिष्क रन्थन्यायो त्यो गज्जब थियो । हृदय सुम्सुम्याएको अनुभव गज्जब थियो । जसलाई समालोचनाका नाममा भन्दा पनि पठनानुभुतिको नाममा लेख्‍न आनन्द आओस् ।  यो किताब र विशेष मेरा लागि मोहन मैनालीका किताबहरू अथवा लेखहरू त्यो अनुभूति दिलाउने ल्याकत राख्छन् । जहाँ किताबको दायाँ-बायाँ, तल-माथि, गुण-अवगुणबारे घोत्लिने मौकै नमिलोस् । किताबले भुलाओस् ।  किताबमै भुलियोस्  र यो तिनै विशेषताका लागि समर्पित हो ।