
धेरै लेखकहरूको साहित्यिक यात्राको पहिलो खुड्किलो कविता विधा हामीले सोचेजस्तो “जसले नि लेख्छ कविता” जस्तो हलुङ्गो विषय होइन ।
जसरी बजारमा एउटै नामका धेरै वस्तुहरू भेटिन्छन् ती सबैको गुणस्तर एउटै हुँदैन त्यस्तै कविताको स्तर निर्धारण पनि पाठकमा निर्भर रहन्छ, त्यस्तो मलाई लाग्छ ।
आफैँमा बिम्ब र प्रतिकको ओजले गह्रुँगो बनेका कविताको सतही विश्लेषण गर्न खोज्नु मुर्खता सिवाय केही होइन । त्यसमा पनि आफ्ना जीवन भोगाइलाई अत्यन्तै बिम्बात्मक शैली तथा सरल र सरस अभिव्यक्ति दिन सफल कवि, अजित उत्सवका कविताका भावको गहिराइ पत्ता लगाउन भने कम्तीमा दुई चारपटक घोत्लिनु आवश्यक छ । प्रत्येक कविता पढिसकेपछि एकप्रकारको झन्झनाहट छोड्न सक्नु कवि अजित उत्सवका कविताको विशेषता हो ।
म कवितालाई प्रेम गर्छु तसर्थ केही थान कविता संग्रह पढ्नकै लागी, केही पढेर आफ्नो सानो पुस्तकालयमा सजाउनका लागि किन्ने र कति उपहार स्वरूप पनि प्राप्त छन् । मेरो अनुमानमा एउटा संग्रहमा केही मात्र कविता दोहोर्याएर पढौं पढौं लाग्ने हुन्छन् भने धेरैजसो कविताले मलाई तान्न सक्दैनन् तर यसको अपवाद “आकाशगङ्गाको किनार” का धेरै कवितामा मन यसरी डुब्छ कि मानौं समय मिले यिनै कवितामा घोत्लिएर डुबिरहुँ । सबैजसो कविताले पाठकलाई अल्झाउने सामर्थ्य बोकेका अब्बल कविताहरूको संकलन हो कविता संग्रह “आकाशगङ्गाको किनार” ।
जम्माजम्मी ५६ वटा कविताको संगालो यस संग्रहभित्र कुँदिएका कवितालाई विषयवस्तुका आधारमा निम्न बुँदामा विभाजन गरी विश्लेषण गर्न सकिन्छ । राजनैतिक बेथिति, सामाजिक विकृति, आधुनिकताको नाममा बढ्दै गएको असंवेदनशीलता, देशप्रेम, परदेशी पीडा, लैङ्गिक भेदभाव, नारी संवेदना, प्रेम, जीवन र संघर्ष आदि ।
अजितसँग सामाजिक सञ्जालमा कहिले कसरी जोडियौं ठ्याक्कै समय याद रहेन तर मैले जब “अदालतमा जुत्ताको बयान” शीर्षकको बिम्बात्मक कविता उनको वालमा पढें अनि उनको कविता यात्राको पदचाप पछ्याउन थालें मैले ।
म उही जुत्ता हुँ
जो दश वर्ष खुट्टाको कवच बनेर
जङ्गलमा लडिरह्यो
राता मानिसहरूको कवच बनेर
जनयुद्धको नाममा गरिएको विनासको सजीव चित्र नै हो यो कविता । ठुला सपना बाँडेर सोझा जनतालाई युद्धको मोर्चामा उतारियो तब शान्तीपूर्ण रूपमा हतियार बिसाएपछि उनीहरूको जीवनमा कुनै परिवर्तनको आभाष भेटिएन । निरीह जनताको उर्लेको आक्रोश हो कविता “अदालतमा जुत्ताको बयान” । जनयुद्धको प्रतिकका रूपमा चित्रित यस्ता हजारौं जुत्ता आजका दिनमा खाडी पसेका, अपाङ्ग बनेका, अयोग्य ठहरिएका, पढ्ने- लेख्ने उमेरमा बन्दुक बोकेका र आज बेरोजगार र अशिक्षितको ट्याग लागेका युवायुवती बोलिरहे झैं लाग्छ यो कवितामा ।

लक्ष्मी थापा
बहुदल आगमनका साथ उत्साहित जनता सधैं पार्टीगत रूपमा विभाजित भैरहे । यसको सजीब चित्रण हो- “बाटो” कविता । पुरानो सत्ता ढालेपछि विकासको बाढी ल्याउछौं भन्नेहरु मोजमस्तीमा रमाएको र पुनः जनताको हुर्मत लिन थालेको उदाहरण हो बुख्याचा कविता ।
जुनसुकै वाद आए पनि आफ्नो सकस रत्तिभर नछुटेको तर करको भारीले झन् कंगाल बन्दै गएका जनता सकिनसकी करको कोशेली शासक समक्ष पुर्याउने विवशताको यथार्थ चित्रण हो दस्तुर कविता ।
यस संग्रहको अर्को पाटो भनौं पुरै कविता संग्रहको केन्द्रीय स्वर हो राष्ट्राप्रेम । धेरै कवितामा कुनै न कुनै रूपमा कहीं न कहीं माटोप्रतिको आगाध प्रेम गाँसिएको छ । राजनीतिक, सामाजिक विकृतिले आक्रान्त नेपाल आमाको मुहारमा परिवर्तन ल्याउन आवश्यक रहेको सन्देश कविताले बोलिरहेका छन् ।
देश केवल भूगोल मात्र नभएर हामी प्रत्येक नेपालीको धड्कन हो भन्ने कवि देश जोगिए मात्र हाम्रो मुटु जोगिने कुरा बताउँछन्, कविले देश शीर्षकको कवितामा । आफ्ना व्यक्तिगत स्वार्थका लागि देश नै उजाड पार्न सक्ने, कुर्सी हात पार्न जस्तोसुकै हथकण्डा अपनाउने नेताका नाममा कलंकहरूको जल्दोबल्दो चित्रण हो लडाइँ कविता ।
कसका निम्ति लेख्ने ? यो प्रश्न जटिल भएलपनि आ- आफ्नै खालका उत्तर पाइन्छन् लेखकहरूबाट । लेखनमा जनता, समाज, देशलाई केन्द्रमा राख्छौं भन्नेहरू पनि लेखनले सबैभन्दा पहिला सन्तुष्टि दिने त लेखकलाई नै हो । कुनै विषयले छोइसकेपछि शब्दमा उन्न सकियो भने त्यसबाट प्राप्त हुने सन्तुष्टि लेखक स्वयंलाई नै हो । आफ्ना पीडा, खुशी लेखनमा उतारिसकेपछिको आनन्दानुभूति कस्तो हुन्छ त्यो केबल महसुस गर्न सकिन्छ शब्दमा बयान गर्न सकिन्न । यसको धेरैथोरै अनुभव मसँग पनि छ ।
लेखक स्वयम् परदेशी बनेर गाउँघरको छायाँ र आफन्तको मायाबाट टाढिंदाको अनुभूति समेटेको भएर होला हामी, श्रीमतीलाई चिठी, छोरालाई आशिर्वाद, अमेरिका जाने बाटो जस्ता कविता पढिसकेपछि मन यसरी कुँढिन्छ कि परेला कतिबेला चिसा बने, पाठकलाई पत्तो नै हुन्न ।
जीवनका भोगाइ अत्यन्तै सूक्ष्म र मिहिन ढंगले बिम्बात्मक रूपमा उतार्न सक्नु नै कवि उत्सवको अर्को बिशेषता हो । रेमिट्यान्स बुझेर मक्ख राज्य, होनाहार युवाहरूको लास दैनिक रूपमा कहिलेसम्म गनिरहन्छ ? परदेशिएका छोराछोरी, श्रीमती, बाबा आमालाई समेटेर अहिल्यै सोध्न निस्कौं कि झैं लाग्छ । हजारौं दाजुभाइ यस्तै चिठ्ठी आफ्नी प्राणप्यारीलाई कहिलेसम्म लेख्न बाध्य पारिरहन्छ यो राज्य ? आउनुस् पाठक गहिरिएर विचार गरौं ।
ममताकी खानी सृष्टिदाता नारीले समाजमा खेपेको हेला होचो, खोसिएको स्वतन्त्रताको उदाहरण हो खेलौना कविता । ज्यान बेचेरै भएपनि परिवार धान्नुपर्ने बाध्यात्मक जीवनको कारुणिक कथा उनिएको छ “आकाशेपुल र आईमाई” कवितामा । कविता पढ्दा एउटी विवश महिलाको बाध्यता यसरी नउधिनेको भए हुने जस्तो लागे पनि कविता यथार्थताको धरतालमा उभिएको छ । ममताको सागरमा डुबेर समाज, इज्यत आदिको प्रवाह नगरी नयाँ जीवन दिने सामर्थ्य राख्छन्, नारी भन्ने उदाहरण हुन् “फूल हुन् आमा” र महिलाले दैनिक खाएको सकस हो “मूल्य” कविता ।
प्रेम विना सायद सृष्टि, यो ब्रह्माण्डको कल्पना पनि गर्न सकिन्न । सबैभन्दा बढी साहित्य सिर्जना पनि प्रेमकै विषयमा भएका छन् कि ! यस संग्रहमा पनि प्रेमलाई विषयवस्तु बनाएर, प्रेमलाई शरीरले होइन आत्माले अनुभूत गरेका केही कविता छन् । आजका सङ्गीन साहित्य प्रेम नङ्ग्याउन व्यस्त भएका हुन् कि भन्ने भान उब्जिएको समयमा जब हामी यस संग्रहका “तिमी र म”, “सम्बन्ध”, “प्रेमीलाई रुन नदेऊ” आदि कविता पढ्छौं तब अझै पवित्र प्रेम जिउँदैछ धर्तीमा भनेर ढुक्क हुन्छौं ।
आधुनिक बन्ने होडमा संवेदनाहीन बन्दै गएको मान्छेको चित्रण हो “लाज” र “आजको मान्छे” कविता । मानवता बिलिन हुँदै गैरहेको धर्तीमा कसरी मूर्तिमा परिणत छन् मान्छे र सम्पन्नताका नाममा कसरी उदाङ्गो बन्दैछ समाज ? यी प्रश्नका जवाफ हुन् यी कविता ।
जीवन संघर्षको अर्को नाम हो । यतिधेरै बेथिती र कुशासनको सिकार बनेको मान्छे र समाजको चित्रण गरिरहँदा पनि कविमा उज्यालो आशा बाँकी नै छ र त एक्लो विजेता बन्ने धुनमा छन् । सारा बाधालाई चुनौती दिंदै सफलताको शिखर चुम्न हौस्याउने उनको अर्को कविता हो “मज्जा” । कुमालेको चक्रजस्तो जीवन मिलन र बिछोडको साथ लिएर घुमिरहन्छ । दु:ख सुखलाई स्वीकार्ने आ-आफ्ना शैली हुन्छन् । तन मन लुटाएर पनि अत्यधिक मज्जामा रमाउन सक्ने कविको यो शैली एकातिर धीरताको उदाहरण हो भने अर्कोतिर व्यंग्य पनि ।
म कवि होइन, कविता नै लेख्छु भनेर लेखेको होइन मभित्रको केले लेखायो कविता मलाई ? यस्तो प्रश्न आफैसँग सोधिरहेका कविका केही अलमल पक्ष देखिनु स्वाभाविक नै हो । प्रतिभा मात्र कविता लेखनको पर्याप्त खजाना होइन यसलाई उजागर गर्न र माझ्न अध्ययन, चिन्तन र साधना आवश्यक छ । यी पक्षको ख्याल राख्दै आगामी दिनमा कविताको कलम अझै धारिलो बनोस् यही अपेक्षा छ कवि अजित उत्सवसँग ।
कृष्णसेन इच्छुकको धाप पाउनु भएका उत्सवसंग कवि मन्जुल र मित्रलाल पंज्ञानी जस्ता प्रगतिशिलताको झण्डा उचालेका व्यक्तित्वको सामिप्यले कविताको आराधनामा बल पुर्याएको स्विकार्नु हुन्छ कवि । प्रगतिशिलताको ट्यागमा मात्र लेखिन्छन् जनताका सुस्केरा भन्ने जड मानसिकतालाई तोड्दै वास्तवमा लेखनको स्तर व्यक्तिका राजनीतिक धारणाले होइन लेख्ने क्षमताले निर्धारण गर्न सक्दछ भन्ने मानक पनि “आकाशगङ्गाको किनार” ले स्थापित गरेको छ । मेरै व्यक्तिगत बुझाइमा पनि प्रजातान्त्रिक राजनीतिक विचारधारा बोकेर कुनै समय सक्रिय राजनीतिमा समेत होमिएका लोकतान्त्रिक आन्दोलनका घाइते योद्धा कवि उत्सवका कविता सुरुमा पढ्दा उनी प्रगतिशील नै हुनुपर्छ भन्ने मेरो भ्रम पछि मात्र तोडियो ।
कवि उत्सवले कविताको साधनामा कति समय खर्चिए होलान् भन्ने अनुमान कविताका असल पाठकले कविता पढिरहँदा अवश्य लगाउँछन् । कति कविता हराए, च्यातिए, मिल्किए भन्नु कविको लापरवाहीको चरम सीमा हो । अबका दिनमा यस्ता अमूल्य कविता जतनसाथ संरक्षण गर्न पनि म कविलाई सचेत गराउँछु ।
कतैकतै व्याकरणिक त्रुटि रहेको आकाशगङ्गाको किनारमा शिर्षात्मक कविताले संग्रहभरिको ओजस्वी कविताको नेतृत्व गर्न नसकेको हो कि?- मेरो जिज्ञासा । अन्त्यमा, अझै राम्रा कविता संग्रह साथै साहित्यका अरू विधाका संग्रह पाठकमाझ छिट्टै आउने अपेक्षा राख्दै, यो कविता संग्रहले प्रत्येक पाठकको मन जितोस् – एक पाठकको तर्फबाट शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










