‘आर्थिक अध्ययन कठिन विषय हो । राजनीति झन् जेलिएको बिषय हो ।’ यस्तो मान्ने नेपाली पाठकको संख्या नमान्नेको तुलनामा उच्च छ । अर्थशास्त्रका पुस्तकमा विदेशी विद्वानका कठिन सैद्धान्तिक व्याख्यालाई बुझ्न नसक्दा यो बिषयको अध्ययनबाट शैक्षिक उन्नति हासिले गर्न सकिन्न भन्ने ठानी बाटो बदल्ने नेपाली विद्यार्थीहरूको संख्या पनि उत्तिकै छ । यस्तो परिवेशमा पाठकको मनमा कुत्कुती जगाउन एउटा पुस्तक निस्किएको छ- ‘विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ ।
शीर्षकले अध्ययनबाट विमुख गराउने डर हुँदाहुँदै यो चुनौतीको पहाड उक्लने साहस आर्थिक इतिहासका गम्भीर अध्ययनकर्ता लेखक कृष्ण पौडेलले गरेका हुन् । म्याग्दी बेनीका भीर-पाखा चहार्दै हुर्किएका लेखक आफू अर्थशास्त्रका विद्यार्थी हुँदा आफ्नो अध्ययनका बेला खड्किएको अभावमा एउटा सानो भए पनि योगदान गरौँ भन्ने सोच्दासोच्दै परिबन्दले परदेशी भए । स्वीडेनको लुण्ड विश्वविद्यालयबाट आर्थिक इतिहासमै थप विद्वत्ता हासिल गरेपछि आफूले जानेका कुरा स-सानो सर्कलमा सुनाउँदै र पत्रपत्रिकाका पानामा पोख्दै आए । अब लेखाइलाई पाठकको ठूलो समूहमा पुर्याउनुपर्छ, बुझ्नेगरी आर्थिक अध्ययनमा पाठकको रुचि बढाउनुपर्छ, आर्थिक इतिहासका पाटाहरू केलाउँदै आर्थिक राजनीतिको बहस सिर्जना गर्नुपर्छ भन्ने निधोमा पुगेपछि यो पुस्तक लेख्ने काममा समर्पित भएका हुन् ।
‘विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ आदिम मानव सभ्यतादेखि आधुनिक बिद्युतीय युगको सरल भाषामा समान्य पाठकदेखि विषयगत अध्ययनकर्ताका लागि रुचिकर सिलसिलेवार ढङ्गले प्रस्तुत गरिएको खँदिलो ज्ञानबर्धक किताब हो । ढुङ्गे युगका मानव गतिविधिबाट बिस्तारै आर्थिक समाजको सृजना कसरी भएको हो भन्ने जानकारी यही पुस्तकबाट हासिल हुन्छ । परिवार, समाज, क्षेत्र हुँदै आ-आफ्ना राज्यमा मानव बसोबास विभक्त भएपछि आर्थिक समृद्धिका लागि भएका अभ्यास, संघर्ष, खिचातानी र क्रान्तिका विविध रूपहरू यस पुस्तकमा समावेश गरिएका छन् । मानव समाजको अर्थ र राजनीतिसँगको अभिन्न सामिप्य दर्शाउँदै पाठकको ध्यान खिच्न थाल्ने पुस्तकले प्राचीनकाल, कृषि निर्भर अर्थतन्त्र, मध्ययुगीन सभ्यता, औद्योगिक क्रान्ति हुँदै आधुनिक बिद्युतीय साइबर संसारको मैदानमा ल्याएर अवतरण गराउँछ ।
मध्यपूर्व र दक्षिण एसियामा सुरु भएको आर्थिक समुन्नतिको सिको र त्यहाँका स्रोत, साधनकै चलखेलबाट युरोप उकालो लागेको परिघटना चाखलाग्दो तरिकाले लेखिएको छ । अफ्रिकी बासिन्दाको पश्चिम मुलुकमा किनबेच र दासत्वको माध्यमबाट श्रमको परिपूर्तिका तौरतरिका छर्लङ्ग पारिएको छ । युग सुहाउँदो आर्थिक क्रान्तिबाट समृद्धिको बाटो समाएका विभिन्न मुलुकका कथा समावेश छ ।
लेखनमा प्रयोग सरल भाषा र छोटा वाक्यहरूले सामान्य पाठकको समेत ज्ञानको ढोका उघार्छ । यस्तो सरल र बुझिने गरी पनि निरस बिषयमा पाठकको रुचि बढाउन सकिन्छ भन्ने उदाहरणीय लेखाइ छ । पाठ्यपुस्तकमा समावेश गरिए अध्यापक र विद्यार्थी दुवैलाई लाभान्वित गराउने खालको पुस्तक छ । विद्यालयदेखि विश्वविद्यालय स्तरका विद्यार्थी र शिक्षकले यो पुस्तकबाट लिनसक्ने धेरै थोक छ । एक अभ्यस्त आख्यानकारले लेखेको कथा जस्तो लाग्ने मिठो र कौतुहल जगाउने औपन्यासिक लेखनले पाठकलाई तान्छ । पढ्दा कतिपय घटनाका परिदृश्यहरू आँखाभित्र चित्र बनेर आउँछन् ।
सात अध्यायमा विभाजित पुस्तकको प्रत्येक अध्यायले इतिहासदेखि वर्तमानसम्मका प्रत्येक युगमा पुर्याउँछन् । पढ्नेलाई झमेला नहोस् भनेर लामा लामा अध्यायभित्र विषय सुहाउँदा शीर्षक र उपशीर्षकको प्रयोग छ । ठिक्कका अनुच्छेदहरू छन् ।
पुस्तक यसका या उसका लागि भनेर छुट्याउन जरुरी छैन । इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, विकास अध्ययन, समाजशास्त्रलगायत सम्पूर्ण विषयका विद्यार्थी, शिक्षक र अध्ययनकर्ताका लागि त सन्दर्भ ग्रन्थकै रूपमा लिन सकिन्छ । सामान्य पाठकलाई पनि मानव सभ्यतादेखि विकासका अनेक कालखण्डको प्रशस्त ज्ञान दिने हुनाले यो पुस्तक सबैले पढ्नु आवश्यक लाग्दछ । अर्को कुरा, नेपाली बाहेक अन्य भाषाका समेत पाँच दर्जन सन्दर्भ सामग्री समेटेर लेखिएको यो पुस्तक एकै ठाउँमा ती धेरै सामाग्रीबाट पाउने ज्ञानले पनि भरिएको छ भन्न धक मान्नु पर्दैन । ऐतिहासिक तथ्यका ज्ञानले थप अध्ययनको कौतुहलता र नेपाली अर्थ राजनीतिमा पनि बहस सिर्जना गराउन सक्छ ।
साधारण तर बुट्टे आवरण आकर्षक हुँदाहुँदै पनि ती बुट्टाले आवरणका साना अक्षरलाई भने किरिङमिरिङ् पारे जस्तो लाग्छ । पुस्तकभित्र प्रयोग भएको कागज बाक्लो भए पनि अलिक खस्रो भएकाले चिल्लो पाना खोज्नेलाई गुणस्तर खस्किएको हो कि जस्तो चाहिँ लाग्न सक्छ । स्यामस्वेत छपाइ रहेको पुस्तकमा प्रयोग भएका ग्राफले कतैकतै चाहेको जति बुझाउन नसके पनि ती डायग्रामको पुष्ट्याइँका लागि अनुच्छेदमा चाहिने जति व्याख्या गरिएकाले जानकारी पाउनबाट पाठकलाई बञ्चित भने गराउँदैन । साना साना कुराहरू पनि उल्लेख गरेर विषयसँग सामान्य जानकारी समेत नभएका पाठकलाई पनि खिच्ने एकातिरको प्रयासले अर्कातिर कतैकतै लेखाइ लमतन्न बनाएको छ । विषय सूचीमा सात अध्यायका शीर्षक मात्र राखिएकोले अध्याय भित्रका उपशीर्षकहरू पनि राखिदिएको भए आवश्यक पर्दा कुनै खास विषयमा मात्र पुन: प्रवेश गर्न चाहनेलाई सजिलो हुने थियो भन्ने लाग्दछ । अर्थै नलाग्ने वा अर्थको अनर्थ लाग्ने त्रुटि नभए पनि भाषागत शुद्धाशुद्धिमा अझै केही काम गर्न बाँकी रहेछ भन्ने ठाँउ ठाँउमा भेटिन्छ ।
२ सय ७८ पृष्ठको पुस्तकको मुल्य नेपालीमा ५ सय ५५ रुपैयाँ राखिएको छ । चाँडै इ-बुक र अनलाइन अर्डर मार्फत विश्वभरका नेपाली पाठकलाई उपलब्ध गराउने कुरा लेखकले जानकारी गराएका छन् ।
समग्रमा बुक हिल पब्लिकेशनले प्रकाशित गरेर बजारमा ल्याएको ‘विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सस्तो लोकप्रियता र सतही विश्लेषण भन्दा माथि उठेर मेहेनत र धैर्यले तयार समस्त पाठकलाई उपयुक्त एक गहकिलो अभिलेख हो । नेपाली भाषामा लेखिएकाले हाललाई नेपाली पाठकमा लक्षित यो पुस्तक अंग्रेजी अनुवाद गरिएमा विश्वस्तरमा चर्चा गरिने हैसियतको पुस्तक हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।