लीलबहादुर क्षत्री नब्बेको दशकमा यात्रा गरिरहनु भएको एक साहित्यिक व्यक्तित्व ; साहित्य जगतमा एउटा सिंगो इतिहास थाम्नु भएको वहाँको चर्चित नाटकहरुको संगालो “लीलबहादुर क्षत्री चर्चित नाटकहरु” मेरो हातमा परेको छ ।अनुहार कहिल्यै नदेखेपनि साहित्यिक छवि धेरैअघि बनेको मेरो उहाँसँगको पाठक परिचय केवल एउटै उपन्यासमा सीमित थियो । एउटा हसिलो मुहार व्यक्तित्वको तस्बिरमा देखिएको वहाँको नामले मलाई आफूले कलेज जीवनमा बसाइँ उपन्यास पढेको झझल्को दिलायो । त्यसैले मलाई यो पुस्तक पाएपछि उहाँलाई पुनर्ताजगी  गर्न रहर लाग्यो; यस्तो ऐतिहासिक व्यक्तित्त्वलाई थप जान्न मन लाग्यो ।

कुनै पनि रचना माथिको आफ्नो दृष्टिकोण, त्यसमाथिको आफ्नो समीक्षा रचनाकारको छवि देखेर भन्नु र गर्नुमा धेरै फरक हुँदोरहेछ भने महसुस मैले यो पुस्तक पढदा गरे ।

दुई पुर्णाङ्की, तीन एकाङ्की नाटक र पाँच रेडियो रुपक संग्रह रहेको यस पुस्तकलाई पढ्दै जाँदा लाग्यो कि साहित्यकार लीलबहादुरको रचना संकलित पुस्तक रहेछ जसको पृष्ठभूमि अर्थात् संकलन प्रकाशनको तयारी र यस सन्दर्भमा प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईको अठ्ठाइस पानाको भूमिकाले नाटककार तथा साहित्यकार क्षत्रीको लामो साहित्यिक यात्रामा छरिएका अनि ओझेलमा पर्न लागेका रचनालाई समेटेर उहाँको उचाईलाई अझ अग्लो बनाउन गरिएको योगदान हो यो पुस्तक जसलाई छोडेर मैले नाटकको बारेमा मात्र केही भन्दा साहित्यकार क्षत्रीमाथिको मेरो बुझाइ अधुरो हुने मैले ठानेँ । त्यसैले यस पुस्तकलाई मैले दुई कोणबाट समीक्षा गर्न चाहे : पुस्तक तयारीको सन्दर्भ र भूमिका तथा पुस्तक भित्रको एक पूर्णकी नाटक “लक्ष्य”मा आफ्नो दृष्टिकोण ।

पुस्तक तयारीको सन्दर्भ भूमिकाले लीलबहादुर क्षत्रीको साहित्यिक व्यक्तित्वको संकलन, कुराकानी, छलफल मात्र गरेको छैन बाँकी ऐतिहासिक व्यक्तित्वको योगदानको कदर गर्ने सम्बन्धमा अरु थुप्रै सन्देश दिएको छ। एउटा स्रष्टाको उचित कदर त्यतिबेला हुन्छ जतिबेला ऊनी आफूलाई शारीरिक रूपमा कमजोर हुँदै गएको, स्मरणशक्ति हराउँदै गएको, जीवनको  उत्तरार्द्धमा आफू पुगेको ठान्दछ र त्यतिबेला आफ्ना अधुरा सपनाहरू पूरा गर्न बाहिरबाट थुप्रै बल हौसला प्राप्त गर्दछ ।

लीलबहादुर क्षत्रीलाई  छ दशक अघि आफू जवान छँदाको आफ्नो पहिलो नाटक त्यसमा पनि आफु स्वयं नाटकको मुख्य पात्र भएर बोलेको समाजको वर्णनलाई पुस्तकाकार रूपमा प्रस्तुत गरिदिएर वहाँलाई पुनः एकपल्ट त्यो पच्चिस वर्षको उमेरमा फर्काएको छ ।यस्तो ऐतिहासिक कार्य गरेर सुकीर्ति पाउनु हुने डा. भट्टराई अनि सम्पूर्ण टोली समुहबाट मैले सिकेको कुरा, नयाँ सृजना नै गर्नुपर्छ भन्ने छैन।  यसरी छोपिएका पुराना कृति ब्यक्तित्व र उहाँहरूले आफ्नो जीवनकालमा गर्नुभएको सामाजिक कार्यलाई उत्खनन् गरेर उजागर गर्न सेतु बन्नुले नव स्रष्टा अनि पाठकलाई एउटा मार्गदर्शन दिनेछ।

रन्जु पाण्डे

साहित्य मात्र नभई कला क्षेत्रको कुनै पनि पुराना क्लासिक व्यक्तित्वको छरिएका योगदानलाई समेटेर लिपिबद्ध गरेर एउटा दस्तावेज बनाइनु आजकाे आवश्यकता हो । पुरानोमा नयाँ विचारको फ्युजनले गरेको सिर्जनाले हामीलाई एउटा एक्यबद्धतामा बाँध्न सघाउ पुर्याउँछ भन्ने मलाई लागेको छ । यसैगरी मैले नियमित पढने गरेको यस्तै एक अर्का स्रष्टा अनि साहित्यकार निर्मल अर्यालको कालजयी व्यक्तित्वहरूको साहित्य जीवनी सम्बन्धि लेखले म बारम्बार इतिहासमा पुगेकी छु ।

मान्छेमा जति जति उमेर बढ्दै जान्छ उति उति शारीरिक अशक्तता सङसङै  आत्मबलमा पनि ह्रास हुँदै जान्छ । मनका रहरहरू आफैं पूरा गर्न नसक्दा अरुमा भर पर्नुपर्ने हुन्छ । आफ्नै अनुहारमा समेत विश्वास हराउँदै जान्छ कसैको मायालु व्यवहार, स्याहार हेरचार खोजिन्छ । कसैले आफ्नो जीवनका, भोगाइ, पुराना कथा सुनिदिए हुन्थ्यो जस्तो लाग्छ । यो उमेर सबैको आउँछ । हामी पनि त्यही बाटो त हिड्दै छौं  । जीवनको यस्ता उत्तरार्द्धमा ब्यक्तिलाई दिने अमुल्य उपहार हो उसको साधनाको कदर  ।

“एक स्रष्टा कलाकारको जीवनले धेरै डाँडा काटेर देउरालीमा पुगेपछि उहाँलाई अझै सृजनाहरु दिइरहनोस भन्न मिल्दैन तर उहाँको अतीतलाई संकलित,संगठित एकमुष्ट गर्नतिर लाग्नुपर्छ । उक्त कर्ममा सघाउनुपर्छ ।” (दश)

गुवाहाटीमा साहित्यकार लीलबहादुरको निवासमै भएको लामो अनि ऐतिहासिक भेटघाटको अनुभवलाई समेटेर उहाँको तृप्ति र अतृप्ति चाहना, कामना र केही पराजय भावलाई अनुभूत गरेर “अथक साधक प्रति शब्द पुष्पाभिनन्दन” डा. भट्टराईद्वारा पहिल्यै रचना भएको हो । त्यसैलाई समेट्दै डा. खगेन्द्र  शर्माद्वारा सम्पादित लीलाबहादुर क्षत्री व्यक्तित्व र कृतित्व शीर्षक अभिनन्दन ग्रन्थ सन् २०१६ मा छापिदै वहाँ सम्बन्धी अरू अनुसन्धान अध्ययन थपिँदै गएको प्रसङ्ग पुस्तकको भूमिकामा उल्लेख छ । पृष्ठभूमिको यस कार्यलाई  मैले यसकारण यहाँ उल्लेख गर्न चाहेँ कि कुनैपनि भेटघाटमा  देखिने अन्तर बाह्य दृश्य, व्यक्तिलाई पढ्ने वा उसको वरिपरिको परिवेश, रहनसहन, भौतिक अवस्थामा हाम्रो हेर्ने दृष्टिकोण अनुसार भेटघाटबिचको दुवै व्यक्तित्व पाहुना  र होस्टको असली पहिचान हुदोरहेछ । यस्तोमा उसका सपना चाहनालाई खोतल्ने कमै हुन्छन बरु उसको कमजोरी र लाचारीलाई आफ्नै परिभाषाको टाँचा लगाएर उजागर गर्ने पनि भेटिन्छन् ।

चाहे व्यक्ति होस या वस्तु ; हिमाल, पहाड अथवा बगरको ढुङ्गा किन नहोस त्यसको वजन त हेर्ने आँखा र पढ्ने हृदयले दिने रहेछ । मन्दिरको मूर्ति माथि आस्था राखेर जानेले त्यो मूर्तिको स्वरूप बन्नुअघि पहाडबाट चोइटिएको ढुङ्गाको संघर्षलाई देख्न सक्नुपर्छ ।

यसरी साहित्यकार लीलबहादुर क्षत्रीको बहुआयामिक व्यक्तित्वलाई विश्वव्यापी गराउने अभियानमा लाग्नु भएको डा. भट्टराईको अन्य थुप्रै स्रस्टा साहित्यकारहरूको सहयोगमा उहाँका रचनाहरू मात्र नभई विभिन्न पुस्तकमा उहाँले लेख्नुभएको भूमिका प्रकाशनमा आउने तयारी भएको जानकारी यस पुस्तकको भूमिकामा पढेपछि म एकदम प्रभावित भएँ कि यसरी पनि साहित्यमा आफ्नो योगदान दिन सकिँदो रहेछ जसले एउटा साहित्यकारको समालोचकीय व्यक्तित्व बुझ्न जान्न मात्र मद्दत गर्ने नभई यस्ता भूमिका संकलनले थुप्रै पुस्तकको आँखीझ्याल देखाउँछ र पाठकलाई त्यो पुस्तक पढ्न प्रेरित गर्दछ भन्ने मेरो धारणा रह्यो।

प्रकाशन भए पश्चात असाममा पुर्याइएको यस पुस्तकको आकार स्वरूप देख्नु भएको लीलबहादुर ज्यु  लाई विमोचनको भोलिपल्ट मैले  वहाँलाई  हार्दिक शुभकामना व्यक्त गर्ने हेतु  कुरा गर्न चाहे र फोनवार्तामा उहाँले आफ्ना कृतिको बारेमा भनिरहंदा मैले वहाँको खुसीलाई दूरभाषबाटपनि अनुभूत गर्न सके । उहाँले काँमेका स्वरले भन्नुभयो “अहिले मेरो स्मरणशक्ति धेरै कम भइसकेको छ । उनान्नब्बे वर्ष पुगेको जन्मदिन मनाएं हिजो । मेरा लेखनलाई यसरी छानेर छापी दिनुभयो एकप्रकारको इतिहास राखिदिनुभयो वहाँले ठूलो काम गर्नुभएको छ ।”

यसो त पुस्तक प्रकाशन हुनु त्यति सहज नभएको र भए पनि त्यो नै लेखनी उत्कृष्टताको मापदण्ड पनि नभएको मान्दै निजी प्रकाशकको व्यावसायिकता र सरकारी प्रकाशकको सिन्डिकेट प्रविधिबारे डा. भट्टराईले “नेपाली साहित्यको समालोचना” विषयक आफ्नो एक अन्तर्वार्तामा बताउनु भएको छ । तर यसरी पुरानो ऐतिहासिक रचनालाई संकलन गरेर प्रकाशन गर्नु गराउनु पनि समाजको लागि त्यत्तिकै प्रशंसनीय कार्य रहेछ भन्ने मैले महसुस गरे ।

अब पुस्तकको दोस्रो खण्डको बारेमा केही भन्नुपर्दा  दुई पूर्णाङ्की नाटक तीन एकाङ्की र पाँच रेडियो रूपक रहेको यस पुस्तकमा लगभग सबै रचनाहरू पुराना रहेका छन् यसमध्ये म यहाँ केवल एक पूर्णाङ्की नाटक ‘लक्ष्य’को चर्चा गर्न चाहन्छु ।

“यो नाटक म आफैंलाई मौलिकता बाट टाढा आउट्डेट्ड लागेकोले प्रकाशन गरिएन अहिले खोजी गर्दा आधाउधी धमिराले खाइसकेको पर्चा फेला पर्यो । प्रकाशन योग्य छ छैन पढेर ठहर गरिदिनुहोला ।” (१९)

स्मृतिले ठाउँ छोड्दै गए पनि मनको रहर कहाँ पो पर सर्छ र । सायद वहाँ लाई  फेरि उही बेला फर्कन मन छ त्यतिबेलाको असमेली गोर्खा समाजको झलक हेर्न मन छ र सत्ताइस वर्षे जवान हुँदाको आफूलाई महसुस गर्न मन छ । सायद त्यस्तै भावले लक्ष्य नाटकलाई पुस्तकमा समावेश गर्न दिनुभयो नाटककार क्षत्रीले यद्यपि उहाँलाइ शंका थियो कि कहिँ यो प्रकाशन गर्न योग्य छैन कि भनेर । त्यसैले योग्य भए नभएको ठहर गर्न अनुरोध गर्दै आधाउधी धमिलोले खाएको पर्चा दिनुभयो।

“एकदिनको शोमा सबै दर्शकलाई ठाउँ नपुगेर दुई दिनको साँझ भव्य पाराले आधुनिक टेकनिकका साथ गुवाहटी को प्रमुख नाट्य भवन आर्य नाटकहलमा प्रवेश शुल्क राखेर टिकट शोमा मञ्चन गरिएको अहिलेसम्मकै पहिलो पुर्णााड्की  नाटक जहाँ प्राय २५ जना जति पात्र पात्री थिए र मूल नायकको भूमिका साहित्यकार लीलबहादुर स्वयम् हुनुभएको थियो । “( अठार) जुन कुरा म जस्तो पाठकको लागि आकर्षक बन्यो यसलाई पढन ।

जम्मा ४ अङ्क र १२ दृश्य रहेको यस नाटक पुस्तकका रूपमा ७४  पृष्ठको रहेको छ ।

नाटकको प्रारम्भ वीर गीतबाट हुन्छ । हातमा नाङ्गो खुकुरी लिएर उभिएका वीर गोर्खाली युवा र साथ दिँदै उभिएका अरू युवकहरूको कोरस गीतबाट मञ्च गुन्जिन्छ । प्रथम दृश्य छोटो भैकन पनि पाठक/ दर्शकलाई एकपल्ट इतिहासका वीर भक्तीहरूको मीठो सम्झना गराउँछ अनि आजको समाजमा समेत यसको खाँचो रहेको महसुस गराउँछ ।

नाटकका मूलपात्र केशव लीला सँग प्रेम गर्दछन् यद्यपि उनको पहिलो लक्ष्य अध्ययन र सोबाट प्राप्त ज्ञानले समाजमा भएको विकृति र विसंगति हटाउनु हो । उनको यस अभियानलाई साथ दिन उभिएका अन्य पात्रहरू बिरे, गोपाल, रेशम र जङेको आ-आफ्नो भूमिका रहेको छ नाटकमा । अर्कोतिर त्यतिबेलाको नेपाली अनि असामी समाजमा व्याप्त हिंसा कुरीति अत्याचार अन्यायलाई प्रस्तुत नाटकका पात्र नन्दे, दले, पुरोहित बाजे, गंगाधर, कला जस्ता पात्र द्वारा प्रस्तुत गरिएको छ ।

युवा परिचालन द्वारा  समाजिक कुरीतिको अन्त  नाटकको मूल सार रहेको छ ।

आजभन्दा छ दशकअघि असाममा रहेर नेपाली र असामेली सामाजिक रूपान्तरणको लागि रचना गरेको यस नाटकले उठाएका सवाल आज पनि केही परिवर्तित स्वरूपमा कायमै रहेको देख्न सकिन्छ ।

युवा परिचालन र विद्यार्थी संगठन हिजो पनि थियो र आजपनि व्याप्त छ । तर यसको उदेश्य हिजो मात्र देश भक्ति थियो भने आज दलगत स्वार्थ पनि छ । सरकारी कलेज होस् या कार्यालय शहर देखि गाउँ सम्मका युवा हरू आज कुनै न कुनै राजनीतिक पार्टीको कार्यकर्ता हुन्छन र सामाजिक स्वार्थ भन्दा पनि आर्थिक लाभकोलागि उनीहरू परिचालित हुन्छन । सरकारी कलेज आज ज्ञान आर्जन गर्ने थलो भन्दा पनि राजनीति गर्ने, आफ्नो पक्षमा युवा प्यानलहरू, युनियनहरू खडा गर्ने र उनीहरूको सहयोगमा माथिल्ला राजनीति वर्गले एकआपसमा भिड्ने अखडा बनेको छ ।

महिलामाथि हुने गरेको हिंसा विषयमा एक अध्ययन गर्न गएकी म भर्खरै रौतहट जिल्लाबाट फर्किएकी  छु । त्यहाँ देखिएको बालविवाह र महिलामाथिको हिंसा, अशिक्षा र अशिक्षित समुदायमाका युवाहरूलाई राजनीतिकर्मीले बनाएको मोहरालाई हेर्दा फेरि एकपटक नाटकका पात्र केशवले खुकुरी भिरेर मञ्चमा उभिनु जरुरी देखे।

धर्मको आडम्बर जुन कुराको चर्चा नाटकमा भएको छ त्यो हिजो पनि थियो र आज पनि समाजमा यथावत् छ । ठाडो टीकालागाएर मन्दिर परिसर वरिपरि व्यापार गर्न बसेका पुरोहित पण्डित अनि भक्तबीच गौदान गर्न समेत ठूलो मोलमोलाइ हुन्छ । “बोक्रा पढेर गुदी भेट्न सब कोहीले सक्दैन धमिराले पनि किताब वारपार गर्छ तर केही बुझ्दैन । “(२९)

धर्मको नाममा हरि ॐ उच्चारण गर्दै थुप्रै पाप गर्ने गंगाधर आज पनि समाजमा देखिन्छन ।

नाटकमा समाज बिगार्ने सबै प्रथालाई अंकित गरेर घटनाहरू सिलसिलाबद्ध गरिएको छ र त्यस्ता कुप्रथाको अन्त गर्न समाजसुधार संगठन खडा गरिएको छ र खुकुरीलाई प्रतिकात्मक रूपमा प्रारम्भ र अन्त्यमा देखाइएको छ ।

नेपाली र असामी समाजको हितको लागि गरिएको अभियान स्वरूप यस नाटकको अन्तिममा  पहिलो पुस्ताको पात्रले खुकुरी दोस्रो पुस्ताकि नारीलाई सुम्पनु लाई मैले अत्यन्त प्रगतिवादी संकेतको रूपमा लिएँ । पितृसत्ताको जडलाई  मलजल गरिरहेका पहिलो पुस्ताको पात्र नन्देले सामाजिक रूपान्तरणको अगुवाइ गर्दागर्दै जेल पुगेका युवा पात्र केशव बाट खुकुरी लिएर लीलालाई सुम्पनु , यो भन्दा ठूलो प्रतीकात्मकता र प्रगतिवादी दृष्टिकोण अरू के हुन सक्ला र ?

“मेरो निम्ति चिन्ता नगर लीला मैले आफ्नो आत्मासँग प्रेम गर्न सिकिसकेको छु तिमी नारी समाजको सुधार गर तिनमा भएको मूर्खता र कुसंस्कार हटाउन चेष्टा गर त्यसैमा मलाई शान्ति छ मेरो जीवनको लक्ष्य “(७३)

नाटकको अन्तमा प्रस्तुत यो संवादमा नाटकको समग्रता छ । अझ भनु समाजमा व्याप्त पितृसत्ता र यसको सिकार भैरहेका महिला र तिनमाथिको हिंसा न्युनिकरण गर्न महिलालाई अगुवाइ बनाउनु , पुरुषले विश्वास गर्नु र अघिल्लो पुस्ताले प्रोत्साहन  स्वरुपको खुकुरी थमाउनु आज जरुरी छ । खुकुरीको प्रतीकात्मक अर्थ गलतको विनाश गर्न हतियार उठाउनु हो जसरी महिसासुरको वध गर्न भगवतीले हतियार उठाइन् ।

संयोगान्त अनि सकारात्मक सोचका साथ अन्त्य गरिएको यस नाटकको अन्ततिर नन्देले विवाह गरेर श्रीमती बनाए ल्याइएको लीलालाई ‘छोरी’ भनेर सम्बोधन गर्नु रआफूलाई ‘बाउ’ भन्न अनुरोध गर्नु चै अलि असामाजिक महसुस भो मलाई यद्यपि उनलाई हतियार थमाउनु भने ‘ ‘नारी शक्ति हो’ भन्ने अर्थ बुझाएको मैले लगाएं।

यसरी साहित्यकार लीलबहादुर क्षत्रीको त्यतिबेलाको युवा मनस्थिति समाज परिवर्तनको लागि कलमलाई हतियार बनाएर आजको युगसम्मलाई  दिइएको सन्देश हो यो नाटक ।साहित्यको कलमबाट होस् या कम्मरमा खुकुरी भिरेर आफै रंगमञ्चमा उत्रिएर होस् समाज सुधारको लागि वकालत गर्दै हिँड्ने एउटा जोशीला युवा छ दशकपछि जीवनको उत्तरार्द्धमा पुगेका छन् । भर्खरै आफ्नो जन्मदिन मनाउनु भएको वहाँलाई आफ्नो त्रिसट्ठी  वर्ष अघिको सृजनाका पाण्डुलिपिलाई पुस्तकाकारको रूपमा हेर्न पाउनु, छुन पाउनु यो भन्दा ठूलो उपहार; ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अरू के नै हुनसक्छ ? म पनि उहाँ प्रतिको श्रद्धा र जन्मदिनको शुभकामना अनि उपहार स्वरूप आफ्ना यिनै शब्द अर्पण गर्दछु ।