अरुण शर्माकृत अपरिचिता नेपाली साहित्यमा भरखरै प्रवेश गरेकी नवागन्तुका हुन् । २०७७ सालमा प्रकाशिता यिनी १३६ चिटिक्क पानामा फैलिएकी, आधुनिका छरिती तरुणी जस्ती आकर्षक र लोभनीया छिन् ।

मलाई प्रथमतः सकस परेको एउटा कुरा के भने यस कृतिलाई साहित्यको कुन विधाभित्र आवाहन, सम्मान र सत्कार गर्ने ? हुन त प्रारम्भिक पानामै सुपरिचित समालोचक महोदयले उपन्यासको दर्जा प्रदान गर्दै यस कृतिमाथि आफ्नो भव्य सम्भाषण पेश गर्नुभएकै छ, तर सनतकुमारभित्र लुकेको अटेरी शिशु भावक यसमाथि एक अबोध सन्देह प्रकट गर्दछ । उपन्यास भए त उपन्यासै जस्तो लाग्नु पनि त पर्दथ्यो, अनि वरपर कतै कुनै समर्थन वा सहारा खोज्दै जान्छ मन ।

अनि भेटिन्छ यो, आहा ! पहिलै वाक्यमा स्रष्टा अरुण बाबू लेख्दछन् :

यसमा चार घण्टामा संघाइबाट बेजिङ पुगिने सुपरफास्ट ट्रेनमा भेट भएका एक नेपाली युवक र अमेरिकी युवतीका बीच संवाद र मित्रताको वर्णन छ । ती दुई सहयात्री कसरी सुस्तरी एक अर्काका नजिक हुँदै गए र दुवैमा स्नेह, सहानुभूति र सद्भावना कसरी विकसित हुँदै गयो, बेग्लाबेग्लै पर्वत शृंखला पार गर्दै तल दोभानमा मिसिएका नदीजस्तै ती दुवै कसरी सँगसँगै एक लहरमा बग्दै गएर पुनः नदीको भँगालो छुट्टिए झैं छुट्टिए भनेर देखाइएको छ । पृ ७

लु, हेर्नुहोस् है । कतै पनि यो उपन्यास हो भन्ने संकेत छैन नि । अरुण बाबू सोझै भन्दछन् : यो नेपाली युवक र अमेरिकी युवतीका बीच सम्पन्न संवाद र मित्रताको वर्णन हो । हो, यही सरल भइकन पनि स्पष्ट, समग्र भइकन पनि संक्षिप्त, परिष्कृत भइकन पनि सहजा वाणी अनि अपरिचित भइकन पनि सुपरिचित बनीकन अनायास पाठकका चेतनामा थाहै नपाई प्रवेश गर्ने अभिव्यक्ति शिल्प, यिनै हुन् अरुण बाबूका खासियत ।

तर, यतिले मात्र कहाँ कुरो सिद्धिहाल्छ र ? दोस्रो वाक्य पढ्नुहोस् त : स्नेह, सहानुभूति र सद्भावनाको विकासको कुरा छ । मानवीय सम्बन्धमा अरुण बाबू के कस्ता गुणहरुको विकासका पक्षपाती हुन्? उनको जीवनदर्शन के हो ? सिंगो कृतिमा उनी बारंबार के भन्न चाहन्छन्? तपाईँ सजिलै बुझिहाल्नुहुन्छ ।

अब आउनुहोस् उनको अभिव्यक्ति शिल्पबारे विचार गरौँ । पूर्वउद्धृत वाक्यकै उत्तरार्धतिर जानुहोस् त : बेग्लाबेग्लै पर्वतशृंखला पार गर्दै तल दोभानमा मिसिएकी नदीजस्तै यो उपमान सजाइएको छ तिनै युवायुवतीका निम्ति, यसरी : ती दुबै कसरी सँगसँगै एक लहरमा बग्दै गएर पुनः नदीको भँगालो छुट्टिए झैं छुट्टिए यो वाक्यांश पढेपछि अरुण बाबूको साहित्यिक सामथ्र्य अभिव्यक्ति दक्षता र आलंकारिक औदार्यसित हामी अनायास रुबरु बन्दछौं । कृतिको संज्ञा चाहे जतिसुकै अपरिचिता होस् कृतिकारको लेखनीमा लुकेको अपार क्षमतासँग हामी सुपरिचित भइहाल्दछौँ ।

डा. सनतकुमार वस्ती

हामीलाई राम्ररी थाहा छ : अलंकारशास्त्रले उपमालंकारलाई सर्वोपरि स्थानमा राखेको छ, चाहे कालिदास हुन् चाहे सेक्सपियर, चाहे कविशिरोमणि हुन् चाहे मिर्जा गालिब आफ्नो बयानलाई सामथ्र्यवान् बनाउन, कथनलाई सम्प्रेषणीय बनाउन तुलनाकै सहारा लिन्छन्, उपमाकै आधार लिन्छन् विश्वसाहित्यको कुनै पनि पाना पल्टाएर हेर्नुहोस् सर्वत्र औपम्यकै साम्राज्य पाउनुहुन्छ । यो सर्वाधिक सफल र सुपरिचित शिल्प हो ।

त्यसै शिल्पलाई पेश गर्दै कति सुन्दर र सुललित पारामा अरुण बाबूले यहाँ नेपाली नायक र अमेरिकन नायिकाका जीवनगाथाको बयान गरेका छन्, हामी बुझ्दछौँ । यहीँबाट उनको जीवन दर्शन पनि हामी आत्मसात् गर्न सक्दछौँ : हामी मानवजातिको जीवन वस्तुतः भिन्न भिन्न पर्वतशृंखला पार गर्दै आएको जलप्रवाह जस्तै हो । जलधारा हेर्दा सबै समतुल्य छ, तर तिनको इतिहास, संस्कृति र जीवनधारा आ आफ्नै ढंगको छ भन्ने वैचारिक अनुगूँज यहाँ पाउँछौं । तल दोभानमा मिसिएकी नदीजस्तै हामी पनि मिसिन्छौँ, मिसिँदा एक हुन्छौं हाम्रो समग्र वैयक्तिता त्यहाँ तिरोहित हुन्छ, अनि हामी एकै लहरमा बग्दै जान्छौँ, यसैमा आनन्द छ । किनभने अनेकबाट एक बन्नुमा घनत्व छ, मिलन छ, परिणय छ, प्रेम छ, एकत्व छ र अद्वैत छ । तर, नियतिवश अर्को कठोर सत्य पनि सन्निकट अनागतमा ढसमस्स परेर बसिरहेको छ त्यो हो : नदीको भँगालो छुट्टिए झैँ हामी छुट्टिन्छौँ । त्यो मिलन, त्यो परिणय, त्यो प्रेम र एकत्व यकायक छिन्नभिन्न हुन्छ । हामी फेरि अर्कै दिशा विदिशातिर मोडिन्छौँ, समय र परिस्थितिको चक्रले हामीलाई फेरि अज्ञात पथको यात्री बनाइदिन्छ ।

समग्र मानवजातिले आदिम कालदेखि आजसम्म भोग्दै आएको यही प्रेम, विरह, मिलन र विछोडको यथार्थ, जो बेबूझ पहेली बनेको छ, यो वस्तुतः महान् नाट्यशिल्पी बालकृष्ण समको भाषामा भन्ने हो भने नियमित आकस्मिकता हो । आकस्मिक रूपमा देखा परे तापनि यो नियमित हुन्छ । अरुण बाबूको अभिमत स्पष्ट छ : यो मिलन र विछोड नितान्त प्राकृतिक फेनोमेनन् हो, जलप्रपातबाट झरेका जलधाराको मिलन र भंगालोमा छुटेका जलप्रवाहको बिछोडजस्तै ।

त्यहीँ अरुण बाबूको बोली छ :

त्यस चारघंटे यात्रामा दुवै बीच कसरी माया प्रेम उदायो ?

फेरि हेर्नुहोस् है : यो चारको संख्याले कति गहिरो स्मृतिसंवेदना समुत्पन्न गर्दछ । किन तीन घंटा होइन, किन पाँच घंटा होइन ? यहाँ स्रष्टाका अवचेतनको संकेत कमालको छ । उर्दूका विश्वविख्यात शायर बहादुरशाह जफर को यो नामूद शेर सम्झनुहोस् त :

उम्रे दराज मागकर लाये थे चार दिन
दो आरजू मेँ कट गये, दो इन्तजार मेँ ।

वस्तुतः समग्र जीवनको उदार सीमा भनेकै चार दिनको छ, चार घंटाको छ, यो चार समस्त मानवजातिको उदात्त चेतनामा बहने प्रतीकात्मक संख्या हो । पूर्वीय दर्शन पल्टाउनुहोस् त : चार आश्रममा बाँडिएको छ समस्त जीवनवृत्त । बिहानी अरुणोदय बेला : ब्रह्मचर्याश्रम, दिउसो मध्याह्न बेला : गृहस्थाश्रम, साँझ सन्ध्याबेला : वानप्रस्थाश्रम अनि रात बिदाइबेला सन्न्यासाश्रम ।

यही घाम र छायाका प्रतीक बनेर आएका दुइ दुइका दुइ जोडा चार घंटाभित्रै सबकुछ भइजान्छ । त्यसैमा माया प्रेम उदाउँछ, हृदयमा एक बेजोडको अथाह बन्धन बुनिँदै जान्छ अनि अन्त्यमा बिछोडको अनन्त पीडामय मोडमा मोडिनै पर्दछ, यही मानवजातिको नियति ।

अरुण बाबूको कथन अगि बढ्छ : ती दुई अपरिचित युवायुवतीले एकअर्काका नजिक आई मानवीय संवेदनाको रहस्य र जीवनको सारतत्त्व केलाउने प्रयास कसरी गरे?

हो, यही नै हो यस कृतिको मूल विषयवस्तु । अजीब दासताँ है ये, कहाँ शुरु कहाँ खतम् भने जस्तो एउटा लामो संवादको सिलसिला, जहाँ मानवजातिका बाह्य र आभ्यन्तर जगत्का गुत्थी र पहेलीहरुको रहस्य खोतल्ने चेष्टा गरिएको छ ।

फेरि अरुण बाबू भन्नुहुन्छ :

टाँसिने कि छुट्टिने? बन्धनभित्र गाँसिने कि फुत्किने? साथी हुने कि प्रेमी हुने? अनि बन्धन र स्वतन्त्रता बीचको द्वन्द्व र रहस्यको वर्णन र अन्वेषण पनि हो यो ।

वास्तवमा जतिसुकै संवाद, वाद र विवाद जे गरेपनि जिज्ञासाको परिपूर्ण समाधान असम्भवप्रायः छ । यसको उत्तर तपाईँलाई प्रारम्भमै अरुण बाबुले थाहा नपाइँदो पाराले खुसुक्क भनिसक्नुभएकै छ । उही जलधाराको मिलन र बिछोडका औपम्यबाट । वस्तुतः हामी कर्ता कहिल्यै हुन्नौँ, फगत् साक्षी हुन्छौँ : चाहे मिलन होस् चाहे बिछोड, साथी बनौँ या प्रेमी, बन्धनमा गाँसियौँ कि फुत्कियौँ, बन्धनमा रहौँ कि स्वतन्त्रतामा ..यो सब नियतिकै खेल हो, अदृष्टकै इशाराले यो सब भइरहन्छ । हामी केवल मोहवश आफूलाई कर्ताको भूमिकामा हेर्दछौँ ।
श्रीमद्भगवद्गीतामा श्रीकृष्णको कथन आउँछ :

प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुणकर्मसु ।

प्रकृतिका गुणहरुबाट सम्मोहित भएर हामी गुणकर्मयात्रामा गाँसिन्छौँ ।

यद्वा :

प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ।

हाम्रा पञ्चमहाभूतहरु यद्वा स्वभाव प्रकृतिकै अनुसरण गर्दछन्, छेकथुन गरेर के हुन्छ र ?

हामी सबै प्रकृतिकै रुप हौँ, उसकै एक अंश हौँ, जलधाराजस्तै भेटिनु र छुटिनु हाम्रो नियति हो । हामीले चाहेर भेटिने पनि होइनौँ, चाहेर छुटिने पनि होइनौँ । तैपनि हामी मानवीय चापल्यले आफू द्रष्टा वा साक्षीबाट यकायक कर्ताको भूमिकामा उत्रन थाल्दछौँ । प्रकृतिको कार्यवाहीमा आफू अघिसरा हुन थाल्दछौं । सारा गडबडीको शुरुआत यहीँबाट हुन्छ, सारा प्रश्नहरुको हुजूम यहीँबाट निस्कन्छ ।

तर, जीवनको सौन्दर्य नै यही हो कि ऊ सबकुछ जान्दा जान्दै पनि अनजान बनिजान्छ :

जो लोग जानबूझकर अन्जान बन गये
मेरा खयाल है कि वो इन्सान बन गये ।

अब अपरिचिताका भित्री रहस्यहरुसँग पनि परिचित हुने उद्योग गरौँ । अरुण बाबूको काव्यशिल्पसँग परिचित गराउने यो उद्धरण पेश गरौँ :

ऊ म नजिकै आउँछे, लपक्क टाँसिन्छे र मेरो काँधमा टाउको राख्छे । पहिलो पटक यति नजीकै आएर ऊ यसरी टाँसिएकी छ केही क्षणका लागि मात्र भए पनि । हामी सधैँका लागि छुट्टिने क्रममा छौं । क्षणिक चाहना, अति छोटो बन्धन । मनमुटु छरिएको छ । गरुंगो भारी बोकेर हिँडेका छौँ हामी दुवै । ..

अन्तिम अंकमाल । मेरो छातीमा उसको अनुहार टाँसिएको छ । मेरा हात त तलै छन् । म त एक देवालमात्र हुँ केही सेकेण्डका लागि । क्षणिक बन्धन पनि कसिलो भएको छ । उसको टाउको भित्रसम्म पस्न खोजेको जस्तो । उसको श्वासको न्यानो र ओसिलोपनले मेरो गर्धनलाई स्पर्श गरिरहेको छ । केही क्षणपछि त्यो दवाब हल्काहल्का हुँदै जान्छ । खुकुलो हुन्छ टाउको र हातको बन्धन पनि ।

जान्छु म अब । : पृष्ठ ९

हेर्नुहोस् त , अरुण बाबूको लेखनी लेख्न होइन, तरल अनुरागानुभूतिको जीवन्त पेन्टिङ बनाउन उद्यत देखिन्छ ।
अरु म के भनूँ ,

माया, प्रेम, सद्भाव, समन्वय, स्त्रीपुरुष सम्बन्ध, दाम्पत्यजीवन, जीवनको रहस्य, आनन्दको स्रोत, हीनताबोध र उच्चताबोध, शक्ति, सामथ्र्य, ऊर्जा, विज्ञान र प्रविधि, भौतिक र आध्यात्मिक चेतनाका नव आयाम, विश्व परिवेश, प्रकृतिको विराट् सम्मोहन, प्रेमको अपरिमित ऊर्जा अनि जीवनको अपार सौन्दर्य जस्ता साराका सारा विषयवस्तु जो मानवममस्तिष्कमा आउँदछन् तिनका बारे विचार विमर्श विश्लेषण र व्याख्या नै अपरिचिताको सामग्रीसम्भार हो ।

सरल भइकन पनि गम्भीर, ठोस भइकन पनि तरल, अराजक भइकन पनि सुसंबद्ध, प्रकीर्ण चिन्तन भइकन पनि समत्वको जीवनदर्शन प्रस्तुत गर्ने सारपूर्ण ग्रन्थ अपरिचिता नेपाली साहित्यको एक अवश्यमेव अध्ययनीय कृति बनेको छ भन्दछु ।

यस्तो गहन भइकन पनि मनोरम अर्थपूर्ण कृति नेपाली साहित्यलाई प्रदान गर्ने अरुण शर्माप्रति सनतकुमार हार्दिक अभिनन्दन एवम् बधाइ टक्रयाउँछ ।