पूर्वीय र पाश्चात्य साहित्यमा निकै पुरानो कविताको प्रभेद अन्तर्गत पर्ने मुक्तक नेपाली साहित्यमा आइपुग्दा विविध बान्कीमा प्रस्तुत हुन थालेको छ । मुक्तक काव्यको आस्वादन गर्दा कहीँ गजलका हरफ गायन गरेजस्तो त कहीँ हाइकु वाचन गरेजस्तो प्रतीत हुन्छ । वर्तमानमा आइपुग्दा मुक्तक सङ्ग्रहहरू यथेस्ट मात्रामा प्रकाशित हुन थालेका छन् । साहित्य लेखनमा प्रविष्टि हुन थालेका नयाँ पुस्ता र पुराना पुस्ता यानेकि जीवनको उत्तरार्धतिर उन्मुख भएकाहरूले पनि लेखनको सुरुवात मुक्तकबाट गर्न थालेको आभास हुन थालेको छ । जवानीको घुर्मैलो अवस्थामा त मुक्तकले गतिलो राग प्रक्षेपण गर्ने हुन्छ नै । अझ जीवनको उकाली उक्लँदै गर्दा आधा खुट्किलाहरू पार गर्ने क्रममा मुक्तकीला लेखनले पूर्वापर अवस्थालाई पुर्नताजगी गराउँदछ । यी र यस्तै स्वभाव मानवीय गुण नै हुन् । खैर प्रशासनिक क्षेत्रमा साढे दुई दशक व्यतीत गरेका बाबुराम पोखरेल (२०२१) ले नेपाली साहित्यमा मुक्तक लेखनका माध्यमबाट प्रवेश गरेका छन् । उनको शब्दचित्र (२०७५) मुक्तकसङग्रह पहिलो कृतिका रुपमा उदाएको छ । यसले मुक्तक इतिहासमा एउटा पिलर स्थापित गरेको अनुभव हुन्छ । यसको प्रकाशनको जिम्मा नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले लिएको छ । यसमा जम्माजम्मी १८८ मुक्तकहरू सङ्कलित छन् भने ९४ पृष्ठ यसको फैलावट रहेको छ । निवृत्तीभरण पछाडि फुर्सदिलो समयमा काव्यिक रचना पस्केर नेपाली साहित्यको भण्डारणमा महत्त्वपूर्ण टेवा दिने सुकर्ममा पोखरेल लागिपरेको देखिन्छ ।

प्रत्येक मुक्तक स्वतन्त्र र पूर्ण हुन्छ । तिनै चतुस्पदी मुक्तकमा जीवनका आरोहअवरोह अनि भोगाइका अनेक आयामहरूको साङ्केतिक प्रतिबिम्ब ओकेलिएका छन् । जीवनभोगाइका आफ्नै भाव समाविष्ट भएका हुन्छन् । शास्त्रीय नियमको पालना गर्नु नपर्ने मुक्तक स्वतन्त्र र मुक्त भएर लेखिन्छ । चार पङ्क्तिका मुक्तकमा पूर्वापर भाव र प्रसङ्गलाई नबोकीकन छुट्टै भावाशय व्यक्त गर्ने भाषिक शिल्प पनि खँदिलो र चोटिलो अनि रसिलो हुनु नै छ । मुक्तककारले गरेका र भोगेका जीवन मूल्यलाई मुक्तकहरूमा मिसाएका छन् । शून्य आख्यान भएको मुक्तकमा लेखकले सूक्ष्म ढङ्गले विचारको सम्प्रेषण गरेको हुन्छ । जीवनका बाउन्न घुस्सा त्रिपन्न ठक्करलाई क्षीण भाववाव्यक्तिका माध्यमबाट मुक्तकमा पोखिएको छ । पाठकलाई सजिलो होस् भनेर खण्डित तुल्याउन शीर्षक दिई बुझ्न सहज बनाइएको छ । यसमा जीवनदर्शन, समाज, धर्म तथा नीति, घटना, प्रेम र विविध गरी खण्डीकरण गरिएको छ । यसभित्र खास गरी सामाजिक, राजनीतिक, सांस्कृतिक, अझ विकृति विङ्सगतिका हरेक क्षेत्रमा मुक्तकका पङ्क्तिहरू उभिएका छन् । युवाका अवस्था देशभक्तिपूर्ण भाव अनि जीवनमार्गका भोगाइ मुक्तकमा अटेसमटेस भएर आएका छन् ।

बाबुराम लम्साल

युवापुस्ताले आँखा खोल्नुपर्नेमा दृष्टिविहीन जसरी देखेको नदेखे झैं गरी देशप्रतिको कर्तव्यलाई बेवास्था गर्दै परार्इ भूमिमा दासजस्तो बनेर स्वाभिमानप्रति दाग लाग्ने कर्म गर्न बाध्य बनेका छन् । कतिपय युवाशक्ति पलायन भए भने कतिपय युवाशक्ति सुषुप्तावस्तामा बसिरहेका छन् । विश्वले आज कति ठुलो छलाङ मारिसक्यो तर हाम्रा देशमा युवा राज्यलाई दोष दिएर भाग्ने काम गरिरहेका छन् । जीवनदर्शनका आयामलाई मुक्तकहरूले सम्बोधन गरेका छन् । ‘संसार ब्युँझिसक्यो कति सुत्छौ बाबु र ? … कति पुच्छौ बाबु ?’ (पृ.२) । उठौँ, जागौँ र देश निर्माणमा युवापुस्ता लागौँ । देशले खोजेका युवा पलायन होइन मुलुकमा सङ्घर्ष गरौँ र देशको मुहार फेर्नमा एक भएर जुटौँ ।

मुक्तकमा समाजमा देखा परेका विकृत रूपको जीवन्त स्वरूपमा उठान गरिएको छ । समाजका स्वनाम धारी व्यक्ति अर्काको बुई चढेर माथि पुग्ने र पछिल्लो समयमा तिरस्कार गर्दै अपमान र निन्दा गर्नेहरू कम छैनन् । आफन्तहरूले आफ्नो स्वार्थलिप्सा पूरा गर्न जाल फिजाएर फसाउन पछि पर्दैनन् । पाखुरीमा बल होउन्जेल सबैले दलाइ रहे तर आफूलाई समस्या परेको बेला कुनै वास्था भएन । प्राप्त गरेका ज्ञान र बुद्धिको लेखाजोखा गर्न नसक्ने समाजका बुज्रुकहरूले समाज रूपान्तणका पाटाहरूलाई धुमिल्याइरहेका छन् । अज्ञानीहरूको हुलमा बौद्धिक जमातको कुनै महत्त्व रहेको देखिँदैन । त्यसैले त्यस्ता समाजमा अमूक व्यक्तिहरू पनि मुक बन्न बाध्य बन्नु पर्दोरहेछ । ‘कुनै बेला सबै हिँड्ने बाटो भएँ …आफन्तको साटो भएँ …बुद्धिको पनि काम छैन … हिजोआज म त लाटो भएँ’ (पृ.१७) । यसैले प्रयोग गरेर फ्याक्ने प्रवृत्ति बढ्दो देखिन्छ ।

स्वार्थले भरिएको प्रेम टिकाउ हुँदैनन् । जीवनमा निराशा र वितृष्णाबाहेक केही हात लाग्दैन । साँच्चै जीवन रसमय र आनन्दित बनाउने हो भने निस्वार्थ प्रेम र जीवनपर्यन्त साथ दिने हुनुपर्छ । प्रेमपूर्ण जीवनले जस्तो सुकै कठिनतम कर्म पनि सहज रूपमा गर्न सकिन्छ । उत्साहले विश्व विजेता बन्न सक्छ । जीवन सिर्जनात्मक र कर्मशील बन्छ । उर्जाशील बनेर पौरखमा रमाउन सक्छ । जीवनमा पूरा गर्न नसकेका कामहरू तिम्रो उपस्थितिले पूर्ण हुने र आशावादी बनी नित्यकर्ममा खटिने गर्छ र जीवनमा चन्द्र र बृहस्पति दाहिना बन्न पुग्छन् । प्रेम जीवनसँग दाँजेर हेर्दा पूर्ण भएको प्रतीत हुन्छ ।

एउटा दिगो पृत भेटेँ, एकान्तको किनारमा

विश्वलाई जित्ने शक्ति, भेटेँ तिम्रो पियारमा

ऊर्जाशील जिन्दगीमा तिम्रो मिठो साथ पाएँ

कस्तो राम्रो लेख्या रै’छ मेरो सफा निधारमा (पृ.७१)

पश्चिमा संस्कृतिको प्रभावले गर्दा समाज दूषित बन्दै गइरहेको छ । मौलिकता हराउँदै गर्दा नाङ्गा र अश्लीलताले डेरा जमाउँदै गइरहेका परिप्रेक्ष्यमा कुरूपताभित्र सुन्दरता खोज्ने प्रयास मुक्तककारले गरेका छन् । स्वार्थले भरिएको प्रेम भौतिकी हुन्छ । अभौतिकी प्रेममा भावनाले जीवनको खोजी गर्छ । सच्चा प्रेमले तिरस्कारलाई आत्मासात गर्दै जीवनमूल्यको निरुपण गर्न पुग्छ । अतः लेनदेनले भरिएको देखावटी मायाजाल लिसोपासो र महाजालमा फसेजस्तो गिर्न सक्छ । तापनि जीवनमूल्यको खोजी मुक्तककार अटल र निर्भीक भएर खोज्न पुग्छन् ।   ‘म त नागा गोपिनी देख्दा… सजाइदिन्छु …पग्लोस् या नपग्लोस् … धून बजाइदिन्छ’ (पृ.९४) । सांस्कृतिक मूल्य तिरोहित भइरहेको छ । आधुनिकताका नाममा समाज विद्रूप बनिरहेको दखिन्छ ।

सतोसत मुक्तक आफैंमा पूर्ण, सारगर्भित र स्वतन्त्र मुक्त छन्दमा बाँधिएको कविताको उपभेद हो । जीवनभोगाइका पाटाहरूलाई भाव र विचारका माध्यमबाट लयबद्ध गरी रसिलो र कसिलो तरिकाले व्यक्त गरिएको हुन्छ । यसैले पनि पोखरेलका मुक्तकहरू सफल छन् । कुनैकुनै मुक्तकको आस्वादन गर्दा आभ्यासिक चरणका जस्ता लागे तापनि भाव सम्प्रेषणका हिसाबले स्वप्नील आकाशमा विचरण गरेजस्तो प्रतीत हुन्छ । जीवनको उत्तरार्द्ध चरणमा फुर्सदिलो समयलाई सिर्जनात्मक बनाउन खोज्नु मुक्तककारको नेपाली भाषा साहित्यप्रतिको मोह नै हो । सरल, सहज र सुबोध्य शब्दावलीको प्रयोगले गर्दा मुक्तक रसमय र भावमय बनेको छ ।