साहित्य सृजनाको कान्छो विधाको रूप चिनिने नियात्रा पछिल्लो कालखण्डमा निकै लोकप्रिय बिधाका रूपमा परिचित हुँदै आएको छ । कर्णाली क्षेत्रका राजागगनीराजको स्वदेश भ्रमणलाई मुख्य विषयवस्तु बनाएर रचना गरिएको ‘राजा गगनीराजको यात्रा’ कृति नेपाली साहित्यमा नियात्रा लेखनको शुरूवात भएको मान्न सकिन्छ । यसपछिका दिनहरूमा विभिन्न कालखण्डमा साहित्यकारहरूले नियात्रा लेखनलाई निरन्तरतादिँदै आएको देखिन्छ । यही नियात्रा लेखनलाई निरन्तरता दिने क्रममा लामो समयदेखि लेखनकार्यमा सक्रिय सर्जक सागर गैरेद्वारा लिखित बलैगाउँदेखि बाकुसम्म नामक नियात्रा कृतिप्रकाशित भएको छ । उक्त कृतिलाई नियाल्दा यात्रा बलैगाउँको सम्झना, बाल्यकालदेखि बाकुका सम्झनासम्म आईपुग्दा तेह्रवटा नियात्रा समावेश गरिएको छ । यस पुस्तकमा समावेश गरिएका सबै निबन्धहरू विदेशको यात्रासँग सम्बन्धित छन् ।
पुस्तकको शुरुको खण्डमा बलैगाउँको यात्राबाट यात्राको आरम्भ गरिएको छ र अजरबैजानको बाकुमा गएर टुङ्गिएको छ । जीवनको उषाकालीन समयमा गरेको उनको विदेशको पहिलो यात्राथियो बलैगाउँको त्यो यात्रा केवल रहरको पोको थियो । गाउँमा बलैगाउँ जाने गाइँगुइँ कुरा सुनेपछि लेखकलाई पनि जान मन लाग्यो । उनको बालहठको अगाडि आमाको केही लागेन । अनन्तः उनी आफ्नो हठमा सफल भए । त्यसपछि शुरु भयो उनको बलैगाउँको यात्रा । हिंडाइमा सकस हुँदा आमाले भारी बोकिदिनु, खुट्टामा फोका उठ्दा आमाले तेल लगाएर खुट्टा मालिस गरिदिनु जस्ता बाल्यकालीन घटनाहरूलाई स्मरणको रूपमा उतारेको देखिन्छ । तत्कालीन समयमा ककौराबासीको जीवनशैली उनीहरूको सामान्य नुनतेलका लागि पनि भारतीय बजार बलैगाउँजानु पर्ने, यातायातको सुविधा नभएको, पैदल हिंड्नु पर्ने बाध्यता, आर्थिक अभावका कारण सामान्य हाटबजार गर्दा समेत गाउँघरमा पैसा सापट माग्नु, अहिलेको जस्तो होटलमा खानाखाने प्रचलन नभएको जस्ता तत्कालीन जीवनशैलीलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् ।
‘स्वर्गको विमान’शीर्षक अन्तर्गत उनको कथा र बेथा बोलेको छ । स्वास्थ्य अवस्था गम्भीर हुँदा भारतका अस्पताल जानुपर्ने तत्कालीन अवस्था जो अहिले पनि छ । भारतका अस्पतालमा उपचारका लागिजाँदा नेपालीहरुले भोग्ने पीडा विदेशमा आफन्त गुमाउदाको पीडा कारुणिक भाषामा नियात्राले बोलेको छ ।
श्रावस्तीको भ्रमणको क्रममा सडक किनारामा देखिएका धानका फाँटहरू त्यसले सिर्जना गरेका सुन्दरताको चित्रण गर्दै दशैंको मुखमा घरमा गरिबी र अभावबाट पिल्सिएर भारतका होटेलमा भाँडा माझ्दै आफ्नो भविष्य खोज्ने एक नेपाली युवाको पीडा नियात्रामा समेटेका छन् । बुद्व जन्मिएको देशका नागरिक हामी बुद्वको कामना गर्दछौँ तर हामी बुद्व चिन्दैनौ । बुद्वले चिनाएको बाटोमा हिँड्न सकेनौं तर बुद्व कहाँजन्मे ? बुद्व कसको हो ? भन्ने विषयमा लडाइ लड्छौँ भन्ने तथ्यलाई नियात्राले प्रस्तुत गरेको छ ।
यसैबीचमा अलिगढ विश्वविद्यालय हेर्ने इच्छा लेखकको मनमा सल्बलाउंछ । यही तिर्खा मेटाउन अलिगढको व्यस्तबजारमा प्रवेश गर्दछन् । शुरुमै नालीको दुर्गन्ध उनको नाकमा आएर ठोक्किन्छ । हातले नाक छोप्दै अगाडि बढ्छन अलिगढ मुस्लिम युनिभर्सिटी । त्यहाँभित्रको सुन्दर कलाकारिता , पुस्तकालय, त्यहाँका सुन्दर भवनहरू देखेर लेखक आकर्षित हुन्छन् । समयको व्यवस्थापन गर्न सके विद्यावारिधिको उपाधि यहीँबाट लिन सकिन्थ्यो कि भन्ने शिक्षाप्रति लेखकको मोह जागेर आउँछ ।
हाम्रो मित्र राष्ट्रमा रेल चढ्दाको अनुभव, सूचनाको अभावले भोगेका पीडा, रेलभित्र त्यहाँका केही बदमास मानिसले गरेको व्यवहार र त्यसबाट आफूले खेप्नु परेको पीडा एवं सास्तीलाई अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यस नियात्रामा लेखक घुम्दै जाने क्रममा आगराको ताजमहलसँग मितेरी लगाउन पुग्छन् । आगराको ताजमहल जसको निर्माणमा राज्यले करोडौं खर्चेको थियो, त्यही ताजमहल जो विश्व सम्पदा सूचीमा अंकित छ । त्यही ताजमहल जसको निर्माण शाहजहाले आफ्नी पत्नीको सम्झनामा निर्माण गरेका थिए । त्यहीँका सुन्दरतामा हराउँछन् लेखक । यमुनानदीको पानीमा उनको मनले डुबुल्की मार्छ, त्यहाँ टाँस्सिएर फोटो खिचाउँदै वरिपरिका सुन्दर दृश्यमा आँखा डुलाउंदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘शाहजहाको इच्छा’ नामक कविता मनले वाचनगर्दै लेखक फर्कन्छन् ।
प्रस्तुत नियात्रामा लेखक राधाखोज्दै वृन्दावनपुगेको रोचक प्रसंग उल्लेख गरिएको छ । कृष्ण मन्दिर त्यहाँभित्रको सुन्दर दृश्य साँघुरा सडकहरू, यमुनाकिनारमा रहेका मसानघाट, त्यहाँ भएका राधा र कृष्णको कथासँग जोडिएका दृश्य एवं मन्दिरहरूको चित्रण कलात्मक ढंगले गरिएको छ । रुखमा बाँदर नाँचीरहेको, भक्तजनहरू पण्डालमा भजनकृतन गरिरहेको , मन्दिरभित्र प्रवेश गर्दा कडा सुरक्षाजाँचको व्यवस्था भएको आदि त्यहाँका परिदृश्यका साथै मन्दिरभित्र प्रवेश गर्दा उनका अनुभव र अनुभूति मन्दिर भित्रको अवलोकनबाट आफूले तृप्ति एवम् सन्तुष्टि प्राप्त गरेको यथार्थतालाई लेखकले चित्रण गरेका छन् ।
धार्मिक सहिष्णुता भएको धार्मिक विविधताबीच एकता भएको देश इन्डोनेसियाको बाली टापु सिङ्गो देश मुस्लिम बाहुल्य भए पनि हिन्दुहरूले भरिएको उक्त टापुका सहरहरूमा ब्रम्हा बिष्णु महेश्वर जस्ता देवी देवताका मुर्तिहरूले सजिएको त्यहाँको सुन्दर दृश्यलाई नियात्रामा समावेश गरिएको छ । बालीप्रान्तका मठमन्दिर र कलाकृतिका बारेमा नियात्रामा पढ्दै जाँदा पाठकलाई म स्वयं लेखकसँगै घुमिरहेको छु, आफ्नै आँखाले अवलोकन गरिरहेको महसूस हुन्छ । लेखकले बाली टापुको धार्मिक सामाजिक र सांस्कृतिक आस्थाको सजीव ढंगले चित्रण गरेका छन् । अचम्मको कुरा त के भने हाम्रो देशमा छ वटा ऋतु भए जस्तै त्यो देशमा दुई वटा मात्रै ऋतु हुँदा रहेछन् । एक कपचियाको मूल्य पाँचहजार हुनुजस्ता रमाइला पक्ष नियात्रामा समावेश छन् । लेखकले विद्यार्थी अवस्थामा किताबमा पढेको नक्सामा हेरेको प्रशान्तमहासागरको डिलमा प्रत्यक्ष रूपमा उभिने अवसर पाउनु आदि विषयलाई प्रस्तुतगर्दै प्रशान्तमहासागर वरिपरिको सुन्दर दृश्य, समुन्द्रका छालहरूलाई आफ्नो मनको चञ्चलतासँग तुलना गरेका छन् । उक्त क्षेत्रको भ्रमणले लेखकको मन बदलिएको समुद्रको विशालताबाट प्रभावित भएको आदि विषय नियात्रामा झल्किएको छ ।
समुद्रको विशाल छाती भएको कारण यसको महत्त्व पनि त्यत्तिकै छ । मानिसले पनि समुद्रजस्तै आफ्नो छाती विशाल बनाइदिए हुन्थ्यो भन्ने लेखकको चाहनामुखरित भएको छ यस नियात्रामा ।
लेखक जब थाइल्यान्ड भूमिमा प्रवेश गर्छन,त्यहाँको विमानस्थलको नाम संस्कृत शब्दमा ‘स्वर्णभूमि विमानस्थल’ लेखेको देखेर छक्क पर्छन् । हरेक पाइलामा नयाँ भूमि हुन्छ, नयाँ दृश्य हुन्छ । त्यही दृश्यले नयाँ अनुभूतिका लहरहरू जन्माउछ भनेजस्तै लेखकलाई पनि यस्तै अनुभूति भएको छ । बौद्ध धर्मावलम्बीको देश थाइल्यान्ड, बुद्धजन्मेको देशका नागरिक लेखक संस्कृत भाषामा लेखिएका वाक्यांशले उनको मनमस्तिष्कमा राष्ट्रियता सल्बलाउछ । पटाया सहर प्रवेश गर्दैगर्दा मार्गदर्शकले सिटि अफप्रोष्टिच्युसनमा स्वागत छ भन्ने आवाजले मनभित्र अमिलोको वर्षा गराउँछ । तैपनि लेखकले पटाया सहरको यथार्थ तस्वीर पाठकसामु पस्किने जमर्को गरेका छन । पटाया सहरमा सरकारले यौनकर्मीलाई बैधानिक रूपमा लाइसेन्स दिने व्यवस्था भएको कुरा, त्यहाँजाने कुनै पर्यटकले शुल्कतिरेर यौन सम्पर्क गर्न पाउने व्यवस्था भएको, बार र रेस्टुरेन्टका पोस्टर हातमा लिएर उभिएका अर्धनग्नयुवतीहरूको लस्कर, तीयुवतीहरूले यौन पोस्टरहरू देखाउँदै यौन प्रस्ताव गर्ने गरेको रोचकतथ्यहरू नियात्रामा प्रस्तुत गरिएको छ । पटाया सहरको चित्रण गरिएको यस नियात्राको उक्त अंशलाई पढ्दै जाँदा पाठकलाई पनि आफ्नै खुट्टाले पटाया सहर घुम्दै गरेको आफ्नै आँखाले पटाया सहरलाई नियाल्दै गरेको अद्भुत किसिमको अनुभव गराउन सफल देखिएको छ यो नियात्रा । ती किशोरीहरू जसले आफ्नो इज्जत र भविष्यलाई दाउमा लगाएका छन,ती युवतीहरूको भविष्य सम्झेर लेखकको मनमा चिन्ता भएको, यही चिन्ताको गह्रौं भारी बोकेर लेखक बैंकक तिर प्रस्थान गरेका छन् ।
लेखक जब संयुक्त अरब इमिरेट्सको भूमिमा ठडिएको ८३० मि उचाइको बुर्ज खलिफा भवनभित्र प्रवेश गर्छन्, त्यसको उचाइ हेर्छन् । सगरमाथा सम्झन पुग्छन् । सगरमाथाको उचाइसँग उक्त भवनको उचाइको तुलना गर्दछन् । नेपालमा जन्मेको मानिसका लागि त्यो भवनभित्र प्रवेश पाउनु, त्यो भवन हेर्ने अवसर पाउनु नेपालीहरूको लागि आकाशको फल जस्तै हो । जब लेखक उक्त भवनको २४ औँ तलामा प्रवेश गरेर जमिनतिर हेर्छन अन्य विशालभवनहरू पनि स–साना कमिला जस्ता लाग्ने गरेको अनुभूति हुन्छ । त्यही भवनको तलाबाट समुद्रमा सुर्यास्त भएको सुन्दर दृश्यमा आँखा डुलाउंदै मरुभूमिको यात्रामा निस्कन्छन् ।
मरुभूमिको यात्रा लेखकका लागि नौलो थियो किनकि नेपालमा मरुभूमि छैनन् । सायद यो भन्दा अगाडि लेखकले मरुभूमि देखेका थिएनन । यसरी प्रस्तुत नियात्रामा बालुवाको समुद्र भने पनि फरक नपर्ने जता हेर्यो उतै बालुवामात्रै देखिने मरुभूमिको चित्रण गरिएको छ । बालुवा नै बालुवा देखेर मन आत्तिएपछि उनी नदीको कल्पना गर्दछन्, तालतलैयाको कल्पना गर्दछन्, जुन उनको लागि कल्पना मात्र हुन्छ । मरुभूमि घुमेर आउने क्रममा माटोको गेटभित्र प्रवेश गर्दछन् त्यहाँ विभिन्न परिकारका खानापाइने होटलहरू हुन्छन् । लेखकलाई बेलिडान्स , तन्दुरा डान्स हेर्ने अवसर पनि जुट्छ । त्यहाँ बालुवाको रासभित्र पनि देशको मुहार परिवर्तन गर्न सक्ने अनुपम क्षमता लुकेको हुन्छ मात्र हामीले चिन्न र प्रयोग गर्न सक्नु पर्छ । आज मरुभूमिका देशहरू त्यहाँको प्रकृतिलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सकेर संसारकै धनी देशको चिनारी बनाएका छन तर हामीप्राकृतिक स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि गरिब भएर त्यहीँका होटेलमा भाँडा माँझ्न जान्छौं । यहीभाव र दृश्यको प्रस्तुति यस नियात्रामा झल्किएको छ ।
विश्वको उदयमान राष्ट्र चीनको विशाल भूमिमा पाइला राख्दा लेखकको छाती गर्वले फुलेको छ । आधुनिक उपकरणको माध्यमबाट विमानस्थलमा यात्रुलाई सुरक्षाकर्मीले चेकजाँच गर्दैगर्दा वर्तमान अवस्थामा चीनको विकासको उचाइ लेखकले अनुमान लगाइ सकेका हुन्छन् । बेईजिङको माटोको स्पर्श पाएसँगै लेखकको टोलीको लागि तयार गरिएको चिनिया नागरिक अत्यन्त मृदुभाषी पथप्रदर्शक शिलिको न्यानो आतिथ्य पाएपछि यात्राको थकान हराइ सकेको हुन्छ । त्यहाँका सडक बजार विकासको संरचना आदिको सुन्दरतामा लेखक हराउँदै अगाडि बढ्दा, होटेलमा तेलमा तारिएका फट्याङ्ग्राहरू, साँगला, भ्यागुता, माकुरा, सर्प, बिच्छी र जुकाका परिकारहरू सजाएर राखिएको दृश्यले लेखकलाई अचम्मित तुल्याउछ । किनकि ती चिजहरूले हाम्रा भान्सामा स्थान पाउँदैनन् । छोयो भने मात्रै पनि हामी खाना खाँदैनौं । तर त्यही चिज चीनका आमनागरिकको रोजाइको भोजन भएको छ । लेखकलाई विचित्रताको आभास हुन्छ । हामीले हाम्रो देशमा, हाम्रो समाजमा जे देख्छौँ त्यो मात्र सत्य होइन, संसार विचित्रको छ । यही विचित्रतालाई यस नियात्राले प्रस्तुत गरेको छ ।
शीतकालीन दरबार नियाल्दा लेखकका अनुभूतीहरू उक्त दरबारको कलाकौशल त्यहाँको सूर्यका किरणसँगै झलझलाकार देखिने दरबारको छानो सिम्रीक रंगका सुन्दर भित्ताहरू दलिनमा कोरिएका कला चित्रण नियात्रामा गरिएको छ । यस दरबारले चीनको सभ्यता र संस्कृति बोलेको छ ।
तियानमेन चोक संसारको सबैभन्दा विशाल चोक, त्यही विशालचोकमा उभिन पाउँदा लेखकलाई गर्व लागेको छ, मन उमंग र उत्साहले विभोर हुन्छ । त्यो चोकले चीनको विशालताबोकेको छ, इतिहास बोकेको छ । आधुनिक चीन निर्माणको आधारशीला हो उक्त चोक । जहाँ प्रजातन्त्रको मागगर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई चिनियाँ सरकारले ट्याङ्करले किचेर मारेको थियो । सायद यही घटना लेखकको बालमस्तिष्कमा घुसेको थियो । अहिले पनि ताजा रहेको भाव नियात्रामा पाउन सकिन्छ । माओ जसलाई चीनले मात्र होइन जसलाई संसारले सम्मानपूर्वक हेर्ने गर्छ, उनको पार्थिव शरीर हेर्न नपाउँदा लेखकको मन खिन्न भए तापनि उनले त्यो खिन्नताको भारी विश्वका सात आश्चर्य मध्ये एक मानिने चीनको ग्रेटवालमा लगेर बिसाउछन् । विश्वकै लामो पर्खाल ग्रेटवालमा पुग्दा उनको मन हर्षले विभोर हुन्छ । क्विनवंशका बादशाहले निर्माण गरेको उक्त पर्खाल जो आज विशाल चीनको चिनारी बनेको छ । प्रस्तुत नियात्रामा यही ग्रेटवाल निर्माणसँग जोडिएका अनेकौं रोचक पक्ष र त्यहाँको भौतिक अवस्थाको रोचक ढंगले चित्रण गरिएको छ ।
ढुङ्गा र माटोबाट बनेको ग्रेटवाल शत्रु छेक्नको लागि निर्माण गरिएको उक्त पर्खालको निर्माणमा लाखौं जनताको पसिना मात्रै होइन रगत पनि मिसिएको, पर्खाल बलियो हुँदाहुँदै पनि चङ्गेज खानले पर्खाल तोडेर आक्रमण गरेको जस्ता ग्रेटवालसँग जोडिएको विगत इतिहासलाई नियात्रामा प्रस्तुत गरिएको छ ।
चीनसँग सीमा जोडिएको देशका नागरिक हामी रेल चढ्न नपाए पनि रेलसँग सम्बन्धित गीतहरू सुनेर रमाउने गरेको यथार्थतालाई आत्मसात् गर्दै बुलेट रेल चढेर लेखक चीनको सांघाई सहर प्रवेश गर्दछन् । चीनको धर्तीमा भएको विकास देखेर लेखकका आँखा अचम्मले रमाउछन् । यही विकास हाम्रो देशमा पनि भएहुन्थ्यो भन्ने आशामुखी हुन्छन् । फेरि नेपालको विकासको गति देखेर निराश हुन्छन् । यही आशा र निराशाका बीचमा लुकामारी खेल्दै त्यहाँको सुन्दरतालाई नियात्रामा समावेश गरेका छन् । उनको नियात्रामा सांघाई सहरको सुन्दरता धपक्क बलेको छ । ओरिएन्टल टावर सजिएको छ । सांघाईको पहिचान नै ओरिएन्टल टावर हो । दुबईको बुर्ज खलिफाले मात्र विश्वको अग्लो टावर हुने अनुमतिदिएको छैन यसलाई । थुप्रै चिनियाँहरूको सपना बोकेको सांघाई सहर, करोडौं चिनियाँहरूको सपनाको सहर जहाँ कामदारहरू मौरीजस्तै भएर काम गर्ने गरेका छन् । कुनै बेला बेलायतले अफिम भिटामिन हो भनेर बेच्ने चीन देश आज बेलायत त के संसारलाई पछि पार्दै अगाडि बढ्दा लेखकलाई आश्चर्य लाग्दछ । यही आश्चर्यमा डुबुल्की मार्दै सांघाईको सुन्दरतामा रमाएका छन्, लेखक ।
यहाँका गगनचुम्बी महल, फराकिला बाटा, सुन्दर हरियालीपार्क र बगैंचा आगन्तुकको पर्खाइमा रहेका फूलहरू जति हेर्यो त्यति हेर्न मन लाग्ने सांघाई सहरको सुन्दर दृश्यले आफुलाई गहिरो मोहनी लगाएको भाव नियात्रामा प्रस्तुत गरिएको छ । आधुनिक चीनका जन्मदाता हुन् माओ । उनकै नाममा हाम्रो देशमा पनि माओवाद जन्मियो । युद्वभयो । थुप्रै मानिसहरू मारिए तर विकासको रोसनी गाउँबस्तीमा छिर्न नसकेको अवस्थाले लेखकलाई दुखित बनाएको छ । यस्तो अवस्थामा चीन भूमिप्रतिको अपार माया छातीमा समेटी उनी स्वदेश फर्किएको अवस्थालाई नियात्रामा चित्रण गरिएको छ ।
पाब्लो नेरुदाको कबितासँगै उनको बाकुयात्रा सुरु भएको छ । बाकुका फराकिला सडकहरू, बन्दै गरेका अपार्टमेन्ट,फ्लेम टावर, त्यहाँका सल्ला र धुपीका वृक्षहरू, कार्पेट म्युजियमका सुन्दर तस्वीरहरू नियात्रामा प्रस्तुतभएका छन् । सोभियत, रुसबाट स्वतन्त्र भएको अजरबैजानको बाकुमा सोभियतकालमा बनेका ठुला ठुला अहिले सरकारी कार्यालयमा उपयोग भएको, सोभियतकालमा त्यहाँका नागरिक सुखी र सम्पन्नशाली भएको तर अहिले आर्थिक रूपमा त्यस्तो नभए तापनि स्वतन्त्र हुनुमा गर्व गर्ने त्यहाँ कानागरिकहरूको भाव रहेको, जमिनबाट ड्रील गरेर तेल निकाल्दै गरेका दृश्यहरू देख्न पाइने, स्वतन्त्रतालाई सर्वोपरि ठान्ने त्यहाँका नागरिकहरू अहिले महङ्गी बेरोजगारी बढेर जीवन गुजारा गर्न असजिलो भए तापनि तीव्र गतिमा भैइरहेको परिवर्तनबाट आफूहरू सन्तुष्ट रहेको आदि विषयहरू प्रस्तुत बाकुको नियात्रामा समावेश छन् ।
बाकुमा प्राकृतिक सुन्दरता र घुम्नलायक स्थानहरू थुप्रै हुँदाहुँदै पनि त्यहाँ घुम्ने तीव्र इच्छा हुँदाहुँदै पनि समय अभावको कारणले बाकुको माया र त्यहाँको अमुल्य स्मृतिलाई मस्तिष्कमा संगाल्दै स्वदेश फिर्ता भएसँगै नियात्रा समाप्त भएको छ ।
जाँदाजाँदै, नियात्रामा त्यहाँको माटो बोल्छ, भीर, पाखा, जंगल,पोखरी, तालतलैया बोल्छन् । त्यहाँका नगरिकका विचार र भावना बोल्छन् । प्रस्तुत नियात्रामा लेखकले भ्रमण गरेका देशको संक्षिप्त इतिहास प्रस्तुत गरेका छन् । आफले घुमेका ठाउँको भूगोल, संस्कृति, नाचगान, खानाका परिकार, प्राकृतिक सुन्दरता आदि सबैको सजीव चित्र उतार्न सफल भएका छन् । भनिन्छ, नियात्रा भूमिको बयानमात्र होइन त्यो देशको यथार्थ तस्वीर पनि हो । लेखकले आफ्ना पुर्खाले नसुनेको, आफ्नो समाजले नदेखेको, कुनै नाता सम्बन्ध पनि नपर्ने आफूले कहिल्यै संगत पनि नगरेको विषय, कथा र बेथासँग साक्षात्कार गरेका छन् । पाठकलाई पनि साक्षात्कार गराएका छन्, नौलो समाजसँग साइनो गाँसेका छन् ।
संसारको विकास कुन गतिमा भएको छ र हामी अन्य मुलुकको तुलनामा कति पछाडि छौँ र अगाडि बढ्न के गर्नुपर्छ यही तस्वीर नियात्राले प्रस्तुत गरेको छ । लेखक भ्रमण गर्ने क्रममा विदेशले विकास गरेको देख्दा, हाम्रो देश नेपाल पनि यस्तै भैइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेका छन् । यस नियात्रामा लेखक भित्रको राष्ट्रियता बोलेको छ । हरेक पाइलामा देशप्रतिको मायालाई इमान्दारीकासाथ प्रस्तुत गरेका छन् । भाषाशैलीका दृष्टिकोणले हेर्दा आम पाठकले बुझ्न सक्ने, आनन्द लिन सक्ने भाषामा रचना गरिएको छ । यात्रा वर्णन गर्ने क्रममा जटिल भन्दा सरल एवं छोटा छोटा वाक्यको प्रयोग गरिएको छ । हामीले गाउँघरमा बोल्ने भाषाले स्थान पाएका छन् । यात्रा वर्णन गर्ने क्रममा कुनैकुनै स्थानमा यात्राको भन्दा त्यहाँको इतिहासको वर्णन भएको भए तापनि यसलाई नयाँ प्रयोग मान्न सकिन्छ किनकि परिवर्तित समाजमा साहित्यको रचना पनि परम्परागतभन्दा आधुनिक ढंगले गरिनुपर्छ ।
कोहलपुरको मलिलो माटो एवं साहित्यिक फाँटमा जन्मेको साहित्यिक कृति हो यो नियात्रा । यो सर्जकको मात्र होइन सिङ्गो कोहलपुरवासीको सिर्जना हो, सम्पत्ति हो । आगामी दिनमा यो राष्ट्रको सम्पत्ति बन्न सकोस् । सर्जक सागर गैरेको कलमबाट भोलिका दिनमा पनि यस्तै सिर्जना जन्मिंदै जाउन भन्ने कामना गरौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।