सामान्यतया नेपाली आख्यानको बजारमा नयाँ प्रयोग रुचाइएको पाइन्न । हामीलाई एकादेशको शैलीमा कथा भनिएको मनपर्छ । मलाई चाहिँ कथा हलिउड फिल्ममा जस्तो जिकज्याक पारामा मनपर्छ । अब के हुन्छ त्यो कल्पना गर्न नसकियोस् । यस्तो प्रयोगले उत्सुकता कम हुन दिँदैन । मान्छेले सजिलै बुझ्न पनि गाह्रो हुन्छ सायद त्यसैले नरुचाइएको भनौं भने त्यही प्रवृत्तिको अंग्रेजी पुस्तक उतिकै बढी बिक्री भैरहेका छन् । मलाई चाहिँ नयाँ प्रयोगले सँधै तानेको छ । नेपाली बजारमा केहीअघि यस्तै एउटा पुस्तक आयो ‘ ‘प्रिय दर्शन’ ‘ । यो पढिसकेपछि प्रेम पत्रका रुपमा पनि कथा भन्न मिल्दो रहेछ भन्ने लाग्यो ।

‘प्रिय दर्शन’ सोचेजति प्रिय लाग्दैन तर सँगै फेरि उत्तिकै प्रिय पनि छ । मेरो एउटा मान्यता के छ भने पुस्तक पढ्न बस्दा सँगै शब्दकोश लिएर पढ्नु नपरोस् । पुस्तकमा शब्दहरू सरल हुन् तर शैली र कथावस्तु मज्जाले बाँधिएको होस् भन्ने मेरो बुझाइ हो । अझ ‘प्रिय दर्शन’ त एउटा प्रेमिकाले आफ्नो प्रेमीलाई लेखिएको पत्रहरूको गुच्छा हो । मनका भावाना व्यक्त गर्दा अर्कोले बुझेन भने त्यसको औचित्य रहन्छ जस्तो मलाई लाग्दैन । प्रेमको हकमा भूगोल र समयसँगै थुप्रै कवि र लेखकले अनेकन रूपमा परिभाषित गरेको पाइन्छ । यो यस्तो हो भनेर ठ्याक्कै कसैले भन्नसक्ने अवस्था छैन । यस्तो नबुझेको कुरा बुझाउन जटिल शब्द खर्च गर्ने हो भने प्रेम हैन बरु नफरत हुनसक्छ । अगाडिको मान्छेले हेर कति न जान्नेछु भनेर शब्दको तागत देखाएको भन्न बेर लगाउँदैनन् ।

‘प्रिय दर्शन’ पढेर केही लेखौँ भन्ने हुटहुटी भयो । तर के ? पढेको कुरालाई रिपिट टेलिकास्ट गर्दै जाँदा मैले के देखें भने हामीले चाहेर वा नचाहेर पढ्न छुटाएका थुप्रै प्रेमान्यास र तिनको संक्षिप्त कथावस्तु समेटिएको छ । पुस्तक सारै सानो छ तरपनि अझै अलि ठूलो भएको होकि भन्ने लाग्छ । फेरि मायालुलाई पत्र कति लेख्ने भन्ने कुराको सीमा हुँदैन त्यसैले अझै २/४ ओटा पत्र पढ्न पाए पनि हुने भन्ने हुन्छ ।

प्रेम पढेर हैन परेर जानिन्छ भन्ने कुरा अन्य प्रेमान्यासजस्तै यसले पनि भनेको छ । लेखिकाले प्रेम भन्न पत्रमार्फत् आँट गरेको कुरा मलाई सबैभन्दा बढी मन परेको पाटो हो । पढ्दा म आँफै पनि प्रेममा चुर्लुम्म डुबेको छु । त्यसैले म के भन्न सक्छु भने – यो प्रेमको ऐना हो । सायद हरेक प्रेमी प्रेमिकाले आफ्नो प्रेममा समर्पित हुने यसरी नै हो जसरी भनिएको छ ।

हामी कतिपयलाई सम्बोधन गर्न बडा कठिन लाग्छ । आफ्नो प्रेमिका वा प्रेमीलाई के सम्बोधन गर्ने भन्ने निर्क्यौल गर्न सक्दैनौं । यस हकमा लेखिकाले हामीलाई शुत्र बताउन सफल भएको देख्छु । प्रेममा केके आवश्यक पर्छ त्यो बताउनेलाई लभ गुरु भनिन्छ । यो पुस्तक एकतर्फी प्रेम गर्नेहरुको लागि त्यही लभ गुरु बन्न सक्ने देखेको छु ।

रूपक अधिकारी

एउटै पुस्तकमा हामीले क्युपिड र साइकिको मार्मिक कथा पढ्न पाउँछौ । जोधा र अकबरको कथा बुझ्ने सौभाग्य पाइन्छ । सविता र नकुलको कथा फेरि ताजा हुन्छन् । सलिम र अनारकलीको कथा त आँखा अगाडि घटिरहेको जस्तो लाग्छ । रोमियो र जुलियटको कथामा आफैँ बाँचिरहेको लाग्छ । लैला मज्नुको कथा वरिपरि देखिरहेको सुनिरहेको प्रतीत हुन्छ । यसमा फरहाद र सिरीको कथा , मुगल र मुमताजको कथा , ऐदा र रदामसको कथा , रानी भिक्टोरिया र नोकर अब्दुलको कथासँगै अमृता पृतम र साहिर लुधियानाको कथा पनि एकसाथ पढ्न पाइन्छ । यसले गर्दा छुटेका पुस्तकहरू छुटेका जस्ता लाग्दैनन् । यो एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई लेखेको पत्र भएर हुनुपर्छ दुई बाहेक अरु जीवित पात्र छैनन् । तर प्रेमको हरेक कथासँगै पादरी भ्यालेन्टिनोको कथा पनि यसैमा पढ्न पाइन्छ । यस हिसाबमा हेर्दा यहाँ दुई हैन हजारौं अझ सबै ज्ञात अज्ञात प्रेमीहरु अँटाएकाले अरबौं पात्र जिवित छन् ।

अन्त्यमा, ‘प्रिय दर्शन’को बारेमा भन्नुपर्दा यो एकल जीवन बाँचिरहेका निमित्त एउटा उदाहरण पस्कन सक्ने खुराक हुनसक्छ किनकि प्रेमका बिम्ब प्रयोग गर्दा संसार जति सुन्दर देखाइएको छ वास्तविक जिवनमा सायदै त्यति सुन्दर ढंगले कोही बाँचेको होस् । सायद यो पुस्तक प्रेममा भएर प्रेमको बाटो पहिल्याउन नसकेकाहरूमा समर्पित भनेर लेखिएको हुनुपर्छ । यो कुरालाई सुरुवातमा भन्न सकिएको भए उत्तम हुनेथियो । प्रेमलाई यतिको लेख्न सक्नु लेखिकाको सफलता मान्छु किनकी प्रेम संसारकै कठिन विषय हो र आफ्नो प्रेमको व्याख्यामा लेखिकाले संसार कहीँ छुटाएको देखिन्न । प्रेम पत्र पढ्न शब्दकोश नै पल्टाउनुपर्ने स्थिति आएको भए यो पुस्तक अझै सुन्दर आवरणमा देखाइएको गुलाफभन्दा सुन्दर हुनेथियो ।