म केही आमाबुबाको आफ्ना सन्तानप्रतिको माया देखेर र त्यसलाई हृदयतः अनुभव गरेर श्रद्धा अनि सम्मानले पग्लिने गर्छु । मेरो स्मरणमा रहेका तीमध्येका केही आमाबुबा सन्तानलाई अघ्घोर माया गर्छन्, तर कसरी माया गर्ने भनेर जान्दैनन् र मायाको लक्ष्य वा उद्देश्य पनि बुझ्दैनन् । फलतः उनीहरूका सन्तान मायाको दुरुपयोग गरेर बर्बादीतिर प्रवृत्त भैदिन्छन् । निकै कम आमाबाबुले मात्र उद्देश्यपरक र सचेत, तर अत्यन्त गहिरो माया गरेको देखिन्छ आफ्ना सन्तानलाई । यस्तै सचेत र मायालु आमाबुबाका रूपमा काठमाडौँ आएपछि मैले भेटेँ, दाङका घनश्याम केसी दम्पतिलाई । हरक्षण सन्तानकै चिन्ता, उनीहरूको भलाइ, उन्नति र कुशलताको कामना मात्र । आफ्नो सारा ऊर्जा, सारा प्रेम र सारा तन्मयता सन्तानकै लागि ! आफ्ना सारा खुसी, व्यग्रता र समर्पणहरू सन्तानकै लागि ! जति जति खेर यी दम्पत्तिलाई भेट्छु, श्रद्धा र आदरले मेरो शिर अनायास निहुरिने गर्छ ।

म यतिखेर डा. वीरेन्द्र केसीको कविता सङ्ग्रहको भूमिका लेखिरहेको छु र कुरा गरिरहेको छु, घनश्याम केसी दम्पतिको ! पाठकलाई सायद यसले भ्रममा पार्‍यो होला । स्वाभाविकै पनि हो ! तर डा. केसीको ‘आमाको काखमा दुखेको देश’ शीर्षक कविता सङ्ग्रह पढ्दै गर्दा मेरो आँखामा अनेकौँ पटक यी दम्पतिको अनुहार झुल्किरह्यो । कारण, डा. केसीका कविताभित्र उनका आमाबुबाको आदर्श व्यक्तित्व धेरै ठाउँमा प्रकटित छ र डा. केसी यिनै आदर्श दम्पतिका ज्येष्ठ सुपुत्र हुन् । उनी अहिले न्युजिल्याण्डमा रहेर आफ्नो उच्च प्राज्ञिक एवम् बौद्धिक क्षमता प्रदर्शन गरिरहेका छन् । विदेशमा रहे पनि उनको चिन्तनको केन्द्रमा नेपाल छ र हरक्षण देशको मायाले पग्लिरहेको अनुभव हुन्छ ।

डा. केसी पेसाले इन्जिनियर ! कहाँ इन्जिनियरको शुष्क पेसा र कहाँ कविताका लागि चाहिने कोमल अनुभूति ! मलाई लाग्छ, यो अनुभूतिको बीज र हार्दिक कोमलता उनीभित्र यिनै दम्पतिको समर्पित र सचेत मायाले जन्माएको हो । डा. केसीको प्रस्तुत सङ्ग्रहलाई मैले पितामाताबाट उनलाई प्राप्त माया र वात्सल्यको स्वाभाविक एवम् सुखद् प्रतिक्रिया मान्छु । यस सङ्ग्रहका अधिकांश कवितामा उनले अनुभव गरेको नैसर्गिक स्नेहकै अभिव्यक्ति छ । त्यो अभिव्यक्ति कतै उनका आमाबुबाप्रति उनले प्रकट गरेको सम्मान र अपनत्वमार्फत व्यक्त भएको छ भने कतै आफ्नी छोरी, पत्नी, दिदीबहिनी, नारीजाति र समग्र मानवप्रति उनले देखाएको असीम प्रेम, अनुराग, मानवीय दृष्टि, अहिंसात्मक चेत र करुणामार्फत प्रकटित छ ।

छन्दमुक्तता र छन्दोबद्धतालाई आधार मानेर प्रस्तुत सङ्ग्रहलाई दुई खण्डमा विभक्त गरिएको छ । वा भनौँ, शैलीका दृष्टिले प्रस्तुत सङ्ग्रहमा डा. केसीका दुईखाले कविताहरू सङ्कलित छन्- छन्दमुक्त र छन्दोबद्ध ! पहिलो खण्डमा रहेका मुक्तलयका जम्मा ५५ वटामध्ये केही कविता लयविधानका दृष्टिले झण्डै-झण्डै छन्दोबद्ध कविताकै हाराहारीमा देखापर्छन् । सङ्ग्रहमा समाविष्ट बद्धलयका कविता २५ वटा छन्, जुन दोस्रो खण्डमा समाविष्ट छन् । यीमध्ये १२ वटा झ्याउरे लयमा, ३ वटा सवाई लयमा, ६ वटा बालोरी लयमा, २ वटा मारुणी लयमा र २ वटा सेलो लयमा निबद्ध रहेको देखिन्छ । यसरी प्रस्तुत सङ्ग्रहमा जम्मा ८० कविता समाविष्ट छन् ।

प्रा.डा. सुधन पौडेल

सङ्ग्रहको पहिलो खण्डमा पहिलो कविता छ- ‘आमा-बाबा’ शीर्षकको । प्रस्तुत कवितामा हरेक पितामाताले आफ्ना सन्तानप्रति प्रकट गर्ने कर्तव्यनिर्वाहको प्रसङ्गबाट कविता प्रारम्भ भएको छ र आमाबाबाप्रति उदात्त सम्मान एवम् श्रद्धा प्रकट गर्दै सन्तानका लागि मैनबत्तीको शिखाजस्तो भएर जलिदिने आमाबुबाजस्तो हितैषी यो संसारमा कोही छैन भन्ने निष्कर्षमा कविता समापन भएको छ । दोस्रो कविता ‘बाबा’ पनि यही भावभूमिमा सिर्जित छ । तेस्रो कविता ‘छोरी जन्मँदा म किन रोएँ ?’ चाहिँ एउटी आमाको कोणबाट नवजात छोरीको भविष्य कल्पना गरेर पोखिएको आँसुद्वारा सिर्जित छ । हाम्रो समाजमा छोरीप्रति गरिने भेदभाव, हेलाहोचो र हीनतालाई कविताले विषयवस्तु बनाएको छ । चौथो कविता ‘छोरीलाई जन्मदिनको शुभकामना’ पनि छोरीप्रतिकै अनुरागको अभिव्यक्ति हो । पाँचौँ कविता ‘झण्डाको माया’ देशभक्तिपरक छ । यसमा राष्ट्रिय झण्डाप्रतिको गौरव र प्रेम प्रकटित छ । छैटौँ कविता ‘एक्काइसौँ शताब्दीका सचेत युवा’ले विकट र असहज परिस्थितिमा समेत लक्ष्यप्रतिको दृढ आस्था बोकेर गतिशील नयाँ युगका सचेत र सक्रिय युवाको आवाज अनि अनुभूतिलाई अभिव्यक्ति दिएको छ । सातौँ कविता ‘अब मसाल बाल्नै पर्छ’ विसङ्गतिप्रतिको आक्रोश र क्रान्तिचेतले ओतप्रोत कविता हो । यस्तै आठौँ कविता र नवौँ कविता क्रमशः ‘युवालाई आह्वान’ र ‘उठ न उठ अब त’ मा अभिधापरक शैलीमा युवालगायत देशप्रतिको कर्तव्यबोधले प्रेरित सबैलाई नवोन्मेषका लागि आह्वान गरेको भाव छ । दशौँ कविता ‘केलाइदेऊ गहुँबाट घुन दैव’ सामाजिक, पारिवारिक र राजनीतिक विकृति विसङ्गतिको विवरणजस्तो छ र सँगै यी विकृतिबाट आजित बनेर यिनबाट मुक्ति पाउन भगवान्सँग प्रार्थना गरेको भाव छ । एघारौँ कविता ‘रगत नमिसिएको एक मुठ्ठी माटो’ कविको अहिंसात्मक चेतनाको अभिव्यक्ति हो । हत्याहिंसाले आक्रान्त आफ्नो देशमा कवि रगत नमिसिएको एक मुठ्ठी माटो खोजिरहेका छन् । उनी भन्छन्ः

पसिनाले बाटो भिजाउँदै

आँसुले भोक भर्दै

मनमा एउटै आशा बोकी

आँखामा एउटै सपना रोकी

तृष्णाको अथाह सागर बोकेर

म अविच्छिन्न हिँडिरहेँछु

कहाँ छ नखसेको थोपा रगत

त्यहीँको एक मुठ्ठी माटो खोजिरहेछु

बाह्रौँ कविता ‘मरेको मान्छे फर्काउन मन छ’मा मरेका प्रियजनलाई फर्काउन चाहेको भाव छ । त्यस्तै तेह्रौँ कविता ‘कहाँको यात्रा’ मा मानिस मरेपछि गरिने धार्मिक कृत्य र त्यसक्रममा मृतकका आफन्तमा देखापर्ने शोकाकुल मानसिकताको चित्रण छ । मृत आफन्तप्रतिको असीम प्रेमको भाव पनि कवितामा व्यक्त छ । चौधौँ कविता ‘तिम्रो र मेरो लकडाउन’मा बम्बैको कालकोठरीमा बलात् बेचिएकी एक युवतीले कोरोना कालको लकडाउन भोगिरहेको व्यक्तिसँग आपूm कोठाभित्र थुनिएर सधैँको लकडाउन भोग्नु परिरहेको अवस्थालाई दाँजेको भाव छ । यौनहिंसामा परेर कोठीमा बन्धक बनाइएकी युवती भन्छिन् :

तिम्रो लकडाउनमा झरेको आँसु

र मेरो लकडाउनमा झरेको आँसुको

रंगमा समानता भए पनि

रसमा आकाश पातालको भिन्नता छ

तिम्रो आँसुमा मृत्युको भय छ

मेरो आँसुमा जीवनको भय छ

पन्ध्रौँ कविता ‘केसी वीरेन्द्र’ प्रसिद्ध प्रगतिवादी कवि भूपी शेरचनको शैलीमा लेखिएको आपैmँप्रतिको व्यङ्ग्यचिन्तन हो। सोह्रौँ कविता ‘अर्थहीन जीवन’ कवि एवम् लोकसाहित्यका अध्येता तुलसी दिवसप्रति समर्पित छ ।

सत्रौँ कविता ‘आकासी आश्वासन’ अल्लारे युवकले प्रेयसीलाई दिने उडन्ते आश्वासनको पोको हो । अठारौँ कविता ‘थकित भावनाहरू’ मा कविको निराश मनस्थिति प्रकटित छ । यस्तै उन्नाइसौँ कविता ‘सहिदहरुलाई अभिवादन’ मा सहिदप्रतिको सम्मान व्यक्त छ । बीसौँ कविता ‘नवयुगको नवनायक’मा नवयुगका निर्माता मानिने अग्रजप्रतिको आस्था प्रकटित छ । यस्तै एक्काइसौँ कविता ‘विदेसिने कारण’मा देश छोडेर विदेसिनु पर्नाको कारण खोज्ने प्रयत्न छ । बाइसौँ कविता ‘म अर्को ध्रुवतारा बन्न चाहन्छु’मा आफ्नो उन्नतिमा ईष्र्याले जल्नेहरुप्रति व्यङ्ग्य र आक्रोश छ भने तेइसौँ कविता ‘आफूजस्तै बन’ मा व्यक्तिले अरूको नक्कल गरेर ठूलो बन्न खोज्नुभन्दा आफ्नै स्वाभाविक शैलीमा अगाडि बढ्न उचित हुने ध्वन्यर्थ छ । चौबीसौँ कविता ‘विजयको सूत्र’ मा जीवनका गल्ती र त्रुटिहरूलाई सुधार्दै र सिक्दै अघि बढ्नु नै सफलताको सूत्र हो भन्ने भाव छ ।

पच्चीसौँ कविता ‘विधातालाई बिन्ती’ मा भ्रष्टाचारी र अनैतिक व्यक्तिप्रतिको तीव्र घृणा प्रकटित छ । यस्तालाई ऐन कानूनले केही गर्न नसके पनि विधाताले सजाय दिने विश्वासमा उनीसँग यसरी बिन्ती गरिएको छः

यदि यो गर्न मिल्छ भने हे सर्वशक्तिमान् हामी सबैको यही बिन्ती छ

अर्को जन्ममा उनीहरु सबैलाई चिनारीका लागि एक काने बनाइदेऊ

 

छब्बीसौँ कविता ‘प्रेम र प्रकृतिको गहिराइ’ मा विदेशी संस्कृति र नेपाली संस्कृतिको अन्तर्घुलनमा महसुस भैरहेको प्रेम र सहिष्णुताको प्रशंसा गरिएको छ । सत्ताइसौँ कविता ‘नातिनीलाई अर्ति’ बालकविताकै शैलीमा लेखिएको छ र यसमा नातिनीप्रति हजुरबुबा-हजुरआमाको आत्मीय अनुराग व्यक्त छ । अठ्ठाइसौँ कविता ‘अन्तिम सत्य’ मा मृत्यु मानव जीवनको अवश्यम्भावी सत्य हो भन्ने भाव प्रकटित छ । यस्तै उनन्तीसौँ कविता ‘शुभकामना’ मा शुभभावनाको सन्देश छ भने तीसौँ कविता ‘छुट्टीको दिनको मजा बेग्लै’ मा छुट्टीको दिनमा हुने पारिवारिक जमघट र त्यसबाट प्राप्त लौकिक सुखको अभिधात्मक प्रस्तुति छ । एकतीसौँ कविता ‘पति त यस्तो होस्’ मा एउटा आदर्श, सहयोगी र आधुनिक विचारले युक्त पतिको परिकल्पना छ । बत्तीसौँ कविता ‘महिलामुक्तिको उद्घोष’ले नारी स्वतन्त्रताको पक्षमा वकालत गर्छ भने तेत्तीसौँ कविता ‘चुनावी नेता’मा चुनावका बेला नेताहरुले दिने हावादारी र असम्भव आश्वासनलाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

‘यसरी स्वस्थ बनौँ’ शीर्षकको चौँतीसौँ कवितामा सकारात्मक जीवनशैली र स्वस्थताको रहस्यबारे चर्चा गरिएको  छ ।  यस्तै पैँतीसौँ कविता ‘विश्वास गरूँ म कसरी ?’ मा एउटा सरल साथी नेता बन्यो भन्दा अपत्यार लागेको भाव छ, किनभने नेपालको राजनीतिमा सरल व्यक्तिका लागि कुनै स्थान छैन र त्यस्तो व्यक्ति नेता बन्नु असम्भव नै छ । छत्तीसौँ कविता ‘सापेक्षता’ मा अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्तको सरल र काव्यात्मक व्याख्या छ । सैँतीसौँ कविता ‘यो कस्तो सोच’ मा नेपाली जनताको खोटो मानसिकताको प्रतिबिम्ब छ । नेपालीहरूको सोच र व्यवहारमै कमजोरी रहेको तथ्य कविताबाट अवगत हुन्छ । अड्तीसौँ कविता ‘सपनामा जे देखेँ’ नेपाल भूमिका निडर धर्तीपुत्रहरूको सम्मानमा समर्पित छ, जो कविको सपनामा आउँछन् । उनन्चालीसौँ कविता ‘नक्कली मान्छे’ नेपालीहरूको बोक्रे मानसिकताको यथार्थ चित्रण गरिएको कविता हो । कवि लेख्छन् ः

हामीमा न आफ्नो रंग छ न आफ्नो ढंग छ

न आफ्नोपन छ न नेपाली मन छ

आफ्नै शिकार नचिन्ने सिकारीजस्तो

आफ्नै सम्पदा नचिन्ने भिखारीजस्तो

धनका भन्दा मनका गरिब

आफूलाई कहिल्यै नपढ्ने

मात्र अरुलाई पढ्ने

हामी फगत नक्कली मान्छे हौँ ।

चालीसौँ कविता ‘पसिनालाई पुकार’ प्रवासी नेपालीको स्वदेशप्रेमको नोस्टाल्जिक (भावुक) अभिव्यक्ति हो । यस्तै एकचालीसौँ कविता ‘आजका छोराछोरी’मा आमाबाबु मर्दा फेसबुकमा शोक मनाउने आजका कथित आधुनिक छोराछोरीको विडम्बनापूर्ण व्यवहार प्रस्तुत छ । बयालीसौँ कविता ‘आजका शिक्षक’मा शिक्षक शब्दमा रहेका तीन अक्षर शि, क्ष र कको अर्थ प्रस्तुत गर्दै शिक्षकको गौरवगान गरिएको छ । त्रिचालीसौँ कविता ‘विद्यार्थीका गुण’ मा सरल शैलीमा विद्यार्थीका लक्षण र गुणहरुको बयान छ । चवालीसौँ कविता ‘दुःखहरणका उपाय’ भगवान् गौतमबुद्धप्रति समर्पित छ, जसमा बुद्धद्वारा उपदिष्ट चतुः आर्यसत्य, अहिंसा र सम्यक् चिन्तनको महत्ता वर्णित छ । यसैगरी पैँतालीसौँ कविता ‘कोरोनाबाट यसरी बचौँ’ समसामयिक सन्दर्भमा केन्द्रित छ, जसमा कोरोनाबाट बच्ने उपाय र सावधानीको कवितात्मक प्रस्तुति छ । छयालीसौँ कविता ‘देश फर्कन आफन्तको अनुरोध’मा विदेसिएका प्रियजनलाई आफ्ना आफन्तले समवेत स्वरमा स्वदेश फर्किनका लागि गरेको अनुरोध वर्णित छ । सत्चालीसौँ कविता ‘बोधिवृक्ष’मा भगवान् बुद्धले बोधिज्ञान प्राप्त गरेको बोधगयास्थित बोधिवृक्षको वन्दना छ । अड्चालीसौँ कविता ‘वसन्त ऋतु’मा वसन्त ऋतुकै सुन्दरताको बयान छ । यस्तै उनन्पचासौँ कविता ‘दुवैतिर लगाउन मिल्ने मेरो कोट’ गरिब र विवश एक जना बाबुको विवशताको अभिलेख हो, जसमा कोट उसको विवशताको प्रतीकका रूपमा आएको छ । पचासौँ कविता ‘बालाई प्रश्न’ इँटाभट्टामा काम गर्ने बालमजदूर रामेले आफ्ना बालाई गरेको बालसुलभ प्रश्न हो, तर यो प्रश्न हाम्रा अवसरविहीन र उपेक्षित बालबालिकाले समाजसँग गरिरहेको सवाल पनि हो । एकाउन्नौँ कविता ‘चिताको आवाज’मा देहव्यापारमा संलग्न एक जना महिलाको हृदयस्पर्शी जीवनकथालाई काव्यात्मक स्पर्श दिइएको छ । यसले  सतीत्व र नारी अस्मिताको पुनव्र्याख्या समेत गरेको छ भन्न सकिन्छ । बाउन्नौँ कविता ‘आमाको अन्तिम क्षण’ मा आमाप्रतिको सम्मानको भाव छ । त्रिपन्नौँ कविता ‘आमाको आँसु’मा देशका कयौँ छोरीहरुको अनुहारमा एसिड बलेको देख्दा र कैयौँ छोरीहरुका लागि न्याय ढलेको देख्दा आमाका आँखामा आँसुको झरी लागेको कविको ठहर अभिव्यक्त छ । यस्तै चवन्नौँ कविता ‘आमाको काखमा दुखेको देश’ले पनि विकृति र विसङ्गतिका यस्तै अनभूतिलाई विषय बनाएको छ । पचपन्नौँ कविता ‘अन्तिम इच्छा’मार्फत कविले आफ्ना अन्तिम इच्छाहरु व्यक्त गरेका छन् ।

सङ्ग्रहको दोस्रो खण्डमा लोकप्रचलित छन्दमा रचित कविताहरु छन्, जसमध्ये बाह्र कविता झ्याउरे छन्दमा निबद्ध देखिन्छन् । यिनमा पहिलो कविता छ- ‘आमा’ । प्रस्तुत कवितामा आमाको निःस्वार्थ माया, त्याग र ममताको महिमा गाइएको छ । दोस्रो कविता ‘दिदी बहिनीको यादमा’ चाहिँ तिहार र तीजजस्ता हाम्रा सांस्कृतिक चाडपर्वहरुमा विदेसिएका दाजुभाइले गरेको दिदीबहिनीको सुमधुर स्मरणलाई विषयवस्तु बनाइएको छ । तेस्रो कविता ‘कहाँ पुग्याँै नेपाली’मा नेपालीहरुको पारस्परिक वैमनस्य र द्वन्द्वको दुःखद वातावरणका कारण देशको अस्मिता धरापमा परेको र यसले गर्दा आशाको दियो निभ्दै गएको साथै सहिदको रगत अनि विधवाको सिउँदोले जवाफ खोजिरहेको मार्मिक प्रसङ्ग छ । चौथो कविता ‘आमाको सम्झना’मा प्रवासी छोराले गरेको आमाको सम्झनाको सन्दर्भ रहेको छ भने पाँचौँ कविता ‘म वीर नेपाली’ मा राष्ट्रप्रेमको उच्च भावनाले ओतप्रोत वीर नेपालीको उत्साहभावको अभिव्यक्ति छ । छैटौँ कविता ‘मेरो पुण्यको जन्मभूमि’ पनि राष्ट्रभक्तिकै सुन्दर गाथा हो । यसमा नेपालको सांस्कृतिक, धार्मिक र भौगोलिक विविधता एवम् त्यसभित्र गुन्जिइरहेको अनुपम एकताको भाव ध्वनित छ । सातौँ कविता ‘सहिदको बलिदान’ मा सहिदहरुको राष्ट्रप्रतिको निःस्वार्थ उत्सर्ग वर्णित छ । आठौँ कविता ‘बालापनका यादहरु’मा कविको बाल्यावस्थाका सुमधुर स्मरणहरु प्रस्तुत छन् । यस्तै नवौँ कविता ‘पतिको नाममा’ चाहिँ पतिभक्तिमा समर्पित नारीले पतिको आयुष्य, आरोग्य र सतत कल्याणका लागि व्यक्त गरेका हार्दिक भावनाहरु छन् । दशौँ कविता ‘बिछोडको पीडा’मा प्रियसँग बिछोड हुँदाका विरहजन्य अनुभूति प्रस्तुत छन् । एघारौँ कविता ‘परदेशीको कथा’ मा गरिबीका कारण विदेसिन बाध्य व्यक्तिको विवशतापूर्ण र दुःखद् अवस्थाको चित्रण छ । बाह्रौँ कविता ‘महाभारत संक्षेप’मा महाभारतका कथासारलाई झ्याउरे लयमा बडो मिठो र सरल ढङ्गले प्रस्तुत गरिएको छ ।

झ्याउरे लोकछन्दका उल्लिखित कवितापछि प्रस्तुत छन्- १४ अक्षर हुने सवाई छन्दका तीनवटा कविता ! तीमध्येको पहिलो कविता ‘सगरमाथा’मा सगरमाथाको महिमा गायन गरिएको छ भने दोस्रो कविता ‘भूपू प्रेमिकाको नाममा’ अतीतमा प्रेमबन्धनमा बाँधिएकी प्रेमिकासँग कुनै प्रेमीले गरेको गन्थन प्रस्तुत छ । सवाई छन्दकै तेस्रो कविता ‘प्रकृति जोगाऔँ’मा चाहिँ वातावरण संरक्षणको आवश्यकता र महत्त्वको चर्चा छ । यसपछि प्रस्तुत छन्- बालोरी छन्दका छ वटा कविता । बालोरी छन्द विशेषगरी बालकविताका लागि प्रयोग गरिने छन्द हो र यहाँ पनि कविले यही परम्पराको निर्वाह गरेका छन् । यो नेपालीमा निकै थोरै मात्र प्रयोगमा आएको छन्द हो । सात अक्षरको एक पङ्क्ति र चार पङ्क्तिको एक श्लोक हुने यो छन्दको सफलतापूर्वक प्रयोग गरेर कवि डा. केसीले लोकछन्दको प्रयोगमा नवीनता थप्ने प्रयास गरेका छन् । प्रस्तुत छन्दको पहिलो कविता ‘उठ भयो बिहानी’ मा प्रातः कालमा बालकलाई जगाउनका लागि आमाले गाएका कविताका चार फाँकी रहेका छन् । दोस्रो कविता ‘याद आउँछ आमुको’ शीर्षकमा छ । यसमा बालसुलभ भाषामा मामाघरकी हजूरआमालाई ‘आमु’ शब्द प्रयोग गरिएको छ र उहाँकै सम्झना प्रस्तुत छ । त्यस्तै तेस्रो कविता ‘मेरी बैनी’मा बैनीको बाललीलाको वणर्न छ । बालोरी छन्दकै अर्को कविता ‘जून मामालाई धर्तीमा आउन अनुरोध’मा बालबालिकाले जूनलाई मामा भनेर गरेको सम्बोधन र उनलाई धर्तीमा आई आपूmहरुसँग खेल्न गरिएको अनुरोध छ । यस्तै अर्को कविता ‘स्वर्ग मेरो देश’मा नेपाललाई स्वर्गसँग दाँज्दै राष्ट्रप्रतिको अपूर्व आस्था प्रकटित छ । अन्तिम बालकविता ‘आमा र देश’ मा आमा र देशलाई समान स्थानमा राखेर दुवैप्रति अपार सम्मान प्रकट गरिएको छ । बालोरी छन्दका ६ वटा कवितापछि मारुनी छन्दका दुई वटा कविता रहेका छन् । जसमध्ये पहिलो कविता ‘छोरालाई देश फर्कन आह्वान’मा आमाले परदेशिएको छोरालाई आफ्नो जन्मदेश फर्कन आह्वान गरेको कुरा वणर्न गरिएको छ भने दोस्रो कविता ‘फूल’मा फूलको सौन्दर्यको वणर्न गरिएको छ । सङ्ग्रहको अन्त्यमा सेलो छन्दका दुई वटा कविता रहेका छन् । सेलो छन्दको पहिलो कविता ‘मेरो देश नेपाल’मा कविले आफ्नो देशप्रेम प्रकट गरेका छन् । सङ्ग्रहको अन्तिम कविता ‘मेरो दाङ’मा कविले आफ्नो जन्मजिल्ला दाङका बारेमा मिठो वणर्न गरेका छन् ।

यसरी इन्जिनियर कवि डा. केसीका कविताहरूको अनुशीलन गर्दा उनका कविताले विविध भाव र सन्दर्भलाई पक्रेको स्पष्ट हुन्छ । उनी मूलतः प्रेम र आदर्श भावका कवि हुन् । उनले आफ्ना कवितामार्फत् एउटा प्रेमपूर्ण र पारस्परिक सहयोगमा आधारित आदर्श परिवारका साथै करुणा र मानवताले परिपूर्ण अग्रगामी समाजको खोजी गरिरहेको अनुभव हुन्छ । आधुनिकताको नाममा हुर्किँदै गरेका विकृति विसङ्गतिप्रति कविको तीव्र विमति छ भने प्राचीन परम्पराका नाममा देखापर्ने भेदभाव, हेलाहोँचो र अमानवीय व्यवहारप्रति पनि कविको प्रचण्ड आक्रोश छ । उनी नारी समानता र स्वतन्त्रताका पक्षपाती, युवावर्गका उत्प्रेरक, वृद्धवृद्धाप्रति सम्मानभावका उन्मेषक र उदात्त चेतनाका प्रसारक कविका रूपमा देखा पर्छन् । यस्तै नेपालराष्ट्र, नेपाली संस्कृति र नेपाली जातिप्रतिको असीम अनुराग पनि उनका कवितामा यत्रतत्र फेला पर्छ । उनी सक्रिय जीवन, सार्थक परिवर्तन, सिर्जनात्मकता र नवनिर्माणका पक्षपाती कवि पनि हुन् । कोरोना र स्वास्थ्य सचेतताजस्ता समसामयिक सन्दर्भलाई समेत उनले आफ्ना कवितामा समेटेका छन् । कविताको सहजता, निर्झरता र गतिशीलता उनको सबल पक्ष हो भन्ने मेरो ठहर छ । उनका कवितामा प्रसादगुणको आधिक्य, सहज गति र नैसर्गिक अभिव्यक्ति पाइन्छन् । डा. केसीले जे पोखेका छन्, हृदय पगालेर पोखेका छन् । त्यसैले उनको यो सङ्ग्रह उनीभित्र लुकेको कविको इमान्दार र सहज प्रकटीकरण हो भन्ने म ठान्दछु । म कवि डा. केसीको सफल काव्यसाधनाका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । उनको कलम अझै तिखारिँदै जाओस् र यसले कालजयी कविता सिर्जनामा सफलता प्राप्त गरोस् । उनको लेखनको गति निर्बाध रुपमा अगाडि बढिरहोस् ।